वार्ता

देउवाजीकै पालामा कांग्रेस कोल्याप्स हुने शंका छ (भिडिओ वार्ता)

उपेन्द्र अर्याल |
साउन २, २०७९ १९:२५ बजे

पुरञ्जन आचार्य नेपाली कांग्रेसभित्रको राजनीतिबारे लेखिरहन्छन्, बोलिरहन्छन् । यसैले उनको छवि नेपाली कांग्रेस केन्द्रित विश्लेषकको छ । यो अन्तर्वार्ताका क्रममा आचार्यले आफूलाई कांग्रेस नेता–कार्यकर्ताको रूपमा होइन, राजनीतिक विश्लेषकका रूपमा बुझ्न आग्रह गरे । पछिल्लो समय आचार्य कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना र नेता शेखर कोइराला क्याम्पको समर्थन गर्दै गरेका भेटिन्छन् ।

आचार्यले शनिबारको दिन बिहानीपख आफ्नै निवास बानेश्वरमा ‘शेरबहादुरकै पालामा कांग्रेसपार्टी कोल्याप्स हुन सक्ने’ शंका व्यक्त गरे । हालैको स्थानीय निर्वाचन, कांग्रेस नेतृत्वको गठबन्धन सरकार, कांग्रेसभित्र उब्जिएका विभिन्न समस्या र आगामी बाटोका विषयमा उपेन्द्र अर्यालले आचार्यसँग विस्तृत संवाद गरेका छन् । तपाईं यो संवाद सुन्न, हेर्न र पढ्न सक्नुहुन्छ : 


शेखर कोइराला पक्षले सभापति शेरबहादुर देउवाको खुब विरोध गरिरहेका छन् । देउवाको विरोध किन यति धेरै ? 

यो सरकारको नेतृत्व कांग्रेसलाई अपर्झट आइलागेको हो । यसको एउटा खास पृष्ठभूमि छ । त्यसमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले संवैधानिक प्रावधानहरूलाई बलमिच्याइँ गरे, संविधान भन्दा बाहिर जान खोजे, निरङकुशता लादे, भ्रष्टाचार गरे, अपारदर्शी भए भनेर उनकै पार्टी भित्रबाटै आन्दोलन भयो । प्रचण्ड र माधव नेपालले विरोध गरेका थिए । बरु शेरबहादुरजी त्यसबेला ओलीको समर्थनमा रहेजस्तो देखिनुभएको थियो । त्यसबेला कांग्रेस दुई चिरामा थियो । एउटा शेरबहादुर नेतृत्व, जो ओलीले गरेको संसद् विघटनको पक्षमा । उनी चुनावका लागि तयारी गर्दै थिए । अर्कोतिर रामचन्द्र पौडेल र शेखर कोइरालाहरू थिए, जो फुटेको कम्युनिस्ट पार्टीहरू लिएर आन्दोलनमा गए । नेपालमा आन्दोलनले सधैँ नसोचेको मान्छेलाई प्रधानमन्त्री बनाइदिएको छ ।

२०४६ सालमा गणेशमानजीको नेतृत्वमा आन्दोलन भएको थियो । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुनुभयो । २०४८ को चुनाव पछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुनुपर्ने थियो । तर, उहाँ हार्नुभयो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुभयो । २०६२-६३ को आन्दोलन एउटा अर्कै खालको आन्दोलन थियो । त्यो अन्दोलनको जग मधेसवादी र माओवादीले हालेका थिए । गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाए । अहिले पनि त्यस्तै भएको छ, प्रधानमन्त्री हुन प्रयत्नै नगरेका शेरबहादुरजी फेरि प्रधानमन्त्री बने । उनी प्रधानमन्त्री बनेपछि प्रधानमन्त्रीको कार्यशैली ओलीकोभन्दा पृथक् हुन्छ भन्ने अपेक्षा थियो । अर्थात्, संवैधानिक प्रावधानहरू छ, त्यसलाई लागू गर्नुहुन्छ । संघीयतालाई सफल बनाउनुहुन्छ । ओलीले केन्द्रीकृत गरेको शक्तिलाई आ–आफ्नो ठाउँमा राखिन्छ भन्ने थियो । 

देउवा सभापति र प्रधानमन्त्रीका रूपमा असफल । 

शेरबहादुरजीलाई अहिले दुई किसिमले आरोप लगाइन्छ । एउटा पार्टी सभापतिका रूपमा असफल हुनुभयो । प्रधानमन्त्रीका रूपमा पनि असफल हुनुभयो । यो पार्टीभित्रैबाट उठेको आवाज हो । प्रधानमन्त्रीका रूपमा कहाँकहाँ असफल हुनुभयो भन्दा, सबैभन्दा ठूलो असफलता बजेट निर्माणको क्रममा कर निर्धारणमा देखियो । त्यसमा उहाँले एक्सन लिनुभएन । त्यो धेरै ठूलो अपराध हो । 

