वार्ता

चुनावमा गरेका वाचा पूरा गर्नेछौं

धनबहादुर गुरुङ |
असार ४, २०७९ शनिबार १७:५५ बजे

गण्डकीका ८५ पालिका मध्ये ४२ स्थानीय तहमा पुराना प्रमुखले दोहारिन चाहेका थिए । तर २१ जना मात्र दोहोरिए । तीमध्ये पनि पालिकाको प्रमुख र उपप्रमुख नै दोहोरिने पालिका हो, स्याङ्जाको कालीगण्डकी गाउँपालिका । उक्त पालिकामा दोस्रो कार्यकालका लागि अध्यक्षमा खिमबहादुर थापा दोहोरिएका हुन् । पालिका अध्यक्ष थापाले विगतमा केही काम सुरुवात गरेकाले दाेस्रो कार्यकालमा ती काम पूरा गर्ने बताए । उनले काम गर्ने क्रममा अधिकार प्रयोगमा समस्या भएको उनी बताउँछन् । संघीयता लागू भएपनि मानसिकता केन्द्रीकृत नै हुँदा समस्या परेको उनको भनाइ छ । थापासँग अबको पाँच वर्षे योजनाबारे इकागजकर्मी धनबहादुर गुरुङले गरेको कुराकानी :

कार्यकाल दोहाेर्‍याउनु भएको छ, पहिले र अहिलेमा केही फरक पाउनुभएको छ ?


जनता र जनप्रतिनिधिबीच फरक पक्कै छ । जनप्रतिनिधि भइसकेपछि जीवन सार्वजनिक भयो । मेरो पछाडि सिसि क्यामेरा झुण्डिएको हुन्छ, नीजि जीवन हुदैन । त्यसै माथि जनताले धेरै अपेक्षा गरेका हुन्छन् । सिमित स्रोत साधनकाबीच सबैको ईच्छा पूरा गर्नु चुनौतीको विषय नै हो । तर, दोस्रोपटक पनि जनताले दिएको अभिभाराअनुसार जनताको सेवा गर्न पाउनु आफैमा भाग्यमानी ठानेको छु । 

कुर्सीमा बसेको दिन तपाईले गरेका निर्णयले जनता खुसी छन्  ?

स्याङ्जाको कालीगण्डकीको सन्दर्भमा हामीले पहिलो निर्णय पालिकाभरका युवाहरुलाई २ वर्षभित्र सीपयुक्त बनाउने भनेका छौं । त्यो अब छिट्टै कार्यान्वयनमा जान्छ । विगतमा मैले नै यसको नेतृत्व गरेर सुरुवात गरेको हुँ अबको २ वर्षमा सक्ने भन्ने छ । त्यसपछि अर्को निर्णय कालीगण्डकी जलविद्युत आयोजना छ यसकारण पनि देशको अर्थतन्त्र सुधार गर्नका लागि ग्यासको आयाम कम गर्न इन्डक्सन चुल्हो वितरण गर्ने भनेका छौं । योभन्दा अघि नै स्वास्थ्य बीमा र विद्युत महसुलमा न्यूनतम २० यूनिटसम्म फ्रि गरिएको थियो । त्यसलाई यो पटक पनि निरन्तरता दिनेछौं । यसको सुरुवात अरु–अरु पालिकाले पनि गरेका छन् । यी निर्णयबाट केही केही असन्तुष्टी भएपनि धेरै खुशी नै छन् । 

अबको ५ वर्षमा तपाईको कार्यकाल सकिदैं गर्दा कालीगण्डकी गाउँपालिकालाई कस्तो बनाएर छाड्नुहुन्छ ?

