वार्ता

अब धामी–झाँक्रीले ओखरको बोटमा टाँस्‍नेछन्— महिनावारीको रगत शुद्ध (वार्ता)

सदिक्षा आचार्य |
साउन १९, २०७९ बिहिवार ७:३९ बजे

महिनावारी बार्ने चलनविरुद्धको अभियानमा लामो समयदेखि सक्रिय नाम हो– राधा पौडेल । उनी नर्स, लेखक तथा मर्यादित महिनावारी अभियन्ता हुन् । २०७० मा उनको पुस्तक ‘खलङ्गामा हमला : एउटी नर्सको डायरी’ले मदन पुरस्कार पाएको थियो । उनले दोस्रो कृति ‘अपवित्र रगत’ पनि सार्वजनिक गरिसकेकी छिन् । उनै पौडेलसँग इकागजकी सदिक्षा आचार्यले गरेको कुराकानी : 

‘अपवित्र रगत’पछि अरु कुनै किताब लेख्दै हुनुहुन्छ ?
अब एउटा महिनावारीसम्बन्धी ‘फिक्सन’को किताब आउँदै छ । सायद तीन महिना जतिमा आइपुग्छ होला । 


महिलालाई महिनावारीको समयमा दोस्रो दर्जाको नागरिक जस्तो गरिन्छ । यहाँको अनुभव र खोजमा देशको कुन भागमा यो चलन ज्यादा छ ?
महिनावारी विभेदले नै दोस्रो दर्जा निर्माण गर्छ । महिनावारी विभेदले महिलाहरू साना, शक्तिविहीन, बिचरा र दोस्रो दर्जाका हुन् भन्छ । पितृसत्ताले प्रणालीगत तरिकाले महिनावारीलाई कमजोर, नराम्रो, फोहोरी, अशुद्घ भनेर विभेद गरिरहेको छ । 
महिनावारी विभेद सबै ठाउँमा उस्तै छ, न सहर न गाउँ । सहरमा कसैले महिनावारीका बेला कचकच सहन नसकेर माइती गएको सुनाउँछन् । कतै छुट्टै कोठा वा फ्ल्याट छुट्याइदिएको उदाहरण पनि छन् । उनीहरूले भोग्नुपरेको हीनताबोध उनीहरूकै भाषामा भन्नुपर्दा पश्चिम नेपालको विभेदभन्दा फरक छैन । पश्चिममा गरिएको विभेद धेरै देखिन्छ, काठमाडौँका ठूल्ठूला घरमा भएको विभेद देखिँदैन । काठमाडौँमा छोराले बिहे गर्ने पक्का भएपछि बुहारीलाई महिनावारी हुने बेला सुत्ने ‘लोबेड’ किनिदिने चलन छ । लोबेड नहुँदा दरी, थोत्रो कम्बल राखेर छुट्टै सुत्ने ठाउँ मिलाइदिने गरेको पाइन्छ । यो विभेद सबै ठाउँमा छ । 

विभेद पहिलेभन्दा कम छ कि उस्तै ?
सार्वजनिक रूपमा कुराकानी र छलफल सुरु भएको छ । सरकारको तर्फबाट पनि केही प्रयास भएका छन् । सरकारी र गैरसरकारी सबै संस्थाहरू मर्यादित महिनावारीमा काम गर्न, यसलाई साझा सवाल बनाउन सहमत भएको देखिन्छ । बिस्तारै मौनता भङ्ग हुँदै छ । ​

मर्यादित महिनावारीको विश्वव्यापी अभियानमा विभिन्न देश पुग्नुभयो । विदेशमा यस्तो खालको विभेद कत्तिको पाउनुभयो ?
विदेशमा पनि उस्तै छ । केही विकसित देशका कुरा गर्ने हो भने बेलायतमा ७८ प्रतिशत महिला महिनावारी हुँदा खेल खेल्दैनन् । अस्ट्रेलियामा १० जनामध्ये आठ जना छोरी महिनावारी भएको भन्न मन पराउँदैनन् । प्याड फेरेर कि ब्रा कि बाहुलामा लुकाउँछन् । 

