वार्ता

मुटुमा बसेकाहरू/मुटुबाट बाहिरिएकाहरू–१

रैथानेहरू त्यो चैत्यलाई सबेरै पूजा गर्थे, अहिले कट्टु धोएर चैत्यमाथि सुकाइन्छ

विमल आचार्य | उपेन्द्र अर्याल |
असोज ११, २०७९ ७:३१ बजे

बसाइँसराइको भाष्यमा अक्सर यस्तै पढाइन्छ- मान्छे गाउँबाट सहर छिर्छ । परिधिबाट केन्द्रतिर सर्छ । हिमाल, पहाडबाट, तराई झर्छ । तर, सधैँ सबैतिर यस्तो मात्र हुँदैन । मान्छे केन्द्रबाट परिधितिर पनि सर्छन् । बसाइँसराइ देश छोड्ने वा जिल्ला छोड्ने टाइपको मात्र पनि हुँदैन यो उही जिल्लाभित्र ‘मुटु छोड्ने’ खालको पनि हुन्छ । 

हजारौँ वर्षदेखि काठमाडौँ उपत्यका ऐतिहासिक, सांस्कृतिक जीवन्त सहर हो । दुई सय वर्षभन्दा अघिदेखि यो राजनीतिक सहर पनि हो । राजनीतिक सहर त उहिल्यैदेखि हो तर केन्द्रीय राजनीतिक थलो पनि यही हो । संघीयतामा पनि बहुलकेन्द्र हुन नसक्दा काठमाडौँ उपत्यका उकुसमुकुस बनेको छ । उपत्यका सहर जति विविधतामा बाँचेको छ, यसका विविध पाटाबारे भने कमै चर्चा हुन्छ । अनौठो के छ भने यो उपत्यकाबारे प्राज्ञिक लेखन बरु अलि भएको छ, पत्रकारीय लेखन कम छ । 


‘काठमाडौँबाहिरको मानसिकता’ मूलधारमा रहँदा यहाँका रैथानेहरूको आवाज सुस्त बनेको छन्, ती नेपथ्यमा छोडिएका छन् । हामी कतिलाई आफ्नो पुर्ख्यौली गाउँठाउँको अतिशय प्रेम हुँदा त्यही खाले प्रेम यहाँका रैथानेलाई हुनुहुँदैन भन्ने हाम्रो आग्रह पनि यदाकदा छताछुल्ल हुन्छ । हामीलाई आफ्नो गाउँ–ठाउँको पँधेरो, कुवा, चौतारो, ढुंगोसम्म प्रिय लाग्छ, जो उपत्यकामै जन्मे–हुर्के उनीहरूलाई हिति/पुखुविनाको ‘विकास’ कस्तो लागिरहेको छ ? उपत्यकाका थुप्रै ‘खुवालुङ’ मासिएका, नासिएका छन्, संस्कृति/सम्पदा नै मूल पहिचान भएको सहरको सामर्थ्य बिस्तारै के हुँदै छ ?

जसलाई ‘काठमाडौँको मुटु’ भनिन्छ, ती क्षेत्र बिरामी जस्ता बनेका छन् । मुटु नै दुखेको मानिस कति स्वस्थ हुन्छ ? काठमाडौँको ‘कोर एरिया’बारे त्यहीँ जन्मे–हुर्केका खासदेखि आम मान्छेसम्मका अनुभव हामी यो शृंखलामा पस्किँदै छौँ । ‘मुटु’ छोडेर बाहिर निस्किएकादेखि ‘मुटु’मै धड्किरहेका रैथानेहरूको स्वर सुन्ने शृंखलामा मल्ल के सुन्दरसँग संवार्ता गरेका छौँ । दोस्रो शृंखला ठमेलमा जन्मेका तीर्थराज वन्तसँग हुनेछ ।

