वार्ता

क्रियाशील सदस्यता छानबिन समितिले विवादरहित काम गर्न सक्छ, त्यसका लागि सबैले उदारता देखाउनैपर्छ

पुष्पराज आचार्य |
असार ६, २०७८ आइतवार १८:१६ बजे

नेपाली कांग्रेसको १४औं महाधिवेशन भदौ ७ देखि भदौ १० गतेसम्म गर्ने केन्द्रीय कार्यसमितिले निर्णय गरेको छ । दलको वैधता जोगाउन पनि संवैधानिक व्यवस्था अनुसार तोकिएको मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ । महाधिवेशनको तयारी, कांग्रेसको वैचारिक र सांगठनिक पक्ष तथा आगामी नेतृत्व लगायतका विषयमा इकागजले नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालसँग गरेको कुराकानीः 

नेपाली कांग्रेसको महाधिवेशनका लागि सबै तयारी पूरा भएको हो ?


महाधिवेशनका लागि केही आन्तरिक र केही बाह्य चुनौतीहरू छन् । आन्तरिक चुनौतीहरूतर्फ क्रियाशील सदस्यता छानबिनको विषयलाई विवेकसम्मत, विधिसम्मत, सन्तुलित र विवादरहित ढङ्गले समस्या समाधान गर्नुपर्नेछ । सभापतिजीले महाधिवेशन गराउँछु भन्नुभएको छ । महाधिवेशन तोकिएको समयमै गराउने सबैको इच्छा छ । तर अहिले इच्छा गरेर मात्र हुँदैन, केही आधारभूत विषयहरू समाधान गरेर अघि बढ्नुपर्ने हुन्छ । सबैभन्दा पहिलो त क्रियाशील सदस्यताको छानबिन गरेर त्यसलाई विवादरहित ढङ्गले टुङ्गो लगाउनुपर्नेछ । यसमा सदस्यता छानबिन समितिले काम गरिरहेको छ, उनीहरूलाई सबैले सहयोग गरेर आएका उजुरीहरू टुंग्याइसकेपछि यसले महाधिवेशनको माहौल सिर्जना गर्छ ।

क्रियाशील सदस्यता छानबिन समितिमै पनि केही समस्या छ र ? 

त्यस्तो छैन । उहाँहरू काम गर्न सक्ने साथीहरू हुनुहुन्छ । उहाँहरूलाई विवेकसम्मत, विधिसम्मत, सन्तुलित र विवादरहित ढङ्गले काम गर्नु दिनुपर्छ । क्रियाशील सदस्यताको टुङ्गयाएपछि महाधिवेशनको प्रक्रियाले गति लिन्छ । महाधिवेशन सम्पन्न गर्ने सवालमा त के–के काम प्रविधिको प्रयोगबाट गर्न सकिन्छ भन्ने तय हुन्छ । बुथदेखि इलाका, जिल्ला, क्षेत्र, प्रदेशको कसरी निर्वाचन गर्ने लगायत वैचारिक विषयहरू त दुई–तीनओटा बसाइमा टुङ्गयाउन सकिने विषय हुन् । मुख्य सवाल नै क्रियाशील सदस्यताको विषय टुङ्गयाउने विषयसँग सम्बन्धित छ । महाधिवेशन समयमै सम्पन्न गर्ने सबैको इच्छा छ, तर यसका लागि सबै पक्षबाट उदारता प्रस्तुत गर्नुपर्छ ।

महाधिवेशनलाई प्रभावित पार्ने बाह्य कारण भनेकोचाहिं ? 

बाह्य चुनौतीहरू पनि त्यत्तिकै प्रबल छन् । अहिले कोभिड–१९ को संक्रमणको जोखिम यथावत् नै छ । यस्तो गाउँ–गाउँसम्म संक्रमण नफैलने गरी महाधिवेशनका कार्यक्रमहरू गर्नुपर्ने चुनौती छ । यसपालि मनसुन अलिक लामै समय सक्रिय रहने अनुमान छ । बाढी, पहिरो लगायत प्राकृतिक जोखिम पनि त्यत्तिकै छ । प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दा अदालतमा विचाराधीन छ । यसले गर्दा असारको २२–२५ सम्म ध्यान अन्यत्र तानिएको अवस्था रहने देखिन्छ । 

कांग्रेसभित्र अन्य दलमा जस्तो समस्या छैन ।

हामीसँग महाधिवेशनसम्मका लागि सीमित समय छ । कांग्रेसभित्र विचारको सम्बन्धमा, देशलाई कसरी समृद्ध बनाउने भन्ने विषयमा ठूलो विषय छैन । यी कतिपय कामहरू प्रविधिको प्रयोगबाट पनि गर्न सकिन्छ । तर क्रियाशील सदस्यता छानबिनको प्रमुख आन्तरिक चुनौती र उल्लेखित बाह्य चुनौतीलाई हामीले समाना गर्नुपर्नेछ । दुई वर्षदेखि गर्नुपर्ने कामहरू सबै अहिले सीमित समयभित्र सम्पन्न गर्नुपर्छ । सबैले इच्छा गरेर मात्र हुँदैन जिम्मेवारीबोध गरेर विधिसम्मत र विवादरहित ढङ्गले समस्या समाधान गर्न सबैले उदारता प्रदर्शन गर्न जरुरी छ । 

उदारताको प्रसङ्ग उठाउनुभयो, कांग्रेसमा त्यस्तो अनुदार प्रवृत्ति हावी भएको हो ? 