पार्टीभित्रको मुख्य आरोप ६ महिनाभित्र गर्नुपर्ने काम उहाँले गर्नुभएन । पार्टीको विधान र संविधान दुवैलाई उहाँले टेक्नुभएन । पार्टी दुईवटा गुटमा विभाजित छ । त्यसमा एकताका लागि पहल गर्नुपर्ने हो, तर त्यो पनि गर्नु भएन । उहाँले आफ्ना नजिककालाई मात्रै लिएर देश चलाउनुभएको छ । ओलीलाई जुन कारणले विस्थापित गर्नुपर्‍यो, अहिले देउवाको मार्गदर्शन त्यस्तै त्यस्तै भएको छ । 


सभापति देउवा किन विधानमा चल्दैनन् त ? अहिले त झन् युवासहितको नयाँ कार्यसमिति पनि छ । 

यसमा दुईतीनवटा कुरा छन् । पहिलो कुरा शेरबहादुरजी लोसे हुन् । उहाँलाई भाग्यले पटक पटक प्रधानमन्त्री बनायो । यो भन्दा पहिले पनि ५/६ वर्ष पार्टी सभापति हुनुभयो । पूरा समय सभापति भएपछि विभागहरू गठन गर्नुभयो । विधानअनुसार ६ महिनामा गठन गरिसक्नुपर्ने हो । तर त्यसको उजुरी त कहीँकतै लाग्दैन । पहिले–पहिले ५ वर्षपछि बनाएर त भयो भने अहिले यिनीहरू ६ महिनामा किन कराइरहेका भन्ने उहाँको एउटा मनोविज्ञान हुनसक्छ ।

अर्को मनोविज्ञान प्रदेश र संघको चुनाव अगाडि छ । उहाँ त्यसमा सबैलाई समेटेर पार्टी निर्माण गर्न चाहनुहुन्न । बनाउनु पर्‍यो भने आफूसँग असहमत पक्षलाई समेत लिनुपर्‍यो । उहाँको योजना के देखिन्छ भने असहमत पक्षलाई कतै पनि ठाउँ नदिने । विभाग गठन गर्दा आफ्नो पक्षलाई मात्रै लिएर गयो भने चुनावमा आफूलाई हराइदेलान् भन्ने डर छ ।

त्यसै पनि कांग्रेसमा अहिले २ वटा घटनाले पार्टीभित्र ठूलो संख्यामा असहमत पक्ष सलबनाएका छन् । अब यो चुनाव आयो भने देउवालाई देखाइदिन्छु भनेर बसेका छन् । त्यो कुरालाई उहाँले मिलाउन नचाहेर विभागहरू गठन गर्न सक्नुभएको छैन । भ्रातृ संगठनहरूलाई पूर्णता दिन सक्नुभएको छैन ।

पार्टीलाई विधानअनुसार चलाउने विषयमा महामन्त्रीहरूको भूमिका हुन्न ? 

यसमा महामन्त्रीहरू पनि अलिक अलमलिएका छन् । पार्टी सचिवालयको कमान्ड महामन्त्रीहरूको हातमा छ । यतिबेला मुख्य सचिवको केही काम पनि थिएन, उनीहरूलाई हटाइसक्नुपर्थ्याे । महामन्त्रीहरूले अहिले पनि पार्टी सचिवालय कमान्ड गर्न सकेको देखिएन ।

एकातिर देउवाले सभापतिको अधिकार चाहिने भन्दा धेरै प्रयोग गरेको देखिन्छ । पार्टीको विधानमै पार्टी कार्यालयको अधिकार महामन्त्रीको हातमा हुन्छ । तर, त्यो अधिकार शेरबहादुरजीले झण्डै–झण्डै उपसभापतिलाई दिनुभयो । खासमा उपसभापतिको काम भनेको सभापति नहुँदा सभापतिको पक्षबाट काम गर्नुपर्ने हो । तर उपसभापति पूर्णबहादुर खड्कालाई उहाँले सर्वेसर्वा जस्तो बनाएको देखिन्छ । र महामन्त्रीहरूलाई यिनीहरू केटै छन्, भूमिका दिनुहुँदैन भन्ने देखिन्छ ।त्यो भूमिका खोसेर पार्टीको विधान हेरेर, पढेर त्यसअनुसार आफूलाई ढाल्न गगन थापा र विश्वप्रकाश शर्माहरू सकिरहेका छैनन् । 

शेरबहादुरजीको परिवारबाट भएको भ्रष्टाचारबारे पार्टीभित्र मन्द आवाज छ । किनभने चुनाव अगाडि आइरहेको छ । 

पार्टीका ७७ जिल्ला समितिलाई कमाण्ड गर्न सकिरहेका छैनन् । त्यसका लागि सभापतिले अधिकार दिइरहनु पर्दैन । महामन्त्रीका लागि विधानले नै प्रशस्तै अधिकार दिएको छ । महामन्त्रीहरूले पनि विधानले दिएको भूमिकामा आफूलाई त्यसमा सहभागी नगराएर सभापतिबाट अर्को अधिकार लिन खोजे । अहिले महामन्त्रीहरू भूमिकाहीन जस्तो देखिएका छन् । यद्यपि गगन थापाले केही समय अघिसम्म भूमिका पाए जस्तो देखिन्थ्यो । अब त त्यो पनि कम भएको छ । 

तपाईंले त महाधिवेशनअघि सभापतिमा शेखरले जित्छन् भनेरै दाबी गर्नुभएको थियो । तर, नतिजा देउवाको पक्षमा आयो । तपाईंहरू आफू असफल हुने अनि जित्नेलाई काम गर्न पनि नदिने ?

