वार्ता

मेरो चासो-जापानी लगानी बढीभन्दा बढी नेपालमा जाओस्

संगीता कुँवर |
चैत २९, २०७७ १८:५१ बजे

प्रतिभा राणा जापानका लागि नेपाली राजदूत हुन् । नेपालका विदेशस्थित मुलुकको राजधानी र अन्य सहरमा ३९ (दूतावास र महावाणिज्य दूतावास) कूटनीतिक नियोग छन् । तीमध्ये चार नियोग मात्र महिलाको नेतृत्वमा छ, जापान, स्पेन, इजरायल र ओमान । अझ जापान त नेपालको दातृ मुलुक पनि भएकाले सहकार्यको पाटो फरक छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको तर्फबाट २०१७ मे–मा जापानका लागि राजदूत नियुक्त भएकी राणा अन्यभन्दा भाग्यमानी ठहरिएकी छन् । राप्रपाको कोटामा गएका अन्य राजदूत फिर्ता भए । तर उनलाई फर्कनुपरेन । यद्यपि उनले नेपाल-जापान सम्बन्ध विस्तारमा खासै सक्रिय हुन नसकेको आरोप खेप्नुपरेको छ । राजनीतिबाट कूटनीतिक जिम्मेवारीमा आएर कार्यकाल सक्नै लागेकी उनै राजदूत राणासँग इकागजका जापान प्रतिनिधि संगीता कुँवरले टोकियोस्थित नेपाली दूतावासमा पुगेर गरेको संवादको सार :

राजनीतिमा होमिनुभएको व्यक्ति एक्कासि जापान जस्तो मुलुकमा राजदूतको जिम्मेवारी सम्हाल्न आउनुभयो, सुरुमा कस्तो अनुभव गर्नुभयो ? 


नेपालको ठूलो दातृ र पुरानो मित्र मुलुक जापानमा राजदूत हुने मौका पाएँ । मलाई गौरव महसुस भयो । किनभने, एक/दुई मुलुकमा मात्र महिला राजदूत बन्‍ने अवसर पाएका छन् । तर धेरै जिम्मेवारी भएको मुलुकमा त पाएकै थिएनन् । यो मेरा लागि मात्र होइन, महिलाहरूकै लागि एउटा गौरवको विषय थियो । त्यस्तै महसुस मैले पनि गरेँ । खुसी लाग्यो, महिलालाई पनि यो तहको जिम्मेवारी दिएर पठाउने रहेछन् । अनुभव र प्रोत्साहनसहित काम गर्ने अवसर पाइँदो रहेछ झैँ लाग्यो । कूटनीति मेरो रुचिको विषय पनि थियो ।
 
तपाईं त राजनीतिक क्षेत्रमा लागेको मान्छे, यस्तो कूटनीतिक क्षेत्रमा काममा आउँदा सानो स्थानमा खुम्चिए जस्तो लागेन ?

लागेन, किनभने म समाजसेवामा १५ वर्षदेखि र राजनीतिमा २२ वर्षदेखि लागेको मान्छे हुँ । यो फरक काममा आउँदा खासै त्यस्तो केही लागेन । किनकि विश्‍व नै एकै गाउँ जस्तो भइसक्यो । यो कूटनीति पनि निकै महत्वपूर्ण र धेरै काम गर्नुपर्ने क्षेत्र भएकाले मलाई खुम्चिएझैँ लागेन । उल्टै केही गर्न पाएकोझैँ अनुभव भइरहेको छ । यहाँ आएपछि नेपाल र जपानबीचको सम्बन्ध विस्तारमा मैले धेरै काम गरेको छु, म भन्दा पनि मेरो समूहले ।

नेपाल-जापान सम्बन्ध मात्र होइन, यसबाट अन्य सम्बन्धका आयामसमेत खोल्ने स्थान छ । यो निकै महत्वपूर्ण क्षेत्र भएको हुनाले मलाइ खुम्चिए जस्तो कत्ति पनि लागेको छैन । अझ बढी अवसर आफ्नो मुलुक बनाउन संसारसँग सम्बन्ध गाँस्‍नलाई ठूलो मुलुक कसरी अगाडि बढिरहेका छन् सिक्ने मौका मिलेको छ । मैले यहाँ आएर काम गरेको पनि चार वर्ष हुन लागिसकेको छ । त्यसकारण मैले यसलाई खुसीसाथ सकरात्मक रूपमा लिएकी छ ।

जापानमा रहेको नेपाली समुदायसँग दूतावासको सम्बन्ध चाहिँ कस्तो छ ? 

