वार्ता

इकागज संवार्ता : प्रधानसेनापति पूर्णचन्द्र थापा

भावी पिँढीले इतिहास बुझेनन् भने राष्ट्र जोगिन गाह्रो छ

‘म अब सक्रिय कृषक हुन सक्छु’

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा तीन वर्षे कार्यकाल पूरा गरी अब अवकाश जीवनमा फर्कंदैछन् । उनी नवराष्ट्रिय विभूति भक्ति थापाका दरसन्तान हुन् । उनलाई थाहा हुँदासम्म आफ्नै पाँच पुस्ता क्रमशः एक–एक तहमाथिको अधिकृत पद हुँदै आफू प्रधानसेनापतिमा पुगेको विगत सम्झन्छन् । उनी नेपाल एकीकरण र भूमि रक्षामा लागिपरेको एक सैन्य परिवारका सदस्य हुन् । यद्यपि उनीपछिका सन्तति सेनामा छैनन् । ४१ वर्ष ८ महिना २२ दिन नेपाली सेनामा बिताएर करिब एक लाख नेपाली फोर्सको नेतृत्व गरिसकेका थापाले यसअघि अन्तर्राष्ट्रिय फोर्सको पनि नेतृत्व गरेका थिए, गोलनहाइटमा बसेर । राष्ट्रिय अन्तर्राष्ट्रिय सेनाको अब्बल नेतृत्व ठहरिएका उनी अब साधारण नागरिकका रूपमा ‘कृषि कर्म’मा रम्न चाहन्छन् । उनले सुरु गरेका केही सुधारको कार्य आफ्ना उत्तराधिकारी प्रभुराम शर्माले लगातार अघि बढाउने र कतिपय बाँकी रहेका काम फत्तेसमेत हुनेमा विश्वस्त छन् । प्रधानसेनापति थापाले सरकारी निवास शशिभवन छाड्नुअघि इकागजका प्रधान सम्पादक हरिबहादुर थापा र प्रबन्ध सम्पादक चन्द्रशेखर अधिकारीले गरेको कुराकानीको सारसंक्षेप :

झण्डै ४२ वर्ष सैनिक पोसाकमा रम्नुभयो, सेनालाई समेत नेतृत्व दिनुभयो, अब जागिरे जीवनलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
सेनामा प्रवेश गर्नुअघि नै म स्पष्ट थिएँ र छु । सबैभन्दा पहिला हामीले बुझ्नैपर्छ, जागिरे मनोवृत्तिले मुलुक र राष्ट्रको सेवा गर्न सम्भव नै छैन । संस्थाप्रति नै समर्पित भएर आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने हुन्छ । सेना, नागरिक र मुलुकको रक्षाका लागि नै सधैँ तयार भएर रहनुपर्ने फोर्स हो । यस्तो जिम्मेवारी वहन गर्न जागिरे मानसिकतामा होइन, सर्मपण भावमा गम्भीर भए मात्र काम गर्न सकिन्छ । सेनाले त झन् सेवा र समर्पण भावबाट काम गर्न सकेन भने कोही पनि व्यक्ति यसमा प्रवेश गर्नुको अर्थ रहँदैन । म मुलुक र नागरिकको रक्षाका लागि हुँ भन्ने भावबाट मात्र यो फोर्स अघि बढ्न र मुलुक हितलाई जोड दिन सम्भव हुनेछ । अन्यथा, सेनामा रहनुको कुनै अर्थ हुँदैन । मैले सेनामा रहँदा जागिर खान मात्र आएको भनी कहिल्यै सोचिनँ । आफ्नो जिम्मेवारी कसरी पूरा गर्ने भन्नेमा नै समय बित्यो । त्यही भाव राखेर अघि बढ्दा सबैको माया र मेरो कामका कारण नेतृत्व दिन सकेँ । चार दशक लामो अनुभवले त्यही भन्छ, सेनामा प्रवेश गर्नु भनेको मुलुकप्रति म समर्पित हुन्छ भनेरै आउनुपर्छ । त्यही मनोविज्ञानलाई हामीले बढावा दिन सक्नुपर्छ । भावी पुस्ताले पनि त्यही भाव लिन सक्नुपर्छ । त्यसमा आकर्षण बढाउन पनि आवश्यक छ । 


