वार्ता

अन्तर्वार्ता

‘बाआमा’ले मेरा यसअघिका सबै सिर्जनालाई उछिन्छ’

कमल विष्ट |
भदौ ४, २०७९ शनिबार ८:४९ बजे

काठमाडौँबाहिर बसेर साहित्य साधना गर्ने आख्यानकार हुन्, रामलाल जोशी । कैलालीको धनगढीमा बस्ने जोशीले सुदूरपश्चिम परिवेशका सीमान्त समुदायलाई आफ्नो सिर्जनाको क्यानभास, कथा र पात्र बनाउँदै आइरहेका छन् । ती समुदायका अत्यन्तै कष्टकर जीवनलाई सशक्त रुपमा लेखिरहेका छन् । २०७२ सालमा प्रकाशित पहिलो कथासंग्रह ‘ऐना’मा उनले सुदूरपश्चिमेली भेगका बादी, दलित, थारुलगायत किनारीकृत समुदायका पीडा बडो मार्मिक रुपमा उतारेका छन् । 

‘ऐना’ले उनलाई २०७२ सालको मदन पुरस्कार नै दिलायो । नेपाली साहित्य वृत्तकै ठूलो पुरस्कारले उनी धेरै पाठकसमक्ष परिचित बने । त्यसको तीन वर्षपछि २०७५ सालमा कृतिको रुपमा तेस्रो, उपन्यासको रुपमा पहिलो सिर्जना प्रकाशित भयो, ‘सखी’ । ‘सखी’मा उनले सीमान्त थारु समुदायलाई मुख्य बनाए । यसमा ‘किस्मती’ नाम गरेकी एक कमलरी युवतीको संघर्षको कथा छ । ‘सखी’बाट पनि उनले धेरै पाठकको माया र सद्भाव पाए । 


पिँधमा पारिएका समुदायको कथा लेखिरहेका तिनै आख्यानकार जोशी नयाँ कृतिसहित आएका छन् । कृतिको नाम हो, ‘बाआमा’ । पुस्तक यही भदौ १७ गते लोकार्पण हुँदैछ । जोशी ‘बाआमा’ पनि सीमान्तहरूकै आख्यान भएको बताउँछन् । यसमा उमेरले किनारीकृत बनाएकाहरूको कथा लेखेको उनको भनाइ छ ।  
‘बाआमा’ उपन्यास हो वा कथासंग्रह ? पुस्तकको आवरण पृष्ठमा उनले यही भनेर उल्लेख गरेका छैनन् । यस्तो किन भनेर सोध्दा पुस्तकले कथा र उपन्यास दुवैको चरित्र बोकेकाले यसलाई कुनै एउटा भन्न नमिल्ने उनको तर्क छ । प्रकाशोन्मुख आख्यानको परिवेश, विषयवस्तु, रचनागर्भलगायत विभिन्न विषयमा इकागका कमल विष्टले कुराकानी गरेका छन् । प्रस्तुत छ, संवादको सम्पादित अंश: 

चार वर्षपछि नयाँ सिर्जना ‘बाआमा’ लिएर आउनुभएको छ । कस्तो अनुभूति भइरहेको छ ? 
हरेक लेखकलाई आफ्नो नयाँ सिर्जना सार्वजनिक हुन लाग्दा एकदमै खुसी लाग्छ । म अपवाद होइन । कृति छिट्टै पाठकको हातमा पुग्दै छ भन्ने कुराले निकै उत्साहित छु । प्रिय पाठकहरूले ‘बाआमा’लाई मेरा यसअघिका कृति ‘ऐना’ र ‘सखी’लाई भन्दा धेरै रुचाउनुहुनेछ भन्नेमा आशावादी छु । ढुक्क नै छु । 

पुस्तकको आवरण पृष्ठमा ‘बाआमा’ कथासंग्रह हो वा उपन्यास स्पष्ट लेखिएको छैन । आख्यान मात्र लेखिएको छ । खासमा यो के हो ? 
हो, कभरमा यो कथासंग्रह वा उपन्यास यही हो भनेर भनिएको छैन । किनभने यो कथामात्र पनि होइन, उपन्यास मात्र पनि होइन । दुवै हो । वास्तवमा भन्ने हो भने बाआमा एउटा प्रयाग हो– सम्बन्ध आख्यान । 

