वार्ता

कां‌ग्रेस प्रवक्तासँग अन्तर्वार्ता :

गगनले प्रधानमन्त्री पदको बाजा बजाएर हिँडिरहन आवश्यक छैन

उम्मेदवार ज्यादा हुनुमात्रै ठूलो कुरा होइन, परिणाम ज्यादा ल्याउनु महत्वपूर्ण कुरा हो

इकागज |
कात्तिक ३०, २०७९ बुधवार १७:३३ बजे

सत्ता गठबन्धनले आगामी निर्वाचनमा स्पष्ट बहुमत ल्याउने दाबी गरिरहेको छ । बहुमत ल्याउने दाबीका साथ चुनावी मैदानमा उत्रेको गठबन्धनले सरकारको नेतृत्व कसले गर्ने भन्‍ने टुंग्याएको छैन । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत स्वाभाविकरूपमा चुनावपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गर्छन् । तर कांग्रेसभित्रै प्रधानमन्त्रीका आधा दर्जन आकांक्षी छन् । उनी भन्छन्, 'पार्टी सभापति देउवा नै स्वाभाविक उम्मेदवार हुनुहुन्छ ।' अरुले अहिले नै प्रधानमन्त्रीको आकांक्षा राख्नुको अर्थ नहुने उनको भनाइ छ । यसै सन्दर्भमा प्रवक्ता महतसँग गरिएको चुनावी सम्वाद :

निर्वाचन परिचालन कसरी भइरहेको छ ? 


हाम्रो ठूलो पार्टी हो । अरु पार्टीजस्तो उम्मेदवार खोजेर उठाउनुपर्ने स्थिति होइन । त्यसमाथि गठबन्धन भएपछि यसै सिट कम हुने भयो । त्यसले गर्दा सम्पूर्ण महत्वकांक्षीहरूलाई सम्बोधन गरेर पार्टीको मत एकीकृत गर्ने कुरा आफैँमा चुनौतीपूर्ण हो । असन्तुष्टिहरू सम्बोधन गर्न केही समय लाग्यो । ती कुराहरू करिब सम्बोधन भएका छन् ।प्रत्यक्षतर्फका १६५ क्षेत्रमध्ये ९१ ठाउँमा हाम्रा उम्मेदवार छन् । त्यस्तै प्रदेश सभामा पनि त्यही अनुपातको अवस्था छ । ६१ ठाउँमा हाम्रो उम्मेदवार छैनन् । उम्मेदवार नभएको ठाउँमा पार्टीले केन्द्रीय प्रतिनिधि खटाएको छ । समानुपातिकमा रुखमै मतदान गर्ने हो । प्रतिनिधि सभामा पनि रुखमै मतदान गर्ने हो । ३३० नै प्रदेश सभामा पनि रुखमै मतदान गर्ने हो । ४० प्रतिशत सिट समानुपातिकबाट चुनिन्छ । समानुपातिक सिट हाम्रो लागि कम महत्वपूर्ण होइन । प्रत्यक्ष उम्मेदवार नभए पनि सम्पूर्ण पार्टी पंक्ति परिचालित हुनु आवश्यक छ । समानुपातिकमा कांग्रेसलाई मत हाल्न जरुरी छ । गठन्धन भएका ठाउँमा उहाँहरूलाई पनि मत दिन जरुरी छ । यो त मत लिने र दिने पनि हो । पारस्परिक सहयोगबाट ‘विन–विन’ अवस्था प्राप्त गर्ने हो । 

गठबन्धनमा ‘भोट ट्रान्सफर’ नहुने आशंका छ । त्यसलाई कसरी हेर्नुभएको छ ?

