इसंवार्ता
प्रेम एकातिर र घरजम अर्कातिर गर्ने पक्षमा म छैन (भिडियो)
निर्वाचन मिति घोषणा भएसँगै दलहरू चुनावी तयारीमा जुटेका छन् । सत्ता गठबन्धनले सिट बाँडफाँडको भागबन्डा नटुंग्याएकाले नेताहरू अन्योलमा छन् । स्थानीय निर्वाचनमा जसले जहाँ जितेको उसलाई गठबन्धनले प्राथमिकतामा राख्ने निर्णय गरेको थियो । सोही आधारमा संघीय निर्वाचनमा पनि भागवण्डा गर्दा धेरै प्रभावशाली नेता अप्ठेरोमा पर्छन् । सबैभन्दा बढी अप्ठेरोमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा छन् । उनको क्षेत्र झापा १ मा अघिल्लो निर्वाचनमा माओवादी नेता राम कार्कीले जितेका थिए । तर, महामन्त्री शर्मा पनि आफ्नो क्षेत्र छाड्ने पक्षमा भने छैनन् । भन्छन्, ‘मेरो प्राथमिकता झापा हो । प्रेम एकातर्फ गर्ने र घरजम अर्कातर्फ गर्ने पक्षमा म छैन ।’ प्रस्तुत छ, आगामी निर्वाचन, कांग्रेसका अजेन्डा, पार्टीभित्रका समस्या, सरकार र गठबन्धनबारे कांग्रेस महामन्त्री शर्मासँग इकागजका उपेन्द्र अर्यालले गरेको कुराकानी :
निर्वाचनको मिति घोषणा भएको छ, चुनावका लागि तपाईंहरूको तयारी कस्तो छ ? के कोसेली लिएर चुनावमा जाँदै हुनुहुन्छ ?
नेपाली कांग्रेस विस्तारै हिँड्ने तर सही बाटोमा हिँड्ने पार्टी हो । सही बाटोमा हिँड्यो भने विस्तारै गए पनि गन्तव्यमा पुगिन्छ । तर, कतिपयको अपेक्षा सबैकुरा तीव्र होस् भन्ने हुन्छ । हामीले जुन संसदीय लोकतान्त्रिक परिपाटी बनाएका छौ, त्यसको प्रक्रिया अलिकति ‘लेन्दी’ छ । कमरेड प्रचण्डले केपी ओली प्रधानमन्त्री भएपछि भन्नुभएको थियो, ‘हामी कम्युनिष्ट शासनमा आएपछि ड्याम–ड्याम निर्णय गरेर जान सकिन्छ ।’ ड्याम–ड्याम निर्णय गरेर जानेभन्दा पनि ढिलै तर सही तरिकाले जाने हो ।
लोकतान्त्रिक शासन प्रणाली हामी सबैको मेहनत, संघर्ष र सहभागिताबाट बनेको हो । यसलाई संस्थागत विकास गराएर लैजाने, राजनीतिक दलहरूको सहकार्यबाट समुन्नतिको खाकालाई कोरेर जाने योजना छ । जनताका अनेकौँ प्रश्न, वितृष्णा र आकांक्षा छन् । त्यसलाई पनि सम्बोधन गर्नेछौँ । कांग्रेस अहिले लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउने पक्षमा छ । जनताले निर्वाचित गरेको संसदले पाँच वर्ष पनि काम नगरी विघटित हुने अवस्था आउन दिँदैनौँ । यसलाई स्थिर बनाएर लैजान्छौँ । त्यसका लागि उत्पादन अभिवृद्धि गरेर आयातलाई प्रतिस्थापन गर्नेछौँ । बिजुली निर्यात गरेर देशलाई सबल बनाउँछौँ । त्यस्तै, शिक्षा र स्वास्थ्यलाई सुलभ बनाउने कांग्रेसको लक्ष्य छ ।
आगामी निर्वाचनमा तपाईं कहाँबाट उठ्ने भनेर धेरैलाई चासो छ । काठमाडौँबाट उठ्ने हल्ला पनि छ । कहाँबाट उम्मेदवारी दिँदै हुनुहुन्छ ?
