वार्ता

'बागलुङको विकासका निम्ति मेरो निरन्तरता हो'

विनोद देवकोटा |
कात्तिक ४, २०७९ शुक्रबार ७:९ बजे

बागलुङको निर्वाचन क्षेत्र नम्बर २ मा पुन: दोहोरिने दाउमा छन् नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल । बागलुङमै जन्मे-हर्केका पौडेल गत निर्वाचनमा बागलुङ-२ बाटै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । गत चुनावका गरेका प्रतिवद्धताअनुरूप काम गरेकोले फेरि पनि सहजै चुनाव जित्ने उनको आँकलन छ । 'विगतमा मैले प्रतिवद्धता गरेका धेरै कामहरू भएका छन् । यी काम भए अब यी गर्छु भनेको छु,' उनी भन्छन्, 'बागलुङ म आफै जन्मे, हुर्केको ठाउँ हो । मैले यस क्षेत्रका जनताको धेरै काम गर्नु छ । चुनाव जित्नेमा विश्वस्त छु ।' प्रस्तुत छ शिक्षामन्त्रीसमेत रहेका पौडेलसँग इकागजका विनोद देवकोटाले गरेको चुनावी कुराकानी :

बागलुङ–२ मा तपाईंको निरन्तरता किन ? 


बागलुङ म आफै जन्मे, हुर्केको ठाउँ हो । बागलुङको उन्नति, प्रगति र विकासमा निम्ति मेरो निरन्तरता हो । मैले यस क्षेत्रका जनताको धेरै काम गर्नु छ । विगतमा बाँकी रहेका कामलाई पूर्णता दिनु छ । बागलुङकै जनताको चाहनाअनुसार दोस्रो पटक मैले उम्मेदवारी दिएको हुँ ।

यसअघि पनि यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । केके काम गर्नुभयो ?

विकास निर्माणका थुप्रै कामहरू भएका छन् । खासगरी सडक स्तरोन्नति भएका छन् ।  ट्र्याक नपुगेका ठाउँमा ट्र्याक पुर्‍याउने काम भएका छन् । विद्यालयमा भवनहरू निर्माण भएका छन् । प्राविधिक शिक्षालयहरू निर्णय भएका छन् । कति निर्माणको प्रक्रियामा छन् । त्यसलाई कार्यान्वयन गर्नु छ । थुप्रै पुलहरू निर्माण भएका छन् । कतिपय निर्माणको चरणमा छन् । ती काम पूरा गर्नु छ । म गरेका प्रतिबद्धताहरू पूरा गर्न र भविष्यमा थप योजना र काम गर्न यहाँ आएको हो । 

फेरि कुन एजेण्डा लिएर जनतामाझ गइरहनुभएको छ ? 
प्रतिगमनलाई परास्त गर्दै संविधानको रक्षा गर्ने र प्राप्त उपलब्धीहरू जोगाउने राष्ट्रिय एजेण्डा हो । जिल्लाको विकासको निम्ति मेरो उम्मेदवारी हो ।
पहाडी लोकमार्गलाई वैकल्पिक मार्ग बनाउने कुरा छ । शिक्षालय बनाउने कुरा छ । सुरुङ मार्ग, हाइड्रोपावर बनाउने कुरा छ । पर्यटनको विकास शिक्षा, स्वास्थ्य र जनजीवीकाका मुद्दाहरू छन् । 

राष्ट्रिय राजनीतिमा पनि तपाईको भूमिका रहन्छ । शिक्षा मन्त्री पनि हुनुहुन्छ । राष्ट्रियस्तरमा केके काम गर्नुभयो र थप केके योजना छन् ?

