वार्ता

मेरो जित प्रतिगमनविरुद्ध, लोकतन्त्र र प्रजातन्त्रका पक्षमा

विक्रम खड्का |
जेठ १७, २०७८ सोमवार १९:२८ बजे

आज सम्पन्‍न राष्ट्रिय सभाको निर्वाचनमा जितेका कपिलवस्तुका दृगनारायण पाण्डेयले राजनितिक उचाइ एकपछि अर्को बढाइरहेका छन् । स्थानीय तह निर्वाचनमा कपिलवस्तुको वहादुरगञ्‍ज नगरपालिकामा पराजित पाण्डेमाथि अवसरको राजजीति गरेको आरोप छ । उनी कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र रूपमा चुनाव लडेर हारे । मेयरमा पराजित पाण्डे केही समयपछि भएको प्रदेश सभा निर्वाचनमा एमाले प्रवेश गरेर कपिलवस्तु क्षेत्र न २ (क) मा उम्मेदवार बन्दै चुनाव जिते । प्रदेश सभामा पाँच वर्षका लागि पुगेका पाण्डेको महत्वकांक्षा बढेर राजनीतिक सिढी चढ्ने दाउमा लागे । पाण्डेले एमालेविरुद्ध उर्लिएका विपक्षीसँग लागेर शंकर पोख्रेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढाल्न राजिनामा दिए । र, आफ्नै पुरानो पार्टी कांग्रेस प्रवेश गरे । उनलाई विपक्षी गठबन्धनले प्रदेशको अन्यतर्फको राष्ट्रिय सभाको रिक्त पदमा साझा उम्मेदवार बनायो । आज भएको निर्वाचनमा राष्ट्रिय सभा सदस्य जितेका पाण्डेसँग इकागजका लुम्बिनी प्रतिनिधि विक्रम खड्काले गरेको कुराकानीको सार :
 
विपक्षी गठबन्धनको उम्मेदवार बनेर राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभयो ? जितलाई कसरी लिनु भएको छ ?

मेरो जित सिंगो विपक्षी दलहरूको जित हो । प्रतिगमनको हार हो । यो लोकतन्त्र र प्रजातन्त्रको जित हो । सत्ताको चरम दुरुपयोग गरेर पनि हामीले जित निकाल्न सक्यौं । सत्ताको आडमा गैर मतदाताहरूलाई समावेश गर्ने काम भयो, पालिकाका जनप्रतिनिधिहरूलाई धम्काउने समेत काम भएको छ तर पनि उहाँहरूले म र मेरो गठबन्धनलाई विश्वास गर्नु भयो । यो जित उहाँहरूको समेत हो । मलाई उम्मेदवार बनाउने कांग्रेसलगायत विपक्षी गठबन्धनप्रति आभार प्रकट गर्न चाहान्छु । मैले मेरा समर्थक दलहरूको विश्वासलाई मर्न दिने छैन ।
 
राष्ट्रिय सभामा गएर के गर्ने योजना बनाउनु भएको छ ?


अहिलेको अवस्थामा राष्ट्रिय एकताको जित भएको छ । अहिलेको सत्ताका कारण संघीयता गणतन्त्र, समावेशिता जस्ता विषयहरू ओझेलमा परेका छन् । मेरो जितले पनि राष्ट्रिय एकताको सन्देश दिएको छ । मैले प्रतिगमनविरुद्ध जनताको अधिकारका विषयमा आवाज सशक्त ढंगले उठाउने नै छु । दुर दराजका जनताका समस्याहरूलाई सरकारसमक्ष पुर्‍याउने छु । एकताको सन्देश दिने छु । अहिलेको यस्तो विषम परिस्थितिमा पनि सरकार जिम्मेवार छैन । उसले जनताको कदर गर्दैन । प्रदेशदेखि केन्द्रसम्म सरकार अल्पमतमा पर्दा पनि संविधानको दुरुपयोग गरी सरकारमा बसिरहेको छ । यसको फण्डाफोर गर्नेछु । नागरिकहरू उपचार नपाएर मरिरहेका छन् । भोकमरीले मान्छे मरिरहेको छ, तर सरकारको ध्यान पुगेको छैन, यी तमाम विषय मेरो प्राथमिकतामा पर्ने छन् ।
 
जनताहरू कोभिड-१९ निकै समस्यामा छन्, तपार्इंको जितले उनिहरूलाई के फरक पर्छ ?

जनता निकै कष्टपूर्ण अवस्थामा छन् । कोरोना माहामारीले धेरै ठूलो जनधनको क्षति भइरहेको छ । यसमा हामी पनि निकै दुःखी भएका छौं । सरकारमा रहेकाहरूलाई कुनै चासो छैन । यो बिडम्वना हो । सत्तामा बसेर जनताको अवस्था नवुझ्‍नेहरू यसैगरी नांगिने छन् । हामी प्रतिपक्षमा छौं । त्यसकारकाण जनताको अपेक्षा अनुसार काम गर्न सकेका छैनौं, तर हामीले हरेक ठाँउबाट खबरदारी गरिरहन्छौँ । मैले राष्ट्रिय सभामा पुगेर पनि जनताको समस्यालाई प्रभावकारी ढंगले उठाउने छु । शव गनेर बस्ने सरकारलाई व्युँझाउने प्रयत्‍न मेरो रहने छ । मलाई दिएको भूमिका पूर्णरूपमा निभाउने छु ।
 
तपाईलाई अवसरको राजनीति गरेको आरोप लागेको छ नी ?

यो विपक्षीहरूको चालबाजी हो । यदी म अवसरवादी भएको भए यती धेरै मतले जित्ने थिइन् । हिजोको कुरा गर्नु भएको होला, म सधै लोकतन्त्रकै पक्षमा थिए । छु । रहने छु । राजनीति गर्ने मान्छेले उम्मेदवार बन्‍न रहर गर्नु अपराध होइन । केही समय कांग्रेसका साथीहरूसँग कुरा नमिलेको सत्य हो । अहिले मैले बुझे कि देश र जनताका लागि काम गर्ने पार्टी नै कांग्रेस हो । म मुल घरमै फर्किएको छु । कहिलेकाँही गल्ती कमजोरी हुन्छन् अब मबाट त्यस्तो गल्ती हुँदैन । झन बढी जिम्मेवार भएर हामीले पार्टी हाक्ने छौं । कांग्रेसलाई देशको पहिलो पार्टी बनाउने छौं । अबको मेरो ध्यान त्यता छ । साथीहरूको पूर्ण विश्‍वास र साथमा रहेर आगामी राजनीतिक यात्रा अघि बढ्छ । 

तपाई प्रदेश सभाबाट राष्ट्रिय सभामा पुग्‍नुभयो, अगामी यात्रा कसरी अघि बढ्छ ? 

संविधान नै संकटमा परेको बेला म राष्ट्रिय सभामा जाँदै छु । मैले लोकतन्त्रको रक्षा र संविधानको संरक्षणका लागि सम्पूर्ण ध्यानकेन्द्रित गर्ने छु । बीचमा अलमलमा परे पनि अहिले पुरानै घरमा फर्किएको छु । त्यही घरलाई मतजल गर्नु नै मेरो अबको कर्तव्य रहनेछ । मेरा मतदाताहरूको भावना अनुसार काम गर्ने छु । सत्ताको दम्भमा शासन गर्ने प्रतिगामीहरूविरद्ध डटेर लड्नु नै मेरो अबको काम हो । पार्टीले दिएको जिम्मेवारी र भूमिका निभाउने नै छु । 
 


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x