राजनीतिमा शेखर कोइरालाले जिते । नेपाली कांग्रेसमा भोटरहरू जसले सभापतिलाई भोट हाल्छन् । त्यो देशभरबाट छानिएर आउँछन् । त्यसमध्ये झण्डै–झण्डै बहुमत शेखर कोइरालाई पुगेको हो । 

अर्को एउटा प्राविधिक भोटर छन् । तिनीहरू एनआरएन, भ्रातृसंगठनको नाममा आउँछन् । ती सबै मनोनीत हुन् । त्यो पार्टी सचिवालयले गर्छ । यस्तो मत देउवालाई गयो । नेपालभन्दा बाहिर बसेकाहरूले झण्डै १ सय ९५ मत हाले । त्यसमध्ये ९० बढी मत देउवा एक्लैले पाए । किनकि त्यसमा पार्टी कार्यालयले तिमी क्वालिफाइड भयौ भनेर मोहोर लगाउनु पथ्र्यो । यस विषयमा १४ औँ महाधिवेशन अगाडी हाम्रो बैठकमा उठेको पनि थियो । मैले शेखर कोइरालाले जित्छन् भनेको सत्य हो । हाम्रो क्यालकुलेसन सातै प्रदेशबाट आउने महाधिवेशन प्रतिनिधिको भयो । तर, प्राविधिक भोटरमा यत्रो जालझेल हुन्छ भन्ने अनुमान भएन । ‘नन भोटर’ भोटर भइरहेका थिए । भ्रातृ संघका समर्थकहरु भोटर बनाइए । जो पार्टी अफिसले बनायो ।

अर्को सुदूर पश्चिममा असहमत पक्षलाई क्रियाशील सदस्यबाटै आउनै दिइएन । त्यसले असर गर्‍यो । त्यसका बाबजुद, देउवाले एकैपटकमा बहुमत ल्याउनुभएन । कोइरालालाई एलाइन्स बनाउन परिवारलेसमेत साथ दिएन । शशांक पनि देउवातिरै लागे । जसले दोस्रो पोजिसन ल्याउँछ, त्यसलाई अन्यले सहयोग गर्ने भन्ने सहमति थियो । तर, दोस्रो स्थानमा आएका शेखरलाई प्रकाशमान र विमलेन्द्र निधिले सहयोग गरेनन् । राजनीतिमा जे देखिन्छ त्यसलाई हेरेर विश्लेषण गरिन्छ । मैले त्यसबेला देखिएको परिस्थिति हेरेर शेखरको कोइरालाको जित देखेको थिएँ । तर, केही प्राविधिक त्रुटि भए । एलाइन्सहरूलाई विश्वासमा ल्याउन कमजोरी भयो । परिवारले साथ दिएन । त्यसले गर्दा शेखर कोइरालाले हार व्यहोरे । 

तर, त्यसबेला सभापतिमा देउवालाई जिताउन लाग्ने विमलेन्द्र निधि लगायतका नेताहरू अहिले शेखर कोइरालाकै भनाइलाई समर्थन गर्दै सभापतिको विरोध गरिरहेका छन् । यसको अहिले केही अर्थ छ त ?

त्यसबेला उनीहरू चुकेका हुन् । तर, सभापतिको आलोचना गर्न पाइन्छ । उहाँ सभापति हो । निन्दा गर्न पाइँदैन । निन्दा भनेको व्यक्तिगत रूपमै उत्रिएर गरिने आलोचना भएकाले त्यसो गर्न मिल्दैन । तर स्वस्थ्य आलोचना गर्न पाइन्छ । कांग्रेससँग उहाँहरूको पनि भविष्य जोडिएको छ । 

त्यसो भए, सभापति जितेर आएका हुन्, अर्को कार्यकालसम्म त उहाँ (देउवा)लाई झेल्नुपर्‍यो नि । विरोध गरेर मात्रै हुन्छ त ? कि देउवाले जस्तै पार्टी फुटाए हुन्छ होला नि ?

यो कुरा जो नेतृत्वमा छ, त्यसमा निर्भर हुन्छ । यो पार्टीलाई कसरी चलाउने ? कसरी एकताबद्ध गर्ने ? यो पार्टी सभापतिको सबैभन्दा गम्भीर जिम्मेवारी हो । हिजो ठीक ढंगले काम गर्न नसक्दा शेरबहादुरजीले पार्टी फुटाउनु भयो । त्यसबेला सैद्धान्तिक लडाइँ थियो । एउटा प्रजातान्त्रिक पार्टीले कति दिनसम्म ‘इमर्जेन्सी’ लगाएर हिँड्ने भन्ने थियो । अहिले पनि म पार्टी फुटाउने विषय असम्भव ठान्दिनँ । भोलि शेरबहादुरजीको यही कार्यशैली रह्यो भने नेपाली कांग्रेस फुट्न सक्छ । फुट्छ नै त भन्दिनँ । फुटाउनको लागि त आँटिलो नेता पनि चाहियो ।

त्यसो भए, कांग्रेसमा विद्रोह गरेर अगाडि बढ्ने आँट गर्ने नेता को छ ?

