वार्ता

जनताले घृणा गरेको छ, थुकेको छ उहाँहरूलाई

राष्ट्रपतिले भन्नुभयो, ‘तपाईंको राजीनामा स्वीकृत गर्दिनँ’

हरिबहादुर थापा | विमल आचार्य |
भदौ २, २०७९ बिहीबार १९:३० बजे

पदबाहिर रहँदा पनि खुसी हुन सकिन्छ, सम्मानजनक जीवन बिताउन सकिन्छ भन्ने उदाहरणमा पूर्व गृह सचिव तथा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलको नाम आउने रहेछ । निर्वाचन आयोगमा साढे तीन वर्ष कार्यकाल बाँकी रहँदै राजीनामा गरेर उनी विद्यार्थी हुन हार्वर्ड विश्वविद्यालयतिर लागे । तत्कालीन राष्ट्रपतिले ‘राजीनामा स्वीकृत गर्दिनँ’ मात्र भनेनन्, कार्यालयसँगै साँध जोडिएका उपराष्ट्रपतिले पनि पद नछोड्न धेरै सम्झाए । ‘नेपाल भोट्स फर पिस एन्ड इलेक्सन', ‘भायलेन्स प्रिभेन्सन थ्रु डिप्लोमेसी’जस्ता पुस्तक लेखेका पोखरेल नेपालमा त छँदै छ, विश्वका विभिन्न देशमा सरकार-राष्ट्रप्रमुखहरुबीच पनि निर्वाचन प्रणाली, शासन प्रणालीबारे बोल्न विज्ञका रूपमा उभिन्छन् । 

यही मंसिर ४ मा संघ र प्रदेश संसद्का लागि निर्वाचन हुँदै छ । पोखरेलका केही निजी र केही निर्वाचन अनुभवबारे हामीले उनीसँग लामै कुराकानी गरेका छौँ । पूर्वप्रधानमन्त्री हराऔँ अभियानमा आफ्नो नैतिक समर्थन रहेको भन्दै उनले हातै जोडेर भने, ‘प्लिज तपाईंहरू अब बसिदिनुस् ।’ आफ्नो देशका नेताप्रति आम नागरिकले छिःछि, दुरदुर गरिरहनुपर्ने अवस्था देख्दा पोखरेललाई दुःख लागेको छ । इकागजका लागि हरिबहादुर थापाविमल आचार्यले गरेको यो विस्तृत संवादबाट ‘निजी कुराकानी’ आज साझा गरेका छौँ भने ‘निर्वाचन कुराकानी’ भोलि साझा गर्नेछौँ : 


सञ्चारमाध्यमको काम जे भइरहेछ, त्यो सकेसम्म जस्ताको तस्तै देखाउने नै होला । त्यसैले कुरा सुरु देश त खत्तमै भयो, बर्बादै भयोबाट सुरु गरौँ । किन जताततै यस्तै निराशा मात्र सुनिन्छ ? तपाईंले पनि केही समय पहिलेको आफ्नो एक सम्भाषणमा भन्नुभएको छ, जसलाई भेटे पनि कुराकानीको थालनी हुन्छ- मुलुक त खत्तम भयो नि !

समयको कालक्रमले हेर्दा भौतिक रूपले हामीले प्रगति गरेकै छौँ । आर्थिक स्तर पनि केही बढेको छ । हिजोभन्दा राम्रै पनि छ । तर, हामी जहाँ नचुक्नुपर्ने हो त्यहीँ नराम्ररी चुक्यौँ– न्याय र सुशासनमा । 

सरकारले तेरो मेरो नगरोस्, गर्न खोजेको काम सहज होस् यति मात्र मात्र चाहेको छ, नेपालीले । न्याय र सुशासन नपाउँदा गुनासो बढ्यो । सरकारका काम–कारबाहीमा नागरिकको तीव्र असहमति छ, अहिले । 

नेपाली नागरिक सात साल अघिदेखि नै परिवर्तनका लागि त बेलाबेलामा जुरुक्क जुरुक्क उठे । किन उठे ? यो शासनभन्दा राम्रो शासन चाहिन्छ भनेर उठे । पहिलाभन्दा राम्रो होस् भन्ने चाहे । तर, जति संविधान, शासन व्यवस्था आए पनि उस्तै खराब पात्र-प्रवृत्तिको निरन्तरता भयो । यो सब देख्दा नागरिक निराश भएका हुन् । 

पाँच दशक जतिको स्वयंको सचेत प्रत्यक्ष भोगाइ र सुनाइ–पढाइका आधारमा यति निराशा पहिले पनि थियौँ कि ? 

