वार्ता

राउटे आमाहरूका लागि पोषण कार्यक्रम ल्याउँदैछौँ

लक्ष्मी भण्डारी |
असार १३, २०७८ आइतबार २१:३० बजे

दैलेखको गुराँस गाउँपालिकाले गाउँपालिकाका महिला र बालवालिकाका लागि कार्यक्रमहरू ल्याएको छ । हजार दिन आमाहरूका लागि सञ्चालित पोषण कार्यक्रम प्रभावकारी देखिएको छ । गाउँपालिकामा राउटे समुदाय पनि जोडिएकाले हजार दिनका राउटे आमाका लागि पोषण कार्यक्रम ल्याउने तयारी गरेको छ । प्रस्तुत छ, गुराँस गाउँपालिका उपाध्यक्ष दिपा विसीसँग इकागजकर्मी लक्ष्मी भण्डारीले गरेको कुराकानी:

गाउँपालिकामा महिला र बालबालिकासँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्नुभएको छ ?


गाउँपालिकामा महिला र बालबालिकाका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरेका छौँ । उहाँहरूको स्वास्थ्य, शिक्षा, रोजगार र सामाजिक सुरक्षासँग सम्बन्धित कार्यक्रम सञ्चालन भएका छन् । बालबालिकाहरूका लागि वडास्तरमा अनेक समूह निर्माण गरेर कार्यक्रम सञ्चालन गरेका छाैँ । बालमैत्री पठनपाठन व्यवस्थाका साथै बालमैत्री धाराहरूको व्यवस्था गरेका छौँ, संस्थासँग साझेदारी गरेर । जोखिममा रहेका बालबालिकाको लागि जोखिम कोष भनी एउटा पालिका र गैरसरकारी संस्थाको साझेदारीमा गाउँको सहकारीमा २५ हजार जम्मा गर्ने गरेका छौँ । उनीहरूलाई त्यसको ब्याजको पैसा ६/६ महिनामा घरमै लगेर दिने गरेका छौँ । गुराँस गाउँपालिका ‘हजार दिनका महिलासँग’ सम्बन्धित कार्यक्रमहरू पनि सञ्चालन गरेका छौ । 

महिलालाई स्वरोजगारका कस्ता कार्यक्रमहरू सञ्चालन गर्नुभएको छ ? 

महिलासँग स्वरोजगारका कार्यक्रमहरूमध्ये गाउँपालिकाका आठ वटै वडामा महिला लघुउद्यम कार्यक्रम सञ्चालन गरेका छाैँ । वडामा एउटा समूहमा १० देखि २० जनासम्मको संख्यामा महिला उद्यमीहरू रहनुभएको छ । जसमा एक सय २० जना महिला आवद्ध हुनुहुन्छ । यसमा कसैले आलु चिप्स र दालमोठ बनाउनुभएको छ । त्यसरी नै बाँसका मुडा र अन्य सामाग्रीहरू निर्माण गर्नुभएको छ । सिलाई/कटाई गार्मेन्ट उद्योगको रूपमा विकास गर्नेगरी १० वर्षकै प्रतिबद्धता गरेका छौँ र पालिकाले नै भवन बनाइदिएको छ । यसमा उहाँहरूको सिलाईमा गुणस्तरीयता बढोस् भनी पालिकाले कार्यक्रम अघि बढाएको छ । 

कोभिडको महामारीमा यस्ता कार्यक्रमहरू कसरी सञ्चालन गर्नुभयो ?

हामीलाई शहरी क्षेत्रमा जस्तो समस्या छैन । हामी दुरी कायम गरेर टोल–टोलमा पनि जान सक्छौ । बालबालिकाको क्षेत्रमा र महिलाका समस्या न्युनीकरण गर्न खासै समस्या देखिएन । लकडाउनका बेलामा पनि स्वास्थ्यका मापदण्डको पालना गरेर हामी टोल–टोलमा पुगेर महिला र बालबालिकाका समस्या समाधान गरेका थियाँै । त्यसैले कोभिडमा पनि हाम्रा कार्यक्रमहरू निरन्तर सुचारु गरेका थियौ । 

गाउँपालिकाले महिलाको स्वास्थ्यसँग सम्बन्धित कस्ता कार्यक्रमहरू सञ्चालन गरेको छ ?

