वार्ता

श्यामदाससँग बिदाइ-वार्ता

रिमालले धेरै लेख्‍नुभएन, त्यसैले एकेडेमी पुग्‍न सक्‍नुभएन

विमल आचार्य |
बैशाख ४, २०७८ शनिबार ८:४२ बजे

१९८१ साउन ५ मा ‘महाकवि देवकोटा गाउँ’मा जन्मेका श्यामदासको जन्ममिति पछिल्तिर अब मसिनो धर्को (-) अनि २०७८ वैशाख ३ थपिएको छ । शुक्रबार साँझ ७ बजे उनले भौतिक शरीर बिसाएका छन् । उनलाई हार्दिक श्रद्धाञ्जलि अनि शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना ।

श्यामदास वैष्णवलाई मैले पहिलोपटक मार्टिन चौतारीबाट प्रकाशित पुस्तक ‘रेडियोसँग हुर्कंदा’मा पढेँ (जस्तो लाग्छ) । लक्ष्मीपूजा भनिने सरस्वतीपूजा अर्थात् देवकोटापूजामा श्यामदास हर साल सेलिब्रिटी हुन्थे । देवकोटाबारे वैष्णवका संस्मरण निकै सुनियो, हेरियो, पढियो पनि । तिनमा अल्पविराम लागेको पाँच वर्षपछि अब त्यसमा दु:खद् पूर्णविराम लागेको छ । 


त्रिचन्द्र कलेजमा विद्यार्थी हुँदा काठमाडौँमा तीन वर्ष जति लगातार देउसी-भैलो खेलियो । यस्तै देउसी खेल्दाखेल्दै भेटिएका मित्रद्वय विक्रम तिमल्सिना र सलोजा दाहाल सँगसँगै सहपाठी भुवन थापाको बाइक पछाडि बसेर लक्ष्मीपूजाकै दिन दिउँसो म वैष्णवघर ज्ञानेश्वर छिरेको थिएँ, पहिलोपल्ट । विक्रमजीले रेडियो सगरमाथाका लागि लामै कुरा गर्नुभयो । उहाँहरुबीचको संवाद मैले मौन बसी सुनेँ । (पछि त्यो संवाद रेडियोमा पनि सुनेँ ।)

म ‘मधुपर्क’ मासिकका लागि बेला बेला पुस्तक समीक्षा जस्तो लेख्थेँ । समीक्षाका लागि आफ्नो अफिसमा आइपुगेका किताब सम्पादक श्रीओम श्रेष्ठ र तुलसीहरि कोइराला दाइद्वयबाट हातलागी हुन्थ्यो । यस्तैमा भेट हुँदा श्रीओम दाइले मलाई ‘कुनै लेखकसँग अन्तर्वार्ता गर्नुस्’ भन्‍नुभयो । (मैले डायमन, माधव घिमिरे, गोठाले, कृष्णचन्द्र, कमल दीक्षितसित गरेको निर्वार्ता छापिएको ‘आकुञ्चन’ उहाँले पढ्नुभएको थियो । हल्का धाप पाएको पनि थिएँ । त्रिचन्द्रको विद्यार्थी छँदा, कलेजबाटै यो छापिन्थ्यो ।) 

मैले ‘कोसँग कुरा गर्ने सर’ भनेँ । उहाँले एकछिन सोचेर भन्‍नुभो, ‘श्यामदास वैष्णवसँग गर्नुस्, उहाँ बिरामी पर्दै गइरहनुभको छ ।’ प्रभाकर गौतम (हाल सेतोपाटी) र म मार्टिन चौतारीमा सँगै काम गर्थ्यौ । मलाई एक्लै वार्ता गर्न जान धक लागेको पनि थियो । अनि आफ्नो साधन पनि नभएको हुँदा ‘तँलाई खत्रा मान्छे भेटाउँछु’ भनेर उसलाई सँगै लिएको थिएँ । 

प्रभाकरको सहयोगमा वैष्णवसँग गरिएको कुराकानी मधुपर्क मासिकको पूर्णांक ५४७, वर्ष ४७, अंक ८ (२०७१ पुस) मा ‘भेटवार्ता’ स्तम्भमा ‘शान्तिपूर्ण जीवन बिताउन पाए हुन्थ्यो’ शीर्षकमा पृष्ठ ४१-४३ मा छापियो । प्रस्तुत छ, उही अन्तर्वार्ताको हुबहु स्वरूप : 

