वार्ता

उम्मेदवार उवाच

महिलामा पनि सम्भावना बोकेको महिला हुनुपर्छ

सृजना खड्का |
कात्तिक ७, २०७९ सोमबार ७:२५ बजे

ओनसरी घर्तीमगर नेपालको पहिलो महिला सभामुख हुन् । उनी माओवादी जनयुद्धबाट उदाएकी नेत्री हुन् । माओवादी सशस्त्र जनयुद्धमा लागेकी घर्तीले १० वर्ष भूमिगत जीवन बिताएकी थिइन् । २०६२/६३ सालको जनआन्दोलनपछिको पहिलो संविधान सभामा उनी समानुपातिकबाट सभासद् बनेकी थिइन् । पछि झलनाथ खनाल नेतृत्वको सरकारमा उनी युवा तथा खेलकुद मन्त्रीसमेत भइन् । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने उनले रोल्पा–२ बाट प्रत्यक्ष निर्वाचन लडिन् । रोल्पाबाट जितेपछि उनी संविधानसभाको उपसभामुख बनिन् । त्यसपछि २०७२ सालको संविधान लागू भएसँगै २०७४ सम्म उनले सभामुखको भूमिका निर्वाह गरिन् ।

०७० को निर्वाचनमा रोल्पाबाट प्रत्यक्ष निर्वाचनबाट विजयी भएकी घर्ती ०७४ मा फेरि समानुपातिक सांसद बनिन् । आगामी निर्वाचनमा उनी सत्ता गठबन्धनको साथमा काठमाडौँ–२ बाट प्रत्यक्ष निर्वाचन लड्दै छिन् । रोल्पाबाट काठमाडौँ निर्वाचन लड्न आएकी उनी राजनीतिज्ञका लागि कुनै निश्चित निर्वाचन नहुने बताउँछिन् । भन्छिन्, ‘राजनीतिज्ञका लागि निश्चित निर्वाचन क्षेत्र वा भूगोल भन्‍ने हुँदैन । मेरा लागि सबै जनता बराबर हुन् । यसअघि रोल्पाका जनताका लागि योगदान गरेँ । अब काठमाडौँ–२ का जनताको सेवा गर्न चाहन्छु ।’ उनै माओवादी केन्द्रकी नेतृ ओनसरीसँग इकागजकी सृजना खड्काले आगामी निर्वाचनमा उनको उम्मेदवारीसँगै समसामयिक विषयमा संवाद गरेकी छिन् । प्रस्तुत छ, उक्त कुराकानीको सम्पादित अंश :


चुनावी तयारी कस्तो भइरहेको छ, के छन् यसपटकका अजेन्डा ?
हाम्रा आन्तरिक कार्यक्रमहरू भइरहेका छन् । व्यक्तिगत भेटघाट चलिरहेको छ । निर्वाचन आयोगले कात्तिक १५ पछि मात्रै प्रचारप्रसार गर्न पाइने भनेको छ । त्यसपछि मात्रै हामी प्रचारप्रसारमा जान्छौँ । अहिले प्रतिक्रिया एकदमै उत्साहजनक छ । म गठबन्धनको उम्मेदवार हुँ । गठबन्धनका सबै नेताहरू लागिरहनु भएको छ । गठबन्धनको अजेन्डा नै हाम्रो अजेन्डा हो । हाम्रो यात्रा विशेष गरी व्यवस्थाको रक्षा र समृद्धिका लागि हो । उम्मेदवारको हिसाबले मैले विकास निर्माणलाई जोड दिएको छु ।

काठमाडौँ–२ मा विभिन्‍न समस्या छन् । त्यसमा पनि मैले ध्यान दिनेछु । हामी विधायक हौँ, नीतिनिर्माण तहमा हुनेछौँ । जनसमुदायको हक–अधिकारका लागि कानुन निर्माण गर्नु जरुरी छ । कानुन निर्माण नहुँदा जनताले विभिन्‍न जटिलता भोगिरहेका छन् । जितेपछि यसमा पनि मेरो योगदान हुनेछ । 