अहिले त्यस्तो फुटाइहाल्ने आँटिलो नेता मैले देखेको छैन । तर, परिस्थिति यस्तै निर्माण हुँदै गयो भने, शेरबहादुरजीले यसरी नै पार्टीलाई लैजानुभयो भने फुट्न सक्छ ।

प्रचण्डजीबारे मेरो एउटा डायरी छ । प्रचण्डजीले ३ सय ६५ दिनमा ३ सय ६५ वटै कुरा फेर्नुभयो ।

नेपाली कांग्रेसको अहिलेको स्थिति हिजो जसले पार्टी फोडेका थिए, तिनीहरूले पार्टी नफोडेकाहरूलाई आज स्थान दिइरहेका छैनन् । कहीँ–कहीँ दिइएको छ पनि । तर, केन्द्रमा त्यस्तो छैन । शेरबहादुरजीको नजिक हिजोको संस्थापन पक्षका एकजना पनि छैनन् । किन छैनन् ? किनभने उहाँले हिजो मैले पार्टी फोडेको कुरा ठीक थियो भनेर प्रमाणित गर्दै हुनुहुन्छ । जस्तो अहिले ओलीले अहिले गरिरहेका छन् । यस्तो सोचले प्रजातान्त्रिक पार्टी चल्दैन । यही सोचले कांग्रेसभित्र ठूलो विस्फोट हुन्छ ।

देउवालाई सुधार्न पनि नसक्ने, दबाब र हस्तक्षेप पनि नपुग्ने । सभापतिदेखि संसदीय दलको नेता उनै जित्ने अनि यो तपाईंहरू गनगन बढी भएन ? 

यो गनगन नै हो । शेरबहादुरजीले ‘म्यान्डेट’ पाउनुभएको छ । उहाँ पार्टी सभापति भर्खर जितेर आउनुभएको छ । उहाँलाई सबैले सहयोग गर्नुपर्छ । तर, सहयोग गर्ने नाममा समर्पण गर्न सकिँदैन । उहाँले सहयोग लिने पनि इच्छा देखाउनुभएन । राजनीति गर्ने मान्छेले सहयोग गर्छु भन्दा पाएन र मसँग समर्पण गर भन्यो भने त्यो गर्न तयार हुँदैन । उसको पनि ‘इगो’ हुन्छ ।

अहिले कांग्रेसभित्र दुई–तीनवटा विषय छन् । कहाँ गएर पटाक्षेप हुन्छ, थाहा छैन । कांग्रेस चौबाटोमा छ । कांग्रेसमा देउवाको नेतृत्व फेल छ । जनताप्रति पनि उनको आकर्षण छैन । बिस्तारै पार्टीबाट पनि उनको आकर्षण कम हुँदै गएको छ । अब वैधानिक रूपले सभापति त उहाँ नै हो । भोलि उहाँले नै टिकट दिनुपर्छ । अहिले शेरबहादुरको शक्ति भनेको भोलि आउने संघ र प्रदेशमा टिकट दिन सक्छ भन्ने शक्ति हो ।

त्यसले गर्दा असहमतको ठूलो संख्या बाहिर प्रकट छैन । एकपल्ट उहाँले टिकट बाँड्नुहुन्छ । त्यसपछि उहाँ यही कांग्रेसको अहिलेको कार्यसमितिमा अल्पमतमा पर्नुहुन्छ । त्यसकारण उहाँलाई मानेरै अगाडि बढ्नुपर्ने बाध्यतामा कांग्रेसीहरू छन् । किनकि १४ औँ महाधिवेशनले दिएको म्यान्डेट छ । संसदीय दलको नेता र प्रधानमन्त्री पनि उहाँ हो । त्यो पनि मान्नै पर्छ । नभए डेमोक्रेसी नमाने भइगयो । तर, मान्ने नाममा कसरी मान्ने ? यो प्रश्न शेरबहादुरजीको कार्यशैलीसँग जोडिएको छ । उहाँको कार्यशैली काखा र पाखाको छ ।

तपाईंको पार्टीको नेतृत्वमा गठबन्धन सरकार छ, तपाईंहरूको सरकारले गरेको राम्रो काम के–के हो ? 

तीनओटा एकदम राम्रो काम गरेका छन् । ठीक–बेठीक नेपाली जनताले मूल्यांकन गर्लान् तर सरकारले एमसीसी पास गर्‍यो । त्यसमा राष्ट्रिय सहमति कायम गर्‍यो। चीनबाट आइरहेको बीआरआईलाई हामी यो ऋणको ट्र्यापमा पर्दैनौँ भनेर अस्वीकार गर्‍यो । जो आए पनि दिने भए अनुदान देऊ तर ऋण लिन्नँ भन्यो । यो सबैभन्दा राम्रो काम शेरबहादुरको शासनकालमा भयो । तेस्रो स्थानीय चुनाव भयो । हुँदैन कि भन्ने आशंका थियो । यी तीनवटा उपलब्धी राम्रो भयो । 

सरकार सञ्चालनबारे यत्रो चर्चा भयो, सभापतिको छोरालाई फाइदा हुने गरी करको हेरफेर गरिएको भनेर समाचार आए । कांग्रेसको नेतृत्वको सरकारले गरेका यस्ता विवादास्पद कुराहरूमा तपाईंहरू किन बोल्नुहुन्न ?