०००
श्यामदास वैष्णवलाई हामी ‘देवकोटाका गणेशकवि’ भनेर चिन्छौँ । तर, उनका ‘रातको आँसु’, ‘अन्तध्र्वनि’, ‘पतकर’, ‘उपहारको ध्वनि’, ‘केही गीतिनाटक÷लघुनाटक’ जस्ता पुस्तक प्रकाशित छन् । उनको ‘उपहारको ध्वनि’ कवितासंग्रहलाई महाकवि देवकोटाले अंग्रेजीमा अनुवाद गरेका छन् । उनको भूमिका गीत, कविता र नाटकमा बढी देखिन्छ । ‘मधुपर्क’ मासिकका लागि विमल आचार्य र प्रभाकर गौतमले उनकै निवासमा गरेको कुराकानी यहाँ प्रस्तुत छ :

तपाईं आजभोलि आफैलाई के सोध्नुहुन्छ ? 
पूर्णप्रसाद ब्राह्मणले भनेझैँ म किन जन्मेँ भन्‍ने नै आइरहेछ मनमा । अलि सञ्‍चो पनि छैन । 

के हुन्छ ?
त्यस्तो खास उस्तो हैन । निद्रा पर्दैन, अनेक शंका, उपशंका, सन्त्रास भावनाले मन छाउँछ । खुल्न र बोल्न गाह्रो हुन्छ । 

तपाईंलाई कस्ता प्रश्नको जवाफ दिन नपरे हुन्थ्यो जस्तो लाग्छ ?
कहिले कहाँ जन्मनुभो ? के-के लेख्नुभो ? बाउबाजेको परम्परा ? देवकोटाका संकटका कुरा इत्यादि । यस्ता प्रश्नको जवाफ मैले धेरैचोटि दिइसकेँ । 

कात्तिक अथवा देवकोटाको जन्ममहिनामा तपाईं उहाँबारे अन्तर्वार्ता दिन खुप व्यस्त हुनुहुन्छ । तपाईंलाई तपाईंबारे सोधिँदैन, सधैँ अरुकै बारे । मधुपर्क त मंसिरमा आइपुग्यो है तपाईंसँग । 
(लामो हाँसो) हो हो । राम्रो गर्नुभो । अरुलाई सहयोग गर्नेको नाम र काम कमै आउँछ । 

तपाईंलाई अहिले मधुपर्कले के-के सोधोस्, चाहनुहुन्छ ?
तपाईंको सोध्ने शैली मन पर्‍यो । जाने र सकेसम्म जे पनि सोध्न सक्नुहुन्छ । सम्झिन त सबै सम्झन्छु, तर बोल्न अलि ढिलो र गाह्रो हुन्छ । 
(यो सुनेपछि र देखेपछि उहाँलाई दुःख नदिऔँ क्यारे लागेको थियो । तर, सम्पादकज्यूको चाहना जो थियो, उहाँलाई ल्याउनैपर्छ ।) 

ल, त्यसो भए म यहाँलाई केही सोध्दिनँ । जे बोल्नुहुन्छ बिस्तारै बिस्तारै बोल्नुहोस् । 
हाम्रा बाउबाजेको थर बैरागी हो । हामी विष्णुपूजक हौँ । हाम्रो घर पुर्खैदेखि लाजिम्पाटमा थियो । पुर्खाहरु राजदरबारका भक्त हुनुहुन्थ्यो । चमेलीको फूल र चाँदीको जल दरबारमा पुर्‍याउने काम गर्नुभयो बाजेले । (लामो समय अड्केर) रानीपोखरी पाठशालामा पढ्न पाएँ मैले । पछि हामी डिल्लीबजारमा सर्‍यौँ । डिल्लीबजारमा नाटकमण्डली थियो । त्यसैको प्रभाव पर्‍यो ममा । समजीको ‘ध्रुव’मा खेलेँ । देवकोटाजीको ‘रजपूतरमणी’मा पनि खेलेँ । (यति बोल्न दश मिनेट नै लाग्यो ।)

