वार्ता

इकागज सम्वादमा मणि थापा

‘हामीले एमाले र माओवादी दुवै छोडिसक्या हो’

‘यो हिजोको एमाले होइन’

विनोद देवकोटा |
भदौ ११, २०७८ ७:२९ बजे

पार्टी २ जेठ २०७५ पूर्वको अवस्थामा फर्किएको दाबी गर्दै यसअघि माधव नेपाललाई साथ दिइरहेका नेकपा एमालेका नेताहरू मूलघरमा फर्किए । २ जेठअघि अर्थात् नेकपा माओवादीसँग एकता हुनुपूर्वको अवस्था । मूलघरमा फर्किएकाहरूले पूरानै जिम्मेवारी समेत पाएका छन् । तर, तत्कालीन नेकपा खारेजपछि एमाले रोजेका पूर्व माओवादीहरूको हालको अवस्था के हो ? उनीहरूको एमालेमा जिम्मेवारी के छ ? नेता मणि थापा एमाले जेठ २ मा फर्किएको कुरामै सन्देह व्यक्त गर्छन् । त्यसलाई उनले कानुनी बाध्यताका रूपमा अर्थ्याएर एमाले जेठ ३ को अवस्थामा रहेको दाबी गरे । ‘एमाले सर्वोच्चको फैसलाको कारण जेठ २ मा फर्किएको हो,’ उनको तर्क छ, ‘राजनीतिक रूपले जेठ ३ मा छ । कमरेड केपी ओलीले पनि अहिलेको एमाले नेकपाको निरन्तरता हो भन्नु भएको छ ।’ यसै सन्दर्भमा एमाले नेता थापासँग इकागजकर्मी विनोद देवकोटाले गरेको कुराकानीः

नेकपा एमाले २ जेठ २०७५ पूर्वको अवस्थामा फर्कियो भनिएको छ, यहाँहरू त किनारा लाग्नु भयो नि हैन ? कता फर्किनु भयो ? 


ADVERTISEMENT

- होइन, नेकपा एमाले कानुनी रूपले जेठ २ मा फर्किएको हो । सर्वोच्च अदालतको फैसलाको कारणले जेठ २ मा फर्किएको हो । राजनीतिक रूपले जेठ ३ मा छ । कमरेड केपी शर्मा ओलीले पनि अहिलेको एमाले नेकपाको निरन्तरता हो भन्नु भएको छ । राजनीतिक रूपले नेकपाको निरन्तरताको रूपमा हामी रहेका छौँ । हाम्रो पोजिसनमा केही दाँयाबाँया हुँदैन । 

एमाले जेठ २ पूर्वको अवस्‍थामा फर्किएपछि त यहाँहरू एमालेमा नवप्रवेशी हुनुभयो नि हैन ? 
- होइन, मैले माथि नै भने, हामी नेकपाकै निरन्तर प्रक्रियामा छौँ । अध्यक्ष कमरेड ओलीले पनि त्यसरी ब्याख्या गर्नुभएको छ । 

सर्वोच्चको आदेशले त एमाले र माओवादी ब्युँतिएको होइन र ? कसरी नेकपाकै निरन्तरता हुन्छ ?
-आदेशलाई बाध्यकारी रूपले स्वीकार गर्नुपर्ने स्थिति त छँदै छ । तर, यो हिजोको एमाले होइन, नयाँ एमाले हो । 

तर, पूर्ववत् अवस्थामा फर्किएसँगै एमाले नेताहरू पुरानै जिम्मेवारीमा फर्किए, यहाँहरूको जिम्मेवारी के त ? 