०००
काठमाडौँ, बांगेमुढामा जन्मेहुर्केका लेखक मल्ल के सुन्दर हिजोआज बुढानिलकण्ठमा बस्छन् । काठमाडौँको भित्री सहरमा धिमे सुन्दै बिउँझिने/निदाउने उनलार्ई नयाँ घर सरेको पहिलो दिन राम्ररी निद्रा नै लागेन । आफ्नो समुदायबाट छुटेको महसुस भयो । भीडभाडको ठाउँबाट नयाँ शान्त ठाउँमा आउँदा यातना पाएको अनुभूति गरे, उनले । काठमाडौँमा जनघनत्व बढेर पुराना बस्तीको मौलिकता हराउँदै गएको उनले अनुभव गरेका छन् ।

बाहिरका मानिस र शासकले काठमाडौँलाई कहिल्यै प्रेम गरेनन्, खालि दोहन मात्रै गरे भन्ने कथन छ, उनको । शासकहरूले सांस्कृतिक सहरको मूल्य बुभ्mन नसकेको गुनासो छ, उनको । मल्ल भन्छन्, ‘नेताहरूले गाडी गुडाउन साँघुरो भयो भनेर काठमाडौँका हजारौँ वर्ष पुराना घर भत्काए । उनीहरूको बुझाइमा भौतिक विकास मात्रै विकास भयो । त्यहाँ बस्ने मान्छेको संस्कृति, मूल्य–मान्यता सबै विकासको प्रतिविम्ब हो भन्ने बुझ्‍न सकेनन् ।’ उनै लेखक तथा सांस्कृतिक अधिकारकर्मी मल्ल के सुन्दरसँग विमल आचार्यउपेन्द्र अर्यालले लामो कुराकानी गरेका छन् । प्रस्तुत छ, लामो कुराकानीको छोटो सार :

बांगेमुढामा बस्नुहुन्थ्यो एकाएक बुढानिलकण्ठ सर्नुभएछ, किन ? 
आफ्नो व्यावहारिक र दैनिक जीवन सहज बनाउन म यता सरेँ । मेरो छोरा काठमाडौँ विश्वविद्यालयमा पढाउँछ । दिनहुँ अफिस आउजाउ गर्नुपर्छ । पहिले पो अफिस सिंहदरबारमै हुन्थ्यो । पैदल गए पनि भ्याइन्थ्यो । अहिले त अफिस एउटा जिल्लाबाट अर्को जिल्ला, एउटा सहरबाट अर्को सहरमा हुन्छ । टाढा जाने भएकाले आउन जान आफ्नै साधन चाहिन्छ । पुरानो थाकथलोमा बाटो साँघुरो भएकाले सवारीसाधन कुदाउन नसकिने भएको छ । जामका कारण सहज रूपमा सवारीसाधन प्रयोग गर्न नसकिने भएकाले यता बसाइँ सर्नुपर्‍यो ।

काठमाडौँका भित्री बस्तीमा खानेपानीदेखि ढलको समस्या छ । हावापानी पनि स्वच्छ भएन । क्षेत्रपाटीको मेरो घर नौ तलाको थियो । बस्थेँ म सातौँ तलामा । पूजा कोठा छैटौँ तलामा थियो । तल–माथि गर्न पनि गाह्रो भयो । त्यसैले मुख्य बस्तीबाट बाहिर आइयो । 

सहरको मुटुमा बस्नुभएको मान्छे, सहरको गोलीगाँठातिर आएर बस्नुभएको छ, कस्तो महसुस भइरहेको छ ?
धेरै कुरा मिस गर्छु । दौँतरी र बालसखाहरू त्यहीँ छन् । झ्यालबाट हेर्दा उनीहरूलाई देख्न, हालखबर सोध्न पाइन्थ्यो । त्यो यहाँ सम्भव छैन । यी कुराहरू साह्रै खट्किन्छ । त्यो ‘इन्टेन्जिबल कल्चरल हेरिटेज’को क्षेत्र हो । हरेक हप्ता वा महिना कुनै न कुनै पर्व/जात्रा हुन्छ । सांस्कृतिक गतिविधिहरू भइरहन्छ । बाजाहरू सुन्दा अर्कै किसिमको आनन्द हुन्थ्यो । यहाँ आएपछि त्यसबाट वञ्चित हुनुपर्‍यो । 

