वार्ता

अन्तर्वार्ता

अख्तियार आयोगबाट फाइल नियतवश नै गायब पारिएको रहेछ (अन्तर्वार्ता)

सदिक्षा आचार्य |
साउन १२, २०७९ ११:३६ बजे

उमेरका हिसाबले ‘मिड–करियर’मै देखिन्छन्, पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपाने । कर्मचारीतन्त्रमा २६ वर्ष आयु बिताउँदै आजदेखि बाहिँरिदैछन् । अर्थात्, अब पूर्वसचिव बन्दैछन् । अनि ४८ वर्षे उमेरमै पेन्सन प्राप्त पूर्वकर्मचारी बनेका छन् । खरिदारबाट सरकारीतन्त्रमा प्रवेश गरेर सचिवबाट अवकाश, त्यो पनि २६ वर्ष २ महिने कार्यकालमै । सहसचिवबाट सचिव हुँदाबाहेक सधैँभरि खुला प्रतिस्पर्धाबाटै पदोन्‍नति । ‘तपाईं खुसीसहित बाहिरिँदै हो कि गुनासा पोका बोक्दै ?’ न्यौपानेका शब्द रहे, ‘म सधैँ सकारात्मक सोच्ने व्यक्ति हो, आशावादी व्यक्ति हो कहिल्यै पनि नकारात्मक भावना, निराशाजनक विचार कहिल्यै आएन ।’ सक्रिय उमेरमै अवकाश प्राप्त गर्दै गरेका न्यौपानेसँग इकागजका निम्ति सदिक्षा आचार्यले कुराकानी :

तपाईं २६ वर्ष लामो कर्मचारीतन्त्रबाट बाहिरिँदै हुनुहुन्छ, अनुभव कस्तो रह्यो त ?
म २०५३ सालमा खरिदार पदबाट निजामती सेवा प्रवेश गरेको हुँ । अनि खुला प्रतिस्पर्धाबाट २०५४ सालमा नायब सुब्बा, २०५५ मा शाखा अधिकृत । त्यसपछि प्रशासनतिर काम गर्न सुरु गरेँ । म भूमि सुधार विभाग, भूमिसुधार कार्यालय कैलाली, सामान्य प्रशासन मन्त्रालय बसेँ । म ६ वर्ष शाखा अधिकृतमा बसिसकेपछि, २०६१ सालमा खुला प्रतिस्पर्धामार्फत उपसचिव भएँ । अनि मैले सामान्य प्रशासन मन्त्रालय र रक्षा मन्त्रालयमा काम गरेँ । खुला प्रतिस्पर्धाबाटै २०६५ मा म सहसचिव भए । अनेकन् सरकारी निकायमा काम गरेँ । कञ्चनपुर र चितवनमा सिडिओ भएर काम गरेँ । त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालय बबरमहलको प्रमुख भएर काम गरेँ ।


अनि ?
त्यसपछि निर्वाचन आयोगमा सहसचिव भएर संविधानसभाको दोस्रो निर्वाचन गराउन काम गरेँ ।  त्यहाँबाट उद्योग विभागको महानिर्देशकमा सरुवा भएँ । जहाँ दुई वर्ष काम गरेँ । त्यसपछि श्रम मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयमा ४–५ महिना जति काम गरेँ । सरकारी निकायमा सरुवाको फेरो लामै छ । मलाई २०७४ साउन १२ मा सरकारले सचिवमा बढुवा गर्‍यो ।

अनि सचिव भएपछि कति ठाउँमा सरुवा हुनुभयो ?
म सचिव भएपछि निर्वाचन आयोगमै खटिएँ । त्यसपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय । अन्तिममा फेरि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाटै अवकाश पाउँदै छु । निजामती सेवामा मैले आजसम्म २६ वर्ष २ महिना बिताएँ ।

दु:खी वा खुसी के हुनुहुन्छ ?
म सधैँभरि सकारात्मक सोच राख्ने व्यक्ति हुँ । आशावादी व्यक्ति भएको हुँदा कहिल्यै पनि नकारात्मक भावना आएन । मनमा निराशाजनक विचार कहिल्यै आएन ।

पदमा रहँदा कस्ता–कस्ता चुनौतीपूर्ण काम गर्नुभयो ? 
मैले सुरुदेखि नै केही चुनौतीपूर्ण काम नै गरेँ । जस्तै : मुक्त कमैया बसोबास गर्नुपर्ने जिम्मेवारीमा रहेँ । कैलालीको भूमिसुधार कार्यालयमा मैले धेरै मुक्त कमैयाहरूलाई जग्गा वितरण गरेको हुँ । त्यो काम पूरा गर्नु चुनौतीपूर्ण नै थियो । सहसचिव भइसकेपछि दुई जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) भए ।

