वार्ता

उसको मान्छे, मेरो मान्छे भन्‍ने स्वभावले देउवा सफल बन्‍न सक्नुभएन

इकागज |
असार २६, २०७८ शनिबार १६:५ बजे

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौं १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने तय भएको छ । महाधिवेशनको मिति कार्यतालिकासहित तय भएपछि नेताहरू नेतृत्वमा पुग्‍न लबिइङ गरिरहेका छन् । नेतृत्वमा पुग्‍न वर्तमान महामन्त्री डा.शशांक कोइरालाले पनि प्रयास गरिरहेका छन् । डा. कोइराला पार्टी नेतृत्व हस्तान्तरण हुने बेला आइसकेको बताउँछन् । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले नेताद्वयलाई आफूले त्यस किसिमको भूमिकाका लागि आग्रह गर्ने बताए । महामन्त्री डा. कोइरालासँग कांग्रेसको आसन्‍न महाधिवेशन, क्रियाशील सदस्यता विवाद तथा नयाँ नेतृत्वका सम्बन्धमा गरिएको कुराकानीको सारसंक्षेप :

महाधिवेशनको तयारी कहाँसम्म पुग्यो ? 


अहिलेसम्म क्रियाशील सदस्यताको टुंगो लाग्न सकेको छैन । यो अन्त्य अन्त्यसम्म आइपुगेको छ । यो महिनाको अन्त्यसम्म क्रियाशील सदस्यताको अन्तिम टुंग्गो लाग्छ । त्यसपछि एउटा खाका तयार हुन्छ, अनि हामी अधिवेशनतर्फ जान्छौ । अहिले पार्टीको ध्यान नै क्रियाशील तर्फ छ । हामीले आज पनि क्रियाशील सदस्यतामा के गर्ने भनेर बैठक गरेका थियौं । केन्द्रीय सदस्यहरू रामचन्द्र दाइ, शेखर डाक्टर साहेब, मिनेन्द्र रिजाल र अन्य सदस्यहरू बैठकमा हुनुहुन्थ्यो । हामी क्रियाशील सदस्यतालाई कसरी टुंगो लगाउने भनेर छलफल गरिरहेका छौं । क्रियाशील टुंगो नलगाइकन त हामी महाधिवेशनमा जान सक्दैनौँ । 

क्रियाशील सदस्यता तत्काल टुंगो नलाग्दा महाधिवेशनलाई प्रभाव पार्ने अवस्था आउने जस्तो देखिँदैछ । सदस्यताको विवाद नमिलेर महाधिवेशन प्रभावित हुने सम्भावना कत्तिको छ ? 

यो महिनाभित्र क्रियाशील सदस्यता टुंगा लगाउन सकिएन भने त आशंका त भइहाल्यो नि । यति जटिल नि क्रियाशील सदस्यको बारेमा, हरेक जिल्लामा केही न केही छ । भन्छन् ४६ जिल्लामा भइसक्यो । त्यसमा पनि उजुरीहरू आएका छन् । तसर्थ अहिलेको अवस्थामा भन्न सकिदैन कि समयमा नै अधिवेशन हुन्छ कि हुदैन । प्रश्न चिन्ह चाहीँ छ । तर हाम्रो ध्यान त्यतैतिर गएको छ । र हामी क्रियाशील सदस्यता छिटो टुंग्याउँ भनेर भरमग्दुर प्रयास गर्दैछौँ ।    

अहिले शीर्ष नेताका तीन पुत्र नेताहरूको संयुक्त भेटघाटलाई लिएर विभिन्न विश्लेषण भएका छन् । अर्को गुट आउन खोज्यो अथवा शक्ति केन्द्रित गर्न खोजियो भनेर पनि टिप्पणी भएका छन् । खासमा के थियो तपाईहरूको बैठकमा ?   


बैठक विमलेन्द्र निधिले नै इनिसियट गरेको हो । सबैभन्दा पहिले उहाँको वैवाहिक सम्बन्धको ३५ वर्ष भएको थियो । त्यो दिन प्रकाशमान सिंह र मलाई बोलाउनुभयो । दोश्रो पटक यही मिटिङ गर्‍यौ र तेश्रो पल्ट प्रकाशमान जी को मा । हाम्रो भनाई के थियो भने, हामी पनि एकै ठाउँमा उभिनुपर्‍यो । सभापतिका लागि हामी ३ जना मध्ये कोही लड्छ भने ठिकै भयो । हामीमा एकता हुनुपर्‍यो भन्ने कुरा आयो । यसमा धेरै कुराहरू उत्पन्न छन् । एउटा कि विमलेन्द्रले शेरबहादुर जीलाई छाड्नुभयो भने भन्ने पनि संकेत देखिन्छ । दोश्रो कुरा हामी तीनै जना मध्ये एकजना लड्ने, तर त्यत्तिले पुग्दैन । रामचन्द्र दाइ, शेखर दाइ हुनुहुन्छ । प्रकाशमान र म त छदैँछु ।