त्यहाँको टोल विकासका लागि संगठन बनाएर थुप्रै काम गरियो । उताको समुदायमा मल्ल के सुन्दर भनेर एउटा मान थियो । सबैले चिन्थे । सामाजिक पहिचान थियो । बिहान तरकारी किन्न जाँदा पाइलैपच्छिे चिनेका मान्छे भेटिन्थे । उनीहरूसँग गफ हुन्थ्यो । त्यो किसिमको हार्दिकता यहाँ छैन । यहाँ नौलो ठाउँमा सबै नौला मान्छे छन् । 

यहाँ गेटमा ‘ठकुछेँ’ भनेर लेख्नुभएको रहेछ । त्यसको अर्थ के होला ?
‘ठकु’ भनेको ठकुरी हो । हामी मल्लहरूलाई ठकु भन्छन् । ‘छेँ’ भनेको घर । सबैलाई हाम्रोबारे थाहा होस् भनेर राखेकोे । उता घरमा पनि राखेको थिएँ । सबैलाई थाह होस् भनेर तीनवटा लिपिमा पनि लेखेको छु ।

घर सरेपछिको पहिलो रात निद्रा लाग्यो त ?
सहरमा झिलिमिली र कोलाहल वातावरणमा बसेको मान्छे । यहाँ आउँदा टापुमा बसेजस्तो भयो । अपराधीलाई सजाय दिएको जस्तो भयो । मैले यातना पाएको अनुभूति गरेँ । समुदायबाट छुटेको अनुभव भयो । मैले घरमा ‘तिमीहरू यहाँ बस, म उतै जान्छु’ भनेर झगडा पनि गरेँ । तर मानेनन् । मलाई जबर्जस्ती यहीँ राखे । अहिले त बानी पर्‍यो । यहाँ बसेर फाइदै भएको छ । शान्त वातावरणमा अध्ययन गर्न पाइएको छ । यहाँ आएर मैले किताब लेख्ने मौका पाएँ । उता भएको भए मानिसहरू आउँथे, एक किसिमले रमाइलै हुन्थ्यो । तर, त्यसले काममा बाधा पनि हुन्थ्यो ।

तपाईंजस्ता थुप्रै नेवारले आफ्नो थाकथलो असन, भेडासिं, बांगेमुढा, क्षेत्रपाटी, इन्द्रचोक क्षेत्रहरू छाड्नुपर्‍यो । सर्नैपर्ने गरी कसरी बिग्रिए ती क्षेत्र ? 
मेरो सन्दर्भमा किन छोडेँ भन्ने जवाफ मैले दिइसकेँ । सायद धेरैको कारण मेरै जस्तो हो । थाकथलो बिग्रिएको भन्दा पनि हाम्रो जीवनशैली परिवर्तन भएको भन्नुपर्छ । पहिला मेरो घरमा चुलो हुन्थ्यो । 

आमाले दाउरा बालेर दालभात पकाउनु हुन्थ्यो । त्यसबेला हामी पिर्कामा बसेर खान्थ्यौँ । पहिलो तलामै जुत्ता खोल्नुपथ्र्यो । नेवारहरूको जीवनशैली समुदायमा आधारित थियो । टोलमा दाजुभाइको घर हुन्थ्यो । सबै आफन्तहरू नजिकै हुन्थे । केही काम गर्नुपर्दा सबैको सहयोग हुन्थ्यो । भोजहरूमा पनि सबैको सहभागिता हुन्थ्यो । त्यस बेला सामाजिक आवश्यकता समाजबाटै परिपूर्ति हुन्थ्यो । सुनदेखि नुनसम्म टोलमै पाइन्थ्यो । ‘नेवारहरूको घरमुनि पसल माथि ससुराली’ भन्ने भनाइ छ । समुदायसँग नजिकको सम्बन्ध थियो । 

