वार्ता

एकैदिन छ जनाको स्तन क्यान्सरको अपरेसन गर्‍यौँ

सृजना खड्का |
कात्तिक ५, २०७९ शनिवार १२:१३ बजे

डा. उत्सवमान श्रेष्ठ भक्तपुर क्यान्सर अस्पतालका अन्कोसर्जिकल विभाग प्रमुख हुन् । उनले भक्तपुर क्यान्सर अस्पतालमा स्तन क्यान्सर बिरामीलाई सेवा दिन थालेको १५ वर्ष भयो । अक्टोबर महिना स्तन क्यान्सर सचेतना/जागरण महिना हो । यो महिनाभरि ठाउँ–ठाउँमा स्तन क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम गरिन्छ । डा. श्रेष्ठको संयोजकत्वमा हरेक अक्टोबर महिनामा स्तन क्यान्सरसम्बन्धी चेतना फैलाउन चंगा उडाउने कार्यक्रम हुन्छ । जसलाई उनीहरूले ‘पिंक काइट्स’ नाम दिएका छन् । त्यहाँ स्तन क्यान्सरका डाक्टर, उपचार गराइरहेका बिरामी र स्तन क्यान्सर विजेता गुलाबी रङको टिसर्ट लगाएर गुलाबी रङकै चंगा उडाउँछन् । यो चंगा उडाउनुको उद्देश्य हो– स्तन क्यान्सर भएकाहरू पनि अरु मानिससरह जीवनयापन गर्न सक्छन् । उनीहरू पनि अरूजस्तै स्वतन्त्र छन् ।  यसै सन्दर्भमा डा. श्रेष्ठसँग इकागजका लागि सृजना खड्काले गरेको कुराकानी : 

विश्व स्वास्थ्य संगठनले हरेक अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाको रूपमा मनाउँदै आएको छ । नेपालमा स्तन क्यान्सरलाई लिएर मानिसहरू कत्तिको सचेत छन् ?
अरु क्यान्सरभन्दा स्तन क्यान्सरमा मानिसहरू अलि बढी नै सचेत भएको पाइन्छ । पहिला स्तन क्यान्सर हुनेबित्तिकै मरिन्छ, बाँचिदैन भन्ने मानसिकता थियो । अहिले रोग पत्ता लाग्यो भने निको हुन सक्छ भन्ने सन्देश गएको छ । जनचेतना जगाउने कामहरू पनि भइरहेका छन् । स्तन क्यान्सरको जनचेतनाका लागि कसैले पदयात्रा ‘वाकाथुन’ गर्छन् । कोही विभिन्न ठाउँमा गएर सचेतना कक्षाहरू सञ्चालन गर्छन् । हामीले केही नयाँ गरौँ भन्ने उद्देश्यले सन् २०१७ सालदेखि ‘पिंक काइट्स’ सुरु गरेका छौँ । अक्टोबर महिनाको एकदिन हामी डाक्टरको टोली, स्तन क्यान्सरका बिरामी र विजेता एकै ठाउँमा भेला भएर गुलाबी चंगा उडाउँछौँ ।


धेरैले हामीलाई चंगा उडाएर पनि सचेतना हुन्छ ? भनेर प्रश्न गर्छन् । नयाँ केही गर्दा मानिसहरूको ध्यान खिच्न सकिन्छ भनेर हामीले यो उपाय अपनाएका हौँ । यसको अर्थ हो, जसरी गुलाबी चंगाहरू स्वतन्त्र भएर आकाशमा उड्न सक्छन्, क्यान्सर बिरामी र विजेताहरू उसैगरी स्वतन्त्र भएर बाँच्न सक्छन् । क्यान्सर हुँदैमा मानिसको मृत्यु हुँदैन । समयमै उपचार गरे बिरामीलाई बचाउँन सकिन्छ भन्ने सन्देश पनि हामीले गुलाबी चंगाबाट दिन खोजेका छौँ । पहिला हाम्रो कार्यक्रममा सय जना भेला हुन मुस्किल थियो । यो वर्ष तीन सय जनाले सहभागिता जनाए । सचेतना महिना भएर पनि होला अक्टोबरमा अरु महिनाभन्दा धेरै जना उपचारका लागि आउँछन् । केही दिन अगाडि मात्रै हामीले एकैदिन छ जनाको स्तन क्यान्सरको अपरेसन गर्‍यौँ । 

स्तन क्यान्सरको उपचार कसरी गरिन्छ ? नेपालमा स्तन क्यान्सरको उपचार कत्तिको सर्वसुलभ छ, सामान्य आर्थिक अवस्था भएकाले उपचार गराउन सक्छन् कि सक्दैनन् ?
स्तन क्यान्सरको उपचार एकजनाले गर्ने उपचार होइन । यो एउटा टिम मिलेर मात्र सम्भव हुन्छ । म सर्जन हुँ भन्दैमा मैले मात्रै उपचार गर्न सक्दिनँ । सुरुमा रेडियोलोजिस्टले अल्ट्रासाउन्डको गर्छ । त्यसपछि प्याथोलोजिस्टले स्तनको गिर्खा/डल्लो क्यान्सर हो/होइन यकिन गर्नुपर्छ । तेस्रो अर्थात् सर्जरीको काम मैले गर्ने हो । सर्जरीपछि राम्रोसँग केमोथेरापीका काम हुनुपर्छ । त्यसपछि रेडियसनको पाटो आउँछ । 

