वार्ता

रास्वपा महामन्त्री ढकाल भन्छन्– सरकारबाट बाहिरिनुपर्छ भन्‍ने मेन्टालिटी धेरै साथीहरूको छ

कमल विष्ट |
बैशाख १४, २०८० बिहिवार १६:५३ बजे

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालै सम्पन्न उपनिर्वाचनमा तीनमध्ये दुई क्षेत्रमा जित्यो । पार्टी सभापति रवि लामिछानेले चितवन–२ बाट सहजै जित्छन् भन्ने धेरैको अनुमान भए पनि अर्थशास्त्री डा. स्वर्णिम वाग्ले तनहुँ–१ मा विजयी होलान् भनेर कमैले सोचेका थिए । तर, थुप्रैको अनुमानविपरीत वाग्लेले जिते । वाग्लेको यो जितले नेपाली राजनीति तरंगितमात्र भएको छैन, राजनीतिमा अब ’न्यू कोर्स’ सुरु भएको विश्लेषण भइरहेको छ ।

दशकौँदेखि स्थापित पूराना दललाई ठूलो झट्का दिनेगरी उपनिर्वाचनमा ल्याएको नतिजालाई रास्वपा स्वयंले कसरी हेरेको छ ? पार्टी अब सरकारमा जान्छ कि जाँदैन ? उसको अबको बाटो कस्तो हुन्छ ? यिनै विषयमा केन्द्रित भएर पार्टी महामन्त्री मुकुल ढकालसँग इकागजकर्मी कमल विष्टले संक्षिप्त कुराकानी गरेका छन् । प्रस्तुत छ, संवादको सम्पादित अंश ;


उपनिर्वाचनमा रास्वपाले तीन क्षेत्रमध्ये चितवन र तनहुँमा विशाल मतान्तरको जित निकाल्यो । यसलाई पार्टीले कसरी हेरेको छ ? 

नागरिकहरू पूराना दलबाट वाक्कदिक्क भइसकेका थिए, छन् । यस्तो अवस्थामा उनीहरू विकल्प खोजिरहेका थिए । हामी जुन उद्देश्यसाथ राजनीतिमा आएका थियौँ, त्यो जनतालाई मनपर्यो र भोट दिए । हामी जनताको विश्वास जित्न भयौँ । 

चितवनमा सभापति लामिछानेले सहजै जित्छन् भनेर अनुमान गर्न गाह्रो थिएन, तर तनहुँमा वाग्लेले जित्छन् भनेर थोरैले मात्र सोचेका थिए । तपाईंहरूको अंकगणित चाहिँ के थियो ?

हामी तनहुँमा पनि जित्छौँ भन्नेमा ढुक्क थियौँ । स्वर्णिम वाग्ले तीनदेखि पाँच हजार मतान्तरले जित्नुहुन्छ भन्ने हाम्रो अनुमान थियो । तर, पन्ध्र हजार बढी मतले जित्नुहोला भन्ने चाहिँ सोचेका थिएनौँ । यसका लागि हामी सम्पूर्ण मतदाताप्रति आभारी छौँ । 

त्यहाँ हाम्रो संगठन राम्रो थिएन । तर, संगठन ठूलो भएर मात्र केही नहुने रहेछ, क्यान्डिडेट राम्रो भए जितिने रहेछ । हामीलाई सबै ठाउँमा राम्रो उम्मेदवारको आवश्यकता छ । 

लामिछानेले यसपालि जिते पनि मंसिरको जति मत ल्याउँदैनन्, मतान्तर पनि धेरै हुँदैन भन्ने विश्लेषण थुप्रैको थियो । तर, भयो ठ्याक्कै उल्टो । कम मत खस्दा पनि लामिछानेले अझ बढी मतान्तरले जिते । यो कसरी सम्भव भयो ?

विश्लेषण जस्तो भए पनि ग्राउन्ड रियालिटी फरक थियो । चितवनवासीले नागरिकताको केसमा लामिछाने राम्रो मान्छे हुन् भनेर बुझिसक्नुभएको थियो । 

पार्टीले बारामा बाहुन नभएर मधेसी समुदायकै उम्मेदवार उठाएको भए त्यहाँ पनि जित्थ्यो भन्ने मत धेरैले व्यक्त गरिरहेका छन् । के भन्नुहुन्छ ?

हो, हामीले जातीय सन्तुलन मिलाउन सकेको भए त्यहाँ पनि जित्थ्यौँ । जनताले हामीलाई यही सन्देश दिएका छन् । हाम्रो मूल नारा नै थियो– जान्नेलाई छान्ने । तर, जान्ने भन्दैमा बाहुन–बाहुनलाई मात्र उठाउनू हुँदैन्थ्यो । जातीय मात्र होइन, लैंगिक सन्तुलन मिलाउन पनि आवश्यक छ । जातीय तथा लैंगिक सन्तुलन मिलाउने नाममा जो पायो त्यही उठाउनू पनि भएन फेरि । राम्रोसँग बुझेर उठाउनुपर्छ । 

तर, हामीले त्यो जानीजानी गरेका थिएनौँ, भूलवस हुन गएको हो । यसलाई हामीले सुधार्नुपर्छ ।

उपनिर्वाचनमा विजयी भएलगत्तै तपाईंका पार्टी सभापति लामिछानेले सरकारलाई दिएको समर्थन पुनर्विचार गर्छौँ भन्ने अभिव्यक्ति दिए । सरकारबाट कहिले बाहिरिनुहुन्छ ? 

