वार्ता

त्यसबखतको काठमाडौँ

आमाका पालामा विष्णुमतीमा नुहायौँ, बुवाका पालामा पानी छुनै सकिएन

विमल आचार्य | सृजना खड्का |
असोज १३, २०७९ ८:१० बजे

बसाइँसराइको भाष्यमा अक्सर यस्तै पढाइन्छ- मान्छे गाउँबाट सहर छिर्छ । परिधिबाट केन्द्रतिर सर्छ । हिमाल, पहाडबाट, तराई झर्छ । तर, सधैँ सबैतिर यस्तो मात्र हुँदैन । मान्छे केन्द्रबाट परिधितिर पनि सर्छन् । बसाइँसराइ देश छोड्ने वा जिल्ला छोड्ने टाइपको मात्र पनि हुँदैन यो उही जिल्लाभित्र ‘मुटु छोड्ने’ खालको पनि हुन्छ । 

हजारौँ वर्षदेखि काठमाडौँ उपत्यका ऐतिहासिक, सांस्कृतिक जीवन्त सहर हो । दुई सय वर्षभन्दा अघिदेखि यो राजनीतिक सहर पनि हो । राजनीतिक सहर त उहिल्यैदेखि हो तर केन्द्रीय राजनीतिक थलो पनि यही हो । संघीयतामा पनि बहुलकेन्द्र हुन नसक्दा काठमाडौँ उपत्यका उकुसमुकुस बनेको छ । उपत्यका सहर जति विविधतामा बाँचेको छ, यसका विविध पाटाबारे भने कमै चर्चा हुन्छ । अनौठो के छ भने यो उपत्यकाबारे प्राज्ञिक लेखन बरु अलि भएको छ, पत्रकारीय लेखन कम छ ।


‘काठमाडौँबाहिरको मानसिकता’ मूलधारमा रहँदा यहाँका रैथानेहरूको आवाज सुस्त बनेको छन्, ती नेपथ्यमा छोडिएका छन् । हामी कतिलाई आफ्नो पुर्ख्यौली गाउँठाउँको अतिशय प्रेम हुँदा त्यही खाले प्रेम यहाँका रैथानेलाई हुनुहुँदैन भन्ने हाम्रो आग्रह पनि यदाकदा छताछुल्ल हुन्छ । हामीलाई आफ्नो गाउँ–ठाउँको पँधेरो, कुवा, चौतारो, ढुंगोसम्म प्रिय लाग्छ, जो उपत्यकामै जन्मे–हुर्के उनीहरूलाई हिति/पुखुविनाको ‘विकास’ कस्तो लागिरहेको छ ? उपत्यकाका थुप्रै ‘खुवालुङ’ मासिएका, नासिएका छन्, संस्कृति/सम्पदा नै मूल पहिचान भएको सहरको सामर्थ्य बिस्तारै के हुँदै छ ?

जसलाई ‘काठमाडौँको मुटु’ भनिन्छ, ती क्षेत्र बिरामी जस्ता बनेका छन् । मुटु नै दुखेको मानिस कति स्वस्थ हुन्छ ? काठमाडौँको ‘कोर एरिया’बारे त्यहीँ जन्मे–हुर्केका खासदेखि आम मान्छेसम्मका अनुभव हामी यो शृंखलामा पस्किँदै छौँ । ‘मुटु’ छोडेर बाहिर निस्किएकादेखि ‘मुटु’मै धड्किरहेका रैथानेहरूको स्वर सुन्ने शृंखलामा मल्ल के सुन्दरसँग संवार्ता गरेका थियौँ । 

लेखन तथा अनुवाद गरी ३२ वटा कृति निकालेका तीर्थराज वन्त काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय, भृकुटीमण्डपका संस्थापक हुन् । काठमाडौँको ठमेलमा जन्मे–हुर्केका ८४ वर्षीय वन्तका अनुसार अहिले ९० प्रतिशत रैथानेले ठमेल छोडिसके । त्यस बखतको काठमाडौँका विविध आयामबारे वन्तसँग सृजना खड्काविमल आचार्यको संवार्ता :

ठमेलसँग तपाईंकोे बाल्यकालका स्मृति के–के छन् ? 
थुप्रै छन् । ठमेलको मूल सडक गल्ली थियो । त्यहाँबाट विष्णुमतीमा मुर्दा लगिन्थ्यो । अहिले जहाँ सात घुम्ती छ, त्यो बाटोमा मान्छे हिँड्नै डराउँथे । अहिले सञ्चयकोष भएको ठाउँमा बाँस झ्याङ थियो । ठमेलदेखि भगवान् बहाल, लैनचौर हुँदै मल्ल होटलसम्मको कम्पाउन्ड केशर शमशेरको थियो । मल्ल होटल बनेको ठाउँमा केशर शमशेरको महल थियो ।

