वार्ता

क्यानको बारेमा अनुचित बोल्दा सांसदकै कद घट्योः चतुरबहादुर चन्द

इकागज |
साउन १, २०७९ आइतवार २१:१४ बजे

काठमाडौँ - अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आर्थिक पाटोमा लगाउँदै आएको आंशिक प्रतिवन्धबाट नेपाल क्रिकेट संघ (क्यान) मुक्त भएको छ । अब क्यानलाई निर्वाधरुपमा आफ्ना कार्यक्रम अगाडि बढाउने बाटो खुलेको छ । यसअघि क्यानलाई सरकारको हस्तक्षेप र क्यानभित्र भएको अनियमितताका कारण आईसीसीले २०१४ मा निलम्वन गरेको थियो । तर प्रतियोगिता खेल्नका लागि भने खेलाडीलाई आईसीसीले बाटो खुलाएको थियो ।

यद्यपी क्यानको आर्थिक पाटोमा भने आंशिक प्रतिवन्ध कायम नै राखेको थियो । तर २०२२ को जुन महिनामा आईसीसीले क्यानमाथिको आर्थिक आंशिक प्रतिवन्ध फुकुवा गरेसँगै गुरु योजनाको रुपमा रहेको नेपाल टी-२० लिग हुने पक्का भएको छ ।


साधारण सभाबाट पारित भइसकेको नेपाल टी–२० लिग एकमात्र लिग भएको घोषणा गर्दै क्यानले केही संस्करण सम्पन्न भइसकेका फ्रेन्चाईज लिगलाई भने अंकुस लगाएको छ र क्षेत्रीय स्तरका प्रतियोगिता गर्न फ्रेन्चाईज लिग आयोजकलाई बाटो देखाएको छ । जुन कदमले फ्रेन्चाइज लिग आयोजक क्यानसँग रुष्ट छन् ।

फ्रेन्चाईज लिगको आयोजक अदालतसम्म पुगेको छ । तर क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपाल टी–२० लिग आयोजनाका हिसावले क्यान, खेलाडीदेखि सबै पक्ष नेपालको हीतमा भएको बताए ।

नेपाली क्रिकेट विकास र खेलाडीको हीतमा भएको भन्दै चन्दले सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता स्वच्छ भएको बताए ।

यसै सन्दर्भमा चन्दसँग गरिएको कुराकानी ।

प्रश्नः भर्खरैमात्र आईसीसीले क्यानमाथि लगाउँदै आएको आंशिक आर्थिक प्रतिवन्ध फुकुवा गरेको छ, क्यानलाई निर्वाधरुपमा काम गर्ने बाटो पनि खुला भएको छ, अब क्यानको योजना कसरी अगाडि बढ्छ ?

उत्तरः आर्थिक पाटोमा लगाउँदै आएको आंशिक प्रतिवन्ध आईसीसीले पूर्ण रुपमा फुकुवा गरिसकेको छ । क्यान प्रतिवन्ध हुँदापनि आईसीसीले नेपालमाथि आंशिक प्रतिवन्ध लगाइरहेको थियो । यससँगै आईसीसीले धेरै विषयमाथि नेपाली क्रिकेटलाई हेरिरहेको थियो । पछिल्लो समय हामीले आर्थिक विषयलाई नियमन गर्‍यौ । कर चुक्ता गर्‍यौ । विभिन्न विषयमा देखिएका बेरुजुहरु फर्छ्यौट गर्‍यौ । आर्थिक विषयका पाटामा नियमवद्ध भएर अगाडि बढ्यौं । यस पश्चात आईसीसीलाई कन्ट्रोल फण्डिङ गर्नुपर्दैन भनेर फुकुवा गरेको हो ।

