वार्ता

महासचिव भुसाललाई प्रश्न : माधव नेपाललाई राष्ट्रपति बनाएर एमालेसँग एकता गर्ने सम्झौता भएको हो ?

कमल विष्ट |
फागुन १०, २०७९ बुधबार १३:२३ बजे

काठमाडौं– राष्ट्रपति निर्वाचन जतिजति नजिकिँदै छ, आकांक्षीका नामहरू एकपछि अर्को गर्दै बाहिर आइरहेका छन् । सोमबार यो सूचीमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अटाएपछि राजनीतिले ‘यूटर्न’ लिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालबीच आइतबार भेटवार्ता भएको थियो । भेटमा ओलीले नेपाललाई राष्ट्रपति बन्न र पार्टी एकता गर्न प्रस्ताव गरेका थिए । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच राष्ट्रपतिको उम्मेदवारलाई लिएर मतभेद देखिइरहेका बेला नेपाललाई ओलीको प्रस्तावले नेपाली राजनीति तरंगित भएको छ । 


ओलीबाट राष्ट्रपतिको प्रस्ताव आएलगत्तै नेपाल आफ्नो नाममा सहमति जुटाउन सक्रिय भएका छन् । नेपालले ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति’को रटान लगाइरहेका प्रधानमन्त्री प्रचण्डदेखि कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेतालाई भेटिसकेका छन् । 

ओलीको प्रस्तावले एउटा अर्को विषय पनि पेचिलो बनेको छ, एमालेसँग एकीकृत समाजवादीको एकता । एमाले स्रोतका अनुसार ओलीले नेपालसँग राष्ट्रपति पदसँग पार्टी एकताको ‘बार्गेर्निङ’ गरेका हुन् । 

यसै विषयमा केन्द्रित भएर इकागजकर्मी कमल विष्टले एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाललाई संक्षिप्त कुराकानी गरेका छन् । प्रस्तुत छ, संवादको सम्पादित अंश :

तपाईंका पार्टी अध्यक्षलाई राष्ट्रपति बनाएर एमालेसँग पार्टी एकता गर्ने चर्चा चलिरहेको छ । के छ तयारी ?
यो सरासर गलत कुरा हो । तपाईंलाई कसले भन्यो ? कुनै पनि किसिमको प्रस्ताव आएको छैन । 

आइतबार ओली र नेपालबीच भेट भएपछि यो कुरा बाहिर आएको छ । हाम्रो स्रोतले पनि यसलाई पुष्टि गरेको छ । 
होइन । शतप्रतिशत गलत हो । पार्टीमा यस विषयमा कुनै छलफल भएको छैन । बाहिर के आयो ? कसरी आयो ? हामीलाई थाहा छैन । उहाँहरूबीच जम्माजम्मी भेट भएको हो, कुराकानी भएको हो, कुरा यत्ति हो । मिडियामा आएजस्तो केही भएको छैन । 

भनेपछि एकीकृत समाजवादीले राष्ट्रपतिमा नेपाललाई उम्मेदवार बनाउँदैन ?
उठाउने नउठाउने भन्ने कुरा नै होइन । हाम्रो पार्टीले उठाउनुपर्ने भए उठाउला नत्र नउठाउला । त्यो हाम्रो स्वतन्त्रताको कुरा हो । 

राष्ट्रपतिको सवालमा एमाले र राप्रपा पुस १० को सम्झौताअनुरूप राष्ट्रपतिका लागि उम्मेदवार अगाडि सार्नुपर्छ भन्ने अडानमा छन् भने माओवादी केन्द्रलगायतका दल राष्ट्रिय सहमतिको पक्षमा छन् । तपाईंहरूको पक्षधरता के हो ?
राष्ट्रपतिमा राष्ट्रिय सहमति हुँदा धेरै राम्रो हुन्छ ।

एकीकृत समाजवादीले तपाईंको संयोजकत्वमा वाम एकता कार्यदल बनाएको थियो । एकता कार्य कहाँ पुग्यो ? एमालेसँग पनि संवाद भइरहेको छ ? 
हामीले वामविचार बोक्ने विभिन्न व्यक्ति, समूह, पार्टीलगायतसँग वार्ता तथा छलफल गरिरहेका छौँ । माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतसँग एकताको कुरा अगाडि बढिरहेको छ । घनश्याम भुसालजीलाई हामीले पार्टीमा ल्यायौँ । अरु थुप्रैसँग पनि कुराकानी भइरहेको छ । 

माओवादी केन्द्र र जनता समाजवादीसँग कहिलेसम्म एकता भइसक्ला त ?
राजनीति गणित जस्तो हुँदैन । दुई र दुई जोड्दा चार भएजस्तो हुँदैन । कहिले छिटो हुन्छ, कहिले ढिलो । हुन पनि सक्छ, नहुन पनि सक्छ । अहिले नै भविष्यवाणी गरेर केही काम लाग्दैन । 

पार्टी व्यवस्थापनका लागि तपाईंलाई उपाध्यक्ष बनाएर घनश्याम भुसाललाई महासचिव बनाउने पनि चर्चा छ । सत्य हो ?
पार्टीभित्र विभिन्न समयमा विभिन्न नेताले विभिन्न जिम्मेवारी पाउँछन् । त्यो ठूलो कुरा होइन । कसले कुन जिम्मेवारी लिँदा उपयुक्त हुन्छ भनेर पार्टीमा छलफल हुन्छ । छलफल पछि निर्णय हुन्छ । जिम्मेवारी फेरिन पनि सक्छ अथवा त्यही कायम पनि हुन सक्छ । 
 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x