वार्ता

'मेलम्चीले ठूला आयोजना निर्माणमा विश्‍वास जगाएको छ '

विकास थापा |
चैत २३, २०७७ सोमवार १६:४० बजे

पानीको कष्ट झेल्दै आएका काठमाडौं उपत्यकावासी गत चैत १५ देखि मेलम्चीको पानी आएपछि खुशी देखिन्छन् । पानीमै मासिक हजारौं रुपैयाँ खर्च गर्नुपर्ने बाध्यताबीच मेलम्ची आएपछि केही आशाको सञ्चार भएको छ । यद्यपि चक्रपथभित्र मेलम्ची पूर्ण रुपले विस्तार हुन अझै दुई वर्ष लाग्छ भने उपत्यकामा मेलम्चीको अर्काे चरण (दैनिक ५१ करोड लिटर पानीको बन्दोबस्त) पूरा हुन २०८१ सालसम्म पर्खनुपर्ने भएको छ । १२ वर्षदेखि जहिले पनि निर्माणाधीन रहेको मेलम्ची खानेपानी आयोजना जलस्रोतविद् तथा इन्जिनियर माधव बेल्बासे खानेपानी सचिव अर्थात् मेलम्ची विकास समितिको अध्यक्ष भएर आएपछि पूरा भयो, जसलाई उनी संयोग मात्र मान्छन् । यही सेरोफेरोमा इकागजका विकास थापाले खानेपानी सचिव बेल्बासेसँग गरेको कुराकानीको सारसंक्षेप :-

मेलम्चीको पानी उपभोक्तासम्म पु¥याइसकेपछि कस्तो अनुभूति गर्दै हुनुहुन्छ ?


यसलाई दुई प्रकारले हेर्न चाहे । पानी बिनाको साँझ बिहानको अवस्था थियो त्यसलाई एउटा आमनागरिकको हिसाबले हेर्दा निकै आनन्दको अनुभूति भयो । दोस्रो, निर्माणको अन्तिम समयमा सहभागी भए पनि जलस्रोतको एउटा विद्यार्थीको हिसाबले हेर्दा ठूलो संरचना निर्माण भएर घरको धारासम्म पानी पुगेको देख्दा सुखद अनुभूति भयो ।

उपत्यकामा सर्वाधिक चर्चित मेलम्ची अन्तिम घडीमा ल्याइपुर्‍याउन कस्तो प्रयास रह्यो ?

यो धेरै लामो आयोजना हो । निर्माण सुरु भएकै १२ वर्ष भयो । म खानेपानी मन्त्रालयमा आउँदा निकै धेरै काम सम्पन्न भइसकेको थियो । तर विगत २० महिनाको मेरो अनुभमा भन्नु पर्दा मेलम्चीलाई सिंगो सरकारले नै एउटा ‘मिसन’ बनाएको थियो । आयोजनाका कर्मचारीहरु र सबै पक्ष यो आयोजना पूरा गर्न दत्तचित्त भएर लागिएको अवस्था थियो । त्यो मिसन सफल भयो । 

अन्तर सरकारी निकायबीच समन्वय अभाव नै नेपालको ठूला आयोजनाको समस्या रहेको भोगाईका आधारमा भन्नुपर्दा मेलम्चीमा समन्वयको कस्तो अनुभव भयो ?
ठूला विकास निर्माणका आयोजनाको सबैभन्दा महत्वपूर्ण पक्ष समन्वय हो । यो मेलम्चीलाई मात्र लागू हुँदैन । कतिपय सानातिना आयोजना पनि समन्वय अभावमा अड्किरहेको हुन्छ । सिंचाई विभागमा बसेर ठूला आयोजना सञ्चालन गरेको मेरो अनुभवले पनि मेलम्चीमा समन्वय गर्न काम ग¥यो जस्तो लाग्छ । खानेपानी मन्त्रालय आफैमा समन्वयात्मक तवरमा आयोजनाहरु सञ्चालन गरिरहेको छ- उपभोक्ताहरुसित, स्थानीय नेतृत्वसँग । राष्ट्रिय गौरवको यो आयोजना भएकाले उपभोक्ता र सरकार सबैको ध्यानाकर्षण गर्ने आयोजना भएकाले समन्वयमा निकै सजिलो भयो ।

अब मेलम्ची पूर्ण रुपमा कहिले आउँछ ?