ठमेलमा बस्दा परिवारमा को–को हुनुहुन्थ्यो ?
ठमेलमा हाम्रो संयुक्त परिवार थियो । बुवाहरूको आठ दाजुभाइ हुनुहुन्थ्यो । कोही पहाड, कोही यतै बस्नुहुन्थ्यो । खाना खाने बेलामा कहिले २०/२५ जना, कहिले १०/१५ जना हुन्थ्यौँ । पुरानो घर बुवाले बेचिदिनुभयो । त्यसपछि हामी सात घुम्तीको नजिक डेरा गरेर बस्न थाल्यौँ । बुवालाई ठमेल छाडेर अन्त पटक्कै जान मन लाग्दैनथ्यो । उहाँ शास्त्रीय संगीतकार हुनुहुन्थ्यो । थुप्रै मानिस उहाँसँग गाउन, तबला र हार्मोनियम बजाउन सिक्न आउँथे ।

बाल्यकालमा ठमेलमा के–कस्तो खेल खेल्नुहुन्थ्यो ?
हामीले खेल्ने खेल आजकालका केटाकेटीले सुनेकै हुँदैनन् । ‘मण्डली खेल’ भनेर अहिलेका मान्छेले सुनेकै छैनन् । धागोमा ढुङ्गा बाँधेर जुधाउने, त्यो धागो काट्न सक्नेले जित्थ्यो । अर्को पाँया (जुवा) खेल्ने भनिन्थ्यो । फुटेको माटोको घैँटोलाई स–सानो चक्का बनाउँथ्यौँ । अनि खेल्थ्यौँ । जाडो मौसममा पेन्सिलजस्तो लामो तिलौरी हुन्थ्यो । त्यसलाई नाङ्लोमा बेच्न राखिन्थ्यो । एउटाको एक पैसा जति पर्थ्यो । एकले अर्कोलाई ‘कति टुक्रा’ भनेर सोध्थ्यौँ । जसले भनेको जति टुक्रा बनाउन सक्थ्यो । उसैले जित्थ्यो । त्यो तिलौरी पनि खान पाउँथ्यो । हार्नेले पैसा तिर्थ्यो ।

ठमेलमा बस्ती कति बाक्लो थियो ? कस्तो–कस्तो परिवारका मान्छे बस्थे ?
ठमेल एरिया मूलतः नेवारहरूको टोल थियो । त्यसमा पनि प्रधानहरू धेरै थिए । बाहिरबाट आउनेहरू एकदमै कम थिए । काठमाडौँका अरु बहालहरू प्रायः बज्राचार्यले चलाउँछन् ।

ठमेलका सात घुम्ती वरपरका मान्छे त्यहाँ कोही छैनन् ।

तर, ठमेलको भगवान् बहाल प्रधानहरूले चलाउँछन् । विवाह, व्रतबन्ध अरु धर्मकर्म त्यही बहालमा हुन्थ्यो । बिहे गरेर ल्याउँदा दुलही त्यहीँ भित्र्याउने चलन थियो । त्यो बहाल प्रधानहरूको केन्द्रविन्दु थियो ।

काठमाडौँको सबैभन्दा पुरानो सहर हो, ठमेल ? 
होइन । नयाँ सडक नै ९० सालपछि बनेको हो । ठमेललाई त गाउँसरह मानिन्थ्यो । पछि ठमेल अर्कै किसिमबाट विकास भयो । पर्यटनको केन्द्र बनेपछि ठमेलको स्वरूप नै फेरियो । २०२४/०२५ सालमा जब काठमाडौँ गेस्ट हाउस बन्यो त्यहाँबाट ठमेलमा चहलपहल सुरु हुन थाल्यो ।

तपाईं पढ्न कहाँ सुरु गर्नुभयो ?
सुरुमा घरैमा मामाबाजेसँग पढेँ । म सानो हुँदा बुवा जेल पर्नुभएको थियो । त्यो कारणले आमा एकदमै डिस्टर्ब हुनुहुन्थ्यो । त्यतिखेर कोही जेल पर्‍यो भने कैदीको सन्तान, कैदीकी श्रीमती, कैदीको छोरा भनिन्थ्यो । अपराधी ठानिन्थ्यो । उबेला राजनीतिक अपराध र अरु अपराध कसले छुट्याएर हेर्ने ? यसकारण पनि आमा धेरैजसो माइती (क्षेत्रपाटी) बस्नुभयो । मेरो अधिकांश जीवन मामाघरमा बित्यो । पछि मलाई शान्ति निकुञ्ज स्कुलमा भर्ना गरिदिनुभयो ।

