वार्ता

‘१७ हजार मत ल्याएर विजयी हुन्छु, कृष्णगोपालजीलाई धन्यवादसहित बिदा गर्छौं’

कमल विष्ट |
कात्तिक ४, २०७९ शुक्रबार ८:३८ बजे

आगामी मंसिर ४ को निर्वाचनमा मिलन पाण्डेले प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं–९ बाट उम्मेदवारी दिएका छन् । पाण्डे २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रमा तत्कालीन विवेकशील साझा पार्टीबाट तराजु चिह्नमा उम्मेदवार बनेका थिए । यसपालि भने उनी साझा दलबाट लड्दैछन्, ‘पाइला’ चुनाव चिह्न लिएर ।विवेकशील साझा पार्टीका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले पार्टीभित्र अगाडि सारेको ‘विचारभन्दा माथि देश’ शीर्षकको लोकतन्त्र, संघीयता र धर्म निरपेक्षताविरोधी दस्तावेजको विरोध गर्दा उनीसहित थुप्रै नेताहरू पार्टीबाट निष्कासित भएका थिए । पार्टीविहीन भएपछि उनको समूहले निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्‍यो, साझा पार्टी । पाण्डे यही दलबाट चुनावमा होमिएका हुन् । 

काठमाडौं–९ बाट प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक दल र स्वतन्त्र गरी २२ जनाले उम्मेदवारी दिएका छन् । तर, उनले आफ्नो मुख्य प्रतिस्पर्धा नेकपा एमालेका कृष्णगोपाल महर्जनसँग हुने ठानेका छन् । गत निर्वाचनमा नागरिकबाट ४ हजार ९ सय ४६ मत पाएका पाण्डेले यसपालि १७ हजार मतसहित चुनाव जित्ने दाबी गरेका छन् । आफूले एमाले र नेपाली कांग्रेसका कार्यकर्ताको पनि साथ पाउने उनको विश्वास छ । यो क्षेत्रमा मुख्यगरी पाण्डे, श्रेष्ठ र सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी उम्मेदवार कल्पना धमलाबीच त्रिपक्षीय भिडन्त हुने अनुमान छ । यसै सन्दर्भमा पाण्डेसँग इकागजका कमल विष्टले गरेको कुराकानी :


चुनावी अभियान कस्तो भइरहेको छ ? कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
राम्रो छ । निर्वाचन आयोगको आचारसंहिताले औपचारिक रुपमा घरदैलो सुरु नगरे पनि साथीहरूसँग भेट्ने र संवाद गर्ने काम भइरहेको छ । सामाजिक सञ्जालहरूबाट निरन्तर आफ्नो कुरा राखिरहेको छु । अघिल्लो पटक हामीलाई लगभग ५ हजार मत दिएका साथीहरू पुनः सक्रिय भएर स्वतःस्फुर्त सक्रिय भइरहनुभएको छ । यसपालि पुरानै दलका साथीहरू पनि उल्लेख्य संख्यामा संवादमा आउनुभएको छ । मतदाताहरू ३१ वर्षदेखि क्षेत्र नं ९ मा एउटै अनुहारबाट दिक्क छन् । ८ वटा निर्वाचनमा एउटै व्यक्ति ( कृष्णगोपाल श्रेष्ठ ) भिडेको कुराले यहाँका मतदाताले अपमानित महसुस गरेका छन् । यसपालि ९ मा परिवर्तन खोजेका छन् । म त अति नै उत्साहित छु, खासगरी यहाँका नयाँ पुस्ताका मतदाताको प्रतिक्रियाबाट । यसपालि त परिवर्तन हुन्छ हुन्छ । 

गत निर्वाचनमा तपाईंले यही क्षेत्रमा तत्कालीन विवेकशील साझाबाट चुनाव लड्दा ४ हजार ९ सय ४६ मत पाउनुभएको थियो । यसबीचमा विवेकशीलमा विचलनमात्र आएन, वैकल्पिक शक्तिका रूपमा उदाइरहेको दल छिन्नभिन्न भयो । यसले नागरिकमा व्यापक निराशा छाएको छ नि ? 
म अहिले पनि विवेकशील अभियानकै नेतृत्वमा छु । विवेकशील साझा भित्र एकजना सहकर्मीले राजावादी धार लिएपछि पार्टीमा दुईवटा वैचारिक लाइन देखिएको हो । त्यो स्वाभाविक नै थियो । युवाहरूको पार्टी पछाडि फर्कन सक्दैन थियो । अहिले उहाँ पार्टी छाडेर गइसक्नुभएपछि बहस सकिएको छ । अब हामी सबै एक ठाउँ आएर विवेकशील साझाको यो अभियानलाई पुरानै लयमा फर्काएर सानदार रुपमा अघि बढाउने छौँ । तर, निर्वाचन प्रक्रिया सुरु भइसकेको हुनाले हामीले निर्वाचन अघि सबै साथीहरूलाई एक ठाउँ ल्याउन भ्याएनौँ । त्यसैले, म पार्टीमा विवाद रहेको बेला हाम्रै अभियानका विचार मिल्ने युवा साथीहरूले दर्ता गरेको साझा पार्टीको चुनाव चिह्न ‘पाइला’बाट उठिरहेको छु । अब वैकल्पिक राजनीति थप परिपक्व तरिकाले अघि बढाउँछौँ ।