राष्ट्र, सरकार, कार्यालय, संगठन, संस्थाहरूका नेतृत्वबाट आममानिसले केही अनुशासन, कर्तव्य, जिम्मेवारीको अपेक्षा गरेको हुन्छ । त्यसमा सबैभन्दा चुकेको वा चुक्दै गएको म अहिले पाउँछु । पञ्चायत राजा मान्नेका लागि मात्र राम्रो थियो । मेरो अनुभवमा २०४८-२०५१ को अवधिलाई म उज्ज्वल कालखण्ड मान्दछु । म प्रत्यक्ष संलग्न भएको बेला भएर पनि म पक्षपाती भएको हुन सक्छु । त्यतिखेर निर्वाचित सरकारको प्राथमिकता राम्रो थियो ।

सम्पत्ति कसरी जोगाऊँ, म सुरक्षित हुन्छु कि हुन्न ? मैले हिजो गरेका कमीकमजोरी–गल्तीले गर्दाखेरि ममाथि आक्रमण हुन्छ कि भन्ने चिन्ता म पाउँछु । त्यो चिन्ताका लागि पद छोड्न नसक्ने र देशलाई बन्धकी बनाउने । सबैभन्दा दुःखान्त अवस्था यहाँ छ । 

मुलुक अब अलिकति अघि जानुपर्छ है भन्ने राष्ट्रिय उभार आएको थियो । तर, विडम्बना आफ्नै कारणले त्यो रफ्तार र व्यवस्थित सुरुवातमा ब्रेक लाग्दै गयो । तर, त्यतिबेला भ्रष्टाचार गर्नु भनको आम तहबाट बहिष्कृत हुनु हो भन्ने केही न केही डर थियो । त्यो डर अहिले आफैँ डराएर कतै लुकेको–हराएको छ । ‘दाइ–कल्चर’, ‘कमरेड कल्चर’ले शासन बिग्रिँदै गयो । 

प्रधानमन्त्री, मन्त्रीहरू पहिला पार्टीका हुन्थे । अब गुट, उपगुट हुँदै इन्ट्रेस्ट ग्रुपको हातमा गयो । चाहे मन्त्रिपरिषद् भन्नुुस् अथवा संसद्, अदालत । यी संस्थाहरू इन्ट्रेस्ट ग्रुपहरूले अनौपचारिक गरेका निष्कर्षलाई औपचारिक गरिरहेका छन् । यही कारण हो देश खतम भयो भन्ने मुड बन्नुमा ।

हिजो म त्यहाँ थिएँ, ती–ती संस्थामा बसेँ भन्दा लाज लाग्छ भन्नुभएको छ, किन ? 

म आफू शतप्रतिशत शुद्ध भएर निस्केँ भन्न खोजेको हैन । तर, यो अवस्था म कल्पना पनि गर्न सक्दिनथेँ । म २०५५ सालमा सचिवबाट रिटायर्ड भएँ । मन्त्रीले सचिवसँग केही कुुरा गर्नुपर्दा दशपल्ट सोच्नुहुन्थ्यो । सचिवले हुँदैन भन्छन् कि भनेर डराउनु पनि हुन्थ्यो । अब कर्मचारीको सामान्य सरुवा, बढुवा, नियुक्ति गर्दाखेरि पैसा–शक्ति नभई हुँदैन भन्ने सुन्दा मलाई यो सब कल्पनाबाहिरको जस्तो लाग्छ । 

