वार्ता

महासचिव गुरुङलाई प्रश्‍न : समानुपातिक समावेशीताको नारा लगाउने माओवादी आफैँ किन असमावेशी ?

कमल विष्ट |
भदौ ५, २०७९ आइतवार १४:१८ बजे

अन्ततः लामो समयको अन्योल र रस्साकस्सीपछि सत्तारूढ नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीे टुंगो लगाएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले २१ सदस्यीय पदाधिकारी अनुमोदन गरेको हो । 

अध्यक्षपछि सबैभन्दा महत्वपूर्ण पद मानिने महासचिवका लागि पार्टीभित्र ८ महिनासम्म शक्ति संघर्ष चल्दै आएको थियो । महासचिवका मुख्य आकांक्षी जनार्दन शर्मा र वर्षमानबीच सहमति जुट्न नसकेपछि अध्यक्ष प्रचण्डलाई हम्मेहम्मे परेको थियो । 


स्रोतका अनुसार आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनसम्मका वरिष्ठताका आधारमा पदाधिकारी चयनमा शर्मा र पुन दुवै सहमत भएपछि पदाधिकारीको गाँठो फुकेको हो । 

वरिष्ठताका आधारमा अध्यक्ष प्रचण्डले नेता देव गुरुङलाई महासचिव बनाएका हुन् । त्यसो त गुरुङ चौथो वरीयताका नेता हुन् । प्रचण्डले महासचिवका प्रमुख महत्वाकांक्षी शर्मा र पुन दुवैलाई उपमहासचिवमा प्रस्ताव गरेपछि देव गुरुङ महासचिवमा चयन भएका हुन् । 

तर, प्रचण्डले लामो सकस र तनावपछि टुंग्याएको पदाधिकारीलाई स्वागत गरिएन, उल्टो पदाधिकारी समावेशी नभएको भन्दै उनको र माओवादी केन्द्रको व्यापक आलोचना भइरहेको छ । २१ सदस्यीय पदाधिकारीमा एक जनामात्र महिला छन्, उपमहासचिव पम्फा भुसाल ।

सुरूमा १५ सदस्यीय पदाधिकारीको प्रावधान बनाएको माओवादीले पछि २१ सदस्यीय बनायो । तर, संख्या बढाउँदा पनि पदाधिकारी समावेशी हुन सकेन । माओवादीको असमावेशी पदाधिकारीलाई कटाक्ष गर्दै अभियन्ता प्रदीप परियारले ट्वीटरमा लेखेका छन्, ‘समावेशीता र समानुपातिक व्यवस्थाको वकालत गरेको पार्टीले पदाधिकारीको नाम प्रस्तुत गरेछ । जसमा खस आर्यको हिस्सा ७२ प्रतिशत छ । बाँकी हेरौँ । दलित शून्य । मुस्लिम शून्य । थारु शून्य । आदिवासी शून्य । जनजाति शून्य । मधेशी दुई । महिला एक । आर्य १५ ।’

परियारले प्रश्न गरेका छन्- यस्तो संरचनाले कसको प्रतिनिधित्व गर्छ । 

परियार एक प्रतिनिधि प्रश्नकर्ता हुन् । सामाजिक सञ्जालमा यस्ता प्रश्न शनिबारदेखि छ्यापछ्याप्ती छन् ।  

यही प्रश्न महासचिव देव गुरुङलाई गर्दा माओवादीमा महिला तथा सीमान्त समुदाय वरीयताका हिसाबमा माथि नभएकाले यस्तो हुन गएको उनले तर्क गरे । ‘पदाधिकारी वरिष्ठताका आधारमा बनाएको हुनाले एकजना मात्र महिला आइपुग्नुभएको छ । वरिष्ठताका हिसावले उहाँहरू बिस्तारैबिस्तारै आउनुहुनेछ,’ उनले भने । 
महासचिव गुरुङसँग पदाधिकारीमा समावेशीता, उनको अबको भूमिकालगायत विभिन्न संक्षिप्त कुराकानी गरिएको छ । प्रस्तुत छ इकागजका कमल विष्टले गुरुङसँग गरेको संवादको सम्पादित अंशः 

महाधिवेशनको ८ महिनापछि पदाधिकारीले पूर्णता पाएको छ । तपाईंलाई पार्टीले महासचिव चयन गरेको छ । तपाईंको योजना के छ ? 

नेकपा माओवादी केन्द्रको विधानले जे-जस्तो व्यवस्था गरेको छ, म त्यसैअनुरूप अगाडि बढ्छु । हाम्रो विधानले पावर सेपरेसनको सिद्धान्तलाई होइन, पावर को- अपरेसनको सिद्धान्तलाई मान्छ । बैठक, निर्णयलगायत पार्टीका महत्वपूर्ण कामहरू सामूहिक रूपमा अगाडि हुन्छन् । भन्नुको अर्थ के भने महासचिव भए पनि मेरो छुट्टै योजना भन्ने हुँदैन । पार्टीको विधानले जे-जसरी भन्छ, त्यसरी नै मैले काम गर्ने हो । 

पार्टीका माथिदेखि तल अर्थात् केन्द्रदेखि वडासम्मका सबै संगठनहरू अस्तव्यस्त छन् । संगठनहरूलाई सुदृढीकरणका लागि तपाईंको भूमिका कस्तो हुन्छ ?

मैले अघि पनि भनिसकेँ, यहाँ मेरो छुट्टै योजना वा भूमिका हुँदैन । सामूहिक रुपमा अगाडि बढ्ने हो । तैपनि मैले संगठन विस्तार गर्न, संगठन सुदृढ गर्न, नियमित गर्न, सञ्चालन गर्न आदिमा भूमिका खेल्नेछु । हरेक कमिटीका आआफ्नै जिम्मेवारी हुन्छन् । पार्टी अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा स्वतः संरचनाहरू बनेका छन् । अध्यक्ष प्रचण्डका हरेक काममा साथ दिनेछु । 

हिजो चयन गरिएको पदाधिकारी वर्षमान पुन र जनार्दन शर्माबीच असहमति र त्यसले पार्टीमा देखिन सक्ने विचलनलाई चुनावसम्म रोक्नका लागि हो । चुनावपछि विशेष महाधिवेशन हुन्छ र त्यसले फेरि पुनर्गठन गर्छ भन्ने कुराहरू छन् । सत्य हो ? 

कुनै पनि कमिटी स्थायी हुँदैनन् । निरन्तर बैठक बस्दाखेरि कतिपय कुरा थपघट हुन सक्छन् । सम्मेलन, भेला तथा महाधिवेशनमा परिवर्तन हुन्छन् । यतिबेला त स्वतः रिन्यु गर्नुपर्छ । पार्टी एकताका बेला पनि पार्टीको संरचना परिवर्तन हुन्छ । त्यसैले, कमिटीहरू स्थायी भन्ने हुँदैन । 

भनेपछि चुनावपछि विशेष महाधिवेशन हुन्छ र पदाधिकारी हेरफेर हुन्छ ?

मेरो भन्नुको आशय त्यो होइन । मैले के मात्र भन्न खोजिरहेको छु भने कमिटीहरू स्थायी र अस्थायी भन्ने हुँदैन । स्थायी र अस्थायी सापेक्षित रुपमा हुने हो । निरपेक्ष रुपमा होइन । संरचनाहरू सदा सर्वदाका लागि हुँदैन । आवश्यकताअनुसार बैठक बसेर पदाधिकारी परिवर्तन हुनसक्छ । सभा, सम्मेलन तथा भेलाबाट पनि हुन सक्छ । 
समानुपातिक समावेशीताको नारा लगाएर कहिल्यै नथाक्ने माओवादीभित्र नै सधैँ परिवारवाद र बाहुनवाद हाबी छ । पदाधिकारी किन यति असमावेशी?

हाम्रा अन्य कमिटीहरूमा महिलाको प्रतिनिधित्व केही न केही रूपमा भएकै छ । पदाधिकारी वरिष्ठताका आधारमा बनाएको हुनाले एक मात्र महिला आइपुग्नुभयो । वरिष्ठताका हिसाबले बिस्तारै-बिस्तारै क्रमशः उहाँहरू आउनुहुनेछ ।


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x