वार्ता

पुष्पलाल स्मृति दिवस : इसंवार्ता

पुष्पलाल-सहाना पुत्र उमेशलाल : मार्क्सवाद आजका लागि सायद ठीक होइन (भिडिओ)

उपेन्द्र अर्याल |
साउन ७, २०७९ ८:५२ बजे

नेपाली कम्युनिस्ट पार्टीका संस्थापक तथा राजनीतिका आदर्श नेता पुष्पलाल श्रेष्ठसहाना प्रधानका छोरा हुन्, उमेशलाल श्रेष्ठ । राजनीतिक परिवारमा हुर्किए पनि उनलाई दलीय राजनीति गर्ने रहर कहिल्यै जागेन । बरु उनी उद्योगी–व्यापारी भए । उनीसँग अन्तर्वार्ता लिनुअघि उनले इकागजकले मुख्य कस्ता विषयको समाचारमा जोड दिन्छ भन्‍ने जिज्ञासा राखे । हाम्रो उत्तर सुनेपछि उनले फिस्स हाँस्दै ‘ए’ भने । जब जब साउन लाग्छ, पिता–माताबारे बोल्न उमेशलाललाई फोन आउँछ । भन्छन्, ‘हरेक वर्ष श्रावण भएपछि मलाई यस्तै प्रश्न सोध्छन् । अन्त्यमा एउटा पूरक प्रश्न सोध्छन्– यत्रो ठूलो नेताको छोरा तपाईं किन राजनीतिमा नलाग्नु भएको ?’ हामी पनि उही ड्याङका पत्रकार न पर्यौँ, प्रस्तुत छ पुष्पलाल स्मृति दिवसका सन्दर्भमा उमेशलालसँगको संवाद । यो संवादमा लालले उपेन्द्र अर्यालसँग विस्तृत कुराकानी गरेका छन् :

नेपालको राजनीतिमा आदर्श नेता पुष्पलालको पुत्रका रुपमा पितालाई कसरी सम्झनुहुन्छ ?
म पुष्पलाललाई दुई प्रकारले सम्झन्छु । एक बुवाका रुपमा, जस्तो तपाईंले जसरी आफ्नो बुवालाई सम्झनुहुन्छ । अर्को, म सानै छँदा उहाँ बित्नुभयो । त्यसबेला १८ वर्षको मात्रै थिएँ । मैले उहाँसँग धेरै समय सँगै बिताउन पाइनँ । निर्वासित जीवन थियो, उहाँको । हामी काठमाडौँमा थियौँ । पछि जब मैले उहाँको विषयमा पढेँ, सुनेँ । त्यसपछि मात्रै मैले पुष्पलाललाई आदर्श नेताका रुपमा चिनेँ । कम्युनिस्ट पार्टी स्थापना भएपछिको इतिहास मैले पढेँ । उहाँले किन कम्युनिस्ट पार्टीको स्थापना गर्नुभयो ? मेरो ज्ञानमा रुचि थियो । राजनीतिमा पनि रुचि थियो । तर, राजनीति गर्ने होइन । राजनीतिको ज्ञान राख्ने रुचि हो । मैले हरेक किसिमका राजनीतिका विचारधाराहरू पढेँ । आन्दोलनमा संयुक्त संघर्ष भन्‍ने एउटा नारा थियो । त्यही एउटा नाराको कारणले पुष्पलाललाई अन्य कम्युनिस्ट घटकहरूले कांग्रेसको पुच्छर भनेर आलोचना गरे । तर, उहाँको स्पष्ट विचार थियो– कुनै पनि तागतलाई हराउनुछ भने, बाँकी सबै शक्तिलाई एक बनाएर लिएर जाने थियो ।