महिनावारीलाई ‘अपवित्र’ ठान्ने अन्धविश्वास के कारण फैलिएको होला ?
मेरो विचारमा डरले । त्यो डर केले सिर्जना गर्‍यो ? मौनताले, अज्ञानताले, धर्म र संस्कृतिले, नीति–नियमले, सरकारले, हामी सबैले । राधा बदमास हो, राधाले काम नपाएर महिनावारीमा काम गरेकी छ भन्ने मानिस र संघ–संस्थाले यो डर सिर्जना गरिरहेका छन् । यो महत्वपूर्ण विषय होइन, व्यक्तिगत बिजनेस हो, यो विषयमा बोल्नु हुँदैन भन्नेहरूले डर सिर्जना गरेका छन् ।

महिनावारी बार्ने प्रक्रिया फरक, विभेद उस्तै

नयाँ र पुराना पुस्ताबीच महिनावारीका बेला ‘अपवित्र’ भइन्छ भन्ने तर्कमा कत्तिको अन्तर पाउनुभएको छ ? 
पहिले र यतिखेर मलाई खासै फरक लाग्दैन । मैले काठमाडौँकै क्याम्पसमा ब्याचलर्स, मास्टर्स पढ्ने थुप्रै विद्यार्थी भेटेको छु । उनीहरू अझै महिनावारी विभेदको अभ्यास गरिरहेका छन् ।

महिनावारी बार्ने चलनविरुद्ध काम गर्दा कस्तो खालको आत्मसन्तुष्टि मिल्छ ?
महिनावारी विभेद गर्ने कसैसँग चार घण्टा समय बिताएँ भने उसलाई ८५ प्रतिशत सम्झाउने ग्यारेन्टी दिन्छु । यो काम गर्दा धेरै पल वाह ! लागेको छ । म हालसालै धनगढीमा मर्यादित महिनावारीमा ‘धामी–झाँक्री सम्मेलन’ गरेर फर्किएकी हुँ । जुलाई २१, २२ र २३ मा गरेको सम्मेलनमा उनीहरूले १४ बुँदे घोषणापत्र जारी गरे । त्यो घोषणापत्र उनीहरूकै भाषामा थियो । उनीहरूले आफ्नै शब्दमा ‘महिनाको २५ दिन र ५ दिन बराबर बनाउने छौँ’ भनेर लेखेका थिए । उनीहरूले घरमा ‘मर्यादित महिनावारी, हामी सबैको जिम्मेवारी’ भनेर लेखेर टाँस्नेछौँ पनि भनेका छन् । स्कुल जाने बाटोमा ओखरको रुखमा ‘महिनावारीको रगत शुद्ध र सफा रगत हो’ भनेर लेखेर टाँस्छौँ भनेका छन् । यो मेरा लागि यत्तिका वर्षको दुःख गरेको फल हो जस्तो लाग्छ । 

महिलाको आत्मविश्वासलाई महिनावारीका बेला हुने छुवाछूतले कतिको प्रभाव पार्छ ?
मानिसहरू सम्पन्न छन् । महलमा बस्छन् । महँगो गाडी चढ्छन् । करोडौँको चेकमा साइन गर्छन् । तर, महिनावारी विभेदकै कारण उनीहरूमा धेरै पीडा छ । बच्चामा आमालाई छुन हुँदैन भनिन्छ । आफैँ महिनावारी हुँदा यता नछोऊ, त्यता नछोऊ भनिन्छ । नेपाली महिलाहरूमा रजनोवृत्ति (महिनावारी बन्द भएको वा रोकिएको अवस्था) को समस्या पनि उस्तै छ । यी सबै अवस्था न घरमा भन्छन् न अफिसमा । उनीहरूले निकै संघर्ष गर्नुपरेको छ । यिनै अवस्थाले घर, स्कुल, कार्यस्थल सबैतिर अमर्यादित अवस्था सिर्जना गरेको छ । 