म महिला प्रतिनिधि हुँ । मैले परिवर्तनका लागि धेरै त्याग गरेको छु । मेरो अभियान महिलाहरूको पनि अभियान हो । मेरो उम्मेदवारी महिला प्रतिनिधित्व, पहुँच, प्रोत्साहनका लागि हो । आगामी दिनमा माहिलालाई कसरी नेतृत्वमा ल्याउने ? उनीहरूको नेतृत्व विकास कसरी गर्ने ? गृहिणीदेखि कामकाजी र व्यवसायी सबै महिलालाई अगाडि बढाउन मेरो भूमिका रहनेछ । राजनीतिमा पनि महिला प्रतिनिधित्वलाई कसरी प्रतिस्पर्धामा उतार्ने भन्‍ने विषयमा मेरो भूमिका रहनेछ । 

महिला प्रतिनिधित्वलाई प्रतिस्पर्धामा उतार्ने त भन्‍नुभयो । तर, तपाईंकै पार्टी जो आफूलाई समावेशी/समानुपातिक प्रणालीको पक्षधर भन्छ, उसले पनि उम्मेदवारीमा महिलालाई त ठगेकै छ नि ?
महिला उम्मेदवारी बढाउन हाम्रो दलभित्र धेरै नै प्रयास भएको हो । तर, गठबन्धनमा भएकाले गाह्रो भयो । गठबन्धनमा सबैलाई मिलाएर टिकट दिनुपर्ने थियो । जसले गर्दा महिलाहरू पछि परेका हुन् । महिलामा पनि सम्भावना बोेकेको महिला हुनुपर्छ । चुनाव लड्ने मानसिकता नबनाएका महिलालाई उम्मेदवार बनाउँदा गलत परिणाम आउन सक्छ । हाम्रो दलको तर्फबाट उम्मेदवारी दिने नै कम छन् । प्रत्यक्षबाट ४७ उम्मेदवारमा महिला आठ जना छौँ । उपत्यकाबाट मात्रै हामी पाँच जना महिला उम्मेदवार छौँ । पाँचै जना प्रतिनिधिसभा सदस्यका लागि लडिरहेका छौँ । अरु ठाउँमा पनि साथीहरू हुनुहुन्छ । प्रतिशतमा निकाल्ने हो भने हाम्रो पार्टी अन्य दलभन्दा माथि छ । तर, समग्र निर्वाचन र गठबन्धनको संख्या हेर्दा महिला उम्मेदवार नौ प्रतिशत मात्रै छन् । मैले यसलाई प्रगति नै मानेको छु । यो रफ्तार अझै तीव्र गतिमा अगाडि बढाउनुपर्छ । 

पार्टीले प्राय: महिलाहरूलाई प्रत्यक्षको टिकट दिँदैन । दिए पनि एकदमै कम दिन्छ, किन ?
महिलालाई राजनीतिमा मात्रै नभई सबै क्षेत्रमा पछि पारिएको छ । त्यसैले, एकैचोटि पुरुष बराबर प्रतिस्पर्धामा आउन महिलालाई गाह्रो हुन्छ । पितृसत्तावादी मानसिकता अहिले पनि छ । ‘महिलाहरूले गर्न सक्दैनन्’ भन्‍ने अविश्वास छ । त्यही मानसिकता र अविश्वास पार्टीहरूमा पनि प्रतिविम्बित हुन्छ । यसकारण महिलालाई टिकट दिन दलहरू कन्जुस्याइँ गर्छन् । 

महिलाहरू लामो समयदेखि घरको बन्द कोठाभित्र बसे । भर्खरै पार्टीमा जाने, उम्मेदवारी दिने, जनसमुदायसँग भिज्ने काम गरिरहेका छन् । हामीले पनि पार्टीभित्र महिलाको पक्षमा निर्णय गर्नुपर्छ भनेर बोलिरहेका छौँ । तर पनि संविधानको व्यवस्थाअनुसार कानुन बनाउन सकिएको छैन । अहिले समानुपातिक भनेको महिलाहरूको मात्रै ठेक्का परेको जसरी नकारात्मक प्रभाव परिरहेको छ । यसलाई हामीले चिरेर जानुपर्छ ।

तपाईं यत्रो आन्दोलन लडेर आउनुभयो, राजनीतिमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । तर, तपाईंले टिकट पाउँदा पनि परिवारवाद हाबी भयो भन्छन् नि ?
यसमा म एकदमै अन्याय महसुस गर्छु । म आफैँ जनयुद्ध लडेर आएको नेतृ हुँ । कोही महिला उम्मेदवार बन्दैमा परिवारवादसँग जोड्नु जरुरी छैन । मेरो आफ्नै पहिचान छ । समानुपातिक सिटमा उठेको भए बेग्लै कुरा हुन्थ्यो । मैले त त्यो त्यागिदिएको हो । मलाई टिकट दिनुपर्छ भनेर मैले कुनै लबिङ गरिनँ ।