अस्पतालअनुसार उपचार खर्च फरक–फरक हुन्छ । भक्तपुर अस्पतालको कुरा गर्ने हो भने तीन लाख रुपैयाँको हाराहारीमा स्तन क्यान्सरको उपचार हुन्छ । त्यसमा बिरामी कुन चरणमा अस्पताल आएको छ त्यसअनुसार भर पर्छ । पहिला क्यान्सरको उपचार गर्न केन्द्रमै आउनुपथ्र्यो । अहिले देशका विभिन्न ठाउँमा दक्ष चिकित्सक पुगिसकेका छन् । क्यान्सर पत्ता लगाउनै काठमाडौँ आउनुपर्ने अवस्था छैन । क्यान्सर भयो भन्ने बित्तिकै विदेश दौडिनुपर्ने अवस्था पनि छैन । यहाँको ल्याबबाट जस्तो रिपोर्ट आउँछ, विदेशी ल्याबबाट पनि उही आउँछ । तर, अहिले पनि क्यान्सरका बिरामीलाई ‘किन नेपालमा उपचार गराएको ?’ भनेर सोसल प्रेसर चाहिँ आउँछ । 

स्तन क्यान्सरका विभिन्न स्टेज हुन्छन् । बिरामीहरू बढी कुन स्टेजमा अस्पताल आइपुग्छन् । आफैँ स्तन जाँचेर उपचारका लागि आउनेहरू कति छन्?

मैले सेवा सुरु गर्दा (१५ वर्षअगाडि) तेस्रो र चौथो स्टेजका बिरामी धेरै आउँथे । अरु ठाउँमा उपचार गरेर निको नभएपछि अस्पताल आउने चलन थियो । अहिले पहिलो स्टेजका ९ प्रतिशत, दोस्रो स्टेजका ६२ प्रतिशत र बाँकी तेस्रो र चौथो स्टेजमा बिरामी आइपुग्छन् । अहिले धेरैजसो दोस्रो स्टेजमा बिरामी आए पनि पहिलो स्टेजमै क्यान्सर पत्ता लगाउनु हाम्रो उद्देश्य हो । यो अवस्थामा स्तन बचाउन सकिन्छ । अन्तिम अवस्थामा स्तन बचाउन सकिँदैन । 

कोभिडभन्दा पहिला स्तन क्यान्सरको शंका लागेर ‘स्क्रिनिङ’का लागि धेरै आउँथे । त्यो बेला पहिलो स्टेजका बिरामीहरू धेरै भेटिन्थे । बीचमा अस्पताल ढिलो आउने बढे । फेरि अहिले ‘स्क्रिनिङ’मा आउनेहरू बढेका छन् । कतिपयलाई भने अझै पनि स्तन क्यान्सर हुँदा कहाँ जाने, कसलाई देखाउने थाहा छैन । कोही औषधि पसल गइरहेका हुन्छन् । कोही अस्पताल गयो भने स्तन चिरिदिन्छ/निकालिदिन्छ भनेर आयुर्वेदिक र धामीझाँक्रीकहाँ जाने गरेको पाइन्छ । उनीहरू चाहिँ तेस्रो, चौथो स्टेजमा मात्रै अस्पताल आइपुग्छन् । 

स्तन क्यान्सरको जोखिम सबैभन्दा बढी कसलाई हुन्छ ? विवाहित र अविवाहित हुनुले यसमा केही फरक पर्छ कि पर्दैन ?
स्तन क्यान्सरको कारण अहिलेसम्म यकिनका साथ भन्न सकिएको छैन । तर, वंशाणुगत अर्थात् परिवारमा कसैलाई भएको छ भने हुन सक्छ भनिन्छ । त्यस्तै, ३५ वर्ष नाघिसकेका अविवाहित महिलालाई यसको जोखिम देखिन्छ । कम स्तनपान गराउनेमा पनि यसको जोखिम छ । हाम्रो खानपान र जीवनशैली पनि योसँग जोडिएको छ । मोटोपन भएका, शारीरिक व्यायाम नगर्ने, धूमपान र मद्यपान गर्ने पनि यसको जोखिममा छन् । महिनावारी छिटो सुरु हुने र ५५ वर्षपछि पनि महिनावारी हुनेलाई स्तन क्यान्सरको जोखिम हुन्छ । पछिल्लो समय आफ्नो करिअर बनाएर मात्रै बिहे गर्ने महिलाहरू बढेका छन् । करिअर बनाएर बिहे गर्दा ३०÷३५ वर्ष नाघिसकेको हुन्छ । बिहे ढिलो गर्दा र पहिलो बच्चा ३५ वर्षभन्दा पछि पाउने महिलाहरूमा पनि यसको जोखिम छ । स्तन क्यान्सर जसलाई पनि हुन सक्छ । यसका कुनै पनि लक्षणलाई नकुरौँ, समयमै सचेत बनौँ । ४० वर्ष नाघिसकेकाले दुई वर्षमा एक पटक अल्ट्रासाउन्ड गरौँ । परिवारको कसैमा स्तन क्यान्सर भएमा अरुले पनि बेला–बेलामा जाँच गराऔँ । 

