वार्ता

प्राडा र पुरातत्त्वका हाकिमहरू न एकेडेमिक न पपुलर, कुनै इतिहास लेखिरहेका छैनन्

विमल आचार्य |
भदौ ४, २०७८ १३:३ बजे

इतिहासकार डा. महेशराज पन्त आज ७७ वर्ष पूरा भए । उनी पुराना सबैजसो लिपि-भाषा खुट्याउन सक्छन् । उनी यहाँका अभिलेख, सम्पदा, पुरातत्त्वबारे भरपर्दो ज्ञान राख्छन् । उनी इतिहास विषयक त्रैमासिक पत्रिका ‘पूर्णिमा’का संस्थापक सम्पादक हुन् । सम्पादक हुँदा उनी २० वर्षका थिए । यो पत्रिका पछिल्लो तीन वर्षयता भने छापिएको छैन । अचेल अखबार-अनलाइनहरूतिर उनको खोजी व्यापकै छ । पहिला सानो प्राज्ञिक वृत्तमा मात्र चिनिएका उनी अचेल भने सेलेब्रिटी इतिहासकारजस्ता भएका छन् ।

सेलेब्रिटी किन भने, पछिल्ला वर्ष उनी अखबारमा निरन्तर छापिएका मात्र छैनन्, टेलिभिजनमा समेत दुई-दुई एपिसोडमा दुई घण्टा लामो वार्तामा बसे । संस्कृति मन्त्रालयले बायोडाटा दिनुस्, हामी पुरस्कार दिन्छौँ भन्दा ‘म आफैँले आफ्नो परिचय पो दिनुपर्ने ?’ भन्दै नदिएका उनले पद्मश्री सम्मान भने ग्रहण गरे । यसमा उनको तर्क थियो- मैले मागिनँ, सम्मान दाताले नेपाल-नेपालीको कर खाएको भन्दा पनि विदेशतिरै कमाएका रहेछन्, सम्मान लिइदिनुस् भन्‍नुभयो अनि मैले मेरा तीन जना स्टाफको तीन महिनाको तलब पनि पुग्‍ने देखेँ, स्वीकार गरेँ ।


ADVERTISEMENT

उसो त भारतीय दूतावासको सम्मान -निम्ता भने उनले स्वीकारेनन् । पन्त कस्ता छन् भने उनलाई विख्यात हार्वर्ड विश्वविद्यालयका प्राध्यापक माइकल विट्जेलले इमेल पठाएका थिए, उनले ‘भ्याउँदिनँ सरी’ भनी पठाए । एनजीओको विरोध गर्दैआएका उनको पछिल्लो पुस्तक ‘नेपाली इतिहासको परिवेश : केही ऐतिहासिक र मसीजीवी’ प्राज्ञिक एनजीओ मार्टिन चौतारीबाटै छापियो । पुस्तक छाप्‍ने प्रस्ताव चौतारीका त्यतिबेलाका अध्यक्ष तथा इतिहासकार योगेश राजले नै गरेका रहेछन् । गत चैत महिनामा  राष्ट्रपति कार्यालयबाट उनलाई फोन आयो- राष्ट्रपतिज्यू संशोधन मण्डलमा आउन चाहनुभएको छ ।

अनि एक दिन शनिबार महामहिम राष्ट्रपति विद्यादेवी भण्डारी शिक्षा मन्त्री, त्रिविका उपकुलपतिसहित उनकै घरमा आइन् । पन्त यसमा खुसी नै छन् । त्यसअघि नेपाल प्रज्ञा प्रतिष्ठानले पनि पन्तलाई प्रतिष्ठानको मानार्थ सदस्य बनायो । एउटै किताबका हरेक संस्करणसमेत किन्‍ने आदत भएका उनले मानार्थ सदस्य भएबापत एकेडेमीबाट छापिने सबै पुस्तक उपहार पाउनेबाहेक अरु केही सुविधा नपाउने भए पनि सम्मान स्वीकार गरे । मानार्थ सदस्यको प्रमाणपत्र बुझाउन एकेडेमीका कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति जगमान गुरुङ, सदस्य-सचिव जगत् उपाध्यायलगायत उनकै घरमा गए । स्मरण रहोस्, कुलपति गंगाप्रसादको अगुवाइमा भएको बंगबन्धुको जीवनीको अनुवादको औचित्य र त्यसको निम्छरो तहबारे  धुवाँदार आलोचना गर्दै उनले नेपाल म्यागजिनमा लेख छपाएका थिए ।

