वार्ता

‘मान्छे भीडमा पनि एक्लो हुनसक्छ, अनकन्टार जंगलमा पनि एक्लो नहुन सक्छ’

कमल विष्ट |
मंसिर २१, २०७९ बुधवार १६:४५ बजे

नेपाली साहित्यिक वृत्तमा स्थापित नाम हो, बुद्धिसागर । उनको ‘कर्नाली ब्लुज’ र ‘फिरफिरे’ पाठकमाझ निकै लोकप्रिय छन् । गाउँलाई आफ्नो उपन्यासको मुख्य क्यानभास बनाएर पात्रमार्फत कथा भन्न सिपालु बुद्धिसागर यसपालि सहर पसेका छन् । 

यही शनिबार विमोचन हुन लागेको उनको तेस्रो उपन्यास अर्थात् ‘एक्लो’ले सहरको कथा कहेको छ । उनकै शब्दमा भन्नुपर्दा– एक्लो सहरको कथा हो, तर सहरका स्थानीय पात्रको होइन । गाउँबाट आफ्नो सपनालाई आकार दिन सहर पस्नेहरूको कथा हो, उनीहरूको जीवन संघर्षको हो ।


बुद्धिसागरसँग उनको प्रकाशोन्मुख पुस्तकको सन्दर्भमा इकागजका कमल विष्टले कुराकानी गरेका छन् । प्रस्तुत छ, संवादको सम्पादित अंश:

बुद्धिसागरको नयाँ कृतिका लागि पाठकहरूले लामो समय कुर्नुपर्‍याे, लगभग सात वर्ष । किन यति लामो समय लाग्यो ? 

कर्नाली ब्लुज र फिरफिरेबीचको दूरी ६ वर्षको थियो । फिरफिरेदेखि एक्लो प्रकाशन हुँदासम्म ७ वर्ष हुँदो रहेछ । विविध कारणले ढिलो भयो । तीमध्ये काेरोना महामारी एक हो । कोभिडले सुरुवातमा मानसिक रूपमा धेरै असर गर्‍याे । धेरै समय लेख्नै सकिएन । यद्यपि काम त भयो । तर, जुन रफ्तारले हुन्थ्यो, त्यसमा ब्रेक लाग्यो । अर्को कुरा चाहिँ जति पुस्तकको संख्या बढ्दै जान्छ, त्यति रफ्तार कम हुँदै जाँदोरहेछ । 

पहिलो पुस्तक वर्षाैंदेखि दिमागभित्र पाकिरहेको हुन्छ । त्यसैले त्यति गाह्रो हुँदैन । तर, त्यसपछिका पुस्तकमा त्यति सहज हुँदैन । पुरानो कुरालाई नयाँमा दोहोर्‍याउनु भएन । नयाँ कुरा सोच्न समय लाग्छ । अझ भनौँ, झन् धेरै साधना चाहिन्छ । पठनको दायरा बढाउनुपर्ने हुन्छ । त्यसैले समय लम्बिँदै जाँदोरहेछ । कर्नाली ब्लुज र फिरफिरे आकारमा मोटै थिए । दुवै तीन वर्षको हाराहारीमा तयार भए । त्यही आयातनको एक्लो चाहिँ सकिन चार वर्ष लाग्यो । थुप्रैपल्ट पुनर्लेखन गरियो ।

तपाईंले यो बीचमा सिनेमा लेखन पनि गर्नुभयो । ढिलो हुनुमा यसको कति भूमिका छ ? 

पुस्तक आधा जस्तो भएपछि म सधैँ राइटर्स ब्लकबाट गुज्रिन्छु । त्यसपछि केही समय लेख्नै सक्दिनँ । यसपालि पनि त्यस्तै भयो । केही महिना लेख्नै सकिनँ । लेख्न नसकेपछि अब के गर्ने भन्ने भयो । फेरि म पूर्णकालीन लेखक हुँ । लेख्नेबाहेक अर्को काम छैन । अब यस्तो अवस्थामा के गर्ने भन्ने सोचिरहेको थिएँ । साथीहरूसँग चलचित्र लेखनको कुरा भयो । जहिले पनि राइटर्स ब्लकबाट निस्कन, विधाभञ्जन गर्नु भन्छन्, त्यसैले फरक कुरामा कलम चलाउने निर्णय गरेँ । 

स्क्रिप्ट कस्तो भयो थाहा भएन, तर मैले फरक र स्वादको अनुभूति पाएँ । सिनेमा लेख्दा मैले यी तीन कुरा सुधार्ने मौका पनि पाएँ । एक त कथाको लय, दोस्रो पात्र निमार्ण र तेस्रो पात्रको मनोदशा अनुसारका संवाद ।

आख्यान लेखनको अनुभव त छँदै थियो । अब स्क्रीप्ट लेखनका अनुभव पनि बटुल्नुभयो । कुनमा बढी रमाइलो लाग्यो ? 