कांग्रेसको संसदीय बोर्डले पार्टीका नेतालाई कसलाई कहाँ उठाउने भन्ने टुंगो गर्ने हो । म आफैँ पनि त्यो संसदीय बोर्डमा छँदैछु । त्यस हिसाबले मलगायतका पार्टी पदाधिकारी संसदीय बोर्डले निर्णय गर्ने हो । तर, म निर्णय गर्ने ठाउँमा छु भन्दैमा मेरो निर्वाचन क्षेत्र यो हो भनेर सार्वजनिक रुपमै भन्नु उचित हुँदैन । तर, म काठमाडौँबाट उठ्ने हल्ला छ । कतिपय साथीहरूले त्यो खालको कुराहरू मसँग गर्नुभएकै हो । तर, के कुरामा म प्रष्ट छु भने बागमती किनारलाई ढोग्न मिल्छ ।
कर्मथलो बनाउन मिल्छ । यहाँको पवित्र भूमिको सेवाको निमित्त समर्पित हुन सकिन्छ । तर, मेरो जरा झापा हो, त्यहीँबाट उठ्छु । झापाबाट मैले चुनाव जितेर गर्नुपर्ने कामका निश्चित परिकल्पना छन् । देशको विषयमा गर्ने कामको अलग्गै सन्दर्भ छ । अघिल्लो पटक म उपविजेता हुँदा पनि जनताका बीचमा रहेर काम गरिरहेको छु । त्यसकारण मेरो प्राथमिकता झापा हो । प्रेम एकातर्फ घरजम अर्कातर्फ गर्ने पक्षमा म छैन ।
आगामी निर्वाचनमा पनि गठबन्धन गरेर जाने सत्तारुढ दलहरूबीच सहमति भएको छ । त्यसो हुँदा जसले जहाँ जितेको छ त्यहाँ छाड्ने भन्ने तपाईंहरूको नीति थियो । यसपाली पनि त्यस्तै निर्णय भयो भने तपाईंलाई अप्ठेरो पर्दैन ?
मलाई त्यस्तो लाग्दैन । त्यस्ता मापदण्ड बनाउँदा पार्टीको महामन्त्रीको रूपमा म सुसूचित छु । त्यसकारण झापा १ मा म आफ्नै कारणले उम्मेदवार भइसकेँ । उपविजेता भइसकेँ । साथीहरू अरु लड्दा ठीक हुन्छ भन्ने मैले सोचेँ वा महामन्त्रीका रूपमा प्रचारमा जाँदै गर्दा आफ्नो क्षेत्रमा पर्याप्त समय दिन सकिन र उम्मेदवार बनिन भने त्यो अलग कुरा हो । नत्र कांग्रेसको महामन्त्रीले निर्वाचनमा कहीँ उम्मेदवार बन्न चाहँदा गठबन्धनको नाममा आफूले उम्मेदवार हुन चाहेको क्षेत्र अरुलाई सुम्पिनुपर्छ भन्ने मलाई लाग्दैन । अर्को विषय, त्यहाँको वस्तुगत मानसिकता के छ ? धरातलीय यथार्थ के छ ? त्यहाँ विजयी बन्नुभएका मित्रले के भन्नुहुन्छ भन्ने महत्वपूर्ण कुरा हो । उम्मेदवार बनेँ भने गठबन्धनका अर्का मित्रको साथ प्रेमपूर्वक लिएर उम्मेदवार बन्नेछु ।
अघिल्लो निर्वाचनमा माओवादीका राम कार्कीसँग हार्नु भएको थियो । यसपालि तपाईंको क्षेत्रको पालिका पनि एमालेले जितेको छ । जित त मुश्किल देखिन्छ नी ?
झापा–१ मा २१ वटा वडा छन् । २१ वडा सबैमा एमालेको उम्मेदवार हुनुहुन्थ्यो । त्यो सबै हुँदा उहाँहरूले ३१ हजार मत पाउनुभयो । कांग्रेसका उम्मेदवार १५ वटा वडामा मात्रै हुनुहुन्थ्यो । त्यहीँ १५ वटा वडाबाट कांग्रेसले २४ हजार बढी मत ल्याएको छ । वडाको मतको अनुपातलाई विश्लेषण गर्दा हामी कमजोर छैनौँ । अघिल्लो निर्वाचनमा कांग्रेसले बुद्धशान्तिका चार वटा वडामध्ये एउटामात्रै जितेको थियो । अहिले एउटा मात्रै गुमाएको छ । भद्रपुरका २ वटा वडामा अघिल्लो पटकझैँ ठूलो अन्तर छैन । त्यसकारण झापा–१ मा कांग्रेस अघिल्लो निर्वाचनभन्दा तुलनात्मक रूपमा कमजोर भएको भन्ने कुरा सत्य होइन । पालिकामा विजयी हासिल गर्न नसकेको सत्य हो । तर, कांग्रेसले त्यो जमिनमा बलियो ढंगले आपूmलाई विजयी गराएर जान सक्ने तागत राख्छ ।
तर, तपाईंसँगै जोडिएको क्षेत्र कांग्रेस नेता कृष्ण सिटौलाको हो । स्थानीय निर्वाचनमा पनि तपाईंहरूबीच मतभेद देखिन्थ्यो । उहाँको पनि साथ नुहँदा त तपाईंलाई झन् अप्ठेरो पार्ला नि ?