बांगेमुढाबाट बुढानिलकण्ठ सरेका मल्ल के सुन्दरलाई नयाँ शान्त ठाउँमा बस्दा ‘अपराधीलाई सजाय दिएजस्तो भयो ।’ मैले यातना पाएको अनुभूति गरेँ ।

‘आधुनिक’ भएपछि त्यसमा असर पुग्यो । कसैलाई मोटरसाइकल, कसैलाई गाडी चाहिन थाल्यो । हिजोको परिवेशमा बनेको बहाल वा चोकमा त्यो आवश्यकता पूरा भएन । त्यो खोजीमा बिस्तारै नयाँ ठाउँमा स्थानान्तरण हुँदै जान बाध्य भइयो । 

कहिलेदेखि अलि बाहिर निस्केर बस्न थाले ? 
०१७/१८ सालपछि नेपालको सम्बन्ध अलि खुला भएर गयो । थाई एयरलाइन्सको फ्लाइट सुरु भएपछि काठमाडौँबासीहरू भारतभन्दा पर ब्यांककसम्म जान थाले । उनीहरूले त्यहाँको विकास अनि लाइफस्टाइल देखे । त्यही अनुसारको जीवनशैली अनुकरण गर्ने रहर यहाँका मान्छेलाई पलायो । लवाइ, खुवाइ, घर–कोठा शृङ्गार्ने शैलीमा परिवर्तन आयो । हिजो बनाएका घर अहिलेका लागि पर्याप्त भएनन् । साझा चोकले भएन, आफ्नै घरमा कम्पाउन्ड चाहियो । पहिलेका थाकथलोमा अहिलेका आवश्यकताहरू पूरा भएनन् । त्यो खोजीको क्रममा कोही लाजिम्पाट गए । कोही रविभवनतिर । पछि चक्रपथ बनेपछि मान्छे छरपस्ट भए । 

दसैँ लागिरहेको छ, काठमाडौँबाट योबेला एकैपटक धेरै मान्छे बाहिरिन्छन् । बाहिरिन्छन्, काठमाडौँलाई ‘गाली गर्दै’ । तपाईँहरूलाई कस्तो महसुस हुन्छ ?
यो ३०/३२ सालपछि भएको विकसित परिस्थिति हो । नत्र यहाँका जागिरे स्थानीय नै हुन्थे । मलाई जानकारी भएसम्म सिंहदरबारभित्र प्रथम श्रेणीका कर्मचारीहरू सचिव, सहसचिव ९० प्रतिशत त काठमाडौँका स्थानीय नेवार हुन्थे । बाहिरका मान्छे एकदमै न्यून हुन्थे । त्यस बेला आन्तरिक आप्रवासनको चाप थिएन । जब राजमार्गहरू बने बाहिरका मानिसहरू अवसरको खोजीमा काठमाडौँ आए  । 

नेपालको विकास सन्तुलित हिसाबमा गरिएन । उपत्यका त मल्लकालमै उन्नतै थियो । तर २००७ सालको परिवर्तनपछि सन्तुलित विकास हुन सकेन । वीर अस्पताल, शिक्षण अस्पताल, प्रसूतीगृह, त्रिभुवन विश्वविद्यालय यहीँ भयो । उच्च शिक्षा हासिल गर्न त्रिचन्द्र वा कीर्तिपुर नआई हुँदैनथ्यो । डिग्री हासिल गरिसकेपछि त्यसका लागि उपत्यका प्रवेश नगरी सुख छैन । त्यसैले काठमाडौँ, सबैका लागि अवसर बन्यो । यहाँ आउनैपर्ने बाध्यता भयो । 

