वार्ता

इकागज संवादमा हनान गोडेर

परराष्ट्र मन्त्रालयको त्यो ट्‍वीट देखेर आश्‍चर्यमा परेँ

चन्द्रशेखर अधिकारी |
जेठ ३०, २०७८ आइतबार १९:४६ बजे

इजरायलमा यतिबेला आन्तरिक राजनीति खल्बलिएको छ । केही साताअघि मात्र प्यालेस्टिन सैन्य समूह ‘हमास’ अर्थात् इजरायली भाषामा एक ‘आतंककारी समूह’सँगको भिडन्त टुंगिएको छ । युद्धविरामसँगै इजरायल आन्तरिक राजनीतिक समस्या समाधान खोज्दै छ । नेपालभन्दा निकै सानो मुलुक इजरायल ठूला इस्लामिक मुलुकको बीचमा छ । सायद इस्लामिक मुलुकलाई उसको उपस्थिति स्वीकार्य छैन । त्यही दृश्य प्रस्तुत गर्दै इजरायल विश्‍वभर कूटनीति चुस्त बनाउँदै यहाँसम्म पुगेको छ । इजरायलको मामिलामा नेपाल स्वतन्त्र भइदियोस्, अन्तर्राष्ट्रिय तहमा हुने ‘भोटिङ’मा अन्य मुलुकले के गर्छन् भनी नेपालले ‘नहेरोस्’ भन्‍ने आफूलाई लागेको सुनाउँछन्, नेपालमा दोस्रो पटक राजदूतको जिम्मेवारी सम्हालिरहेका हनान गोडेर । उनै गोडेरसँग पहिलो कार्यकाल र यतिखेर आउँदाको भिन्नता, नेपाल इजरायल सम्बन्ध, त्यहाँको राजनीति र इस्लामिक मुलुकसँगको द्वन्द्वलगायतमा अडेर इकागजकर्मी चन्द्रशेखर अधिकारीले गरेको संवादको केही अंश :

० दश वर्षअघि पनि नेपालमा राजदूत भएको हुँदा त्यतिखेर र यतिखेरको नेपाललाई कसरी चित्रण गर्नुहुन्छ ?


त्यतिबेला र यतिखेरमा निकै भिन्‍नता देख्छु । त्यो समयमा संविधानबारे बहस चलिरहेको थियो । राजनीति असहज देखिन्थ्यो । मुलुक आर्थिक रूपमा पनि सबल हुन सकिरहेको थिएन । काठमाडौँ नै स्मरण गर्ने हो भने पनि पछिल्लो समयमा जस्ता फराकिला सडक थिएनन् । १८ घण्टा त लोडसेडिङ नै थियो । जनता अन्धकारमा बस्न बाध्य थिए । सकारात्मक पाटो पनि थिए, सबैमा विकास गर्नुपर्छ र राजनीतिक स्थायित्व चाहिन्छ भन्‍ने सोच थियो । म नेपालका सबैजसो जिल्ला घुम्ने थोरै विदेशीमध्येमा पर्छु होला । यही कारण म भन्न सक्छु, एक दशकमा नेपालले अर्थ, संस्कृति सामाजिक रूपमा निकै प्रगति गरेको छ । यो प्रगति नेपालीको सोचअनुरूप निकै सुस्त हो ।

० अहिले दाँज्दा कस्तो लाग्दै छ ?

मैले त्यतिखेर नेपाल छाड्दा कहिलेकाहीँ मात्र बत्ती बाल्न पाउँथेँ । पूरै लोडसेडिङ थियो, अहिले आउँदा झिलिमिली छ । धेरैले भुलिसके कि ती दिन काठमाडौँका सडकमा फोहोरका पहाडहरू हुन्थे, अचेल देख्दिनँ । गाडीका हर्नको आवाजले सडकमा निस्कन नपरे हुन्थ्यो जस्तो हुन्थ्यो । अनि म काठमाडौँभन्दा गाउँतिर लाग्थेँ । तर अचेल त्यसमा सुधार आएको छ । मानिसको सोचाइमा पनि परिवर्तन आएको छ । सडक सफा छन् । जथाभावी फोहोर फाल्न छाडेको देख्छु । काठमाडौँकै वागमती, विष्णुमती, धोवीखोला मात्र होइन टुकुचासमेत सफा देख्‍न थालेको छु । तर अझ सफा गर्न बाँकी देख्छु । मेलम्चीको पानी काठमाडौँ छिरिसकेको छ । साना बालबालिकाहरू विद्यालय जान थालेका छन् । राम्रो शिक्षा दिलाउनुपर्छ भन्‍ने सोच अभिभावकमा आएको छ । भलै यतिबेला कोभिडले बिथोलेको छ । तर पनि सोच परिवर्तन र शिक्षामा जोड दिनु सामान्य होइन । यही नै हो, सकारात्मक परिवर्तन । औसत आयु बढेको छ । ती पुराना दिन सबै स्मरण गर्दै यतिखेरको नेपाल हेर्दा निराश हुनुपर्ने देख्दिनँ ।

