वार्ता

‘अरू मन्त्रीले वर्षाैं गर्न नसकेको काम अध्यक्ष लिङ्देनले ४० दिनमा गर्नुभयो’

कमल विष्ट |
फागुन २६, २०७९ शुक्रवार १६:४८ बजे

गत पुस १० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई प्रधानमन्त्री बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महत्वपूर्ण भूमिका खेल्यो । फलस्वरूप माघ ३ मा प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दा राप्रपाबाट चार जना मन्त्री बने । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा सरकारमा गयो । 

तर, प्रचण्डले पुस १० को सम्झौताविपरीत गएर राष्ट्रिय सहमतिको नाममा गठबन्धनबाहिरका उम्मेदवारलाई समर्थन गरेको भन्दै राप्रपा सरकारबाट बाहिरियो । मन्त्रीहरू राजेन्द्र लिङ्देन, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र दीपकबहादुर सिंहले सामूहिक राजीनामा बुझाए । 


प्रचण्डले राजनीतिक बेइमानी गरेको भन्दै सरकारबाट बाहिरिएको राप्रपाले आफू छोटो समयका लागि सरकारमा रहँदा पनि उल्लेखनीय काम गरेको दाबी गरेको छ । राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाही भन्छन्– अध्यक्ष लिङ्देनज्यूले उपप्रधान तथा ऊर्जा मन्त्रालय सम्हाल्दा ऊर्जा क्षेत्रमा क्रान्ति गर्नुभयो । 

सरकारमा रहँदा राप्रपाले गरेका काम, प्रचण्डलाई दिएको समर्थन फिर्ता, राष्ट्रपतिमा तटस्थ रहने निर्णयलगायत विषयमा प्रतिनिधिसभा सांसदसमेत रहेका शाहीसँग इकागजले गरेको कुराकानी अंशः

राप्रपा ४० दिन सरकारमा बस्यो । तपाईंहरूको अनुभव कस्तो रह्यो ?

हामीले त्यो छोटो समयमा ऐतिहासिक काम गर्‍यौं । पार्टी अध्यक्ष लिङ्देनले उपप्रधान तथा ऊर्जा मन्त्रालय सम्हाल्दा इतिहासमै पहिलो पटक १ हजार पाँच सय मेगावाट बिलुजीको विद्युत् खरिद सम्झौता (पीपीए) खुलाउनुभयो । अब निजी क्षेत्रले सरकारलाई बिजुली बेच्न पाउने भए । यो विषय चार वर्षदेखि अड्किएर बसेको थियो । एक मेगावाट बराबर तीन लाख रुपैयाँ घूस मागियो भन्ने हल्लासमेत आएका थिए । त्यो काम हाम्रो अध्यक्षले एक रुपैयाँ पनि घूस नखाई ४० दिनमै गर्नुभयो । अरू मन्त्रीले १० वर्षमा गर्ने काम उहाँले एक महिनामै गरेर आउनुभयो । 

अहिले देशमा २ हजार २ सय ७५ मेगावाट बिजुली उत्पादन हुन्छ । उहाँले १ हजार ५ सय मेगावाटको पीपीए गरेर राष्ट्रका लागि खर्बौँको कामको ढोका खुला गर्नुभएको छ । निजी क्षेत्रका लगानीकर्ताहरू खुसी भएका छन्, उत्साहित भएका छन् । बिजुलीका क्षेत्रमा एउटा क्रान्ति भएको छ ।

सरकारबाट छोटो समयमै बाहिरिनुपरेकाले चाहेर पनि थुप्रै काम गर्न सकिएन भन्ने भनाइ राप्रपाका मन्त्रीहरूको थियो । के–के काम रोकिए ?

अध्यक्ष लिङ्देनको नारा नै थियो– भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु सरह हो । उहाँले त्यो पुष्टि गरिदिनुभयो । पीपीएका लागि यसअघिका मन्त्रीहरूले घूस माग्ने गरेका थिए । घूस मागकै कारण त्यो काम हुन सकेको थिएन । उहाँले एक रुपैयाँ घूस नलिएरै काम गर्नुभयो । यो कदम ऊर्जा क्षेत्रमा एउटा क्रान्ति हो । त्यसबाहेक पनि उहाँले अरू थुप्रै कामहरू अगाडि बढाउनुभएको थियो । ती सबै अधुरै रहे । 

नेपालको कर्मचारीतन्त्रले केही गर्छु भनेर प्रण गरेको मन्त्रीलाई पनि फनफनी घुमाइदिन्छ भनेको बेला–बेला नेताहरूबाट सुनिन्छ । राप्रपाका मन्त्रीहरूले कर्मचारीबाट कत्तिको सहयोग पाए ? 

