वार्ता

हाम्रो पार्टीमा पनि केपी ओलीजस्तै अवैधानिक रवैया छ

पुष्पराज आचार्य |
असार १४, २०७८ सोमवार १७:५० बजे

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल दलहरू भित्रको अलोकतान्त्रिक चरित्रका कारण लोकतान्त्रिक व्यवस्थामाथि संकट पैदा भएको बताउँछन् । नेपाली कांग्रेसभित्र केन्द्रबाट बायाँ (सेन्टर टु लेफ्ट) राजनीतिक सोच राख्ने वरिष्ठ नेता पौडेल दलहरूको नेतृत्वमा अलोकतान्त्रिक, लोकतन्त्रप्रति प्रतिवद्ध नभएकाहरू हावी भएको भन्दै उनले लोकतन्त्रान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि लोकतन्त्रका हिमायतीहरू एकजुट हुनुपर्ने धारणा राखेका छन् । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनका सम्बन्धमा उनले लोकतान्त्रिक व्यवस्था माथि नै गम्भीर खतरा पैदा भएको अवस्थामा चुनाव र पदभन्दा पनि संविधान बचाउने पहिलो प्राथमिकता भएको बताए । प्रस्तुत छ इकागजले वरिष्ठ नेता पौडेलसँग गरेको संक्षिप्त कुराकानीः 

सबैजसो दलहरूमा आन्तरिक रूपमा र आपसमा निकै तिक्ततापूर्ण सम्बन्ध छ । यहाँको यति लामो राजनीतिक जीवनमा दलहरू अहिलेजति कमजोर भएको महशुष गर्नुभएको थियो ? 


नेपाल संक्रमणकालबाट ग्रुज्रिरहेको छ । धेरै खालका उतारचढाव आएर एउटा व्यवस्थाको टुङ्गो लागेपछि अब लोकतान्त्रिक प्रणालीको अभ्यासमार्फत लोकतन्त्र सुदृढ बनाउनुपर्नेबेलामा फेरि अर्को समस्या पार्टीहरू भित्रैबाट उत्पन्न भएको छ । यो लोकतान्त्रिक व्यवस्थाको स्थायित्वका लागि संघर्ष गरेका नेपाली जनतामाथि दलहरू (नेतृत्व) ले गरेको अपमान हो ।

लोकतन्त्र पटक–पटक खोसिदाँ त्यसका लागि संघर्ष गरेका दलहरूले यसको मूल्य किन नबुझेका होलान्, दलहरूमा समस्याको जड के हो ? 

पार्टीभित्र आन्तरिक लोकतन्त्र फस्टाउन सकेको छैन । विधि, पद्धति तथा लोकतान्त्रिक संस्कार नमान्दा समस्या भएको हो । नेतृत्वमा पुग्न चाहाने र नेतृत्वमा पुगेकाहरूको मनोदशा पनि यसमा कारक छ । नेतृत्वमा पुगेका मान्छेहरूमा यो पद मेरै लागि हो, म बाहेक अरू आउनै हुँदैन भन्ने लाग्यो । उनीहरूको त्यो क्रियाप्रति अरूको प्रतिक्रियात्मक कार्य हुने नै भयो । यसले सबैजसो ठूला दलको सुसञ्चालनमा समस्या भैरहेको छ । 

म सत्तालाई होइन, व्यवस्थालाई महत्व दिन्छु ।

नेतृत्वमा बस्नेलाई विधि र पद्धतिमा हिँडाउन निकै गाह्रो परेको छ । लोकतन्त्रका हिमायतीहरूले अब एकजुट भएर विधि र पद्धतिका लागि संघर्ष गर्नुपर्छ ।

पहिले राजसंस्थालाई लोकतान्त्रिक व्यवस्थाप्रति खतराको रूपमा उभ्याइन्थ्यो । अब त व्यवस्था जोखिममा पर्दा सबै अपजसको भारी दलहरूकै टाउकोमा पर्दैछ ? 

हो । यस्तो अकर्मण्यताले व्यवस्था संकटमा पर्न सक्छ । लोकतन्त्रप्रति प्रतिवद्ध सबै सचेत हुनुपर्‍यो । कार्यकर्ताहरू सजग हुनुपर्‍यो । कार्यकर्ताहरू ‘जता मल्को, उतै ढल्क्यो’ छन् । जनताले पनि कुरै नबुझी लहैलहैमा लाग्ने गर्नुभएन । जनताले लोकतान्त्रिक विधि, पद्धतिमा चल्नेलाई मात्र साथ दिनुपर्छ । दलका जिम्मेवार नेता तथा कार्यकर्ता स्वार्थभन्दा माथि उठ्न सक्नुपर्छ अनिमात्र लोकतन्त्र परिमार्जन, परिष्कार र साकार हुन्छ । 

सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस त यो मामिलामा ‘रोल मोडल’ हुनुपर्ने थियो । कांग्रेसले प्रतिपक्षको भूमिका पनि राम्रोसँग निभाएन, पार्टीको महाधिवेशन गर्ने तथा नेतृत्व हस्तान्तरणका सवालमा त्यत्तिकै समस्या छ ? 