० तपाईंले निकै सकारात्मक र आशावादी कुरा गर्नुभयो, यो गतिको विकासले हामी कहिले इजरायल जस्तो विकसित हुने त ?

हो, नेपालले जति विकासको लय पकड्नुपर्ने हो, त्यो सकेको छैन । अझै पनि काठमाडौँबाहिर सडक राम्रा छैनन् । बिस्तारै होइन, अब द्रूत गतिमा विकास हुनुपर्छ । नेपालको विकास प्रक्रियामा साथ दिन इजरायल पनि सहयोगी बन्छ नै । आर्थिक वृद्धिमा फड्को मार्न नेपालले उत्तर-दक्षिण जोडिने ठूला सडक बनाउनुपर्छ । पूर्व-पश्चिम राजमार्ग चौडा गर्नुपर्छ । आउजाउ सहज भएन भने आर्थिक गतिशीलता बढ्दैन । नेपालमा धेरै राजनीतिक परिवर्तन भएका छन् । नेताहरूले बुझेको र भोगेको हुनुहुन्छ । पढेलेखेका पनि धेरै भइसके । त्यसअनुरूप नै नीतिहरू बनाएर कार्यान्वयनमा जानुपर्छ । नेपालभर परिवर्तनको लहर छाउनेछ ।

जनप्रतिनिधिद्वारा लिखित संविधान छ । स्थानीय सरकार छ । सबै स्थानमा धेरै काम हुनसक्छ । म दोस्रो पटक राजदूत भएर नेपाल आएपछि पनि विभिन्न स्थानमा पुगेको छु । धादिङ, मकवानपुर, झापा, मोरङ, नुवाकोट, रसुवा, कोदारी, काभ्रे, सिन्धुपाल्चोक, चितवन, नेपालगन्ज, धनगढी दाङलगायत क्षेत्र पुगिसकेको छु । नेपालमा उब्जाउ भूमि अति धेरै छ । त्यहाँ आधुनिक कृषि प्रणालीअन्तर्गत समूहमा खेती गर्ने र विश्‍व बजारमा जाने उपाय खोज्नुपर्छ । नेपालीहरू श्रम गर्न विदेश गएका छन् । हामीकहाँ पनि लैजान चाहन्छौँ, तर त्यहाँ सिकेको सीप नेपालमा उपयोग गरिनुपर्छ । सरकारले त्यसमा ध्यान दिएर सहजीकरण गर्न सकेमा थप उत्साह कृषकलाई मिल्छ । राज्यले मुलुक कुन बाटोबाट विकास हुनसक्छ, त्यसतर्फ ध्यान दिनुपर्छ । इजरायलबाट फर्केर आएकाहरूले गरेको तरकारी खेती होस् या अन्य काम उदाहरणीय छन्, राज्यले पनि त्यसमा लगानी र सहजीकरण गर्नपर्छ ।

० तर, यतिखेर त इजरायल जानै पाएका छैनन्, नेपाली ‘केयर गिभर’हरू, सायद यहाँ पहिलोपटक राजदूत हुँदा नै रोकिएको होइन र ?

