वार्ता

‘म गुल्मेलीले हेर्न चाहेको नयाँ अनुहार हुँ’

कमल विष्ट |
भदौ २९, २०७९ बुधबार १७:२९ बजे

पाँच दलीय सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदलले सिटको टुंगो लगाउन सकेको छैन । तर, गठबन्धनमा सम्मिलित दलहरूले भने उम्मेदवारी सिफारिसलाई तीव्रता दिएका छन् । नेकपा एकीकृत समाजवादीले गुल्मी २ बाट पूर्वमन्त्री रामकुमारी झाँक्रीलाई सर्वसम्मत सिफारिस गरेको छ । गठबन्धन पनि झाँक्रीलाई साझा उम्मेदवार बनाउनेमा लचिलो भएको विश्लेषण छ । 

यता प्रमुख प्रतिपक्षी नेकपा एमालेले यस क्षेत्रबाट पूर्वमन्त्री गोकर्ण विष्टसहित तीन जनालाई सिफारिस गरेको छ । तीन जना सिफारिस गरिए पनि विष्टको सम्भावना अधिक रहेको चर्चा छ । पछिल्ला चार निर्वाचनमध्ये विष्ट २०६४ को संविधान सभा निर्वाचनबाहेक अरु सबैमा निर्वाचित भएका छन् । यसो हुँदो गठबन्धनकी झाँक्री र विष्टबीच कडा प्रतिस्पर्धा हुनेछ । 


२०७४ को निर्वाचनमा विष्टलाई जिताउन सहयोग गरेकी झाँक्री यसपालि उनैसँग आमनेसामने हुनेछिन् । विष्ट यस क्षेत्रका प्रभावशाली उम्मेदवार मानिन्छन् । एकीकृत समाजवादीको सिफारिसलाई गठबन्धनले सदर गरेर टिकट पाएको खण्डमा विष्टलाई परास्त गर्न उनीसँग के–कस्ता रणनीति छन् ? चुनावी अभियान कस्तो भइरहेको छ ? यी र यस्तै प्रश्नहरू इकागजका लागि कमल विष्टले झाँक्रीलाई सोधेका छन् । प्रस्तुत छ, उक्त कुराकानीको सारसंक्षेप; 

गठबन्धनले तपाईंलाई साझा उम्मेदवार बनाउने चर्चा छ । गठबन्धनले आफ्नो नाम सदर गर्ला भन्नेमा कत्तिको आशावादी हुनुहुन्छ?

एकदमै आशावादी छु । 

गठबन्धनले पत्यायो भने साथीहरू मेरो झोला बोकेर मलाई सहयोग गर्नुहुन्छ । पत्याएन भने टिकट पाउने साथीको झोला बोकेर उहाँलाई सहयोग गर्न तयार छु । दिए पनि स्वीकार्य छ, दिएन भने पनि स्वीकार्य छ । गठबन्धनप्रति म पूर्ण रूपमा प्रतिबद्ध छु । कुनै आग्रह–पूर्वाग्रह छैन, रिस–राग छैन ।

चुनावका लागि तपाईंको केन्द्रदेखि गुल्मीसम्म व्यापक सक्रियता देखिइरहेको छ । कस्तो भइरहेको छ चुनावी अभियान ? 

मैले टिकट पाइसकेको छैन । त्यो प्रक्रियामै छ । यद्धपि म योबीचमा थुप्रैपल्ट गाउँ पुगेँ । गाउँमा वडाअध्यक्षदेखि वडा सदस्य, शिक्षकदेखि बुद्धिजीवी, सञ्चारकर्मीदेखि कर्मचारी, अभिभावकदेखि मित्र, दाजुभाइ तथा दिदिबहिनीदेखि बाबुआमा सबैसँग भेटघाट गरेँ । उहाँहरूसँग अन्तक्र्रिया गरेँ । ती भेट केही व्यक्तिगत थिएँ, केही सामूहिक । विभिन्न दलका साथीहरूसँग पनि छलफल भयो । 

उहाँहरूको प्रतिक्रिया कस्तो थियो ? गुल्मेलीमाझ आफ्नो छवि कस्तो पाउनुभयो ?