मजा त आख्यान वा कविता लेखनमै बढी हुँदोरहेछ । आफूले लेखेको स्क्रीप्टमा कस्तो सिनेमा बन्ने हो ? यो आफ्नो हातमा हुँदैन । निर्देशक र पूरा टिमको हुन्छ । यसो हुँदा एक किसिमको चिन्ताले गाँज्दो रहेछ । तर, पुस्तकको हकमा त्यस्तो हुँदैन । आफूले लेखेको जस्ताको त्यस्तै पाठकसम्म पुग्छ ।

तपाईंले एकपल्ट अब उप्रान्त सिनेमा लेखन गर्दिनँ पनि भन्नुभएको थियो । यसै कारणले हो ? 

दुइटा सिनेमा लेखेको छु । ती पर्दामा आउन अझै लामो समय लाग्ला । मैले त्यसैबेला भनेको हुँ, सिनेमा मैले जीवनमा आफूले हेरेका सिनेमाहरूलाई प्रेमपत्र हो । जीवनको उदास होस् या खुसीको क्षण दुवैमा सिनेमाले साथ दिएका हुन् । अझ भनौँ, म ठूलो सिनेमा प्रेमी पनि हुँ । सायद, यसैले पनि सिनेमा लेखियो होला । तर, आफू भित्र टुसाएका भावहरूलाई जलमल गर्न आख्यान नै सबैभन्दा राम्रो विधा लाग्छ । 

मेरो दश वर्षको एउटा योजना छ । म अहिले ४० पुगेँ । ५० वर्ष पुग्दासम्म आफूले यसअघि गरेका कामको हिसाबकिताब नगरेर काम गर्छु । उपन्यास, लघु उपन्यास र कथाहरूमा काम गर्छु । 

एक सुप्रसिद्ध लेखकले भन्नुभएको छ– 'एउटा लेखकले आफ्नो जीवनको ३० देखि ४० वर्षको उमेरमा शक्तिशाली पुस्तक लेख्छ ।' तपाईं पनि ४० लाग्नुभयो । उहाँसँग सहमत हुनुहुन्छ ? 

म सधैँ आफ्नो ग्रोथ कति भयो भनेर हेर्छु । यद्यपि पाठकहरूलाई कुनै पात्र वा कथाले धेरै छोला कुनैले कम । तर, एउटा लेखकका रूपमा हेर्दा यसपल्ट मेरो लेखक थप परिपक्व भएको महसुस हुन्छ । कर्नाली ब्लुज र फिरफिरेमा धेरै डिटेलिङ थियो । कुनै कुनै ठाउँमा अनावश्यक पनि थियो । यसपालि त्यसलाई अलि सुधारेको छु । 

त्यसो त एक्लोमा पनि डिटेलिङ त छ, तर त्यो अर्थपूर्ण तरिकाले छ जस्तो लाग्छ । तर, सिकाइको अन्त्य त कहाँ हुन्छ र ! 

र, पनि लेखनमा उमेरको कुरै नहुने रैछ । जोन किट्स २५ वर्षमा बिते, तर उनले महान् सिर्जना गरिसकेका थिए । पाउलो कोएलोले ३८ वर्षको उमेर लेख्न सुरु गरे, संसार प्रसिद्ध लेखक भए । लेखनलाई लेखकको उमेरको दायरामा मात्र राख्न नहुने रैछ । 

‘कर्नाली ब्लुज’ र ‘फिरफिरे’ दुवैको क्यानभास गाउँ थियो । ‘एक्लो’को आवरण पृष्ठले कथा सहरको हो भन्ने संकेत गर्छ । यो अनुमान सही हो ? 

