वार्ता

उपसचिव पोखरेल : सिंहदरबार मुर्दाहरूको बस्ती हो (भिडिओ)

विमल आचार्य |
साउन २०, २०७९ शुक्रवार १९:४५ बजे

ईश्वरीप्रसाद पोखरेल नेपाल सरकारका उपसचिव हुन् । उनी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत जनशक्ति विकास योजना तथा समन्वय शाखामा काम गर्छन् । उनी निजामती सेवाभित्रका विकृति र विसंगतिबारे धुवाँदार लेख लेख्छन् । उनी जागिरकै क्रममा माइतीघरमा दुई दिन धर्ना पनि बसेका थिए । निजामती सेवाको पोसाकमै इकागज कार्यालय आएका उनले भने, ‘सिंहदरबार मुर्दाहरूको बस्ती हो ।’ उनीसितको पूरा संवाद यो भिडिओमा हेर्नुहोस्, कुराकानीका हाइलाइट्स् उहाँ पढ्नुस्  :

नेपाल सरकारको जागिरे हुँ तर धर्ना बस्न म बाध्य भएँ । राज्य के हो ? सरकार के हो ? यहाँ नेतृत्व छ र ? भनेर खोज्दाखोज्दै मेरा ३५ वर्ष बितिसकेँ । मलाई यहाँ सरकार छ जस्तो नि लागेको छैन । 


नोकरी गर्छु तर म विवेक गुमाएको दास होइन । म नागरिक हुँ । 

सरकारलाई तिम्रो कानुन त्रुटिपूर्ण पनि छ भनेर मैले लिखित रुपमा दिएको हुँ । म तिम्रो अपमानजन्य नियम मान्दिनँ, मलाई निकाल भनेको निकाल्न पनि सकेनन् । 
म आफ्नै तन्त्रभित्रको गडबडीबारे लेख्छु । म अन्याय सहन्नँ । बोलेबापत मैले स्पष्टीकरण दिनुपरेको छैन बरु पोसाक नमिलेको भनेर एक दुई चोटि मलाई सोधियो होला । गिरिराजमणि पोखरेल मन्त्री र खगराज बराल सचिव भएको बेला मलाई समायोजन न्यायोचित लागेन । अनि मैले इन्कार गरेर फेसबुकमा लेखेँ । मलाई तीन दिने स्पष्टीकरण सोधियो । मैले मेरा भनाइ भनेर १३ पन्नाको लेखेँ । प्रधानमन्त्रीलाई दिएँ । बोधार्थ पाउनमा मेरो सचिव १० नम्बरमा पर्नुभयो । 

दास परम्पराभन्दा पनि तल्लो व्यवहार गरिन्छ भने सहिँदैन । खराबी त पहिलो नम्बरमा कर्मचारीतन्त्रमै छ । कर्मचारी शासन नै छैन, कुशासन नै कुशासन छ । 
मन्त्रीहरू आयाराम, गयाराम हुन् । उनीहरूलाई धेरै बिगारेको कर्मचारीले हो । कुम्ल्याउने उद्देश्य नै पहिलो छ । 

मन्त्रीले कहिल्यै चेक काटेको हुन्छ ? उनीहरूका चासो हुन्छन्, चासोमा आफू चुकिएको छैन भने यो यो कारण भनेर अस्वीकार गर्न सकिन्छ । पहिलो दोष कर्मचारीको छ । 

म त बारम्बार भन्छु, विशिष्ट श्रेणीका ७०/७५ जना सचिव जस्ता पदहरू एकजुट हुने हो भने धेरै सुध्रिन्छ । उहाँहरू स्वयं चाकरी गर्नुहुन्छ । सबैभन्दा बढी बजेट र शक्ति हुने ठाउँमा जान चाकरी गर्नुहुन्छ । विवेक गुमाएका, आफ्नो कुनै पनि हैसियत नभएका कर्मचारीका नेतृत्वले धेरै बिगार्नुभएको छ । 
यहाँ कुराको, गफको, लेनदेनको उद्योग फस्टाएको छ । यहाँ अरु कुन उद्योग छ ? 