संयुक्त जनआन्दोलनको कुरा उहाँले उठाउनु भएको थियो । मैले कहिले–कहिले सुन्थेँ । तर मलाई राजनीति गर्नमा रुचि नभएर ख्याल गरिनँ । त्यसपछि जब २०४६ सालमा जब आन्दोलन सफल भयो । मान्छेहरूले पनि गुणगान गाए । पहिले त गद्दार पुष्पलाल नै भनेका थिए । पछि, गद्दार भन्‍नेले माफी मागे । अनि मैले मेरो बुवालाई अलग्गै रुपमा हेर्न थालेँ । राजनीतिज्ञ पुष्पलालका रुपमा हेर्न थालेँ । मेरो उहाँप्रतिको श्रद्धा र मान सम्मान बढ्दै जान थाल्यो । अहिले आएर कम्युनिस्ट मात्रै त के सबै पार्टीमा पुष्पलाल भनेपछि नेपालको आदर्श राजनीतिज्ञ हुनुहुन्छ । बीपीलाई पनि उसैगरी आदर्श नेताका रुपमा लिइन्छ । बीपी र पुष्पलाललाई प्राय: सँगै नाम लिइन्छ ।

बुवासँग तपाईंको सम्झना के के छन् ? 
मैले मेरो बुवासँग लामो समय त बिताइनँ । ४–५ वर्षसम्म त राम्रोसँग चेतै आएको थिएन । त्यो बेला पनि बुवालाई चिन्थेँ । सायद २०१९ सालतिर उहाँ निर्वासनमा जानुभयो । त्यसबेलासम्म मैले राम्रोसँग चिनेको थिइनँ । कहिले–कहिले राति आउनुहुन्थ्यो । बच्चाको मनमा को हो ? को हो ? हुन्थ्यो । पछि ८/९ वर्ष भएपछि हामीहरू हरेक वर्ष २०/२५ दिनका लागि बुवासँग जान्थ्यौँ । त्यसबेला मिन पचास बिदा हुन्थ्यो । मेरो आमा पढाउने काम गर्नुहुन्थ्यो । हामी बिदामा बुवालाई भेट्न जान्थ्यौँ । लगभग ६/७ पटक गइयो । तर, मैले राम्रोसँग चेत पाएपछि झण्डै एक वर्ष पनि बिताउन पाइनँ । असाध्यै असल हृदयको व्यक्ति हुनुहुन्थ्यो । ठूलो आवाजले बोलेको कहिल्यै सुनिनँ । साथीहरूलाई आदर दिने । त्यसैले गर्दा साथीहरूबाट पनि आदर पाउने नेता हुनुहुन्थ्यो ।

आठ सयलाई रोजगारी दिएको छु, यो ठूलो कि मन्त्री हुनु ठूलो ?

हरेक कुरामा बाँडीचुँडी गर्दा मजा आउँछ भन्‍ने उहाँको सिद्धान्त थियो । एकपटक जाडो बेला थियो बनारसमा गएको बेला उहाँको एउटा साथी आउनु भएको रहेछ । एकसरो कपडा मात्रै लगाएर आउनुभएको रहेछ । उहाँले आफूले लगाएको कोट खोलेर कमेरड लगाउनुहोस् भनेर दिनुभयो । जबकि उहाँसँग पनि एउटा मात्रै कोट थियो । त्यो दिन त मलाई केही याद भएन । किन दिएको होला आफूलाई पनि जाडो भएको बेला भन्‍ने लागेको थियो । 

बुवाको दैनिक कार्यतालिका के हुन्थ्यो ? 
मैले वर्षमा १०/१२ दिन देख्थेँ । एकदमै व्यस्त कार्यतालिका थियो झैँ लाग्छ अहिले सम्झिँदा । उहाँलाई भेट्न कहिले बनारस जान्थ्यौँ, कहिले कहाँ जान्थ्यौँ । परिवारसँग विताउने समय खासै हुन्‍न थियो । हामीसँगै हुँदा पनि साथीहरू आउने गर्थे । अनि उहाँहरूको विभिन्‍न प्रशिक्षण कार्यक्रमहरू हुन्थ्यो । म सानै थिएँ । बच्चा भएकाले मलाई त्यति चासो थिएन । मैले बुवाको निधनपछि मात्रै उहाँको बारेमा पढेको थिएँ । हामी त्यहाँ बस्दा सबैको काम बाँडफाँड हुन्थ्यो । मेरो काम भाँडा माझ्‍ने पथ्र्यो । दिदीको काम खाना पकाउने । बुवाको काम पानी ल्याउने । आमाको काम कपडा धुने थियो । बुवाका कमरेडहरूको पनि भिन्‍नभिन्‍न काम हुन्थे । आफ्नो थाल सबैले माझ्‍नु पथ्र्यो । केटा केटीदेखि नै मैले भाँडा माझ्‍न सिकेँ ।