नागरिकमा वैकल्पिक शक्तिप्रतिको आशा क्षीण भएको छ । तपाईंलाई यसको असर कति पर्ला ? 
हामी १७ हजार मत ल्याएर निर्वाचन जित्छौँ । अघिल्लो पल्ट ५ हजार मत र आशीर्वाद पाएर तेस्रो भएको थिएँ । यसपालि कांग्रेसको उम्मेदवार छैन, एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठजी ३१ वर्षदेखि पटक पटक गरेर ८ चोटी यो क्षेत्रबाट उठिसकेको हुनाले नागरिकले परिवर्तन चाहेको महसुस गरेको छु । त्यसैले, यसपटक नागरिकले हामीलाई मत दिनुहुनेछ ।

जहाँसम्म विवेकशील अभियानको कुरा छ, यो अगाडि बढिरहेको छ । हरेक अभियानमा, हरेक संस्थामा केही राम्रा अनि केही नराम्रा कुराहरू हुन्छन् । विवेकशील साझाले पनि धेरै सफलता अनि केही असफलता बेहोर्यो । म समग्रमा विवेकशील आन्दोलनको उपलब्धिमा गर्व गर्छु । हाम्रै नेतृत्वमा विवेकशील अभियानले विगत १० वर्षमा निकै राम्रा कामहरू गर्यो । नेपाल खुल्ला छ, भूकम्पमा गरेका कामहरू, सम्पदा संरक्षणमा निभाएको भूमिका, शिक्षा–स्वास्थ्य सुधारमा गरिएका अभियान, उद्यमशीलता प्रवद्र्धनमा गरेका कामहरू, युवा र महिलालाई राजनीतिमा स्थापित गर्न लिएका अग्रसरता, कोभिडको बेला देखाएको सक्रियतालगायत कामहरू यो अभियानका सफलता हुन् । फुट र पछिल्लो समय आएको वैचारिक विचलन हाम्रो सांगठनिक कमजोरीहरू हुन् । हाम्रो इमान्दार प्रयत्नमा धक्का लाग्यो, तर हामी विगत १० वर्षमा ७० प्रतिशत कुरामा सफल रहेको कुरा पनि सत्य हो । ३० प्रतिशत कुरामा हामी असफल रह्यौँ । यही सिकाइबाट थप परिपक्व बन्दै हामी आगामी दिनमा वैकल्पिक राजनीतिलाई थप अगाडि लैजाने छौँ । संस्था बनाउन सजिलो कहाँ छ र ?

पछिल्ला पाँच वर्षमा तपाईंले यस क्षेत्रका लागि के गर्नुभयो ?
काठमाडौँ– ९ को सन्दर्भमा, अघिल्लो पल्ट यहाँका मतदाताले  ‘५ वर्ष पर्ख, काम गर, अनि फेरि आऊ’ भनेर सन्देश दिनुभएको थियो । मैले ५ वर्ष निरन्तर विभिन्न राजनीतिक, सामाजिक कामहरू गरेँ । क्षेत्र नं ९ मै पनि कोरोनाको बखतमा सक्दो राहत उपलब्ध गरायौं । काठमाडौँ महानगरलाई सुरुमै पीपीई उपलब्ध गरायौँ । शिक्षक तालिम, स्यानिटरी प्याड बनाउने तालिम, उद्यमशीलताको तालिम दिने काम गर्‍यौँ । स्रोत साधन नहुँदानहुँदै पनि यत्ति गर्न सकेकोमा म सन्तुष्ट पनि छु ।