मन्त्री इमानदार भएपछि कर्मचारीले पनि भनेको मान्दा रहेछन् । अध्यक्ष लिङ्देन इमान्दार भएकै कारण कर्मचारीले उहाँलाई सहयोग गरे । मन्त्रालयका सचिव, महानिर्देशकहरू अहिले पनि उहाँप्रति सम्मान गर्नुहुन्छ । कर्मचारीले बुझेका छन्– इमान्दार मान्छेलाई हामीले सघाउनुपर्छ नत्र हामीलाई गाह्रो हुन्छ । किनभने हामीले नीतिभित्रै बसेर काम गर्नुपर्ने हुन्छ । 

कर्मचारीहरू नीतिभित्रै रहेर काम गर्न सधैं तयार हुन्छन् । तर, हाम्रा नेताहरू उनीहरूलाई नीतिभन्दा बाहिर गएर काम गर्न दबाब दिन्छन् । अध्यक्षज्यूले कर्मचारीलाई नियमभित्रै बसेर काम गर भनेकाले उनीहरूले मानेका थिए । 

पछिल्लो समय राप्रपा र एमालेको दोस्ती खुबै जमेको थियो । माओवादीले एमालेसँगको समीकरण भत्काएर कांग्रेससँग नयाँ गठबन्धन बनाउँदा तपाईंहरूले असन्तुष्टि जनाउँदै सरकार छाड्नुभयो । तर, राष्ट्रपति निर्वाचनमा राप्रपाले एमालेलाई समर्थन गरेन नि ? 

हामी राजसंस्थाको पक्षमा वकालत गर्ने भएकाले राष्ट्रपतिमा कसैलाई समर्थन नगरेका हौँ ।

तपाईंले यसो भन्दै गर्दा राप्रपा यसअघिका राष्ट्रपति चुनावमा सामेल भएको थियो नि ? 

पुरानाले के गरे, त्यता नजाऔँ । हामीले त्यो मानेनौँ । कुरा यत्ति हो ।

तपाईंहरूले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिइसक्नुभयो । अब सरकारमा नजाने निर्णय गर्नुभएको हो ? 

हाललाई सरकारमा जाने कुनै योजना छैन । अहिले नै यो विषयमा केही भन्न सकिँदैन । पछि के हुन्छ हेर्दै जाऔँला । 

त्यो बेला पनि हामी एमाले भनेर गएका थिएनौँ । सबै मिलेर सरकारमा जानुको विकल्प नभएकाले गएका थियौँ । देश मध्यावधि चुनावमा नजाओस्, देशलाई आर्थिक भार नपरोस् भनेर हामीले सरकारमा जाने निर्णय गरेका थियौँ । 

राप्रपाको अबको योजना के छ ? 

राजसंस्था नफर्किकन मुलुकको भलो हुँदैन । यस्ता राष्ट्रपति त कति आए, कति गए । राष्ट्रपतिले एउटा व्यक्ति बन्ला, पार्टी बन्ला तर देश बन्दैन । देशमा चरम भ्रष्टाचार छ, बेरोजगारी छ । देशमा अहिलेसम्म धेरै सरकार बने, प्रधानमन्त्री बने, मन्त्री बने, तर आजसम्म तीमध्ये कसैले पनि आफूले यति रोजगारी सिर्जना गर्न सकेँ, यति विकास गरेँ, यति बाटो बनाएँ, यति पुल बनाएँ आदिइत्यादि कसैले भन्न सकेनन् । 

हामी चाहन्छौं, अब यस्तो सरकार बनोस्, जसले मोटामोटा कुरा होइन, काम गरेर देखाओस् । जसरी हामीले ४० दिन सरकारमा बस्दा गरेका थियौँ । आज हामी छाती ठोकेर भन्न सक्छौँ– एक महिनामा हामीले गरेका काम यी–यी हुन् । 

अध्यक्षज्यूले ४० दिन मन्त्री बन्दा जे जति गर्नुभयो, त्यसले हाम्रो शिर ठाडो बनाएको छ ।


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x