काठमाडौँ राजनीतिक गतिविधिको केन्द्र बन्यो । राजनीतिमा केही प्राप्त गर्ने अभिलासाले पनि मानिसहरू काठमाडौँ आए । काठमाडौँमा एउटा कोठा लिएर बसे । नेपालका विभिन्न ठाउँभन्दा यहाँको मौसम राम्रो छ । हावापानीका कारण पनि सुरुमा अलि सम्पन्न मानिसहरू यहाँ आए । चक्रपथ बनेपछि झनै धेरै मानिस आए । अनि दसैँँको बेलामा बाहिर जाने क्रम देखिएको हो । नत्र २०२२ सालतिर त्यस्तो थिएन । एकाध मान्छे मात्रै यताउता गर्थे । अहिले लाखौँ मानिस बाहिर जान्छन् । हामीले मानिस बाहिर गएपछि आनन्द महसुस गर्छौं । आनन्दको सास फेर्न पायौँ भन्ने लाग्छ । सधैँ यस्तै भइदियोस्झैँ लाग्छ । यहाँको क्षमताभन्दा जनघनत्व धेरै भएको छ । 

पहिले तपाईंहरूको दसैँ कस्तो हुन्थ्यो ? 
पहिला यहीँका रैथाने मान्छे मात्रै हुन्थे । त्यस्तोमा दसैँँ मनाउँदा आत्मीयता बढी हुन्थ्यो । अहिले बाहिरका मानिस आए । असन काठमाडौँको कोर एरिया हो । त्यहाँ प्रायः तुलाधरहरू बस्छन् । अहिले त्यहाँका घर हेर्‍यो भने दश प्रतिशत मात्र स्थानीय होलान् । त्यहाँका घर रेखदेख गर्न भाडामा राखिएको छ । त्यो ठाउँ रैथाने नेवारको हो । तर, त्यहाँ बसोबास गर्ने मानिस धेरैजसो बाहिरका छन् । 

असनमा केही बौद्ध विहारहरू छन् । त्यहाँको कल्चर बाहिरबाट आउनेले बुझेनन् । ती कुरासँग उनीहरूको सामीप्य हुँदैन । महत्वपूर्ण पनि लाग्दैन । उनीहरू आफ्ना बालबच्चा खेलाउनका त्यो ठाउँ प्रयोग गर्छन् । हिजोका रैथानेहरूले त्यो चैत्यलाई सबेरै पूजा गर्थे । अहिले त्यही गजुरमा चढाएर बच्चा खेलाइरहेका हुन्छन् । अभिभावकहरू कट्टु धोएर चैत्यमाथि सुकाउँछन् । त्यो उनीहरूले हेपेको होइन । उनीहरूको आवश्यकता भयो । । तर, हामीले हेर्दा सम्पदामा कट्टु सुकाएको देखियो । यस्ता भिन्नता हिजोआज काठमाडौँमा आएको छ । 

कोर एरियाबाट तपाईंहरू केही त बाहिर निस्किन सक्नुभयो, तर घामपानी यस्तो नछिर्ने, सानो–अँध्यारो ठाउँमा कोचिएर, निसास्सिएर बस्नुपर्ने नेवार कम्युनिटीको अहिले त्यहाँ हालत के छ ? 
नेवार हुनेबित्तिकै सम्पन्न हुनुपर्छ भन्ने छैन । सहरका १४ लाख नेवारमा २० प्रतिशत गरिब छन् । कतिपय अँध्यारोमा बसेका छन् । आयस्रोत छैन । कतिपयको भएको जमिन पनि बेच्न नमिल्ने छ । 

एक/दुईआना जमिन कसले किन्ने ?
काठमाडौँमै बसेर कतिपय विद्वान्ले काठमाडौँलाई मरुभूमि भनेर लेखे । मेरै गाउँ राम्रो/रमाइलो भनेर लेखे । काठमाडौँ जहाँ लामो समयदेखि बसेका छन्, यहाँको सुन्दरता र महत्वबारे धेरै लेखेनन्, गाउँघरकै  सुन्दरताको बयान गरेर कहिल्यै थाकेनन् । एकातिर ‘सहरिया जीवनभन्दा गाउँले जीवन बेस’ भनेर पढाइयो तर ‘सहरीकरण’ राज्य/नागरिकको स्वाभाविक चाहना थियो । के भन्नुहुन्छ ?