जापानका नेपाली दाजु-भाइ दिदी-बहिनी (समुदाय)सँग मेरो सम्बन्ध परिवारको जस्तो छ । म सबैको दुःख-सुखको सारथि हुँ । मुलुकको औपचारिक प्रतिनिधित्व मैले गरेको भए पनि हामी सबै एउटै घरमा झैँ भएर बस्‍नुपर्छ । अधिक नेपालीसँग म सम्पर्कमा नै हुन्छु । मलाई फोनमा पनि राम्रो रेस्पोन्स गर्नुहुन्छ । दूतावासमा पनि सबैलाई म स्वागत गर्छु । तर मलाई एउटै अलिकति खड्केको कुरा भनेको दूतावास सानो छ । परराष्ट्र मन्त्रालयबाट दूतावासमा पोस्टिङ भएकासहित हामी तीन जना छौँ । यो संख्या यहाँ १० हजार नेपाली हुँदा हो । अहिले ९० हजारभन्दा बढी नेपाली यहाँ छौँ । यसमा सुधार गर्नुपर्छ भन्दै आएको पनि छु ।

नेपालीले बोलाउनु भएको ठूला कार्यक्रम (नेपाल फेस्टिवल, विभिन्‍न प्रि–फेक्चरमा हुने कार्यक्रम) सकेसम्म छुटाउँदिनँ । साना कार्यक्रम छुटेका हुन्छन् । तर, मेरो शुभकामना सबै कार्यक्रमका लागि हुन्छ नै । कतिपयमा म स्वयं सहभागी हुन्छु । कतिपयमा राजदूतावासबाट प्रतिनिधिको रूपमा कोही जानु भएको हुन्छ । यहाँ पहिले नेपालीहरू रेस्टुरेन्ट व्यवसायमा हुनुहुन्थ्यो । अहिले टेक्निकल लाइनमा प्रवेश गरिरहनु भएको छ । यो, राम्रो कुरा हो । डाक्टर, इन्जिनियर र अरु पेसामा नेपालीको संख्या बढ्दो छ । हामी सबै जनासँग समन्वय गरेर अगाडि बढेका छौँ । त्यसैले पनि खुसी लागेको छ । हाम्रो नेपाली दाजुभाइ दिदी–बहिनीले अधिक मेहनत गरेको देख्दा म हर्षित छु । नेपालीहरू समस्यामा पर्दा हामी सधैँ सघाउन तत्पर पनि छौँ ।

जापान सरकार र नेपाल सरकारबीचको सम्बन्ध अन्तक्र्रियात्मक बनाउन के-के गर्नुभयो ? 

म यहाँ आएपछि धेरै कुरा भएजस्तो आफूले महसुस गरेको छु । दुई पक्षीय सम्बन्ध थप उचाइमा लगेको मेरो बुझाइ छ । जापानका राजनीतिक पार्टीका सचिव हुनुहुन्छ, तोसिहिरो निकाइ, उहाँ नेपाललाई धेरै माया गर्ने मानिस हुनुहुन्छ । हामीकहाँबाट यहाँ आउनुहुने मन्त्री र राजनीतिक उच्च तहका नेताहरूलाई उहाँले भेट्नुहुन्छ । उहाँले पनि सम्बन्धमा पुलको काम गरिरहनु भएको छ । पछिल्लो समय अझ सम्बन्ध बढेको हुनाले १३ वर्षपछि नेपाल एअरलाइन्सको डाइरेक्ट फ्लाइट जापानमा छ, अझ भनौँ मेरो समयमा सुरु भयो ।