‘धमिरा’बारे केही बताइदिनु न । 
आफ्नो घरमा नै धमिरा लागेको छ । बाहिर बोक्रो र भित्र खोक्रो छ भन्‍ने विषय थियो । यो नै रेडियो नेपालबाट प्रसारित पहिलो नाटक हो । टंकप्रसादहरुले जेलमा बसेर उठाएको आवाजको प्रतीक पनि यसमा छ । समजीले मेरो छोराले रेडियो चलाउँदै छ । जाऊ र सहयोग गर भन्‍नुभो । यसरी म जनार्दन समसँगै रेडियोमा पुगेँ । केही नाटकमा अभिनय पनि गरेँ । गीत पनि लेखेँ । मेरा गीत जम्माजम्मी २५-३० ओटा होलान् । पुष्प नेपालीले धेरै गाएका छन् । शिवशंकर नातिकाजीले पनि गाएका छन् । (म उहाँ रोकिएपछि मात्रै प्रश्न गर्थेँ । सम्झाइदिएपछि बोल्नुहुन्थ्यो ।)

अभिनय नि ?
‘स्वामी महाराज’ नाटकमा अंग्रेजको अभिनय गरेँ । समजीले भानुबारे नाटक लेख्नुभो । (‘भक्त भानुभक्त’ भन्‍न खोज्‍नुभा होला) त्यसमा भानुको अभिनय गरेँ । महेन्द्र सरकारलाई बोलाएर राष्ट्रिय नाचघरमा देखायौँ ।

रेडियो नेपालमा काम गर्ने धेरै गीतकार हुने, उनीहरु नै बढी बज्‍ने भन्‍ने सुनिन्छ, केही सम्झना छ हजुरलाई ? अनि बाहिरबाट आउनेका गीत सारेर आफ्नो नाममा रेकर्ड गराउने कुरा । 
हो, त्यस्तो थियो । धेरै घेराबन्दी त थिएन । बाहिरका मान्छे खास्सै आउँदा पनि आउँदैनथे । फर्माइसी गीतमा सञ्चालकहरुले आफ्ना गीत बढी छान्‍ने गर्थे । पैसा लिएर भित्र छिराउने, धेरै बजाउने पनि गर्थे । विश्वनाथ विमलको छोरोले यस्तो बढी गरेको मलाई थाहा छ । 

दिनचर्या ? अहिले तपाईंकी साथी ‘सम्झना’बाहेक अरु के र को छन् ?
कुनै ठेगान छैन । सात बजे उठ्छु । चिया खान्छु । दूध चिया नै खान्छु । खाना साढे नौ बजे । गेडागुडी, क्वाँटी विशेष मनपर्छ । पहिला दिनैभरि कता कता घुम्थेँ म । अहिले कहीँ जान सक्दिनँ । गोडा दुख्छन् । (पहिले धेरै घुमेर अहिले दुख्या होला म भन्छु । उहाँ खुलेर हाँस्नुहुन्छ ।) यहाँ हाम्रो चौध जनाको परिवार छ । माइलो छोरो कहिलेकाहीँ कविता लेख्छ । अरु कोही कलामा छैनन् । मलाई भेट्न आउने साहित्यिकहरु खासै कोही छैनन् । रामेश्वर राउत अलि बढी सम्पर्कमा आउँछन् । तपाईंहरु जस्ता पत्रकार आउनुहुन्छ । सकेको बोल्छु ।

निद्रा पर्दैन, अनेक शंका, उपशंका, सन्त्रास भावनाले मन छाउँछ । 

देवकोटाबाहेक तपाईंलाई मन परेका लेखक-पुस्तक ?
म उति किताब पढिरहने मान्छे परिनँ । लेख्‍न पनि कमै लेखेँ । अरुकै साफी गर्ने काम बढी गरियो । अरुलाई नै बढी सघाइयो । देवकोटाजीले मेरो कविता ‘उपहारको ध्वनि’ अंग्रेजीमा अनुवाद गरिदिनुभो । मैले भनेरै गरिदिनुभएको हो । समजीले मलाई मेरो छोराले रेडियो खोल्ने भयो, जाऊ सघाऊ भन्‍नुभो । उहाँहरुले सहयोग गर्नुभो । त्यसैले उहाँहरु मन पर्छ । पूर्णप्रसाद ब्राह्मण, रिमाल, मल्ल बन्धुसँग मेरो भेटभाट हुन्थ्यो । उहाँहरु मन पर्छ । 