अबको दुई, तीन साताभित्र हालको पूर्ण क्षमता (दैनिक १७ करोड लिटर) मा आउँछ । मेलम्चीको मुहान (हेडवक्र्स) मा केही काम बाँकी छ । निर्माण कार्य सम्पन्न भए पनि एउटा मेसिन जर्मनीबाट जूनमा आउने योजना छ । त्यो आउनेबित्तिकै हाम्रो सम्पूर्ण कार्य सम्पन्न हुन्छ । त्यसपछि पूर्ण रुपले स्थायी मुहानबाटै मेलम्चीको १७ करोड लिटर पानी आउँछ ।

याङ्ग्री र लार्केको १७, १७ करोड लिटर मिसाउने योजना कहाँ पुग्यो ?

अस्ति प्रधानमन्त्रीज्यूले पनि स्पष्ट रुपमा निर्देशन दिइसक्नुभएको छ । २०८१ सालमा याङ्ग्री र लार्केसमेत सम्पन्न गर्ने प्रधानमन्त्रीज्यूबाट निर्देशन भएको छ । त्यसका अलावा मैले साथीहरुलाई टीबीएम (मेसिनले नै सुरुङ खन्ने) प्रयोग गर्न सकिने अवस्था अध्ययन गर्न भनिसकेको छु । अर्काे, दैनिक ३४ करोड पानी प्रशोधन केन्द्र बनाउनुपर्नेछ । यसका लागि प्रक्रिया अघि बढाउने र तेस्रो याङ्ग्री र लार्केको हेडवक्र्स (मुहान) डिजाइनलाई पुनःविचार गर्ने कुरा छ । यी कार्य अघि बढाउन मैले मन्त्रालय र मेलम्ची आयोजनाका साथीहरुलाई भनिसकेको छु ।

याङ्ग्री र लार्केको समेत पानी मिसाउने योजनामा एसियाली विकास बैंक (एडीबी) सहयोग गर्न तयार छ । पहिलो चरणको मेलम्चीको काम पूरा गर्न निकै लामो समय लागेको कारणले गर्दा एडीबीले काठमाडौं उपत्यकामा पानी आइसकेपछि हामी अघि बढ्छौं भनेको थियो । अब एडीबी पनि सकारात्मक रुपमा आएको छ । पाँच दिनअघि हाम्रो मन्त्रालय, अर्थ मन्त्रालय र एडीबीका प्रतिनिधि बसेर यस विषयमा छलफल गरेका थियौं । उहाँहरु सकारात्मक हुनुहुन्छ । आर्थिक सहयोगको पाटो स्पष्ट हुनेबित्तिकै निर्माण प्रक्रिया अघि बढाउन हामीलाई धेरै समय लाग्दैन । प्रधानमन्त्रीज्यूले भन्नुभएको अवधिमा मेलम्चीको दोस्रो चरण पूरा गराउने दिशामा हामी प्रतिबद्ध छौं ।

अब बनाउनुपर्ने दुईवटा पानी प्रशोधन केन्द्र र दुई ठाउँमा सुरुङ (११ किमि) होइन ?

पानी प्रशोधन केन्द्रको सम्पूर्ण क्षमता दैनिक ५१ करोड लिटर पुर्‍याउने हो । विद्यमान १७ करोड लिटरको प्रशोधन केन्द्रको डिजाइनमा हल्का परिवर्तन गरेर २५ करोड लिटरसम्म गर्न सकिन्छ कि भनेर हेर्ने । बाँकी २५, २६  करोड लिटरको अर्काे प्रशोधन केन्द्र बनाउन प्रक्रिया सुरु गर्ने हो । त्यसपछि याङ्गी लार्केको लागि ११ किलोमिटर सुरुङ र दुईवटा बाँध बनाउने प्रमुख कार्य हुन् ।

यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनिसकेको हो ?