सचिव हुन्छु भनेर मैले कल्पना पनि गरेको थिएँ । रेडियोबाट बेलुका थाहा पाएको हुँ । अनि प्रमुख आयुक्त बन्ने कुरा आएपछि दुईचार म लुकेँ । म यो बन्दिनँ भनेर भागेर पनि बसेँ । तर, परिस्थिति यस्तो आयो मैले नियति सम्झेर कर परेरै जिम्मेवारी स्वीकार गरेँ । ती दिन अनि यी दिन सम्झिँदा अचम्म लाग्छ । 

यतिखेर पद पाउन कहाँ–कहाँ कसकसलाई रिझाउने, कति लेनदेन गर्ने, कुन व्यपारीलाई भेट्ने, यी सब सुन्दा मलाई कहाली लाग्छ । अब यस्तोमा संस्थाहरू कसरी बन्छन् ? यहाँ सिस्टमले काम गरेको छैन । सिस्टम नभएको हैन, छ । तर त्यसलाई कामै नलाग्ने बनाइएको छ ।

त्यही त तपाईंले त्यो सानमान, पैसा–ऐयास हुने आयुक्त पद छोड्नुभयो । कुनै नाजायज दबाब स्वीकार गर्न नसकेर, विवादमा परेर पद छोडेका केही उदाहरण त छन्, तर तपाईंले खसुक्क छोड्नुभयो । तिनै पद पाउन कत्रो मरिहत्ते दखिन्छ, तपाईंभित्र के थियो त्यस्तो ? 

म गाउँबाट आउँदा तीन सय रूपैयाँ बुवाले दिनुभएको थियो । ‘मैले तँलाईं दिने यत्ति हो’ भन्नुभएको थियो । त्यो पैसा कम्मरमा बाँधेर सात दिन हिँडेर म यहाँ आएँ । मैले यहाँ आएर ६ महिनाभित्र २६-२७ ठाउँमा लिखित पास गरेँ । तर, इन्टरभ्युमा फालिएँ । यसले मलाई धेरै सिकायो ।

मैले सचिव हुँदा पनि कार्यकाल पाँच वर्ष हुनुपर्छ, थप्नु हुँदैन भनेर भनेको थिएँ । ‘अरु थप्नुपर्छ भन्छन् तपाईं किन आफ्नो आयु घटाउने कुरा गर्नुहुन्छ’ पनि भन्नुहुन्थ्यो । यो पदमा बसेर आफ्नो निजी फाइदाका लागि केही गर्नु छैन भने पद ओगटेर किन बसिरहने भन्ने थियो मलाई । र, हामीले ‘ग्रेसफुल एक्जिट’ लियौँ । ४५ वर्षमै म खुसीसाथ सेवाबाट निवृत्त भएँ ।  

चौबीसे घण्टाको झ्याउँझ्याउँ कसरी सहन सकेको होला हाम्रा नेताहरूले ? 

अब यो प्रमुख आयुक्त बीचमै छोडेको बारे कुरा गर्दा मेरो मिसन नै निर्वाचन थियो । मैले कहिल्यै नसोचेको पहिलो ऐतिहासिक संविधानसभा चुनाव सफलतापूर्वक सम्पन्न गरेँ । 

चुनाव सकिएपछि मलाई केही कुराले छोयो । सचिवको पदबाट अवकासपत्र लिन जाँदा केही साथीहरू रुनुभयो । ‘यति चाँडै छोड्नुपर्यो, अब के गर्ने’ भनेर । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि ‘यो त फेर्नुपर्छ कि ?’ भन्नुभयो । मैले भनेथेँ, ‘हामी संसद्ले बनाएको कानुनअनुसार बिदा हुँदै छौँ । तपाईं अहिले चुनावी सरकारको नेतृत्व गरिरहनुभएको छ, अध्यादेश ल्याएर कानुन मिच्दा राम्रो सन्देश जाँदैन । तपाईंको इतिहासमा दाग लाग्छ ।’ अनि उहाँले मान्नुभयो । 
मलाई त्यो सम्झना भयो । मैले सामान्य परिवारबाट आएर नपाउने यति धेरै चीज पाएँ । अब मैले केही गर्नुपर्छ भन्ने मेरो अन्तरआत्मामा लाग्यो । तीन कुराका लागि मैले पद छोडेँ :