कम्युनिस्ट भएका कारण त्यसबेला दु:ख दिने काम गर्दैन थिए ?
राजाको शासन भएकाले विभिन्‍न बाहानामा प्रशासनले रातविरात दु:ख दिन्थ्यो । मलाई त सानो भएकाले धेरै थाहा भएन । दिदी ठूलो हुनुहुन्थ्यो, उहाँलाई थाहा हुन्थ्यो । चिठ्ठीहरू आउँथे । रात विरात विभिन्‍न बाहानामा प्रहरीहरू आउँथे । कष्टकरै थियो भन्‍ने लाग्छ । बुवा वितेपछि एक वर्षजति आमा दिल्लीमा रहनुभयो । पछि उहाँले पिएचडी छाडेर फेरि राजनीतिमा आउनुभयो । २०३५ सालमा बुवा बित्नुभयो । २०३६ सालमा आमा राजनीतिमा आउनुभयो । पञ्चायतकालमा कष्टकर थियो जीवन । सबै नेताहरूले जेल–नेल भेगे । कतिले ज्यान गुमाए । हामीले त्यो अनुपातमा त्यति धेरै दु:ख भोग्नु परेन । तर, सत्ताले धेरै कुरामा दु:ख दिन्थ्यो ।

परिवारको आर्थिक स्थिति कस्तो थियो ? 
विवाहपछि आमाले राजनीतिबाट ब्रेक लिनुभयो । सायद उहाँहरूबीच सम्झौता भएको थियो– एउटा परिवारबाट एकजनाले मात्रै राजनीति गर्ने । आमाको जिम्मामा हामी पर्‍यौँ । बुवाको जिम्मामा देश पर्‍यो । आमा २०३३ सालमा अर्थशास्त्र पढाउनु हुन्थ्यो । राजनीतिक कारणले उहाँलाई जागिरबाट निकालियो । त्यसपछि तिमीहरू यहाँ बस म पिएचडी गर्न जान्छु भनेर दिल्लीतिर लाग्नुभयो ।

पहिले त गद्दार पुष्पलाल नै भनेका थिए । पछि, गद्दार भन्‍नेले माफी मागे । 

त्यसबेला आमाको तलब पाँच सय रुपैयाँ हाराहारी थियो । त्यसबेला खान पुग्थ्यो । चाहिएको सबै कुरा सबै पाइन्‍न थियो । मैले त्यसपछि २०३४ सालदेखि जागिर खाएँ । एउटा मल्टिनेसनल औषधी कम्पनी थियो मैले त्यसमै काम सुरु गरेको थिएँ । मेरो तलब त्यसबेला साढे ६ सय रुपैयाँ थियो । आमाले मेरो भन्दा धेरै तलब रहेछ तेरो भन्‍नुभएको थियो । निम्नमध्यम वर्गको परिवार थियो, हाम्रो । आफ्नो आवश्यकता अनुसार लगभग पुगेकै थियो । वर्षमा दुईचार जोर लुगा लगाइन्थ्यो । दालभात, तरकारी खान पुगेको थियो । कहिलेकाहीँ मासु पनि खाइन्थ्यो ।

भनेपछि सम्पत्ति धेरै कमाउनु भएन ? 
राजनीतिक आदर्श थियो । तर, अहिले कसको कति सम्पत्ति कति छ ? मलाई केही ज्ञान छैन । अहिलेका नेताहरूको त्यत्रो सम्पति छ र ? सार्वजनिक गरेको विवरणमा त एककठ्ठा जमिन र ३ तोला सुन मात्रै भनेर घोषणा गरेका छन् । त्यसैले नेताको सम्पत्ति छ कि छैन के थाहा ? 