साँध जोडिएका नेता झलनाथ खनाल प्रधानमन्त्री हुँदा टोलका सबै अभिनन्दनमा जाँदा बालुवाटारमा गयल भएका उनी शासककहाँ जानु नपरोस् भन्छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राम-घरेलु रामायणको कुरा गरेपछि उनले झुट र भ्रमको खेती गरिरहेका छन् भनेर कान्तिपुरमा देवेन्द्र भट्टराईलाई अन्तर्वार्ता दिएका थिए । त्यो वार्ता आएपछि उनै ओलीकै सरकारले आफ्नो बजेटमा संशोधन मण्डललाई सहयोग गर्ने वाचा गर्‍यो । 

आफ्नो पुस्तक विमोचन नगर्ने, विमोचनमा समेत नजाने ‘भूमिगत लेखक’ डल्लु निवासमा आफ्नै खर्चपर्चमा तीन जना सहयोगी राखेर लेखपढ गर्छन् । सयौँ शोध लेख तथा देश-विदेशबाट विभिन्‍न भाषामा गरी दर्जन पुस्तक प्रकाशन गरेका उनले आफ्ना पिताले खोलेको नामविहीन पाठशालामा पढेका हुन् । चलनचल्तीका कुनै स्कुल-कलेजमा विद्यार्थीका रूपमा पाइला नटेकी-नपढी उनले एकैपटक जर्मनीबाट पीएचडी गरे । पुराविद् तथा संस्कृतज्ञ महेशराज पन्तसँग  विमल आचार्यले उनकै घरमा भदौ २ गते गरेको कुराकानीको हाइलाइट्स् देहायबमोजिम छ : 

७८ औँ जन्मदिन यहाँको, उमेर के रहेछ ? 
खै, के भन्‍ने ? यो बढ्दै जानु स्वाभाविक हो । मैले आफ्नो समय थोरै मात्र खेर फालेको छु । धेरै सदुपयोग गरेको छु । उमेरलाई लिएर म दु:खी छैन ।

तपाईं एक हिसाबले एकान्तमा हुनुहुन्थ्यो, अहिले भेटघाट बाक्लै छ ? यसले तपाईंको एकाग्रतामा अवरोध गरेको छ कि ? 
त्यस्तो छैन । म भेटघाटका लागि बाहिर जान्‍नँ । जाने भनेको किताब किन्‍न र पत्रिका किन्‍न हो । घरमा आउन चाहनेहरू सबै विद्याका वरिपरिकै हुन्छन् । त्यसबाट मलाई बेफाइदा छैन । अनि, पहिले मलाई भेट्न खोज्‍ने मान्छे पनि त कम थिए नि । 

अहिले के गर्दै हुनुहुन्छ ? 
अहिले म बिहान बिहान दुई घण्टा लिच्छवि कालको इतिहास बोल्छु । वास्तवमा म आफ्नै हातले लेख्‍ने मान्छे हुँ । तर समय बचाउन बोल्नैपर्ने भएको छ । अहिले मलाई मेरो दिमागमा भएको कुरा रेकर्डमा-कागजमा उतार्ने समय कम हुँदै गएको जस्तो लागेको छ । म बोल्छु, एक जना मान्छे आएर टाइप गरिदिनुहुन्छ । 

अब तपाईंबाट के-कस्ता किताब आउँदै छन् ? 
एउटा त तपाईंले अस्ति लेखेअनुसार बुवाको डायरी आउँदै छ (राणाको क्‍लबको प्रवेश शुल्‍क र गृहमन्त्री बीपीको मासिक तलब दुवै १५ सय) बुवाले २००७-००८ सालमा राजनीतिक घटनाक्रममा आधारित भएर टिप्पणी गर्दै गद्य र पद्यमा संस्कृतमा लेखेको डायरी आउँदै छ । मैले त्यसको अनुवाद र सम्पादन सबैजसो पूरा गर्नै लागेको छु । म त्यसको सम्पादकीय भूमिका लेखिरहेको छु अहिले । यो किताब बुवाको श्राद्धको दिन यही कात्तिक १८ गते लक्ष्मीपूजामा फाइनप्रिन्टबाट आउँछ । त्यहीँबाट मेरो अर्को किताब मैले विभिन्‍न पुस्तकबारे अहिलेसम्म लेखेका आलोचनात्मक लेखहरू समेटेर आउँदै छ । तेस्रो लिंगीबारे पनि मेरो पुस्तक आउँदै छ । यसलाई बुकहिलले छाप्दै छ । लिच्छविकालको इतिहासबारेको किताब प्रज्ञा-प्रतिष्ठानले प्रस्ताव गरेका हुनाले म त्यसमा पनि काम गरिरहेको छु । त्यस्तै केही अघि मात्र किताब प्रकाशनले पनि मेरो किताब छाप्‍ने प्रस्ताव गर्यो । त्यहाँबाट मैले पहिला लेखेका लेखहरूको परिमार्जित-परिष्कृत रूप किताबका रूपमा आउँछ । 

