वार्ता

सांसद जनताका नभइदिँदा नीति निर्माणमा बेइमानी भयाे, त्यसकाे खबरदारी गर्छु

इकागज |
मंसिर १, २०७९ बिहीबार १९:१५ बजे

प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि आउँदो मंसिर ४ गते निर्वाचन हुँदैछ । यो निर्वाचनमा जनतामुखी काम गर्ने, बेइमानी भइरहेको विधि तथा नीति निर्माणमा खबरदारी गर्ने मूल योजना लिएर सिन्धुपाल्चोक–२ बाट चुनावी स्पर्धामा छन् ध्रुव पराजुली । लामो समय माओवादीमा रहेर सक्रिय राजनीति गरेका उनले २०७०सालमा पार्टीको केन्द्रीय पोलिट्व्यूरो सदस्यबाट राजीनामा दिएका थिए । तर, अहिले उनै पराजुली खुकुरी क्रस चुनाव चिन्ह लिएर स्वतन्त्रबाट चुनावी मैदानमा ओर्लिएका छन् । शालीन र इमान्दार नेताका छवि बनाएका उनै पराजुलीसँग इकागजले गरेको चुनाव केन्द्रीत कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

घरदैलोको क्रममा गाउँ–गाउँ पुग्नुभयो, कस्तो छ चुनावी वातावरण ?


जनताले चुनाव चाहेका छन् । यसकारण कि हरेक नागरिक नयाँ नीति निर्माण हुने आशमा परिवर्तन चाहेका छन् । म चुनावी अभियानका क्रममा मेरो निर्वाचन क्षेत्रको सबै वडामा, सबै बस्तीमा पुगें । चुनावका लागि मतदाता तयार छन् । उत्साही छन् ।

सबै ठाउँमा चुनावी माहोल छ । जनता सकारात्मक रहेको मैले पाएँ । तर, यो सत्य हो जनताले नयाँ प्रतिनिधि चाहेका छन् । पुरानासँग एकखाले दिक्क मानेका छन् । किनकि पुरानाले ढाँटेको, छलेको अनि आश्वासन मात्रै दिएको मतदाताहरुले मेरो सामू कुरा राखेका छन् । देश पुरानै ढर्रामा रहेको र जिताएर पठाएका सांसदले जनताका लागि समृद्ध देशका लागि उपयुक्त नीति निर्माण गर्न नसकेको मतदाताको आरोप छ ।

भनेपछि मतदाताले तपाईंप्रति आशा राखेका छन् भन्न खोज्नुभएको ?

मप्रति नै इंगित गरेको हैन मैले । तर, जनताले नयाँ मान्छेलाई जिताउन चाहेका छन् । बौद्धिक वर्ग । कुनै छलकपट नगर्ने । गाउँ तहसम्मको आवश्यकता हेर्ने । गरिब निमुखाहरुको पनि देश हो भनेर नीति बनाउन सक्ने उम्मेदवारलाई जिताउन खोजेका हुन् ।

तपाईंको माहोल चै कस्तो पाउनुभयो ?

यो क्षेत्रमा रहेका ४९ वटै वडामा म थकाई नमारी सबैमा पुगे । गाउँवासीले सौहार्दपूर्वक स्वागत गर्नुभयो सबै ठाउँमा । म स्वतन्त्र रुपमा चुनावी मैदानमा आएको हुँ । मैले कुनै दललाई गाली गरिनँ । कसैलाई होच्याइन । मतदाताहरु दलका विरुद्ध अगाडि आएको व्यक्ति खोजिरहेको मैले पाएँ । गाउँवासी सबै म उहाँहरुको घरमा पुग्दा खुशी हुनुभयो । दलविरुद्ध आउने आँट गर्नुभयो भन्दै बधाई दिनुभयो मतदाताहरुले । खाँचो पूरा गर्न आउनुभएको छ भन्दै माया दिनुभयो । सहयोग गर्ने प्रतिबद्धता दिनुभयो ।

गाउँमा पाएको प्रेमले मलाई उत्साहित बनाएको छ । निकै रोमाञ्चित छु । यसले मलाई गौरवान्वित तुल्याएको छ । सकारात्मक सुझाव पाएको छु गाउँबाट जसलाई मैले मनन गरे अगाडि बढेको छु र बढ्नेछु । गाउँवासीले ढुक्कसाथ मत दिने प्रतिबद्धता जनाउनुभएकाले उहाँहरु दलले, दलका उम्मेदवारले दिएको आश्वासनप्रति निकै निरास हुनुहुन्छ । त्यसैले मेरो माहोल कमजोर छैन । मतदाता पनि चुनावको दिन कुरेर बसिरहुनभएको छ । र, म पनि ।

लामो समय माओवादीमा रहेर राजनीति गर्नुभयो । तपाईंको उम्मेदवारीप्रति पूर्व पार्टीका नेता कार्यकर्ताको दृष्टिकोण कस्तो पाउनुभयो ?

म लामो समय राजनीतिमा रहेर समाजको सेवा गरेको मान्छे हुँ । ठूला दलका नेता तथा कार्यकर्ताहरु पनि मेरो उम्मेदवारीले खुशी नै हुनुहुन्छ । सल्लाहकार बनेर बस्नुपर्ने व्यक्ति आफै चुनावमा होमिनुभएको छ यो राम्रो पक्ष भएको भनेर मलाई हौसला दिइरहनुभएको छ । राजनीतिमा सक्रिय रहँदा नै जनताको प्रतिनिधि हुनुपर्ने भन्दै दलका साथीहरुले अहिलेको मेरो उम्मेदवारीलाई स्वागत गर्नुभएको छ ।

यो यसकारण पनि हो कि मैले माओवादीमा रहेर लामो समय सक्रिय राजनीति गरें । त्यसक्रममा कुनै नेता तथा कार्यकर्ताहरुलाई मैले सम्मान नै गरें । कुनै दिन पद चाहिनँ ।

र, अहिले म चुनावी मैदानमा उत्रिँदा कोही उम्मेदवारलाई गाली गरिन । गठबन्धनबारे पनि केही बोलिन । त्यसैले पनि दलका साथीहरु मप्रति सकारात्मक हुनुहुन्छ ।

ठूला राजनीतिक दलहरुको बीचमा तपाईंको स्वतन्त्रबाट उम्मेदवारी किन ?

धेरैले सोच्नुभएको हुनसक्छ मैले बिद्रोह गरेर उम्मेदवारी दर्ता गराएको । यो होइन । अहिले देश खासमा देशजस्तो छैन । सरकार, सरकारजस्तो छैन । विधि अनि नीति जनतामुखी छैन त्यो सुधारका लागि हो मेरो उम्मेदवारी ।

विधि नीति निर्माणमा बेइमानी भएको छ । नेताहरुले बदमासी गरेका छन् म त्यसको खबरदारी गर्छु । समृद्ध नेपाल निर्माणका लागि म उपयुक्त विधेयक लैजान्छु र छलफलका लागि जनताको बीचमा लैजानसक्छु ।

अहिले राष्ट्रियताको सवाल ज्यूँका त्यू छ । राज्यले सिमानाको रक्षा गर्न सकेको छैन । देशको सिमाना जस्तो संवेदनशील विषयमा राज्य मौन बस्छ । खासमा भन्नुपर्दा सीमा निर्धारण गर्न सक्ने राज्य भएन । अधिकार पाएकाहरुमा यो विषयमा कहिल्यै एक मत हुन नसक्नु हामी नेपालीहरुका लागि निक्कै दुःखको कुरा हो । यसबारे खबरदारी गर्नका लागि पनि हो मेरो उम्मेदवारी ।

अर्काे कुरा यहाँ जनता स्वाधीन र स्वतन्त्र हुन सकेका छैनन् । जनताका लागि अनि जनताले चाहेको तन्त्र आएकै छैन । राणातन्त्र,  प्रजातन्त्र, लोकतन्त्रहरु जनताका लागि भएनन् । किनभने जनताका सांसद नभएकै कारण यस्तो अवस्था आएको हो ।

जहींतहीं बेथिति छ । ऋण बर्षेनि बढेको छ । हरेक नेपालीको थाप्लोमा ऋण बोकाएका छन् नेताहरुले । यो सत्य हो नेपाललाई लागेको ऋण यदि विदेशीले तिर भन्यो भने सिंगो देश बेचेर पनि सकिदैन । यो पनि नेताकै कारण भएको हो ।

सांसद भएपछि सबैले जनता बिर्सिन्छन् । जनजीविकाका सवाल उठ्दैनन् । देशलाई ऋणमुक्त गर्नतर्फ कोही लागेका छैनन् । आयात धेरै निर्यात शून्य भएकै कारण व्यापार घाटा बढ्दो छ । जनता झुक्याउने खेलको अन्त्यका लागि म चुनावी मैदानमा होमिएको हुँ ।

जनताले बुझ्ने गरी भनिदिनुहोस् तपाईंलाई भोट किन दिने, के छन् अजेन्डा ?

मैले भनिसकें त मेरो उम्मेदवारीबारे । अनि भनिसकें मलाई किन भोट दिने भनेर । र, पनि म यत्ति चै गर्नसक्छु कि हरेक जनता खुशी हुने काम गर्नसक्छु । जनतामुखी निर्णय गर्न म खबरदारी गर्छु ।

यहाँ सम्भावना भएका स्थानहरुको पहिचान गरेर किसानलाई आत्मनिर्भर बनाउन मेरो भूमिका महत्वपूर्ण हुनेछ । गाउँ, समाज मात्रै नभई सिंगो देशलाई अर्थतन्त्रमा अब्बल बनाउन भूईंतहदेखि नै लाग्छु । र, यसरी सकिन्छ भनेर पुष्टि पनि गर्छु ।

खासमा यहाँ नेपाली पहिचान गर्ने उत्पादन छैन । नेपालको हिमाली भेगमा हुने अर्गानिक उत्पादन विदेश पुर्याउन सकिन्छ । राज्यले किसानलाई खासै सम्मान गर्न सकेको छैन । उत्पादनमुखीमा जोड दिएको छैन । र, त नागरिकहरु विदेशको विकल्प देख्दैनन् ।

गाउँ गाउँमा किसाहरु स साना कृषि उत्पादन गरिरहेका छन् । लगानी गर्न नसक्ने अनि बजारको चिन्ता हुँदा किसानहरु दोधारमा परेर उत्पादन दिन सकेका छैनन् । म त भन्छु किसानको उत्पादन राज्यले किनिदिनुपर्छ । कृषिबाटै समृद्ध बनाउन सम्भव छ भनेर राज्यले नै बाटो देखाइदिनुपर्छ ।

अर्काे भनेको पर्यटन हो । नेपालका हरेक ढुंगा कलात्मक छन् । हरेक माटो एउटा सुन्दर चित्र हो । डाँडा पाखा अलौकिक प्रकृति हो । हिमालको हिउँ, पहाडको भीर अनि तराईंको जमिनको सुन्दरता हामीले देखाउन सकेका छैनौं । यसको उपयोग गर्न सकेका छैनौं । यो जरुरी छ ।

विकराल समस्या रोजगारीको हो । मैले अघि भनेजस्तै कृषि र पर्यटनलाई मात्रै जोड्ने हो भने नेपालीहरु रोजगारी खोज्दै विदेश धाउनु नै पर्दैन । यहाँ जनशक्ति अभाव हुन जान्छ अनि विदेशीहरुको चैं रोजगारको उत्कृष्ट गन्तव्य नेपाल हुन सक्छ । यो सम्भावनालाई यथार्थमा बदल्न सकिन्छ । यो अहिलेसम्म नभएको चैं सम्भावना नखोतलेर नै हो ।

उद्योग कलकारखानाको विकास हुनै सकेको छैन । जहाँतहीं समस्या नै समस्या छ तर समाधानका लागि कुनै पहल छैन राज्यबाट । यसका लागि म लागिपर्छु । समग्रमा यत्ति हो कि जनताका लागि म चुनावी स्पर्धामा उभिएको छु ।
 


Author

थप समाचार
x