यसको डीपीआर भइसकेको छ । लागत चाहिं अद्यावधिक गर्नुपर्नेछ । टीबीएम प्रयोग गर्‍यो भने सुरुङको लागत १५ अर्ब रुपैयाँ पर्ने देखिएको छ । समग्र अनुमानित लागत चाहिँ अधिकतम २५ अर्ब रुपैयाँ छ । यो रकम नेपाल सरकार र एडीबीबाट जुटाउने योजना छ । एडीबीले कति रकम विनियोजन गर्छ भन्ने टुंगो भने लागिसकेको छैन । हिजोको मेलम्चीमा ८० प्रतिशत दाता र २० प्रतिशत नेपाल सरकार भएर लगानी भएको हो । यसको कूल लागत टुंगो लागेपछि त्यसअनुसारको योजना बन्छ । त्यही अनुपातमा हुन सक्छ ।

याङ्ग्री र लार्केसमेत आइसकेपछि उपत्यकाको खानेपानीको अवस्था कस्तो हुने देख्नुभएको छ ?

यो महत्वपूर्ण प्रश्न हो । याङ्ग्री र लार्केसमेत आइसकेपछि उपत्यकाको करिब ५० लाख जनसंख्यालाई प्रतिव्यक्ति प्रतिदिन सय लिटर पानी उपलब्ध गराउन सकिन्छ । त्यसमा प्रणालीमा विद्यमान हुने १० प्रतिशत चुहावट कटाउने हो भने प्रतिव्यक्ति प्रतिदिन ९० लिटर पानी उपलब्ध हुनेछ । हामीहरुको आनीबानी, रहनसहन र जीवन शैलीलाई हेर्ने हो भने ९० लिटर पर्याप्त हुन्छ जस्तो लाग्छ मलाई । तसर्थ ५० लाख जनसंख्यालाई मेलम्चीले धान्छ ।

२०८१ पछि त उपत्यकाको जनसंख्या पनि बढ्छ नि ?

मेलम्चीबाहेक हाम्रो स्थानीय स्रोत पनि त छ नि । सुख्खायाममा अहिले पनि यही स्थानीय स्रोत करिब दैनिक १० करोड लिटर पानी प्रयोग भइरहेकै छ । यसलाई पनि जोड्दा पुग्छ । तर पानी फारो पनि गर्नुपर्छ । पानीलाई खेर फाल्नु हुँदैन । जनसंख्या वृद्धिलाई पनि रोक्ने प्रयास गर्नुपर्छ । विकासका गतिविधिहरुलाई विकेन्द्रित गर्नुपर्छ, जसले गर्दा काठमाडौं उपत्यकालाई कहिले पनि नरोकिने जनसंख्या वृद्धि गरेर त कुनै पनि स्रोत साधनले पुग्‍ने कुरा आउँदैन ।

मेलम्चीको जुन वितरण सञ्जाल छ, यो पूरा हुन अझ कति समय लाग्छ ?

चक्रपथभित्रकै काम सक्न अझै दुई वर्ष लाग्छ । किनभने स्वयंभू, महाराजगञ्ज, विशालनगरलगायतका  क्षेत्रहरुमा पाइप बिच्छ्याउनै बाँकी छ । टेण्डर गरेर काम सुरु भइसकेको छ । तत्काल पाइप बिच्छ्याइसकेका क्षेत्रहरुमा  परीक्षण गर्दै पानी वितरण हुने छ । ती सबै ठाउँमा पानी छाड्दै परीक्षण गर्दै लैजान छ, सात महिना लाग्छ । त्यसपछि सम्पूर्ण पानी वितरण प्रणालीलाई कम्प्युटराइज्ड गरिनेछ । कम्प्युटरले नै पानी वितरण गर्ने, नियन्त्रण गर्ने सबै संयन्त्र स्थापनाका लागि ठेक्का सम्झौता ६ महिनाअघि भइसकेकाे छ । यसलाई पनि दुई वर्ष लाग्छ । चक्रपथभित्रको सम्पूर्ण प्रणालीलाई अत्याधुनिक बनाइनेछ । कुनै विकसित देशको राम्रो शहरको मापदण्डमा पानी वितरण प्रणालीसमेत विकास गर्न दुई वर्ष लाग्छ । त्योभन्दैमा दुई वर्षसम्म के त ? त्यो दुई वर्षको अवधिमा आम उपभोक्ताले विगतको भन्दा फरक ढंगले आफूलाई सुखद अनुभवका साथ पानी प्राप्त गर्नुहुनेछ ।

मेलम्ची आएपछि खानेपानी महसुल वृद्धि हुने भनिएको छ कति हुन्छ ?