ADVERTISEMENT

आफ्नो चार दशक लामो जागिर जीवनमा सेवा भाव भएका व्यक्ति बढी पाउनुभयो कि जागिरे मनोवृत्तिका ?
समग्रमा नेपाली सेनामा भर्ना हुन आउनेहरू मुलुकप्रति समर्पण भाव बोकेर आएका हुन्छन् । त्यो मानसिकता बोकेका व्यक्ति नै नेपाली सेनामा प्रवेश गर्ने हुनाले होला, अधिकमा सेवाभाव नै देखेँ । नेपालको गरिबी र विगतको केही सोच एवं देखासिकी गर्ने बानीले केहीमा जागिरे मनोवृत्ति छ नै । त्यसलाई घटाउँदै राष्ट्रको रक्षा गर्ने समर्पण भावसहितको जनशक्तिलाई आकर्षण गर्नेतर्फ नेपाली सेना लाग्नुपर्छ । मैले त्यसैमा जोड दिएँ । भावी नेतृत्वहरूले पनि यसैलाई ध्यान दिएर अघि बढाउनेछन् भन्ने विश्वास मैले लिएको छु ।

आफैँले मूल्यांकन गर्दा सेकेन्ड लेफ्टिनेन्टदेखि सैन्य नेतृत्वसम्मको जीवनलाई कसरी मापन गर्नुहुन्छ ?
विगतको भन्दा पनि मैले नेतृत्व गरेको सेनाको समयको विषयले बढी महत्व राख्ला । कोभिड–१९ का कारण बिथोलिएको र त्रास फैलिएको परिस्थितिमा पनि सैनिक संगठनलाई राष्ट्र र नागरिकप्रति पूर्ण समर्पित गर्ने प्रयत्न गरेँ । सेनाको जिम्मेवारी र नेतृत्वलाई कसैले पनि कम आँकलन गर्न मिल्दैन । मैले सेनाको संरचनालाई थप बलियो र अब्बल बनाउन सात लक्ष्य निर्धारण गरी अघि बढेको थिएँ । त्यसमा पाएको साथ र सबै उत्साह हेर्दा प्रधानसेनापतिको कमान्ड मार्गनिर्देशनको लक्ष्यमा म पूर्णतः सन्तुष्ट छु । त्यसमा राखिएका अधिकांश लक्ष्य प्राप्त भएका छन् । कतिपय दीर्घकालीन रूपमा गर्दै जाने काम छन् ।

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, भिजन २०३० जस्ता कार्यक्रमले निरन्तरता पाउनु आवश्यक हुन्छ ।
 

त्यसलाई भावी नेतृत्वले पनि अघि बढाउँदै जाने विश्वास लिएको छु । उदाहरणका लागि, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, भिजन २०३० जस्ता कार्यक्रमले निरन्तरता पाउनु आवश्यक हुन्छ । कोभिडको परिस्थितिमा कैयन् लक्ष्य हासिल हुन सक्दैन कि भन्दा ती लक्ष्य अत्यन्त उत्साहजनक ढंगले प्राप्ति भएकाले म निकै सन्तुष्ट छु । संस्थाको सकल दर्जाको ‘कन्ट्रिब्युसन’को जस सकल दर्जाका सबैलाई दिन चाहन्छु । मेरो सचिवालय टिम र अन्य सबै पक्षबाट साथ पाएर नै यति काम हुन सम्भव भएको हो । अन्यथा यो असहज थियो ।

यहाँले अघि बढाएका काम आगामी नेतृत्वले निरन्तर दिनेछन् भन्नेमा यहाँ निश्चिन्त हुनुहुन्छ ?
पक्कै निरन्तरता रहन्छ । यसमा कुनै शंका छैन । जे सुकै भने पनि नेपाली सेना जस्तो संगठनमा विगतमा भएका राम्रा कामको निरन्तरता दिइन्छ नै । जुन निरन्तरता मैले पनि दिएको हुँ । भावी नेतृत्वले पनि राम्रा कामको निरन्तरता दिनेमा आशंका राख्नै पर्दैन । नेपाली सेना जस्तो संगठनमा निरन्तरताको आफ्नै महत्व र आवश्यकता हुन्छ । यसमा जति पनि काम अघि बढ्छ जति पनि कार्यहरू अघि बढ्छन् तिनको ‘इन्स्टिच्युसनल मेमोरी’ हुन्छ नै । झन् कतिपय काममा भावी नेतृत्व संलग्न भएर अघि बढाइएको हुन्छ । जसले गर्दा सहज हुन्छ । अबको नेतृत्वकर्ता प्रभुराम शर्माले पनि त्यसरी नेतृत्व ‘ग्रुम’ गरी अघि बढ्नुहुन्छ । अनि संलग्न गराउँदै लैजानुहुन्छ, जसरी उहाँ मसँगै रहेर काम गर्नुभयो । नेपालको संविधान, राष्ट्रियता र प्रतिरक्षा नीतिमा अघि बढेर हामीले काम गरेका हुन्छौँ । ती कामहरू अघि बढ्नेमा विश्वस्त छु । ‘भिजन-२०३०’को विषयमा पनि भावी नेतृत्वले पनि महत्वपूर्ण कार्यहरूको अपनत्व लिएको कारणले गर्दा भविष्यमा अझ बढी सान्दर्भिकता र मिलन हुनेछ । मेरो कार्यकालमा अघि बढेको हरेक काम र हरेक क्षेत्रको ‘लिड-रोल’ वर्तमान नेतृत्वकै रहेकाले अहिलेलाई निरन्तरताको कुनै समस्या नै हुँदैन ।