हरेकको घरभित्र केही न केही समस्या हुन्छ । तर, घरभित्र समस्या हुँदा सार्वजनिक जीवनका प्रस्तुतिहरूमा त्यही समस्या रहन्छन् भन्ने हुँदैन । कृष्णप्रसाद सिटौला कांग्रेसको आदरणीय नेता हुनुहुन्छ । उहाँसँग मैले प्रतिस्पर्धा गर्नुपर्ने, इख राख्नुपर्ने केही कारण छैन । उहाँले पनि पछिल्लो पुस्ताको उदाउँदै गरेको मान्छेप्रति द्वेष राख्नुपर्ने कुनै कारण छैन ।
महामन्त्रीहरूको गति जति हुनुपर्ने थियो, त्यो भएको छैन भन्ने हाम्रो आफ्नै विश्लेषण छ ।
कतिपय साथीहरूको कारण वा उहाँ र मेरो बुझाइको कारण केही कमजोरीहरू आएका हुनसक्छन् । त्यसलाई विस्तारै मन माझेर जान सकिन्छ । उहाँ आफ्नो क्षेत्रमा उम्मेदवार बन्दै गर्दा उहाँ विजयी बन्ने कुरामा मैले सम्पूर्ण रुपले सहयोग गर्छु । नेता सिटौला चुनाव लड्दै गर्दा परिणाममा विजयी हासिल गर्ने गरी सहयोग गर्नुपर्छ । उहाँले पनि म उम्मेदवार बन्दै गरेको क्षेत्रमा उहाँप्रति आस्था राख्ने साथीहरूलाई मैले विजयी हासिल गरेर जानु जरुरी छ भन्नुपर्छ । म उम्मेदवार बन्दा सिटौलाको साथले मलाई बल पुग्ने र मेरो साथले सिटौलालाई बल पुग्ने गरी उम्मेदवार बन्छु । ढुङ्गाको भर माटो र माटोको भर ढुङ्गा बनेर हामी झापामा राम्रो परिणाम ल्याउँछौँ ।
२०७४ को स्थानीय निर्वाचनमा माओवादीसँग तालमेल गर्नुभएको थियो । पछि माओवादीले एमालेसँग गठबन्धन गरेर गयो । यसपालि गठबन्धनमा थुप्रै असन्तुष्टि छन् । समाजवादी केन्द्र बनाउने हल्ला छ । तपाईंहरूलाई गठबन्धनको मत आउला भनेर कसरी विश्वस्त हुनुहुन्छ ?
‘पोलिटिक्स इज दि गेम अफ पोसिबिलिटिज’ भनिन्छ । जुन कारण कमरेड केपी ओली र प्रचण्डबीच विभाजन भएको थियो, ती तत्कालीन कारणहरू मौजुद छन् । त्यसमा बदलाव नआइकन उहाँहरू फेरि एकै ठाउँमा उभिनुहुन्छ जस्तो लाग्दैन । सँगै उभिन चाहानु उहाँहरूको विषय हो । तर, एमाले र माओवादीबीच एकता हुनमा कुनै भरपर्दो सैद्धान्तिक कारण थिएन । विभाजन हुँदा ती दललाई एकै ठाउँमा राखिरहनुपर्ने वातावरण पनि थिएन ।
संसद् विघटन एकथरिले असंवैधानिक भन्नुभयो । अधिनायकवादी कदम भन्नुभयो । तर, कमरेड केपी ओलीले त्यसलाई स्वभाविक कदम भन्नुभयो । संसद् विघटनलाई हेर्ने साझा धारणा नबन्दासम्म उहाँहरू एकै ठाउँमा आउनुहुन्छ भन्ने लाग्छ लाग्दैन । सम्भावनाको खेल हो राजनीति । तर पनि यत्तिकै गठबन्धनका दलका बारेमा आशंका पाल्ने कुरा हुँदैन । संवादहरू भए हार्दिकता भए भनेर शंका गर्नुपर्ने देखिँदैन । गठबन्धनलाई छाडेर उहाँहरू जानुहोला भन्ने मलाई लाग्दैन ।
स्थानीय निर्वाचनमा धेरै स्वतन्त्र युवाहरू विजयी भए । उनीहरूको विजयलाई कसरी लिनुभएको छ ? पार्टीभित्र युवाहरूलाई ठाउँ नभएर वा दलहरूप्रतिको आक्रोश हो ?
स्थानीय निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो दल बन्यो । ३ सय २९ पालिकामा कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसलाई गरेको त्यो विश्वास र भरोसालाई अझै बढी जिम्मेवार र गाम्भीर्यताका साथ लिन्छौँ । त्यसरी नै कुनै अर्को ठाउँमा कुनै अर्को दलले विजयी हासिल गरेको कुरालाई पनि जनताले नै जिताएको सहयोगी मनोविज्ञान राखेर जान्छौँ । जो दलभन्दा बाहिरबाट स्वतन्त्र रूपमा विजयी हुनुभएको छ त्यो पनि जनताले जिताएको जित हो । त्यसरी विजयी भएकाहरू चाहे काठमाडौँका बालेन शाह हुन्, वा धरानका हर्कजी हुन्, उहाँहरूको कामलाई सघाएर जान्छौँ । जस्तो काठमाडौँको फोहोरको व्यवस्थापनमा मेयर बालेन शाहलाई सबैले सहयोग गरेर जानुपर्छ । त्यो हरेक जितमा केही न केही अर्थ, संकेत र सन्देश छ । स्वतन्त्रको विजयले दलहरूलाई अझै रुपान्तरित हुन संकेत दिएको छ । सडकमा हिँडिरहेको युवाले के सोचिरहेको छ भन्ने कुरा बुझेर दलहरू चल्नुपर्छ भन्ने सन्देश पाएका छौँ । यसलाई हामी गहिरोसँग आत्मसात गरेर जान्छौँ ।
तर, देशमै बहुल युवा भएका बेला दलहरूमा युवाहरू किन अगाडी आउन सकेनन् ? तपाईंकै पार्टीमा पनि ‘युवा’मा सधैँ एउटै अनुहार किन दोहोरिरहन्छ ?