हो, एक्लो सहरको कथा हो । कठमाडौंको कथा हो । तर, यो यहाँका स्थानीय पात्रको होइन, गाउँबाट सहर पस्नेहरूको हो । उनीहरूको जीवन संघर्षको कथा हो । उनीहरू एकआपसमा कसरी जोडिन्छन् ? एउटा मान्छे सफल बन्न उसलाई अरूको कति र कस्तो भूमिका हुन्छ ? मान्छे थाहै नपाइ कसरी जाडिन्छन् र थाहै नपाइ कसरी टुक्रिन्छन्, यस्तै कुराहरू छन् ।  

काठमाडौंमा तपाईंका प्रारम्भिक दिनहरू पनि एकदमै संघर्षपूर्ण थिए । बाँच्नकै लागि स्ट्रगल गर्नुपर्‍याे । तपाईं स्वयं ‘एक्लो’मा कति हुनुहुन्छ ?

सामान्यतया के हुन्छ भने लेखकले म पात्रबाट लेख्दा पाठकले यो लेखककै कथा हो र सेकेन्ड पर्सन वा ऊ पात्रबाट लेख्दा अर्काको हो भन्ने सोच्नुहुन्छ । तर, वास्तवमा त्यस्तो हुँदैन । लेखक त म पात्रमा मात्र नभइ सबै पात्रहरूमा गाँसिएका हुन्छन् । पात्रको नायकीमा पनि लेखक हुन्छ, खलनायकीमा पनि लेखक नै

बुद्धिसागरले कृतिमा आफ्नै अनुभूति लेख्छ भन्ने चर्चा पनि साहित्यिक वृत्तमा छ । साँचो हो ? ‘एक्लो’ त्यसैको निरन्तरता हो ? 

मलाई थोरै किताब होऊन, तर फरक अनुभूतिका किताब होऊन् भन्ने लाग्छ । पढ्नेलाई मन परोस् या नपरोस् तर अथेन्टिक हुनुपर्छ भन्ने चाहिँ लाग्छ । एउटा लेखकको किताबहरूमा आफ्नै शैली र रंग हुन्छ । बुद्धिसागरको पनि आफ्नै शैली छ । संसारमा म मात्रै एउटा लेखक हुन्थेँ भने म सबै विषयमा सबैका लागि लेख्थेँ । तर, संसारमा म बाहेक थुप्रै विषयमा थुप्रै लेखक छन् । 

त्यसैले, मलाई जे विषयमा लेख्दा मजा लाग्छ, त्यही विषयमा लेख्छु । किताब छापिएर बजारमा गएपछि भन्दा पनि लेखन कालमा बढी आनन्दित हुन्छु । कथाका पात्र र तिनले बोल्ने संवादले आनन्दित हुन्छु । लेख्दालेख्दै पात्रले मन छुने संवाद बोल्यो भने मजा लाग्छ । भोलिपल्ट फेरि त्यही संवाद मन पर्दैन, त्यसपछि उदास हुन्छु । कहिलेकाहीँ फ्याट्टै निस्कने सानो हरफले पनि फुरुङ्ग हुन्छु । महिनौँपछि त्यही हरफ अनावश्यक लाग्छ, अनि हटाउँछु । 

सारमा भन्नुपर्दा म त्यही लेख्छु, जे लेख्दा मलाई मजा आउँछ । त्यसैले पनि ६–७ वर्षसम्म पुस्तक प्रकाशन नहुँदा पनि म आत्तिनँ । 

नेपाली साहित्य भावना प्रधान हुने भएकाले विश्व साहित्यिक बजारमा अब्बल कहलिन सक्दैन भन्ने मत आलोचक तथा समालोचकहरूको छ । यो आरोपबाट तपाईं पनि अछूतो हुनुहुन्न । के भन्नहुन्छ ? 