हाम्रा सबैजसो क्षेत्रमा राजनीतिक हस्तक्षेप बढ्दो छ, सेनामा राजनीतिक हस्तक्षेपको प्रयास कस्तो पाउनुभयो ?
सबैभन्दा पहिले त नेपाली सेना जस्तो संगठनमा कुनै पनि खालको राजनीतिक चरित्रले काम गर्दैन । त्यहाँ त्यस प्रकारको हस्तक्षेप र दबाब हुनु हुँदैन । त्यस्तो हुन खोजेमा त्यो हुन दिनु हुँदैन । त्यो हुन दिने या नदिने भन्नेमा पनि संगठनको नेतृत्वको महत्वपूर्ण हात हुन्छ । संगठन आफैँ पद्धतिमा चल्दा त्यो हुने अवस्था नै रहँदैन । उदाहरणका लागि, शान्ति सेना र भर्ना छनौटलाई पारदर्शी बनाएपछि त्यस्ता क्षेत्रमा हस्तक्षेप हुने ठाउँ नै रहँदैन । आफू ठीक ठाउँमा र प्रचलित ऐन कानुनको पालना गरेमा हस्तक्षेप हुने सम्भावना रहँदैन । पद्धति र प्रणाली ठीक भएमा त्यो राजनीतिक हस्तक्षेपको सम्भावना हुँदैन । नेपाली सेना जस्तो संगठनमा त्यो अवस्थाको परिस्थिति हुन्छ जस्तो लाग्दैन । किनकि मेरो कार्यकालमा धेरै त्यस किसिमका दबाब सामना गर्नुपरेन । कार्यकालको सुरुवाती दिनमा नै मैले यी कुरा स्पष्ट पारेको थिएँ । भनसुन लगायतका पक्षमा दबाबको सामना गर्न परेन । पद्धति र प्रणालीमा चल्न प्रधानसेनापतिको मार्गनिर्देशन र नेतृत्व तहमा गर्ने ‘इन्गेजमेन्ट’मा पनि त्यस कार्यमा अघि बढ्दै छ भन्ने पक्ष प्रस्ट पारेपछि त्यसमा लैजानुपर्ने देख्दिनँ ।

यहाँले पटक-पटक भन्दै आउनुभयो कि नागरिक अघि-अघि सेना पछि-पछि, यो के भन्न खोज्नुभएको हो ?
मुलुक अघि बढ्ने भनेको नागरिक, सरकार र सेना सहकार्यमा हो । यद्यपि सेना सरकारकै एउटा अभिन्न अंग हो । जब राष्ट्रिय सुरक्षाका विषयमा कुरा उठ्दा सेना एक ‘स्टेप’माथि रहेर सोच्न थाल्छ । कसैको आँखामा सरकार, सेना र नागरिक फरक–फरक पक्ष हुन सक्ला, तर सेनाले एकै पक्ष र सहकार्यका दृष्टिकोणबाट हेर्ने गर्छ । नागरिकसँग सेनाको अन्योन्याश्रित सम्बन्ध नौलो आयाम होइन । सँगै हातेमालो गरेर अघि बढेको कारण नेपालको राष्ट्रिय सुरक्षा भएको हो । सेनाले नागरिकप्रति दायित्व बोध गर्नुपर्छ । नेपाली सेना, सर्वसाधारण नागरिक र सरकार सहकार्यले मुलुक हित हुनेछ ।

यो त्रिकोणात्मक सम्बन्धमा तल-माथि हुन दिनुहुन्न । नागरिकको हितका लागि व्यवहार आवश्यक छ । हामीले पनि सम्भव भएसम्म नागरिकको सुख–दुःखमा साथ दिएका छौँ । केही वर्षअघि हावाहुरीले बितण्डा मच्चाएपछि सेनाले बारा–पर्सामा नागरिकलाई पुर्‍याएको योगदान महत्वपूर्ण छ । त्यस्तै भूकम्पको समयमा नागरिकसँगै रहेका थियौँ । सेनाले जहिले पनि आफ्नो आँखामा एकातर्फ सरकार र अर्कातर्फ नागरिकलाई हेरेको हुन्छ । सरकारको निर्देशन र नागरिकको चाहनालाई बुझेर अघि बढेको छ, नेपाली सेना । नेपालको राष्ट्रिय सुरक्षा सार्वभौमसत्तासम्पन्न मुलुकलाई अघि बढाइराख्न संगठन चुस्त हुनुपर्छ । नेपाली सेनाको आधिकारिक दायित्व पनि त्यही हो । त्यहीभित्र अडेर सेनाले विकास निर्माणको काम पनि गरिरहेको हुन्छ ।