कांग्रेसको नेतृत्वमा अहिले हामी आएका छौँ । अघिल्लो अधिवेशनमा ठाउँमा थिएनौँ । दोहोरिएका भन्दा हामी पछि आएका हौँ । १२ औँ अधिवेशनमा म केन्द्रीय कार्य समितिमा पनि थिइनँ । १३ औँ अधिवेशनमा केन्द्रीय कार्यसमितिमा पुगेर प्रवक्ता भएँ । अहिले महामन्त्री भएँ । हिजो त्यसबेलाका महामन्त्री र अहिलेका महामन्त्रीको उमेरलाई मात्रै हेर्दा धेरै फरक छ । अहिलेको पार्टी सभापति र मेरो उमेरबीच २५/२६ वर्षको फरक छ । युवाहरूको संख्या बढ्दै छ । त्योभन्दा तलका कमिटीहरूमा पनि युवा साथीहरू आउनुभएको छ । स्थानीय तहको निर्वाचनमा २८ वर्षिय भरत जोशी पर्शुराम नगरपालिका डढेल्धुराको नगरप्रमुख हुनुभएको छ ।
सबै दलमा एउटा संघर्षबाट आएका पुरानै नेतृत्व रहिरहेको अवस्था छ । तर, ती नेतृत्वहरू निश्चित प्रक्रियाबाट अनुमोदित भएर, संसदीय दलहरूबाट निर्वाचित भएर आएको अवस्था छ । त्यसैले युवाहरूले अगाडि बढ्नेभन्दा केवल आवेग मात्रै होइन, विचारका र नविन सम्भावनाका साथ आएका छन् । कांग्रेससँग पाको नेतृत्व पनि छ, युवा नेतृत्व पनि छ । युवाहरूको नेतृत्व एउटा दृष्टिका साथ विकास भइरहेको छ ।
युवा भनिनु भएका तपाईंहरूको पनि उमेर (५०)माथि पुगिसक्यो । अझै पार्टी र देशको कार्यकारी पदमा पुग्नुभएको छैन । तपाईंहरू बल्ल महामन्त्री हुँदै हुनुहुन्छ ? अब कहिले दाबी गर्ने हो कार्यकारी पद ?
हामी अहिले नै दाबी गर्ने अवस्थामा छौँ । दाबी गरिरहेका छौँ । दाबी गरिरहँदा म व्यक्ति आफैँ मात्रै होइन्, हाम्रो पुस्ताको दाबी हेर्नुपर्छ । नेपाली कांग्रेस पार्टीबाट झापा–१ बाट म ०७० मै विजयी थिएँ, वा ०७४ मै विजयी थिएँ भने अहिले म प्रधानमन्त्री पद दृढतापूर्वक दाबी गरिरहेको हुन्थेँ । पार्टीमा आफ्नो स्थिति विकास गर्न सक्थेँ । म देशको संसदमा पुगेको थिएँ भने ०७९ निर्वाचन पछिको संसद्पछि प्रधानमन्त्रीको रुपमा खडा हुन्थे । त्यो अवसर मैले जनताकाबीच बाट पाइनँ । त्यसमा मेरा आफ्नै कमजोरीहरू पनि भए ।
ड्राइभिङ लाइसेन्स हातमा लिइसकेपछि तपाईं हाइवेमा जाने कुरामा जति ढुक्क हुनुहुन्छ, बिना लाइसेन्स जाँदा जोगिएरै कुदार्उनु पर्छ । म सिंहदरबारमा बसेर रामै्रसँग कुदाउन पनि सक्छु भन्ने कुराको संन्देश त झापा–१ लाई दिइरहेको छु । पुगिरहेको छ । झापा–१ का मतदाताले मलाई ड्राइभिङ राम्रै गर्न सक्ने क्षमता भएको मानेको बुझ्नुपर्छ । तर, लाइसेन्सका लागि ०७०/७४ मा ट्रायल दिँदा फेल भएँ । झापा–१ ले अब ट्रयलमा फेल गराउनुहुँदैन । मलाई पारित गरेर पठाउनु पर्छ भन्यो भने झापा– १ को माटोलाई ढुक्कका साथ भन्न सक्छु– अब कांग्रेसको तर्फबाट देशको प्रधानमन्त्री दाबी गर्नेगरी आउँदै छौँ । आइरहेका छौँ । नेतृत्व गर्छौँ । नेतृत्व गरेर देशलाई बदल्ने गरी एउटा बाटो दिन्छौँ ।
भनेपछि यसपालि ट्रयालमा फेल भइँदैन ?