स्तन क्यान्सर भइसकेपछि शरीरको पीडा एकातिर हुन्छ, मनको पीडा अर्कोतिर । मानसिक रूपमा बिरामीलाई बलियो बनाउन केकस्ता काम भइरहेका छन् ? 
हामीले क्यान्सर भएको ब्याड न्युज ब्रेक गर्दा धेरैजना आत्तिन्छन् । यो बेला पारिवारको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । उनीहरूले बिरामीको मनोबल बढाउनुपर्छ । उनीहरूको मनोबल बढाउन हामीले पनि काउन्सिलिङ गरिरहेका हुन्छौँ । स्तन क्यान्सर सर्भाइभर समूह ‘नयाँ उमंग’का साथीहरूसँग हामी बिरामीलाई भेटाउँछौँ । उनीहरूले हामीलाई पनि यस्तै भएको थियो, केही हुँदैन भनेपछि धेरैजना बिरामीले राहत महसुस गर्नुहुन्छ । हामीले १० पटक भन्नुभन्दा र सर्भाइभरले एक पटक भन्दा उनीहरूलाई प्रभाव पर्छ । नत्र कोही बिरामी मरिहाल्छु, उपचारै गर्दिनँ भन्ने पनि हुन्छन् ।

स्तन क्यान्सरका धेरैजना बिरामी डिप्रेसनमा गएको हामीले पाएका छौँ । त्यसैले यसमा बिरामीलाई मात्र नभएर परिवारलाई पनि काउन्सिलिङ गर्नु जरुरी छ । अफिसमा पनि स्तन क्यान्सरका बिरामीलाई सजिलो वातावरण मिलाइदिनुपर्छ । स्तन क्यान्सर भएकै कारण अफिसबाट निकालिदिने हो भने बिरामीमा झन् आर्थिकदेखि थुप्रै भार पर्न जान्छ  । 

स्तन क्यान्सरलाई लिएर के–कस्ता भ्रम छन्, जुन चिर्नु जरुरी छ ?
स्तनमा डल्लो आएपछि त्यो क्यान्सर हो÷होइन थाहा पाउन मेमोग्राम गर्नुपर्छ । सियोले घोचेर गरिने एफएनएसी (फाइन निडल एस्पिरेशन साइटोलोजी) गर्नुपर्छ । बायोप्सी गर्नुपर्छ । यी तीन कुरा नगरी कसैले क्यान्सर हो भन्छ भने त्यो भ्रम हो । यी उपचार गर्दा क्यान्सर झन् फैलिन्छ भन्ने भ्रम छ । फैलिएपछि त्यसले बिगार गर्छ भनेर धेरैजना उपचार गर्न डराउँछन् । 

तपाईं आफैँ स्तन क्यान्सरको सर्जन । कस्तो अवस्थामा स्तन सर्जरी गर्नुपर्छ ? 
धेरै ढिला हुँदा क्यान्सर हड्डीसँगै, दिमाग, फोक्सो, कलेजो गर्दै शरीरमा फैलिन थाल्छ । यस्तो अवस्थामा सर्जरी गरेर पनि काम छैन । यसरी फैलिनुभन्दा अगाडि नै उपचारमा आए सर्जरी गरेर बिरामीलाई निको पार्न सकिन्छ । उपत्यकाका बिरामीको हकमा हामी सकेसम्म स्तन बचाउने कोसिस गर्छौँ । उनीहरू प्रायः फलोअपमा आउँछन् । तर, टाढा गाउँबाट आउनेहरू फलोअपमा आउँदैनन् । उनीहरू एकपटक उपचार गरेपछि दुईचार वर्ष हराउँछन् । उनीहरूका आफ्नै आर्थिक÷सामाजिक कारण होलान् । तर, हामीले पहिला एक महिनामा बोलाउँछौँ । त्यसपछि तीन महिना, छ महिना र हरेक वर्ष बोलाउँछौँ । किनभने, फलोअप नहुँदा क्यान्सर दोहोरिन सक्छ ।

पुरुषमा हुने स्तन क्यान्सरको अवस्था चाहिँ कस्तो छ ?
पहिला पुरुषलाई स्तन क्यान्सर हुन्छ भन्ने नै थाहा थिएन । जनचेतनाले गर्दा यसको पनि बिस्तारै चर्चा हुन थालेको छ । सय जना महिलालाई हुँदा एक जना पुरुषलाई स्तन क्यान्सर हुन्छ । पुरुषहरूले खासै याद गर्दैनन् । घाउ भइसकेपछि वा ठूलो डल्लो आएपछि मात्रै अस्पताल आउँछन् । पुरुषहरूले पनि चेकजाँच गर्न आए भने समयमै क्यान्सर पत्ता लाग्छ  ।


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x