हो, इजरायल जाने नेपाली युवक र युवतीसँग लाखौँ असुलेको प्रमाणसहित दूतावासमा उजुरी परेपछि सरकारीस्तरबाट पठाउने भन्दै हामीले रोकेका हौँ । कैँयन् राउन्ड छलफल भए पनि निष्कर्षमा पुग्‍न ढिलाइ भएको छ । अब, एउटा प्रणाली बन्छ र नियमित हुन्छ । बीचमा सरकारी समन्वयमा निजी क्षेत्रबाट लैजाँदा उनीहरूले असहज स्थिति ल्याएका हुन् । अब यस्तो हुन पाउँदैन । दुई वर्षअघि एक लट नेपाली सानो समूहमा भए पनि गइसकेका छन् । १० वर्षदेखि रोकिएको काम अब थालनी हुन्छ । मैले परराष्ट्र र श्रम मन्त्रालयसँग सहकार्य गरिरहेको छु ।

हामीलाई पनि नेपाली जस्तो इमानदार र मेहनती ‘केयर गिभर’ आवश्यक छ । नेपालीलाई पनि सुरक्षित र समान व्यवहार गर्ने मुलुकमा रोजगारी आवश्यक देख्छु । हामीकहाँ इजरायली नागरिकले पाउने सुविधा र विदेशबाट आउनेले पाउने सुविधामा कुनै भेदभाव छैन । अनि असुरक्षित हुने अवस्था पनि छैन । हामीले ‘केयर गिभर’ मात्र होइन, कृषिमा काम गर्नेहरूलाई ‘अन द जब ट्रेनिङ’ जस्तो अवसर पनि दिएका छौँ । त्यस कार्यक्रमअन्तर्गत पनि नेपाली इजरायल पुगेका छन् । र, यहाँ फर्केकाले राम्रै काम गरेको पाएको छु ।

० नेपाल र इजरायलबीच अत्यन्त राम्रो दुईपक्षीय सम्बन्ध छ भनिए पनि अन्तर्राष्ट्रिय फोरममा किन इजरायलसँग नेपाल हुँदैन ?

कूटनीतिक सम्बन्धमा पनि ‘टू लेग’ (दुई आधार) हुन्छ- दुईपक्षीय र बहुपक्षीय । दुईपक्षीय सम्बन्ध नेपाल र इजरायल निकै राम्रो, सबल, अन्तक्र्रियात्मक, प्रशंसनीय उत्तिकै छ । त्यो देखिन्छ पनि । तर बहुपक्षीय सम्बन्ध कसैले देख्दैन, जुन सम्बन्ध न्यूयोर्क र जेनेभामा मात्र देखिन्छ । त्यहाँ हुने ‘भोटिङ’मा दुईपक्षीय सम्बन्ध प्रतिविम्बित हुनुपर्ने भइरहेको छैन । इजरायललाई नेपालले सधैँ समर्थन गरेको हेर्न हामी चाहन्छौँ, तर त्यो अवसर खासै इजरायलले पाएको छैन । त्यसमा हामीलाई समर्थन गरे हुन्थ्यो, यदि समर्थन नगर्ने हो भने अनुपस्थित हुने छुट पनि त छ । तर त्यसो भएको पाइँदैन ।

खासमा हरेक वर्ष २५/२६ भोट इजरायलविरुद्ध हुन्छ । १९३ भोटमा ८२ इजरायलविरुद्ध उभिएको नेपालले देख्छ । त्यसमा ५६ मुलुक त स्लामिक बहुल (जसलाई हामी बसेको भूभाग नै सह्य छैन) रहेको नेपालले भुल्छ । अनि इजारयलविरुद्ध २५/२६ नै त भए होलान् । तर इजरायलको पक्षमा २५ अनि स्वतन्त्र बस्‍ने ५३ र उपस्थित नहुने ३३ जोड्दा हुने १११ भोट (विश्‍वको मत) कता छ त्यो नेपालले आंकलन गर्न पर्दैन । राष्ट्रसंघ भोटिङमा पक्ष, विपक्ष, स्वतन्त्र र अनुपस्थित चार विकल्प हुन्छ । नेपाल अनुपस्थित हुँदैन विपक्षमा नै भोट गर्छ । अनि नेपालको असंलग्‍न परराष्ट्र नीति कहाँ मेल खान्छ, यहाँ ? नेपाल त इजरायलको विरोधी कित्तामा सधैँ उभिएको छ, अन्तर्राष्ट्रिय फोरममा । नेपालजस्तो पुरानो र स्वतन्त्र मुलुक हाम्रो पक्षमा उभियोस् भन्‍ने चाहना इजरायलको सधैँ रहन्छ ।

बीचमा निजी क्षेत्रबाट कामदार पठाउनेहरूले असहज स्थिति ल्याएका हुन्, अब यस्तो हुन पाउँदैन । ​