हामी खानेपानी महसुल निर्धारण आयोगको पदाधिकारी नियुक्ति प्रक्रियामा छौं । यो बीचमा लामो समय आयोगमा पदाधिकारी छैन । आयोजना कार्यान्वयन निर्देशनालयले उपत्यकमा निर्माण गरेका खानेपानीसम्बद्ध भौतिक संरचना लगानी छन्, त्यो लगानी नेपाल सरकारले उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई ऋणस्वरुप प्रदान गरेको रकम हो । ऋण लिएपछि फिर्ता गर्नुपर्छ । त्यो फिर्ता गर्ने भनेको उपभोक्ताबाट उठाउने हो । महसुलबाटै पैसा फिर्ता आउने हो । त्यो लागत भरणका हिसाबका लागि पनि महसुल वृद्धि हुन्छ । तर म अहिले नै ठ्याक्कै भन्न सक्दिनँ । किनभने त्यसैका लागि आयोग पदाधिकारी नियुक्ति प्रक्रिया सुरु भएको छ । केयूकेएलले माग गरेको महसुलमा आयोगले अध्ययन गरी औचित्यता खुलाएर निर्धारण गर्नेछ । खानेपानीलाई संविधानको मौलिक हकअन्तर्गत राखिएकाले महसुल निर्धारण गर्दा न्यूनतम पानी प्रयोग गर्नेको एउटा महसुल हुन सक्छ । मेलम्चीको धेरै पानी उपभोग गर्नेलाई धेरै पैसा तिर्नुपर्ने हुन सक्छ ।

मेलम्चीको पानी जार र ट्यांकरभन्दा त सस्तो होला नि ?

त्यो त कुरै भएन नि । केयूकेएलले अहिले नै पाँच रुपैयाँ लिटरमा एटीएमबाट पानी दिइरहेको छ । नेपाल सरकारले दिने पानीको मूल्य त जार र ट्यांकरसँग तुलनै हुन सक्दैन । गुणस्तर, परिमाणको हिसाबले आमउपभोक्ता ट्यांकर र जारको पानी किन्‍न बाध्य हुनेछैनन् ।

मेलम्चीले मुलुकको विकास प्रक्रियालाई के पाठ सिकाएको छ ?

ठेक्का व्यवस्थापनमा भिन्न समस्या आउँछ । यस्ता खाले आयोजना सम्पन्न भएपछि विश्वास बढ्छ । अर्काे ठेक्कामा दुई, तीन पटक ठेक्का तोडिने, पूरा हुन १२, १५ वर्ष लाग्ने हुन्न अब । हिजो सन् १९९४ देखि जुन आँट र हिम्मतका साथ यो आयोजना अघि बढाउनु भयो, त्यसको सह«ाना गर्नुपर्छ । हिजोको दिनमा यो आयोजना अति महत्वांकाक्षी थियो । आजको मितिमा यो मेलम्ची त्यति महत्वाकांक्षी नहोला । अबका दिनहरुमा यस्ता आयोजना निर्माण गर्न विगतको हिसाबले हेर्दा योभन्दा पनि ठूलो आयोजना बनाउन सकिन्छ भन्ने अबको पुस्तामा त्यो विश्वास हुनुपर्छ ।