कांग्रेस पार्टीभित्र शेरबहादुरजीको बहुमत छ । पार्टीभित्र गिरिजाप्रसाद कोइरालाको पनि आलोचना गर्न फ्रि थियो । सुशील कोइराला हुँदा पनि स्वतन्त्र थियो । अहिले शेरबहादुरजीको एउटा जमात छ । जसले शेरबहादुरजीलाई देउता जस्तो बनाइदिएको छ । उहाँसँग स्पष्ट बहुमत छ । तर, शेरबहादुरजीको परिवारबाट भएको भ्रष्टाचारबारे पार्टीभित्र मन्द आवाज छ । एकदमै मन्द कोही पनि बोल्न चाहेको छैन । किनभने चुनाव अगाडि आइरहेको छ । सबैलाई टिकट चाहिएको छ । नभए सेनिटरी प्याडमा शेरबहादुरजीको छोरा सहभागी छ र उसले २०/२२ वर्षमै भ्रष्टाचारमा प्रवेश गरे भन्न डराउनुपर्ने कारण छैन । त्यस्तै दुईजना सचिवलाई चुकुल लगाएर पूर्वसुब्बा, एकदुई व्यापारी राखेर करको दर हेरफेर गरियो त्यसको नेक्सस पनि बालुवाटारसँग छ । त्यसलाई पनि भन्न किन डराइरहनुपर्‍यो र ? त्यो सबैलाई थाहा छ । 

शेरबहादुरजीले के सोच्नुपर्छ भने खासगरी उहाँ आन्दोलनबाट आएको हो । उहाँ जेजस्तो भए पनि काम गर्ने शैली ठीक छैन होला । क्षमताबारे प्रश्न गर्न सकिन्छ । तर, डेमोक्रेसीको निष्ठाको बारेमा अलि कमै प्रश्न गरिन्छ । यो भन्दैमा उहाँको परिवारले पनि त्यही किसिमको समर्पण गरेको छ भन्न मिल्दैन । जब उहाँको छेउछाउको कोटरीले अराजनीतिक किसिमले देशको अर्थतन्त्रमाथि कब्जा गर्न अनेक किसिमका काम गर्छ तब कांगे्रस पार्टीभित्र कुनै बेला विस्फोट हुन्छ । त्यो भन्दा ठूलो विस्फोट देशभित्र हुन्छ । त्यसले प्रणाली, संविधान सबै सखाप बनाउँछ । 

स्थानीय चुनावमा गठबन्धन गर्नुहुँदैन भन्नुहुन्थ्यो । तर चुनावमा कांग्रेसलाई गठबन्धनले नै फाइदा पु¥यायो । राम्रै सिट पनि ल्यायो । अब गठबन्धन चाहिने रहेछ भन्नेमा तपाईंहरू पुग्नुभएको हो ?

म गठबन्धनको पूरै विरोधी छु । गठबन्धन गर्नलाई राजनीतिक आधार चाहिन्छ । वैचारिक आधार मिल्नुपर्छ । गठबन्धन समान विचारका पार्टीहरूसँग हुन्छ । नेपाली कांग्रेस र माओवादी पार्टीको कुनै कुरा पनि मिल्दैन । त्यसकारण यो दुईवटाको गठबन्धन अपवित्र हो । गर्नुहुँदैन । हो, नेपाली कांग्रेसले वैचारिक रूपमा आफूसँग मिल्ने पार्टीसँग गठबन्धन गर्दा त्यसमा आपत्ति भएन । दुईचार सिट जितेर स्थानीय निकायमा जितेर गठबन्धनलाई निरन्तरता दिने हो भने नेपाली कांग्रेस खुम्चिएर ६५ देखि ७० प्रतिशत कम्युनिस्टको विस्तार हुनेवाला छ । नेपाली कांग्रेसको समर्थक आधार खुम्चिनेवाला छ । नेपाली कांग्रेसले त्यसलाई फेरि मजबुद बनाउन अर्को दुई पुस्ता खर्च गर्नुपर्ने हुन्छ । शेरबहादुर देउवाको रणनीतिक असफलताले नेपाली कांग्रेसले आउने चुनावमा सय सिटमा मात्रै उठे पनि एउटा ठूलो भूगोलबाट हराउँदै छ । 

कांग्रेसमा राजतन्त्रै ल्याउन खोजिएको हो ? यो राजतन्त्र भन्दा आचाक्ली भयो । 

आगामी निर्वाचनमा पनि गठबन्धन गरेरै चुनावमा जाने छलफल गरिरहेका छन् दलहरू । यसले कांग्रेसलाई फाइदा गर्ला त ?