पढ्न जाँदा साथीहरू को–को थिए ?
मेरा साथीहरू सबै नेवार थिए । काठमाडौँमा बाहिरका मान्छे खासै थिएनन् ।

स्कुलमा नेवार भाषामा पढाइ हुन्थ्यो ?
हुँदैनथ्यो । पछि २०१२/१३ सालमा नेवार पढाउन थालियो ।

शिक्षकहरू पनि नेवार नै हुन्थे ?
शान्ति निकुञ्जको कुरा गर्ने हो भने संस्कृत पढाउनेबाहेक सबै शिक्षक नेवार नै हुन्थे । अहिले त मलाई पढाउने ती गुरुहरू सबै बितिसक्नुभयो ।

घरमा नेवार भाषा बोल्नुहुन्थ्यो ?
काठमाडौँकै भएको हुनाले आमा र भाउजू बोल्नुहुन्थ्यो । बुवाहरू सबै पहाडको भएर उहाँहरू खासै बोल्नु हुँदैनथ्यो । मैैले चाहिँ मामाघर बस्दा सिकेँ । कलेज पढ्न थालेपछि नेवारहरूको एउटा ग्रुप थियो । उनीहरूसँग बोल्दाबोल्दै सिकेँ । राणाको बेला नेवार भाषा हेपिएको थियो । अहिलेजस्तो लेख्न, बोल्न, पढ्न पाइँदैनथ्यो ।

अनि थप पढाइ कहाँ गर्नुभयो ?
२०१२ सालमा एसएलसी पास भएपछि त्रिचन्द्र कलेजमा आइएस्सी सुरु गरेँ । आइएस्सीमा दुईपटक फेल भएँ । त्यसपछि समय बर्बाद हुन्छ भनेर आइए पढ्न थालेँ । त्यसबेला साथीभाइ सबै साइन्स पढ्ने भएर मैले पनि आइएस्सी पढेको थिएँ । एसएलसीमा झन्डैले फस्ट डिभिजन आएको थियो । पछि फिजिक्समा फेल भएपछि आईएमा इकोनोमिक्स, पोलिटिकल साइन्स, नेपाली आदि विषय लिएर पढेँ ।

स्कुलमा त शिक्षक र साथीहरू सबै नेवार रहेछन्, कलेज पढ्दा कस्तो थियो ?
कलेज पढ्न थालेपछि हरेक किसिमका साथी भेटिए । बाहिरी जिल्लाका साथीहरू पनि थिए ।

दसैँ नजिकिँदै छ, उहिलेको ठमेलको दसैँ कस्तो हुन्थ्यो ?
संयुक्त परिवार भएकाले सबै दाजुभाइ भेला हुन्थ्यौँ । कहिले यतै मनाउँथ्यौँ, कहिले गाउँ जान्थ्यौँ । यहाँबाट धेरैपटक दसैँमा हिँडेर गोरखा गएको छु । ठमेलबाट बालाजु, पाँचमाने, ककनी, तादी, विदुर, त्रिशुुली बजार, आँरुघाट हुँदै गोरखा गइन्थ्यो ।

काठमाडौँमा चङ्गा उडाउने, पिङ खेल्ने गर्नुहुन्थ्यो ?
त्यो बेलाको हेरी अहिले त चंगा उडाएको जस्तै लाग्दैन । ठमेलमा हामी केटाहरूको एकदमै ठूलो जमघट हुन्थ्यो । अहिलेको जस्तो घर थिएन, सबै फाँटै फाँट थियो । त्यहीँ गएर चंगा उडाउँथ्यौँ । एउटा चंगालाई अर्कोले काट्यो भने जितिन्थ्यो । चंगाको धागोमा पिठोको माड र जलेको चिमलाई फोरेर मसिनो गरी पिँधिन्थ्यो । त्यसलाई धागोमा लगाएर धारिलो बनाइन्थ्यो । त्यसले अरुको चंगा काट्थ्यो ।

नेवार भाषा हेपिएको थियो । अहिलेजस्तो लेख्न, बोल्न, पढ्न पाइँदैनथ्यो ।

पिङ खेल्न लैनचौर जान्थ्यौँ । त्यहाँ गएर हामी पौडी पनि खेल्थ्यौँ । पछि बिस्तारै कति जग्गा राजा महेन्द्रले बकसमा दिए, कति कब्जा हुँदै गयो । नत्र ठमेलका मान्छेको खेल्ने ठाउँ नै लैनचौर थियो ।