नेपाल कैँयन् मुस्लिम मुलुकविरुद्ध उभिनुपर्नेमा भने पक्षमा भोट पनि गर्छ । त्यो हामीलाई सरोकार भएन, नेपालको आफ्नो कूटनीतिक तरिका होला । तर इजरायविरुद्धमा जानैपर्ने बाध्यता त म देख्दिनँ । नेपाललाई सधैँ भन्‍न मिल्ने पाटो बीपी कोइरालाले उहिले छाडिदिनु भएको छ । हामीेले समर्थन गरेको मुलुकविरुद्धमा हामी कसरी जाने ? भन्दै पक्षमा भोट नगरे पनि विपक्षमा भोट नगरी ‘न्यूट्रल’ बसे हुने थियो । नेपालले कूटनीतिमा असंलग्‍न नीति अँगालेको भन्दै आएको छ, तर मुस्लिम बहुल मुलुकको पक्षमा भोट दिने कार्यप्रति हामीले पटक-पटक गुनासो गरेका छौँ । केही सहयोग नेपालमा गरौँ भनी कुरा उठाउँदा इजरायलको विदेश मन्त्रालय होस् या अन्यले नेपालले गरेको ‘भोटिङ प्याट्रन’ देखाउँछन् । हामीलाई समर्थन नगरेर कुनै व्यक्तिलाई फाइदा होला, तर मुलुक हितमा भने हामीले पनि उत्तिकै ध्यान दिएका छौँ ।

० ठूला छिमेकीका कारण पनि इजरायलसँग एक्लो मित्र हुन नसकेको पो हो कि ?

नेपाल र इजरायल दुवै सानो मुलुक हुन् । अझ इजरायल त नेपालभन्दा निकै सानो मुलुक हो । हामी भुटानको भन्दा पनि आधा क्षेत्रफल भएको मुलुक । तर पनि हामी स्वतन्त्र छौँ । हाम्रो मुलुकप्रति गर्व छ । संघर्षपूर्ण सुरुवाती भए पनि हालका विकासले हामी सन्तुष्ट छौँ । नेपालले पनि गर्न सक्छ । नेपाल निकै पुरानो मलुक हो । यो क्षेत्रमा मात्र होइन, विश्‍व मानचित्रमा नेपालको आफ्नै पहिचान छ । त्यस्तो मुलुकले कसैसँग दुई पक्षीय सम्बन्ध राख्‍न कसैको कारण वा कारक बन्न हुँदैन । त्यस्तो बनेको छ जस्तो पनि लाग्दैन । छिमेक कमजोर वा बलियो हुँदा ठूला छिमेकीले केही न केही फकाइरहेका हुन्छन् ।

यतिखेरको नेपाल हेर्दा निराश हुनुपर्ने देख्दिनँ  

‘नेइबर कुक समथिङ इन्साइड,’ यो हाम्रो बुझाइ हो । सबैले यही बुझ्नुपर्छ भन्‍ने छैन । तर इजरायल यस्तो मलुक हो छिमेक र उसको निकट मुलुकका कारण हाम्रो सेना प्रमुखदेखि सैन्य दस्ताको सेना एक आँखा र एक कान सधैँ खुला राखेर सुत्‍नुपर्ने अवस्था छ । किनकि हामी सधैँ केही न केही ‘थ्रेट’मा छौँ । हामी भुटानभन्दा सानो मुलुक भएर पनि विश्‍वभर समाचार बनिरहेका छौँ । कसैले राम्रो भन्ला, कसैले नराम्रो तर हामी देखिएका छौँ । इजरायल यसै बनेको छैन, यसका लागि नागरिकले धेरै लगानी गरेका छन् । हाम्रा पुर्खाको उत्तिकै मेहनत छ ।

० त्यसो भए यहाँहरूको प्रगतिमा छिमेकले आरिस गरिरहेका छन् भन्‍न खोज्‍नुभएको हो ?