अरु देशको तुलनामा जापानमा चाहिँ विदेशीलाई गर्ने व्यवहार र जापानीलाई गर्ने व्यवहारमा कुनै परिवर्तन छैन ।

मेरो प्रयाससँगै सरकारको पनि सकरात्मक सहयोग रह्यो । यो सेवाले धेरै नेपालीलाई सुविधा पनि भएको छ । सँगै, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको जापान भ्रमण र छलफलले पनि अर्को महत्वपूर्ण पाटो हो । माथिल्लो तहमा हुने भेटघाट कार्यक्रमले सरकार र सरकारबीचको सम्बन्धलाई अझ मजबुत बनाएको हुन्छ । जापानबाट उच्च निकायको नेपाल भ्रमणको पनि कार्यक्रमको योजना थियो । तर कोभिडका कारण त्यो स्थगित भयो । जापान र नेपालको सम्बन्ध घनीभूत बनाउन लागेकामा केही सफलता मिलेको अनुभव गरेको छु । जापानबाट हुने सहयोग र सद्भाव त निरन्तर हामीले पाई नै रहेका छौँ । 

कोरोनाको कहरमा जापानका नेपालीलाई प्रभाव नपरोस् भनेर के-के प्रयास गर्नुभयो ? 

यसबीचमा हामीले निकै प्रभावकारी काम गर्‍यौँ । हाम्रो प्रयास पनि राम्रो थियो । संसारलाई तर्साउने कोरोनाले सुरुमा जापानमा पनि धेरैलाई तर्सायो । म नेपालमा गएको बेला लकडाउनमा परेँ । म चार्टर फ्लाइटमार्फत जापान फर्कें । आउनेबित्तिकै हामीले कमिटी गठन गर्‍यौँ । ७५ जना विभिन्न क्षेत्रका व्यक्तिमार्फत फरक–फरक छ विधामा एक सय जना सदस्य रहने गरी काम सुरु गर्‍यौँ ।

गैरआवासीय नेपाली संघ मात्र नभएर नेपाली डाक्टर, पत्रकार, शिक्षक, व्यवसायी सबै हुनुहुन्थ्यो । सबै जनाको सहकार्यमा भाषा अनुवादक, डाक्टरको समूह, टेलिमेडिसिन लगायतमा हामीले नेपालीलाई गर्न सक्ने सहयोगबारे काम गर्‍र्यौं । त्यो निकै प्रभावकारी भयो । धेरै एनआरएनएका साथीहरू सहयोग लिएर पनि ठाउँ–ठाउँमा पुग्नुभयो । हामीले कोरोना नियन्त्रण गर्न गरेको सूचना, सचेतना र सहयोगको कामबारे जापान सरकारको मन्त्रिपरिषद्मा समेत कुरा भएको सुन्न पाउँदा खुसी लाग्यो । सँगै जापानको कुन-कुन प्रिफेक्चरमा सचेतना आवश्यकता छ भनेर उहाँहरूले पनि हामीलाई जानकारी दिनुभयो ।

जापानमा कोभिड–१९ का कारण समस्यामा परेका नेपाली त होलान्, तर समग्रमा जापानका नेपालीका समस्या चाहिँ के–के छन् ? 

जापानबारे राम्रो जानकारी लिँदै आएकाहरूलाई त्यति समस्या छैन । तर अलिकति आउनुअघि पूर्वजानकारी नभएर र झुटो जानकारी भएर आउनेहरूका हकमा समस्या पनि छन् । नेपालमा जापान जानेबित्तिकै सबै कुरा हुन्छ भनी मध्यस्तकर्ता (एजेन्ट)ले सुनाइदिन्छ । विशेषगरी कुकको काममा आउनेहरू त्यसपछि तोकिएअनुसार तलब नदिने समस्या पनि छन् । तर अरु देशको तुलनामा जापानमा चाहिँ विदेशीलाई गर्ने व्यवहार र जापानीलाई गर्ने व्यवहारमा कुनै परिवर्तन छैन । यो कुरा एकदमै राम्रो लाग्यो ।