–    पदमा नभए पनि बाँच्न सकिन्छ । यो मैले सचिव छोड्दा पनि अनुभूति गरिरहेको थिएँ ।
–    पदमा पुगेपछि म सबै कुरा जान्नेसुन्ने भइसकेँ भन्ने सोच छ । तर, पदमा पुग्दैमा कसैलाई पनि सबै कुरो थाहा हुँदैन । बरु जति पद चढिन्छ, उति धेरै कुरा छुट्दै जान्छन् । थप पढ्नु, सिक्नु जहिल्यै पर्छ । पढ्न उमेर र पदले छेक्दैन ।
–    म ५५ वर्षमा थिएँ त्यति बेला । अझ २०/२५ वर्ष त मैले सक्रिय काम गर्नुपर्छ । काम गरेरै आफू र परिवार पाल्नुपर्छ । त्यसका लागि म तयार हुनुपर्छ । मलाई यत्तिले पुग्दैन । 

यी तीन कुरा मलाई मेरो ब्रहमले भन्यो अनि मैले छोडेँ । 

अप्रत्याशित रूपमा राजीनामा आउँदा ककसले केके भने ?

धेरै खाले प्रतिक्रिया पाएँ । उपराष्ट्रपति कार्यालय सँगै थियो । ‘म आज छोडर जाँदै छु’ भन्न त्यहाँ छिर्दाखेरि ‘ओहो, यत्रो पद छोड्नुहुन्छ र ? हामीले यसरी पाको यत्रो पद छोड्ने हैन नि’ भनेर धेरै तर्क गरेर उपराष्ट्रपतिज्यूले मलाई सम्झाउनुभयो । राजीनामा दिन जाँदा राष्ट्रपतिले पनि पत्याउनु नै भएन । भन्नुभयो, ‘कहाँ छोड्नुहुन्छ, तपाईंको राजीनामा स्वीकृत गर्दिनँ ।’ मैले हाँसेर भनेँ, ‘तपाईंले स्वीकार/अस्वीकार गरे पनि संविधानअनुसार मैले दिएपछि स्वतः स्वीकृत हुन्छ ।’

उहाँले ‘किन’ भन्नुभयो मैले ‘पढ्न जान लागेको’ भनेपछि ‘त्यसो भए ठीक छ’ भन्नुभएको थियो ।  

‘सनकी, यसलाई नपचेको’ भन्छन् भन्ने मलाई पहिले नै थाहा थियो । किनभने हाम्रो मनोविज्ञान के छ भने यस्ता पद भनेको छोड्ने पद हैनन्, जतिसक्दो उपभोग गर्ने हो । मुलुकलाई केही दिने हैन कि लिने मात्र हो ।  यो बुझाइ चिर्न पनि जरुरी थियो । 

अनि तपाईंलाई त्यत्रो सानमानको जिन्दगीबाट एकाएक सामान्य जीवनमा आउँदा गाह्रो भएन ?

३०/३५ वर्षको मेरो जीवनमा मैले घन्टी बजाएपछि मलाई सब पुग्थ्यो । जागिरमा आउनुअघि गाउँमा, यता काठमाडौँमा मैले सबै काम गरेँ । तर, जागिरे अवधिमा मलाई घर सफा गर्नु, पकाउनु, लुगा धुनु, भाँडा माझ्नु परेन ।


चाहे मन्त्रिपरिषद् भन्नुस् अथवा संसद्, अदालत । यी संस्थाहरू इन्ट्रेस्ट ग्रुपहरूले अनौपचारिक गरेका निष्कर्षलाई औपचारिक गरिरहेका छन् ।