लेखपढ गर्न गाह्रो छ है अहिले ? 
मनमा अनेक शंका-उपशंका, डर-त्रास जस्तो मात्रै घुमिरहन्छ अचेल । (यो वाक्य धेरैचोटि बोल्नुभो ।) ‘हिमालबाबा’ महाकाव्य तीनचार वर्षदेखि जहाँको तहीँ अपुरो रहेको छ । माक्सिम गोर्कीको मदर नै होला पछिल्लो समय पढेको पुस्तक । धेरै अघि । प्रेमचन्द र चेखबका कथा पनि पढियो । 

छाप्‍न बाँकी केही पाण्डुलिपि छन् तपाईंसँग ?
केही छैन ।

आत्मकथा लेख्‍न-लेखाउन मन लाग्छ ?
आफूले कसैलाई मेरो यस्तो गर भनेर भन्‍न गाहारो । एक-दुई जना आएका पनि थिए । पुस्तक त हैन लेखोटकै रुपमा टुङ्ग्याए कि ? तपैँमा राष्ट्रवादी दृष्टिकोण छ भनेर नरेन्द्र प्रसाईं पनि आएका थिए । अब के भन्‍नु र ?

उचित मूल्यांकन-सम्मान नभएको लेखक वा कृति ? के लाग्छ तपैँलाई ? 
मेरो उचित सम्मान भए जस्तो भनेर भन्‍न सक्दिनँ । आपसी रचना गरेर समय कटाउनु नै अहिलेको सन्दर्भमा सम्मान भएको छ । 

गोपालप्रसाद रिमालको सम्मान-मूल्यांकन भयो ? 
अँ, रिमालले धेरै पनि त लेख्नुभएन नि । त्यसैले एकेडेमी पुग्‍न सक्नुभएन ।

तलब-भत्ता आउँदैन यहाँलाई ?
अलिकति आउँछ । एकेडेमीबाट महिनामा जम्मा २०-२५ हजार जति आउँछ ।  

तपाईंको अबको चाहना के छ ? 
नब्बे कटिसकेको बूढाको के चाहना हुन्छ र ? लेखनपठन छैन । शान्तिपूर्ण जीवन बिताउन पाए हुन्थ्यो । विनाखतराको जीवन काट्न सकियोस् । अरु आफ्नो अभिव्यक्ति छैन । 

मेरो उचित सम्मान भए जस्तो भनेर भन्‍न सक्दिनँ ।

तपाईं आफ्नो कुन जिन्दगी सम्झेर एक्लै बस्दा मुस्कुराउनुहुन्छ ? भनेको, केकेमा गर्व लाग्छ ?
श्राद्धमा टन्‍न खाएको, तामाको पैसालाई इँटले फुटाएको सम्झनाले हाँसो हुन्छ । समजी, देवकोटाजीको संगत नपाएको भए तपाईं-हाम्रो भेट हुने थिएन । अँ, सिद्धिचरणजीको करले मैले शहीद दिवसमा झन्डा पनि बोकेको कुरा सम्झना भयो ।

लेखक श्यामदास वैष्णव र उनकी धर्मपत्‍नी जगतकुमारीसँग अन्तर्वार्ताकार ।

सम र देवकोटाबीच कस्तो सम्बन्ध थियो ?
समजीको बानी वरिपरि पण्डितजी राखेर अनेक चर्चा गर्ने थियो । देवकोटालाई पनि उहाँ धेरै कुरा सुनाउने । आदर नै गर्नुहुन्थ्यो । प्रतिस्पर्धा त थियो । समजीले देवकोटाको इखमा ‘चिसो चुह्लो’, र देवकोटाजीले समजीको प्रतिस्पर्धामा ‘सावित्री सत्यवान्’ लेखेको हुन सक्छ । 