शिक्षा क्षेत्रमा शिक्षकहरूको उन्नति र प्रगतिको निम्ति कानुनी सुधार भएका छन् । भौतिक सुधार र शिक्षण सिकाइमा सुधारको प्रक्रिया अघि बढाएका छौँ । १० वर्षे विद्यालय शिक्षा योजना अगाडि बढाएको छ । मन्त्रालयले शोधपत्र सार्वजनिक गरेको छ । सार्वजनिक विद्यालयलाई सबलीकरण गरेर ‘हामी बनाउँछौँ हाम्रो विद्यालय भन्ने’ अभियानसहित अघि बढेका छौँ । उच्च शिक्षासँग सम्बन्धित कतिपय कुरा अगाडि बढेका छन् । दुई वटा विश्वविद्यालय थप्ने काम सुरु भएको छ । मदन भण्डारी प्राविधिक र योगमाया आयुर्वेदिक विश्वविद्यालय सुरुवात गर्ने निर्णय गरेका छौँ । 

देशका ७७ वटै जिल्लाका सबै पालिकामा प्राविधिक शिक्षालय पुर्‍याउने निर्णय गरेका छौँ । राष्ट्रपति शैक्षिक सुधारबाट भरखरै मात्रै ४२ सय विद्यालयहरूको भौतिक पूर्वाधार बनाउने निर्णय गरेका छौँ । झण्डै १३ हजार विद्यालय बनाएको छौँ । बाँकी तीन वर्षभित्र बनाउनेगरी प्रक्रिया अघि बढाएका छौँ । शिक्षाका सुधारका कामहरूलाई अगाडि बढाइएको छ । 

जनतामाझ गइरहनुभएको छ । उहाँहरूका अपेक्षा र गुनासा के छन् ? 

धेरैजसो जनताका गुनासाहरू कामसितै सम्बन्धित छन् । खासगरी पूर्वाधार विकास र रोजगार र पर्यटनसँग सम्बन्धित छन् । काम होस् भन्ने छ । भएका ठाउँमा अझ बढी र नभएका ठाउँमा काम होस् भन्ने नै छ । 

उहाँहरूलाई कसरी आश्वस्त पार्नुभएको छ ?
गरेका कामहरू यी भए अब यी गर्छु भनेको छु । धेरै कामहरू भएका छन् । भएका कामहरू गरेँ भनेको छु । यी बाँकी छन्, यी प्रक्रियामा छन्, यी गर्छु भनेको छु । भएका कामहरूको प्रचार गर्दै नभएका काम गर्ने विश्वास र प्रतिबद्धता गर्दै आएको छु । 

चुनावी माहौल कस्तो छ ? 
चुनावी माहौल राम्रो छ । प्रचारप्रसारको काम तीब्रतापूर्वक अगाडि बढेको छैन । सबै वडामा कार्यालय बनायौँ । प्रदेश कार्यालयहरू निर्माण र उद्घाटन गर्‍यौँ । प्रारम्भिक प्रचार सुरु भएको छ । गठबन्धन भएकोले  हाम्रो भारी मत छ । विपक्षी उम्मेदवाहरूको त्यस्तो प्रचार छैन । गठबन्धनका उम्मेदवार सबै ठाउँमा जित्ने निश्चित छ । 

प्रतिस्पर्धी उम्मेदवारलाई कसरी लिनुभएको छ ?
स्वाभाविक रूपमा एमाले नै मुख्य प्रतिस्पर्धी हो । तर गठबन्धनको तुलनामा एमाले निकै कमजोर छ । कांग्रेस, माओवादी, जनमोर्चा र नेकपा एस एकै ठाउँ भएकोले एमालेले जित्ने सम्भावना छैन । 

गठबन्धनको कुरा गर्नुभयो । गठबन्धनमा तपाईंले सोचेजस्तो ‘भोट ट्रान्सफर’ हुन्छ त ?

गठबन्धनमा कुनै समस्या छैन । स्थानीय चुनावमा पनि गठबन्धन गरेको हो । अलिअलि कामसित सम्बन्धित गुनासा कतै होलान् । तर एकाध वडाबाहेक धेरै ठाउँमा सहजतापूर्वक अघि बढेका छौँ । कतै समस्या छैन । 

अन्तिममा बागलुङ–२ का मतदातालाई के भन्नुहुन्छ ? 
म यही स्थानमा जन्मेको छोरो हो । यो ठाउँको विकास र प्रगतिको निम्ति निरन्तर लागि परेको मान्छे हो । बाँकी जीवनभर लागिपर्ने विश्वास मैले गरेको छु । त्यसको निम्ति अधुरा काम पूरा गर्न मलाई मत दिन आह्वान गर्छु । 


 


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x