पचास लाख जनसंख्याका लागि मेलम्ची सर्वाधिक चर्चित रह्यो, तर अढाई करोड नेपालीको घरमा पानी पुगेको छैन, तथ्यांकमा ९१ प्रतिशत पहुँच भनिएको छ ।
विभिन्न अध्ययनले ९१ प्रतिशत पुगे पनि कतिपय प्रणालीमा २५, ३० प्रतिशतको हाराहारीले काम गर्दैनन् भन्ने देखाएका छन् । तिनको व्यापक पुनःस्थापना गर्नुपर्नेछ । आधारभूत तहको सेवाको कुरा गर्दा निर्माण गरेका प्रणाली अहिले आएर काम नगरेको पनि हुन सक्छ । त्यसमा हामीले थप काम गर्नुपर्नेछ । उच्च र मध्यमस्तरको खानेपानीको तथ्यांक हेर्दा कूल जनसंख्याको २३ प्रतिशत छ । १५ औं योजनाभित्र उच्च र मध्यमस्तरको खानेपानी पहुँच ४० प्रतिशत पुर्‍याउने भनेका छौं । उपत्यकाबाहिरका खानेपानी क्षेत्रलाई बृहत् रुपमा सोचिएको मैले पाइनँ, म यहाँ आइसकेपछि देखेको कुरा । ठूला आयोजनाको परिकल्पना गर्ने विषय अलि कम नै देखें मैले । शहरहरु तीव्र विकास भइरहेको छ । बुटबल, भैरहवा, इटहरी, विराटनगर, दमक । यी शहर साँच्चिकै ठूला भइसके । तर त्यो तहको योजना देखिएको छैन । त्यही भएर ठूला नदीका पानीलाई पथान्तरण (डाइभर्ट) गरौं भन्‍ने सरकारको योजना छ । ठूला नदीको पानी प्रशोधन गरी ठूला शहरमा आपूर्ति गर्ने योजना तर्जुमा भइरहेको छ । सुनकोसी मरिन सम्पन्‍न भएपछि सुनकोसीको पानी खान सकिन्छ । तर बागमतीको सकिंदैन । सुनकोसी मरिनले २ नं. प्रदेशको अधिकांश क्षेत्रको खानेपानी समस्या हल छ । त्यहाँ भूमिगत पानीको लेभल घटिरहेको छ । त्यस्तै मैले गरेको अर्काे प्रयास नारायणी लिफ्ट सिंचाइ योजना हो । यसको कमाण्ड एरिया थियो, अहिले घर बनिसके, सिंचाइको औचित्य छैन । सिंचाइ नै गर्नुपर्‍यो भने पूर्ण क्षमतामा सञ्चालन गर्न जरुरी छैन । त्यसमध्येका केही पम्पलाई खानेपानीमा प्रयोग गर्न सकिन्छ । 

मेलम्ची आएपछि ढलको समस्याको चर्चा पनि उठेको छ ?

त्यो सत्य हो । हामी ५० करोड लिटर पानीको ढल व्यवस्थापनमा जुटिसकेका छौं । तर कार्यान्वयनमा केही समस्या देखिएका छन् । खानेपानी र ढललाई एकसाथ व्यवस्थापन गर्ने प्रयास भइरहेको छ ।

सबै उपभोक्ताले अझै पनि पानी पाइरहेका छैनन् नि ?

उपत्यकाको खानेपानी विगतमा हाहाकार थियो । जनसंख्याको अनुपातमा पानी उपलब्धता अत्यन्त न्यून थियो । आम उपभोक्ताले धैर्यधारण गरेर मेलम्चीलाई कुरेर बस्नुभयो, म उहाँहरुप्रति आभार व्यक्त गर्न चाहन्छु । यो धैर्यताको लागि सह«ाना गर्छु । अबका दिनमा नयाँ युगमा प्रवेश गरेको अवस्था छ । पुरानो प्रणालीबाट दिइरहेका छौं । जुन ठूला पाइप अगाडि छन्, त्यसमा पर्याप्त पानी आइरहेको छ । त्यहाँ पम्प गरिदिंदा  पुछारको घरमा पानी पुगेको छैन । हामी सबैले विगतका दिन सम्झेर पुछाराका उपोक्तालाई पानी दिनुपर्छ । पुरानो पाइप नहटाएसम्म ४० प्रतिशतसम्म चुहावट छ, त्यो पछि हट्छ । समान रुपले सबैलाई वितरण गरिदिनु हुन म आग्रह गर्न चाहन्छु ।  


Author

विकास थापा

जलविद्युत तथा राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x