स्वास्थ्यसँग पालिकामा धेरै कार्यक्रमहरू छन् । महिलासँग सबन्धित गर्भवती अवस्थामा स्वास्थ्य परीक्षण गर्नुपर्छ भन्ने कुराको सचेतना फैलाएका छौँ । स्वास्थ्य संस्थामा प्रसूति हुनुपर्छ भन्ने कार्यक्रमहरू ल्याएका छौँ । स्वास्थ्य संस्थामा बच्चा जन्मिएको कार्ड भयो भने जीवन सुरक्षालाई पनि जोड दिएर  कार्यक्रम ल्याएका छाैँ । बच्चा जन्मिएको ३५ दिनभित्र कागजात ल्याउनुपर्छ, यसमा अभिभावकले चार हजार र पालिकाले १० हजार जम्मा गरिदिन्छ । हजार दिनका आमाहरूका लागि पनि गर्भवती र सुत्केरी महिला तथा बालबालिकाहरूलाई पोषणको कार्यक्रम छ । जसमा गर्भवती भएका महिलालाई आठ वटा कुखरा वितरण गर्ने गरेका छौँ । त्यसरी नै सुत्केरी आमाहरूका लागि अण्डालगायतका खाने–कुराको साथै न्यानो कपडाहरू पनि वितरण गर्दै आएका छौँ । 

महिला र बालबालिकासँग सम्बन्धित कार्यक्रमले कस्तो प्रभाव पारेको छ ?

पालिकामा सञ्चालन गरेका कार्यक्रमले सबैभन्दा त महिलालाई रोजगारी सिर्जना गराएको छ भने बालबालिकाको सुरक्षालाई पनि ध्यान दिएको छ । फुर्सदको समय सदुपयोग गरी सीप सिक्न थाल्नुभएको छ  भने कतिपय महिलाहरू आत्मनिर्भर बन्नुभएको छ । यहाँका हरेक महिला प्रसूति हुन स्वास्थ्य संस्थामा जानुपर्छ भन्ने भावनाको विकास भएको छ । सुत्केरी अवस्थामा आराम र पोषिलो खाना खानुपर्छ भन्ने चेतना फैलिएको छ । 

आगामी दिनमा महिला र बालबालिकासँग सम्बन्धित कस्ता कार्यक्रमहरू ल्याउने योजना बनाउनुभएकोे छ ?

हामीले पालिकाबाट सञ्चालित महिला र बालबालिकाका कार्यक्रमहरूलाई निरन्तरता दिन्छौ । यसमा थप स्वरोजगारका कार्यक्रम ल्याउँछौ । पालिकाअन्र्तगत राउटे समुदाय भएकाले राउटे महिलाका स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम पनि ल्याउने योजना बनाएका छौँ । हजार दिनका राउटे आमाहरूका लागि पोषिलो कार्यक्रम ल्याउने तयारी गरेका छौँ । यसमा जसरी हजार दिनका आमाहरूका लागि कार्यक्रम सञ्चालन भएको छ, त्यसरी नै राउटे समुदायका महिलाहरूलाई पनि पोषिलो खाना र न्यानो कपडाको व्यवस्था गर्नेछौ । राउटे महिलाहरू सुत्केरी अवस्थामा स्याहारको कमी र पोषिलो खानाको अभावमा स्वास्थ्य अवस्था नाजुक भएको देखिएको छ, त्यसकारण यस कार्यक्रमबाट उनीहरूलाई केही मात्रामा भएपनि राहत होला ।

हजार दिनका राउटे आमाको लागि पोषण कार्यक्रम ल्याउने त भन्नुभयो तर, उनीहरू फिरन्ते जीवन बिताउने हुनाले ठाउँ–ठाउँमा जान्छन् कसरी कार्यक्रम गर्नुहुन्छ ?

राउटे समुदाय जहाँ भएपनि गाउँपालिकाका नागरिक हुन् । किनभने गाउँपालिकाका बासिन्दाका रूपमा उनीहरूको परिचयपत्र छ । उनीहरू जहाँ भएपनि उनीहरूको हामीले निगरानी राख्नुपर्छ । त्यसैले हामी उनीहरू भएकै ठाउँमा पुगेर सेवा प्रवाह गर्छाै । उनीहरू भएकै ठाउँमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेका छौँ ।
 


Author

थप समाचार
x