ओहो ! कति धेरै किताब । पहिला छापिइसकेका भए पनि किताबका रूपमा ल्याउँदा तपाईंको धेरै मेहनत पर्छ, कुनै गल्ती नहोस् र त्यहाँ केही न केही नयाँ कुरा पनि होस् भनी तपाईंले गर्ने मेहनत मैले नजिकबाट देखेको छु । तर, नलेखिएका विषय जुन तपाईंको दिमागमा छन्, तपाईंको कोठाचोटामा छरिएका पोकापुन्तुरामा छन्, तिनमा बढी काम हुनुपर्ने होइन र ? पुराना सामग्रीमा सहयोगीले काम गरेर तपाईं नयाँतिर केन्द्रित हुनुपर्ने हो कि ?
पुराना लेखिएका त जसोतसो छँदै छन्, म पूर्ण रूपमा नयाँमै कन्द्रित हुनुपर्ने हो । तर काम लगाउन मसँग न पैसा छ, न पैसा नै दिए पनि भरपर्दाे मानिस पाइन्छ । पुस्तक प्रकाशकहरूमा पनि लगानी गर्ने, मेहनत गर्ने र राम्रो पाण्डुलिपि सम्पादक दिने चलन रहेनछ । सहयोगी पाइए पनि जे पायो त्यही गरिदेला, अन्तिममा आफ्नै टाउको दुख्ला भनेर मलाई डर लाग्छ । पछि फेरि आफूले हेर्नु परिहाल्छ, रेफरेन्स, नोट, बिब्लिओग्राफी, इन्डेक्स बुझ्ने मान्छे पाइन गाह्रो छ । म केही पीएचडीका थेसिसको गाइड भएर आएको पनि धेरै वर्ष भयो, तिनीहरूमध्ये धेरैजसोको लेखाइमा छिपछिपेपन देखेर म रुन मात्र सक्दिनँ । यस्तो छ हाम्रो समस्या । 

तपाईंलाई अब पूरा गर्न मन लागेका काम के-के छन् ? 
मलाई अहिले सबभन्दा पिरिरहेको कुरा चाहिँ आफ्नो संग्रह व्यवस्थित पारौँ, डिजिटाइज गरौँ भन्‍ने छ । यो सकिरहेको छैन । तर, आफ्नै बलबुताले म लागिरहेको छु । मलाई अरुले सहयोग गरेनन्, हेरेनन् भन्‍ने गुनासो पनि छैन । तपाईंहरूले सोध्‍ने, आएर हेरेर लेख्‍ने भएकाले मात्र हो, म समस्या छन् भनेर भन्‍ने । नत्र म आफ्नै रोजाइले लेखपढमा लागेको छु । अरु पैसा कमाउन लेखपढ गरिरहेछन्, म आफ्नो पैसा सिद्ध्याउँदै लेखपढ गरिरहेको छु । यसमा मलाई कुनै असन्तोष र पछुतो भने छैन । म नयराज पन्तको छोरा मात्र होइन, उहाँको शिष्य पनि हुँ । धन कमाउन, शक्ति कमाउन, चाकडी गर्न म जन्मेको-रहेको होइन ।  