ठमेलमा कहिलेदेखि घरैघर बन्न थाल्यो, गाडी नै गाडी चढ्न थाल्यो, कहिलेदेखि उकुसमुकुस हुन थाल्यो ?
जब पर्यटन विकास भनेर अनेक होटल र रेस्टुरेन्टहरू खुल्न थाले ठमेल व्यस्त हुन थाल्यो । त्यहाँको मूल सडक र काठमाडौँ गेस्ट हाउसको बीचमा खेत थियो । त्यो खेतमा अब घरैघर भइसक्यो । ठमेलमा भगवतीको मन्दिर छ । मन्दिरबाट पश्चिम गएपछि सार्वजनिक ट्वाइलेट थियो । पहिला घर–घरमा ट्वाइलेट थिएन । टोलको एउटा ठाउँमा सबैलाई हुने गरी सार्वजनिक शौचालय हुन्थ्यो । अहिले त्यही सार्वजनिक शौचालय भएको ठाउँमा ठूल्ठूला होटल छन् ।

त्यो बेला हिति (ढुङ्गेधारा) को पानी खानुभयो होला, पुखु (पोखरी) मा पौडी पनि खेल्नुभयो होला । के–के छ सम्झना ? 
पुखुमा त पौडी खेलिएन । विष्णुमती नदी चाहिँ गइन्थ्यो । त्यो बेला विष्णुमती एकदमै सफा थियो । हाम्रो आमा २०२५ सालमा बित्नुभयो । उहाँको किरिया बस्दा हामी हरेक दिन विष्णुमतीमा गएर नुहाउँथ्यौँ । ०५२ सालमा बुवा बित्दा त्यहाँको पानी छुनसमेत नसक्ने भइसकेको थियो । २५ वर्षको अन्तरालमा विष्णुमती ढल बनिसकेको थियो ।

ठमेल कसरी अहिलेको ठमेल बन्यो ? 
हाम्रो पुरानो घर बेचेपछि हामीले २०१३ सालमा ठमेलमै फेरि अर्को घर किन्यौँ । मेरा छोराछोरी त्यही घरमा जन्मिए । हामी बसेको क्षेत्र क्रमशः ‘विकास’ हुन थाल्यो । फाट्टफुट्ट टुरिस्टहरू आउन थाले । पसल थाप्ने क्रम बढ्न थाल्यो । राणाहरूले केही कम्पाउन्ड मारवाडीलाई बेचिदिए । उनीहरू ठूल्ठूला घर बनाएर बसे ।

काठमाडौँ पढ्न आउने धेरैजसो मान्छे डेरा लिएर त्यही एरियामा बस्दा रहेछन् नि, त्यतिबेला ?
पूर्वबाट आएकाहरू बागबजार, डिल्लीबजारतिर बस्थे । पश्चिमबाट आउनेहरू पकनाजोल, ठमेल, नयाँबजारतिर बस्थे । उनीहरूलाई सजिलो पर्थ्यो । सोह्रखुट्टेमा अस्तिसम्म पनि पाटी थियो । पछि बाटो फराकिलो गर्न भत्काइयो । नत्र पश्चिमबाट आउने सबैको टार्गेट त्यही पकाउने, बस्ने हुन्थ्यो । अन्त कतै बस्न पाइएन भने मानिसहरू त्यहाँ बस्थे, सुत्थे । दालचामल बोकेर ल्याउँथे । त्यहीँ पकाएर खान्थे । अहिले जस्तो होटलमा खान पाइँदैनथ्यो । पछि आफन्त र साथीभाइ खोजेर बस्न थाले ।

मान्छेहरु रिङरोड बनेपछि त्यतातिर फैलिन थालेका हुन् ? 
अहिलेको रिङरोड एरियालाई त्यो बेला काँठ भनिन्थ्यो । कोटेश्वर, बानेश्वर सबै काँठ मानिन्थ्यो । गाउँ नै थिए, ती ।

तपाईं हुर्केको ठाउँ जात्रा भइरहने, नाचगान भइरहने, धिमे बजिरहने ठाउँ थियो । कस्तो हुन्थ्यो, परिवेश ?
ठमेलको सभ्यताको कारण भगवान् बहाल नै हो । पहिला सांस्कृतिक कार्यक्रम हरेक कुरामा जोडिन्थ्यो । गाईजात्रामा भजन गाउँदै सहर घुमिन्थ्यो । माघ महिनामा स्वस्थानी पूर्णिमाको एक महिना बिहानै युवाहरू भजन गाउँदै विष्णुमती गएर नुहाएर आउँथे । अन्तिम दिन भजन गाउँदै पूरै टोल घुम्थे । त्यसलाई हामी माघे जात्रा भन्थ्यौँ ।