विमलेन्द्र हुनुहुन्छ । मैले के भनेँ भने, हामी तीनजनाबाट ५ जना गरौ, ५ जनाबाट ७ जना गरौं, ताकि हामी एउटै सुत्रमा बाँधिन सकौ भन्ने धारणा हाम्रो थियो । तर यता आएर हाम्रो बीचमा केही छलफल भएको छैन । हामी तीनजना एकठाउँमा उभियौं भने वेभ पनि आउँछ र पार्टी संगठनलाई राम्रो गर्छ भन्ने दृष्टिकोणले नै गर्नुभएको रहेछ विमलेन्द्रले । राम्रो पनि भयो । नकारात्मक पक्षहरू पनि छन् तर त्यो भन्दा भन्दै पनि हामीले तीनैजना एकै ठाउँमा (नेतापुत्रहरू) एकै ठाउँमा उभियौँ भने नेपाली कांग्रेस एकैठाउँमा आउँछ भन्ने संकेत चाहीँ प्रष्टै रूपमा दिएको छ ।    

मुलुकको समुल राजनीतिक अवस्था प्रतिकुल भएकाले नेतृत्व परिर्वतन नगरौं भन्ने आवाज पनि छ । फेरि यता नेतृत्व परिवर्तनका लागि तपाईहरूले पहल गरिरहनु भएको छ । ठयाक्कै समय आएको हो पुस्तान्तरण वा नेतृत्व परिवर्तनको ?  

 
समय त आएको छ । अधिवेशनमा हामीले नेतृत्व परिवर्तन गर्नुपर्छ । किनभने अहिलेको अवस्थामा हाम्रो दुर्दशा भएको छ । यसलाई दृष्टिगत गरेर नेतृत्व परिवर्तन गर्नुपर्छ भन्नेमा हामी तीन नेता पुगेका छौं । कसरी हुन्छ परिर्वतन ? कसले गर्छ परिर्वतन ? त्यो प्रश्न त आजसम्म यथावत नै छ । तसर्थ, हामी ३ जना, ५ जना, ७ जना हुदै समुहलाई ठूलो पार्दै गयो भने एकै ठाउँमा उभिन सक्ने संभावना हुन्छ । त्यसले पार्टीलाई  पनि मजबुत पार्छ । एकै ठाउँमा उभिँदा शक्ति पनि मिल्छ र एकजना मात्रै उम्मेद्वार भयो भने हामी सजिलोसंग पुस्ता हस्तान्तरण गर्न सजिलो हुन्छ भन्ने ध्येयले हामीले पहल गरेका हौं ।    

तीनै जना नेतृत्वको आकांक्षी हुनुहुन्छ, कि त व्यवस्थापन गर्न पर्‍यो, कि त तीनै जना लड्नुपर्‍यो । व्यवस्थापन गर्न सकिन्छ ? केही उपाय छ ? 

यो त हामीबीचको वार्ताबाट नै समाधान हुनसक्छ । होइन भने त तीनै जनाले लड्नुपर्‍यो । वार्तामा बसेर कुनै टुंगोमा त पुर्‍याउन पर्‍यो नि । हामीलाई लाग्छ कि नेतृत्व परिर्वतन हुनुपर्छ र हामी गम्भीर छौं भनेर त एकजना मात्रै उभिनु पर्‍यो नि । तीनै जना उभियौ भने त फेरि परिर्वतन हुदैन । त्यसैले हामी तीन जनाले यति चाही के भन्नुपर्‍यो भने हामी मध्ये एक जना उभियौ भने चाहीँ सजिलोसंग हस्तान्तरण हुन्छ भन्ने कुराको पुष्टि हुन्छ भन्ने मलाई लागेको छ ।

 

शेरहादुर जीको त धेरै उमेर पनि भइसक्यो । रामचन्द्र दाइ पाको मान्छे हुनुहुन्छ । उहाँको राजनीति धेरै उतारचढाव भयो । तर मलाई लाग्छ उहाँले पनि अघि आएर अभिभावकको रूपमा ठाउँ लिनुपर्ने हो ।

सभापति देउवा र वरिष्ठ नेता पौडेलको व्यवस्थापन कसरी गर्नुहुन्छ  ?    