क्यान निलम्वनबाट बाहिर आइसकेको छ । नेपाल भित्रको क्रिकेटका लागि क्यान स्वतन्त्र छ भनेर आईसीसीले केलायो । साथै आर्थिक रुपमा कसरी फाइदा लिने भन्ने विषयमा पनि क्यान सक्षम भएको आईसीसी ठहर गर्‍यो । आईसीसीले दिने सहयोगबाट मात्र नेपाल क्रिकेट धान्न सकिँदैन । त्यस कारण निलम्बन फुकुवा भएपनि कन्ट्रोल फण्डिङका बावजुद पनि हामीले निजी क्षेत्रसँग कुरा गरेका थियौं ।

आईसीसीको क्रिकेट विश्वकप लिग–२ का खेलहरु नेपालमा पहिलोपटक आयोजना हुँदा निजी क्षेत्रबाट नेपाली क्रिकेटलाई सहयोग पुगेको थियो । क्यान निलम्बनमा हुँदा धेरै निजी घरानाहरु क्रिकेटसँग जोडिएका थिए । अहिले क्यानको निर्णयपछि उहाँहरुलाई एकैपटक बाहिर निस्कन पनि गाह्रो भयो । के कारण हो, थाहा छैन । क्यान नेपाली क्रिकेटको सर्वोच्च संस्था हो ।

देशभित्र हुने कुनैपनि क्रिकेट गतिविधिलाई नियमन गर्ने अधिकार क्यानलाई हुन्छ । आधिकारिकताको हिसावमा पनि क्यानले नै निर्णय गर्ने हो । जुन यसअघि गर्दै आएकाले विश्वास नगरे जस्तो लाग्यो । निलम्बनको बेला आईसीसीले आयोजनाका लागि अनुमति दिएको छ । त्यसका कारण प्राइभेट लिगहरु आईसीसीले केही रकम लिएर सञ्चालनको अनुमति दिएको थियो । तर क्यानको आफ्नै लिग हुने भनेपछि भइरहेका लिगलाई क्षेत्रीय स्तरमा दिने निर्णय गरेका छौं ।

क्यानले आयोजन गर्न लागेको लिगलाई सबै हिसावले क्रिकेटको हीतमा छ । वार्षिक ४ करोड दिने भनिएको लिगलाई कसैले टिका टिप्पणी गरिरहेका छन् । विगतमा क्यानले पाउँदै आएको २० हजार डलर भन्दा धेरै गुणा बढी छ । यसले नेपाली त्रिकेटको ‘भ्यालू क्रिएट’ भएको छ ।

प्रश्नः गुरुयोजनाको रुपमा रहेको नेपाल टी–२० लिगको मिति पनि तोकिएको छ, केही गृहकार्य पनि भइसकेका छन्, सोमवार यसका मालिक घोषणा गर्ने कार्यक्रम पनि छ, वास्तवमा नेपाल टी–२० लिग कस्तो लिग हो, कस्तो खेलाडीले खेल्न पाउँछन् ? आयोजनाको सम्बन्धमा भारतीय एक कम्पनीसँगको सम्झौता कस्तो हो, जुन अहिले त्यो कम्पनीमाथि विभिन्न टिका टिप्पणी भइरहेका छन्, संसदमा पनि कुरा उठेको छ ?

उत्तरः नेपाल टी–२० लिग नेपाल क्रिकेट संघको एकमात्र आधिकारीक लिग हो । नेपाल क्रिकेटले आयोजना गर्ने आफ्नो प्रतियोगिता हो । नेपाली खेलाडीले खेल्ने एकमात्र आधिकारिक लिग हो । नेपाल क्रिकेट संघ भित्र, अहिलेको कार्यसमिति भित्र, प्रदेश कार्यसमिति भित्र, क्षेत्रभित्र सबै स्थानमा स्वयंसेवक छन् । यही जनशक्तिबाट क्रिकेट संघ बिस्तारै ‘सेटअप’ हुँदैछ । कार्यालय पनि व्यवस्था हुँदैछ । जोडिएका कर्मचारी बिस्तारै अभ्यस्त हुँदैछन् । अहिले क्रिकेट संघमा भएको पदाधिकारीबाट रणनीतिक र आर्थिक हिसावमा सफल हुन नसक्ने अवस्था हुन्छ । त्यसैले यस्ता प्रतियोगिता आयोजनाका लागि केही संस्थाको सहयोग जरुरी हुन्छ । सोही कारण हामी त्यो संस्थासँग जोडिएका हौं । 