महिनावारीमा अहिले धेरै चिज प्रयोग हुन थालेका छन् । महिनावारी कप, प्याड, ट्याम्पोन वा कपडा कुन चाहिँ सबैभन्दा उत्तम हो ?
महिनावारीका लागि विश्वव्यापी रूपमा नौ प्रकारका सामग्री उपलब्ध छन् । ती सबै सुरक्षित छैनन् । प्याड, कप दुई सयदेखि हजार वर्षसम्म कुहिँदैनन् । दर्जनभन्दा बढी रसायन प्रयोग गरिएको हुन्छ । जसले क्यान्सरको जोखिम बढाउँछ । त्यसको सट्टा कपडाको प्याड सुरक्षित हुन्छ ।
यो विषयमा हामी ‘थ्री पी अप्रोच’बाट कुराकानी गर्न सक्छौँ । 
पहिलो पी अर्थात् ‘पर्सन’ : महिनावारीमा व्यक्ति मर्यादित हुनुपर्‍यो । 
दोस्रो पी अर्थात् ‘प्लानेट’ : ती सामग्रीले वातावरणलाई बोझ हुनु भएन । ती सामग्री व्यवस्थापन गर्दा मर्यादाको ख्याल गर्नुपर्‍यो । 
तेस्रो पी अर्थात् ‘पकेट’ : सामग्री स्थानीयस्तरमा उत्पादन हुनुपर्यो । सस्तो र सजिलै उपलब्ध हुनुपर्‍यो । 
कसैले १० वटा प्याड बाँडेर खादा लगाउँदैमा मर्यादित महिनावारीमा काम गरेको भन्न मिल्दैन । यसले झन् वातावरणलाई समस्या थपिरहेको छ । 

सरकारले मर्यादित महिनावारीलाई स्वीकार गरेको कति भयो ?
सन् २०१७ बाट मर्यादित महिनावारी नीति बनेको हो । त्यसको दुई वर्षपछि अर्थात् २०१९ डिसेम्बर ८ बाट मर्यादित महिनावारी दिवस मनाउन थालिएको हो । सरकारको ‘जेन्डर इक्वालिटी एक्ट’ भन्ने छ । त्यसमा मर्यादित महिनावारी समावेश गरिएको छ । प्रदेशहरूमा पनि विभिन्न योजना बनिरहेका छन् । तर, बाटो अझै लामो छ । यो लैंगिक हिंसा मात्रै नभएर स्वास्थ्य, शिक्षा, कृषि, खेलकुद, मानवअधिकार आदिको विषय हो ।  

कृषि र खेलकुदसँग मर्यादित महिनावारीलाई कसरी जोड्न सकिन्छ ?
कृषि क्षेत्रमा सबैभन्दा बढी महिलाले काम गर्छन् । तर, तिनै महिलालाई महिनावारी भएका बेला बोटबिरुवा छुन दिइन्न । त्यसले उनीहरूलाई कति मानसिक तनाव देला ? तर, कृषिमा हुने अमर्यादित महिनावारीको कुरा कहीँकतै हुँदैन । खेलकुदमा महिलाहरू आउँदै आएनन् भनिन्छ । आउने बाटो नबनाएपछि कसरी आउँछन् ? मर्यादित महिनावारीमैत्री भए पो आउँछन् । यहाँ लैंगिक समानताको कुरा हुन्छ । तर, नीति र बजेटमा कसैले महिनावारी विभेदको कुरा गर्दैन । महिनावारी हुँदा भान्सामा नजानु सामान्य लाग्ला । तर, यो विभेदमा संविधानले प्रदत गरेका थुप्रै अधिकारको हनन भएका छन् । कसैले लैंगिक समानता र सामाजिक समावेशिताको नीति बनाउँछ र त्यहाँ मर्यादित महिनावारीको कुरा समावेश भएको छैन भने त्यो लैंगिक समानता हुँदैन । फोटो खिच्न होला, एक्सनमा हुँदैन ।


Author

थप समाचार
x