यति धेरै धनसम्पत्ति कहाँबाट ल्याइस् भनेर सोध्ने कोही छैन । आफन्त कोही छैन । समाजमा कोही छैन । सम्पत्ति शुद्धीकरण विभाग, अख्तियार आयोग सब देखावटी हुन् । जनतालाई ठग्ने र झुक्याउने संयन्त्र हुन् । प्रधानमन्त्री कार्यालय मातहत सम्पत्ति शुद्धीकरण विभाग भएको देख्नुभएको छ, त्यहाँको काम पनि देख्नुभएकै छ । 

प्रत्येक वर्ष सम्पत्ति विवरण भराइन्छ । त्यो लिफामा राख्ने हैन नि । हेर्ने होइन भने किन विवरण भराउने ? उजुरी परे मात्र हेर्ने होइन नि । सार्वजनिक पदवाला सबैको छानबिन गरौँ । 

तलब महिनाको ४० हजार रुपैयाँ अनि दुई जना छोराछोरी लगेर महिनाको ४०/४० हजार कसरी बुझाउँछन् ? बिरामी भयो भने महँगा महँगा अस्पतालमा पुग्छन् कसरी । 

मैले सम्पत्ति जोडिनँ । आफूलाई निर्वाह हुने सानो सम्पत्ति छ । मेरो काठमाडौँमा घर छैन । म होस्टलमा बस्छु । बोइज होस्टलमा बस्छु । मेरो परिवार पनि म जस्तो त्यस्तै पर्यो, सहिदिने । 

राज्यका हर्ताकर्ता अपराधी र दुष्टमतीहरू छन् । उनीहरुले आफू र  आफ्नाहरुको भविष्य मात्र हेरिहरहेका छन् ।

कतिले कस्तो लाछी मान्छे हो, यो सँगैका सर्र गाडीमा कुद्छन्, घरमै दुइतीनवटा गाडी छन् पनि भन्लान् । कतिले यो असल र सही मान्छे हो पनि भन्छन् । तर, असल भन्ने मान्छेको संख्या कम पनि होला । यसले केही फरक पर्दैन । राम्रो मेकअपमा, सुटेडबुटेड भएर नआउला, यसलाई भोजभतेरमा किन बोलाउने भन्ने पनि कोही होलान् लाग्ला । यसले कही फरक पर्दैन मलाई । 

म ११ वर्षको उमेरमा दुई वर्ष जति बेपत्ता घुमेँ । नौ महिनामा भारतको आसाम पुगेँ । दुई वर्ष म पूरा हराएँ । पछि दिल्लीमा संस्कृत पढ्न गएँ । दिल्लीको रेल स्टेसनमा एक महिना बिताएको थिएँ । त्यही रमाइलो सम्झेर भारत पुगेँ । संस्कृत पढ्दाको संस्कृतिले म यस्तो भएको हुन सक्छु । 

मैले इन्दिरा गान्धी, अटलविहारी बाजपेयीसँग पनि भेटेँ । सँगै चिया खाने अवसर पनि पाएँ । 

सबभन्दा ठूदो विद्वता रहेछ भन्ने लाग्यो मलाई । राजा देशमा मात्र पुजिन्छ तर विद्वान् सबैतिर पुजिन्छन् भन्ने मलाई गढ्यो सानैमा । म सानोमा धेरै पटक मृत्युको मुखबाट फर्केको पनि हुँ । यसले पनि मलाई यस्तो बनाएको हुन सक्छ । 

राज्यका हर्ताहर्ता अपराधी र दुष्टमतीहरू छन् । उनीहरुले आफू र  आफ्नाहरुको भविष्य मात्र हेरिहरहेका छन् । म जस्ता म भन्दा माथिका, मभन्दा तलका सबैको ध्येय कसरी आफ्नो खल्ती भर्ने र आफ्ना छोरीछोरीलाई विदेश पठाउने र अन्ततः लुटेको सम्पत्तिसहित आफू पनि विदेश भाग्ने सोचबाटै यो देश चलिरहेको छ । 

अपराधी र दुष्टमतीको संख्या झन् झन् बढिरहेको छ । अवसर पाएर सही तरिकाले बस्ने कम छन् । अवसर नपाएका कारणले मात्र अत्यन्त शुद्धमतीका पनि छन् तर, अवसर पाएपछि के हुन्छन्, थाहा छैन । 