दुई पक्षीय वार्तापछि रणनीतिक साझेदारीका लागि कुनै संस्थासँग सम्झौता हुनेगर्छ । जुन संसारको चलन हो । दुई पक्षीय छलफलपछि के कति लिने, कति वर्षलाई गर्ने आपसमा समझदारीमा हुन्छ । भारतीय कम्पनी ‘सेभेन थ्री स्पोटर्स’ सँगको सम्झौता नेपाली क्रिकेटको हीतका लागि भएको हो । नेपाली क्रिकेट तल पर्दैन । नेपाली खेलाडीको हीतमा हुन्छ भने दुई वर्षअघि साधारण सभाबाट पास गराई सम्झौता गरेका हौं । साधारणसभा अघि नै हामीले ४२ करोडमा लिग गर्दैछौं भनेका थियौं । सबै पत्रपत्रिका पनि छापिएको थियो । अहिलेको मितिसम्म त्यो भन्दा माथिको रकम दिन्छौं भनेर नेपाल, भारत या विश्वका कुनैपनि आएको छैन । कसैले टेण्डर प्रक्रिया भएन भने टिप्पणी गरिरहनुभएको होला, त्यसो होइन । यो पुरानै साधारण सभाबाट पारित भएको विषय हो ।

प्रतियोगिता आयोजना गर्नु कुनै सामान्य भौतिक संरचना बनाउनु जस्तो होइन । हामीले एउटा अमूर्त वस्तुलाई उठाउन खोजिरहेका छौं । यस्ता विषयमा दुई पक्षीय सम्झौता हुनेगर्छ । विगतमा चौधरी ग्रुपपको वाईवाईले १५ वर्ष भन्दा बढी यु–१९ नेपाली क्रिकेटलाई सहयोग गर्‍यो । त्यो सहयोग आपसी समझदारीमा भएको थियो । यस विषयमा पनि कतैबाट प्रश्न उठेन । अस्तिमात्र पनि वाईवाईले पाँच वर्षका लागि सहयोग गरेको छ । त्यो पनि आपसी समझदारीमा वार्तामा बसेर भएको हो ।

क्रिकेटमा मात्र होइन अन्य खेलकुदमा पनि संस्था जोडिने आपसी समझदारीमा नै हो । वार्ताबाटै हो । त्यसैले नेपाल टी–२० क्रिकेट संघको आफ्नो लिग हो । सम्झौता भएको कम्पनीसँग हामीले ८ वर्षका लागि रणनीतिक र कर्मसियल पाटनरको रुपमा साथ लिएको छौं । यसले नेपाली क्रिकेटको ब्राण्डले माथि उठाउन सहयोग पुर्‍याउनेछ । त्यसपछि नेपाल क्रिकेट संघ सक्षम भएपछि आफैँले आयोजना गर्नेछ ।

विगतमा विश्वको चर्चित फ्रेन्चाईज लिग आईपिएल पनि शुरुवातमा आपसी साझेदारीमा भएको थियो । अहिले आईपिएल आफैँले गर्छ । हामीले तुलना गर्दा भारतको क्रिकेटसँग गर्छौं । विगतको भारतले चालेको कदम जस्तो हामीले चाल्न लागेका हौं । तर हाम्रो स्तर भारतसँग तुलना गर्न मिल्दैन । किनभने हामी एसोसियट राष्ट्रमा छौं । हाम्रो बजार साँघुरो छ । भारतको लगानी ठूलो छ । संसारका विभिन्न लिगमा भारतीयको लगानी छ । यसो भनिरहँदा भारतीय कम्पनीसँग भएको सम्झौतामा गलत होइन । हामीले जो विज्ञ हो उसैसँग समझदारी गर्ने हो । भारतीय हुन् या पाकिस्तानी वा अमेरिकन हुन् । हामीले उनीहरुबाट केही सिक्ने हो । हामीले उहाँहरुको आगमनलाई सदुपयोग गर्ने हो ।