उम्मेदवार बन्ने कुरा केवल विश्वप्रकाशको मात्रै कुरा हुँदैन । त्यो भूगोलका साथीभाइको कुरा पनि हो । त्यहाँका दिदीबहिनी दाजुभाइको कुरा पनि हो । पार्टीको निर्णयको पनि कुरा हुन्छ । म विजयी हुँदैगर्दा केवल विश्वप्रकाश शर्मा विजयी हुँदैन । त्यो क्षेत्र विजयी हुन्छ । म महामन्त्री बन्दै गर्दा केवल विश्वप्रकाश शर्मा महामन्त्री बन्ने होइन । हामी सबै भएका हौँ । त्यसका लागि झापाभित्रका साथीहरूले पनि विश्लेषण गर्नुपर्छ । झापा–१ मा म दुई पटक हारेँ । तर, पार्टी पाँच पटक हारेको छ । ६ वटा संसदीय निर्वाचनमध्ये एकपटक नरेन्द्रविक्रम नेम्बाङ विजयी हुनुभएको थियो । चक्रप्रसाद बाँस्तोला हार्नुभएको छ । के उहाँमा बौद्धिकता, क्षमता थिएन ? गोपालकुमार बस्नेत हार्नु भएको छ । उहाँमा सम्भावनाहरू थिएनन् ?
त्यसैले त्यो भूगोलले अब विश्लेषण गर्ने बेला भएको छ । चक्रप्रसाद बाँस्तोला पराजित हुनुभयो । तर मर्दै गर्दा पनि कांग्रेसकै झण्डा ओडेर मर्नुभयो । एउटा उचाइमा पुगेर बित्नुभयो । तर, उहाँलाई जित्नुभएका एमालेका नेता कहाँ हुनुहुन्छ त ? गोपालकुमार बस्नेत जहाँ हुनुहुन्थ्यो, त्यहीँ हुनुहुन्छ । तर, उहाँलाई पराजित गर्ने नेता कहाँ हुनुहुन्छ । सबै कुराको समीक्षा गरेर हामी एउटा राम्रो निष्कर्षमा पुग्छौँ ।
यसपटक कार्यकारी पदमा दाबी गर्ने भन्नुभयो । यसको अर्थ तपाईंहरू देउवालाई प्रधानमन्त्री बनाउने अजेण्डा लिएर चुनावमा जानुहुन्न ?
अजेन्डा भनेका फरक चिज हो । संसदीय दलमार्फत प्रधानमन्त्री बन्ने पद्धति छ । त्यो पद्धतिको विषय अलग हो ।
अलग नै सही तर यसपालि संसदीय दलको नेता छनौटमा तपाईंहरूको दाबी रहन्छ कि रहन्न ?
स्वभाविक रूपमा रहन्छ । यदि कांग्रेसमा प्रधानमन्त्री सार्वजनिक गरेर जाने भन्ने पद्धतिहरू हुन्थ्यो भने, ती विषयहरू अहिले प्रवेश हुन्थे । प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित होइन, जनताले छानेका सांसदहरूले छानेकालाई बनाउने भन्ने प्रणाली भएको हुँदा स्वभाविक छ, कांग्रेस वैकल्पिक नेतृत्वका साथ जान्छ । अरु दलमा त्यस्तो छैन ।
एमालेमा कहिल्यै केन्द्रीय समितिको मान्छे बोलेको सुन्नु भएको छ ? कांग्रेसका दुईवटै महामन्त्रीभन्दा जेठो हुनुहुन्छ, एमालेको महासचिव । उहाँलाई प्रधानमन्त्रीकोे सम्भावित उम्मेदवार हो भनेर कसैले उच्चारण गरेको सुन्नु भएको छ ? सुवास नेम्वाङ दुई पटक सभामुख भइसक्नुभयो । ईश्वर पोखरेलले उपप्रधानमन्त्रीबाट प्रधानमन्त्री बन्ने बेला भएन ? अब प्रधानमन्त्री बन्छु भन्ने साहस केपी ओलीका अगाडि कसैले गर्दैन । तर कांग्रेसा थुप्रै विकल्पहरू अगाडि आएका छन् । युवादेखि मधेसीसम्मका साथीहरू विकल्प हुनुहुन्छ । विकल्पका बारेमा मैले अगाडिका अन्तर्वार्तामा भनेको छु । फेरि त्यही कुरा किन दोहोर्याउँ । त्यसैले हामी विकल्पको अवस्थामा छौँ । यो हाम्रो सौन्दर्य हो । शक्ति हो ।
एमालेको कुरा गर्नुभयो तर महामन्त्री भएपछि तपाईँहरूले पार्टीमा अपेक्षाअनुसार काम नगरेको टिप्पणी हुन थालेको छ । आफैँले चाहिँ यो कुरा कत्तिको महसुस गर्नुभएको छ ? तपाईँहरूले पार्टीका विभागसम्म गठन गर्न सक्नु भएको छैन ?