सबैले नराम्रो भनेको छैनन् । भानुभक्तले काठमाडौँलाई अलकापुरी कान्तिपुरी नगरी पनि भनेका छन् । पछि बिग्रेर पनि होला, केहीले नराम्रो चित्रण गरेका छन् । त्यो व्यक्तिको आ–आफ्नो प्रभावको कुरा हो । त्यसमा मेरो केही भन्नु छैन । तर एउटा दुःख लाग्ने कुरा यहाँ आएर बस्ने, साखासन्तानलाई पढाउने/बढाउने गरिन्छ । तर, अपनत्व अभाव छ । 

नेपालको राजनीतिको ठूलो संकट नै यही हो । काठमाडौँको सन्दर्भमा मात्रै होइन, डडेल्धुराका शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री हुनुभयो । उहाँमा आफ्नो ठाउँप्रति अपनत्व भएको भए डडेल्धुरा अहिले ‘स्वर्ग’ भइसक्थ्यो । त्यहाँ अहिले पनि सडक, खानेपानी, रोजगारीको अभाव छ । शेरबहादुरले डडेल्धुरालाई अवसरका माध्यमका रूपमा मात्रै प्रयोग गरे । मेरो मातृथलो/जन्मथलो यसलाई राम्रो बनाउनुपर्छ भन्ने सोचेनन् ।

काठमाडौँमा मात्रै अपनत्व नभएको होइन । अरुतिर पनि हाम्रा नेताहरूको अपनत्व देखिएनन् । जहाँ बस्ने, त्यसलाई कसरी राम्रो बनाउने भन्नेतिर चासो नै भएन । काठमाडौँ वा कुनै पनि ठाउँ बिगारेको त मान्छेले नै हो नि । 

तपाईंहरूले हिजो पौडी खेलेका खोलाहरू अहिले छैनन्, हिति (ढुंगेधारा) हरू छैनन् । पोखरीहरूमा ठूलाठूला महल ठडिएका छन् । बाटो विस्तारका नाममा थुप्रै सम्पदाहरू मासिए । सम्पदाहरू उठाएर एक ठाउँ थुपारियो, कति त विदेशसम्म पुगे । आफ्नो पुर्ख्यौली थलोको यो हालको हल के छ ?

मैले अहिलेका मेयर बालेन र पूर्वमेयर विद्यासुन्दर शाक्य दुवैसँग भेट्दा यस्ता कुरा राखेको थिएँ । विद्यासुन्दर ‘स्मार्ट सिटी’ भन्दै हिँडिरहेका बेला ‘के हो यो स्मार्ट सिटी ?’ भनेर प्रश्न गरेको थिएँ । ‘आइटी सुविधा भएको सहर मात्रै स्मार्ट सिटी हुन्छ कि मानवीय जीवनमा चाहिने सुख–सुविधा भएको ठाउँलाई स्मार्ट सिटी भनिन्छ ? तपाईंले परिकल्पना गरेको स्मार्ट सिटी के हो ?’ मैले बालेनसँग भेट्दा पनि हरेक सम्पदाको मूल्य–मान्यताको कुरा बताएको थिएँ । सबै ठाउँको आफ्नै महत्व हुन्छ ।

कसैले बनारसलाई पेरिस बनाउँछु भन्यो भने त्यो जस्तो मूर्ख मान्छे को हुन्छ ? बनारसको आफ्नै ऐतिहासिक र सांस्कृतिक महत्व हुन्छ । त्यस्तै, काठमाडौँको पनि हजारौँ वर्षदेखिको सांस्कृतिक ऐतिहासिक महत्व छ । अहिलेका मेयर बालेनले पनि काठमाडौँको महत्व बुझेर यसलाई यहीँको संस्कृतिका रूपमा विकास गर्नुपर्छ । 