प्रतिक्रिया एकदमै सकारात्मक छ । मलाई उहाँहरूले एक आँट, साहस र क्षमता भएकी महिलाका रूपमा हेरिरहनुभएको छ । गुल्मीको इज्जत, प्रतिष्ठा, आशा र भरोसा ठान्नुभएको छ । चिल्लो कुरा नगर्ने, झुटो कुरा नगर्ने, देखेको बोलिहाल्ने र बोलेको गरिहाल्ने व्यक्तिको छवि बनेको रहेछ मेरो । 
गुल्मेली नागरिकले परिवर्तन चाहेका छन्, सम्भावनासहितको नयाँ अनुहार देख्न चाहेका छन् । 

तपाईं करिब नौ महिना मन्त्री हुनुभयो । मन्त्रालयबाट बिदा हुँदा काम गर्ने चाहना हुँदाहुँदै बाहिरिनुपर्यो भन्दै भावुक हुनुभयो । गुल्मेलीहरूले चाहिँ तपाईंको कामलाई कसरी मूल्याङ्कन गरेका रहेछन् ? 

एउटा मन्त्रालयसँग कति नै पैसा हुन्छ र ? तर, जिविस हुँदाखेरि जिल्लामा विकासका लागि जति पैसा जान्थ्यो, संघीय सरकारबाट त्योभन्दा बढी गएको कुरा जनतालाई राम्रोसँग थाहा छ । गुल्मीबाट थुप्रैपल्ट सांसद तथा मन्त्री हुनेहरूले वर्षौँदेखि गर्न नसकेको काम मैले आठ महिनामै गरेको छु । 

पाँचदेखि सात अर्बका कामहरू मैले आफ्नै मन्त्रालयबाट निकासा गरेकी छु । भौतिक मन्त्रालय अन्तर्गत ढोरपाटन रणनीतिक बाटोका लागि तीन सय करोड छुट्याइएको छ । यसको ठेक्कापट्टाको प्रक्रिया अगाडि बढिरहेको छ । त्यहाँ सिँचाइ आयोजना, जलाधार क्षेत्र संरक्षण लगायतका थुप्रै स–साना योजना अगाडि बढिरहेका छन् । त्यसैले, जनतामा रामकुमारीले गुल्मीका लागि केही गर्छे भन्ने छ । यो कुरा म आफैँले भन्नुभन्दा पनि तपाईं आफैँले बुझ्नु राम्रो हुन्छ । मैले यो गरेँ, त्यो गरेँ भन्न मलाई अप्ठ्यारो लागिरहेको छ ।

गुल्मी २ मा गोकर्ण विष्टको एकदमै बलियो पकड छ । त्यसमाथि एक साताअघि मात्रै तपाईंको पार्टीका जिल्ला इन्जार्च र अध्यक्षले एमाले प्रवेश गरेका छन् ।

जिल्लामा तपाईं एक्लिनुभएको भन्ने चर्चा छ नि ? 

पार्टीबाट दुई जना जाँदैमा पार्टी कमजोर हुन्छ र ? उनीहरूले पार्टी एकताको नाटक गरेर एमाले प्रवेश गरेका हुन् । दुई जनाले पार्टी छाड्दैमा म एक्लिएकी छैन । 

त्यसो भए तपाईंको जितको आधार के हो ?

आधारहरू थुप्रै छन् । पहिलो र सबैभन्दा बलियो आधार गठबन्धन हो । स्थानीय चुनावमा गठबन्धनले पाएको मत हेर्दा हामी अगाडि छौँ । दोस्रो कारण, जुन व्यक्तिलाई एमालेले गुल्मीबाट उठाउँदै छ, उहाँ त्यहाँ २० वर्षदेखि हुनुहुन्छ । उहाँको कामप्रति नागरिकमा व्यापक असन्तुष्टि छ । गुल्मेलीहरू उहाँको विकल्प खोजिरहनुभएको छ । उहाँले ३० वर्षमा पनि गर्न नसकेको काम मैले आठ महिनामै गरेकी छु, सांसद हुँदा गरेकी छु । म जनताका कामसँग सधैँ एकाकार छु । मैले स–साना होइन, ५–१० लाखका होइन, ठूल्ठूला आयोजनाको पहलकदमी लिएकी छु । यो छोरी नयाँ हो, यसले मौका पाएपछि गर्छे, हामीले अहिलेसम्म उसलाई प्रत्यक्ष भोट हालेर सांसद बनाएका छैनौँ, यसपालि चाहिँ हाल्नुपर्छ भन्ने विश्वास नागरिकमा छ । 