त्योबेलाको जनजीवनमा संगीत एकदमै जोडिएको रहेछ ?
त्योबेलाको माहोल निकै संगीतमय थियो । किनभने, प्रत्येक टोलमा भजन मण्डली थियो । एउटा पाटी हुन्थ्यो । त्यो पाटीमा बेलुका भजन हुन्थ्यो । बूढाबूढी, ठिटाठिटी सबै जम्मा हुन्थे । महिलाहरू चाहिँ घरभित्रको भजनमा हुन्थे । बाहिर सडक/पाटीमा जाँदैनन्थे । बरु उनीहरू प्रवचनमा चाहिँ जान्थे । कवि ईश्वर वल्लभका बुवा मुरलीधर भट्टराई असनमा बसेर भागवत् गीता प्रवचन गरेपछि सयौँ मानिस भेला हुन्थे ।

ठमेलतिर सवारीसाधन भित्रिन र भीडभाड हुन थालेको कहिलेदेखि हो ? 
हामी सानो हुँदा राणाहरूका दुई/चारवटा मात्र गाडी देखिन्थ्यो । बग्गी धेरै हुन्थ्यो । धेरै मानिसहरू बग्गीमै हिँड्थे । कोहीकोही चाहिँ मान्छेले तान्ने रिक्सामा पनि हिँड्थे । बालकृष्ण सम, सोमनाथ सिग्देललाई त्यस्तो रिक्सामा चढेको देख्थेँ । धनी नोकरचाकर राख्न सक्नेले त्यस्तो रिक्सा चढ्थे । राणाको समयमा साधारण मान्छे मोटर चढ्न पाउँदैनन्थे । पछि बिस्तारै साइकल आयो ।

तपाईंहरू गोरखाबाट काठमाडौँ आउनुभयो, यहाँ आएपछि बाहिरको नेवार भन्ने खालको अनुभव पाउनुभयो कि ?
हाम्रो घर कहिल्यै गाउँमा मात्रै भएन । काठमाडौँ र गाउँ दुवै ठाउँमा भएकाले हामीलाई त्यो अनुभव भएन ।

अरु कसैलाई त्यस्तो अनुभव भयो कि ? 
अरुलाई सायद भयो होला । बाहिरबाट आएको मान्छेलाई काठमाडौँका मान्छेले हेप्थे । अहिले पनि हेप्छन् । गाउँले, काँठे, हाम्रो भाषा जनान्ने भन्छन् । नेवारी भाषामा गाउँकै नेवारलाई पनि ‘गाँ नेवार’ भन्छन् । ‘गाँ नेवार’ भनेको गाउँले नेवार । सिद्धिचरण श्रेष्ठलाई बुवाको साथी भन्नुभयो ।

कवि ईश्वर वल्लभका बुवा मुरलीधर भट्टराई असनमा बसेर भागवत् गीता प्रवचन गरेपछि सयौँ मानिस भेला हुन्थे ।

उहाँले ओखलढुङ्गाको गुनगान गाएर कविता लेख्नुभयो । कवितामा काठमाडौँलाई मरुस्थल भन्नुभयो । लाग्दछ मलाई रमाइलो मेरै पाखापखेरो भन्दै यता बसेर उतैको गान गाइयो ।

लामो समय काठमाडौँ बसेर पनि सहरप्रति गुनासो र उता गाउँप्रति गर्वगान किन भयो ? 
म एउटा कुरा सम्झिन्छु । एकपटक कवि/लेखकहरू धेरै भेला भएका थिए । त्यहाँ काठमाडौँ सहरप्रति यस्तै गुनासो, अझ काठमाडौँको राक्षसी चित्रण धेरै सुनेपछि मेरा मित्र कवि तथा गीतकार राममान तृषितलाई झोँक चलेछ क्यारे, कविहरूलाई थर्काउनुभएको थियो । काठमाडौँलाई सराप्ने कवि/लेखकलाई आफ्नो गाउँप्रति बढी स्नेह भएर काठमाडौँलाई हेप्नुभएको होला । तर, यही ठाउँमा आएर उहाँहरू त्यहाँसम्म पुग्नुभएको हो । सबै काठमाडौँको देन हो । उहाँहरूले काठमाडौँलाई पनि प्रशंसा गर्नुपर्थ्यो । त्यो त एकदमै संकुचित भावना भयो ।

काठमाडौँका मान्छेले आफूलाई नस्वीकारेको असन्तुष्टि पनि हो कि ?
त्यो पनि होला । नेवार नै भए पनि बाहिरबाट आएकालाई काठमाडौँले आफ्नोपन दिँदैन । उनीहरू पनि नेपाली हुन् भन्ने भावना थिएन । पहिला काठमाडौँलाई नै नेपाल भनिन्थ्यो । हामी गोरखाबाट यता आउँदा त नेपाल जाने भन्दै आउँथ्यौँ ।