यसमा १२ कथा छन् । एउटा कथाका पात्र र परिवेश अर्को कथामा दोहोरिन्छन् । एउटा कथा अर्को कथासँग अन्तरसम्बन्धित छ । पुस्तकलाई सुरुदेखि अन्तिमसम्म पढ्दा पाठकलाई यो उपन्यास लाग्छ । तर, यो उपन्यास होइन । कथाहरू अन्तरसम्बन्धित भए पनि हरेक कथाहरू आफैँमा पूर्ण छन् । पाठकले १२ कथामध्ये कुनै एक पढ्दा अपूरो लाग्दैन । पूर्ण कथा पढेको जस्तो लाग्छ । 

‘ऐना’ र ‘सखी’ दुवैमा तपाईंले सुदूरपश्चिमका सीमान्त समुदायबारे लेख्नुभएको छ । ‘बाआमा’को विषयवस्तु के हो ? 
बाआमा सुन्नेबित्तिकै हरेकका लागि संवेदनाको कुरा हुन्छ । तर, यो पनि एउटा सीमान्तकै कथा हो । यो उमेरले सीमान्त बनाएकाहरूको कथा हो । बुढेसकाल लागेपछि जेष्ठ नागरिकहरू आमसमुदायबाट किनारीकृत हुन्छन् । 

त्यसो त उनीहरू उनीहरू सन्तान, नातिनातिना, नातेदार आदिको अगाडि मुस्कुराइरहेका हुन्छन् । तर, त्यो मुस्कुराहटमा विवशता हुन्छ । 

परिवेश नि ? 
यसको परिवेश पनि म जन्मिएको, हुर्किएको र बाँचिरहेको समाज, नै हो, सुदूरपश्चिम । कथाको मुख्य क्यानभास डोटी र कैलाली हो । तर, यो ‘सखी’ जस्तो पूर्ण रुपमा आञ्चलिक होइन । परिवेश उताको भए पनि यो उताको मात्र कथा होइन । कुनै एउटा मात्र समाज वर्ग, समुदायसँग मात्र केन्द्रित छैन । विश्व परिवेशको विश्वजनिन कुरो हो ।

परिवेशइतरका पाठकहरूलाई गाह्रो हुने भएकाले आञ्चलिक भाषा र लवज राख्नु हुन्न । यस्तो गर्नु रिस्क मोल्नु हो भन्छन् कतिपय लेखकहरू । तपाईंका हरेक सिर्जनामा परिवेशअनुसारकै भाषा हुन्छ । यसमा पनि छ । के भन्नुहुन्छ ? 
रिस्क त हुन्छ । तर, मलाई के लाग्छ भने भाषा र लवज परिवेशअनुसारकै हुनुपर्छ । त्यसो भएन भने कथामा रस आउँदैन । मानिलिऔँ, लेखकले अछामलाई परिवेश बनाएर एउटा कथा लेखिरहेको छ । कथामा दुई जना मुख्य पात्र छन्– लोग्ने र स्वास्नी । लोग्ने परिवारको जीवन धान्न बम्बई जान्छ । उसले बम्बईबाट त्यहाँको सुख–दुःख वर्णन गरेर पत्र लेख्छ । गाउँको दूरावस्थाबारे श्रीमतीले पनि पत्र लेख्छे । ती पत्र अछामी भाषामा लेखिएको छैन रे । अब भन्नुस्, त्यो कथामा कति भाव होला ? 

त्यसो त नेपाली भाषामा लेख्दा भावै नआउने भन्ने हुँदैन । तर, त्यसो गर्दा कथाले भाव गुमाउन सक्छ । 

लेखकले ख्याल गर्नुपर्ने कुरै यही हो । उसले आफ्नो भाषामा होइन, पात्रको भाषामा लेख्नुपर्छ । आफ्नो चेतनाको स्तरलाई होइन, पात्रको चेतनास्तरलाई ध्यान दिनुपर्छ । 