विभागहरू गठन गर्ने अधिकार विधानले पार्टी सभापतिलाई दिएको छ । सभापितले चाँडै गठन गर्ने भन्दै आउनुभएको छ । प्रधानमन्त्रीका रूपमा उहाँले काम गर्दैगर्दा कतिपय उहाँका व्यस्तताले पनि ढिलिएका छन् । व्यस्तताले पनि असर गरेको छ । हाम्रोे काम गर्ने पुरातन शैलीले पनि असर गरको होला । युवाहरूको सुझाव हस्तक्षेप नपुगेर पनि असर गरेको छ । हामी निर्वाचनमा जाँदैछौँ । यी सबैकुरालाई टुंग्याएरै जान्छौँ ।
तपाईंहरूकै पार्टीप्रति शुभेच्छा राख्ने अग्रजहरूले तपाईं (महामन्त्रीहरू) को पनि हस्तक्षेप नपुगेको भनेर आरोप लगाउनुभएको छ नि ।
कुनै कुरामा तपाईंले बोल्नु, माग राख्नु र निर्णय गर्ने अधिकार तपाईंसँगै हुनुको बीचमा फरक हुन्छ । निर्णय गर्ने अधिकार सभापतिमा हुन्छ । सभापतिको उमेरजन्य कुराले यसमा धेरै असर गरेको छ । सभापति प्रधानमन्त्रीको रूपमा रहेको व्यस्तताले पनि असर गरेको छ । पार्टी र सरकार सञ्चालनको दुईतिरैको दायित्व बोक्दा त्यसले पनि असर गरेको होला । हामी अलि आधुनिक बन्न नसकिरहेको यथार्थलाई पनि मैले स्वीकार्नु पर्छ ।
महामन्त्रीलाई सभापतिले जिम्मेवारीमा पनि पूर्वाग्रह राखेको भन्ने पनि छन् , त्यस्तो हो र ?
बिल्कुलै होइन । महामन्त्रीले फरक–फरक जिम्मेवारी निर्वाह गरिरहेका छौँ । भर्खरै नीति अनुष्ठान प्रतिष्ठानको कार्यक्रम सकियो । छ सयभन्दा बढी प्रतिनिधिहरू सहभागि हुनुहुन्थ्यो । त्यसको संयोजन गर्ने कुरामा म संलग्न थिएँ । अर्का महामन्त्री गगन थापा त्यहीबेला तालमेलका कुराहरूको निर्णयमा संलग्न हुनुहुन्थ्यो ।
गत स्थानीय निर्वाचनमा गगनजी गठबन्धन र घोषणापत्रको जिम्मेवारीमा हुनुहुन्थ्यो । म पार्टीको केन्द्रीय कार्यालयमा सात जना सहमहामन्त्रीहरूको संयोजनमा रहेका प्रदेशका डेस्कको संयोजनमा थिएँ । त्यो बेला मेरो काम फरक थियो । हामीले केन्द्रीय कार्यसमितिमा आफ्नो हिसाबले फरक मत पनि राख्यौँ । हामीले उठाएका विषयहरू निर्णयहरूमा पनि प्रतिविम्बित भएर आएका छन् । जति पर्याप्त महामन्त्रीहरूको गति हुनुपर्ने थियो, त्यो भएको छैन भन्ने हाम्रो आफ्नै विश्लेषण छ । तर परम्परागत दलमा पुरानो संस्कृतिबाट हुर्केको दलमा आएर गर्न सक्ने कुरालाई इमान्दारीपूर्वक गरेका छौँ ।
अनि त तपाईँहरू पार्टीलाई रिफर्म गर्ने भनेर भन्नुहुन्थ्यो । कार्यकर्ताले नयाँ कांग्रेस कहिले महसुस गर्न पाउलान् ?
