वार्ता

‘एमाले पश्चगामी हो तत्काल एकता हुँदैन, गठबन्धनमा फेरि अपमानित भए एक्लै चुनाव लड्छौँ’ (अन्तर्वार्ता)

कमल विष्ट |
असार १७, २०७९ शुक्रबार १७:४६ बजे

काठमाडौं– नेपाली राजनीतिक वृत्तमा वाम एकताको विषय फेरि एकपल्ट बहसको सतहमा आएको छ । आफूलाई वामपन्थी दाबी गर्ने दलहरू स्थानीय तह निर्वाचनमा एक्लाएक्लै लड्दा कमजोर सावित भएपछि वाम एकताउपरको बहस दिनप्रतिदिन पेचिलो बन्दै गइरहेको देखिन्छ । 

नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष तहकै नेताहरू वाम एकताको पक्षमा खुलेरै बोल्न थालेका छन् । माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठदेखि वर्षमान पुन, एमालेका घनश्याम भुसालदेखि रघुजी पन्तलगायतका थुप्रै नेताहरू यसको पक्षमा खुलेरै वकालत गरिरहेका छन् । 


भर्खरै सम्पन्न निर्वाचनमा एमाले पहिलोबाट दोस्रो दल बनेलगत्तै एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले त ‘डिजास्टर भयो, अब वाम गठबन्धन गरौँ’ भन्ने अभिव्यक्ति दिएका थिए । 

माओवादी केन्द्रका पुन, श्रेष्ठलगायतले पार्टीभित्र वाम एकताको बहस छेडेका मात्र छैनन्, दबाब मात्र दिएका छैनन्, अध्यक्ष प्रचण्ड एकताका सवालमा सकारात्मक नभए पार्टी नै फुटाउने चेतावनीसमेत दिएका छन् । यसबारे छलफल गर्न गत जेठ ३० गते श्रेष्ठ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए । 

ओलीलाई भेटेको भोलिपल्टै श्रेष्ठले राष्ट्रियसभामा भनेका थिए, ‘एमाले एकचोटी प्रतिगमनमा संलग्न भएको शक्ति हो तर, सच्चिएर आयो, आत्मसमीक्षा गर्‍यो भने नयाँ ढंगले जान सकिन्छ ।’ उनीहरु अन्य नेताहरूसँग पनि निरन्तर विमर्शमै छन् । 

यता नौ महिनाअघि मात्र नेकपा एमालेबाट छुट्टिएर बनेको दल नेकपा एकीकृत समाजवादीको सोमबार र मंगलबार काठमाडौँमा आयोजित केन्द्रीय परिषद्को पहिलो बैठकले वाम गठबन्धनका लागि ढोका खोल्ने निर्णय गरेको छ । 

वाम एकताकै सन्दर्भमा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालसँग इकागजले संवाद गरेको छ । वाम एकताको सम्भावनाका अलवा महासविच भुसालसँग मन्त्री हेरफेरपछि पार्टीभित्र देखिएको विवाद, केन्द्रीय परिषद्को बैठकका निर्णय र आगामी निर्वाचनमा पार्टीको रणनीतिबारे पनि कुराकानी गरिएको छ । प्रस्तुत छ इकागजकर्मी कमल विष्टले भुसालसँग गरेको कुराकानीको सम्पादित अंश । 

एमाले पश्चगामी भयो भनेर तपाईंहरू नौ महिनाअगाडि एमालेबाट अलग हुनुभयो । तर, तपाईंहरूको केन्द्रीय परिषद्को पहिलो बैठकले फेरि वाम एकताका लागि ढोका खोल्ने निर्णय गरेको छ । एमालेसँग फेरि एकता हुन लागेको हो ?