तर, विद्यार्थी भएर जाँदा त मैले खाना पकाउने, भाँडा माझ्ने, भाँडा सफा गर्ने सबै काम आफैँ गरेँ । आफूले पहिला गरिसकेको हुनाले र जुन समाजमा म गएँ त्यहाँ यस्तो काम गर्नु कुनै ठूलो कुरा र सानो कुरा पनि नभएकाले मलाई खासै गाह्रो भएन । 

समय व्यवस्थापन गर्न बरु गाह्रो भयो । मसँग त्यहाँ चाहिने भाषा र प्रविधिको राम्रो सीप थिएन । यसमा गाह्रो भयो । नेपालमा मेरा बाआमा सय वर्ष पुग्न लानुभएको छ, मेरो मन यता थियो । अनि २०/२२ वर्षका फ्रेस ग्राजुयट्ससँग पढ्दा, १३० भन्दा धेरै देशका सहपाठीहरुसँगै पढ्दा रमाइलो पनि अनुभूति भयो । उनीहरुसँग प्रतिस्पर्धामा आउन म राति एकदुई बजेसम्म पढ्थेँ । फेरि ५/६ बजे बिहानै उठेर पढ्थेँ । त्यो तपस्या र परीक्षण मैले आफैँ रोजेको थिएँ । 

त्यो तपस्या र परीक्षणको प्रतिफलका रूपमा तपाईंलाई आत्मिक खुसी र आर्थिक सुख के–कसरी मिल्यो ?

त्यसले मलाई धेरै आत्मविश्वासी बनायो । संसारका धेरै सरकार तथा राष्ट्रप्रमुखहरूसँग मैले एउटै टिममा बसेर निर्वाचन, सुशासनबारे सँगै हुने अवसर पाएँ । कोभिड महामारीअघिसम्म म विभिन्न अन्तर्राष्ट्रिय सभा सम्मेलनहरूमा गएँ । देशमा पनि तपाईंहरू जस्ताले खोज्नुहुन्छ । यो आनन्द शब्दमा सबै भन्न सकिन्न । 

अनि हामी कुवाको भ्यागुता रहेछौँ भन्ने पनि अनुभूति भयो । संसारमा उनीहरूले जति अवधि पदमा बसे, राम्रो गरे । फेरि त्यही पदमा जान उनीहरूले खासै रहर गरेनन् । पदको गरिमा र मर्यादामा उनीहरू संवेदनशील पाएँ । पाएको सुविधालाई दुरूपयोग गर्नुहुँदैन भन्ने व्यवहार मैले उनीहरूबाट पाएँ । 

उता पद दोहोर्याउन धेरै रुचि राख्दैनन् भन्नुभयो यहाँ त उही पदमा आधा दर्जनपटक नियुक्त भए पनि, पचास वर्ष पदमा बस्दा पनि पुगेको छैन त ?

एकपटक हैन, दुईपटक हैन, पटकपटक प्रधानमन्त्री–मन्त्री–सांसद भइसकेको मान्छेलाई केको लोभ हो ? कतिलाई त मैले भेटमा भनेको पनि छु– तपाईं कति वर्ष वा कति पटक प्रधानमन्त्री हुनुभयो भने पुग्छ ? कति समय पदमा बस्नुहुन्छ त्यसले कुनै माने राख्दैन । एक घण्टाका लागि प्रधानमन्त्री हुनुभयो तर मुलुकका लागि केही राम्रो गर्नुभयो भने त्यो काम जनताले सम्झिन्छन् । 

मलाई लाज लाग्छ– राज्यको साधन–स्रोतको दुरूपयोग देखेर । पदको गिर्दाे गरिमा देखेर मलाई लाज लाग्छ । ऊ पदमा छैन तर वरिपरि सुरक्षाकर्मीबाट घेरिएको छ । हाम्रा नेताहरूलाई जनताले घृणा गरेका छन्, थुकेका छन्, उहाँहरूलाई । अनि मान्छेलाई किन नलागोस्— देश त बर्बादै भयो भनेर । 

म किताबको बादशाह भइसकेँ, अब म यो भन्दा बढ्ता नांगो हुुनुहुँदैन भन्ने किन लाग्दैन ?