नेपाल भाषामा लेखेका कारण सिद्धिचरण जेल पर्दा समजी किन बोल्नुभएन होला ? समजीको कुरा उहाँका पुर्खाले मान्थे कि त ? 
उहाँ यसबारे केही बोल्नुभएन । समर्थन र विरोध दुबै गर्नुभएन । 

के कुरामा पछुतो लाग्छ ?
जानी जानी भएको कुरा गर्न सकिन्‍न । दुई-चार जनालाई एकेडेमीमा जागिर लगाउन केही भनियो । व्यथितजीको पालामा म सदस्य थिएँ । । हजुर ? अँ, उहाँ व्यथितजी खरो मान्छे । सबै गर्न जान्‍ने मान्छे । अँ, कवित्व कम भनौँ कि उहाँ हिन्दीको प्रभाव र शैलीमा लेख्‍ने मान्छे हो ।

समजीले देवकोटाको इखमा ‘चिसो चुह्लो’, र देवकोटाजीले समजीको प्रतिस्पर्धामा ‘सावित्री सत्यवान्’ लेखेको हुन सक्छ ।

(उहाँलाई गाह्रो भएजस्तो लागेर कुरा टुङ्ग्याएँ । कुरा गरुन्जेल हाम्रै कोठामा कम्प्युटरमा गेम खेलिरहेका नातिलाई कानमा गएर सुटुक्क ‘हजुरआमा हुनुहुन्‍न ?’ भनेर सोधेँ । उनले ‘उतातिर हुनुहुन्छ होला’ भने । जोडीको फोटो खिच्‍न पाए हुन्थ्यो भनेर प्रस्ताव गरें । उनले कोठैमा बोलाइदिए । फुर्तिली उहाँसँग कुरा गर्न मन लाग्यो ।)  

हजुरसँग नि कुरा गर्न मन लाग्यो नि मलाई ।
म नपढेकी मान्छे कुरा गर्न जान्दिनँ । के गर्ने र खै ?

यहाँको नाम ?
मेरो नाम जगतकुमारी वैष्णव हो । सतासी वर्षकी भएँ । (कुरा गर्न उत्सुक भएको र दोहोरो उत्तर दिएको देखेर म खुसी भएँ ।)

कति वर्षमा बिहे भो ?
म १७ उहाँ २१ । इमाडोलबाट डिल्लीबजार भित्रिएँ म ।

कहाँ-कहाँ घुम्नुभो उहाँसँग ?
कहीँ लग्‍नभएन । नाटक हेर्न भने लैजानुभो । एकपटक औषधि गर्न लखनउ गयौँ त्यत्ति हो । (छेउमै बसेका श्यामदासज्यूले मेरो घर सोधेपछि मैले ‘धेरै टाढा सल्यान जिल्ला हो’ भनेँ ।) 

थाहा छ हजुरलाई सल्यान ? कता-कता घुम्नुभको छ ? (श्यामज्यूले जे उत्तर दिनुभो विराटनगरका प्रभाकर र सल्यानको म आश्चर्यचकित भयौँ ।) 
अहँ, म काठमाण्डूबाहिर कुनै ठाउँ गएको छैन । 

(विश्वासै लागेन मलाई । पोखरा, मनकामना, लुम्बिनी इत्यादि ठाउँका नाउँ लिएँ । उहाँहरु पुग्‍नुभकै रहेनछ । बिरामी हुँदा लखनउबाहेक घर छोडेकै छैन रे । सामूहिक फोटो खिचेर बाहिरियौँ हामी । दुई घन्टा बसेर बाहिरिँदा जगत् आमाले चियापानी केही पनि खुवाएनौँ बाबुहरुलाई भनेर विनय प्रकट गर्नुभो । जुत्ता लाउँदै साथी प्रभाकरले भने, ‘यो वार्तालाई प्रश्नोत्तर भन्दा निवार्ता शैलीमा लेख्नू र शीर्षक दिनू काठमान्डुको भ्यागुतो ।’ मैले भनेँ, ‘त्यो त हुन्‍न यार । सम्पादकज्यूले जुराउनुहुन्छ ।) 
[email protected]


Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।


थप समाचार
x