वार्ता

वार्ता

राजा महेन्द्रको पालामा जोड्ने, अहिले तोड्ने काम भयो

इकागज |
जेठ २४, २०७९ मंगलबार ८:५२ बजे

लेखक शरद प्रधानको पुस्तक ‘स्मृति विम्ब’ हालै प्रकाशन भएको छ । पत्रकारिता र लेखनमा लामो समय बिताए पनि यो उनको पहिलो पुस्तक हो । पुस्तकमा ४२ वटा व्यक्ति–चर्चा छन् । पुस्तकको सेरोफेरोमा इकागजले उनीसँग गरेको छोटो कुराकानी :

‘स्मृति विम्ब’ पुस्तक किन लेख्‍नुभयो ? 
कोराना कालमा भारतीय नेपाली साहित्यबारे बुझ्ने प्रयास गरेँ । तर खास धेरै त नलेखिएको नै पाएँ । अनि आफूसँग भेटघाट भएका, पढेका कतिपय लेखकबारे लेख्दै जाँदा किताबको रूपमा आयो । कतिपयलाई मैले भेटिनँ, पढेँ मात्र । स्मृति, कृति र जीवनी तीन कुरा मिलाएर लेखेँ ।  मैले लेखेका लेखक भौतिक रूपमा कोही हुनुहुन्‍न । सानुमती राई, इन्द्रबहादुर राई, लक्खीदेवी सुन्दास पछिल्ला बितेर जाने लेखक हुनुहुन्छ, यसमा समेटिएका । 


लेखक कसरी छान्‍नुभयो ? 
भारतमा बसेका । भारतीय नेपाली साहित्यका लेखक छानेँ । पारिजात भारतमा बस्दा कम लेखे पनि भारतीय नेपाली साहित्यकार भनेर नचिनाए तापनि लिंक छ । लैनसिंह उतै हुँदा लेखक अनि यता कलाकारको रूपमा यता बढी चिनिनुभयो । परिचित गर्ने प्रयास गरेँ । देवकुमारी थापा दाजीर्लिङमा प्रसिद्धि कमाइसकेको भए पनि यता पनि चम्किनुभयो । 

यो किताबमा अझ यी यी पात्र समेट्न पाएको भए भन्‍ने छ ?
धेरै छन् । तर, ती पात्रको बारेमा लेख्‍न न उहाँहरूको पुस्तक पाएँ, न लेखरचना पढ्न पाएँ । ग्याब्रियल राना दाजीर्लिङका राम्रा कथाकार हुन् । मैले उनीबारे लेख्‍न सकिनँ । गनुसिंह गुरुङ फौजी भए पनि राम्रो लेखक । दान (दानियल) खालिङको बारे पनि लेख्‍न सकिनँ । 

तपाईंले फुटकर रूपमा लेख्‍नुभएका सबै लेख यसमा समेटिएका देखिएनन् नि, किन ? 
धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवालीहरूबारे पनि लेखेथेँ । तर मैले उहाँहरूको प्रतिनिधित्व पारसमणि प्रधानबाट गराउन खोजेँ । अर्काे अंकमा गरौँ भनेर पनि छाडेको छु कति । 

लेख्दा केके कुरालाई आधार लिनुभयो ? 
यहाँ दुई किसिमको लेख पाउनुहुन्छ । जोसँग म धेरै नजिक थिएँ, उनीहरूमाथि मेरो स्मृति बढी छ । जसलाई मैले भेट्न पाइनँ । उहाँहरूको कृतित्व बढी छ । जस्तै पारिजातको नजिक बसेँ । उहाँसँग त १८ वर्षको उमेरमा वार्ता गरेको थिएँ । राजनारायण प्रधान, मत्स्येन्द्र प्रधान, कुमार प्रधानहरूसँगको स्मृति धेरै छ । तर, म जन्मिनुभन्दा धेरै पहिले जन्मिएका रूपनारायण सिंह, अच्छा राई रसिक, नरेन्द्र कुमाईहरूको स्मृति बढी छ । उहाँहरूको लेखन पठनलाई स्मृति बनाएर लेखेको छु । मेरो स्मृति लेखक र लेखन दुवैसँग छ । लेखकको परिवारबारे, निजी कुरा कम लेखेको छ । 