तपाईं राजनीतितिर नलागेर व्यवसायी बन्‍नुभयो, किन त ? 
(हाँस्दै) म दिग्दार भएर राजनीतिमा नलागेको होइन । व्यवसाय मेरो रोजाइ हो । व्यवसाय रोज्नुको सबैभन्दा पहिले कारण आर्थिक कारण थियो । घरपरिवार पाल्नु थियो । अर्को, हामीमा एउटा के ज्ञान थियो भने– एउटा परिवारबाट एकजना राजनीतिमा लागे पुग्छ । मलाई कहिलेकाहीँ राजनीतिमा छिरौँ–छिरौँ लाग्थ्यो । फेरि मलाई व्यवसायमै राम्रो गरिरहेको छु भन्‍ने लाग्यो । फेरि म जस्तो स्पष्ट वक्ता राजनीतिमा रहन सक्दैन । राजनीतिका धेरै दाउपेचहरू हुन्छन् । मनमा एउटा कुरा राखेर अर्को कुरा बोल्नुपर्ने हुन्छ । जुन म जान्दिनँ । मैले पहिल्यै आफूलाई राजनीतिका लागि अयोग्य ठानेँ । मैले राजनीतिमा गएपछि म सफल हुन सक्दिनँ । मैले असफल हुनुपर्छ भन्‍ने बुझेँ । त्यो भन्दा राम्रो म आर्थिक क्षेत्रमा रहौँ भन्‍ने लाग्यो । मेरो आमाबुवाले राजनीतिक मान्छे अधिकारका लागि काम गर्नुभयो । मैले आर्थिक सबल नभईकन देश विकास हुन सक्दैन भन्‍ने ठानेँ । आर्थिक सबलीकरणका लागि मैले विदेशबाट वस्तु ल्याएर बेच्न सक्थेँ । तर देशमा उद्योग नबसालेसम्म उँभो लाग्न सक्दैन भनेर म उद्योग क्षेत्रमा आएको हुँ । 

अहिले त नेताका परिवार मात्र के आफन्त, नातागोतासमेत  राजनीतिमा देखिन्छन् । लोभ लाग्दैन ?
सबैलाई त्यस्तो लाग्दैन । मेरो बाबु डाँका थिए भने मलाई यो प्रश्न सोध्नुहुथ्यो ? अरु नेताका छोरो–छोरी मेयर भए सांसद भए, तर म पनि त नेपालको सबैभन्दा ठूलो औषधी कम्पनीको मेनेजिङ डाइरेक्टर छु नि त । मन्त्री भएपछि मात्रै ठूलो हुने भए ठीकै छ, भोलि जाउँला मन्त्री हुन । मलाई अलि सजिलो पर्ला । तर, मैले नेपालको आर्थिक क्षेत्रमा आज करिब ८ सय जनालाई रोजगारी दिएको छु । त्यो योगदान ठूलो कि म मेयर/मन्त्री हुनु ठूलो हो ? मलाई लाग्छ, मेरो योगदान ठूलो हो ।