लोकसेवाको छनौट पद्धति पनि त्यति वैज्ञानिक र वस्तुनिष्ठ छैन । तोकिएको काम एक दिन पनि नठगीकन गर्ने भन्दा बिदाको बिदा लिएर काम ठग्नेको प्रमोसन हुन्छ । एउटै काम नगरेर पदोन्नति पाएकालाई योग्य मान्ने ? यो प्रक्रिया शुद्धीकरण हुनुपर्छ । अपराधी मानसिकताका कर्मचारीको काँध चढेर राजनीतिज्ञ दूषित भइरहेका छन् । 

अस्ति बजेट काण्डकै कुुरा गर्दा, अर्थ मन्त्रालयमा दुई–दुई जना सचिव हुनुहुन्थ्यो । उहाँहरूले संसदीय समितिमा मात्र बल्लतल्ल पछि मात्र बोल्नुभयो । पहिला उहाँहरू कहाँ जानुभएको थियो ? 

गल्ती हामीले गर्ने अनि संघीयता खराब छ भन्ने ? 

संवैधानिक आयोगको गठनका सवालमा संविधानमै त्रुटि भयो । पचास प्रतिशत पूर्वकर्मचारी भनियो । बाहिरको पनि चाकरी गरेरै पुगने । भित्रको त सबैभन्दा अयोग्य नै पुग्ने । योग्य मान्छे चाकडी गर्न जिन्दगी जाँदैन नि । योग्य मान्छे कहाँ छन् भनेर मूल्यांकन गर्ने पद्धति नै भएन । 


योग्य मान्छे चाकडी गर्न जिन्दगी जाँदैन नि । योग्य मान्छे कहाँ छन् भनेर मूल्यांकन गर्ने पद्धति नै भएन । 

आफ्नो मन्त्रालयमा बसेर जिन्दगीभरि एउटा काम राम्रो नगरेकोलाई संवैधानिक आयोगमा पुर्याएपछि उसले के गर्छ ? बेरुजु उसैले थपेको थप्यै गर्ने अनि अख्तियार वा महालेखा प्रमुख वा आयुक्त भएपछि उसले सुधार्छ ? क्लिन चिट मान्छेलाई लिनुपर्छ । उसको प्रपोजल के हो ? उसको विगत के हो ? सबै हेर्नुपर्यो नि। 

जीवनभर लुट्यो, पर्सा वा भैरहवाको सिडिओ भयो । मस्त लुट्यो अनि अख्तियारमा मिलाएर गयो । अनि बेनामी उजुरी हाल्न लगायो अनि आफ्नो फाइल खिच्यो । अनि आफ्नो क्लिनचिट लियो । यस्तो पनि संस्था हुन्छ ? यस्ताले पनि काम गर्छन् ?

मेरो विचारमा कर्मचारीका लागि संवैधानिक सेवा छुट्टै हुनुपर्छ । 

अहिले चलिरहेको बेरुजीको नाटकप्रति मेरो ठूलो विमति छ । म हुन्थेँ भने ती सबैलाई ल्याएर कठघरामा उभ्याइसक्या हुन्थेँ । ती कहाँ छन् ? देश छोडेर गइसकेका छन् भने तिनलाई देशभगुवा भनेर घोषित गर्नु पर्यो । देशभित्रै छन् भने वल्लो कार्यालयको पल्लो कार्यालयमा त छन् । हिजो फोहोर जति उसले गर्ने । अनि नयाँले के गर्न सक्छ ? 

जो जो कार्यालय प्रमुख थिए, जो जो लेखा प्रमुख थिए उनीहरूलाई उभ्याउनैपर्छ । पुरानालाई कारबाही केही भएन भने केही हुँदैन रहेछ भनेर नयाँले पनि रुजु गर्दैन । बेरुजु थपिएको थपियै हुन्छ । 

अचेल तपाईं कार्यालयमा कर्मचारी कमै भेट्नुहुन्छ । कर्मचारीका नाममा कांग्रेस, एमाले, माओवादी, समाजवादी आदि सबै पार्टीका कार्यकर्ता मात्र भेट्नुहुन्छ । पहिला पहिला २ बजेपछि मात्र भेट्न पाइन्थ्यो । अहिले त दिनभरि भेट्न पाइन्छ । संरचना त ध्वस्तै छ, त्यसैले मैले मुर्दाघर भनेको हुँ । पहिला मन्त्रीका निजी सचिव, स्वकीय सचिव एक जना हुन्थेँ । अहिले त एक जना मान्छेको कति हुने हो ? 

 

 भिडिओ : पुरन विश्वकर्मा ।)


Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।


थप समाचार
x