पहिलो कुरा त वाम एकताका लागि हामीले केन्द्रीय परिषद् बैठकबाट ढोका खोलेका होइनौँ । लोकतन्त्र, समाजवाद, मार्क्सवाद–लेनिनवाद तथा अग्रगमनमा विश्वास राख्ने वामपन्थी दल र समूहसँग सहकार्य गर्न हामी सदैव तयार छौँ । एकीकृत समाजवादी सधैँ देशलाई समाजवादको बाटोमा डोहोर्याउन आवश्यक छ र त्यसका लागि सम्पूर्ण वामपन्थीहरू एकै ठाउँमा आउनुपर्छ भन्ने मान्यता राख्छ । यसअर्थ अस्तिको आह्वान हाम्रो पहिलो आह्वान होइन । त्यो आह्वान निरन्तरता हो । यो ढोका खोल्ने वा बन्द गर्ने कुरै होइन ।

१५ दिनअघि बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा पनि हामीले दुईटा कुरा प्रस्ताव गरेका थियौँ– लोकतान्त्रिक र वामपन्थी दुवै शक्तिसँग सहकार्य गर्ने । तर यस्तो भन्नुको अर्थ के चाहिँ होइन भने हामी मुखले वामपन्थी भन्ने शक्तिसँग एकता गर्छौँ । आफूलाई वामपन्थी भनेकै कारण एकीकृत समाजवादी उसँग एकता गर्न तयार भइहाल्दैन । हामी कस्ता वामपन्थीसँग एकता गर्छौँ भन्ने कुरामा स्पष्ट छौँ । 

जो लोकतन्त्रको विरुद्धमा काम गर्छ त्यसलाई वामपन्थी भन्नै मिल्दैन । एमालेभित्र हामीले किन विद्रोह गरेका थियौँ भने एमालेको नेतृत्व नीति, सिद्धान्त, आदर्शको विरुद्धमा थियो । यतिमात्र होइन, उसले संविधानलाई नै मिचेर लोकतन्त्रलाई समाप्त पार्ने दिशमा ऊ अगाडि बढ्यो । हामीले त्यसलाई प्रतिगमन भन्यौँ र पार्टीबाट अलग भयौँ । 

अहिलेको विद्यमान लोकतन्त्रिक प्रणालीलाई समाप्न पार्न जो लागिरहेको छ उसलाई वामपन्थी भन्न मिल्दैन । साँचो अर्थमा वामपन्थी हुनका लागि योभन्दा अगाडिको बाटोमा हिँड्नुपर्छ । अगाडि हिँड्नु त परको कुरा एमाले पछाडि फर्किरहेको छ । पश्चगामी कहिले पनि प्रगतिशील हुन सक्दैन । 

कुरा एमालेसँग एकता हुन्छ कि हुँदैन भन्दा पनि एमाले वामपन्थी हो कि होइन भन्ने मुख्य प्रश्न हो ।  हामी साँचो अर्थमा वामपन्थीसँग सहकार्य गर्न सधैँ तयार छौँ । 

तपाईंले एमाले वामपन्थी होइन त्यसैले ऊसँग एकता गर्न सकिँदैन भन्न खोज्नुभएको हो ?

हो । एमाले पश्चगमनको बाटोमा छ, उसको विद्यमान नीति र नेतृत्व ठीक छैन । त्यसैले एकता सम्भव छैन । 

तपाईंले यसो भनिरहँदा एकीकृत समाजवादी र एमालेका केही नेताहरूबीच फेरि एकताका लागि संवाद भइरहेको छ भन्ने चर्चा अहिले राजनीतिक वृत्तमा चलेको छ नि ?