सिडिओको काम सजिलो हुँदैन, त्यो चुनौतीपूर्ण भइहाल्छ । भर्खर द्वन्द्वकाल सकिएको थियो । अलिकति गाह्रै समय थियो । २०७० सालको संविधानसभा निर्वाचन पनि एक किसिमले चुनौतीपूर्ण नै भयो । त्यसपछि म गृहसचिव भएर काम गरेँ । त्यहीबेला कोभिडको महामारीमा परियो । बिरामीहरूलाई राख्नुपर्ने, क्वारेन्टिनको व्यवस्थापन गर्नुपर्ने, अस्पतालहरूमा अक्सिजनको व्यवस्था मिलाउनुपर्ने काम जटिल थिए नै ।

अस्पतालहरूमा अक्सिजन आपूर्ति नभएर राति राति फोन गरेर म कयौँ रात सुत्नसमेत पाइएन । ती अनुभव हेर्दा म साँच्चै नै भावुक हुन्छु । कतिको ज्यान बचाउन सकियो, कतिको सकिएन । अक्सिजन बेलैमा पुर्‍याउन सकेको भए, बाँच्थे कि भन्‍ने भयो । तैपनि ‘म्यानेज’ गरियो ।

अब तपाईं सरकारीतन्त्रबाट बाहिरिँदै गर्दा आफूले गरेका वा थालेका उल्लेखनीय काम के–के रहे भन्‍ने ठान्‍नुहुन्छ ?
हो, आजदेखि म नागरिक जीवनमा जाँदै छु । सरकारी निकायमा बारबारका सरुवाबीच पनि कहीँ कहीँ संस्थागत सुधार प्रारम्भ गरियो, तर जुन पूर्ण छैन । ती काम संस्थागत रुपमा दिगो हुन सकेका छैनन् । जस्तै: मैले उद्योग विभागमा सबै डकुमेन्ट ‘डिजिटाइज’ गरेँ । अनलाइन सेवा प्रारम्भ गरेँ । मैले छाडेर हिँडेपछि फेरि पहिलेकै कागजी प्रक्रियामा गयो । केही काम संस्थागत भएका उदाहरण पनि छन् ।

जस्तै, दोस्रो संविधानसभाको चुनाव गराइयो । त्यसैले संविधान बनायो । मुक्त कमैयाहरूलाई जग्गा वितरण गराइयो, बसोबासको व्यवस्था मिलाइयो । गृह मन्त्रालयमा हुँदै कोभिड व्यवस्थापन गरियो । म आफू पनि गर्व गर्छु । कतिपय कुरा संस्थागत नहुँदा, व्यक्तिगत रुपमा काम गर्न खोज्दा त्यो कुरा दिगो नहुने रहेछ । यी प्रवृत्तिहरू सरकारीतन्त्रमा नियमित देखिन्छन् ।

कर्मचारीतन्त्रमा क्षमतावान् मान्छे छन् भन्‍ने गरिन्छ, तर ती क्षमताहरूको उपयोग हुन नसक्नुका कारण के–के छन् ?
व्यक्तिगत क्षमता, संस्थागत, विधि–प्रक्रिया र निरन्तरताबीचमा समस्या छन् । किन संस्थागत शैलीमा काम हुन सक्दैनन् भन्दा मूलभूत रुपमा समन्वयकै अभाव हो । मन्त्रालयले आफ्नो काम पाए मात्र हेर्छ, अरुसँग समन्वय गर्दैन । सरकारको काम कारबाही सिँगै हेर्दा जस्तै एउटा जलविद्युत् आयोजना बनाउनुपर्‍यो भने ४–५ वटा मन्त्रालयको संलग्नता र भूमिका रहन्छ । तर एउटाको मात्रै जिम्मा लगाउने प्रवृत्ति छ ।

अर्को जटिलता भनेको सरकारीतन्त्रमा संस्थागत ‘मेमोरी’को अभाव पनि हो । आज भएका कागजात भोलिका दिनमा भेटिँदैन । अर्कोले खोज्दा पाउँदैन । त्यसमा मेरो अनुभव पनि छ, । अख्तियार दुरपयोग अनुसन्धान आयोगले २०६० सालमा एउटा फाइल हराएको रहेछ । गायब पारिएको हुन सक्छ । मलाई २०७४ सालमा सर्वोच्च अदालतले सोध्यो, ‘त्यो फाइल किन उपलब्ध नगराएको र तपाईंलाई किन कारबाही नगर्ने ?’ त्यो फाइल नियतवश नै गायब पारिएको रहेछ कहाँबाट फेला पार्न सक्ने ? म २०६० पछि १५ औँ सचिव रहेछु । रेकर्ड व्यवस्थापनको समस्यादेखि संस्थागत स्मरणका अभाव छ । कुनै निकायमा नयाँ सरुवा हुँदै आउने व्यक्तिले फेरि जिरोबाट सुरु गर्नुपर्ने हुन्छ । अनि नयाँ सचिवले सिक्दा सिक्दै सरुवा वा कार्यकाल सकिनेमा पर्छन् ।