हाम्रा नेताहरूले गाडी गुडाउन साँघुरो भयो भनेर काठमाडौँका हजारौँ वर्ष पुराना घर भत्काएका छन् । त्यो यहाँको मूल्यलाई बुझ्‍न नसकेको हो । उनीहरूको बुझाइमा भौतिक विकास मात्रै विकास भयो । त्यहाँ बस्ने मान्छेको संस्कृति, मूल्य–मान्यता सबै विकासको प्रतिविम्ब हो भन्ने बुझेनन् । 

शाहकाल, राणाकाल र त्यसपछि पनि यहाँका शासक सबैजसो बाहिरका भएकाले सहर बिग्रेको हो ?  
ठ्याक्कै यही हो । सबैजना बाहिरबाट आएका छन् । यहाँ शासन गर्न सकिन्छ भन्ने मात्रै ध्याउन्न भयो । शासक कसरी बन्ने भन्ने मात्रै उनीहरूको चेत छ । त्यही चेतले यस्तो अवस्था आएको हो । 

दरबारमा राणाहरू मेरो बाजेसँग एकदमै प्रभावित थिए । तर, त्यो कुरा पाण्डे/उपाध्यायहरूलाई चित्त बुझेन ।

पृथ्वीनारायण शाहयता राणाकालमा सबै दोहन गर्ने मात्रै भए । त्यो चेत भएको भए जंगबहादुर राणाले किन बेलायती स्टाइलको भवन बनाउनुपर्‍यो यहाँ ? भीमसेन थापाले किन बागदरबार, धरहरा बनाउनुपर्‍यो ? चन्द्र शम्शेरले सिंहदरबार किन बनाउनुपर्‍यो ? काठमाडौँको कुमारीस्थान भत्काएर गद्दी बैठक किन बनाउनुपर्‍यो ? त्यही हो अपनत्व नभएको ।

पीएल सिंह, केशव स्थापित, विद्यासुन्दर शाक्यहरूले पनि यहाँको नेता थिए त ?
विद्यासुन्दर भन्ने मान्छे काठमाडौँमा जन्मिएको मात्रै हो । उसको चेतना काठमाडौँको भएन । उसको सोच ओलीको जस्तो भयो । ऊ बाहिर गएर आयो । बाहिर देखेको कुरालाई उसले विकास ठान्यो । बाबुराम भट्टराईले पनि बुझेनन् । उनले दिल्लीमा बसेर सहरीकरणबारे पढे । उनले सरर मोटर कुद्ने चिल्लो बाटो बनेपछि सहरीकरण हुन्छ भन्ने बुझे ।

बाबुरामको कुरा गर्नुभयो, मनमोहन अधिकारी, झलनाथ खनाल, केपी ओली धेरै नेताहरूको ससुराली त फेरि काठमाडौँमै छ । ससुरालीको कुरा पनि बुझेनन् नि ?
ससुराली हुँदैमा कहाँ बुझ्छन् र ? श्रीमती फकाउन सके भइहाल्यो नि । 

बाहिरका शासकले त तपाईंहरूलाई आफ्नै जात्रा–पर्वमा पनि दर्शक जस्तो मात्रै बनाइदिए हैन र ? घोडेजात्रा सेनाको भयो । गोरखाबाट फूलपाती भित्र्याउँदा पनि तपाईंहरू दर्शक मात्रै हुन बाध्य हुनुभयो ? 

वास्तवमा घोडेजात्रा नेवारको पर्व हो । त्यसको एउटा प्रमाण पहिले राजा आएर जात्रा सुरु हुँदैनथ्यो । कुमारीको रथ आएर कुमारीले आज्ञा दिएपछि मात्रै घोडेजात्रा सुरु हुन्थ्यो ।  तर, जंगबहादुर आएपछि त्यसलाई सैनिकीकरण गरे । 

प्रजा परिषद्, कांग्रेस, कम्युनिस्ट पार्टीमा स्थापनातिर नेवारहरू थिए । तर, अहिले कांग्रेस/कम्युनिस्ट पार्टीमा माथितिर, माथि आउनेतिर नेवार कम देखिन्छन् । विश्वविद्यालयतिर यहीँका रैथाने केदारभक्त माथेमा, कमलप्रकाश मल्ल कम छन् । नागरिक आन्दोलनतिर पनि यहीँका नयाँ पद्मरत्न तुलाधर, मल्ल के सुन्दरहरू पनि देखिँदैनन् । तपाईंले अघि ९० प्रतिशत माथिल्ला कर्मचारी नेवार थिए भन्नुभयो, अहिले आरक्षित हुनुपर्ने अवस्था कसरी आयो ? पार्टीदेखि प्राज्ञिक, सदनदेखि सडकसम्म  नेवार समुदाय कता ?