शेरहादुर जीको त धेरै उमेर पनि भइसक्यो । रामचन्द्र दाइ पाको मान्छे हुनुहुन्छ । उहाँको राजनीति धेरै उतारचढाव भयो । तर मलाई लाग्छ उहाँले पनि अघि आएर अभिभावकको रूपमा ठाउँ लिनुपर्ने हो । तर उहाँ पनि प्रत्यासी त हुनुहुन्छ । उहाँलाई हामीले सम्झाउन सक्नुपर्‍यो कि तपाई अभिभावकको भूमिका खेलेर हामीलाई गाइड गर्नुहोस् । मलाई लाग्छ शेरबहादुर जीको पनि त्यही नै अवस्था देखिन्छ । धेरै बुढो भइसक्नुभयो । उहाँहरू कतिञ्जेलसम्म राजनीति गरिरहनुहुन्छ त ? अभिभावक बनेर हामीलाई गाइड गर्नुपर्ने बेलामा उहाँहरू आफै लड्ने विचार गर्दै हुनुहुन्छ । यसरी चाहीँ अप्ठयारो हुन्छ ।    

अहिले महामन्त्री हुनुहुन्छ । तपाईको आफ्नो तयारी कस्तो छ ? आफ्नो उम्मेद्वारीलाई कसरी स्थापित गर्नुहुन्छ ?    

सबै भन्दा पहिले त मैले अधिराज्यभरीका कांग्रेसका कार्यकर्ताहरूसंग भेटघाट गरिरहेको छु । उनीहरूको राय, सल्लाह, सुझाव एउटा त्यो भयो । दोश्रो कुरा नेताहरूबीचमा पनि संवाद हुनु जरुरी छ । हुन त कुरा भइरहेको छ नभएको होइन । शेखर दाइ, प्रकाशमानजी, रामचन्द्रजी र विमलेन्द्र जीसंग पनि कुरा त भइरहेको छ । हामी यही आधारमा अगाडि बढ्यो भने हामी एउटा टुंगोमा पुग्छौ । म हुन्छु वा को हुन्छ । जो सुकै होस् एकजना उभिनुपर्छ अहिलेको दृष्टिकोण मेरो त्यही नै हो ।    

आफ्नो कार्यकालमा शशांकले बोल्नुपर्ने बेलामा बोलेनन्, कार्यकाल सकिएको समितिले भटाभट नियुक्तिहरू गर्‍यो, त्यसमा दह्रो गरी बोलेनन् । नेतृत्वले आफ्नो हिसाबले पेलेर नियुक्ति दिने, मनोनय गर्ने कुराहरू भए, त्यो बेला पनि बोलेनन् । जुन बेला नबोल्नुपर्ने थियो धर्मनिरपेक्षतालगायत विषयमा त्यसबेला बोले किन ?    

म भन्न चाहन्छु । एउटा त शेरबहादुर हाम्रो सभापति हाम्रो यत्रो हार भयो चुनावमा हरेकले उहाँलाई विरोध गरे । म मात्रै एउटा व्यक्ति थिएँ जसले उहाँलाई डिफेण्ड गरें । मैले के भनेँ भने उहाँको मात्रै गल्ती होइन । हामी पनि पदाधिकारीहरू हौं । हाम्रो पनि उत्तिकै गल्ती हो । म ढाल बने शेरबहादुर जीको । मैले शेरबहादुर जीलाई धेरै सेभ गरेको हो । र मैले नै विरोध गरिदिएको भए त पार्टी एक त छिन्‍नभिन्‍न, छन् झन बिग्रेर जान सक्ने अवस्था देखेर मैले शेरबहादुर जीको ढाल बनेर उहाँलाई प्रोटेक्ट गरेको हुँ । नत्र भए त मैले पनि त बोल्न सक्थेँ नि । तपाईले भन्नुभयो किन बोलिनस् भनेर ? त्यही उत्तर म तपाईलाई दिँदै छु । मैले बोलेको भए उहाँको विरोधमा बोल्नुपर्थ्यो । विरोधमा बोलेको भए अवस्था के हुन्थ्यो पार्टीभित्र ? त्यो हिसाबले मैले नबोलेको ।
  
तर यता पार्टी विधान, संविधानभन्दा बाहिर गएर बोलेको चाहीँ ? एक पटक होइन तीन-तीन पटक धर्मको बारेमा बोल्दिनुभयो । जुन बेला समयनै थिएन ?