पुस्तकको रचनागर्भबारे बताइदिनुस् न । 
‘सखी’ लेखिसकेपछि म थुप्रै ठाउँमा घुम्न गएँ । घुम्ने क्रममा विभिन्न धर्मशाला, वृद्धाश्रम आदि पुगेँ । अवलोकन गर्दै जाँदा धेरै कुरा देखेँ । तिनले मलाई छोए । भित्रैदेखि चिमोटिएँ । 

यसमा मेरो थोरै आफ्नै अनुभव छ । थोरै स्वैरकल्पनाको उडान भरेको छु । 

म ४७ वर्षको भएँ । जीवनले ४५ नाघेपछि जिन्दगीबारे सोच्न विवश भइँदोरहेछ । मैले आफ्नै जिन्दगीबारे गम्न थालेँ । अब म जीवनको कुन चरणमा छु ? कस्ता–कस्ता पार गरेँ ? कस्ता बाँकी छन् ? मेरा कति रहर पूरा भए ? कति हुन बाँकी छ ? आफ्नो कति जिम्मेवारी पूरा गरेँ ? कति गर्न बाँकी छन् ? यावत प्रश्नले घेरिएँ । 
पुस्तकमा मैले आफ्नो आउने जीवनको परिकल्पना गरेको छु । मृत्युको परिकल्पना गरेको छु । आफ्नो समय सकिएको संकेत गरेको छु । 
यो खासगरी मान्छेको सम्बन्ध र सम्बन्धका कारण हुने दुःखको कथा हो । 

सम्बन्धका कारण हुने दुःख ? 
साँच्चै भन्ने हो भने मान्छे एक्लै हुँदा जति खुसी हुन्छ, ऊ विभिन्न खाले सम्बन्धमा बाँधिइसकेपछि हुन सक्दैन रहेछ । मान्छेलाई सम्बन्धहरूले दुःखी बनाउँदै लग्दो रहेछ । स्वास्नी, सन्तान आदिसँगको अट्याचमेन्टले उसलाई दुःखी बनाउँछ । 

हामी सुखका लागि जे कर्म गर्छौँ, पछि त्यही कर्म पीडाको स्रोत बनिदिँदा रहेछ । सुख कल्पेर गरिएको सृष्टि दुःखका लागि हुन्छ । हामी सन्तान, श्रीमती आदिको कारण तड्पिन्छौँ । सुखको संसारमा उल्टै पीडाबोध हुन थाल्छ । कहिलेकाहीँ त लाग्छ, विवाह नगरेको भए हुन्थ्यो, सन्तान नभएको हुन्थ्यो । जीवनलाई सहज बनाउनका लागि गाँसिएका सम्बन्धहरूले खुसी दिँदैनन् । अन्तत्वोगत्व यी दुःखका लागि हुन् । 

शहर जाँदा होस् वा विदेश जाँदा, बाआमा सन्तानको हरेक बिदाइमा हुन्छन् । नयाँ ठाउँमा जीवन सुखमय र फलिफाप होस् भनेर आशीर्वाद दिन्छन् । तर, अचेत सन्तान भने बाबुआमाको अन्तिम बिदाइमा पनि हुँदैनन् । 

पाठकहरूले लेखकबाट सधैँ विविधताको अपेक्षा गरेका हुन्छन् । तपाईंका यसअघिका दुवै पुस्तक सुदूरपश्चिमेली परिवेशमा आधारित थिए । आउने पुस्तक पनि सुदूरमै आधारित छ । अन्य ठाउँबारे लेख्ने सोच किन नआएको ? 
सोच आएको छ । यो अधूरो कथा थियो । मैले लेख्नैपर्ने थियो । त्यसैले लेखेँ । अबको पुस्तक चाहिँ कर्णाली नाघेर लेख्ने निधो गरेको छु । 

हामी प्रायःजसो मायापिरती, बैँस, तारुण्य, जवानीको कथा लेख्छौँ, विवशताको उमेरले सीमान्त बनाएकाहरूको कथा कमै लेख्छौँ । उमेर र नियतिले दिएको उमेर त हामीले फर्काउन सक्दैनौँ । यसमा दया मानेर पनि हुँदैन । तर, उनीहरूको विवशतालाई हामीले बुझ्न र साथ दिन सक्छौँ । 