यसले कांग्रेसलाई अहिले तत्काल केही सिट जिते पनि दीर्घकालमा फाइदा गर्दैन । माओवादीसँगको गठबन्धनले कांग्रेसलाई विनाश गर्छ । राजनीतिमा तत्कालको फाइदाका लागि मात्रै हेरिँदैन । शेरबहादुरजी पाँचपल्टको ठाउँमा ६ पटक प्रधानमन्त्री हुनुहोला । तर, नेपालको लोकतान्त्रिक आन्दोलन यी निर्णयहरूले कमजोर हुन्छ । बिस्तारै यो कम्युनिस्टको पाउमा जान्छ । गठबन्धनले दीर्घकालमा नेपाली कांग्रेस हराउने खतरा बढाएको छ । 

यो गठबन्धन १०-१५ वर्षसम्म लैजाने भनेर प्रचण्डले ठाउँठाउँमा भाषण गरेका छन् ? अब कांग्रेस र माओवादी पार्टीबीच एकीकरणसभा कहिले आयोजना हुन्छ ? 
हेर्नुहोस्, प्रचण्डजीबारे मेरो एउटा डायरी छ । प्रचण्डजीले ३ सय ६५ दिनमा ३ सय ६५ वटै कुरा फेर्नुभयो । मलाई यहाँ सबैभन्दा हाँस उठ्छ कि उहाँले कसरी त्यस्तो जनयुद्ध गर्नुभयो ? मलाई उहाँ त्यो जनयुद्धको हिरो भनेरै गणतन्त्र मन पर्ने । उहाँले उठाएका केही अजेन्डाहरू खुब मन परेको थियो । म त्यसमा जोडिएको थिएँ पनि । तर, मलाई अहिले पत्यार लागेको छैन । साँच्चै नै यो जनयुद्ध केही थिएन ।

यो भारतले नै उचालेर उहाँलाई गराएको रहेछ कि जस्तो लागेको छ । उहाँले एमालेसँग एकता गर्दा अब ५० वर्ष हामी कांग्रेसलाई सत्ताबाहिर राख्छौँ भन्नुभयो । त्यो भनेको कांग्रेस पार्टी सिध्याइदिन्छौँ भनेको हो । आज पनि उहाँको दिमागमा त्यही छ । पुष्पकमल दाहालको दिमागमा एउटा कुरा छ । त्यो हो– देशमा एउटा पार्टी सिस्टम लागू गर्नुपर्छ । अर्को देशबाट कांग्रेस पार्टीलाई नष्ट गर्नुपर्छ । यो दुईवटा उद्देश्यले उहाँको जीवन चलिरहेको छ । उहाँले छोरीलाई जिताउन अब १५ वर्ष गठबन्धन लैजानुपर्छ भन्नुभएको हो । 

उहाँको मौसमी बोली हुन्छ । कांग्रेसको दुर्भाग्य, पुष्पकमल दाहालको रणनीतिमा फस्न रुचाएको रुचायै छ । यिनले कहिल्यै चेत्दैनन् । 

देउवालाई आफ्ना पार्टीका नेताभन्दा प्रचण्ड र माधव नेपाल प्रिय देखिन्छन्, अनि दोष यसमा देउवाको कि दाहाल वा नेपालको ? 

सभापतिका प्रिय प्रचण्ड र माधव होइन, प्रचण्ड र जनार्दन हुन् । माधव अलिक पछि पर्छन् । कांग्रेस धेरै प्रचण्डसँग नजिक भएको दोष कांग्रेसीहरूले देउवालाई दिने । प्रचण्डले धेरै शेरबहादुरसँग लिइरहेको फाइदाबाट खुसी मनाउने प्रचण्डजीका अनुयायीहरू जनार्दन शर्मा हुन् । जनार्दनको यो स्तरको आर्थिक बेथिति शेरबहादुरका राजनीतिक कोटरीका मान्छेका लागि पनि यसमा नबोल चुप लागेर बस्ने खालको छ । यसमा उनीहरू पनि बिचरा जस्तो देखिन्छ । त्यस्तो खालको अवस्था बालुवाटार र सिंहदरबारमा छ । यसमा सबैभन्दा चतुर र सफल कोही भएको छ भने त्यो पुष्पकमल दाहाल हो । त्यसमा कांग्रेसले २० सिट जितेर रमाएको छ । तर, कांग्रेसको आँसु झार्ने दिन आउँदै छ । 

बालुवाटार बटालियन अनिर्वाचित, टिकेहरूहरूले घेरिएको छ, आम निर्वाचनदेखि महाधिवेशनमा जित्ने एउटा, अनि सरकार चलाउने, सरकारका सहयोगी अर्का, कसरी सहिरहनुभएको छ यस्तो ? 