फुटकर लेखमा पनि त तपाईं महिनौँ लाग्नुहुन्छ, पाँच-दश हजार पारिश्रमिक पाउनुहुन्छ तर तपाईंका स्टाफसमेतको खर्च जोड्दा त धेरै लगानी पर्छ क्यारे हैन र ?
अहिले म चन्द्र शमेशरकी कान्छी रानीतर्फका जेठा छोरा विष्णु शमशेरबारे लेख्दै छु । विष्णुबारे लेखिएका लेख मैले सबैजसो संग्रह गरेको थिएँ । ती सबै सजिलै भेटेँ । मदनमणि दीक्षितले नेपाल म्यागजिनमा बोलेको कुरा स्मरण स्तम्भमा छापिएको थियो- हाम्रो बिहेमा प्रमुख अतिथि भएर विष्णु शमशेर आएका थिए भनेका थिए । मैले नेपाल म्यागेजिनको त्यो लेख आफ्नो कम्प्युटरमा इन्ट्री गर्न भ्याएको थिइनँ । धुइँपत्ताल खोज्दा भेट्नै गाह्रो भो । अनि मैले उहाँका चार-पाँच थरी आत्मकथाका विभिन्‍न पुस्तक खोजेँ र त्यो प्रसंग एउटामा भेटेँ पनि । प्रमाण नदेखी, उद्धरण नगरी म केही लेख्दिनँ । सुनेको भरमा, स्रोत लुकाएर पनि मैले कहिल्यै लेखिनँ । यसरी आफूसँग भएको सानो कुरा खोज्‍न पनि मेरो समय लाग्छ । एउटा लेख, किताबको पर्खाइमा मेरा धेरै लेख पूरा भएका पनि छैनन् । यस्तोले पनि समय खाइदिन्छ, कहिलेकाहीँ । तर, दर्जनौँ कर्मचारी रहेका सरकारी-गैरसरकारी पुस्तकालयभन्दा मेरो व्यवस्थापन मेरा लागि कम भने छैन ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राम-घरेलु रामायणको कुरा गरेपछि र संसद्मै भारतीय राजकीय वाक्य भएर बसेको ‘सत्यमेव जयते’को समानान्तरमा 'सिंहमेव जयते' भनेर प्रधानमन्त्रीले बनाएकोमा तपाईंले आलोचना गर्नुभएको थियो । ‘सत्य’ शब्द चाहिँ नपुसंक लिंग भएकाले सत्यमेव जयते व्याकरणसम्मत भएको र ‘सिंह’ शब्द चाहिँ पुंलिंगी भएकाले ‘सिंहमेव’ नभई ‘सिंह एव जयते’ हुनुपर्ने भन्‍नुभएको थियो (प्रधानमन्त्रीले इतिहासको अपव्याख्या गरिरहनु भएको छ : इतिहासविद् पन्त) । अनि उनै ओली सरकारले तपाईंलाई सहयोग गर्ने कुरा आयो ? अब आलोचना गर्नुहुन्‍न ? 
म केही पाउन न त आलोचना गर्छु, न त प्रशंसा । प्रशंसा निस्किन त धेरै नै गाह्रो छ, मबाट । किनभने, यहाँको हरेक क्षेत्र प्रदूषित भइसकेको छ । म आफूले देखेको कुरा भन्‍न कहिल्यै डराउँदिनँ । मैले यसो देऊ, उसो देऊ भनेर भनेको हैन । सरकारले सहयोग गर्छु भन्यो यसमा म खुसी नै छु । अनि राजा त्रिभुवनको पालामा संशोधन मण्डलको काम सुरु भएको हो । त्रिभुवन, महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्र र रामवरण यत्रा राष्टप्रमुख भए, पहिलोपल्ट राष्ट्रप्रमुखका रुपमा विद्यादेवी भण्डारी नै हामीकहाँ आउनुभयो, यसमा म स्वाभाविक रुपमा खुसी नै छु । बजेट भाषणमा संशोधन मण्डललाई आर्थिक सहयोग गर्ने कुरा आयो । तर, पैसा भने अझै हात परेको छैन । 

२०२१ सालदेखि सुरु भएको ‘पूर्णिमा’ पत्रिका अब बन्दै भएको हो ? 
होइन, होइन । पछिल्ला तीन वर्ष चाहिँ निकाल्न सकिएन । मैले नेपालीमा ‘पूर्णिमा’ र अंग्रेजीमा ‘आदर्श’ पत्रिका चलाएँ । अब चाहिँ दुवै गाभेर संयुक्त रूपमा काम गर्दै छु । अब ‘पूर्णिमा’ चारवटा त सक्छु कि सक्दिनँ, दुइटा अंक जति त म निकालिहाल्छु । 