म स्पष्ट भनौँ, मध्यपूर्व (यताबाट पश्चिम एसिया) साँच्चै ‘कम्लिकेटेड’ क्षेत्र हो । त्यहाँ हुने द्वन्द्व राजनीतिक होइन । त्यहाँ हुने समस्या अपोलिटिकल (गैरराजानीतिक) हो । त्यहाँ धार्मिक र सांस्कृतिक विषय घुसाइएको हुन्छ । त्यसमा मिलेर जान सक्ने कैँयन् प्रस्ताव लत्याएर सानो मुलुकलाई लखेट्न खोजेको प्रस्टै छ । अनि त्यहाँ हमास जस्तो ‘आतंककारी’ समूहमार्फत समस्या उत्पन्‍न गराइन्छ । त्यसलाई कसले हुर्काएको पालेको छ, त्यो स्पष्ट नै छ । के भनूँ ? अनि कसरी समाधान हुन्छ । त्यसको समाधानका लागि त राजनीतिक कारण हुनुपर्‍यो, त्यो छैन । धार्मिक द्वन्द्वमा राजनीति हुँदा र त्यसलाई बिथोल्न खोज्दा समस्या उत्पन्न हुने हो । मैले भनिरहेको छु, हमास एक आतंककारी संगठन हो, यसलाई उपयोग गरेर इजरायललाई हल्लाउन सकिन्छ भनी कसैले नसोचे हुन्छ । हामी हाम्रो नागरिक र हाम्रो मुलुकमा रहने अन्य नागरिकको सुरक्षाका लागि अब्बल छौँ ।

० यो स्तरको स्पष्टता हुँदाहुँदै इजरायल र प्यालेस्टिनबीचको घाउमा किन खाटा बस्न नसकेको होला ? समाधान हुन नसक्नुको कारण के होला ?

यहाँहरू सबैलाई थाहा नै छ, इजरायल कुन परिस्थितिबाट यहाँसम्म आइपुगेको छ  । कस्तो परिस्थितिसँग जोडिएको छ र इजरायलको विगतदेखिको सबै लडाइँ-युद्ध याद गर्नुहोस् । हामी कहिल्यै आफैँ लड्न गएका छैनौँ । कैँयन् पटक त केही दिन पर्खेका छौँ । जब हाम्रा नागरिकमाथि नै हमला हुन्छ भने हामी पनि त्यस्तोलाई तह लगाउने स्तरमा पुग्छौँ । हामी सक्दो त्यहाँ पनि आमनागरिकलाई केही नहोस् भन्‍ने नै चाहन्छौँ । हामीले कैँयन् बीचको बाटो पनि तय गर्‍यौँ ।

राष्ट्र संघको निर्णय पनि मान्यौँ, तर सधैँ हाम्रो अस्तित्वमाथि नै प्रश्न उठाउने त्यो पनि सिधा मुलुकले होइन, आतंककारी समूहमार्फत । त्यही भएर यसपटक हाम्रो तर्फबाट निर्मूल गर्ने गरी नै अघि बढेको हो । अस्ति भएको लडाइँ हाम्रो प्यालेस्टिनसँग होइन । मैले सत्य बोल्नैपर्छ, यो लडाइँ पनि आतंककारी समूहलाई दिएको जवाफ हो । त्यस्तो समूहलाई कुनै स्वतन्त्र राज्य दिन सक्दैन, इजरायल । त्यो सम्भव पनि छैन । उनीहरू कमजोर भएपछि वार्तामा आउँछन् । अन्यथा संवाद असम्भवप्रायः छ । उनीहरूले हाम्रा सहर, अस्पताल, भौतिक संरचनामा आक्रमण गर्दै इजरायली नागरिकलाई मार्ने काम गरे । त्यसपछि हामीले जवाफ मात्र दिएका हौँ ।

० नेपाल सरकारले गरेको ट्वीट भनौँ या वक्तव्य, त्यसमा त इजरायल र प्यालेस्टिनबीचको तनाव कम गर्न भनिएको छ नि ?

म पनि परराष्ट्र मन्त्रालयको त्यो ट्वीट देखेर आश्चर्यमा परेँ । प्यालेस्टिन र हमास के हो भन्‍ने अलमल भएको हो कि ? अन्यथा, विद्वान कूटनीतिज्ञहरू भएको स्थानबाट त्यस्तो हुन नपर्नेझैँ लाग्छ । आतंककारी समूह हमाससँग लडाइँ भइरहेको छ । नेपाल प्यालेस्टिनसँग लडाइँ भएको भन्छ, अनि हामीलाई चसक्क हुन्छ, नै ।

० इजरायल आफूलाई संरक्षित रहेर बस्‍न सक्नेमा किन जवाफी रूपमा प्रस्तुत भएको, त्यसले गर्दा निर्दोष मानिस पनि त मरे नि ?