(हाँस्दै) यो निराधार हो, विशुद्ध हल्ला हो । तपाईंलाई म एउटा सन्दर्भ सुनाउँछु– स्थानीय गत निर्वाचनमा ८८ पालिका गुमाएपछि अहिले एमालेभित्र व्यापक छटपटी छ । चुनावमा प्राप्त गरेको नतिजा र पार्टीभित्र विद्यमान अवस्थाका कारण एमालेका नेताहरूमा भयंकर ठूलो डर छ, छटपटी छ । 

त्यसो भएपछि एमालेका केही नेताहरू अहिले अन्य दलका नेताहरू भेट्ने र अनेक किसिमका प्रचारबाजी गर्ने काम उनीहरू गरिरहेका छन् । तपाईंले भन्नुभएको चर्चा तिनै नेताका भेट र हल्लाका उपज हुन् । 

म तपार्ईंलाई स्पष्ट रुपमा जानकारी गराउँछु कि एमालेका कुनै पनि नेतासँग हाम्रो यस विषयमा औपचारिक छलफल भएको छैन । एमाले र हामीबीच त भएको त छैन नै, मैले जहाँसम्म बुझेको छु, उनीहरूको माओवादीसँग पनि एकताका लागि औपचारिक छलफल भएको छैन । 
अब अनौपचारिक रुपमा के भयो भन्ने मलाई थाहा छैन ।

अनि माओवादीसँग चाहिँ ?

माओवादीसँग त हामी अहिले पनि सहकार्य गरिरहेकै छौँ । 

माओवादीसँगको हालको गठबन्धन त चुनाव केन्द्रित भयो । मैले पार्टी नै एकीकरण गरेर जाने कुरा गरेको । 

होइन, चुनावी गठबन्धन मात्र होइन, लोकतान्त्रिक गठबन्धन पनि हो । जहाँसम्म माओवादीसँग एकतै गरेर जाने कुरा छ त्यो तुरुन्तै हुँदैन । हामीबीचको सहकार्य राम्रो हुँदै गयो एकतासम्म पुग्न सकिन्छ भन्ने धारणा चाहिँ छ ।

जो साँचो रुपमा वामपन्थी हुन् उनीहरू जोसुकै भए पनि एकता हुनसक्छ । केहीसँग त हामीले सहकार्य गरिसकेका पनि छौँ । 

को–कोसँग गर्नुभयो ?

हामीले अहिलेसम्म पाँचवटा वाम शक्ति तथा समूहसँग सहकार्य गरिसक्यौँ । ती नेपाल कम्युनिष्ट पार्टी जनवादी, राष्ट्रिय जागरण अभियान, नेपाल कम्युनिष्ट पार्टी गौरवशाली, एकीकृत नेपाल कम्युनिष्ट पार्टी र वहिर्गमित पूर्णमुक्ति सेना हुन् । 

वहिर्गमित पूर्णमुक्त सेना अयोग्य भनेर हटाइएको समूह हो । यसबाहेक नेकपा मालेका केही पोलिटब्यूरो सदस्य पनि हामीसँग जोडिसक्नुभएको छ । एमालेका धेरै साथीहरू धमाधम एकीकृत समाजवादीमा आइरहनुभएको छ भने कति आउने तरखरमा हुनुहुन्छ । 

यी बाहेक अन्य वाम शक्तिहरूसँग पनि कुराकानी भइरहेको छ । यो क्रम चलिरहन्छ । 

एकीकृत समाजवादीको केन्द्रीय परिषद्को बैठक चलिरहेका बेला हामीले तपाईंको पार्टीका केही सदस्यहरूसँग कुराकानी गरेका थियौँ । लामो त्याग र बलिदानीले बनेको पार्टी फुट्नु ठीक थिएन भन्ने धेरैको गुनासो थियो । के भन्नुहुन्छ ?

मलाई थाहा छैन तपाईंले कोसँग कुराकानी गर्नुभयो । तर, म दाबी गरेर के भन्छु भने पार्टी फुटेकोमा निराश हुने हाम्रा प्रतिनिधि थिएनन् । बैठकमा सहभागी हुन देशभरबाट १४ सय ५५ जना प्रतिनिधि आउनुभएको थियो । उहाँहरू साँच्चिकै असन्तुष्ट हुनुहुन्थ्यो भने त्यत्रा सदस्यहरू त्यहाँ आउनुहुन्थ्यो होला र ? विद्रोह गरेर छुट्टिएकोमा हाम्रा कुनै पनि सदस्यलाई दुखेसो छैन । 