यस्तो विषय खासमा पार्टीमा सहेर बस्नु हुँदैन । शेरबहादुरजीसँग असंवैधानिक केन्द्रहरू विकास भएका छन । त्यसको नेतृत्व दुर्भाग्यले बाहिर चर्चामा आएको छ । उहाँकै श्रीमतीको नेतृत्व छ, भनिएको छ । बिचौलियाहरूसँग असंवैधानिक केन्द्रको नेतृत्व त्यसरी लिँदा धेरै ठूला साम्राज्य पतन भएका छन् । कांग्रेसलाई माया गर्नेहरूले यसबारे कुरा उठाउनु पर्छ । होइन भने उनलाई पनि यसरी दोष दिन पाइँदैन । एकोहोरो आरोप मात्रै लगाउने होइन । तर जनताबीच चर्चामा आइसकेपछि यसलाई छिनोफानो गर्नुपर्छ । उहाँ असंवैधानिक केन्द्र भएर आसन गरिरहेको र शेरबहादुर निमित्त नायक मात्रै हो भने कांग्रेसले अर्को प्रधानमन्त्री खोज्नुपर्छ । होइन भने त्यस्तो असंवैधानिक केन्द्रलाई बन्द गर्नुपर्‍यो ।

सभापतिका प्रिय प्रचण्ड र माधव होइन, प्रचण्ड र जनार्दन हुन् । माधव अलिक पछि पर्छन् । 

हुँदा–हुँदा अहिले विपक्षीको नेता ओलीले देश कसले चलाएको सरले कि म्याडमले समेत भने । सबै चिया पसलमा नेपाली कांग्रेसले राणा शासन स्थापित गरिदियो भन्छन् । यो होइन भने, उनीमाथि लागेको आरोपको खण्डन गर्ने काम तिनको हो । हो भने त्यसलाई सजाय दिने काम पनि शेरबहादुर देउवाको हो । जे हो त्यो चुनाव अगाडि भएन भने नेपाली कांग्रेसलाई ठूलो क्षति पुग्नेवाला छ । 

देशमा पहिलो महिला प्रधानमन्त्री हुने चर्चा छ, कांग्रेसले इतिहास रच्ने मौका छ, तपाईंहरू कति महिला विरोधी भको ? 

पहिलो प्रधानमन्त्री महिला हुँदा म खुसी हुन्छु । तर, पहिलो प्रधानमन्त्री हुँदा कांग्रेसबाट हुनुपर्‍यो । कसैको पत्नी भएर, कुनै राणा थर भएर होइन । महिला किन नहुनु हिजै पुष्षा भुसाल उपसभामुख हुनुभयो । उनलाई प्रधानमन्त्री बनाए भइगयो नि । उनी किन नहुने ? किन आरजु राणा हुने र पुष्पा भुसाल प्रधानमन्त्री नहुने ? मैले कांग्रेसमा यो विषय बुझिरहेको छैन । कांग्रेसमा राजतन्त्रै ल्याउन खोजिएको हो ? यो राजतन्त्र भन्दा आचाक्ली भयो । अमुक–अमुक परिवारले मात्रै ठाउँ पाउने हो भने गणतन्त्र किन चाहियो ? महिला प्रधानमन्त्री हुने कुरामा आपत्ति होइन । जो पनि हुन सक्यो । तर उसको योग्यता कांग्रेस हुनुप¥यो । प्रजातान्त्रिक हुनुप¥यो । जनताले पत्याएको हुनुपर्‍यो ।

कम्युनिस्टको भाषामा भन्दा नेपाली कांग्रेसका प्रधान शत्रु त देउवा नै हुन् जस्तो बोल्नुहुन्छ त ? 

होइन, त्यो पनि म मान्दिनँ । नेपाली कांग्रेसलाई पतनको बाटोमा लिएर जाने चैँ शेरबहादुर देउवा भइरहेका छन् । तर नेपाली कांग्रेसलाई सिध्याउने काम चैँ प्रचण्डले गर्छन् । कांग्रेसलाई कमजोर पार्ने, खुम्च्याउने देउवाको नेतृत्वमा भइरहेको छ । यसमा शंका छैन । यो अहिले पुष्टि हुँदैन । यसका लागि अलि समय लाग्छ । शेरबहादुरजीले जसरी चलाउनुभएको त्यसको असर हेर्न दुई तीन वर्ष कुर्नुपर्छ । यो पार्टी तहसनहस हुन्छ । उहाँले मात्रै होइन । उहाँले यसको वातावरण बनाउँदै हुनुहुन्छ । यसमा ठूलो धक्का हान्ने काम भएको छ । 

पहिला गिरिजा बाबुले पनि यसै च्यापेर देउवा फुटे, शक्तिशाली हुँदै गए, किसुनजी, गणेशमानजीलाई समेत पाखा राखेर गिरिजाबाबुले एकलौटी गरेको राम्रो, निर्वाचित सभापति-प्रधानमन्त्रीले आफ्नो रुचिअनुसार चलेको कसरी नराम्रो भयो त ? 