महिलाहरूलाई टिकट दिनुपर्छ भनेर चाहिँ लबिङ गरेको थिएँ । किनभने, आज महिलाहरूलाई ल्याएनौँ भने भोलि कसरी प्रगति हुन्छ ? उनीहरूले कतिको काम गर्छन्, जनताले कस्तो प्रतिक्रिया जनाउँछन् ? भन्‍ने कुरालाई हेरेर महिलाले आफूलाई परीक्षण गर्ने हो भन्दै मैले पार्टीमा आवाज उठाएँ । तर, व्यक्तिगत रूपमा मलाई टिकट चाहिन्छ भनेर लडिनँ । यो अवसर अरु महिलाहरूलाई बाँड्नुपर्छ भन्‍ने मेरो धारणा थियो । जयपुरी घर्ती र शशि श्रेष्ठको नाम मैले बारम्बार लिएको हुँ । उहाँहरू आउन चाहेमा टिकट दिनुपर्छ, उहाँहरूले पनि लिनुपर्छ भनेर धेरै कोसिस गरेँ । तर, उहाँहरू चुनाव लड्न तयार हुनुभएन । उहाँहरू मेरो अग्रज हुनुहुन्छ । पार्टीले मलाई अन्तिम घडीमा उम्मेदवारी दिन लगायो । सम्पूर्ण महिलाहरूका जोखिम मोलेरै भए पनि निर्वाचनमा होमिएँ । अझै पनि कसैले म चुनाव लड्दा परिवारवाद हाबी भयो भन्‍नुहुन्छ भने धेरै ठूलो अन्याय हुनेछ । 

अरु बेला रोल्पाबाट उठिरहनुभएको थियो, अहिले काठमाडौँ नै किन रोज्नुभयो ? आफ्नै क्षेत्रमा सहज हुन्थ्यो होला नि ?
एउटा राजनीतिज्ञका लागि निश्चित निर्वाचन क्षेत्र वा भूगोल भन्‍ने हुँदैन । मेरा लागि सबै जनता बराबर हुन् । यसअघि रोल्पाका जनताका लागि योगदान गरेँ । अब काठमाडौँ–२ का जनताको सेवा गर्न चाहन्छु । मलाई हौसला दिनुस् भनेर सबैलाई अनुरोध गरेको छु । म कुन ठाउँको हुँ भन्दा पनि मेरो क्षमता के हो, त्यसको मूल्यांकन गरिदिन अनुरोध छ । 

सुरुमा यो विषयलाई लिएर धेरै प्रश्नहरू उठे । तर, अहिले जनसमुदायले बुझिसकेको अवस्था छ । मैले सहर एकदमै झिलिमिलि र सुखी मान्छे मात्रै बस्ने ठाउँ होला भन्‍ने सोचेको थिएँ । तर, यहाँ आएपछि थाहा भयो सहर मैले सोचेजस्तो रहेनछ । सहरमा पनि समस्या रहेछन् । त्यसलाई मैले नियाल्न पाएँ । विभिन्‍न जिम्मेवारी लिएर सहरमा खटिदा यहाँका आधारभूत कुराहरू मैले बुझेको छु । यहाँ भित्रभित्रै के–केकस्ता समस्या छन्, मलाई राम्रोसँग थाहा छ । जितेपछि मैले धेरै काम गर्न सक्छु । 

काठमाडौँमा त माओवादी एकदमै कमजोर छ, स्थानीय निर्वाचनमा पनि खासै राम्रो मत आएन । के छ तपाईंको जित्ने आधार ?
म जनताको सेवा गर्न काठमाडौँलाई कर्मथलो बनाएर आएको छु । जनसमुदायको पक्षमा उहाँहरूसँगै बसेर काम गर्नेछु । पार्टीभन्दा माथि उठेर देश र जनताको कुरा उठाउँछु । मलाई अवसर दिनुहुन्छ भन्‍ने विश्वास छ । म गठबन्धनको तर्फबाट उम्मेदवार हुँ । मसँग गठबन्धनको मत र साथ छ । गठबन्धनकै विचारद्वारा निर्देशित पनि छु । हाम्रो मुख्य अजेन्डा समृद्धि हो । यो नै मेरो जित्ने आधार हो ।