त्यहाँ विभिन्न खालमा विभिन्न नियत बोकेका मान्छेहरू पनि आएका हुनसक्छन् । तिनीहरूले पार्टीविरोधी कुरा गरिदिएका पनि हुनसक्छन् । म तपाईंलाई के भन्न चाहन्छु भने बैठकमा उपस्थित हरेक सदस्य उत्साहित हुनुहुन्थ्यो, बैठकको उद्घाटनदेखि समापनका दिनसम्म । उहाँहरू विभिन्न ११ वटा समूहगत छलफलमा सहभागी हुनुभयो र प्रतिवेदनउपर आफ्ना रचनात्मक सुझाव तथा सल्लाह पनि दिनुभयो । 

दुई दिने बैठकमा कसैमा निराशा झल्किएन । 

मन्त्रीहरू हेरफेरको निर्णयले पार्टीभित्र असन्तुष्टि सिर्जना गराएको थियो नै त्यो बैठकमा पनि देखियो । उद्घाटनमा पूर्वमन्त्री झाँक्रीबाहेक अन्य फेरिने मन्त्रीहरू उपस्थित थिएनन् । के भन्नुहुन्छ ?

होइन, त्यहाँ सम्पूर्ण पूर्वमन्त्रीहरू उपस्थित हुनुहुन्थ्यो । कुरा के मात्र हो भने उहाँहरू झाँक्रीबाहेक अरु ढिलो पुग्नुभएको हो । विरोध खतिवडाहरूको नयाँ मन्त्रीहरूलाई स्वागत र पदस्थापना गर्ने काम भएकाले उहाँहरू समयमा पुग्न सक्नुभएन । 

तपाईं यस्तो दाबी गरिरहँदा एकीकृत समाजवादीभित्र देखिको असन्तुष्टि दिनप्रतिदिन बढिरहेको छ । त्यो असन्तुष्टिले पार्टीलाई फुटसम्मै पुगाएको छ भन्ने पनि छ नि ?

(हाँस्दै) यो चाहिँ हाम्रो पार्टीलाई नबुझ्नेहरूको आँकलन हो । मन्त्री हेरफेरको निर्णयले पार्टीभित्र कुनै पनि किसिमको मनमुटाव, मद्भेद, विवाद उत्पन्न भएको छैन । 

उहाँहरूले बजेट सेसन नसकिँदासम्म हामीलाई नहटाइयोस्, सेसनका क्रममा उठेका प्रश्नको जवाफ दिने मौका दिइयोस् भनेर भन्नुभएको हो । उता हाम्रो निर्णय प्रधानमन्त्री देउवाले कार्यान्वयन गर्न ढिलो गरेकाले पनि विवाद नयाँ मन्त्रीहरू आउन समय लागेको हो । 

त्यसो भए पार्टीमा कुनै समस्या छैन ?

छैन । केही साथीहरूले संसदीय दलको बैठकका लागि गरेको हस्ताक्षरे पनि पछि फिर्ता लिइसक्नुभएको छ । 

पार्टीका स्थायी कमिटी, केन्द्रीय कमिटी, पोलिटब्यूरो, केन्द्रीय परिषद् चारै संरचनाका बैठक हामी बस्यौँ । चारै बैठकमा हामीबीच फरक मत, विमती कतै देखिएन। 
पार्टीको निर्णय कार्यान्वयनमा हामी असन्तुष्ट छैन भनेर उहाँहरू आफैँले भनिसक्नुभएको छ । पार्टी फुटबारे त कुरासमेत भएको छैन । त्यसैले, यस विषयमा त कुरै नगरौँ । 

बाहिरिने क्रममा मन्त्रीहरूले आआफ्नो मूल्यांकन गरे । केहीले त आफूलाई अंकसमेत दिए । पार्टीले चाहिँ उहाँहरूको मूल्यांकन कसरी गरेको छ, कित अंक दिएको छ ?