अहिले पार्टीमा अघिल्लो पटकभन्दा व्यवस्थापनका कुराहरूमा पार्टीलाई वैधानिक व्यवस्थामा लागिसक्यौँ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति नै नबनिकन अघिल्लो कार्यकालको लामो समय बितेको थियो । अहिले कार्यसमितिमा सुरुमै कार्यसम्पादन समिति बन्यो । कार्यसम्पादन समिति बन्ने मात्रै होइन । बैठकमार्फत विधिवत रूपमा प्रस्तावहरू छफलफ भएर जान्छन् ।
अघिल्लो पटक पार्टीको संसदीय बोर्ड बनाउँदा आकारभन्दा बढी भयो भनेर आलोचना भयो । अहिले संसदीय बोर्डमा आकारभन्दा बढी राखिएको छैन । त्यसले पूर्णता पाउन भने बाँकी छ । तर, हामीले संसदीय बोर्ड बाहिर गएर टिकट वितरणको निर्णय गरेका छैनौँ । केन्द्रीय कार्यसमितिको बैठक बस्दा पहिले कसैले घण्टौँ बोलेर जाने हुन्थ्यो । सबैले छ मिनेटभित्र सक्नुपर्छ ।
भ्रातृसंस्थाहरूले पूर्णता नपाए पनि १४ वर्षदेखि थन्किएका संस्थाहरूले अहिले नयाँ नेतृत्व पाउने प्रक्रिया सुरु भएको छ । महाधिवनेश सकिएपछि निजामती कर्मचारी युनियन र प्रेस युनियनको अधिवेशन भएका छन् । पार्टीले सामूहिकतामा छलफल गरेर निर्णय गर्ने परिपार्टी बनेको छ । हाम्रो भ्रातृसंगठनको निर्माणमा जति गतिशीलता हुनुपथ्र्यो, त्यो नभएको सत्य हो । विभागहरू ६ महिनामा बनाउन नसकिएको पनि हो ।
यसपटक चुनाव अगावै हाम्रो अभियानहरू सुरु भएका छन् । अभियान र कार्यक्रमको छलफलको क्रममा छौँ । त्यस्तै मुलुक संघीयतामा गएतापनि अघिल्लो कार्यकालमा प्रदेशका समितिहरू थिएनन् । अहिले हामीले प्रदेश कार्यसमितिहरू बनाइसकेका छौँ । संरचनागत रूपमा पार्टी व्यवस्थित भएको अवस्था छ । बदलिएको समाजको अपेक्षा बमोजिम गति दिन सकिरहेका छैनौँ । तर, त्यसलाई अब व्यवस्थित गर्दै छौँ ।
पार्टीमा वीपी कोइराला, गिरिजा हुँदादेखि नै फरक मत राख्ने संस्कृति थियो । पार्टी विधानमा नचले विभाजनसम्म भएका इतिहास छन् । अहिले पार्टीमा ४० प्रतिशत मत फरक मत छ । अझै पनि किन पार्टीलाई ट्रयाकमा ल्याउन नसक्नुभएको ?
महामन्त्रीको कोणबाट हेर्दा सभापतिसँग कुनैबेला मत नमिल्दा पनि हामी प्रतिपक्षी होइनौँ । सभापति पद र महामन्त्री पद नेतृत्व गर्ने पद हो । महामन्त्री नै प्रतिपक्षीजस्तो बन्न थालियो भने पार्टी राम्रोसँग चल्दैन । सभापति र महामन्त्रीहरूबीच कतिपय विषयमा विमतिहरू हुन्छन् । त्यो स्वाभाविक हो । जीवन्त पार्टीमा त्यस्तो हुन्छ । महामन्त्रीहरू सभापतिलाई साथ दिएर पार्टी बलियो बनाएर अगाडि लैजाने कुरामा गम्भीर हुनुपर्छ । सभापतिले पनि महामन्त्रीहरूले उठाइरहेका फरक विषयमा गम्भीर हुनुपर्छ ।
पार्टी अधिवेशनको बेलामा कसले कसलाई सघाएका थियौँ ? को कुन ठाउँमा उभिएका थियौँ ? हिजो कसले कति प्रतिशत मत पाउनुभएको थियो ? त्यसभन्दा माथि उठेर जाने कर्तव्य सभापतिले पूरा गर्नुपर्छ । सभापतिले फरक विचार राख्नेले कसले कहाँ भेला गरेर के विषय उठाइरहेका छन् भन्ने कुरालाई लिएर जानुपर्छ । पार्टीभित्र प्रतिपक्ष फरक विचार कसैले राख्दा, त्यो तबसम्म फरक विचार हुन्छ जबसम्म केन्द्रीय कार्यसमितिको निर्णय हुँदैन । जब केन्द्रीय कार्यसमितिको निर्णय हुन्छ, ती सबै त्यहीँ विलय हुन्छन् । यो हाम्रो परम्परामात्रै होइन, लोकतान्त्रिक अभ्यास पनि हो ।
सरकार तपाईंहरूको छ, त्यहाँ तपाईंहरूजस्ता पार्टीमा निर्वाचितभन्दा अनिर्वाचितहरूको बाहुल्य छ, तर, सरकारका हर कामको तपाईंहरूले बचाउ गर्नुपरेको छ, धेरै अप्ठेरो छ है राजनीति गर्न ?