तेस्रो कारण, कुल मतदातामा ६० प्रतिशत महिला छन् । उहाँहरू सबैमा महिलालाई भोट दिनुपर्छ भन्ने धारणा छ । चौथो कारण, एमालेभित्र व्यापक अन्तर्विरोध छ । उहाँ दश भाइमध्येको एक हो । आफ्नी आमा बित्दाखेरि पनि उहाँ केपी शर्मा ओलीविरुद्ध अहंकार प्रस्तुत गरिरहनुभएको छ । पछि एमालेमै फर्केर जानुभयो । यसलाई नागरिकले उनको राजनीतिक अपरिपक्कता रूपमा लिएका छन्, राजनीतिक स्टन्टका रूपमा लिएका छन् । 

के छन् तपाईंका चुनावी अजेन्डा ?

पहिलो कुरा त गठबन्धनले मेरो उम्मेदवारीबारे निर्णय गरिसकेको छैन । त्यसैले, अहिले नै अजेन्डा भन्ने हतारो गर्नु ठीक नहोला । दोस्रो कुरा, संघीय निर्वाचनमा अजेन्डा व्यक्तिगतभन्दा पनि दलीय हुन्छन् । अझ हामी गठबन्धनमा सहभागी भएकाले गठबन्धनले अगाडि सारेका अजेन्डा हामी सबैका अजेन्डा हुन्छन् । हामी व्यक्ति वा दलको भन्दा पनि गठबन्धनको घोषणापत्र लिएर चुनावमा जाने हो । ती प्रतिबद्धतालाई पूरा गर्न व्यक्तिको आफ्नो योजना तथा नीति होलान्, त्यो छुट्टै कुरा हो ।

टिकट पाउनुभयो भने चाहिँ के हुनेछन् तपाईंका अजेन्डा ?

मैले आफ्नो निर्वाचन क्षेत्रमा चार राउन्ड लगाएँ । त्यहाँको बाटोघाटो, खानेपानी, स्वास्थ्य तथा शिक्षाको अवस्था, नागरिकका आकांक्षालगायत विषयमा अध्ययन गरेँ । ती क्षेत्रमा थोरै सुधार गर्न सकियो भने पनि नागरिकहरू धेरै कुरामा लाभान्वित हुनेछन् । बाटोको सञ्जाललाई बजारसम्मै जोड्न सकियो भने गाउँको उत्पादनले बजार पाउनेछ । 

नीतिमा सामान्य परिवर्नत र स्रोतसधानको परिचालनले मात्रै पनि शिक्षा र स्वास्थ्यमा व्यापक सुधार देखिनेछ । वडैपिच्छे विद्यालय कि अलि राम्रो विद्यालय ? समान्य शिक्षा कि मान्छेलाई अगाडि बढ्ने बाटो खोल्न सहज हुने शिक्षा ? यस्ता तमाम विषयहरू छन् । 

आर्थिक दायित्व सिर्जना नगर्ने थुप्रै कार्ययोजना तथा नीतिहरू पनि अगाडि बढाउन सकिन्छ ।

अहिले यी सम्पूर्ण कुरा गर्ने अधिकार स्थानीय सरकारलाई हस्तान्तरण भएको छ । तर, पालिका, प्रदेश र केन्द्रबीच समन्वयको अभाव छ । पालिकासँग प्रदेश र केन्द्रले सामान्य समन्वय मात्र गरिदिँदा धेरै कुरा सम्भव छन् । त्यसैले, म ठूलो कुरा गर्दिनँ । नीति र योजनामा सामान्य परिवर्तनले ठूलो काम गर्न सकिन्छ । मेरो निर्वाचन क्षेत्रसहित गुल्मीमा थुप्रै ठाउँ गठबन्धनले जितेको छ । स्थानीय तहसँग मिलेर काम गर्न अझ सहज भएको छ । विस्तृत रूपमा पछि भनौँला ।
 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x