- कानुनी रूपले त्यसलाई हामीले केही समय मान्नुपर्ने हुन्छ । अदालतको फैसला कानुनी रूपमा मान्नुपर्छ । तर, राजनीतिक रूपले अहिलेको यथार्थसँग त्यो मिल्दैन । योबीचमा एमालेले चार/पाँच महिना बिताएर एउटा इतिहास निर्माण गरिसक्या छ । त्यसकारण वैधानिक रूपले केही मिलाउनु पर्नेछ । तर, त्यसले खासै केही फरक पारेको छैन ।

लामो संघर्ष गरेर एमाले स्थापित गरेका नेताहरू अलग–अलग भए । यहाँले एमालेको बचाउ गरिरहनु परेको छ । त्यो बनावटी जस्तो देखिँदैन ? भोलि एमालेका नेताहरूले प्रश्न उठाउँलान् भन्ने लाग्दैन ?

- प्रश्न उठाउनु नै गैरमार्क्सवाद हुन्छ । किनभने हामीले एमाले र माओवादी दुवै छोडिसक्या हो । नेपालको कम्युनिष्ट आन्दोलनले नेकपा स्थापित गरेको हो । नेकपा के कारणले विघटन भयो भन्ने कुरा गहिरो विश्लेषण भएको छैन । त्यसकारण एमाले वा माओवादीले त्यसलाई विश्लेषण गरेर ग्रहण गर्न सकेन भने रहँदैनन् । एमाले, माओवादी वा माधव कमरेडले नेतृत्व गरेको पार्टी पनि टिक्दैन । त्यसकारण सबैले नेकपा निर्माणकै आधार बनाउनुपर्ने हुनाले विश्लेषणमा जोड र कोण त फरक पर्ला तर, आधारभूत, वैचारक रूपमा त्यति फरक पर्दैन ।

नेकपा एमाले कानुनी रूपले जेठ २ मा फर्किएको हो । राजनीतिक रूपले जेठ ३ मा छ । कमरेड केपी शर्मा ओलीले पनि अहिलेको एमाले नेकपाको निरन्तरता हो भन्नु भएको छ । तत्कालीन नेकपाको निरन्तरताको रूपमा हामी छौँ ।

एमाले–माओवादी दुवै छोडिसकेको बताइरहदा एमालेको तत्कालीन विचार, नीति र सिद्धान्तमा त केही परिवर्तन भएको छैन । छोडेको कि यहाँहरू एमालेमा विलीन भएको ?

- होइन, अदालतको फैसलाका कारण उहाँहरूले त्यही ‘प्लेटफर्म’ समातेर बस्नुपर्ने स्थिति छ । तर, विचारमा कम्युनिष्ट आन्दोलन एक ‘स्टेप’ माथि बढिसकेको छ । त्यो एक ‘स्टेप’माथि बढेकोलाई नै सबैले समाउनुपर्ने स्थिति आउँछ होला । 

भनेको अब यहाँहरूले जबजको व्याख्या गर्दै बस्नुपर्दैन । एमालेमा वैचारिक/सैद्धान्तिक बहस सुरु गर्नुहुन्छ ? 

- वैचारिक बहस त सुरु हुन्छ । हामीले त एक्काइसौँ शताब्दीको जनवाद, जनताको बहुदलीय जनवाद र जनताको जनवाद यी तीनवटा कोणमा छलफल गरिरहेका छौँ । पछिल्लो चरणमा नेपालको कम्युनिष्ट आन्दोलन जनताको जनवाद हुँदै समाजवादमा जाने भन्ने निष्कर्ष हो । नेपालको कम्युनिष्ट आन्दोलन त्यो निष्कर्षमा पुगेको हो । मलाई लाग्छ, त्यही निष्कर्षको पेरिफेरिबाट नयाँ बहसको प्रारम्भ हुन्छ । त्यही नै ऐतिहासिक दायित्व पनि हुन्छ ।