अंग्रेजीमा लेख्‍नुहुन्थ्यो, काठमान्डू पोस्टमार्फत सात वर्ष त अंग्रेजी भाषामा सक्रिय पत्रकारिता पनि गर्नुभयो । नेपालीमा कसरी लेख्‍न थाल्नुभयो त अहिले ?
मैले २५ जना जति साहित्यकारलाई भेटेर उहाँहरूको बारेमा लेखेको छु, काठमाण्डू पोस्टमा । तर मलाई नेपालीमा पनि लेख्‍नुपर्छ भन्‍ने लाग्यो । जीवनी लेख्‍ने परम्परागत शैलीमा भन्दा फरक तरिकाले लेखेको छु । 

लेख्‍न कुन भाषामा सजिलो लाग्छ ? 
एक समय मलाई नेपाली सजिलो लाग्थ्यो । अंग्रेजीमा पत्रकारिता गर्न थालेपछि अंग्रेजी अति सजिलो लाग्न थाल्यो । फेरि नेपालीमा लेख्‍न थालेँ । 

पाठकको दायरा कुन भाषामा बढी छ ?
नेपालीमा पाठकको दायरा फराकिलो छ । पहिला अंग्रेजीमा लखियो । अहिले नेपालीमा । यी लेख पहिला इकागज, साहित्यपोस्टमा आएपछि मलाई धेरै प्रतिक्रिया, सुझाव आयो । पत्रिकामा हुँदा यहीँकाले पढ्ने अनि अहिले अनलाइनमा हुँदा संसारका जुनसुकै कुनाबाट सजिलै पढ्ने रहेछन् । यहाँभन्दा भारतबाट बढी प्रतिक्रिया पाएको छु । शोधार्थीहरू पनि सम्पर्कमा आएका छन् । काशी हिन्दू विश्वविद्यालयका नेपाली विभागका अध्यक्ष दिवाकर प्रधानले पनि सन्दर्भका रूपमा लिएको छु भन्‍नुभयो । 

दार्जीलिङमा त्यस्तो के थियो र छ, जहाँ जो पनि लेखक, कलाकार, संगीतकार भएको देखिन्छ ? 
बैरागी काइँलाले विद्यार्थी कालमा दश वर्ष दार्जीलिङमा बिताउनुभयो । दुई दिनअघि मात्र मैले उहाँलाई भेटेको थिएँ । सूधपा जस्ता शिक्षक पाएर विद्यार्थी पनि साहित्यतिर लागे । इन्द्रबहादुर राई, परशुराम रोका, तुलसीबहादुर क्षत्री यस्ता साहित्यप्रेमी गुरुहरू आउनुभयो । जस्तो शिक्षक, त्यसै विद्यार्थी आउने त हो । संगीतमा पनि त्यही हो । तपाईं छक्क पर्नुहुन्छ होला, नेपालभित्र जति पुस्तक विमोचन हन्छन् नि, त्यतिको हाराहारीमा दार्जीलिङ–सिक्किम नेपाली भाषामा लेखिएका किताब सार्वजनिक हुन्छन् । 

तपाईंले लेखेका यी लेखकहरूको मूल स्वर के हो ?
त्यो त फेरिन्छ । पारसमणि प्रधानहरूले उहिल्यै ‘चन्द्रिका’ निकाल्नुभयो । पछि धरणीधर, सूर्यविक्रमहरू जागरणमा लेख्‍नुभयो । त्यसपछि रूपनारायण, लैनसिंहहरू प्रयोगात्मक रूपमा सबल भएर आउनुभयो । भ्रमरको भाषा हेर्नुस्, सुन्दर छ । लैनसिंहले यथार्थवादी धार ल्याउनुभयो । डाँकबंगला आयो । इन्द्र सुन्दासले आञ्चलिक उपन्यास सुरु गर्नुभयो । पछि तेस्रो आयामेली आन्दोलन आयो । भाषा आन्दोलन आयो । यसमा अगमसिंह गिरी, इन्द्रबहादुर राई, गुमानसिंह चाम्लिङहरू लाग्नुभयो । शरद क्षेत्री, गुप्त प्रधानहरू नयाँ भाषा लिएर आउनुभयो । मनबहादुर मुखिया सरहरू आउनुभयो । ग्याब्रियल राना, वीरविक्रम गुरुङ, लक्खीदेवी सुन्दास, कमला सांकृत्यायन, जगत् क्षेत्रीहरू एउटा ठूलो जमात आयो । यी सबको मूल के हो त भन्दा झन्‍नै सय वर्ष पुरानो नेपाली साहित्य सम्मेलन ।