मैले योभन्दा अघि पनि संघ, प्रदेश, स्थानीय सरकार वा विकास साझेदार संस्थामार्फत ७ देखि ८ करोड पैसा खर्च गर्न सकिन्छ भनेर पहिल्यै भनेको थिए । पहिलो कार्यकालमा त्यति खर्च तर भएन झण्डै साढे ५ अर्ब खर्च भयो । यसपटक पनि बजेट बनाउँदैछौ अबको ५ वर्षमा कति खर्च गर्न सक्छौैैं र त्यसबाट हामीले के फाइदा लिन सक्छौ भनेर घोषणा गर्छौ ।

कालीगण्डकी नदीमा हामीले ९ वटा पुल बनाउने भनेका थियौं त्यसमा २ वटा सम्पन्न भयो, एउटा यो वर्ष सम्पन्न हुन्छ ५ वटा पुलको काम अब सक्छौं । यो आर्थिक वर्षमा ४२ किलोमिटर बाटो पिच गर्छौ । त्यसमा २२ किलोमिटरको काम सकिएको छ । अबको ५ वर्षभित्रमा एक सय किलोमिटर बाटो पिच हुन्छ । शिक्षाको क्षेत्रमा सबै सामुदायिक विद्यालयमा मन्टेश्वरी कक्षा सञ्चालनका लागि ६ महिने तालिम दिने काम हुन्छ । रुम टु रिड विधि पनि निरन्तर हुनेछ । शिक्षाको पूर्वाधारमा पनि हाम्रो ध्यान जानेछ । आलमदेवी बहुप्राविधिक शिक्षालयमा टनेल ईन्जिनियरिङ पढाउने कन्सेप्ट बनाएका छांै ।

कानुन बनाउँदा संघ र प्रदेश आफू केन्द्रित भएको छ । यति भनिरहँदा त्यो समस्या स्थानीय तहमा पनि छ । हामीले पनि केही बढी हामीले पाएर हुन्थ्यो भन्ने हुने रहेछ ।

१५ शय्याको अस्पताल सञ्चालनमा छ, त्यसलाई स्तरोन्नति गर्दै २५ शैय्याको बनाएर विज्ञसहितको सुविधा दिने काम हुनेछ । आमलदेवी मन्दिर क्षेत्रको प्रचारप्रसार गर्दै पर्यटकीय क्षेत्रमा टेवा पुर्‍याउने योजना छ । यससँगै कालीगण्डकीको स्टिमर, होमस्टेको स्तारोन्नति गर्दै पर्यटकको बसाई लम्बाउने काम गर्नेछौं । कृषिमा आधुनिकीकरण गर्ने योजनामा छौं । योभन्दा पहिलो कालीगण्डकी ताजा तरकारी अभियान सुरु गरेका थियौं त्यो निरन्तर हुनेछ । बाख्रा र बंगुरको माग बढेकाले यसमा जोड दिएका छौं । यी सबै काम पूरा हुन्छ भन्ने जनताको अपेक्षा पनि छ । 

आम अपेक्षा र समस्या के कस्ता छन् त्यसलाई कसरी सम्बोधन गर्नेहुन्छ ?

हाम्रो देशको विकासमा तालमेल मिलिरहेको छैन् । नेतृत्वले एउटा भनिरहेको हुन्छ तल्लो तहमा फरक परिरहेको हुन्छ । पालिकामा जनताका बाटो, खानेपानी, शिक्षा लगायत क्षेत्रसँग जोडिएर पुरा गरेमा अपनत्व गर्ने रहेछन् । त्यसैले जनताले जे जे अपेक्षा गरेका छन् हामीले त्यहीअनुसार काम गरेकाले उहाँहरुको हामीप्रति विश्वास छ ।  

विगत जनप्रतिनिधिहरुको कामलाई कस्तो समीक्षा गर्नु हुन्छ ?