यो क्षेत्रमा बलियो पकड भएका एमाले नेता श्रेष्ठ र गठबन्धनकी साझा उम्मेदवार धमलासँग तपाईंको प्रतिस्पर्धा हुने देखिन्छ । तपाईंको आफ्नो संगठन त्यति बलियो छैन । यस्तोमा तपाईंको जितको आधार के हो ? 
लाखौँ कार्यकर्ता भएका अनुत्पादक संगठनको काम छैन । मतदाताले अब संगठन होइन विचार र भिजन हेर्न थालिसके । काठमाडौं महानगरमै गठबन्धन र देशकै ठूलो दललाई मतदाताले हराइदिए । मेरो जित्ने आधार यहाँको मतदाताको परिवर्तनको आकांक्षा हो र मतदाताको मप्रतिको भरोसा हो । यस क्षेत्रका युवा र नयाँ मतदाताले उही पुरानैलाई यसपालि नरोज्ने पक्का छ । लोकतन्त्रवादी मतदाताले कम्युनिष्ट झण्डामा भोट हाल्न सक्दैनन् । यसपालि परिवर्तन चाहिन्छ । परिवर्तनका लागि ‘पाइला’ नै विकल्प हो । हामीलाई यिनै नयाँ र लोकतन्त्रवादी मतदाताहरूले मत दिनुहुन्छ । 

त्योबाहेक मैले मेरो जितका पाँच आधारहरू पहिचान गरेको छु ।

ती आधार हुन् – 
पहिलो, म इन्जिनियर हुँ । विकास, समृद्धिलाई वैज्ञानिक र समाधानमुखी तरिकाले बुझेको छु, नागरिकले महसुस गर्ने गरेर परिणाम दिन सक्छु । दोस्रो, देशको आधा जनसंख्या २५ वर्ष मुनि छ । म ३३ वर्षको भएँ, मैले नयाँ पुस्ता, अहिलेको नयाँ परिवर्तनलाई थप नजिकबाट बुझेर तपाईं र तपार्ईँको सन्ततिका निम्ति हित हुने काम गर्न सक्छु । युवा र महिलाका एजेन्डा हाम्रो प्राथमिक एजेन्डा हुन् । 

तेस्रो, गठबन्धन वा एमाले उम्मेदवार जित्दा संसदमा केही नयाँपन आउँदैन । यदि म संसदमा पुगेमा, हामीले सडकबाट सोधेका प्रश्न सदनबाट सोध्ने छौँ । तपाईंहरूको शिर ठाडो हुने काम गर्नेछौँ । चौथो, ९ मा लोकतान्त्रिक मत धेरै छ । म आफैँ विगत १० वर्षदेखि लोकतन्त्रलाई थप मजबुद बनाउन सहभागितामूलक लोकतन्त्रको वकालत गर्दै आइरहेको छु । त्यसैले, लोकतान्त्रिक मतको यसपालि मैले नेतृत्व गर्दै छु । 

पाचौं, नेपालको शिक्षा प्रणाली सुधार्ने मेरो व्यक्तिगत र राजनीतिक उद्देश्य हो । सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउने र निजी विद्यालयमा लिने चर्को शुल्कलाई नियमन गराउन एक्लै भए पनि संसद्बाट नेतृत्व गर्नेछु । यही मेरो जितको आधार हो ।

लोकतन्त्रवादी मतदाताले कम्युनिष्ट झण्डामा भोट हाल्दैनन् भन्नुभयो । कांग्रेसीहरूले गठबन्धनको साझा उम्मेदवारलाई भोट नदिएर तपाईंलाई भोट देलान् त ?  
कांग्रेसका कार्यकर्ता स्वतन्त्र छैनन् भन्ने तपाईंको प्रश्न हो । यो प्रश्न नै कांग्रेसका सदस्यको अपमान हो । कार्यकर्ता हो, रैती होइन नि । कार्यकर्ताले पार्टीको मूल्यमान्यता र विचार हेर्ने हो । कांग्रेस कार्यकर्ता यसपालि पार्टीको मूल्यमान्यता बचाउनेछन् र एउटा युवा, सक्षम, लोकतन्त्रप्रति प्रतिबद्ध युवालाई भोट हाल्नेछन् ।

तपाईंका अजेन्डा के छन् ?
पहिला सुरुमा त हामीले सांसदको जिम्मेवारीका बारेमा स्पष्ट हुन जरुरी छ । सांसदको पहिलो काम सदनबाट कानुनहरू र नीति बनाउने हो । म मुख्यगरी शिक्षा नीति र उद्यमशीलतासम्बन्धी नीति बनाउन पहल गर्नेछु । साथै, टुटल, इन्ड्राइभर, पठाओ जस्ता राइड सेयरिङ माध्यमका निम्ति आवश्यक कानुन निर्माणमा पहल गर्नेछु । सेयर बजारको समस्या समाधानमा पहल गर्नेछु । पूँजीको विकासलाई गलत दृष्टिले हेर्ने, जुवा हो भन्ने नेताहरूको बुझाइका कारण सेयर बजारले धेरै समस्या झेल्नुपरेको छ । सेयर बजारलाई थप व्यवस्थित गर्न र लगानीकर्ताको लगानीलाई सुरक्षित गर्न आवश्यक पहल गर्नेछु । केही थोरै व्यक्तिहरूले सेयर बजारलाई तलमाथि गरेर साना लगानीकर्ताहरूलाई असर गर्ने कुरामा राज्यले भूमिका खेल्न पहल गर्नेछु ।

सांसदको दोस्रो काम, सरकारका काम कारवाहीको अनुगमन गर्नु हो र सरकारलाई जवाफदेही बनाउनु हो । हामीले विगत १० वर्षमा त्यही गर्‍यौँ । माइतीघरबाट सरकारको खराब कामको विरोध गर्यौं । स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता ( ओम्नी काण्ड ) विषयलाई होस् वा लोकमान सिंह कार्की विरुद्धको संघर्ष हामीले विगत १० वर्षमा त्यही गर्‍यौँ । अब यो कामलाई म माइतीघरबाट मात्र होइन, सदनबाट नै प्रश्न सोध्न चाहन्छु । प्रश्न सोध्न मात्र पनि होइन, म समस्याको समाधान दिन चाहन्छु । 

सांसदको तेस्रो काम भनेको आफ्नो भूगोलसँग जोडिनु हो । मैले काठमाडौँ ९ का निम्ति ११ वटा अजेन्डा प्रस्तुत गरेको छु । 
१) हाम्रो क्षेत्रको अधिकांश धारामा पानी आउँदैन । आउने धारामा पनि हप्ताको एक दुई चोटि राति १–२ बजे पानी आउँछ । फेरि पानी नआए पनि पानीको पैसा भने तिरी नै रहनुपर्छ । त्यसैले, मेरो सांसदको रूपमा पहिलो प्राथमिकता यो क्षेत्रमा रहेको खानेपानीको समस्यालाई अन्त्य गर्ने हुनेछ । राति पानी दिने प्रथाको अन्त्यका निम्ति नेतृत्व गर्नेछु । 

२) पानी नआएको घरले पैसा तिर्न नपर्ने नियमका निम्ति वकालत गर्नेछु । पदीय सीमाले यदि समाधान दिन सकिनँ भने, स्थानीयसँग गाग्रो ठटाउने र मन्त्रालय घेर्ने आन्दोलनको अग्र पंक्तिमा हुनेछु ।

४) क्षेत्रमा पर्ने बाटोहरू बनाउन, मर्मत गर्न र समयमै सक्न सांसदको हैसियतले अनुगमन गर्नेछु । म क्षेत्रको विकासका कामहरूलाई निरन्तर वैज्ञानिक अध्ययन र अनुगमन गर्छु ।

५) क्षेत्रको ऐतिहासिक तथा सांस्कृतिक स्थलहरूको संरक्षण र प्रवद्र्धनमा विशेष ध्यान दिनेछु । अतिक्रमणमा परेका ऐतिहासिक, सांस्कृतिक र सार्वजनिक स्थलहरूलाई अतिक्रमणमुक्त गर्न नेतृत्व लिनेछु । हाम्रो क्षेत्रले आन्तरिक पर्यटनमा ठूलो सम्भावना बोकेको छ, क्षेत्रलाई पर्यटनसँग जोड्ने अभियान सञ्चालन गर्नेछु ।

६) स्थानीय सरकारसँग समन्वय गरेर नेवा संस्कृति, तामाङ संस्कृतिलाई नयाँ पुस्तासँग जोड्न कक्षा ८ मा ‘नेवाः एक सभ्यता’ र ‘तामाङ सभ्यता’ भन्ने पाठ्यक्रम नै राखेर विद्यार्थीलाई पढाउन पहल गर्छु । धिमय् (धिमे) लगायत सांस्कृतिक बाजा बजाउनसमेत सिकाउने गरी पाठ्यक्रम तयार पार्न नेतृत्व लिनेछु । विभिन्न समुदायबीच हाम्रो संस्कारलाई थप मजबुद बनाउन ‘मित लगाउने संस्कार’को विकास गर्नेछु । पर्व, संस्कृति जोगाउन गुठी प्रथालाई थप संरक्षण र व्यवस्थित गर्न पहल गर्नेछु ।