गठबन्धन र प्रतिस्पर्धीलाई हेर्दा निकै मतान्तर देखिन्छ । यो मतान्तरमा हामीले प्रतिस्पर्धीलाई चुनौती दिनेछौँ । एकपटक काठमाडौँ–२ का जनताले म जस्तो विचार, योजना, लक्ष्य र व्यवस्थाका लागि अहोरात्र खटेको महिलालाई अवसर दिनुहुन्छ भन्‍ने विश्वास छ । महिलाहरूले अवसर पायो भने गर्न सक्छन् भन्‍ने पुष्टी मैले गरिसकेको छु । त्यसैले नतिजा हाम्रो पक्षमा छ भन्‍नेमा ढुक्क छु । 

तपाईंको क्षेत्रमा नयाँ र स्वतन्त्र उम्मेदवार पनि छन्, उनीहरूले कत्तिको चुनौती थपेका छन् ?
परिवर्तनका लागि युवाहरू आउने कुरा एकदमै राम्रो हो । अहिले प्रतिनिधित्व गरेको दलप्रति जनताको गुनासो स्वभाविक हो । प्रतिनिधि मन नपर्दा मत फेर्ने अधिकार जनतालाई छ । तर, उपत्यकाबासीसँग मेरो भरोसा छ । यो पढेलेखेको र वुद्धिजिवी बस्ने ठाउँ हो । उहाँहरूले यसपटक पक्कै पनि भिजन भएको महिलालाई अगाडि बढाउनु हुनेछ । 

हामी कुन प्रणालीमा छौँ भन्‍ने कुरा बहस हुन जरुरी छ । परिवर्तन हुनुपर्छ भन्दै स्वतन्त्रमा उम्मेदवारलाई जसरी मत जाहेर भइरहेको छ, म त्यसको सम्मान गर्छु । तर, यो स्थानीय निर्वाचन होइन । स्थानीय निर्वाचनमा व्यक्तिलाई जिताएर पठाउँदा उहाँहरूले व्यक्तिगत रूपमा पहल गर्न सक्नुहुन्छ । तर, संघ र प्रदेशको निर्वाचनमा व्यक्तिको कुनै भूमिका हुँदैन । किनभने, यहाँ दलीय व्यवस्था छ । दलीय व्यवस्थामा प्रधानमन्त्री, मन्त्री कसरी चयन हुन्छ ? सरकार कसले चलाउँछ ?

सदनको सभामुख को हुन्छ ? सदनमा विभिन्‍न समिति हुन्छ, समितिभित्र को सक्रिय हुन्छ ? जस्ता कुराबारे खासै बहस र छलफल भएको देखिँदैन । यो कुरा जनताले बुझ्नुपर्छ । तपाईंहरूले छानेको व्यक्ति को हो ? भोलि उनीहरूले तपाईंका लागि के गर्न सक्छन् ? विचार पुर्‍याउनुपर्छ । मलाई भरोसा छ, काठमाडौँबासीले विकासका लागि पहलकदमी गर्न सक्ने मजस्ता महिलालाई छान्‍नु हुनेछ ।

स्वतन्त्र उम्मेदवारहरूले पारदर्शी हुन सम्पत्ति विवरण सार्वजनिक गरिरहेका छन् । चुनाव लड्न जनताबाट चन्दा उठाइरहेका छन्, तपाईंहरू आफ्नो सम्पत्ति सार्वजनिक गर्नुहुन्‍न ? 
सम्पत्ति सार्वजनिक गर्न हामीलाई केही कठिनाइ छैन ।  यो मेरा लागि ठूलो कुरा होइन । म सार्वजनिक व्यक्तित्व हुँ । विगतका दिनमा पनि मेरो सम्पत्ति सार्वजनिक हुँदै आइरहेको छ । निर्वाचन आयोगमा हामीले आफ्नो सम्पत्ति विवरण बुझाइसकेका छौँ । यो नबुझाई उम्मेदवारी नै दिन पाइँदैन । जनताको प्रतिनिधिले सम्पत्ति सार्वजनिक गर्नु जरुरी छ । हाम्रो जीवन पारदर्शी छ । आफ्नो उम्मेदवार कस्तो छ भनेर जनताले नजर राखिरहेका हुन्छन् । उनीहरूले हाम्रो सम्पत्ति थाहा पाएर केही फरक पर्दैन । त्यसका लागि म तयार छु । 


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x