उहाँहरूलाई गरेर हामी अंक दिने पक्षमा छैनौँ । तर, पार्टीले उहाँहरू सबैलाई हामी आफ्नो रिपोर्ट कार्ड बुझाउन भनेका छौँ । त्यसका आधारमा पार्टीले मूल्यांकन गर्नेछ । 

पूर्वमन्त्रीहरूले आआफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेनन् । सार्वजनिक गर्नका लागि पार्टीले किन निर्देशन नदिएको ?

होइन, उहाँहरू सबैले आआफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिसक्नुभएको छ । विवरण प्रधानमन्त्री कार्यालयलाई बुझाइसक्नुभएको छ । कार्यालयले अहिलेसम्म के कारणले प्रकाशित गरेन, त्यो मलाई थाहा भएन । यस विषयमा तपाईंहरूले बरु के कारणले अहिलेसम्म प्रकाशित गर्नुभएन भनेर बुझिदिनुस् न । अनि बुझेर हामीलाई नि बताइदिनुहोला ।  

केन्द्रीय परिषद् बैठकमा प्रस्तुत ‘सांगठनिक तथा राजनीतिक प्रतिवेदन’मा संगठित शक्ति र आर्थिक अभावका कारण पार्टीले चुनावमा अपेक्षित नतिजा ल्याउन नसकेको निष्कर्ष निकालिएको छ । आसन्न चुनावमा ती कुरालाई चिरेर अगाडि बढ्ने रणनीति के छ ?

अपेक्षित नतिजा आउनु नसक्नुको धेरैमध्ये दुईटा कारण यी पनि हुन् । हामीले सबै ठाउँमा संगठन बिस्तार गर्न सकेनौँ । संगठन बिस्तारका लागि ६ महिनामात्र पायौँ। कोरोनाले पनि मार खेप्नुपर्यो । विशेषगरी पालिका स्तरमा हामी कमजोर थियौँ । पालिका स्तरमा ७४ र वडा वस्तरमा ५६ प्रतिशतमात्र हाम्रो संगठन थियो । 

आगामी चुनावका लागि हामीले मूख्यगरी तीनवटा कार्ययोजना बनाएका छौँ । पहिलो, संगठनलाई सबै ठाउँमा बिस्तार गर्ने । दोस्रो, बनेका कमिटीलाई क्रियाशील गर्ने । र, तेस्रो, प्रचारप्रसारको कामलाई व्यापक रुपमा लाग्ने । त्यसका लागि आर्थिक योजनालाई मजबुद बनाउन पार्टी लागेको छ । 

अब अन्त्यमा, आगामी चुनावमा एकीकृत समाजवादी कहाँ हुन्छ, कति सिट ल्याउने आँकलन छ ?

आसन्न चुनावमा एकीकृत समाजवादी देशैभर हुन्छ, १६५ प्रतिनिधि तथा २३० प्रादेशिक सदस्यका लागि । अब अहिल्यै यतिउति सिट ल्याउँछौँ भनेर हामी भन्दैनौँ । यो अहिलेदेखि नै प्रचार गरेर हिँड्ने कुरा पनि होइन । कति कुरा आन्तरिक हुन्छन् । 

कहाँ को उठ्ने भन्ने विषयमा गठबन्धनभित्र छलफल हुन्छ । तर, गठबन्धनले यो चुनावमा पनि अपमान गर्यो भने हामीले एक्लै चुनाव लड्छौँ । त्यसको तयारी पनि हामीले अहिल्यैदेखि गरिसकेका छौँ । गठबन्धन भए गठबन्धनमा सामेल भएर चुनाव लड्ने होइन भने एक्लै चुनाव लड्ने हाम्रो निष्कर्ष हो ।

सारमा भन्नुपर्दा, देशैभर हाम्रो सशक्त उपस्थिति हुन्छ । 
 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x