क्यानले आयोजना गर्ने नेपाल टी–२० लिग क्यानको आफ्नै लिग हो । रणनीतिक र कमर्सियलका लागि साथ लिएका हौं । प्रशारण, लिगको भ्यालूका हिसावले, खेलाडीले पाउने सेवा सुविधाको हिसावले यो लिग उत्कृष्ट लिग हुनेछ । यसले नेपालको लिगको स्तरलाई कायम राख्छ । यसो भनिरहँदा यसअघि भएका लिगमा स्तर थिएन भन्ने होइन । उहाँहरुको पनि थियो । तर क्यानले आफ्नै लिग गरिरहँदा अन्य लिग फरक भुमिका दिन निर्णय भएको हो । गर्ने हुँदैन भन्ने होइन । यो लिग संसारको उत्कृष्ट लिग भन्दा धेरै तल पर्दैन भन्ने किसिमले अगाडि बढेका छौं । 

सहभागिताको हिसावमा एक टोलीमा १६ सदस्य हुने भनेर गभर्निङ काउन्सिलसँग समझदारी भएको छ । जसमा ११ जना नेपाली खेलाडी रहन्छन् । पाँच जना विदेशी खेलाडी हुन्छन् । आईसीसीको नियम अनुसार ४ खेलाडीले एउटा टोलीमा एकैपटक खेल्न पाउँछन् । ६ टीमबाट ६६ खेलाडीले खेल्न पाउने भए । ३० खेलाडी विदेशी हुनेछन् । सहभागी हुने खेलाडी विश्वका उत्कृष्ट खेलाडी हुनेछन् । लिगको उचाई लिनका लागि हामीले विश्वका उत्कृष्ट खेलाडीलाई अनुवन्ध गर्ने प्रयास गर्नेछौं । खेलाडीलाई आर्थिक हिसावमा पनि राम्रो हुनेछ ।

प्रश्नः सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौतामा टिका टिप्पणी कति सही कति गलत हुन त?

उत्तरः हामीले सम्झौतापत्र पूरै सार्वजनिक गरिससेका छौं । मिडिया, राष्ट्रिय खेलकुद परिषद्, मन्त्रालय र क्यानका सबै सदस्यहरुलाई सार्वजनिक गरेका छौं । कुनै पनि लुकेको विषय छैन । आर्थिक, आयोजना र अन्य सम्बन्धमा केही लुकेको छैन । विवाद हुँदा फैसलाका लागि दिल्लीको अदालत रोजेको छ भनी लेखिएपनि त्यो सबै कुरा होइन । मुख्य सम्झौतापछि केही साइड एग्रिमेन्ट पनि भएका छन् । त्यसमा सच्याइएको छ । वकिललाई राखेर, आईसिसिको अनुमति लिएर अगाडि बढेका छौं । कुनै दुविधा छैन ।

क्यानको अध्यक्षको हैसियतले भन्नुपर्दा नेपाल टी–२० लिगका लागि उक्त कम्पनीसँग सम्झौता भएको हो । मात्र ‘जेसिसि’ भन्ने छ । त्यो भनेको कम्पनीले त्यसमार्फत पैसा नेपालमा भित्र्याउने हो । लगानीकर्ताले नेपालमा जेसिसि च्याम्पियनसीप गर्ने होइन । ट्यालेन्ट हन्टमार्फत १००/२०० खेलाडीलाई भारतमा हुने कुनै आन्तरिक प्रतियोगितामा सहभागी गराउन पठाउने हो । जुन सम्झौताको अतिरिक्त कुरा हो । जेसिसि भारतमा भइरहेको हिसावले त्यो अभ्यास गर्न खोजेका हुन् ।