यस प्रकारको आक्रमण इजरायलमाथि हुँदा इजरायल कसरी चुपचाप बस्न सक्छ र ? तर पनि हामी संयम अपनाउँछौँ । अन्तिम अवस्थामा मात्र हामी आइलागेका हुन्छौँ । आफू निहुँ खोजेर नजाने तर चलाउन आउँदा र आफ्ना नागरिकलाई कुनै अन्याय गर्दा इजरायलले कसैलाई त्यसै छाड्दैन । हाम्रो प्रत्याक्रमणले गर्दा निर्दोष मानिसलाई असर गरेको हुन सक्छ । त्यसका लागि हामी क्षमाप्रार्थी छौँ । हामी निर्दोष मानिसलाई कुनै किसिमको पनि खतरा उत्पन्न हुनु हुँदैन भन्‍ने कुरामा विश्‍वास राख्छौँ ।

० तर आतंककारीको नाममा निर्दाेष नागरिक (सर्वसाधारण) बालबालिका मारिनु त युद्ध अपराध होइन र ?

हो, त्यसमा हामी जानकार छौँ । तर हाम्रो नागरिकको सुरक्षा पनि उत्तिकै महत्वपूर्ण होला नि ? हामी हाम्रो (इजरायल) को सार्वभौमसत्ताका विषयमा कुनै सम्झौता गर्न सक्दैनौँ र गर्दैनौँ पनि । यतिबेला हमासले त्यो क्षेत्रबाट इजरायलको नाम-निशान मेटाउने उद्देश्य राखेको छ । यो कुनै पनि हालतमा स्वीकार्य विषय होइन । हामीले कठिन दिनको सामना गरिसकेका छौँ । इजरायलका जनता हमासले गरेको क्रूर रकेट आक्रमणको त्रासबाट जुग्रिएपछि जावाफ फर्काएका हौँ । गाजाबाट इजरायलका सहर, इजरायलका जनता, महिला तथा बालबच्चालक्षित करिब चार हजार रकेट प्रहार भए, हामीले विज्ञानको प्रयोग गरेर आकाशमै रकेट नरोकेको भए के हुन्थ्यो ? त्यसबारे पनि त युद्ध अपराधको विषय उठाउनेले सोच्नुपर्ला नि, होइन र ?

० यहाँले अन्तर्राष्ट्रिय मञ्चमा हुने भोटबारे कुरा गर्नुभयो, नेपालको साथको कुरा पनि उठाउनु भयो, यस्तो अवस्थामा इजरायल अन्तर्राष्ट्रिय जगत्बाट के चाहन्छ ?

विश्‍वका मानिसले सत्यलाई साथ दिऊन् भन्‍ने हाम्रो चाहना हो । गुण-दोष छुट्याउन सकून् भन्‍ने लाग्छ । इजरायलमाथि मिसाइल आक्रमण भएको छ, अनि इजरायल उक्त मिसायल निष्क्रिय पारेर बसिरहेको छ, तर केही प्रचार हामीले आक्रमण गर्‍यौँ भन्‍ने शैलीमा हुन्छ । यस्तो अवस्थामा नेपालसहित अन्तर्राष्ट्रिय समुदायले त इजरायल, इजरायली नागरिक र इजरायली सहरमाथि भएको आक्रमणको निन्दा गर्नुपर्ने होइन र ? के त्यो रकेट झरेर मानिस मरेपछि मात्र निन्दा गर्ने हो र ? अन्तर्राष्ट्रिय समुदायले हमासलाई अलग गराउँदै उनीहरूको कामको भर्त्सना गनुपर्छ ।

नेपाललाई सधैँ भन्‍न मिल्ने पाटो बीपी कोइरालाले उहिले छाडिदिनु भएको छ । हामीेले समर्थन गरेको मुलुकविरुद्धमा हामी कसरी जाने ? भन्दै पक्षमा भोट नगरे पनि विपक्षमा भोट नगरी ‘न्यूट्रल’ बसे हुने थियो । 