समन्वयको काम भइरहेको छ । हामीले सहयोग गर्‍यौँ भने मात्रै उहाँहरूको पाउँछौँ । सहयोग लिनु र दिनु आवश्यक छ । त्यो भयो भने मात्रै परिणाम हाम्रो पक्षमा हुन्छ । उम्मेदवार ज्यादा हुनुमात्रै ठूलो कुरा होइन । परिणाम ज्यादा ल्याउनु महत्वपूर्ण कुरा हो । पार्टी निर्वाचनमा जाने भनेकै बहुमत ल्याएर सत्तामा जानको लागि हो । यद्यपि आफ्नै पार्टीहरू मात्रै लड्दाखेरी पनि केही असहयोग, असन्तुष्टि हुने गरेको छ । गठबन्धनमा त झन् अलिकति समस्या आउँछ । तर मलाई लाग्छ, मुल समस्या भनेको मतदान केन्द्रमा गइसकेपछि एकअर्कालाई भोट हाल्दैनन् भन्ने भन्दा पनि आफ्नो पार्टीको उम्मेदवार नभएको ठाउँमा मतदान केन्द्रमा मतदाताहरूलाई पुर्‍याउने चुनौतीपूर्ण काम हो । पार्टीको संयन्त्र लगाएर त्यो चुनौतीलाई सामना गर्छौं । हाम्रो दलको उम्मेदवार छैन तर विपक्षी ओलीजीको नेतृत्वको उम्मेदवारलाई दिनुभन्दा त हाम्रो पार्टीको सहयोगी गठबन्धनको उम्मेदवारहरूलाई दिनु हामी सबैको लागि कल्याण हुन्छ भन्ने कुरा बुझाउन गाह्रो हुन्न । हाम्रो दलको नहुँदा हाम्रो दलको क्रियाशील नहुने, अन्य दलको उम्मेदवार नहुँदा अन्य दलको क्रियाशील नहुने खतरालाई हामीले महसुस गरेका छौँ । 

कांग्रेसको स्वाभाविक नेतृत्व वर्तमान प्रधानमन्त्री र नेपाली सभापति देउवाजी नै हुनुहुन्छ । देशले जोड्ने नेतृत्व खोजेको छ । पार्टीभित्र कसैलाई पनि चित्त नदुखाइकन निर्णय गरिरहनुभएको छ । उहाँले अन्य दलहरूलाई पनि विश्वासमा लिएर काम गरिहरहनुभएको छ । 

केही निर्वाचन क्षेत्रमा विद्रोही उम्मेदवार कायमै छन् । कांग्रेसले कारबाही त गर्‍यो तर  भोट त काटिने भयो नि ?

यस्तो असन्तुष्टि, सीमित मात्रामा हामी एक्लै हामी चुनाव लड्दाखेरी पनि हुनेगथ्र्यो । अधिकांश ठाउँमा उहाँहरूले उम्मेदवारी फिर्ता लिनुभयो । उहाँहरूलाई हामीले चित्त बुझाउन, व्यवस्थापन गर्न सफल भयौँ । बाँकी जुन ठाउँमा विद्रोह कायम रह्यो त्यहाँ कारबाहीको प्रक्रिया अगाडि बढेको छ । उनीहरू पार्टीमा नरहेपछि पार्टीका समर्थक, शुभचिन्तक, मतदाताहरूले त्यही रुपमा हेर्दैनन् । त्यसकारण उहाँहरूले क्षति गराउने सम्भावना अत्यन्त न्युन हुन्छ । कत्ति पनि हुँदैन म भन्दिनँ । अरु दलमा पनि त्यस्तो हुन्छ । त्यसको क्षतिपूर्ति बराबर नै हुन्छ । किनभने हाम्रो दलमा मात्रै विद्रोहको अवस्था छैन । 

कांग्रेसले यसपाली कति सिट ल्याउँछ, के आँकलन गर्नुभएको छ  ?