आमा सहाना प्रधान पनि पटक–पटक मन्त्री बन्‍नुभयो । यसको लाभ त तपाईंले पनि लिन पाउनुभयो होला ? 
मैले काम सुरु गरेको २०३४ सालमा हो । पञ्चायत कालमा पञ्चायतकाल सकिँदासम्म म उद्योगमा स्थापित भइसकेको थिएँ । तपाईंले धेरै थोरै मान्छे पाउनुहुन्छ, जसले आमा बाबुको नाम कहिले पनि बेच्न चाहेन । धेरैले मलाई तँलाई के समस्या ? तेरो त मालामाल छ नि भन्छन् । त्यस्तो होइन । म अति नै असाधारण व्यक्तिहरूको छोरा परेँ । उहाँहरूको अंश त मकहाँ परेको छ नि । तर मैले भन्दैमा मेरो आमाले मान्‍ने हो र ? उहाँ फेरि अजिबकै मान्छे हुनुहुन्थ्यो । उहाँलाई कुनै काम गर्नु छैन भने मैले जति अनुरोध गरे पनि उहाँले गर्नुहुन्‍नथ्यो ।

राजनीतिमा दाउपेच हुन्छ, त्यसैले लागिनँ भन्‍नुभयो । हिजोआजको राजनीति कस्तो लाग्छ ? 
समय परिस्थितिअनुसार सबै बदलिँदो रहेछ । हामी अलि धेरै बदलियौँ जस्तो लाग्छ । पुष्पलालका दिन अर्कै थिए । हुन त अहिलेका नेताले पनि संघर्ष नगरेका होइनन् । वर्षौँ जेल बसेका छन् । समयसँगै परिवर्तन त हुन्छन् । तर म सामान्य नागरिकको आँखाबाट हेर्दा उनीहरू अलि धेरै नै परिवर्तन भए कि जस्तो लाग्छ ।

व्यवसायी भएर उद्योग वाणिज्य महासंघमा उपाध्यक्षसमेत हुनुभयो । यताको राजनीति तपाईंको रुचि हो ?
म त्यसलाई राजनीति ठान्दिनँ । सामान्य भाषामा भन्दा निजी क्षेत्रको अधिकारको कुरा गर्न महासंघमा लागेको हो । त्यसलाई राजनीतिसँग नजोड्दा हुन्छ । चुनाव लड्नुपर्छ त्यसमा पनि । तपाईंहरूलाई राजनीति जस्तो लाग्ला । तर, यो दलीय राजनीति होइन । यहाँ कुनै विचारधारको लडाइँ केही पनि छैन । निजी क्षेत्रको कसरी सुदृढ गर्ने उद्देश्य मात्रै हो । सबै उद्योगी व्यवसायीले समान अवसर पाउनुपर्छ भनेर म महासंघमा लागेको हुँ ।

बुवाको राजनीतिले त शिक्षा, स्वास्थ्य सबै सार्वजनिक बनाऊँ, निजीलाई प्राथमिकता नदिऔँ भन्छ, तर तपाईं औषधीकै व्यवसायमा हुनुहुन्छ त ?
सधैँ आदर्शवादी कुरा मात्रै गरेर अगाडि बढ्न सकिँदैन । जुन सरकारले साधारण बजेट मात्रै खर्च गर्न सक्छ । विकास बजेट खर्चै गर्न सक्दैन । त्यो सरकारबाट के आशा गर्ने ? प्राइभेट सेक्टरका हस्पिटल नभइदिएको भए, प्राइभेट सेक्टरका औषधी नभइदिएको भए, तपाईं हामीले पनि उपचार गर्न दिल्ली नै धाउनुपर्ने थियो ।

विवाहपछि आमाले राजनीतिबाट ब्रेक लिनुभयो । म राजनीतिमा लाग्छु भन्दा आमाले ‘म रिटायर्ड भइदिन्छु तँ लाग्ने भए’ भन्‍नुभयो ।

प्राइभेट सेक्टरका स्कुल नभइदिएको भए, सरकारले थाम्न सक्छ ? सरकारको बलबुताको विषय होइनन् यी । सरकारले सके त्यही गर्ने हो । तर, सरकारले नचाहिने विषयमा खर्च गर्छ । शिक्षा र स्वास्थ्यको जिम्मा एउटा वेलफेयर राज्यले लिनुपर्ने कुरा हो । तर, नेपालले सक्दैन । क्षमता नभएर होइन । हाम्रो व्यवस्थाले दिँदैन ।

