वार्ता

ठीक ३३ वर्ष पहिले हरिहर विरहीले प्रदीप गिरिसँग गरेको अन्तर्वार्ता

‘मेरो उपर त गिरिजाबाबुले सांघातिक हमला नै गराउनु भयो’

हरिहर विरही |
भदौ ७, २०७९ मंगलबार १४:४ बजे

केही महिनाअघि अप्रत्याशित रूपले गिरफ्तार गरिनुभएका युवा राजनीतिज्ञ एवं बुद्धिजीवी प्रदीप गिरि हालै रिहा हुनुभएको छ । यस गिरफ्तारीपछि उहाँलाई सरकार समर्थक केही पत्रिकाले ‘र’ को एजेन्ट र भारतीय सञ्चार माध्यमले ‘भारत समर्थक’ भनेर व्यापक रूपमा प्रचार गरेको सर्वविदितै छ । शुद्ध कांग्रेसी परिवार र संस्कारमा जन्मनुभएका गिरि कांग्रेसका निमित्त पनि विवादास्पद रहिआउनुभएको छ । आफूलाई ‘समाजवादी’ भन्‍न रुचाउने उहाँले नेपाली कांग्रेसको इतिहासका अतिरिक्त लेनिन, गान्धी, रोजा लक्जेम्बर्ग, ग्राम्स्की, लोहिया र समाजवादबारे पुस्तक र धेरै लेख लेख्नुभएको छ । उहाँलाई निकटबाट अध्ययन गर्नेहरू गिरिलाई ‘अव्यावहारिक र समयअनुसार हिँड्न नसक्ने’ ठान्दछन् । उहाँको प्रतिभा, अध्ययनशीलता र वाककौशलको प्रशंसा नगर्ने कमै छन् । उहाँ भारतबाट धेरै प्रभावित देखिनुहुन्छ । उहाँ नेपाल मानव अधिकार संगठनको महामन्त्री र प्रजातान्त्रिक समाजवादी युवा दलको अध्यक्ष हुनुहुन्छ ।

तपाईंलाई त भारतको गुप्तचरी संस्था ‘र’को एजेन्ट भनिन्थ्यो । नेपाल–भारतबीच गतिरोध उत्पन्‍न भएपछि तपाईं विद्यार्थी भड्काउने षड्यन्त्र गर्दै हुनुुहुन्थ्यो रे । यस्तो गम्भीर आरोप लागेको मान्छे यति चाँडै कसरी छुट्नुभयो ?
कसैले औंला देखाउँदैमा फर्सी कुहिन्‍न । कसैले आरोप लगाउँदैमा कोही कसैको एजेन्ट हुँदैन । मेरो गिरफ्तारी यो सरकारको बौद्धिक टाट उल्टाइको झिनो र सानो नमूना मात्र हो । हो, नेपाल–भारतबीचको हालको समस्या खडा भएपछि मैले विभिन्‍न ठाउँमा सामान्य रूपले भइरहने छलफलहरूका क्रममा आफ्नो विचार र आफूले बुझेका तथ्यहरू प्रस्टसँग राखेको थिएँ । त्यहाँ मैले मरीचमान सरकारको कार्यशैली तथा अक्षमता र अयोग्यताबारे पनि टीकाटिप्पणी गरेको थिएँ । मैले के देखेको छु भने पञ्चायत व्यवस्था लागू भएपछि जति पनि प्रधानमन्त्री भए, त्यसमध्ये प्रत्येक नयाँ प्रधानमन्त्री पछिल्लो प्रधानमन्त्रीभन्दा नालायक हुँदो रहेछ । तुलसी गिरि, सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट, नगेन्द्र रिजाल, लोकेन्द्रबहादुर चन्द, त्यसपछि मरीचमान, म यिनमा गणितीय ह्रास देख्छु । मरीचमानलाई मैले आज अघि भएका सबै प्रधानमन्त्रीहरूमध्ये सर्वाधिक अयोग्य ठानेको छु ।


यति मात्र होइन, भारतसँग नेपालको सम्बन्ध बिग्रनुको पछाडि सबैभन्दा बढी जिम्मेवार मरीचमान नै छन् । मरीचमानले जिम्मेवारी पूरा नगरेको मात्र होइन, घोर गैरजिम्मेवारी काम गरेका छन् । मरीचमान प्रधानमन्त्री रहेसम्म भारतसँग कुरा मिल्दैन । वातस्वतमा यस्तो प्रधानमन्त्री रहेसम्म भारतले कुरा गर्नु पनि हुँदैन । पञ्चहरू मरीचमानको राजीनामाको माग गर्छन् । तर म त भन्छु, यस्तो प्रधानमन्त्रीको राजीनामा माग्नु हुँदैन । राजीनामा दिएर उम्कने मौका दिनु नै हुँदैन । श्री ५ महाराजाधिराजबाट ठाडै बर्खास्त गरी बक्सनुपर्छ । बर्खास्त गरेर मुद्दा चलाउनु पर्छ । ...यस्ता र सायद यो भन्दा कडा कुराहरू त्यसबेला धेरै ठाउँमा भनेको थिएँ । मलाई थुन्‍नुपर्ने योबाहेक अरु कारण मैले देखेको छैन ।

सरकार र व्यवस्थालाई तपाईंले भन्दा बढी गाली गर्नेहरू पनि यहाँ छन्, तर उनीहरूलाई केही नगरी तपाईंलाई नै थुन्‍नु अलि रहस्यमय नै छ । त्यसबेला तपाईंले आन्दोलन गर्ने वा सरकारको भनेझैँ ‘विद्यार्थी भड्काउने’ पनि प्रयास गर्नुभएको थियो ?
त्यसबेला नेपाल–भारत सम्बन्धी गतिरोधको सन्दर्भमा इतर पक्षको के भूमिका हुने भन्‍नेबारे कोठे बैठकहरूमा छलफल हुँदा मैले भनेको थिएँ, ‘अब इतर पक्षले हात बाँधेर बस्नु हुँदैन । इतर पक्षले आफ्नै प्रकारको भूमिका गर्नुपर्छ । त्यो भूमिका आन्दोलन पनि हुन सक्छ संघर्ष, सत्याग्रह जे पनि हुन सक्छ । इतर पक्षसँग संगठित र सशक्त भएर अघि बढ्न एउटा राम्रो अवसर आएको छ, यो मौका छोड्नु हुँदैन ।

जहिलेदेखि मैले सोच्न थालेँ, त्यसै बेलादेखि म र कांग्रेसबीच समस्या उत्पन्‍न हुन थाल्यो । मेरो उपर त गिरिजाबाबुले एकपटक सांघातिक हमला गराउनु भयो ।’

हामी सबै एक हुने हो भने मरीचमान भोलि हाम्रो शरणमा आउँछन् । यो पनि मैले भनेको थिएँ । यस्तै कुरा त्यहाँ पुग्यो होला । म आफ्नो कुरा कसैसँग लुकाउँदिनँ । त्यो दिन त्यो बैठकमा बसेको त्यो मान्छे सीआईडी हो भन्‍ने बुझ्दा–बुझ्दै पनि मैले भनेको थिएँ । अफसोच छ, मैले भनेँ मात्र, गर्न चाहिँ केही सकिनँ ।

तपाईंको विचार अहिले पनि त्यही छ ? थुनिएपछि कुनै परिवर्तन आएको छ कि ?
अहँ, पटक्कै छैन । मेरा विचार, धारणा आज पनि त्यही छन्, जो हिजो वा अस्ति थिए र मेरा ती सोचाइहरू बिल्कुल सही रहेछन् भन्‍ने कुरामा झन् विश्वस्त भएको छु ।

पञ्चायत व्यवस्थाप्रति तपाईंको के धारणा छ ?
पञ्चायत भनेको एउटा नाम हो, नामले के पो गर्छ र ? मुख्य कुरो के हो भने, कुन कुन वर्ग र वर्ण, कुन शक्ति र सम्प्रदायहरू यस आवरणभित्र क्रियाशील छन्, यसलाई ‘यो फासिस्ट व्यवस्था हो’ भनी कुर्लने मेरै मित्रहरू हुनुहुन्छ– प्रजातन्त्रवादी खेमामा पनि, वामपन्थी खेमामा पनि । उहाँहरूलाई फासीवादको परिभाषा थाहा छैन । अर्कातिर यो व्यवस्थालाई ‘पूर्ण प्रजातन्त्रवादी’ भन्‍ने मित्रहरू पनि हुनुहुन्छ । उहाँहरूलाई प्रजातन्त्रको परिभाषा थाहा छैन । यस व्यवस्थाका आफ्नै केही विशेषता छन् । बर्मामा नेविनले सृष्टि गरेको व्यवस्था, इन्डोनेसियामा सुकार्नाले सृष्टि गरेको व्यवस्था अथवा तेस्रो विश्वका अनेकौ शासकहरूले बनाएका व्यवस्थासँग यसका धेरै गुणहरू मिल्दाजुल्दा छन् ।

तर पनि ती व्यवस्था र यसका धेरै भिन्‍नता पनि छन् । मुख्य भिन्‍नता त के छ भने यस व्यवस्थाको परिकल्पना राजाबाट भयो । त्यसैले यसलाई आफ्नै किसिमको गरिमा दिएको छ र नागरिकहरूलाई आफ्नो परिधिमा बसेर सहभागी पनि बनाएको छ । संक्षेपमा म यसलाई तेस्रो विश्वका अधिकांश मुलुकहरूमा देखापरेको उपनिवेशोत्तर राज्यका अवधारणाहरूबाट विभूषित र परिभाषित ठान्दछु । धेरै राजनीतिक विश्लेषकहरूको गल्ती के हुन्छ भने हामी नयाँ वस्तुस्थितिलाई पनि पहिलेदेखि चलिआएको फासिस्ट कि प्रजातन्त्र भन्‍ने प्रकारको राजनीतिक अवधारणाका सहायताले मात्र बुझ्न खोज्छौं । यस्तो भूल अनेकौं प्रश्नमा वामपन्थीहरूले र प्रजातन्त्रवादीहरूले पनि गरिरहेका छन् ।

आज धेरै शब्दहरूको नयाँ परिभाषा गर्नुपरेको छ, पुनर्परिभाषा अर्थात् डिकन्स्ट्रक्सन । अब ‘प्रजातन्त्र’ भनेर मात्र पुग्दैन । जुन अर्थमा आज प्रजातन्त्र शब्दको प्रयोग गरिन्छ, त्यो बिल्कुल अपर्याप्त भएको छ । प्रजातन्त्रको पश्चिमी धारणाले हामी सबैलाई प्रभावित गरेको छ, जसअनुसार सबैले समान अधिकार भए पुग्छ । तर, यति नपुग्ने रहेछ । जस्तै, आज अमेरिकामा कानुनी अधिकारको सबैलाई समान छ । तर के त्यहाँकाले कहिल्यै सर्वाेच्च पदमा पुग्छन् त ? वास्तवमा पश्चिमतिर पनि अब के कुरा उठिरहेछ भने समानताको अवसरले पुग्दैन, ‘विशेष अवसर’ चाहिन्छ ।

प्र.ने.का. (प्रतिबन्धित नेपाली कांग्रेस) को वर्तमान नीतिबारे के भन्‍नुहुन्छ ?
प्र.ने.का.को कुनै नीति भए झैँ लाग्दैन । गीतामा ‘नीति रश्मि जीगीधताम्’ भनिएको छ । नीति भएको भए प्र.ने.का. उहिल्यै विजयी भइसक्ने थियो । वास्तवमा प्र.ने.का.सँग नीति, रणनीति केही छैन ।

एक समय तपाईं प्र.ने.का.को प्रखर युवा नेता गनिनुहुन्थ्यो र पार्टीका तत्कालीन नेता बीपी कोइराला, अझ कोइराला परिवारकै प्रियपात्र हुनुहुन्थ्यो । तर, अचानक तपाईं कांग्रेससँग छुट्टिनुभयो र त्यसपछि त्यही संगठन र नेताहरूको उच्च आलोचक बन्‍नुभएको छ । कारण के हो ? तपाईंले पार्टी छाड्नुभएको हो कि तपाईंलाई पार्टीबाट निकालिएको हो ?
कांग्रेससँग मेरो सधैँ आफ्नै किसिमको सम्बन्ध रह्यो । मेरो पिताजी (मित्रलाल गिरि) तिनताका कांग्रेसको सिरहा–सप्तरीको अध्यक्ष हुनुहुन्थो र २०१७ सालपछि निर्वासनमा हुनुहुन्थ्यो । म पिताजीसँगै बस्दथेँ । घरमा कांग्रेसी नेता र कार्यकर्ता आइरहन्थे । तिनीहरूसँग उठबस गर्दागर्दै, आफूले जान्दा नजान्दै, मलाई मान्छेले कांग्रेस भन्‍न थालेछन् । कांग्रेस अफिसमा गएर सदस्यता लिएर म विधिवत् कहिल्यै कांग्रेस भइनँ । त्यसैबेला स्व. सरोज कोइरालासँग भेट भयो । उहाँसँग भेट नभएको भए मेरो विचाराधारा कदाचित् झन् झन् वामपन्थतिर जाने थियो होला । त्यसबेला म १२–१३ वर्षको थिएँ, धेरै कुरा थाहा पनि थिएन । पछि  जब उमेर बढ्दै गयो, स्वभावत: सोच्न, विचार्न र चिन्तन गर्न पनि थालेँ । जहिलेदेखि मैले सोच्न थालेँ, त्यसैबेलादेखि म र कांग्रेसबीच समस्या उत्पन्‍न हुन थाल्यो ।

तुलसी गिरि, सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट, नगेन्द्र रिजाल, लोकेन्द्रबहादुर चन्द, त्यसपछि मरीचमान, म यिनमा गणितीय ह्रास देख्छु ।

कांग्रेसभन्दा, कांग्रेसका तत्कालीन नेताले अपनाएका कतिपय कुरा मलाई चित्त बुझेनन् । पहिले सुवर्णजीले अपनाउनुभएको ‘सभक्तिपूर्ण सहयोग’को नीतिप्रति पनि म शंकालु नै थिएँ । स्वं कोइराजाजीले स्वदेश फर्किने बेला प्रतिपादन गर्नुभएको ‘राष्ट्रिय मेलमिलापको नीति’ पनि अन्तर्विरोधले ग्रस्त छ । तर, नेताले गरेको कुनै कुराप्रति तर्क गर्नासाथ कांग्रेसभित्र विभिन्‍न शंका गरिन्छ । यसरी क्रमश: नजानिँदो किसिमले कांग्रेसको तत्कालीन नेतृत्वसँग मेरो दूरी बढ्दै गयो । कांग्रेसलाई एउटा आन्दोलनको रूपमा मैले आज पनि समर्थन गरेको छु । सत्याग्रहमा हामीले सोत्साह भाग लियौं । कांग्रेसले प्रजातन्त्रको निमित्त संघर्ष गर्छ भने हामी आज पनि विनासर्त सहयोग गर्नेछौं । कांग्रेस मैले छोडेको पनि होइन, कांग्रेसबाट मलाई निकालिएको पनि छैन ।

तर प्र.ने.का.का कतिपय कार्यकर्ताहरू तपाईंलाई ‘सन्दिग्ध’ र गुप्तचर ठान्दछन् । यो तपाईंलाई थाहा छ ? यसका पछाडि के कारण छ ?
कसैले औंला देखाउँदैमा फर्सी कुहिन्‍न भन्‍ने कुरा माथि नै भनिसकेको छु । यो आरोप पनि त्यस्तै हो । म यस्तो कुराको वास्ता पनि गर्दिनँ । थाहा नभएको त कहाँ हो र ? विराटनगरबाट गिरिजाबाबुको ज्वाइँ पर्ने एउटा केटोले एउटा पूरा किताब नै छापेको छ ।

प्र.ने.का.सँग नीति, रणनीति केही छैन ।

मबाहेक प्रकाश कोइराला र दुर्गा सुवेदीलाई समेत मुछेर चाहिने नचाहिने धेरै कुरा कांग्रेसको एउटा पक्षले सधैँ चलाउँछ । त्यही तत्वले पछि योगप्रसादजी र वासु रिसालजीलाई पनि प्रहार गर्‍यो । भट्टराईजीले पछि त्यस्तो उच्छृंखल तत्वलाई कारबाही पनि गर्नुभयो क्यारे । तर, त्यस्तो तत्व निर्मूल भएको छैन । सायद कुनै पनि ‘मास–पार्टी’बाट त्यस्ता तत्व निर्मूल हुँदैनन् । गुप्तचर भन्‍नु वा ‘र’ को एजेन्ट भन्‍नुमा ठूलो कुरो के भयो र ? मेरो उपर त गिरिजाबाबुले एकपटक सांघातिक हमला गराउनु भयो ।

कहाँ ?
बनारसमा एक रात, राति १२ बजे एकाएक र अप्रत्यासित रूपमा खुमबहादुर खड्का (प्र.ने.का.को वर्तमान केन्द्रीय सदस्य) र रामचन्द्र बाँस्तोलाले म सुतेको घरमा हमला गरे । म सख्त घाइते भएको थिएँ । त्यसबेला निक्कै चर्चित भएको यो घटना २७ जनवरी १९७६ को हो ।

तपाईंमाथिको त्यो हमला गिरिजाप्रसाद कोइरालाले नै गराउनु भएको हो भन्‍ने कुनै प्रमाण छ तपाईंसँग ?
त्यो घटना के हो र कसरी भयो, त्यो कुरो त्यस काण्डमा हिजो सहभागी रहेको तर आज गिरिजाबाबुसित मोहभंग भएका कार्यकर्ताहरूले मलाई बताइसकेका छन् । तर, यो सबै भएको पनि अब त १५ वर्ष भइसक्यो । गिरिजाबाबुमा अब पहिलेको जस्तो आक्रामकता वा दादागिरि देखिँदैन । १५ वर्ष अघिको घटनाको घाउ सधैँ आलो रहँदैन । खत भने रहने रहेछ । तर यस्ता कुराका आधारमा राजनीतिक दृष्टिकोण बन्दैन । परिवर्तित सन्दर्भमा म सिद्धान्त र कार्यक्रमका आधारमा उहाँसँग मिलेर काम गर्न तयार छु । उहाँ वा कोइरालाप्रति मेरो कुनै व्यक्तिगत पूर्वाह छैन ।

मरीचमानलाई सम्झियो भने कि म नीतिकथाको बाँदर सम्झन्छु ।

यद्यपि गिरिजाप्रसाद कोइराला दक्षिणपन्थी र सम्झौतावादी नै हुनुहुन्छ भन्‍ने विश्वासमा म कायम नै छु । अर्को कुरा, जे जस्तो साधारण देखिए पनि तिनताकको गिरिजाप्रसाद कोइरालाको क्रियाकलाप कांग्रेसको इतिहासको अंग भएको छ । उहाँको कथित संगठन कौशल र अधैर्यले प्रनेकाको धेरै क्षति भएको छ । ओखलढुंगा काण्डलाई नै सम्झनुहोस्, गिरिजाप्रसाद कोइरालाका विवेकहीन कार्यहरूको एउटा त्रासदी हो, त्यो । गणेशमानसिंहको अदालतको यस सन्दर्भको बयानले पनि यस त्रासदीको राम्रो जानकारी दिएको छ ।

तपाईंमाथि हमला भएकामा तपाईं कोइरालासँग क्षुब्ध हुनुहुन्छ । तर कसै कसैको भनाइ छ, तपाईंले त्यसबाट पार्टीभित्र बसेर यस्ता अपराध वा गद्दारी गर्नुभयो, त्यस निम्ति तपाईंलाई पार्टीले मृत्युदण्डको सजाय दिनुपर्ने थियो । तर नेताहरूले तपार्इंविरुद्ध कुनै कारबाही नगरेकोले कार्यकर्ताहरू अघि सरेका हुन् रे ?
त्यस घटनामा सहभागी कतिपय पात्रहरूसित मेरो कुरा भइसक्यो । तर कुरा मात्र होइन, म उनीहरूको मनोविज्ञान पनि बुझ््छु । त्यस्तो क्रूर, हिंस्रक र विवेकहीन कार्यको नेतृत्व जहिले पनि त्यस्तै मानिसले गर्छन् । समाज मनोविज्ञानको भाषामा यस्ता मानिसलाई सीमान्त मानव भनिन्छ । अधिकांश मण्डलेहरू यस्तै समूहमा हुर्कन्छन् ।

तपाईंले केही समय स्व. बीपी कोइरालाको निक्कै नजिक रहनुभयो । उहाँको व्यक्तित्व र विचारबारे तपाईंको सोचाइ के छ ?
राम्ररी जान्‍न बुझ्न त कसले पो कसलाई सक्छ र ? झन् बीपी जस्तो संश्लिष्ट व्यक्तित्वलाई । तर सार रूपमा म उहाँलाई आफ्नो युगको उत्कृष्ट सन्तानका रूपमा हेर्छु । कोइरालामा गान्धीको नैतिक तडप र नेहरूको बौद्धिक खोजको समन्वय थियो  यो समन्वय सजिलो छैन । यसको आफ्नै सीमा र द्वन्द्व छ । यो सीमा र द्वन्द्वबाट कोइराला मुक्त हुनुहुन्‍न । तर अर्काे महत्वपूर्ण कुरा छ, कोइरालामा बेलाबखतमा संकटको घडीमा आफूलाई नवीकरण गर्ने क्षमता थियो । उहाँ समयअनुसार काँचुली फेर्न सक्नुहुन्थ्यो र सजिलै फेर्नुहुन्थ्यो । यो महापुरुषहरूको खुबी हो । यो विशेषता मैले बीपीमा पनि देखेँ । २००७ सालको बीपी, २०१६ सालमा प्रधानमन्त्रीको रूपमा बीपी, २०१७ सालपछि जेलमा बस्दाको बीपी, जेलबाट छुटेपछि सशस्त्र क्रान्तिको आह्वान गर्ने बीपी र राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछिको बीपी– बीपीले यसरी धेरै काँचुली फेर्नुभयो । यसलाई महानता पनि भनिन्छ ।

तपाईंले यस्तो ‘माहनता’ कति पल्ट गर्नुभयो ? कतिपल्ट काँचुली फेर्नुभयो ?
काँचुली मैले पनि फेरेको छु । धेरै फेरेको छु । एक जमानामा म स्व. बीपी कोइरालाको अन्धभक्त थिएँ । पछि कृष्णप्रसाद भट्टराईको अन्धभक्त भएँ । समय बित्दै जाँदा मलाई के लाग्यो भने कुनै पनि व्यक्ति महत्वपूर्ण होइन, विचार महत्वपूर्ण हो । तर, विचारको सन्दर्भमा पनि मैले काँचुली फेरेको छु । एक जमानामा म अन्ध कम्युनिस्ट विरोधी थिएँ । अहिले कम्युनिस्टहरूसँग मिलेर हरेक मोर्चामा काम गर्न तयार छु । त्यस्तै, पहिले पञ्च भन्‍नासाथ र कुनै पञ्चलाई देख्नासाथ रीस उठ्थ्यो । तुलसी गिरिको ‘तु’ मात्र सुन्दा पनि नफरत हुन्थ्यो । अहिले कैयौं पञ्चहरूसित अत्यन्त सकारात्मक धारणा छ । त्यस्तै, अरु पनि कैयौं पुराना सोचाइ र संस्कारबाट फनक्क फन्को मारेको छु । तर एक दुईटा प्रश्नमा भने म अझै अडिग छु । जस्तै : तानाशाही । तानाशाही चाहे कुनै नेताको होस् या शासकको होस् समर्थन कहिल्यै गरेको छैन ।

तपाईंमा आएका परिवर्तनहरू हेर्दा एक दिन तपाईंले पञ्चायत व्यवस्थालाई पनि स्वीकार गर्नुहुनेछ भन्‍ने शंका गर्न सकिन्‍न र ?
मैले माथि नै भनेँ, पञ्चायत शब्दसँग मलाई कुनै चीढ छैन । पञ्चायत व्यवस्थाले आफूमा परिवर्तन ल्यायो भने म भोलि नै पञ्च भइदिन्छु । पञ्चायत व्यवस्थाले तीन पटक काँचुली फेरिसक्यो, अब चौथो पल्ट फेरोस् र हामीले चिताएको जस्तो विधान ल्याओस्, म पञ्चायत व्यवस्थाको पहिलो समर्थक हुनेछु । काँचुली फेर्न मलाई पटक्कै डर छैन ।

तपाईं प्राय: प्रत्येक राजनीतिक समूहलाई विभाजित गरेर हेर्नुहुन्छ : कांग्रेसभित्र गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई भने ठीक, गिरिजा भने बेठीक, त्यस्तै पञ्चायतमा एउटा असल अर्काे खराब भन्‍नुहुन्छ । एउटा निश्चित विचारधारा र कार्यक्रमप्रति समर्पित रहेका राजनीतिक समूहहरूभित्र यो भेद देख्नु आफ्ना विरोधी संगठनलाई फुटाउने चाल त हैन ?
हरेक वस्तुस्थितिमा द्वन्द्व छ, यो एउटा नियम नै हो भने पनि हुन्छ । पञ्चायतभित्र वा कांग्रेसमा चाहिँ द्वन्द्व किन नहुने ? हाल पञ्चायतमा सूर्यबहादुर थापाको र मरीचमानको सोचाइमा द्वन्द्व देख्छु । थापाले संविधानको अक्षरश: पालना गर्ने, गराउने क्रममा सत्ताच्यूत हुुनुपर्‍यो, मरीचमान भने संविधानसँग वास्ता नराख्ने हुँदा नै सत्तामा टिकेका छन् ।

बीपी कोइरालाको अन्धभक्त थिएँ । पछि कृष्णप्रसाद भट्टराईको अन्धभक्त भएँ । कम्युनिस्टको अन्ध विरोधी थिएँ । अहिले कम्युनिस्टहरूसँग मिलेर हरेक मोर्चामा काम गर्न तयार छु ।

खासमा मरीचमान सिंह संविधानको आत्मा र अक्षर समेतको हत्याका निम्ति प्रधानमन्त्री बनेका हुन् भन्‍ने धेरै प्रमाण छन् । यही कुरो सबै पञ्चका बारे भन्‍न सकिँदैन । थापा मात्र हैन, अर्जुननरसिंह केसी, वीरेन्द्रजी र पदम ठकुराठी जस्ता पञ्चकाबारे पनि भन्‍न सकिन्‍न । यी पञ्चहरूलाई दीपक बोहरा, भीमप्रसाद गौचन र लीलाराज बिष्टका समतुल्य मान्‍ने कुरै उठ्दैन । कांग्रेसभित्र त यो द्वन्द्व झन् टड्कारो रूपमा देखिएको छ । आज मात्र होइन, नेपाली कांग्रेसमा यस्तो द्वन्द्व सधैँ थियो । ऐतिहासिक विकासका क्रममा अनुहार बदलिएका छन्, पात्र फेरिएका छन्, तर द्वन्द्व भने रहिरहेको छ । वर्तमान परिवेशमा प्र.ने.का.भित्र संघर्ष र त्यागको एउटा प्रवृत्ति छ भने समर्पणवाद र उपभोगवादको संस्कार पनि उत्तिकै छ ।

नेपाल–भारत सम्बन्धको गतिरोधको सन्दर्भमा नै तपाईं समातिनुभएको थियो । दुई देशबीच हाल चलिरहेको विवादप्रति तपाईंको के दृष्टिकोण छ ?
म किन समातिएँ, यो मरीचमान नै जानून् । नेपालमा को किन समातिन्छ, त्यो न जानिन्छ, न भनिन्छ । जहाँसम्म नेपाल–भारतबीच गतिरोधको प्रसंग छ, निश्चय नै यो विशाल विषय छ । संक्षेपमा पहिलो यो गतिरोध कूटनीतिको स्तरमा मात्र सीमित थियो । तर हामीले कूटनीतिका सामान्य चालमा पनि भूल गर्‍यौं । अब हामी २००७ सालको अवस्थामा छैनौं भनेर कुर्लने नेपाली धेरै भए । तर भारत पनि अब २००७ सालको भारत रहेन । भारत अन्तरिक्ष युगमा पुगिसकेको छ र हामी भने बहादुर शाहको कूटनीतिमा अड्किएका छौं ।

कूटनीतिको एउटा सामान्य सर्वमान्य सिद्धान्त छ, त्यो ठाउँमा नपुग्नु, जहाँबाट फर्किंदा नाक काटियोस् । दोस्रो बुँदा छ, त्यो ठाउँमा नपुग्नु जहाँबाट अगाडि बढ्न असम्भव होस् । मरीचमानले नेपाललाई त्यही अवस्थामा पुर्‍याएका छन् । अचेल मरीचमानलाई सम्झियो भने कि म नीतिकथाको बाँदरलाई सम्झन्छु : झिंगा धपाउने क्रममा मालिकको नाक काट्ने बाँदरको कथा । राष्ट्रको नाकमा झिंगा बसेको छ । मरीचमान झिंगा धपाउन खोज्दैछन् । तर झिंगा धपाउने सिलसिलामा राष्ट्रको नाकै काट्ने हुन् कि भन्‍ने खतरा छ । आज कुन चाहिँ नेपालीले भारतसँग चित्त नदुखाउला र ? वर्तमान गतिरोधको क्रममा भारतले अक्षम्य अहंमन्यताको प्रदर्शन गरेको छ । हामीले चाहिँ अकथनीय मूर्खता देखाएका छौं ।

(पञ्चायतको उत्तरार्द्ध, २०४६ भदौ  १६ मा साप्ताहिक विमर्शका लागि पत्रकार हरिहर विरहीले गर्नुभएको यो अन्तर्वार्ता उहाँको स्वीकृतमा साभार गरिएको हो । यही भदौ ४ मा दिवंगत भएका सांसद तथा समाजवादी विचारक प्रदीप गिरिलाई हार्दिक श्रद्धाञ्जलि ।)


Author

थप समाचार
x