पार्टीको नेतृत्वले कसैलाई जिम्मेवारी दिँदै गर्दा निर्वाचित वा अनिर्वाचित भन्ने रेखा कोर्नु हुँदैन । ०१५ सालको संसदमा कृष्णप्रसाद भट्टराई सभामुख हुनुभयो । त्योबेला संवैधानिक व्यवस्था थियो । बाहिरबाट पनि मान्छे ल्याएर पदमा राख्न पाइन्थ्यो । उहाँ गोरखाबाट उपविजेता हुनुभएको थियो । उहाँ सभामुखका रूपमा मात्रै सफल होइन, देशकै राजनीतिमा सफल नेतृत्वको रूपमा स्थापित हुनुभयो ।
संसदीय प्रक्रियामा सामेल, उम्मेदवार भएर जित्ने वा हार्ने कर्म नगरिकन कसैले विषयगत रूपमा कुनै योग्यता राख्दछ भने प्रधानमन्त्रीले निजलाई राष्ट्रिय जिम्मेवारीमा राख्नुपर्छ ।
प्रधानमन्त्रीले मन्त्रीहरू चयन गर्दैगर्दा संसदकै हुनुपर्छ अथवा मन्त्री भएको छ महिनाभित्र सांसद हुनुपर्छ भन्ने अहिलेको व्यवस्था हो । त्यो व्यवस्थाले राजनैतिक नेतृत्वलाई सम्बोधन गर्छ । जनताबाट निर्वाचित भएर आउने व्यवस्थालाई बलियो बनाउँछ । तर, जनताबाट निर्वाचित भएर आउनुपर्छ भन्ने व्यवस्थालाई जसरी बलियो बनाउन जरुरी छ । त्यसरी देशलाई रुपान्तरण गर्न चुनावमा गएका हुनकि नहुन्, हामीले उहाँहरूलाई जिम्मेवारी दिनुपर्छ । हामीले त्यस्तो संवैधानिक व्यवस्था पनि रुपान्तरण गरेर जानुपर्छ ।
प्रधानमन्त्री जितेर आएको वा मनोनित गरेर आएको भन्दा पनि बाहिर कोही अलग्गै छन् । जसलाई मन्त्रालय चलाउन लगाउँदा एउटा दृष्टिकोणका साथ हाँक्न सक्दछन् भने राष्ट्रले त्यो भिजनबाट विमुख किन हुने ? त्यसैले को निर्वाचित वा अनिर्वाचित आउनुभयो र जिम्मेवारी पाउनुभयो भन्नु भन्दा बाहिरबाट साथीहरू आउने कुरालाई संवैधानिक गरेर जानुपर्छ ।
गठबन्धन सरकारमा माओवादी, नेकपा एसले गरेका कामको जस अपजस पनि प्रधानमन्त्रीय पद्धतिमा तपाईंहरूलाई नै जान्छ, सरकारको मूल्यांकन गर्ने दायित्व र कर्तव्य तपाईंहरूको हो कि हैन ?
सरकारको मूल्यांकन गरेरै हामीले केन्द्रीय कमिटीमा कमजोरी औँल्याएका छौँ । सरकारको कमजोरी यस्तो अवस्थामा पुग्नु हुँदैन, जहाँ हामीलाई प्रतिरक्षा गर्न गाह्रो होस् । निर्वाचनमा जाँदैगर्दा समेत राष्ट्रिय राजनीतिमा सरकारले गरेका राम्रा कामहरूको सकारात्मक प्रभाव पर्छ । कमजोरीहरूले नकरात्मक असर पर्छ । त्यसबारे हामी सजक छौँ । हामीले सरकारलाई घचघच्याइरहेका छौँ । भएका राम्रा कामलाई जनताबीच राखेका पनि छौँ । कमजोरीहरू प्रधानमन्त्री सामुन्ने पार्टीको केन्द्रीय बैठकमा उठाएका छौँ ।
अन्त्यमा हामीले जतिपनि कुरा गर्र्यौँ, पार्टीको महामन्त्रीको हैसियतमा कति प्रतिशत र व्यक्ति विश्वप्रकाशको हैसियतमा कति प्रतिशत बोल्नुभयो ?
दुवै कुरा अन्तरघुलित हुन्छ । मैले कतिपय बाहिरका साथीलाई पनि जिम्मेवारीमा अवसर दिनुपर्छ भन्ने धारणा राखेँ । यो व्यक्तिगत धारणा हो । तर, पार्टीको आधिकारिक विचार बन्नु पूर्व महामन्त्रीले नयाँ विचार सिर्जना पनि गर्छ । छलफल र बहस गर्छ । महामन्त्रीको बोल्ने सहजता प्रवक्ताको भन्दा फरक हुन्छ ।
हिजो प्रवक्ता हुँदा विश्वप्रकाश गौण हुन्थ्यो । पार्टी प्रधान हुन्थ्यो । त्यसबेला विश्वप्रकाश शर्माको दृष्टिकोण हुन पनि सक्थ्यो । नहुन पनि सक्थ्यो । तर, अहिले प्रवक्ताभन्दा फरक अवस्थामा छु । त्यो भनेको विश्वप्रकाश शर्मा पनि त्यहाँ बोलिरहेको हुन्छ । पार्टीको दृष्टिकोणलाई प्रतिनिधित्व गरेर महामन्त्री पनि बोलिरहेको हुन्छ । कतिपय कुरा पार्टीको दृष्टिकोण नबनिसकेको कुरा पार्टीको दृष्टिकोण बनाउने हिसाबले बोलिरहेको हुन्छु ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया