वार्ता

अन्तर्वार्ता

निजगढ काठ काट्ने परियोजना हो, रुख कटान भएपछि विमानस्थल बन्दा पनि बन्दैन (भिडियो)

कृष्णप्रसाद सिग्द्याल |
जेठ २३, २०७९ सोमबार ११:२३ बजे

राष्ट्रिय समाचार समितिमा रहेर लामो समय पत्रकारिता गरेका कृष्णप्रसाद सिग्द्याल नेपाल वातावरण पत्रकार समूहका संस्थापक अध्यक्ष हुन् । वातावरण संरक्षण परिषद्, राष्ट्रिय विकास परिषद्जस्ता नीतिगत संस्था एवं आर्थिक विकास तथा प्रशासन केन्द्र (सेडा) जस्ता प्राज्ञिक संस्थामा आबद्ध रही काम गरेका सिग्द्यालका ‘नेपाल : छिमेक र विश्व’, ‘साना कुरा’, ‘एउटा पत्रकारको कानुनी दैनिकी’जस्ता पुस्तक प्रकाशित छन् । हिजो आइतबार विश्व वातावरण दिवसका दिन वातावरणको केन्द्रमा रही निजगढ–काठमाडौँ वार्ता गरिएको छ । पूरा वार्ता भिडियोमा हेर्न-सुन्‍न सक्नुहुनेछ भने सार चाहिँ यहाँ पढ्न सक्नुहुन्छ : 

तीन दशकभन्दा अघि वातावरण पत्रकार समूह सुरु गर्दा केही अर्थशास्त्रीले मलाई सार्वजनिक रुपमै सोध्थे- विकासको काम गर्न नदिएर यो वातावरणको कुरा गर्ने ? म भन्थेँ, अब केही समयपछि पहिला वातावरण अनि मात्र विकास भन्‍ने हुनेछ । तर, कुरामा त यो भयो, व्यवहारमा भने वातावरण संरक्षण प्राथमिकतामा परेन । पृथ्वी प्राणी र वनस्पति सबैको साझा हो, ती नभए हामी रहन्‍नौँ भन्‍ने हेक्का भएन । भावी पुस्तालाई केही पनि बाँकी नराख्ने हामी विकासवादी होइनौँ, विनाशवादी हौँ । 


कुनै पनि योजना, परियोजनाले वातावरणलाई कति विनाश गर्छ भनेर मात्र विकास गर्नुपर्छ । नेफेजमार्फत जनचेतना जगाउन लागेका हौँ । जनता जागरुक भए शासकलाई प्रश्न गर्छन् भन्‍ने सोच थियो ।

हामी हिमालय क्षेत्रका बासिन्दा । हिमालबाट नि:सृत नदी हाम्रा प्राण । प्राण प्रदूषित राखेर हामी बाँच्दैनौँ । वातावरण र कृषि जोडिएको विषय हो । तर, हामी खाद्यान्‍न आयात गर्छौं । कृषि कर्म नगरेर कोही पनि राष्ट्र दीगो रुपमा धनी हुन सक्दैन । मलाई त अहिले भन्‍न पनि लाज लाग्छ, यत्रो पहाडै पहाड, डाँडैडाँडा भएको मुलुकमा फोहोर फाल्ने ठाउँ पनि हामीले भेट्न सकेका छैनौँ । यस्तो अवस्था हुन दिने यिनै शासकहरु हुन् । अहिले नयाँ आउनुभएका मेयरलाई सबैले सहयोग गर्नुपर्छ । पचासौँ वर्षको आफ्नो अपराध तीस वर्षको मेयरलाई थुपार्नु, रमिते बनेर बस्नुहुँदैन । 

वातावरण भनको फोहोर व्यवस्थापन हो । सरसफाइ हो । म त भन्छु, हामीले सरसफाइमा ध्यान दिने हो भने पर्यटक दोब्बर आउँछन् । फोहोर रोग हो । रोगी ठाउँमा कोही छिर्दैन । मुलुकभरिका स्थानीय सरकारहरूले आफ्नो पहिलो काम सफासुग्घर राख्ने हुनुपर्छ । खोलानाला, तालतलैया, वनजंगल, बाटोघाटो, घर रेस्टुराँ सफा हुनुपर्र्छ । जल, माटो, ध्वनि प्रदूषण हुनुहुँदैन । चाउचाउ, चकलेट, चुरोट, सूर्ती, फ्रुटी, पानीका खोल जताततै फाल्ने बानी हामी जनताले सुधार्नैपर्छ । यसमा नागरिक नै सचेत हुनुपर्छ । नेताले अगुवाइ लिनुपर्छ । कोठा सफा राखेर आँगन फोहोर गर्दा के हुन्छ ? 

वातावरण विनाश गर्नु विकास होइन । निजगढ रुख काट्ने परियोजना हो । कुनै मुलुकको काठको आवश्यकता पूरा गर्ने समूह यसमा संलग्न छ ।

अब विकास गौण विषय बनिसक्यो, वातावरण प्रधान विषय हो । वातावरण संरक्षण नगरेको विकासले हामीलाई र पृथ्वीलाई यो सिर्जनालाई पनि राम्रो गर्दैन । निजगढ विमानस्थलको कुरा यति हेक्टरमा गर्ने उठिरहेको छ । त्यो त स्क्वायर मिटर–किलोमिटरमा हुनुपर्ने । दुनियाँभरि म त्यही सुन्छु । हेक्टर जंगल मास्ने काम हो । 