ठ्याक्कै संख्या भन्नुभन्दा पनि मंसिर ४ मा नेपाली जनताले आफ्नो अभिमत प्रकट गर्छन् । हाम्रो आँकलनमा अधिकांश सिटमा विजय प्राप्त गर्छौ । गठबन्धन दलका उम्मेदवारहरू अधिकांश ठाउँमा जित्नुहुन्छ । त्यही अनुपातमा प्रदेश सभामा पनि निर्वाचित भएर आउनुहुन्छ । हाम्रो समानुपातिकतर्फको मत घट्दैन । केही बढ्ला । यद्यपि उम्मेदवार नभएको ठाउँमा चुनौतीलाई हामी वैकल्पिक प्रबन्ध गरिराखेका छौँ । समग्रमा हामी स्पष्ट बहुमत प्रतिनिधि सभामा पनि ल्याउँछौँ, समानुपातिक र प्रत्यक्ष जोडेर र प्रदेश सभाहरूमा पनि सातवटै प्रदेशहरूमा हामी स्पष्ट बहुमत ल्याउँछौँ ।

गठबन्धनक सरकार बन्ने भए प्रधानमन्त्री को हुन्छ, पार्टी सभापति नै हो कि वा पार्टीकै अरु कोही ? कांग्रेसभित्रै आकांक्षी धेरै छन् र बाहिर पनि छन् । कसरी हेर्नुभएको छ ?

गठबन्धनको नेतृत्व नेपाली कांग्रेसले गरेको छ । १६५ सिटमा ९१ सिट कांग्रेसले लडेको छ । बाँकी ४ दलले ७४ सिट लडेको छ । त्यसबाट नै नेतृत्वदायी भूमिका नेपाली कांग्रेसकै हो भन्ने स्वाभाविक छ । कांग्रेसको स्वाभाविक नेतृत्व वर्तमान प्रधानमन्त्री र नेपाली सभापति देउवाजी नै हुनुहुन्छ । देशले जोड्ने नेतृत्व खोजेको छ । पार्टीभित्र कसैलाई पनि चित्त नदुखाइकन निर्णय गरिरहनुभएको छ । उहाँले अन्य दलहरूलाई पनि विश्वासमा लिएर काम गरिहरहनुभएको छ । कुनै गुनासो रहने ठाउँ दिनुभएको छैन । 
धेरै कुरामात्रै गर्ने नेतृत्वभन्दा खुरुखुरु काम गर्ने नेतृत्वको अहिले आवश्यकता छ । यद्यपि बजारमा अनेक खाले कुराहरू गरिन्छ । त्यसलाई अन्यथा लिनेकुरा छैन । नेतृत्वको समस्या नै छैन । मेरो पनि इच्छा होला तर शेरबहादुरजीले यसो गरौँ भनेपछि मैले नाइँ गर्दिनँ । मैले पनि केही भने उहाँले पनि नाइँ नगर्नुहोला । स्वभाविक नेतृत्व नेपाली काँग्रेसको हो । स्वभाविक नेपाली कांग्रेसको नेतृत्व शेरबहादुरजीको हो । 

कांग्रेसकै गगन थापालगायतले प्रधानमन्त्रीको उम्मेदवार हुँ भनिरहनुभएको छ । यसलाई कसरी लिनुभएको छ ? 

अहिले हामी सबै निर्वाचन केन्द्रित हुनुपर्ने हो । आफू पनि निर्वाचित भएर आउने र ज्यादाभन्दा ज्यादा पार्टीका साथीहरूलाई निर्वाचित गराउने हो । कसलाई के हुन मन लागेको छ, पहिले पार्टी जित्नुपर्‍यो । गठबन्धनले जित्नुपर्‍यो । पार्टीले जितेपछि पनि संसदीय दलबाट दलको नेतृत्व चुनिन्छ । यसको यसको विधान र व्यवस्था छ । संसदीय प्रक्रिया छ । त्यसकारण अहिले बाजा बजाएर हिँड्नुपर्ने कुनै आवश्यकता ठान्दिनँ । त्यसले कुनै पार्टीको पक्षमा माहोल बन्ने र पार्टीको हित हुने मैले देख्दिनँ । न्युज एजेन्सी नेपाल
 


Author

थप समाचार
x