कुनै लेखकले भनेका छन्— संसारमा जम्मा ५ वटा कथा हुन्छन् । तर, फरक पार्छ तिनलाई भन्ने शैलीले । भावना त संसारका हरेक कृतिको जग नै हो । जुनै कृति पढे पनि भावनात्मक रूपमा हामी जोडिएकै हुन्छन् । तर, भावनात्मक भन्दैमा शब्दहरूको बुट्टा मात्रै भर्ने, अनि गन्थन लम्बाउनु भने समस्या हो । 

हामीसित सुन्दर कृतिहरू छन्, ती संसारका प्रायः पाठकलाई हुन सक्छन्, तर हामी शैलीका कारणले अलिकति पछि पर्यौँ कि जस्तो लाग्छ । 

पछिल्लो समयमा मैले संसारका विभिन्न कुनाका युवा लेखकहरूको कृति पढेँ । उनीहरूसित आफ्नो भाषा र संस्कृति बाहेकका इतर भाषाका पाठकलाई कसरी कनेक्ट गर्न सकिन्छ भन्ने सीप छ । सायद, त्यो हामीसित अलिकति कम छ । त्यसको पनि कारण छ । उनीहरूसित यो कथा एकदिन अर्के भाषा र संस्कृतिको पाठकले पढ्छ भन्ने चेत पहिल्यै आयो । हामी कहाँ भर्खरै आउँदैछ । यसले पनि फरक परेको होला । 

जस्तो भर्खरै बुक पुरस्कार प्राप्त श्रीलंकन कृति सेभेन मुन अफ माली आमोड दुई भर्सनमा प्रकाशित छन् । पहिलो संस्करण त दुई/तीन वर्ष अघि नै प्रकाशित थियो, च्याट विथ डेडका नाममा । पछि त्यसलाई पुनर्लेखन गरेर अर्को नाममा छापियो र त्यो पुरस्कृत पनि भयो । दोस्रोपल्ट भने उनले आफ्नै कथा पनि बाहिरी समाज र राजनीतिमा कसरी जोड्न सकिन्छ भनेर काम गरे । त्यो सफल पनि भयो । तर, बतास हामीतिर पनि पसिसकेको छ । मलाई लाग्छ, भविष्यमा धेरै अर्थपूर्ण काम हुनेछन् ।

‘कर्नाली ब्लुज’ अंग्रेजी भाषामा अनूदित भएर विश्व बजारमा पुगेको छ । प्रतिक्रिया कस्तो छ ? 

प्रतिक्रिया एकदमै राम्रो छ । माइकल पालेनले त खुलेरै प्रशंसा गर्नुभएको छ । ट्वीटर, फेसबुकलगायत सामाजिक सञ्जालमा राम्रो फिडब्याक मिलिरहेको छ । सुरुसुरुमा बाहिरी मुलुकका ट्वीटर प्रयोगकर्ताको फलो आउँदा फेक हो कि भन्ने पनि लाग्थ्यो । तर, अहिले फेकै भएपनि एकक्षण त सोच्छु, कोही किताब पढेको पाठक पो हो कि भनेर ।  

पुस्तकको दायरा दिनप्रतिदिन फराकिलो हुँदैछ । गुड रिड्समा पनि राम्रो प्रतिक्रिया छ । पुस्तक पढेर भावुक भएँ, आफूले पढेको र देखेको भन्दा फरक नेपाल पाएँ जस्ता प्रतिक्रियाहरू आइरहेका छन् । कहिले अमेरिकन, कहिले चाइनिज, कहिले भारतीय पाठकहरूको प्रतिक्रिया आइरहेको छ । 

तर, कर्नाली ब्लुज महासागरमा एउटा थोपा मात्र हो । पुस्तक अहिल्यै ठूलो मासमा पुगिसकेको छैन । अझै केही समय लाग्छ। 

नेपाली लेखकका लागि भाषा कत्तिको बेरियर रहेछ ?

ठूलो बेरियर हो । हाम्रोमा अनुवादकै ठूलो खाँचो छ । जस्तो माइकल हट व्यावसायिक अनुवादक होइनन् । पुस्तकसँग भावनात्मक रूपमा जोडिएकाले र नेपाली भाषा आउने भएर मात्र कर्नाली ब्लुज अनुवाद गरेका हुन्, उनले । हामीकहाँ अनुवादक यसै कम छन्, जति छन् उनीहरू पनि व्यस्त छन् । 

विदेशमा एउटा गैरअंग्रेजी भाषी लेखकका आफ्नै अनुवादक हुन्छन् । पुस्तक राम्रो होस् वा नहोस् उनीहरूले अनुवाद गरिहाल्छन् ।  उता अनुवाद व्यवसाय भइसकेको छ, यता अझैँ साहित्य सेवामै सीमित छ । 