माओवादी छोडेर एमालेमा जानुभयो, अहिले एमालेको सबैभन्दा ठूलो शत्रुजस्तै छ माओवादी । दुई कम्युनिष्टबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्‍छ । अब माओवादीकै विरुद्धमा जानुपर्दा असहज महसुस हुँदैन ?
- राजनीतिमा असहज भन्ने हुँदैन । तर्कहरूको सान्दर्भिकता मिलेको हुनुपर्छ । एमाले र माओवादीले आफैँलाई विघटन गरेर नयाँ पार्टी बनाएका हुन् । नेकपा विघटन भएर दाँयाबाँयाँ लागिसकेको अवस्थामा त्यो प्रश्न उठ्दैन । पछाडि फर्किनुभन्दा पनि अगाडि बढ्नुपर्छ । हो, राजनीतिक प्रतिस्पर्धा त यी दुईटाबीच हुन्छ । शत्रुको परिभाषा त हुँदैन । शत्रु त बरु नेपालको पुँजीपती वर्ग अथवा कांग्रेस पार्टी मुख्य प्रतिस्पर्धी हो । राजनीतिक शक्ति सन्तुलन र फुटको कारणले अहिले प्रतिस्पर्धी देखिए पनि अन्ततः यिनीहरूकै बीचमा कहीँ न कहीँ तालमेल हुन्छ ।

तालमेलको कुरा गरिहाल्‍नु भयो, फेरि माओवादीसँगै भेट हुने सम्भावना छ कि छैन ? वा एमालेबाट छुटिएकाहरूसँग भेट होला ?
- मैले चाहिँ पूर्व एमालेहरू धारको बीचमा कतै न कतै भेट हुने सम्भावना देखेको छु । चुनावी मोर्चामा होला अथवा संयुक्त मोर्चामा । अब माओवादीको अहिलेको माधवकुमार नेपालसँगको ‘कनेक्सन’ हेर्दा माओवादी पनि पूर्व एमालेसँगकै ‘कनेक्सन’मा रहेको देखिन्छ । त्यसका कारण कतै न कतै पार्टीगत एकता, कार्यगत एकता वा संयुक्त मोर्चा कुनै चरणबाट फेरि गुज्रिन्छ केही समयपछि । 

माओवादी संघर्षबाट आउनु भयो । त्‍यही आन्दोलनबाट स्थापित हुनुभयो । फरक राजनीतिक ‘स्कुलिङ’बाट आएर एमालेको छातामुनि छहारी लागिरहदा कतै भूल गरिएछ कि भन्ने त लाग्दैन ? कि फेरि माओवादीमा फर्किने सम्भावना छ ? 

- प्रचण्ड कमरेड कहाँ फेरि फर्किने भन्ने त छैन । तर, फेरि एमालेको ‘स्कुलिङ’ अलिकति फरक भएको हुनाले यसमा ‘एडजस्ट’ हुन त्यति सजिलो चाहिँ छैन । भइरहेको छैन । त्यो कुरा प्रष्ट नै हो । तर, हामीले निर्माण गर्न खोजेको फरक हो । एमालेको ‘स्कुलिङ’ पनि अलिकति पछाडि परिसकेको र माओवादीको पनि पछाडि फर्केको ‘स्कुलिङ’ हो । तर, नेपाललाई चाहिने कम्युनिष्ट ‘स्कुलिङ’ जुन छ त्यो निर्माण गर्न एउटा मात्रै पार्टीले सम्भव छैन । त्यसकारण नेकपा बनेको थियो । तर, त्यो रहेन । अब भएको चिजलाई नयाँ ढंगले फेरि स्थापित गर्नुपर्ने, नयाँ बहस गर्नुपर्ने आवश्यकता छ । तर, अफ्ठ्याराहरू छन् । चारैतिर अफ्ठयारो छ । अफ्ठ्यारो नभएको भए कम्युनिष्ट पार्टी यसरी टुटफुटतिर जाने नै थिएन । 

हुन त, माओवादी छोड्नुमा वा एमालेमा आउनुमा कुनै राजनीतिक, वैचारिक र सैद्धान्तक ‘फ्याक्टर’ले काम गरेको थिएन । व्यक्तिप्रतिको वितृष्णा वा असहमति मात्रै त हो नि हैन ? 