त्यहाँ एउटा ठूलो हल पहिल्यैदेखि छ, गोर्खा दुःख निवारण संघ । त्यसको पनि योगदान छ । कविहरू आए । गोर्खाल्यान्ड आन्दोलन सुरु भएपछि नेपाली साहित्यमा अलिकति ह्रास आयो । बुद्धिजीवीहरू  दाजीर्लिङ छोड्न लागे । कोही भारत, कोही दिल्ली, कोही कलकत्तातिर लागे । बौद्धिकहरू पलायन हुन थाले । पछि साहित्य सुषुप्त जस्तो भयो । तर, पछि सन् २०१० देखि पनि त्यहाँ नेपाली साहित्य फस्टाएर आएको छ । नयाँ प्रयोग छ । नयाँ पुस्ताबाट आशावादी छु । 

लीलबहादुर, लैनसिंह, इन्द्रबहादुर राईहरु यता बढी पढियो । उहाँहरूलाई प्रवासी नेपाली भनिएको हुन्थ्यो । अहिले फेरि पोरा फुलाउँदै डायस्पोरा भन्‍नुपर्छ भनिँदै छ । भन्‍नुपर्ने के हो खासमा ? 
मलाई त मुलुकबाहिर भनिदिऊँ जस्तो लागेको छ । प्रवासी नेपाली, डायस्पोरा, भारतीय नेपाली साहित्य पनि नभनौँ मुलुकबाहिर भनौँ । लैनसिंहको उपन्यासको सम्मान पनि हुने । साहित्य साहित्य हो, जहाँ बसे पनि । नेपालीमा लेखिएको छ भने खुला हृदयले स्वीकार गरेको राम्रो हो नि । तँ प्रवासी होस् भनेर छुट्याउन जरुरी छैन । नेपाल एकेडेमी जस्तो संस्थाले यस्तो काम गरोस्, जुन काम राजा महेन्द्रको पालामा भएको पनि थियो । भिक्षु, देवकोटा, सम, धर्मराज थापाहरू दार्जीलिङ आसामतिर गएर साहित्यिक सांस्कृतिक कार्यक्रम गरेर जोड्ने काम गर्नुभएको थियो ।

पछिल्लो समयमा त जोड्ने भन्दा तोड्ने बढी भयो । पहिला त मुलुकबाहिरका नेपालीले पनि एकेडेमीको कविता महोत्सवमा भाग लिएर पहिलो दोस्रो धेरै जना भएका छन् । वानीरा गिरि यहाँ दोस्रो हुनुभएको थियो । प्रेम शेर्पा तेस्रो हुनुभएको थियो । पहिलेका साझा कविता, साझा निबन्ध, साझा कथा, साझा समालोचना किताब हेर्नुहुन्छ भने त्यहाँ मुलुकबाहिरका धेरै देख्‍नुहुन्छ । तर, पछिल्ला यस्ता समसामयिक कृतिमा खै त मुलुकबाहिरका लेखकहरू ? नेपाल एकेडेमीले अस्ति छापेको नेपालबाहिरका महिला लेखकहरूको किताब हेरेको थिएँ, भारतको विन्द्या सुब्बा एक जना मात्र देखेँ । अमेरिकाबाट १० जना रहेछन् । युरोप–अमेरिका घुम्ने लोभमा उताका बढी समेटिएको हुनुपर्छ । अरु कुरामा विभेद गर्नुस् तर कला, साहित्य, संस्कृतिलाई उदार रूपमा लिनुस् ।

शरदका लेखहरू पनि पढ्नुहोस् :


Author

थप समाचार
x