तैबिसेक पहिलेको तुलनामा अहिले नेपाली पुस्तकहरू अनुवाद भएर बाहिर जाने क्रम बढेको छ । फात्सुङ अनुवाद भएर गइसक्यो ।  सेतो धरतीको अनुवाद भइरहेको छ । अहिले विश्व बजारमा नेपाली पुस्तक र अनुवादकसम्बन्धी केही विदेशी प्रकाशकहरूले चासो लिएको पनि देखिन्छ । सम्भावनाहरू प्रशस्त छन् । तर, समय लाग्छ ।

फेरि तपाईंको प्रकाशोन्मुख ‘एक्लो’मै केन्द्रित होऔँ । एक्लो हुनु भनेको के हो ? के होइन ? 

केही पाठकले यो उपन्यास एउटा टुहुराको कथा हो कि भन्ने प्रतिक्रिया दिनुभएको थियो । तर, यो भित्री एक्लोपनको कथा हो । घर, गाडी, यथेष्ट बैंक ब्यालेन्स हुने मान्छेलाई हामी यो त खुसी होला भन्ने सोच्छौँ । तर, त्यस्तो हुँदैन । सबै भएर पनि मान्छेमा सधैँ एक किसिमको रिक्तता भइरहन्छ । मान्छे भीडमा पनि एक्लो हुनसक्छ, अनकन्टार जंगलमा पनि एक्लो नहुनसक्छ । 

समाज दैनन्दिन आत्मीय हुन छाड्दै छ । संसारमा हरेक मान्छे दौडमा छ, प्रतिस्पर्धामा छ । कोरोना महामारीपछि यो अझ बढेको छ । तर, एक्लोपन नराम्रो मात्र होइन । यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा महत्वपूर्ण हो । कसैलाई यसले डिप्रेसनमा पुर्याउँछ भने कसैलाई आत्महत्याको निर्णयसम्मै पुर्याउँछ । तर, केहीले भने यसको सदुपयोग गरेर प्रोडक्टिभ बनाउँछन् । 

तपाईंले ‘फिरफिरे’ समाजप्रतिको दायित्वबोधले लेखेँ भन्नुभएको थियो । ‘एक्लो’ लेख्न केले प्रेरित हुनुभयो ?

यो सहरको एक्लोपनको उपज हो । यसले सहरमा संघर्ष गरिरहेकाहरूलाई अलि प्रेरणा दिन्छ कि भन्ने लाग्छ । संघर्षरतहरूलाई कहिलेकाहीँ आफूहरू जस्तैको कथाले प्रेरणा दिनसक्छ । यद्यपि मैले यो कसैलाई प्रेरित गर्न लेखेको चाहिँ होइन । यसमा अरू पनि थुप्रै कुराहरू छन् । त्यो अहिल्यै नखुलाऔँ । 

संवादको सुरुमा तपाईंले आफू राइटर्स ब्लकबाट गुज्रिएको बारे पनि उल्लेख गर्नुभयो । यसअघिको पुस्तकबाट आफूले बनाएको साख जोगाउन सक्दिनँ कि भन्ने सोचेर चाहिँ प्रेसर भयो कि नाइँ ? 

भएन । मलाई साख जोगाउन सक्छु कि सक्दिनँ भन्ने सोचेर तनाव हुँदैन । म त आफूलाई लेखकभन्दा पनि पाठक हुँ भन्ठान्छु । उपन्यासको आयातन ठूलो हुन्छ । ७० हजार शब्द लेख्दा एउटा उपन्यास नै बनिसक्छ । मेरो ठूलो हुन्छ, त्यो छुट्टै कुरा हो । अरू कारणले भन्दा मानसिक रूपमा थाकिइँदो रहेछ । कथालाई कसरी अगाडि बढाउने ? पात्रलाई अब कसरी प्रस्तुत गर्ने ? आदिइत्यादिबारे एकदमै सोच्नुपर्छ । अन्तिम-अन्तिमतिर पुग्दा पात्रका उतारचढावलाई न्याय गरी लेख्न अझ श्रम लाग्छ । लेखनको लय बिग्रन्छ । दुई/तीन महिना लेख्न सकिँदैन । 

तर, म यतिकै बस्दिनँ । यो समयमा म अरू विषयमा पढ्ने र अरू विषयमा लेख्ने गर्छु । आफूलाई सिर्जनात्मक बनाइ राख्छु । अरूलाई कस्तो हुन्छ थाहा छैन, तर मलाई चाहिँ किताबको बीचमा पुग्दा ब्लक सुरु हुन्छ । 

पछिल्लो समय तपाईंलाई समकालीन वा नवलेखकका मन परेको पुस्तक कुनै छ ? 