हाम्रो संविधान बन्दै थियो । त्यो बेला मैले सुशील दालाई भने ‘हेर्नुहोस् सुशील दा, यो वीपी कोइरालाले बनाएको पार्टी, यो चारतारे झण्डामा एउटा तारा धर्म स्वतन्त्रताको प्रतिक हो । तपाईले धर्मनिरपेक्षता किन गर्र्दैहुनुहुन्छ ? उहाँ हतारमा हुनुहुन्थ्यो । ५ ,७ दिन मात्रै बाँकी थियो । उहाँले भन्नुभयो ‘यो प्रेसर छ मलाई के गर्छस् । पछि यो परिवर्तन गरौँला ।’ त्यो भनिसकेपछि  मैले बोल्ने कुरा आएन । किनभने संविधान नै दिनुभएन भने त सुशील कोइराला पनि फेलियर भएर जानुहुन्छ । उहाँले अन्तमा संविधान दिन त सफल हुनुभयो नि । यो त नेपाली कांग्रेसका लागि ठूलो उपलब्धि हो नि । त्यो उपलब्धि पनि जान सक्ने संभावना देखेँ । त्यसैले मैले धेरै प्रेसर गरिनँ उहाँलाई ।

 

सभापति आजको मितिमा पनि तेरो मान्छे, मेरो मान्छे भन्नुहुन्छ । उहाँ  त सबैको सभापति हो नि । उहाँले आफ्नो धारणा परिर्वतन गरेको भए उहाँनै सफल सभापति हुनुहुन्थ्यो ।

सभापतिको उम्मेद्वारी दिदै गर्दा यहाँका मुद्दाहरू के-के हुनेछन् ?    

सबैभन्दा पहिला पार्टीलाई एकजुट बनाउने कुरा छ । हामी टुक्रा टुक्रा भएको, गुट उपगुटहरूले ध्वस्त पारेकोले धरासायी भएका हौँ । सभापति आजको मितिमा पनि तेरो मान्छे, मेरो मान्छे भन्नुहुन्छ । उहाँ  त सबैको सभापति हो नि । उहाँले आफ्नो धारणा परिर्वतन गरेको भए उहाँनै सफल सभापति हुनुहुन्थ्यो । तर उहाँले आजको मितिसम्म ‘उसको मान्छे, मेरो मान्छे’ भन्नुहुन्छ । म के चाहन्छु भने पार्टीलाई एक बनाऔं । पार्टीभित्र अहिलेको विधान राम्रो विधान होइन । वीपी कोइरालाले सभापतीय पद्धतिमा जानुपर्छ अर्थात् सबैलाई चुनाव लड्न नदिएर केही सिटहरू चाहिँ मनोनित हुनुपर्छ किनभने प्रेसिडेन्सीयल सिस्टममा प्रेसिडेन्ट त चुनावबाटै आउनुपर्यो तर ऊ आईसकेपछि उसले आफ्नो शक्तिलाई सन्तुलित राख्‍नका लागि मनोनित गर्ने ठाउँ हुनुपर्‍यो । महामन्त्री दुई जना, उपसभापति दुई जना गर्दा उसको पार्टीप्रतिको पकड बलियो हुनुपर्‍यो । सबैले लडेर हुदैन । अधिवेशन भइसकेपछि महासमिति डाकेर यो विधानमा परिर्वतन ल्याउनुपर्छ भन्ने मैले सोचेको छु ।

शासकीय स्वरुपलाई पनि सत्तारुढ दलले बहसमा ल्याउनुपर्छ भनेको छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कुरा गरिरहेको छ । यसमा तपाईको टिप्पणी के छ ?    

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको विषय धेरै बर्षदेखि उठिरहेको छ । म चाहिँ वेस्ट मिनिस्टर सिस्टममा नै विश्वास गर्छु । पहिले दलको नेता हुन्छ । हाउसमा आफ्नो बहुमत ल्याउँछ । त्यही अनुसार हामी जानुपर्छ । प्रेसिडेन्सियल सिस्टम, डाईरेक्ट चुनाव प्रेसिडेन्सको, त्यो हाम्रो लागि राम्रो हुदैन ।

अन्त्यमा, अब महाधिवेशनकै प्रसंग, क्रियाशील सदस्यको छिनोफानो, उम्मेद्वारको लगायत टुंगो लागेर महाधिवेशनको अर्को कार्यतालिका कहिलेसम्म आउला ?    

सबैभन्दा पहिला त क्रियाशील सदस्यतालाई यो महिनाको अन्तिमसम्म टुंग्याउनुपर्छ । त्यसमा हामी लागि रहेका पनि छौं । समिति बनाएर जिम्मा पनि लगाएका छौँ । अरु पार्टीबाट आएका पनि समावेश हुनुपर्‍यो । विजयकुमार गच्छदारको पार्टी, सुनिल थापा जीको पार्टीका क्रियाशील सदस्यहरू पनि समावेश हुनुपर्‍यो  र त्यसपछि हाम्रो आन्तरिक पनि समावेश हुनुपर्‍यो । मलाई लाग्छ यो शिघ्र नै सम्पन्न हुन्छ । त्यसमा फेरि विवाद भयो भने हाम्रो अधिवेशनलाई नै असर गर्छ ।
 


Author

थप समाचार
x