उसलाई अन्तर्राष्ट्रिय रूपमा आतंककारी समूहको परिचय दिएर त्यसअनुरूपको व्यवहार गर्न आवश्यक छ । अर्को पाटो भनेको सार्वभौम मुलुकसँग आफ्नो स्वतन्त्रता र आत्मरक्षाको अधिकार हुने विषय अन्तर्राष्ट्रिय समुदायले बुझिदिनुपर्छ । यस्ता आतंककारी समूहलाई कसैले प्रश्रय दिनु हुँदैन । इजरायलतिर फर्केको मिसायलपछि अर्को मुलुकसँग पनि फर्किन सक्छ भन्‍ने विषयमा घोत्लिएर त्यतातिर जानुपर्नेमा मेरो विशेष जोड छ । यद्यपि पछिल्लो समय नेपालले अन्य एसियाली अर्थात् मुस्लिम बहुल मुलुकसँग पनि सम्पर्क स्थापित गरेर अघि बढिरहेको छ । हामी सबैसँग सहकार्य गछौँ । तर, आतंककारीसँग सहकार्य स्वीकार्य हुँदैन ।

० अन्तर्राष्ट्रिय समुदायले चाहँदा दीगो शान्ति हुन्छ त ?

पक्कै । अन्तर्राष्ट्रिय समुदाय एक हुँदै आतंककारी समूहलाई निस्तेज गर्न लागिपरे विश्‍व एक शान्त भूमि हुन्छ । नेपालको लुम्बिनी स्मण गराउने खालको हुन्छ । यतिबेला हमास दिगो शान्तिको बाधक हो । उनीहरूले इजरायललाई जति घृणा गरिरहेका छन् त्यसभन्दा बढी माया आफ्ना सन्तानलाई गर्दा राम्रो हुन्थ्यो । हामी राजनीतिक विषय सल्टाउन सधैँ वार्तामा रहन चाहन्छौँ । तर आतंककारीसँगको विषयमा इजरायल निर्मम नै हुन्छ । यस विषयमा हामीले अन्तर्राष्ट्रिय जगत्मा कुरा राख्दै आएका छौँ । हामीविरुद्ध राष्ट्रसंघमा भोट हुने मुलुकसँग समेत हामी सम्बन्ध राखिरहेका छौँ । हामीले उनीहरूसँगको सम्बन्धलाई कसरी अब्बल पार्ने सोच्दै अघि बढेका छौँ । यतिबेला हामीकहाँ पनि राजनीतिक नेतृत्वमा अलमल छ । सरकार ढाल्ने र निर्वाचन हुने वा अर्को सरकार बन्‍नै भन्‍ने नै छ । सोमबार अबेर यसबारे जानकारी आउने नै छ ।

० नेपालमा कोभिड-१९ को प्रभावले असहजता आएको छ, इजरायलमा त खोप लगाइसकिएको छ, सहयोगको पाटोमा केही सोच्नुभएको छ कि ?

यहाँ कोभिड-१९ को संक्रमण बढ्दै गएको छ । नेपाल सरकारले कोभिड नियन्त्रण गर्न सक्दो प्रयास गरिरहेको छ । नेपाली सेना, स्वास्थ्य मन्त्रालय र स्वास्थ्यकर्मी, कर्मचारी चिकित्सकको प्रशंसनीय काम देखिएको छ नै । स्वास्थ्य तथा सुरक्षा ‘प्रोटोकल’ लागू हुनेबित्तिकै संक्रमण दर र मृत्युदर कम भएको छ । हामीले नेपाललाई आफ्नो तवरबाट सक्दो सहयोग गरेका छौ । कोभिडविरुद्ध लड्न राष्ट्रिय ट्रमा सेन्टरलाई एबीजी मेसिन लगायतका सामग्री हस्तान्तरण गर्‍यौँ । हामीले स्वास्थ्य सेवासम्बन्धी अन्य सामग्री पनि सहयोग गरेका छौँ । हामी नेपाललाई तत्काल सहयोग भन्दा पनि नेपाल आफैँ आत्मनिर्भर हुने प्रकारको सहयोग गरिरहेका छौँ । जस्तो कृषिमा नेपालीलाई उत्साह जगाउन नेपालीलाई इजरायल लैजाने र कामसँगै प्रशिक्षण पनि दिएर पठाउने गरेका छौँ । पर्यटनको क्षेत्रमा पनि सहयोग गरेका छौँ । सिकौँ र रोजगार हौँ भन्‍ने कार्यक्रम पनि छ ।


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x