पहिला–पहिला सन्तानहरू बाआमासँग मर्ने बेलासम्म सँगै हुन्थे । छोराछोरीको सम्भारमा, रेखदेखमा हुन्थे । तर, अहिले एक्लिएका छन् । कसैका सन्तान सहरमा छन्, कसैका विदेशमा छन् भने कोही त उतैको नागरिक भएका छन् । 

अहिले पारिवारिक जीवन विखण्डित भएको छ । एकतातिर उनीहरूलाई उमेरको नियतिले छोपिरहेको छ भने अर्कातिर पछिल्लो सभ्यताका कारण लाखापाखा लागिरहेका छन् । ती मानवहरू निरीह अवस्थामा कुप्रिएका छन् । 

बाआमा हुनु भनेको जीवनको विवश क्षणमा ठिंग उभिरहनु रहेछ रहेछ । 

‘ऐना’ले तपाईंलाई मदन पुरस्कार दिलायो । लेखनीलाई फराकिलो वृत्तमा पुर्यायो । दोस्रो आख्यान ‘सखी’ पहिलोको तुलनामा सफल हुन सकेन । ‘बाआमा’बाट कस्तो अपेक्षा गर्नुभएको छ ? 
तपाईंले ठीकै भन्नुभयो । ‘ऐना’ करिब ४० हजारको हाराहारीमा बिक्री भएको छ । ‘सखी’ पहिलो संस्करणमा २० हजार छापिएको थियो । दोस्रो संस्करण आएको छैन । प्रकाशनले दृष्टिले हेर्दा ‘सखी’ अलि कम गएकै हो । यद्यपि यो सफल–असफल निर्धारण गर्ने मानक होइन ।

मलाई के लाग्छ भने सुरुमा पाठकहरूले सुदूरपश्चिमको कथाका रुपमा ‘ऐना’ पढेँ र स्वाद लिएँ । ‘ऐना’भन्दा ‘सखी’ पहिला आएको भए त्यो स्वाद त्यहाँ पाउँथे र ‘ऐना’ ओझेलमा पथ्र्यो कि ? 

‘सखी’ कम जानुको यसको परिवेश र कथा पनि हुनसक्छ । यो पूर्ण रुपमा एउटा मात्र समुदाय (थारु)माथि केन्द्रित छ । यसमा तराईको भूमिपुत्र थारु समुदायको इतिहासदेखि जीवनशैलीसम्म छ । कुनै एक समुदायमाथि लेखिएको एएटा अनुसन्धानात्मक कृति हो । अनुसन्धानात्मक उपन्यासमा सबैको सरोकार हुँदैन । 

‘सखी’लाई अझ परिष्कृत गर्न, परिपक्क बनाउन म नै पो चुकेँ कि ? तर, व्यक्तिगत रुपमा भन्ने हो भने ‘ऐना’भन्दा ‘सखी’ नै प्यारो छ । भाषा र लेखनका हिसाबले पनि । थुप्रै पाठकहरूले ‘ऐना’भन्दा ‘सखी’ राम्रो छ पनि भनेका छन् । सिर्जनालाई ग्रहण गर्ने पाठकको भिन्दाभिन्दै दृष्टिकोण हुन्छन् ।

म के चाहिँ निःसन्देह भन्नसक्छु भने ‘ऐना’लाई र ‘सखी’लाई यसले उछिन्छ । ढुक्क छु । 

लेख्दाखेरि, ‘म मदन पुरस्कार लेखक हुँ, साख जोगोउने गरी लेख्नुपर्छ’ भन्ने सोच कति आउँछ ? पुरस्कारले प्रेसर हुन्छ ? 
हुन्छ । आफूलाई स्वच्छन्द राख्छु भन्दाभन्दै पनि कुनै बेला सकिँदैन । यो अचेतन मस्तिष्कमा बसको हुँदोरहेछ । फेरि पुरस्कार पाएर पनि पाठकको वृत्त नबढेको भए अर्कै कुरा हुन्थ्यो । 

तर, यसको अर्थ के चाहिँ होइन भने लेखकलाई राम्रो लेख्न पुरस्कारले नै प्रेरित गर्छ । पुरस्कार पाए पनि नपाए पनि राम्रो लेख्नुपर्छ भन्ने जोकोही लेखकलाई हुन्छ जस्तो मलाई लाग्छ । 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x