- होइन, माओवादी ‘स्कुलिङ’को पनि समीक्षा भइसक्या थिएन । समीक्षा नहुँदै नेकपा बन्यो । हामी माओवादीभित्रै पनि त सिंगो थिएनौँ । पाँच/सात घटक मिलेर माओवादी केन्द्र बन्या हो । माओवादीमा एउटै ‘स्कुलिङ’ पनि थिएन । प्रचण्ड र बाबुरामजीको छुट्टै ‘स्कुलिङ’, वैद्यजीको अथवा हाम्रो पनि सानासाना ‘स्कुलिङ’ भएर त माओवादी आन्दोलन छिन्नभिन्न भयो नि । त्यसकारण माओवादी आन्दोलनको ‘स्कुलिङ’ नै छैन । तर, एमालेमा थिएन । दुईटै मिलाएर नयाँ बन्छ भन्ने थियो । त्यो पनि दुर्घटना भयो । नेपालको कम्युनिष्ट आन्दोलनकै ‘स्कुलिङ’ के हो भन्ने अहिले प्रश्न उठिरहेको छ । मलाई लाग्छ अब बहस त्यहाँबाट सुरु गर्दा मूल ‘स्कुलिङ’ बन्छ । 

एमालेमा घुलमिल र स्थापित हुन सजिलो छैन भनेर यहाँले नै स्वीकार गरिसक्नुभयो । अब राजनीतिक र वैचारिक बहस चलाउने भनिरहनु भएको छ, अन्तरपार्टी संघर्ष कसरी सक्नुहुन्छ ? चुनौती त धेरै छन् नि ? 

- चुनौती होला वा सहज होला त्यो अलग कुरा हो । चुनौती चाहिँ नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ तरिकाले ‘रिभाइभ’ गर्नेछ । त्यो अवस्थामा आइपुग्यो ।

आफैँले आफैंलाई स्थापित गर्न र एमालेमा रहेको गुटगत प्रवृत्ति र एकले अर्कोलाई निषेध गर्ने परम्परालाई चिर्न पनि त ठूलै चुनौती छ नि ? 

- त्यो त एमालेमा मात्रै होइन माओवादीमा पनि त्यतिकै छ । एमालेमा पनि रहेछ भन्नुपर्‍यो । अहिले त प्रष्टै भयो । अब यो सबैको सामूहिक चुनौतीबाट प्रयत्न गर्नुपर्छ । हामीलाई पनि चनौती त छ । किनभने हामीले आफ्नो ‘स्कुलिङ’ छाडेर आएको हुनाले हामीलाई चुनौती पनि छ र सम्भावना पनि । नयाँ ढंगले विश्लेषण गर्न पाउने, पुरानो मान्यतालाई छोडेर नयाँ मान्यतामा आउन सक्ने ‘स्पीड’ जुन देखाएका छौँ । चुनौती सम्भावना दुईटै छ । 

तर, यहाँले जसरी सजिलै एमालेलाई नयाँ ढंगले वैचारिक/राजनीतिक रूपमा रूपान्तरणको कुरा गर्नुभयो, त्यो एमालेमा सम्भव छ त ? यहाँहरूको उपस्थितिले त्यो सम्भव छ ? यहाँहरूको कुरा सुन्नुहुन्छ ?

- होइन, सुन्ने कुरा त शक्तिले मात्रै निर्धारण गर्दैन । हामीले कस्तो बहस कसरी गर्छौ भन्ने कुरा, कुन विचार ल्याउँछौँ भन्ने कुराले आधार बनाउने हो । चुनौती सबैलाई सबैतिर छन् । ती साझा हुन् । कम्युनिष्ट आन्दोलन नै संकटबाट गुज्रिरहेको हुनाले व्यक्तिभन्दा पनि यसलाई साझा रूपमा लिनुपर्छ ।
 



Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा संवाददाता हुन्।


थप समाचार