मैंले कोही व्यक्ति विशेषको कुरा गरेको होइन । महाधिवेशन गराउने सबैको इच्छा छ । सोही अनुसार कसको मतदाता हो भन्ने कोणबाट नहेरी वस्तुनिष्ठ भएर कुनै जिम्मेवारीपूर्वक उदार भएर विधिसम्मत, विवेकसम्मत र विवादरहित ढङ्गले क्रियाशील सदस्यताको छानबिन टुंग्याउनुपर्छ ; अहिलेको आधारभूत विषय नै त्यही हो । त्यसले नै महाधिवेशन सम्पन्न गराउनका लागि मार्ग प्रशस्त गर्छ र सौहार्द वातावरणमा महाधिवेशन सम्पन्न हुनसक्छ । 

तर अब त संवैधानिक प्रावधानले पनि महाधिवेशन तोकिएकै मितिमा नगरी नहुने बाध्यता छ । दलको वैधतामा नै प्रश्न उठ्ने अन्तिम बिन्दूमा आइसक्नुभयो नि तपाईंहरू ? 

यो सबै विषयमा जानकार भएर नै मैंले विवादरहित ढङ्गले समस्या समाधान गरेर आन्तरिक र बाह्य विद्यमान चुनौती सामना गर्दै महाधिवेशन सम्पन्न गर्नुपर्छ भनेको हुँ । 

अहिले सबै दलहरू भित्र समस्या छ । एमालेभित्र त्यस्तै समस्या छ, जनता समाजवादी पार्टी लगायत अन्य दलमा त्यस्तै समस्या छ । सबैभन्दा पुरानो राजनीतिक दल, त्यसमाथि पनि प्रजातान्त्रिक दलको हिसाबले  ‘रोल मोडल’ हुनुपर्ने कांग्रेसमा पनि प्रशस्त समस्या रहेछन् नि ? 

हामीभित्र यहाँले नाम लिनुभएका अन्य दलहरूको जस्तो कुनै समस्या छैन । म अरु दलको बारेमा टिप्पणी गर्न चाहान्नँ । नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न गराउने सवालमा टुंग्याउनुपर्ने विषयहरूको बारेमा मात्र मैंले चर्चा गरेको हुँ, कुनै समस्या छैन ।

महाधिवेशनमा उच्च पदाधिकारीमा यहाँले पनि आफ्नो दाबी पेश गर्दै हुनुहुन्छ, यहाँको नेतृत्वमा नेपाली कांग्रेसलाई साङ्गठनिक र वैचारिक जीवन्तता दिने सम्बन्धमा के सोच्नुभएको छ ? 

सबैले आ–आफ्नो तयारी दुई–तीन वर्षअघिदेखि नै गर्नुभएको होला । नेपाली कांग्रेसको विचार, देशलाई कसरी समृद्ध बनाउने भन्नेमा पार्टीभित्रको दृष्टिकोणमा हामीभित्र ठूलो मतभेद छैन । 

क्रियाशील सदस्यता छानबिन विवादरहित ढङ्गले टुङ्गयाउँ ।  मेरो–तेरो नभनी उदारता देखाउनुपर्छ ।

नेतृत्वमा दाबी गर्दा सबैले आ–आफ्नो घोषणापत्रमार्फत् त्यसलाई अझै प्रष्ट ढङ्गले सार्वजनिक गर्नुहुनेछ । नेपाली कांग्रेसमा यतिबेला कस्तो नेतृत्व चाहिन्छ भन्नेमा सबै जानकार छन् । 

महाधिवेशनमा सांगठनिक सुधारका कुरा गर्दै नेतृत्वमा दावी गर्नेले पार्टीमा गुट अन्त्य गरिने, सबैलाई समान अवसर सिर्जना गर्ने भनिन्छ । महाधिवेशनमा नेतृत्व दावी गर्दा यहाँले पनि त्यसै भन्नुहोला । तर झन्–झन् गुटगत समस्या झाङ्गिएर महाधिवेशन गर्ने बेलामा क्रियाशील सदस्यताको विवादमा अल्झिएर बस्नुभएको छ ? 

म त्यस्तो आदर्शको कुरा गर्दिनँ । हामीकहाँ ४० वर्षदेखि ८० वर्षसम्मका स्थापित नेताहरू हुनुहुन्छ । कुनै आधारमा उहाँहरूको फरक–फरक समूहहरू होलान्, तर पार्टीको निर्णय गुटका आधारमा निर्देशित हुँदैन, गुटका आधारमा पार्टीमा निर्णय लाद्ने भन्ने पनि हुँदैन । सबैको सोचाइमा समानता हुँदैन, तर राजनीतिक पार्टी सञ्चालनका निश्चित मानकहरू छन्, त्यी मानकभित्र बसेर काम गर्नुपर्छ । 
 


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x