गोरखाबाट आउन कति दिन लाग्थ्यो ?
हिँड्न सक्नेलाई चार दिन, नसक्नेलाई पाँच दिन लाग्थ्यो । पहिलो पटक २००४ सालतिर हिँडेको थिएँ, म । कहिलेकाहीँ हिँड्न नसकेर डोकोमा बोकेर ल्याएको याद पनि आउँछ ।

तपाईंलाई कुन उमेरको भएपछि देशको राजधानी, त्यसको पनि मुटुमा जन्मे/हुर्केको रहेछु भन्ने थाहा भयो ? 
मोहन शमशेर प्रधानमन्त्री हुँदा मलाई एउटा सम्झना छ । म केटाकेटी नै थिएँ । मोहन शमशेर आउँदा अगाडि गार्डको रूपमा ठूलो मोटरसाइकल हुन्थ्यो । बाटो हिँड्ने सबैजना दायाँबायाँ बसेर झुकेर ‘सरकार, सरकार, सरकार’ भन्दै ज्यूज्यू गर्थे । हात हल्लाउँथे । तिनीहरू चाहे केटाकेटी होऊन् वा बूढाबूढी ।

तपाईंले पनि त्यसो गर्नुभयो ?
सबैले गरेको देखेपछि गर्नुपरेन त (हाँस्दै) । २००७ सालपछिको कुरा हो । हामी तीजना साथी महांकाल मन्दिर घुम्दै थियौँ । सिपाहीले च्याप्पै समातेर ‘ए ठिटा हो, तिमीहरू यो चौर टेकेर हिँड्ने’ भनेर उठबस गर्न लगाए । त्योबेला चौर बिग्रिन्छ भनेर पाले राख्ने चलन थियो । अहिले त्यहीँ टँुडिखेल टुक्रैटुक्रा, बाटैबाटो भइसक्यो । हामीलाई उठबस गराएको केही वर्षपछि नयाँ सडकको ढोकाबाट बागबजारको मुखसम्म बाटो बन्यो ।

केही कवि/लेखकहरूमा एकदमै संकुचित भावना भयो । 

त्यस बेलाको एउटा घटनाको सम्झना छ । ‘संयुक्त प्रयास’ नामको पत्रिकामा एउटा तस्बिर छापियो । त्यसका सम्पादक शिवहरि सिंह ‘पागल’ हुनुहुन्थ्यो । तस्बिरमा एकजना महिला दाउराको भारी बोकेर हिँडिरहेको देखिन्थ्यो । त्यसको क्याप्सनमा ‘नेपाल एउटा गाई जोत्ने मुलुक हो’ भनेर लेखिएको थियो ।

‘गाई जोत्ने’ भनेको व्यङ्ग्य गरेर भनेको हो ?
व्यङ्ग्य नै हो । गाई भनेर महिलालाई प्रतिनिधित्व गरेको हो । महिलालाई शोषण गरेको, धेरै काम लगाएको भनेको हो । पहिला–पहिला काठमाडौँमा इन्धन भनेकै दाउरा थियो । त्यसबेला हामीले कहाँबाट बिजुली पाउनु, ग्यासको त कल्पनै थिएन । स्टोभ नै धेरैपछि आएको थियो ।

दाउरा कहाँबाट ल्याउनुहुन्थ्यो ?
काँठबाट भारी बोकेर मानिसहरू काठमाडौँ दाउरा बेच्न आउँथे । एक भारी दाउराको दुई/तीन मोहर पर्थ्यो । सक्नेले धेरै किनेर थाक लगाउँथे । नसक्नेले बजारमा पाइने ‘मुठे दाउरा’ किन्थे । एउटा मुठामा तीन–चारओटा दाउरा हुन्थ्यो । त्यस्तो दाउरा पसल–पसलमा किन्न पाइन्थ्यो । डेरा गरेर बस्नेहरू त्यही मुठे दाउरा ल्याएर भात पकाएर खान्थे । डेरा बस्ने धेरैजसो सिपाहीहरू हुन्थे । पहिला अहिले जस्तो ब्यारेक हुँदैनथ्यो । बिहान टुँडिखेलमा कवाज खेल्थे, अनि मुठे दाउरा किनेर भात पकाएर खान्थे ।

गाउँघरमा हुर्किनेलाई आफ्नो खोलानाला प्यारो लाग्छ । त्यहाँको ढुङ्गा, चौतारो जोगाइदिए हुन्थ्यो भन्ने लाग्छ । डोजर लगाउन हुँदैन भनेर गाउँमा बाआमा विरोध पनि गर्नुहुन्छ । यता तपाईं जस्ता रैथानेहरूको आवाज ‘विकासप्रेमी’ राजनेता–युवराजहरू सुन्दैनन् त ? 
ठमेल नै पनि अर्कै भइसक्यो नि । पहिला सार्वजनिक चर्पी भएको ठाउँमा ठूल्ठूला होटल बनिसके । पहिला मूल सडकको बजार सुनसान थियो । अहिले पुरानै घरमा पनि पसल लगाएर व्यापार भइरहेको छ ।