राजनीति र कर्मचारीतन्त्रबीच सम्बन्ध चाहिँ पाउनुभयो ?
राजनीति र राजनीतिकर्मीले जहिले पनि कर्मचारीतन्त्र र विशेषज्ञतालाई स्वतन्त्र रुपमा काम गर्न दिइँदैन । त्यसैले विशेषज्ञ पनि कतिपय अवस्थामा दिग्भ्रमित हुन पुग्छन् । एक अर्काबीच सहयोग र समन्वयको संस्कार कम छ । अनि समयमै काम नगर्ने र जिम्मेवारी पन्छाउने क्रम पनि छ । कतिपय काममा म आफूले पनि संस्थागत गर्न सकिनँ होला । ८० हजार कर्मचारीभित्र  एकरुपता हुन सकेन । अनि हामीसँग भएका संयन्त्रहरू पनि ‘फङ्सनल’ हुन नसकेको अवस्था छ । अनि राजनीति आफैँमा पनि अझै परिपक्व छैन । प्रशासनतन्त्रमा आफैँमा स्वाभिमानी र विवेकशील हुँदै निर्णय गर्न सक्ने क्षमतामा ह्रास आइरहेको छ । यस्ता द्वन्द्वका सवालमा प्रशासकहरूले राजनीतिकर्मीलाई बुझाउन नसक्नु पनि कारण हुन सक्छन् ।

सुधारको सम्भावना के देख्नुभएको छ ?
चाहे राजनीति होस् चाहे प्रशासनतन्त्र, शासकीय सुधारको जमर्को राजनीतिकर्मीबाटै हुनुपर्छ । प्रशासनले पनि सहयोगी भूमिका निर्वाह गर्नुपर्छ । प्रशासनतन्त्रमा आफ्ना विशेषज्ञ झल्किने र सहकार्यात्मक प्रणाली चाहिन्छ, किनभने चल्नु र सुधार हुनु फरक कुरा हो । 

तपाईं पर्यटन सचिवबाट बाहिँरिदै गर्दा समग्र रुपमा के सन्देश दिन चाहनुहुन्छ ?
म अस्ति भर्खरै कोरिया गएर आएँ । प्रत्येक वर्ष कोरियाबाट डेढ करोड पर्यटन निम्ति बाहिँरिदा रहेछन् । जसमध्ये २०१८ को डाटाअनुसार नेपालमा ३८ हजार  जति आउने गर्दा रहेछन् । उचित व्यवस्थापन गरेर कोरियाबाटै मात्र कम्तीमा पनि दुई लाख नेपाल भित्र्याउन सके मात्र पनि पर्यटन व्यवसाय फस्टाउन सक्छ । पर्यटकलाई नेपाल सुरक्षित, रमाइलो, आकर्षक गन्तव्यस्थल हो भनेर बुझाएर सेवा पनि सोहीअनुरुप दिनु पाएदेखि राम्रो हुन्थ्यो । त्यसमा हाम्रो पूर्वाधार हुनुपर्‍यो ।

एअरलाइन्सको क्षमता अभिवृद्धि हुनुपर्‍यो । २५–३० लाख पर्यटन ल्याउन सक्ने, होटल सोहीअनुसारको हुनुपर्‍यो । गन्तव्यमा पुग्न सहज हुनुपर्‍यो । पर्यटन क्षेत्रमा लगानी गरेपछि ‘आउटपुट’ आउने हो । पर्यटक दशकको घोषणा पनि भएको छ, आन्तरिक तयारी, बाह्य तयारी दुवै चाहिन्छ । 

अवकाशपछिका योजना के छ ?
व्यक्तिगत रुपमा म सन्तुष्ट छु । अरु त बाहिरबाट मूल्यांकन गर्ने कुरा हो । ४८ वर्षमा रिटायर हुँदै छु । काम त अझै गर्न पाए हुन्थ्यो भन्‍ने हो । तत्काल मेरो केही योजना छैन । म पिएचडी अध्ययन गर्दै छु । 

सरकारी कर्मचारी नभएको भए, के बन्छु भन्‍ने सोच थियो ?
म सामान्य स्कुलमा पढेको हुँ । त्यसैले त्यस्तो ठूलो सपना बनाइएन । सुरुमा मैले कलेजतिर पढाउँला भन्‍ने सोच्थेँ । तर पछि समाज, परिवार, परिवेश सबैले निजामतीतिर धकेल्यो । जे होस् खुसी छु । काम साथै पढाइ पनि निरन्तर चलिरह्यो । त्यसपछि निजामती सेवा छोडेर हिडौँ जस्तो लागेन ।

सबैभन्दा काम गरौँ जस्तो कुन मन्त्रालयमा भयो ?
कानुनसम्मत् हरेक काम सजिलै गर्थें । मेरो टेबलमा कहिल्यै पनि भोलि काम गरौं भनी रहन्‍नथ्यो । काम गर्न सबै पदमा रमाइलो हुन्छ । गृह मन्त्रालयमा काम भइराख्ने हुनाले त्यहाँ अझै रमाइलो लाग्यो । 



Author

थप समाचार
ad
x