वार्ता

'जनता हुँदा ‘भन्‍न’ सजिलो थियो, अब कामै गर्नुपर्छ'

धनबहादुर गुरुङ |
जेठ २४, २०७९ मंगलबार १६:५२ बजे

हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिकाका नवनिर्वाचित हुन् अध्यक्ष प्रदीप गौचन । उनी आफ्नो नेतृत्वमा नयाँ कामको सुरुआत गर्दै पर्यटनसँगै अन्य क्षेत्रमा नयाँ भिजनका साथ जाने बताउँछन् । गौचनसँग अबको पाँच वर्षे योजनाबारे इकागजकर्मी धनबहादुर गुरुङले गरेको कुराकानीः

सुरुमा आमजनता हुँदा र अहिले नेतृत्वमा पुगेपछि कस्तो अनुभूति भइरहेको छ ?
आमजनता हुँदा ‘भन्न’ सजिलो थियो । अब कामै गर्नुपर्र्छ । तर त्यति साह्रो गाह्रो भने होइन ।


कुर्सीमा बसेको दिन तपाईंले गरेका निर्णयले जनता खुसी छन् ?
म एक्लैले मात्र निर्णय गरेर हुने कुरा भएन । सबैभन्दा ठूलो कुरो हाम्रो कमिटि छ भने कार्यपालिकाको छलफलले के गर्न उपयुक्त हुन्छ भनी त्यही भिजनका साथ अघि बढ्ने लक्ष्य राखेका छौं ।

आमअपेक्षा र समस्या के/कस्ता छन् त्यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
यसभन्दा अघि थासाङ गाउँपालिकाका जनताले नयाँ नौलो भनेको त केही पनि हेर्न र देख्न पाएनन् । यहाँका जनताले नयाँ चिज नयाँ विकासका कार्यक्रम हेर्न चाहन्छन् । जनताका उद्देश्य अनुसार शिक्षा, स्वास्थ्य र पर्यटन नयाँ भिजनका साथ जाने भन्ने हो र जनताको चाहना पनि त्यही नै छ ।

विगत जनप्रतिनिधिहरूको कामलाई कसरी समीक्षा गर्नुहुन्छ ?
विगतमा हामी भन्दा फरक विचार भएका पार्टीबाट नेतृत्वमा जनप्रतिनिधि हुनुहुन्थ्यो । त्यसकारण पनि विरोध गरेको जस्तो हुन्छ । तर उहाँहरू पनि पहिलो पटक भएर होला, जनताका आवश्यकतामा भिजन नपुगेको देखियो । उहाँहरूको कार्यकालमा आएका बजेट पनि ‘फ्रिज’ हुने समस्या थियो । उदाहरणका लागि थासाङको ४ र ५ लक्षित गरी प्रदेश सरकारबाट गाई खरिद गर्ने गरी आएको डेढ करोड बजेट नै ‘फ्रिज’ भएर गयो । यस्तै धेरै रकम फ्रिज भएर गएको छ, त्यो चाहिँ उहाँहरूको कमजोरी भएको महसूस गरेको छौं ।  

वडामा विपक्षी दलका वडाध्यक्षहरू पनि छन्, उहाँहरूसँग काममा कस्तो तालमेला होला ?
चुनाव सकिएलगत्तै कहिले कता, कहिले कता जानुपर्ने कारण हामी पहिलो बैठक पनि बसेका छैनौं । तर फरक–फरक विचार भए पनि सही र राम्रो अनि विकास निर्माणका कामका लागि एकमत हुनुपर्छ नै । पालिकाको हितका लागि सबैलाई मिलाएरै लैजाने हो र उहाँहरूको पनि सही काममा असहमति नहोला । 

संघ र प्रदेश सराकारसँग कस्तो सहयोगको अपेक्षा गरिरहनुभएको छ ?
संघ र प्रदेशले स्थानीय सरकार फरक पार्टीको छ भन्दैमा बजेट र विकासका कार्यक्रममा भेदभाव गर्नुभएन । थासाङमा उहाँहरूका पनि त मतदाता छन् नि । हामी पो विजयी भएर आयौं । मलाई जहाँसम्म लाग्छ हाम्रो मागहरूलाई उहाँहरूले सम्बोधन गर्नुहुनेछ । 

अबको तपाईको पाँच कार्यकालमा थासाङ गाउँपालिकालाई कस्तो बनाएर छाड्नुहुन्छ ?
शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिसँगै विकास निर्माण हाम्रो प्राथमिकतामा हुनेछन् । थासाङ गाउँपालिकामा ५ वटा वडाहरू छन् जहाँ जे सम्भावना छ त्यसको अध्यन गरेर प्राथमिकतामा राख्ने उद्देश्य छ । सबैभन्दा मुख्य कुरा भनेको हाम्रो पालिका भनेको पर्यटनका लागि अति उपयुक्त ठाउँ हो । प्रकृतिले दिएका धेरै चिजहरू छन्  । हाम्रो उद्देश्य भनेको पर्यटनसँगै अन्य क्षेत्रमा नयाँ भिजनका साथ जाने भन्ने हो ।
 


Author

थप समाचार
x