पार्टीभित्र लोकतन्त्रमा आस्था र विश्वासमा खरो नउत्रेको, लोकतन्त्रको परिक्षामा असफल भएका साथीहरूको हातमा पार्टीको बागडोर जानाले समस्या भएको हो । जो असली कांग्रेस हो, उसले बुझेको छ लोकतन्त्रको महत्व । तिनीहरूमा साँच्चिकै लोकतान्त्रिक संस्कार छ । त्यही भएर मैंले भनेको हो नि सबै नेता, कार्यकर्ताहरूले ‘जता मल्को, उतै ढल्क्यो’ गर्नुभएन । लोकतन्त्र जोगाउने, यसलाई सुदृढ गर्नेतर्फ नलाग्ने हो भने फेरि पछिल्लो पुस्ताले पनि लोकतन्त्रका लागि संघर्ष गर्नुपर्ने अवस्था आउनेछ । यो बिडम्बनापूर्ण छ । 

यतिबेला नेपाली कांग्रेस १४औं महाधिवेशनको संघारमा छ । क्रियाशील सदस्यताको विवाद अझै टुङ्गो लागेको छैन, के तोकिएको समयमा महाधिवेशन होला त ? 

महाधिवेशन गर्न त अनिवार्य बाध्यता छ नि ! संविधान अनुसार तोकिएको मितिभित्रै महाधिवेशन गर्नैपर्ने बाध्यात्मक अवस्थामा हामी छौं । २०७५ सालको मंसीर–पुसमा हाम्रो महासमिति हुँदा नै त्यहीं कार्यतालिका बनाएर महाधिवेशनका लागि काम गर्न थालौं भनेर प्रस्ताव गरेको थिएँ । महाधिवेशनको प्रक्रियालाई विवादरहित बनाएर लैजान समय लाग्छ भनेर पटक–पटक भन्दा मिचेर, पेलेर लैजाने काम भयो । हुँदाहुँदै पार्टीमा अहिले ठूलो संकट आएको छ । 

अवैधानिक अवस्थामा पनि मनोनयन र नियुक्ति चलाउँदै जाने मान्छेसँग के कुरा गर्नु छ र !

कांग्रेस विधिसम्मत, विधान अनुसार चलेकै छैन । हाम्रो विधानले प्रदान गरेको चार वर्षको अवधि सकिएर अधिकतम थप्न सकिने एक वर्ष पनि थपेर फागुनपछि त कांग्रेस संविधानको त्यान्द्रो समातेर घिटघिटी गरिरहेको छ । 

अघिल्लो महाधिवेशनमा अहिलेका सभापति शेरबहादुर देउवासँगै यहाँले पनि नेतृत्वमा दाबी गर्नुभएको थियो । यहाँहरूबीच अब कांग्रेसलाई अघि बढाउने, नेतृत्व हस्तान्तरण गर्ने सम्बन्धमा छलफल भएको छैन ? 

अवैधानिक अवस्था रहँदा पनि संकोच नमान्ने, अवैधानिक अवस्थामा पनि मनोनयन र नियुक्ति चलाउँदै जाने मान्छेसँग के कुरा गर्नु छ र ! हाम्रो पार्टीमा त केपी ओली आफैं अवैधानिक प्रधानमन्त्री भएर पनि मन्त्रिपरिषद् विस्तार गरेजस्तो रवैया छ । ओलीका अवैधानिक काम अदालतमा चुनौती दिदाँ पल्टा खाएका छन् । त्यसकारण हाम्रो पार्टी नेतृत्वको रवैया सच्याउन म त लडाइँ लडिरहेको छु– लोकतन्त्रको लडाइँ । म सत्तालाई होइन, व्यवस्थालाई महत्व दिन्छु । त्यसो भएको हुनाले अहिले चुनाव–चुनाव भनेर चुनावमा दगुर्नेभन्दा पनि पहिले संविधान र व्यवस्था बचाउँ भनेर लागिरहेको छु । संविधान बच्यो/व्यवस्था रह्यो भने चुनाव त भोलि पनि गरौंला, पद पनि पाइएला भनेर म त्यतापट्टी लागिरहेको छु । 
 


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x