निर्वाचित सांसदले शपथ ग्रहण गरेर औपचारिकता पाएलगत्तै संसदीय दलको बैठक बस्छ । बैठकले सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चयन गर्छ । त्यसपनि हामी यस विषयमा छलफल गर्छौँ । दलमा धेरै साथीहरूको मेन्टालिटी प्रतिपक्षमा बस्नुपर्छ भन्ने छ । न्यूनतम साझा कार्यक्रममा भ्रष्टाचारको विषय समेटिएन । योसँगै अरु थुप्रै विषयहरू नसमेटिएपछि हामीले प्रतिपक्षमा बस्छौँ भनेर संसदमै बोलिसकेका छौँ । पार्टीका विभिन्न मिटिङमा सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्छ आवाज धेरै साथीहरूको हुन्छ । यसमा हामी छलफल गरेर निर्णय गर्छौँ ।

अब कुरा निलम्बित सांसद ढाकाकुमार श्रेष्ठ प्रकरणतर्फ मोडौँ । श्रेष्ठले उल्लेख गरेको ‘कोर टिम’माथिको अनुसन्धान कहाँ पुग्यो ?

उहाँ आफैँले पार्टीमा कोर टिम छैन भनिसक्नुभएको छ । यसको अडियो हामीसँग सुरक्षित छ । हामीसँग मात्र होइन, उहाँले मिडियामा पनि कोर टिम छैन भनिसक्नुभएको रहेछ । तैपनि हामी यसबारे चनाखो छौँ ।

रास्वपाले श्रेष्ठको ठाउँमा ‘एसिड सर्भाइवर’ विन्दवासिनी कंसारकारलाई सांसद बनाउने निर्णय गरेपछि मेघ आलेलगायतले विरोध गरे । आलेले पार्टीले विधानविपरीत गएर आफूलाई सांसद नबनाए निर्वाचन आयोगमा उजुरी दिनेसमेत बताए । रोलक्रम मिचिएकै हो ?

रोलक्रम मिचिएको छैन । विन्दवासिनी कंसकार रोलक्रममा मेघ आलेभन्दा अगाडि हुनुहुन्छ । विन्दवासिनीजी २३ नम्बरमा हुनुहुन्छ भने मेघजी ३१ नम्बरमा हुनुहुन्छ । हामीले निर्वाचन आयोगमा पठाएको बन्दसूचीमा यो प्रष्टसँग उल्लेख गरिएको छ । कसैलाई विश्वास लाग्दैन भने आयोगमा गएर हेर्दा हुन्छ । 

राजनीतिमा आरोप लगाएदिए पुग्नेरहेछ । सत्य–तथ्य चाहिँदैन रहेछ । पत्रकारले पनि अध्ययन नगरी लेखिदिन्छन् । भोट हेर्नुहुन्छ भने पनि विन्दवासिनीजी नै अगाडि हुनुहुन्छ । उहाँले ५०० मत पाउनुभएको थियो भने मेघजीको ४ सय समथिङ छ । हामीले पुरुषको साटो पुरुष नै पठाउनुपर्छ भन्ने लजिक मानेनौँ ।

रास्वपाको अबको योजना के छ  ? 

जनताले हामीलाई यिनीहरू पूर्ण रूपमा समक्ष छन् भनेर भोट दिएका छन् । तर, हामी मान्छे हौँ, नयाँ पनि हौँ । संसद्का कति कुुरा हामी बुझ्दै छौँ । तर, विद्यमान दलहरूको भन्दा हाम्रा सांसदको पर्फमेन्स धेरै राम्रो छ । हाम्रा सांसदको हाजिरीदेखि उठाउने मुद्दा हेर्नुस् । यसबीचमा हामीले लेखनलगायत अन्य धेरै कुरा पनि सिकेका छौँ । सभापतिज्यू फेरि फर्किसक्नुभएको छ । अब अझ प्रभावकारी ढंगले जनताका मुद्दा तथा समस्या उठाएर अगाडि बढ्ने हाम्रो योजना छ । 

रास्वपाले संगठन विस्तार गर्न एकदमै दौदधूप गरेको देखिन्छ । संगठन विशाल भए मात्र ठूलो पार्टी भइने हो ? 

हामीले संगठन त विस्तार गर्नैपर्छ । आउँदो निर्वाचनमा देशभर सबै वार्डमा वडा सदस्य पनि उठाउन सक्नेगरी संगठन विस्तार गर्नुछ । तर, हामी एकदमै सम्हालिएर संगठन विस्तार गर्दैछौँ । मास बेस्डभन्दा भोटरबेस्ड पार्टी बन्ने हाम्रो उद्देश्य हो । हामी कामको आधारमा भोट लिनेगरी अगाडि बढ्ने हो । सदस्यमात्र धेरै भएर हुँदैन । सक्षम क्यान्डिडेट हुन आवश्यक छ । हामी संगठन विस्तारका लागि होइन, क्यान्डिडेट खोज्न रणनीति बनाउँछौँ । हामी जसलाई पनि लिँदैनौँ । लिँदा कन्ट्रोल गर्छौँ ।

*शीर्षक परिवर्तन
 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x