भनेपछि तपाईं शिक्षा र स्वास्थ्यलाई सरकारीकरण गर्नुपर्छ भन्‍नेमा सहमत हुनुहुन्छ ?
सहमत छु । अन्य धेरै देशमा यस्तै छ । तर त्यसका लागि पहिले देश धनी हुनपर्‍यो । देश धनी हुनका लागि हामी धनी हुनपर्‍यो । हामीलाई धेरै औषधीमा घाटा छ । तर, सरकारले मूल्य बढाउन दिएको छैन । सरकारले उत्पादन गर्ने औषधीमा समेत घाटा भएको विभागका जिएमले सुनाउँछन् । तर मूल्य बढ्दैन । यस्तो व्यवस्थामा आदर्शले चल्दैन ।

तपाईं मार्क्सवादी हो कि हैन ? 
मार्क्सवाद एउटा विज्ञान हो । नमान्‍ने कुरा छैन । तर मार्क्सवाद कहिलेको कुरा हो ? १९औँ शताब्दीको कुरा हो । त्यसबेला साँच्चै मजदुर किसान वर्ग पेलिएका थिए । तर अहिलेको अवस्था त्यस्तो छैन । गाउँतिर होलान् । कुनै पनि चिज लेखिन्छ एउटा वस्तुस्थितिलाई हेरेर । मार्क्सले जे लेखे त्यो त्यसबेलाका लागि ठीक थियो । आजका लागि त्यो सायद ठीक होइन ।

भनेपछि अहिले हामीलाई मार्क्सवाद काम लाग्दैन ?
काम लाग्दैन पनि म भन्दिनँ । यो अध्ययनको विषय हो । यसमा कतिपय विषय राम्रा छन् । सबै फ्याँक्नुपर्दैन । नेपालको संविधानले पुँजीवाद स्वीकार गरिसकेको छ । समाजवादउन्मुख भनिएको छ । तर जबसम्म प्रतिस्पर्धा हुँदैन आर्थिक उन्‍नति सम्भव छैन भन्‍ने प्रस्ट भइसकेको छ । एकाधबाहेक सबै देशमा ‘फ्रि मार्केट इकोनोमी’ नै छ । हामीजस्तो अविकशित देशमा क्रोनी क्यापिटलिज्म बस्यो । आसेपासेको किचन क्याबिनेट छ । त्यसलाई नियन्त्रण गर्नुपर्छ ।

मार्क्सवाद छाडेर फेरि एकपटक पारिवारिक कुरामा फर्कौँ । राजनीतिक परिवारमा जन्मिनुका सुख के छन् ? दु:ख के छन् ? 
(हाँस्दै) मलाई सुखै सुख छ । दु:खका दिन हिजो गइसक्यो । दु:ख मनाइराख्नुपर्ने आवश्यकता केही छैन । एउटा खुसी के लाग्छ भने म दुई महान् व्यक्तिको सन्तान हुँ । उहाँहरूको बेदाग जिन्दगी कट्यो त्यो खुसी लाग्छ । उहाँहरूको सहयोगविना मैले आफूले आफ्नो क्षेत्रमा सफलता हासिल गरेँ । म पुराना कुरा सम्झिएर अहिले रुने मान्छे होइन । अप्ठेरा दिन थिए । ठीकै छ । त्यो विगत थियो । पञ्चायतले ३० वर्ष राज गर्दा गाह्रो थियो ।

तपाईंका मातापिताले रगत पसिना बगाएको पार्टी र तपाईंका मातापिताका अनुयायी/साथी बताउने नेताहरूबारे तपाईंको टिप्पणी के छ ?
व्यक्तिगत रुपमा उहाँहरूसँग पनि मेरो भेट भइरहन्छ । मेरो टिप्पणी खास केही छैन । उहाँहरूले राम्रोसँग काम गरिदिए हुन्छ । उहाँहरूले अहिले राष्ट्रबारे कम सोचेको जस्तो लाग्छ । ठूला मान्छे एक ठाउँमा बसेपछि समस्या हुँदो रहेछ । परिवारमा थुप्रै दाजुभाइ हुँदा झगडा हुन्थ्यो नि । त्यस्तै रहेछ । सबै ठूला नेताहरू हुनुहुन्छ । सामान्य विषयमा पनि झगडा हुन्छ । सायद त्यसैले उहाँहरूले देशको विकासमा त्यति ध्यान पुर्‍याउन सक्नुभएन ।