मुख्य लक्ष्य भनेको टी–२० लिग हो । यो मिलेन त्यो मिलेन भन्दा पनि सबै कुरा आयोजकको हातमा हुन्छ । पार्टनर र हामी हटाउन तयार छौं । र टी–२० लिग अब्बल लिग हुनुपर्‍यो र समयमा नै हुनुपर्‍यो । त्यसले खेलाडीहरु मर्नु भएन । लिग स्वच्छ, नाम चलेको लिगको परिकल्पना गरेका हौं । बाँकी तपशिलका कुरालाई धेरै उठाउनु जरुरी छैन । यहाँ यस्तो माहोल बनेको छ, देशै बेचिहाल्यो भन्ने भ्रम सिर्जना गर्न खोजिएको छ । सम्झौता एउटा निजी संस्था र क्यानबीच प्रतियोगिता आयोजनाको सम्बन्धमा भएको हो ।

सर्वोच्च अदालतमा यस अघि फ्रेन्चाईज लिग गर्दै आएको एक संस्थाले मुद्दा हालेको छ । अदालतले नेपाल क्रिकेटको हीतविपरित भयो भनेर फैसला गरे हामी स्वीकार गर्न तयार छौं । हामी सम्मानित अदालतले गरेको फैसलालाई अक्षरस पालना गर्छौं । यसमा धेरै बोल्ने भन्दा अदालतले गरेको निर्णय अनुसार चल्ने हो । यसमा भएका कमी कमजोरीलाई हटाउन सकिन्छ । दुई वर्षको अगाडिको सम्झौता पश्चात कम्पनी आएर नेपाली क्रिकेट कब्जा गरेको  छ र ? धावा नै बलेको छ र ? छैन ।

हामी त कसरी हुन्छ राम्रो गर्ने लक्ष्य लिएका छन् । गभर्नीङ काउन्सिलमा आईपिएलमा अनुभव लिइसकेको व्यक्तिलाई नियुक्त गरेका छौं । उहाँको अनुभवले कमीकमोरी नहोस् भन्ने हेतुले लिएका हौं । अहिले पनि इण्डियन क्रिकेटर एसोसियनको अध्यक्षलाई राखेका छौं । उहाँको अनुभव राम्रो भएकाले राखेका हौं । अहिलेको अवस्थामा विभिन्न देशले अन्य देशका खेलाडीलाई राखेर प्रतियोगिता खेलाएका छन् । यसो भनिरहँदा ती देशको राष्ट्रियता गुमेको छ र ? तर हामीले त्यो त गरेका छैनौं ।

हामीले भारतमा बसेका नेपालीलाई जोड्न पायौं भने नेपाली क्रिकेट अझै माथि जानसक्छ भन्ने सोचेका छौं । अनुभवि जो कोही राखे विकास हुन्छ कि भनेर सम्झौता गरेका हौं । नेपालमा भारत, राष्ट्रियता भनेर जोडिनुलाई मैले अर्थपूर्ण तरिकाले हेर्दिन । नेपाली क्रिकेट विकासका लागि जो कसैको सहयोग लिने हो । अन्य देशको पनि लिने हो । नेपाली क्रिकेटलाई माथि लग्ने हो ।

लिगको बारेमा जुन नकारात्मक टिका टिप्पणी भइरहेका छन्, ती यथार्थ होइनन् । मात्र लिग राम्रो हुने की नहुने, नेपाली क्रिकेटको लागि हुने कि नहुने, खेलाडीको हीतमा हुने कि नहुने, क्यानको हीतमा हुने की नहुने भन्ने धारणासहित हेरका छन् भने यसमा कुनै आपत्ति छैन । नेगेटिभ तरिकाले हेर्नुभन्दा पनि पोजेटिभ तरिकाले पनि हेर्न जरुरी छ । सम्झौताले क्यान सकिँदैन । विगत एक वर्षदेखि क्यानले आफ्नो कार्यक्रमलाई अगाडि बढाउन खोजिरहेको छ ।