स्वास्थ्यका कुरामा पारिवारिक योजना विद्यालय भर्नाका कुरामा चाहिँ अलिकति नियम र कानुन थाहा नहुँदा पाउने दुःख छन् । ठगीका केस पनि छन् । जापानमा रहेका नेपालीमा आजभोलि ‘डिभोर्स’का घटना बढेका छन् । बच्चा नहुनेहरूका लागि त उनीहरूको स्वेच्छाले ‘डिभोर्स’ हुनु ठीक हो । तर बच्चा हुनेहरूका लागि भोलिको पुस्ताका लागि पनि पारिवारिक सम्बन्ध राम्रो हुनु आवश्यक छ । डिभोर्स गर्न भनेर भर्खरको उमेरकाहरू आउनुहुन्छ । अलिकति आर्थिक रूपमा बलियो हुँदै जाँदा स्वतन्त्रतामा पनि अलिकति ‘कम्प्रोमाइज’ कम भएको हो कि जस्तो लाग्छ ।

नेपाल र जापानबीच त पुरानो कूटनीतिक सम्बन्ध मात्र होइन, यहाँ स्थापित दूतावास नै पुरानोमध्येको एक हो । भवनबारे पनि धेरै चर्चा हुन्छ । आफ्नै भवन छैन । तपाईंको कार्यकालमा भवनबारे केही पहल गर्नुभयो ? 

हो, नेपाल र जापानबीच पुरानो सम्बन्ध छ । पुरानो कूटनीतिक सम्बन्ध भएका मुलुकमा जापान पनि सूचीकृत छ । तर भवनको विषयमा एकदम साँचो कुरा भन्नुभयो । जापानबासी सबै नेपालीको चाहना पनि आफ्नो दूतावास भवन होस् भन्ने नै छ । मलाई स्वागत गर्दा पनि यहाँका नेपालीहरूले एउटै कुरा माग्नुभएको थियो । राजदूतावास आएको ६१/६२ वर्ष भए पनि आफ्नै भवन छैन । उहाँहरूले त्यो दुःख पोख्नुभएको थियो  । आउनेबित्तिकै मेरो प्राथमिकतामा पनि आफ्नै भवनका लागि पहल गर्ने काम भयो ।

८/९ ठाउँमा हेरेँ, कोही ठाउँमा हाम्रो रकमले नभेट्ने कहीँ जग्गा सानो हुने, कहीँ हामीले प्रक्रिया गर्दागर्दै बिक्री भइसक्ने जस्ता घटना भए । पछि एक ठाउँमा मिल्ला मिल्ला जस्तो अवस्था भइसकेका बेला कोरोना सुरु भयो र त्यसलाई अगाडि बढाउन सकिएन । सरकारलाई पनि प्राथमिकतामा जोड गर्न यहाँबाट सम्भव भएन । किनभने मुलुककै अर्थतन्त्रमा प्रभाव परेको बेलामा यो महँगो ठाउँ पनि हो । अझ नियमअनुसार चाहिँ टोकियो क्षेत्रभित्र मात्र दूतावास बस्नुपर्ने नियम छ । तर एकदम आवश्यक छ । जग्गा मात्र भए पनि किनेर राखौँ भन्ने मेरो सोच थियो तर कोरोनाले दिएन ।

जापानमा रहेका नेपालीमा आजभोलि ‘डिभोर्स’का घटना बढेका छन् ।

दूतावास र परराष्ट्र मन्त्रालयबीचको सहकार्य चाहिँ कस्तो छ नि ? 

परराष्ट्र मन्त्रालयसँग हाम्रो राम्रो सहकार्य छ । एकदम राम्रो रेस्पोन्स पनि छ । फोन हुँदा राम्रोसँग कुराकानी हुन्छ । विषयगत विषयमा बहस पनि हुन्छ । तर, अन्य मन्त्रालयसँग सहकार्य वा कुराकानी हुन निकै झन्झटिलो छ । अर्थात् भनौँ अरु मन्त्रालयसम्म केही कुरा पुग्‍न चाहिँ अलि सुस्त छ । हामीले सिधै परराष्ट्रलाई लेख्छौँ । परराष्ट्रले अर्थ, पर्यटनलाई लेख्ला त्यो प्रक्रिया चाहिँ घुमाउरो छ । सुस्त छ । नत्र परराष्ट्रसँग निकै राम्रो सहकार्य छ । मन्त्री, मुख्य सविच र सचिव एकदम सहयोगी हुनुहुन्छ ।

राजदूत भएर आउनुभयो कार्यकाल पूरा गरेर जाँदा केही सम्झिनलायक काम छन् ? 