पुष्पलाल, सहानाको खास सपना के हो ?
पुष्पलालको सिद्धान्त नै छ नि । उहाँको पहिले राणाशासन हटाउने थियो । पहिले त उहाँ राष्ट्रिय कांग्रेसमा हुनुहुन्थ्यो । कांग्रेसले गर्न सक्दैन भनेर नेपाल कम्युनिस्ट पार्टी खोल्नुभयो उहाँले । यो जहानियाँ राणा शासनको अन्त्य गर्न थियो । त्यसपछि राजतन्त्रको अन्त्य गर्ने थियो । सार्वभौम शक्ति जनतामा निहित गर्ने थियो । त्यसका लागि उहाँले सयुक्त जनआन्दोलनको योजना बनाउनु भएको थियो । गणतन्त्रसम्म आइपुग्दा त्यो केही हदसम्म पूरा भयो । 

पुष्पलाललाई गद्दार समेत भनियो, किन होला ? 
कांग्रेसको पुच्छर भयो भनेर त्यस्तो आरोप लगाए । कांग्रेससँग संयुक्तरुपमा आन्दोलन गर्नुपर्छ भनेर पहिलेदेखि भन्‍नु भएको थियो । कतिपयलाई पुष्पलाललाई गाली गरेपछि मात्रै पक्का कम्युनिस्ट भइन्छ भन्‍ने लागेको थियो होला सायद । धेरै मलाई पनि थाहा छैन । बुवा बन्दुकको नालबाट क्रान्ति आउँछ भन्‍ने मान्‍नुहुन्‍न थियो । मित्र शक्तिहरूसँग मिलेर लड्नुपर्छ भन्‍ने थियो ।

तपाईंको ठूलो बुवा गंगालाल श्रेष्ठ राणाशासन विरोधी आन्दोलनमा लागेपछि वीर सहिद हुनुभयो, पिता पनि लामो समय भूमिगत बस्नुपर्यो, तपाईंका पिताहरू, माताहरू कसरी विद्रोही हुन सक्नुभयो होला ? 
मैले सुनेअनुसार, मेरो ठूलो बुवा सानैदेखि अलि जोस भरिएको हुनुहुन्थ्यो रे । मेरो फूपूले कुरा गरिरहुन्थ्यो । १९९७ सालमा उहाँलाई राणाले मारे । त्यही देखेर मेरो बुवा आमा पनि राणा विरोधी हुनुभयो । शिक्षा–दीक्षामा बन्देज थियो । त्यसबेलाको निरंकुशताले विद्रोही बनायो ।

मैले आठ सयलाई रोजगारी दिएको छु, यो योगदान ठूलो कि म मेयर–मन्त्री हुनु ठूलो ?

यो पार्टी मेरै मातापिताले बनाएको पार्टी त हो नि भनेर अंशबण्डा माग्दा पनि त हुन्थ्यो, हैन र ? उमेश श्रेष्ठहरूको जस्तै उमेशलाल श्रेष्ठहरूको व्यापार पनि सप्रिन्थ्यो होला । (हाँस्दै) मेरो नराम्रो छैन । सन्तोष हुनुपर्छ । मलाई पार्टीबाट केही चाहिएको छैन । जुन बाटो मलाई लाग्नैछैन । उहाँहरूले गरिखानुहोस् । मेरो शुभकामना छ । मलाई उमेश श्रेष्ठले के गरेका छन्, थाहा छैन । हिजो मन्त्री भएपछि कमाएको होइन होला । उहाँको पनि संघर्ष लामै छ ।