त्यसको क्याप्सनमा ‘नेपाल एउटा गाई जोत्ने मुलुक हो’ भनेर लेखिएको थियो । 

गाडीको चाप छ । ‘वन वे’ गरिदिएको छ । एम्बुलेन्सलाई समेत त्यहाँको गल्ली पस्न गाह्रो छ । अब त ठमेलका नेवारहरू ९० प्रतिशत त्यहाँ छैनन् । धेरैजना बाहिर घर बनाएर बसिसके ।

तपाईंकै अनुसार ९० प्रतिशत त बाहिरिनुभयो, १० प्रतिशतको के हाल छ ? 
ठमेलका प्रधानहरू सम्पन्न थिए । ठूल्ठूलो पदमा पुगेका थिए । धेरै प्रधानहरू न्यायाधीश बनेका थिए । कोही गृह सचिव, कोही वन सचिव भएका प्रधानहरू थिए । धेरै पढेलेखेका प्रधानहरू थिए । उनीहरूले बाहिर पनि किन्न सके । जो बाहिर निस्किन सकेका छैनन्, उनीहरू कि धेरै धनी छन् कि धेरै गरिब ।

त्योबेला शिक्षकदेखि सचिवहरू सबै नेवार थिए भन्नुभयो । तर, अहिले नेवारलाई नै आरक्षण चाहिने अवस्था कसरी आयो ?
काठमाडौँ शिक्षाको केन्द्र भयो । स्वाभाविक रूपमा यहाँ बाहिरका आएर पढ्न पाए । २००८/००९ सालतिर धेरै शिक्षकहरूलाई त्यस बेलाको सरकारले उपसचिव बनाएर लैजाने गथ्र्यो । शान्ति निकुञ्जकै शिक्षकहरू कतिजना त्यसरी नै गए । उनीहरूलाई सरकारबाट अफर आउँथ्यो । त्यसरी गएको शिक्षकहरू ठूल्ठूला पदमा पुगे । त्यसबेला नेवारहरूले मौका पाउनु स्वाभाविक थियो । अहिलेको सचिवमा दुईजना पनि नेवार भेटिँदैनन् ।

यस्तो अवस्था कसरी आयो ?
पहिलो त काठमाडौँमा प्रशस्त मात्रामा बाहिरका मानिसहरू भित्रिए । उनीहरूले राम्रोसँग पढे, लेखे । उनीहरू प्रतिस्पर्धामा उत्रिए । नेवारहरूमा मेरो घर, सम्पति छँदै छ किन पढ्नु, लेख्नु भन्ने मनोविज्ञान बन्यो । काठमाडौँका नेवारहरू कम्पिटिसनमा जान सकेनन् ।

१४ वर्ष पहिले ठमेल छाडेर यहाँ आउँदा तपाईंलाई कत्तिको गाह्रो भयो ?
म ठमेलमै बस्न चाहन्थेँ । छोरा प्रत्यूष यहाँ सर्‍यो । यो घर हामीले बनाएको होइन, किनेको हो । उनीहरू यता सरे पनि हामी बूढाबूढी ठमेलमै बसिराख्यौँ । हामीलाई उतै सजिलो थियो । चिनेजानेका थुप्रै मानिस उतै थिए । पुल्चोक आउँदैनौँ भनेर हामी छ महिना उतै बस्यौँ । एकदिन छोरा हामीसँग रिसायो । हामीलाई पनि के गर्ने, कसो गर्ने भयो ।

नेवारहरूमा मेरो घर, सम्पत्ति छँदै छ किन पढ्नु, लेख्नु भन्ने मनोविज्ञान बन्यो ।

अनि आफ्ना सामान पोको पारेर यता आयौँ । पुरानो घर छाड्नुपर्दा हाम्रो मनस्थिति राम्रो थिएन । हामीलाई उतै बस्न मन थियो । यता कोही चिनेका मान्छे पनि थिएनन् । छिमेकी पनि नयाँ । तैपनि, केही सीप लागेन ।