उहाँहरु धेरैजसो मेरै उमेरको हुनुहुन्छ, किन उहाँहरूमा यो विचार आउँदैन ? उहाँहरू कति धेरै पढेको, बुझेको हुनुहुन्छ । देश सारा बुझ्नुभएको छ । उहाँहरूलाई म फेल भइसकेँ भन्ने किन लाग्दैन ? म किताबको बादशाह भइसकेँ, अब म यो भन्दा बढ्ता नांगो हुुनुहुँदैन भन्ने किन लाग्दैन । यहाँनेर मलाई दिक्क लागेर आउँछ।एकपटक आफूले पद पाइसकेपछि त्यो अरुलाई चाहिन्छ है भनेर नसोच्ने कस्तो नेतृत्व पायौँ हामीले ? उसैलाई एक्स पद पनि चाहियो, वाई पद पनि चाहियो र जेड पद पनि चाहियो । 

मान्छेलाई विश्राम पनि त चाहिन्छ नि । नेतृत्वहरूको दैनिकी तपाईंहरू ल्याइराख्नुहुन्छ नि, म ती हेर्छु । हेर्नुस् त चौबीसे घण्टा कसरी भ्याउन सक्या होला ? कस्तो दिमाग लिएर आएको होला, हगि ? त्यो झ्याउँझ्याउँ कसरी सहन सकेको होला ? यति गुनासो, गालीगलौज, घृणा सहेर कोही कसरी पदमा बसिरहन सक्छ ? सबै पचाउन सक्या छ, उहाँहरू यसअर्थमा ‘महान्’ हुनुहुन्छ ।  

पद छोडेर उहाँहरू बाँच्ने कसरी ? पेन्सन आउँदैन, तपाईंको जस्तो अध्ययन–अनुसन्धान पनि छैन । पदबाहिर रहँदा आफ्नो बिचल्ली हुन्छ भन्ने थाहा भएरै त होला नछोडेको ?

उहाँहरूलाई बाँच्न आर्थिक समस्या होला भन्ने त मलाई लाग्दै लाग्दैन । किनकि उहाँहरूले आफू र अरु धेरै पुस्तालाई पुग्ने गरी कमाइसक्नु भएको छ । यी यी नेताहरूलाई हराऔँ भन्ने अभियान आइरहेको छ नि उहाँहरूलाई के खाऊँ, के लाऊँ भन्ने समस्या होला र ? बरु उहाँहरूलाई चिन्ता मसँग भएको सम्पत्ति कसरी जोगाऊँ, म सुरक्षित हुन्छु कि हुन्न ? मैले हिजो गरेका कमीकमजोरी–गल्तीले गर्दाखेरि ममाथि आक्रमण हुन्छ कि भन्ने चिन्ता म पाउँछु । त्यो चिन्ताका लागि पद छोड्न नसक्ने र देशलाई बन्धकी बनाउने । सबैभन्दा दुःखान्त अवस्था यहाँ छ । 

म भन्छु पदबाहिर रहेर पनि राम्ररी बाँच्न सक्नुहुन्छ । पद पाउँदैमा प्रतिष्ठा बढेको हुँदैन । मान्छेको मन–मस्तिष्कमा बस्न सक्नुपर्छ । तपाईंहरू देशका लागि धेरै सुकर्म गर्दै कुकर्मतिर आउनुभयो । अब ती कुकर्म पखाल्न पद छोडेर बाहिर आउनुस् । समाजलाई हित गर्ने एक एक वटा विधामा काम गर्नुस्, आउनुस् सहकार्य गरौँ । हात जाडेर भन्छु– प्लिज, अब चुनावमा नउठ्दिनुस् ।  

(‘चुनावमा नउठ्दिनुस्’सँगै पहिलो भाग यहीँ अन्त्य गर्छाैं । चुनाव केन्द्रित भाग दुईका लागि प्रतीक्षा गर्नुहोस् ।)
तस्बिर : पुरन विश्वकर्मा

 


 


Author

हरिबहादुर थापा

संसद्, शासन र राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।


थप समाचार
x