संसदमा एक जना माननीयले विश्लेषण नगरी, आधिकारीक संस्थासँग नबुझिकन बोल्नु दुर्भाग्य हो । कुन किसिमले उहाँलाई ‘मिस गाइड’ गरियो । खेलकुदप्रति, क्रिकेट पनि चासो राख्ने जनप्रनिधिलाई संसदमा बोल्न लगाइयो । त्यो अभिव्यक्तिपछि उहाँको छवि घटेको छ । उहाँ व्यक्तिका लागि बोल्नुभयो । उहाँ जनप्रनिधि र पूर्वमन्त्री पनि हो । जनप्रनिधि भइसकेको उहाँले सत्य, तथ्यका लागि बोलाउन सम्बन्धिक स्टेक होल्डरसँग छलफल गर्न सक्नुहुन्थ्यो । उहाँको अधिकार पनि हो । तर उहाँले बोलाउनु भएन । कुनै व्यक्तिका लागि बोल्नुभयो । हामीलाई बोलाउन सक्नुपर्थ्यो । किनभने हामी परिवार छौं । ४३ जिल्लाबाट परिवार बनेका छौं । यथार्थमा यस्तो होइन । हामीले भेट्छौं, धेरै साथीहरुले भेटि सक्नुभएको छ । मलाई लाग्छ, उहाँले बुझिसक्नु भएको छ ।

प्रश्नः क्यानले टी–२० लिग एक मात्र लिग भनिरहँदा यसअघि आयोजना हुँदै आएका लिगको अस्तित्व के रहन्छ, उनीहरुले पनि कठिन अवस्थामा नेपाली क्रिकेटलाई चलायमान गराएका थिए, उनीहरुले लिग गर्न पाउनुपर्छ भनिरहँदा, सम्बोधन कसरी गर्नुहुन्छ ?

उत्तरः हामीले उहाँहरुलाई क्षेत्रीय लिग आयोजना गर्नका लागि अनुमति दिन्छौं भनेर निर्णय गरेका छौं । किनभने पछिल्लो ८ वर्षको ३३ करोड रकम थोरै पनि होइन । नेपाली क्रिकेटका लागि धेरै नहोला तर थोरै होइन । अहिलेको क्रिकेट संघको हैसियत, बजार भ्यालू अनुसार त्यो रकम कम होइन ।

कुनैपनि लगानी कर्ता लगानी डुबाउन लगानी गर्दैन । सबैलाई मौका दिँदा नेपाली क्रिकेट अगाडि बढ्न सक्दैन । झनै भताभुङ्ग हुन्छ । उहाँहरुले गरेको योगदानको आधारमा क्षेत्रीय लिग गर्न क्यान र उहाँहरुसँग छलफल गरेर अगाडि बढाउन सकिन्छ ।

तीन मध्येको एभरेष्ट प्रिमियर लिगले मात्र भनेको छ । यस विषयमा एभरेष्टले सर्वोच्चमा मुद्दा दायर गरेको छ । अरुले होइन । अन्य दुई यसमा सकारात्मक छन् । सर्वोच्च अदालतमा दायर मुद्दामा टी–२० लिग रोक्नुपर्‍यो र एभरेष्ट प्रिमियर लिग चार संस्करण भइसेकोले अब पनि गर्न पाउनुपर्छ भन्नेछ ।

सम्मानित अदालतले नेपाल भित्र हुने क्रिकेटको प्रतियोगिता संघलाई नगर भनेर कुनै संस्थालाई गर् भनेर फैसला गर्दैन होला । सहकार्य गर्, समेटेर अगाडि बढ भन्ला, निकास निकाले अगाडि बढ भन्नसक्छ, तर नेपाल टी–२० लिग नगर्नू, कुनै कम्पनीलाई गर्नू भनेर सम्मानित अदालतबाट फैसला हुँदैन । र कसैले पनि गर्दैन । प्रथम दृष्टिमा पनि अमिल्दो हुन्छ । क्रिकेट संघले गर्ने गतिविधिलाई अदालतले समर्थन गर्छ । हामीले क्षेत्रीय लिगलाई अनुमति दिने भनेर निर्णय गरेका छौं । त्यसलाई हामीले पालना गर्छौं ।

श्रोतः न्युज एजेन्सी नेपाल ।


Author

थप समाचार
x