पूर्णिमाजस्तो इतिहास प्रधान पत्रिका बन्द भइरहेको यही बेला आम अखबार-अनलाइन इतिहासप्रधान जस्ता पनि देखिन थालेका छन् । कस्ता छन् यी ? 
खास कुरा के भन्देखिन, एउटा एकेडेमिक हिस्ट्री हुन्छ, अर्काे पपुलर हिस्ट्री । एकेडेमिक हिस्ट्री नै राम्रोसँग बनिसकेको छैन, यहाँ । यसका लागि त्यो बेलाको भाषा, त्यो बेलाको लिपिको ज्ञान, अनुशासन, साधना, धैर्य चाहिन्छ । यहाँ विश्वविद्यालय खुलेको ६२ वर्ष भयो । हिजो मात्र ‘हिमाल’ पत्रिका छापिएर आएछ । हराएका मूर्तिका विषयमा मूल लेखसहित धेरै सामग्री रहेछन्, त्यसमा । तर, ‘हिमाल’मा विश्वविद्यालयका प्रा.डा. अनि पुरातत्त्वका हाकिमको मैले केही भेटिनँ । उनीहरू एक्स अफिसियो (पदेन) प्रतिक्रिया दिन सक्ने हैसियतमा मात्र पुगेका रहेछन् । त्यहाँ मेरै अनि हाम्रै संशोधन मण्डलका पुराना सदस्य गौतमवज्र वज्राचार्यको लेख छ । अहिले इतिहास, संस्कृति, पुरातत्वको जिम्मा लिएका न विश्वविद्यालयका, न सरकारी संस्थाका मानिसको एकेडेमिक हिस्ट्रीमा न पपुलर हिस्ट्रीमा कलम चलेको देखिन्छ । त्यसैले अहिले पत्रकारहरू इतिहास खोतल्न बढी लागेको देखिन्छ । वर्तमान बिग्रेको भएर पनि हो कि सबै इतिहासमुखी भएको ? पत्रपत्रिकामा आउने लेखमा सबै कुरा खोजेर त साध्य पनि हुँदैन । तर तथ्यमा ख्याल नगर्ने, त्यसबारेका पर्याप्त अध्ययन हुँदाहुँदै खोजी नगर्ने, असत्य भनेर प्रमाणित गरिसकेका कुरा नपढी भ्रमपूर्ण कुरा लेखिरहने अनि जानीजानी वा अन्जानवश कसैलाई विनातथ्य बोक्ने र ठोक्ने काम पनि भएको देखिन्छ । यसले ज्ञानमार्गलाई धेरै साँघुरो र फोहोर बनाइरहेको छ ।  

म नयराज पन्तको छोरा मात्र होइन, उहाँको शिष्य पनि हुँ । धन कमाउन, शक्ति कमाउन, चाकडी गर्न म जन्मेको-रहेको होइन ।  

तपाईंहरूजस्तो एकेडेमिक हिस्टोरियनहरू पनि त पपुलर हिस्ट्रीतिर लाग्‍नुभएको छ, अचेल ? 
पपुलर हिस्ट्रीमा आयो भने अलिकति चर्चा हुने रहेछ । तत्काल प्रतिक्रिया पाइने रहेछ । आफ्ना कुरा धेरै पाठकसम्म पुगोस् भन्‍ने चाहनाअनुसार पत्रपत्रिका ठीक रहेछ । तर पत्रिकामा लेख्दैमा पपुलर वा किताब/जर्नलमा लेख्दैमा एकेडेमिक भन्‍ने हुँदैन । यहाँ स्तरहीन पुस्तक/जर्नल पनि धेरै नै छन् र स्तरीय पत्रिका/अनलाइन पनि छन् । मेरो कुरा गर्नुहुन्छ भने म पत्रिका त हो भनेर जे पायो त्यही कुरा, सस्तोमस्तो तरिकाले लेखिरहेको छैन ।

अहिले मानिसलाई खर्च धेरै चाहियो, खर्च चाहिया हुनाले एकाग्रता गुम्यो, लेखपढको काममा अथवा आफ्नो काममा रमाउने चलन नै गुम्यो ।  

पहिला म ‘पूर्णिमा’ निकाल्थेँ, ‘पूर्णिमा’मै लेख्थेँ । किताब आफैँ वा साथीभाइमार्फत छापिन्थे । यस्तो ६० वर्षदेखि भइरहेको थियो । तर, ‘राजधानी’ पत्रिकामा पन्ध्र-पन्ध्र दिनमा लेख्‍न थालेपछि अनि ‘नागरिक’ दैनिकमा तपाईंले अन्तर्वार्ता लिएपछि म धेरै चिनिएँ । मलाई धेरैले सम्झिन थाले । पुस्तक छाप्ने, पत्रिका छाप्नेहरूको नजरमा म बल्ल परेँ । सम्मान गर्नेहरूसमेत अखबारकै आधारमा हेर्छन्, एकेडेमीसमेत यस्तै । पाँच वर्षयता मैले पाएको चर्चाले के पनि बताउँछ होला भने- यहाँ गुदी कुरा पढ्ने, स्तरीय जर्नल, किताब पढ्ने चलन हराएको छ । 