मूल कुरो हेर्नुहोस् न सबैको आफ्नो परिवार हुन्छ, कमजोरी हुन्छ । गिरिजाप्रसाद कोइराला छोरीको नाममा बदनाम भए । त्यो सही कुरा हो । तर उनले कांग्रेसको पहिचान गुमाएनन् । पहिचानलाई जोगाए । उनले कम्युनिस्टसँग चुनावमा कहिल्यै गठबन्धन गरे ? आफ्नो नेतृत्वमा चुनाव हार्दा गिरिजाप्रसाद कोइरालाले म कांग्रेसलाई पुरानो अवस्थामा नपुर्या‍इकन विश्राम लिन्नँ भनेर २०५६ मा बहुमत आएको होइन ? कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीमा अगाडि सारेको हो नि । २०५१ मा पार्टीमा गिरिजाको कारणले बहुमत गुम्यो । त्यसपछि उहाँको के शपथ आयो ? शेरबहादुर र गिरिजाको कही तुलना हुँदैन । २०७४ को चुनावमा कांग्रेसले २३ सिट जित्यो उहाँले कांग्रेसलाई पूर्वअवस्थामा फर्काउँछु भनेर देश दौडाह गर्नुभयो ? उहाँले कुन बाटो सजिलो लिनुभयो भने म गठबन्धन गर्छु । कांग्रेसलाई आधा सिटमा मात्रै उठाउँछु । गिरिजाले जस्तै शेरबहादुरले गर्दैछन् भन्नु घनघोर अन्याय हुन्छ ।

कांग्रेसमा बीपी, किसुनजी, गणेशमान, गिरिजा जस्तो ‘व्यक्तित्व’ कोही बाँकी छ त ?

छैन । कांग्रेस पार्टीभित्र अहिले सभापति छन् । नेता छैनन् । जिल्ला जिल्लामा पनि त्यही छ । अहिलेको राजनीति महँगो भयो । अहिलेको राजनीतिक विचारको पनि भएन । फास्टफूड जस्तो भयो । मःम र चाउचाउ खाएजस्तो भयो । एउटा जुन आदर्शको राजनीति थियो २०४६ पछि पनि भीमबहादुर तामाङ, शैलजा आचार्य, रामबाबु प्रसाईं, सिके प्रसाईँ, जो एउटा आदर्श लिएर राजनीतिमा लागेका थिए, त्यो भन्दा तलको पुस्तामा पनि कांग्रेसको मूल्य पद्धति सिद्धान्त बोकेर त्यहाँ उभिएका थिए । केही अस्तिसम्म पनि थिए । तर, यताको ८/१० वर्षमा के देखिन्छ भने नेपाली कांग्रेसलाई कांग्रेस भनेर डिफेन्ड गर्न सक्ने मान्छे पनि छैन । कांग्रेस पार्टीको मूल्य मान्यता यो हो, यसको सिद्धान्त यो हो, यसको अन्तर्राष्ट्रिय सम्बन्धहरू यसरी विकास गर्नु पर्छ ।

माओवादीसँगको गठबन्धनले कांग्रेसलाई विनाश गर्छ ।

मुलुकको रूपान्तरणका लागि यसरी औजार बन्न सक्छ, कांग्रेस पार्टी साधन हो । अहिले पार्टीलाई साध्य ठानेका छन् । पार्टीको सभापति भएपछि प्रधानमन्त्री भइहाल्ने । पार्टीको सभापति भए जे पनि गर्न छुट भइहाल्ने । अहिले कांग्रेस पार्टीमा नेपालको बौद्धिक जमात भनिने २० प्रतिशत पनि छैन । जो थिए तिनीहरू अटाउन सक्ने स्थिति छैन । अहिले कांग्रेस पार्टी पैसावालाको भएको छ । विनोद चौधरी, उमेश श्रेष्ठ किन चर्चामा आउनुपर्‍यो ? सबै शेरबहादुर देउवाको नजिकको मान्छे भएर । कांग्रेसको डिएन चेन्ज भएको छ । 

अब यो कांग्रेसको डिएनए कसरी फर्किन्छ त ? 

कांग्रेसभित्रै दुई किसिमका छन् । एक दास वा भक्त छन् । अर्को कांग्रेसभित्र केही न केही ढुकढुकी भएका छन्, कांग्रेसको मूल्य पद्धतिसँग जोडिएकाहरू छन् । यस्ता थोरै छन्, अल्पमतमा छन् । लड्नलाई उनीहरूसँग अस्त्र छैन । त्यसका लागि विचार हुनुपर्छ । तिनीहरूको विवेकमा अझै धार लगाउनुपर्ने छ । तब यो यो पैसाको ढुकुटी लिएर बसेकाहरूलाई जित्न सक्छन् । मुलुकलाई बुझ्नुपर्याे । धेरै अलग भएर बसेर काम छैन । कांग्रेसको डिएनए चेन्ज गर्न स्पेस दिन्छन् कि दिँदैनन् शेरबहादुरले ? शेरबहादुरकै पालामा यो कांग्रेस पार्टी कोल्याप्स हुने हो कि भन्ने मलाई शंका छ । म शेरबहादुरको इतिहासलाई आदर गर्छ । तर शेरबहादुरको वर्तमानको राजनीतिलाई कहीँ पनि रुचाउन सक्दिनँ । सात वर्षसम्म पार्टी सभापतिले अहिले केन्द्रीय सदस्यलाई के भन्छन् भने, तँ सक्छस् भने एक्लै उठेर चुनाव जितेर देखा न । यो भन्दा असभ्य भाषा अर्को हुन सक्दैन । मलाई धेरै कचकच गर्यौँ भने विधानै परिवर्तन गरिदिन्छु भन्छन् । यो एउटा सन्तुलित दिमाग भएको मान्छेले बोल्न सक्दैन । 

हेर्नुहाेस भिडियाे संवाद
 



Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
ad
x