अहिले त यतै रमाइलो लाग्छ होला ?
अहिले मलाई यहाँ सजिलो छ । त्यो ठाउँ छाड्नुको कारण छ । मेरोभन्दा पनि छोराको । उसलाई धेरै लेखपढ गर्नुपर्छ । हाम्रो पुरानो घरपछाडि घर भाडामा लिएर ठूल्ठूलो रेस्टुरेन्ट खुल्न थाल्यो । रातको १२/१ बजेसम्म डाङ्डाङ् र डुङ्डुङ् लाइभ म्युजिक बज्न थाल्यो । रातभरि सुत्न पाइएन । हामीलाई साह्रै डिस्टर्ब भयो । छोरालाई पनि झोँक चल्यो । यहाँ बस्दै नबस्ने भनेर नयाँ घर किन्यौँ । उताको घर अहिले पनि बेचेका छैनौँ । भाडामा दिएका छौँ ।

ठमेलमा एम्बुलेन्सलाई समेत पस्न गाह्रो छ । अब त ठमेलका नेवारहरू ९० प्रतिशत त्यहाँ छैनन् । 

ठमेलमा बस्दा किताब पढ्नको दुःख थियो, किन्न दुःख थिएन । यता पढ्ने वातावरण छ, किन्ने वातावरण छैन । यहाँ नजिकै किताब पसल छैनन् । रत्न पुस्तकको शाखा थियो । भाडा महँगो भयो भनेर पुस्तक पसल नै बन्द गरे । अहिले किताब किन्नुपर्‍यो भने कि पाटनढोका जानुपर्छ कि कुमारीपाटी । नजिकै किताब पसल भइदिए हुन्थ्यो भन्ने लाग्छ । यहाँ हाम्रो घर नजिकैको किताब पसल बन्द भएपछि त्यसको शोकमा मेरो छोरो प्रत्यूषले त अबिच्युरी नै लेखेको छ, काठमाण्डू पोस्टमा ।

अक्सर बसाइँसराइको भाष्यमा परिधिबाट केन्द्रतिर, गाउँबाट सहरतिर सरिन्छ भनिएको छ । बसाइँसराइ देश छोड्ने वा जिल्ला छोड्ने मात्र हुन्छ भनिन्छ । तर, जिल्लाभित्रै पनि टोल छोड्ने पनि त हुँदो रहेछ । मल्ल के सुन्दरदेखि तपाईंसम्मले ९० प्रतिशत रैथाने सरिसके भन्नुभयो, ‘मुटु छोड्ने’ यो टाइपको अन्तर–आन्तरिक बसाइँसराइका विविध पाटाबारे अध्ययन हुनुपर्दैन ? 
अध्ययन पक्कै पनि भएको छैन । अध्ययन हुनुपर्छ । हाम्रो केसमा कुरा गर्ने हो भने त्यहाँको वातावरण हाम्रा लागि उपयुक्त पनि भएन । व्यापार गर्नेलाई मात्र उपयुक्त भयो । व्यापार नगरी अर्कै किसिमको पेसा र सोच राख्नेलाई त्यो ठाउँमा वातावरण मिलेन ।

ठमेलमा बस्दा किताब पढ्नको दुःख थियो, किन्न दुःख थिएन । यता पढ्ने वातावरण छ, किन्ने वातावरण छैन ।

हामी लेखपढ गर्ने, ‘इन्टलेक्चुअल–एकेडेमिक वर्क’ गर्नेलाई त्यो ठाउँ मिलेन । त्यहाँ हरबखत व्यापारिक कुरा मात्रै हुन थाल्यो । पसलेहरूको नाफाघाटाको कुरा मात्रै सुन्नुपर्ने भयो ।

तपाईंका अरु आफन्त कता कता सरे त ?
कोही कहाँ छन्, कोही कहाँ । मेरो आफ्नै भाइ बुढानिलकण्ठको डाँडामा, मन्दिरभन्दा पनि पर घर बनाएर बसेको छ । ‘किन त्यति टाढा बसेको ?’ भनेर सोध्दा ‘मलाई यहीँ ठीक छ’ भन्छ । मेरै भनिजा कोषराज वन्त पकनाजोलबाट टोखातिर सरे । डा. शरत वन्त पनि ठूलो भर्‍याङतिर सर्नुभयो । हाम्रै दाजुभाइ चारैतिर छरिएका छन् । ठमेलका छिमेकीहरू पनि धेरै नै सरे । पहिला हाम्रो टोलमा योगनाथ प्याकुरेल हुनुहुन्थ्यो । उहाँका नातिनातिना शंखपार्कतिर सरे । ठमेलका सात घुम्ती वरपरका मान्छे त्यहाँ कोही छैनन् । केहीले बेचेर गए । धेरैले भाडामा दिए ।

हिजो ठमेल बस्दा बाहिरकालाई काँठ भन्नुभयो, अहिले ठमेलवासी रैथाने सारा काँठ खोज्दै बाहिरिए, है ?
(लामो हाँसो ।)

यो पनि पढनुहोस् :


Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
ad
x