अहिलेको समयमा हाम्रो बौद्धिक वर्ग, इतिहासकार लेखक तपाईंका शब्दमा ऐतिहासिक मसीजीवीको मुख्य समस्या के देख्नुहुन्छ ? 
अहिले मान्छेलाई आफ्नो लिमिटेसन भएन । हरेकलाई धेरै पैसा चाहिने भयो । जीवनशैली महँगो भयो । उहिले बाहुनको छोरोले राणाको जति सम्पत्ति भएन भनेर कमाउनतिर धेरै मन दिँदैनथे । उनीहरू धनमा हैन, विद्यामा प्रवृत्त हुन्थे । तर, अहिले सबैलाई धनी हुनुपरेको छ ।  

एउटा उदाहरण, मेरो बाजे (बुवाको बुवा) कृष्णदत्त पन्तले वनारसमा  पढ्नुभयो । अनि उहाँ रानीपोखरी संस्कृत पाठशालामा अध्यापक बन्‍नुभयो । उहाँको आफ्नो हाकिमसँग ठ्याक भएन । जागिर छोडेर वा खोसिएर उहाँ गोरखा नै फर्किनुभो । मेरी बज्यै चाहिँ काठमाडौँको पाँच पुस्तादेखिको बासिन्दा, उहाँ बाजेको पछि लागेर गोरखा जानुभएन । अब अहिले भए अध्यापक भएको मान्छे, यहाँ चार आना जग्गा जाेडेर यहीँ बस्छ, गाउँ त सकेसम्म फर्किंदैन । चारआनाका लागि नानाभाँती गर्नुपरेकै छ, अहिले । त्यो त मैले मेरो बाजेको मात्र कुरा गरेँ । त्यतिबेला यहाँ काठमाडौँमा जागिर सिद्धिएपछि घर गाउँ फर्किएका चार-पाँच जनाको बारेमा मलाई थाहा छ । अहिले मानिसलाई खर्च धेरै चाहियो, खर्च चाहिया हुनाले एकाग्रता गुम्यो, लेखपढको काममा अथवा आफ्नो काममा रमाउने चलन नै गुम्यो । पैसा, पैसा, पैसा यसले धेरैलाई बिरामी पारेको देख्छु म । बाबुराम आचार्य वा हाम्रै बाबुहरूले छाप्‍न पाउँछु, पैसा आउँछ भनेर लेख्या होइन नि ।  लेख्यो राख्यो, लेख्यो थन्क्यायो, यस्तो हुन्थ्यो उहाँहरूको काम ।

लेख्‍ने-पढ्ने, बौद्धिक हुने जिम्मा वा ठेक्का के धनीमानीको मात्र हो त ? लेखपढबाट न्यूनतम आवश्यकता पनि पूरा नहुने भएपछि, जसलाई दिनरात पेटको चिन्ता छैन उही त लेखक हुने भयो नि, हैन र ? 
त्यो त हामी भन्‍न सक्दनौँ । तर, सन्तुलन मिलाउन सक्नुपर्‍यो । लेखेर पनि अलिअलि त आउँछ नि । पहिला जस्तो गाह्रो पनि त छैन । प्राज्ञहरू, प्राडाहरू, कर्मचारीहरू लेख्ने-पढ्ने पदकै नाममा पैसा लिइरहेका छन्, खै त उनीहरूले लेखेको ? लेखेरै खाने भनेर सुनेको त हामीले डायमनशम्शेरलाई हो । मलाई लाग्छ, त्यो पनि गफै हो । धनीमानीमध्ये लेख्‍ने-पढ्ने कसले गरे त ? त्यही कमलमणिले गरे, अरु धेरै कसले गर्‍यो त ? साहित्य रचना गर्ने कुरा छोडिदिनुस्, अध्ययन-अनुसन्धानको कुरा गरेको मैले । जे जस्तो बाधा आइपरे पनि लेखपढमा रमाउने मेरो जस्तो स्वभाव पनि भित्रैबाट आउने कुरा हो कि ? 



Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।


थप समाचार