७) नागार्जुन नगरपालिकामा एउटा फुटबल ग्राउन्ड बनाउन पहल गर्नेछु । नागार्जुन र चन्द्रागिरिमा रहने ग्राउन्डलाई राष्ट्रिय रंगशालाको रूपमा प्रवर्धन गर्न नेतृत्व गर्ने छु । साथै, सहिदको नाममा एउटा २५ लाख धनराशिको जिल्ला स्तरीय फुटबल–क्रिकेट कपको आयोजना गर्न नेतृत्व गर्नेछु ।

८) परिवारमा कोही पनि नभएको आमा बुवाका निम्ति एउटा सबै सेवा सुविधा सहितको ‘अनुभव घर’ बनाउन पहल गर्नेछु । क्षेत्रको विभिन्न स्थानमा योग, आरती र भजन कार्यक्रमको लागी स्थानीय पालिकाहरूसँग समन्वय गर्नेछु ।

९) सहकारी मोडेलमार्फत लोकल मदिरा संकलन र प्रशोधन गर्दै एउटा फ्याक्ट्री स्थापना गर्न पहल गर्नेछु । स्थानीयलाई रोजगारी उपलब्ध गराउन नेतृत्व लिनेछु । कुचो, अचार, टीका, मूर्ति, घण्टी टाँकजस्ता वस्तु उत्पादनमा गृहिणीहरूलाई संलग्न गराउन नेतृत्व लिनेछु । सहकारी मार्फत गृहिणीहरूलाई आत्मनिर्भर बनाउन ‘नारी उद्यमशील’ योजना सञ्चालन गर्नेछु । क्षेत्रको महिलाहरू र गृहिणीहरूलाई ‘डिजिटल साक्षरता’ विकासका निम्ति पहल गर्नेछु ।

१०) क्षेत्रको सडकमा रहेको धुलो र धुवाँको समस्या व्यवस्थापनका निम्ति सम्बन्धित सरकारसँग मिलेर काम गर्नेछु । वातावरण संरक्षणमा नेतृत्व लिँदै जिल्लामा एक लाख रुख रोप्ने अभियानको नेतृत्व गर्नेछु ।

११) विश्व स्वास्थ्य संगठनले सन् २०३० मा संसारको एउटा प्रमुख समस्या भनेको मानसिक स्वास्थ्य हुनेछ भनेर आँकलन गरेको छ । म डिप्रेसनलगायत मानसिक रोगलाई समयमै पहिचान र उपचार गर्न विशेष कार्यक्रम सञ्चालन गर्नेछु । साथै, मोटोपन देशको ठूलो समस्या बन्दै छ । सुगर, प्रेसर र अन्य रोगको घर बन्दै छ । त्यसैले मोटोपन घटाउने अभियान सञ्चालन गर्न नेतृत्व लिनेछु । विशेषज्ञमार्फत मानिसलाई स्वास्थ्य रहन सिकाउने कार्यक्रम सञ्चालन गराउनेछु । सरकारले नै घोषणा गरेको ९८ वटा औषधिलाई निःशुल्क वितरण कार्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेतृत्व गर्नेछौँ ।

संघीयता, धर्म निरपेक्षता र समानुपातिक समावेशी सिद्धान्तलगायतका विषयमा नवआगन्तुक युवा उम्मेदवाहरू प्रष्ट देखिँदैनन् । कति त यी व्यवस्थाको खारेजीकै पक्षमा देखिएका छन् । यसमा तपाईंको पक्षधरता चाहिँ के छ ?
पछिल्लो समय त मेरो परिचय नै प्रतिगामी विचारविरुद्ध लड्ने व्यक्तिका रुपमा छ । संघीयतालाई परिणाममुखी बनाउँदै लानुपर्छ । धार्मिक स्वतन्त्रता त लोकतन्त्रको मुल स्तम्भ नै हो । हामी यो संविधानलाई फेल बनाएर देशमा फेरि द्वन्द्व सिर्जना गर्ने कामलाई परास्त गर्न चाहन्छौँ । यो संविधान जोगाउँदै, सुधार्दै यसैबाट सर्भिस डेलिभरीका काम गर्न चाहान्छौँ । त्यसैले अबको राजनीति यही संविधानलाई सुधार गर्दै नागरिकको अवस्था परिवर्तन गर्न हुनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ । 

चुनाव जितेर सांसद बन्नुभयो भने तपाईंले गर्ने सबैभन्दा पहिलो काम के हुन्छ ?
म काठमाडौँ क्षेत्र नं. ९ मा खुल्ला आह्वान गरेर यी काम गर्नको लागि सय जनाको टिम बनाउँछु । र, यी काममा लाग्छु । संसदभित्र भने म अबको २० वर्षलाई हेरेर आवश्यक पर्ने शिक्षा नीतिको वकालत गर्नेछु ।


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x