पछिल्लो समय मलाई एकदमै मन परेको आख्यान महाभारा हो । बसन्त बस्नेतको महाभारा साँच्चिकै राम्रो उपन्यास हो । अर्को राम्रो लागेको पुस्तक डा. नवराज केसीको शून्यको मूल्य हो । यो गैरआख्यान हो, तर शक्तिशाली छ । 

आफ्ना कृतिमध्ये आफैँलाई मनपर्ने कुन हो ? 

धेरैजसो लेखकलाई आफ्नो नयाँ पुस्तक मनपर्छ । तर, मलाई चाहिँ पुरानो अर्थात् फिरफिरे नै मनपर्छ । त्यसमा केही विशेष कुराहरू छन् ।

तपाईंलाई पुस्तकको ‘ह्याङओभर’ कति हुन्छ ? कथा र पात्रहरूले कति सताउँछन् ?

एकदमै हुन्छ । फिरफिरे लेख्दाखेरि जुठी आमैलाई गाउँ निकाला गरेपछि मैले लेख्नै सकिनँ । उनलाई कम दुःख दिन खोजे र यसबारे साथीहरूसँग सल्लाह गरेँ । उनीहरूले मलाई समाचारमै कति धेरै हिंसा भयो भनेर आउँछ भने आख्यानमा झन् आउनैपर्छ, पात्रप्रति सहानुभूति राख्नु हुँदैन भनेर सुझाए । 

लेख्दै जाँदा यो पात्रले धेरै दुःख पाउनेवाला छ भनेर थाहा हुन्छ । यसले मलाई पनि दुखी बनाउँछ । कहिलेकाहीँ यति पीडा नदिऔँ जस्तो लाग्छ । तर यो यसरी नै जेलिएर आएको हुन्छ । सहानुभूति राख्न मिल्दैन ।

तपाईंको साहित्यिक यात्रा कविताबाट भयो । तर, उपन्यास लेखनमा जम्नुभयो नि ?

मेरो भर्खरै कविता संग्रह पुनःमुद्रण भयो । छापाखानामा जानुअघि केही थप्न सकिन्छ कि भनेर प्रयास गरेँ, तर सकिनँ । मैले कविता भनेको ठूलो तपस्या हो, मन्त्र हो भनेर बुझेपछि लेख्नै सकिनँ । राम्रो कविता पढ्न र चिन्न थालेपछि लेख्नै नसकिँदो रहेछ । आफ्नो कविता आफैँले मूल्यांकन गर्ने बानी पर्‍याे । 

त्यसो त लेख्न प्रयास चाहिँ गरिरहन्छु । तर, सुनाउन होइन । अहिले मलाई कविता पढ्न मन लाग्छ भने लेख्न आख्यान । 

फेरि अहिले नयाँनयाँ कविहरू आइरहेका छन्, फरकफरक आगो बोकेर । बरु ती कविलाई पढ्छु । आफूले भने सबै डुंगामा खुट्टा हाल्नु आवश्यक छैन भन्ने पनि लाग्छ ।

अन्तिममा एउटा इन्फर्मल प्रश्न । तपाईंका फेसबुक पोस्टबाट थाहा हुन्छ, तपाईंको मनपर्ने खेल फुटबल र खेलाडी मेसी हुन् । मेसी किन मनपर्छ ?

हो । मैले खेल हेर्ने भनेकै विश्वकप फुटबल हो । विश्वकप सुरु हुनुअघि म आफ्ना सबै कामहरू सकिसक्छु । विश्वकपका बेला आनन्दले खेल हेर्छु । पोहोर पनि त्यस्तै गरेको थिएँ । 

मेरा सर्वप्रिय मेसी हुन् । यसपालि उनले जितिदिए हुन्थ्यो भन्ने लागिरहेको छ । यो उनको अन्तिम विश्वकप पनि हो । महान खेलाडी हुन्, उनको अन्तिम विश्वकप पनि महान टुङ्गोमै पुगोस् भन्ने कामना गरेको छु ।


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x