उच्चस्तरको जापानी राजनीतिक टोली नेपाल भ्रमणको योजनामा थियो, त्यो कोरोनाले प्रभावित भयो । त्यसले दुई मुलुकको सम्बन्धसँगै पर्यटन विकासमा पनि ठूलो परिवर्तन ल्याउँछ । त्यो भोलिका दिनमा कार्यान्वयन होला । सिधा उडान हुँदा धेरैलाई सजिलो भएको छ । मेरो चाहना चाहिँ बढीभन्दा बढी जापानी लगानी नेपालमा जाओस् भन्ने हो । जापानी लगानीकर्तालाई कसरी तान्न सकिन्छ भन्ने कुरामा ध्यान केन्द्रित गरेको थिएँ । त्यसमा काम पनि अघि बढेको छ । नेपाल र जापानको कम्युनिकेसन बढेकाले मुलुक–मुलुकबीचको सम्बन्ध थप राम्रो भएको हो कि जस्तो लाग्छ । 

बाहिरबाट आउने राजदूतहरूलाई कूटनीतिक निकायले त्यति राम्रो मान्दैनन् भन्‍ने पनि सुनिन्छ । जापानले चाहिँ नेपाली दूतावासलाई कसरी हेरेको छ ?

जापानले हामीलाई हृदयदेखि नै मायाको भावले हेरेको पाउँछु । किनभने हामी बुद्धको मुलुकका मानिस, हाम्रो संस्कृति-कलासँग जापानीहरू नजिकसँगै हिमाल पहाड र तराईको सौन्दर्य मन पराउँछन् । जापानमा हुने नेपालीले पनि राम्रो छवि बनाउनु भएकाले जापानीहरू नेपालीप्रति सद्‍भाव नै राख्छन् । जति पनि नेपालीहरू यहाँ काम गर्नुहुन्छ इमानदार, लगनशील र मिहिनेती भएर काम गर्नुहुन्छ । नेपालमा पुगेका जापानीहरू नेपाललाई मायालु देश, हँसिला मानिस भन्नुहुन्छ, सँगै केही जापानीहरूले त नेपाली नाम पनि राख्नुभएको छ । त्यो कुरा बनाइएको सम्बन्ध भन्दा पनि मनदेखिको सम्बन्ध हो । हामीले भेटेका जापानीहरू पनि एकदमै राम्रो व्यवहार, सद्भाव, आत्मीयता देखाउनुहुन्छ । दूतावास–राजदूतलाई हेर्ने सोच पनि एकदमै सम्मानजनक छ । 

कार्यकाल सकेर फर्केपछि केमा व्यस्त हुने सोच राख्नुभएको छ ? 

मेरो अनुभवमै यति धेरै वर्ष गयो । मैले महिलाको विषयमा धेरै काम गरिसकेकी छु । महिलाका समस्या के थियो ? प्रक्रियागत रूपमा कसरी देशमा परिवर्तन भयो ? फर्केपछि यो विषयमा मेरो अनुभव साट्न चाहन्छु । मैले ७०/८० वटा अंग्रेजी र नेपालीमा कविता पनि लेखेको छु । त्यसलाई पब्लिक गर्ने सोच छ । राजनीतिक रूपमा देश कसरी अगाडि बढ्छ ? त्यसअनुसार नै व्यक्तिगत योजना बन्छन् । तर मेरो अनुभव अरुलाई सुनाउन महिलाका विषयमा संविधानमा लेखेअनुसार कार्यान्वयन भएको छ या छैन भन्नेबारेमा लेख्‍ने मन छ ।



Author

संगीता कुँवर

कुँवर जापानस्थित इकागजकी प्रतिनिधि हुन् ।


थप समाचार
ad
x