निजगढ रुख काट्ने स्किमअनुसार आएको हो । कुनै मुलुकको काठको आवश्यकता पूरा गर्ने समूह यसमा संलग्न छ । नेपालमा पैसा बुझायो भने सबैलाई किन्‍न सकिन्छ भन्‍ने छ । सबै सरकारले यो  विमानस्थल हुनैपर्छ भन्‍नु यही कारण हो । आयोजनाबारे विस्तृत अध्ययन नै भएको छैन । २५ सय ५६ हेक्टर जंगल काट्नुपर्यो भनिन्छ । संसारको सबैभन्दा धेरै एक दिनमा १३ सय फ्लाइट चल्ने र उड्नेभन्दा पनि ठूलो विमानस्थल जंगल मासेर हामीलाई किन चाहियो ? काठ काट्ने परियोजनाका लागि यो आयो भन्‍ने ठहर छ । रुख कटान भएपछि यो काम सकिन्छ, विमानस्थल बन्दा पनि बन्दैन । 

म निजगढ दुई चोटि पुगेको पनि छु । स्थानीयले पनि भनेका छन्, त्यहाँबाट अलिकति यताउता बुट्यान नभएको खाली ठाउँ पनि छ, त्यहाँ सार्न किन नहुने ? कति विद्वानहरुले भनेका छन्, अदालतले भनेको छ, त्यो किन नसुन्‍ने ? म काठमाडौँको रैथाने हुँ । उपत्यकाको भद्रगोल हुन्छ भनेर मैले पञ्चायत कालभरि झगडा गरेँ । खुला क्षेत्र चाहिन्छ भनेर लेखेँ, बोलेँ । आफू सम्बद्ध संस्थामा टेबुल ठोकेँ । 

त्रिपुरेश्वर जहाँ अहिले सपिङ कम्प्लेक्स बन्यो । त्रिभुवन विश्वविद्यालय ठाउँ हो । मैले काठमाडौँका मेयर पीएल सिंहलाई भनेको थिएँ, त्यो तपाईं लिनुस् भनेर । खाली ठाउँ रहनुपर्छ भनेँ । जमलमा भारतबाट आएका शिक्षक–प्राध्यापक राख्ने ठाउँ थियो । त्यो खुला राख्नुपर्छ भनेको थिएँ । खुला ठाउँ जनसंख्या बढ्दा चाहिन्छ । भूकम्प आउँदा पनि चाहिन्छ । 

केटाकेटी, बूढाबूढीका लागि खै यहाँ उद्यान ? बिरामी पर्दा जाने अस्पताल, पढ्न जाने स्कुल नै यति साँघुरो कहीँ हुन्छ ? हरियालीविनाको सहर आत्माविनाको शरीर हो । हरियाली बढाउने हजार उपाय छन् । महानगरमा अर्बाैं रूपैयाँ कोषमा बसेको छ । चक्रपथ बनाइसकेपछि बोटबिरुवा रोप्नुपर्छ, घाँस रोप्नुपर्छ भन्‍ने लागेन उसलाई । र एउटा प्राइभेट संस्थाले हामी गर्छम् भनेर गर्न जानुपर्‍यो । 

राजनीतिक नेतृत्वको आडमा पार्टीको अजेन्डा लिएर हैन, हाम्रो आफ्नो दु:खको कुरा लिएर जनता बाटोमा निस्किनुपर्यो । ठीक काम गर हैन भने तिमीहरू हुँदैन भन्‍नुपर्‍यो ।

देशभरिका सरकारहरुले पहिला सरसफाइ, शिक्षा र स्वाथ्यमा ध्यान दिनुपर्छ । अनि मात्र अरु । अहिले जताततै भ्युटावर, किन ? जुन कंक्रिटका संरचना अहिले बनाइरहेका छौँ, ती केही वर्षपछि नयाँ पुस्ताले भत्काउनुपर्छ भन्यो भने म अन्यथा ठान्‍ने छैन । 

वाग्मती नदी जोगाउन गुह्येश्वरीमा जे बनायौँ, त्यो धेरै महँगो हो । अमेरिकालाई पनि महँगो, हामी चाहिँ गरिरहेछौँ । मलाई त यहाँका प्राविधिक साथीहरू देखेर पनि अचम्म लाग्छ । सरकार र सरकारमा बस्नेहरूको दिवालियापनलाई गाली गर्न मन लाग्छ, मलाई । जनताले किन मान्दैन ? बालेन शाहलाई किन भोट दिए ? अब आउँदो निर्वाचनमा धेरै स्वतन्त्र मान्छे उठ्छन् र जित्छन् पनि । 

हामी जलविद्युत् निकासी भनिरहेका छौँ । त्यसको दश गुण हामी प्रयोग गर्न सक्छौँ । विदेशी मुद्रा पनि जोगिन्छ । प्रदूषण पनि घट्छ । नेपालमा उद्योगलाई चाहिने कच्चा पदार्थ किन्दा बढी राजस्व तिर्छाैं तर त्यो चिज तयारी अवस्थामा ल्याउँदा कम राजस्व तिर्नुपर्छ । अनि उद्योग प्रवर्द्धन गर्छौं भनेर हुन्छ ? 

जनता सचेत भइरहेको छ । अझ सचेत हुनुपर्यो । जनता बाटोमा ओर्लनुपर्यो । राजनीतिक नेतृत्वको आडमा हैन, पार्टीको अजेन्डा लिएर हैन, हाम्रो आफ्नो दु:खको कुरा लिएर बाटोमा निस्किनुपर्यो । ठीक काम गर, हैन भने तिमीहरू हुँदैन भन्‍नुपर्‍यो ।

म नयाँ पुस्तासँग आशावादी छु । 

सिग्द्यालका यसअघिका लेखहरू


Author

थप समाचार
x