नेवारहरूको परिवारको सांस्कृतिक अभ्यास नै त्यस्तै छ । उनीहरूलाई ज्ञानी र सभ्य हुन सिकाइन्छ । आक्रामक होइन, समन्वय भाव छ । उनीहरू कुनै पनि उल्झनमा मिसिन चाहँदैनन् । आफैँ कमाउने आफैँ खाने तर, झन्झटमा नफस्ने भन्ने छ । त्यसको उदाहरण गणेशमान हुन् । वीरेन्द्रले बोलाएर प्रधानमन्त्री खाऊ भन्दा मलाई चाहिँदैन भने । उनीहरूमा यस्तो नम्रता हुन्छ । हाम्रो पुस्तामा यस्तो छ । यो भद्रताले अहिलेको जमानामा हुँदैन । ठेलामठेल, लछारपछार गरेर अगाडि जाने अहिलेको संस्कृति हो । 

आक्रामक बन्न प्रेरित गरिँदैन भन्नुभयो तर, तपाईंका दाजु प्राध्यापक कमलप्रकाश मल्ल होस् वा तपाईं नै लगातार भिड्नुभयो त ?
हाम्रो परिवारमा सुरुदेखि नै ठूलो अन्याय हुँदै आयो । अनौठो लाग्न सक्छ, मेरो बाजे राणा दरबारमा जाहेरिया हुनुहुन्थ्यो । त्यसबेला मुद्दाको फैसला राणा प्रधानमन्त्रीले गर्थे । लिखित कानुन केही थिएन । तर, जाहेरीवाल अलिकति कानुनी मान्छे भयो भने मुद्दाको मिसिल हेरेर सही निर्णय गराउन सक्थ्यो । जाहेरीवाल अरु पनि थिए ।

उनीहरूले राणा प्रधानमन्त्रीको मुडअनुसार जाहेरी गर्थे । राणा प्रधानमन्त्री खुसी हुन्थे । तर, मेरो बाजे त्यस्तो हुनुहुन्नथ्यो । जे थियो यथार्थ हेरेर गर्नुहुन्थ्यो । त्यहीअनुसार फैसला आउँथ्यो । यो डिठ्ठाले जे गर्‍यो त्यही फैसला आउँदो रहेछ भनेर एउटा प्रभाव थियो । दरबारमा राणाहरू मेरो बाजेसँग एकदमै प्रभावित थिए । तर, त्यो कुरा पाण्डे/उपाध्यायहरूलाई चित्त बुझेन । उनीहरूले मेरो बाजेको नामको पछाडि मल्ल लेखेकामा उजुरी गरे ।

राणा प्रधानमन्त्रीले यसबारे बाजेलाई सोधे । बाजेले मल्ल हाम्रा पुर्खा हुन् भन्दा उनीहरूले उकासेर राजाको थर लेख्न पाइँदैन भने । त्यसपछि बाजेले काम नै छाडिदिए । बुवा पनि जाहेरीवाल नै थिए । दरबारियाले बाजेकै जस्तो गराए । बुवाले पनि जागिर छाडिदिनुभयो । त्यो एक किसिमको पीडा थियो । त्यही रिसइबीले हाम्रो पुर्खाको घरमा राणाहरूले सैनिक राखिदिए । पछि घरसम्पत्ति सबै शासकले हडपे । त्यसैको प्रभाव स्वरुप हामीमा विद्रोह भाव आएको होला ।


Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
ad
x