सौभाग्यले हाम्रो पालिकामा अध्यक्ष र उपाध्यक्ष नै दोहोरिनु हाम्रो सौभाग्य नै हो । विगतमा हामी निर्वाचित भएर जाँदा हामी कता बस्ने हो भन्ने नि थाहा थिएन । पहिलोपटक भएकाले अरुले पहिले के गरे भन्ने पनि थाहा थिएन । त्यसमा हामीले कानुन बनाउनेदेखि धेरै पूर्वाधारहरु तयार गरेका छौं । त्यो तयार गर्ने क्रममा कोरोना लगायत केही कारणले समस्या पनि आयो । पहिलाका जनप्रतिनिधिहरु सबैले गर्न खोज्नुभएको थियो । तर पनि धेरै कामहरु अपुरा छन् । तर पनि केही विकासले केही गति लिएको छ । अहिलेका जनप्रतिनिधि त्यही बाटो समाएर हिड्ने हो भने धेरै काम गर्न सकिन्छ जस्तो लाग्छ । 

वडामा विपक्षी दलका वडाध्यक्षहरु पनि छन् उहाँहरुसँग काममा कस्तो तालमेल होला/रहला ?

विगतमा कालीगण्डकी देशकै नमुना पालिकामा गनिएको हो । हामीले गएको ५ वर्ष सँगै बसेर काम गरेका पनि हौं । त्यो समयमा २२ सिट नेकपा एमाले, १५ सिट कांग्रेस र २ सिट राष्ट्रिय जनमुक्ति पार्टीले पाएको थियो । त्यो समयमा पनि नमुना काम गर्न सफल भएका थियौं । अहिलेपनि केही सिट बढी एमालेले जिते पनि कम्बिनेसन उही छ । पहिलेपनि नीति, कार्यक्रम र बजेटका कुरामा कुनै काम विमतिमा भएन, सबै सर्वसम्मतिमा भए । उनीहरुको पनि मन जितियो । अहिले पनि विश्वास छ त्यस्तो विमति हुदैन । हाम्रो पहिलो कार्यपालिका बैठक बसिसकेको छ । त्यसबाट पनि शुभसंकेत गरेको । पार्टीले विमति जनाए छुट्टै कुरा तर विकासका काममा सर्वसम्मत नै हुन्छ । 

संघ र प्रदेश सरकारसँग कस्तो सहयोगको अपेक्षा गरिरहनुभएको छ ?

संविधानले नै तीनै तहको सरकारलाई एकल र संयुक्त अधिकार दिएको छ । एकल अधिकार प्रयोग गर्ने सन्दर्भमा कुनै समस्या छैन तर, संयुक्त अधिकार प्रयोग गर्ने सन्दर्भमा माथिल्लो सरकारले तल्लो सरकारलाई पुरानै मानसिकतामा हेरेको भान हुन्छ । कानुन बनाउँदा संघ र प्रदेश आफू केन्द्रित भएको छ । यति भनिरहँदा त्यो समस्या स्थानीय तहमा पनि छ । हामीले पनि केही बढी हामीले पाएर हुन्थ्यो भन्ने हुने रहेछ ।

संघीयता लागू भयो तर मानसिकता केन्द्रीकृत नै छ । त्यो मानसिकता तीनै तहको सरकार र कर्मचारीहरुले परिवर्तन गर्नुपर्छ । बजेट दिने क्रममा पनि धेरै बजेट सशर्तमा दिने गरेको छ । समानीकरणको बजेट बढाउनुपर्छ । संघ र प्रदेशले अनुगमनमा जोड दिनुपर्छ । ५० लाखभन्दा कमका योजनाहरु स्थानीय तहलाई दिने भन्ने छ त्यो लागू गर्नुपर्छ । बजेट पनि जनसंख्या र क्षेत्रफलका हिसाबले बजेट बिनियोजन गर्नुपर्ने देखिएको छ । वित्त आयोगको यो नियम परिवर्तन गर्नुपर्छ । तर गाउँपालिकालाई संविधानले दिएको अधिकार भने धेरै छ । मैले धेरै अधिकार प्रयोग गर्नेहरुले पनि ५० प्रतिशतभन्दा बढी प्रयोग गर्न सकेका छैनन् । 


Author

थप समाचार
x