मातापिता बीचको सम्बन्ध कस्तो थियो, उहाँहरूको मुड, स्वभाव, रुचि, दैनिकी सुनाइदिनु न ?
दुवैबीच एकदमै राम्रो सम्बन्ध थियो । अन्तिममा सायद १ वर्ष सँगै बिताउनु भयो । लोग्ने–स्वास्नीका सबै कुरा मलाई के थाहा हुन्छ र ? तर मेरो अगाडि कहिल्यै पनि उहाँहरूले ठूलो आवाजले बोलेको सुनिएन । मेरो आमा कडा स्वाभावको हुनुहुन्थ्यो । बुवा नरम स्वाभावको हुनुहुन्थ्यो । मेरो बुवाको छिटो विश्वास गर्ने बानी थियो । आमाको विश्वासै नगर्ने बानी थियो । बुवालाई जसले जे भने पनि तुरुन्त विश्वास गर्नुहुन्थ्यो । सायद त्यसैले होला मेरो आमाको बानी कसैको विश्वासै नगर्ने थियो । मैले आमाको गाली पनि धेरै खाएँ । गालीभन्दा बढी हातै चल्थ्यो । अन्य कुरा आमाले इच्छामा चल्न दिनुहुन्थ्यो । मैले एकपल्ट आमालाई ठट्टा गरेर राजनीतिमा लाग्नुपर्‍यो भनेको थिएँ, हुन्छ म रिटायर्ड भइदिन्छु तँ लाग्ने भए भन्‍नुभएको थियो । उहाँले मजाक गर्नुभएको थियो कि साँच्चै भन्‍नुभएको थियो थाहा छैन ।

उति बेलाका प्राय: कम्युनिस्ट नेताहरूले काठमाडौँमा ससुराली बनाएको देखिन्छ, किन रहेछ ?
हाँस्दै । मलाई थाहा छैन् । सबैले भन्‍न मिल्दैन । माधव नेपालले गर्नुभएको छैन त ।

जात व्यवस्थाको सोपान भत्काउने क्रान्तिकारी सोचलाई व्यवहारमा ढाल्न खोजेको पनि भन्‍न मिल्छ कि संयोग मात्र हो वा काठमाडौँको सत्ताको प्रिय अनि धनदौतल पनि जोड्ने तनावको मुक्ति खोजेको हो कि ?
पुराना कम्युनिस्ट नेताहरू धेरैले काठमाडौँका नेवारसँग बिहे गर्नु जातव्यस्था ढाल्न त होइन होला । नत्र सार्कीसँग किन बिहे गरेनन् ? दलितसँग किन विवाह गरेनन् ? सम्पत्तिमा पनि लालसा होइन होला । मेरो हिसाबमा भूमिगत हुनुहुन्थ्यो । केटाकेटीबीचमा प्रेम भयो होला । जुन स्वाभाविक थियो ।

अन्त्यमा, जहिले पनि मलाई मातापिताबारे मात्र सोधिन्छ, मेरो आफ्नो जीवन, कर्म, सिद्धान्त कसैले सोध्दैन भन्‍ने पनि लाग्दो हो कि ? 
छैन । व्यापार–व्यवसायबारे पनि मसँग प्रशस्तै अन्तर्वार्ता लिन आउँछन् । त्यति बेला मेरै बारे पनि सोध्छन् । तर, श्रावण महिना भएपछि मलाई बुवाबारे प्रश्नहरू सोध्छन् । बुवाका बारेमा अन्तर्वार्ता गर्न आउँछन् । लास्टमा एउटा मात्रै पूरक प्रश्न सोध्छन्– यत्रो ठूलो नेताको छोरा तपाईं किन राजनीतिमा नलाग्नुभएको ? यो प्रश्न सबैले सोध्ने सदावहार प्रश्न हो । मलाई यसमा बानी छ । 



Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
ad
x