ऐतिहासिक एकीकरण मार्गलाई यहाँले निकै जोड दिनुभयो, यसको राज केही छ कि ?
कुनै पनि राष्ट्रको सभ्यता, संस्कृति, परम्परा र इतिहासलाई नागरिकले बिर्सन मिल्दैन । आगामी पुस्तालाई विगतको अवस्था झल्काइरहनु पर्छ । नेपालको इतिहास पुस्तान्तरण गर्न सकिएन भने इतिहास बिर्सने सम्भावना हुन्छ । हाम्रो मुलुकलाई स्वतन्त्र राख्न र विकासमा अघि बढाउन पुर्खाको के भूमिका थियो ? सेना र नागरिकको सम्बन्धलाई नजिक ल्याउन के गरेका थिए ? त्यसमा सन्देश दिन जरुरी छ । त्यहीअनुरूप इतिहास पुस्तान्तरण होस् भन्ने दृष्टिकोणबाट सुरु गरिएको हो । नेपालको आधुनिक इतिहासलाई हेर्दा पृथ्वीनारायण शाहले जुन अभियान सुरु गर्नुभयो, उहाँको इतिहास आफैँमा दमदार छ । त्यसका लागि पनि एकीकरण पदमार्गका रूपमा अघि बढाइएको हो । इतिहासमा एकीकृत गर्ने कामको सुरुआत भएको छ । गोरखाको महत्वपूर्ण भूमिका छ भने पूर्व मेचीदेखि महाकालीसम्मका हाम्रा पुर्खाले लडेर मुलुक बचाएको स्मरण गराउनुपर्छ । अनि इतिहासलाई पर्यटनसँग जोड्दा राष्ट्रिय अर्थतन्त्रमा पनि टेवा पुग्ने देख्छु । त्यही काम सेनाबाट भएको हो । १८०१ सालदेखिको नेपालको आधुनिक इतिहास प्रकाशन भएको छ । गोरखाबाट १८०१ मा सुरु भएको एकीकरण अभियानपछिको पदमार्ग र नेपालको इतिहास त्यत्तिमा मात्र सीमित नरहेकाले त्यसभन्दा पहिलेको नेपालको इतिहासलाई कदापि बिर्सनै नमिल्ने हुँदा नेपालको प्राचीन इतिहास लेखनको कार्यसमेत सुरु भइसकेको छ र तत्कालीन इतिहास लेखन अझ मिहिन रूपमा गर्न जरुरी छ ।

पदमार्गको पहिचान गर्ने कार्यको गोरखा र काठमाडौँलाई केन्द्रविन्दु मानेर पूर्व र पश्चिमतर्फ पदमार्गको पहिचान गर्ने प्रारम्भिक काम सम्पन्न भएको छ । विगतमा तत्कालीन आठै पृतनाले पनि यसको सबै पाटो खोज्ने काम गर्दै आएको थियो र भविष्यमा पनि यस कार्यले निरन्तरता प्राप्त गर्ने विश्वास गर्न सकिन्छ । पृथ्वीनारायण शाह अध्ययन प्रतिष्ठान पनि स्थापित भएको छ, यसले पनि इतिहास अध्ययनलाई निरन्तरता दिनेछ । किनकि भावी पिँढीले इतिहासको महत्व बुझेनन् भने राष्ट्र जोगिन गाह्रो हुन्छ । त्यसले मुलुकको स्थायित्वमा असर पुर्‍याउन सक्छ । त्यसैले इतिहास स‍वर्द्धन गर्न सकेको खण्डमा स्थायित्व र आर्थिक क्षेत्रको सबलीकरण पनि हुने देखिन्छ ।

इतिहास सेनाले मात्र नभई अन्य निकायले पनि संरक्षण गर्न आवश्यक छ नि, होइन र ?
हो, इतिहास भनेको सेनाले मात्र राख्नुपर्छ र सेनामा मात्र छ भन्ने होइन । त्यसमा सबैले काम गर्न आवश्यक छ । हाम्रो तालुक मन्त्रालय रक्षा, पुरातत्व विभागले पनि यसमा साथ दिएकाले सबै पाटोबाट जगेर्ना भएको महसुस सेनाले गरेको छ । अन्य क्षेत्रबाट पनि यही प्रकारको संलग्नता होस् भन्ने चाहना सेनाको छ । विभिन्न किल्ला, गढीमा पर्यटन क्षेत्रको विकास गर्न लागिपरेका छौँ । त्यहाँ संग्रहालय बनाउने जस्ता काम भएका छन् । जसले गर्दा त्यो क्षेत्र र तत्कालीन लडाइँको सबै जानकारी हुन्छ नै । यसले एकताको भावना पनि सिर्जना गर्न मद्दत गरेको छ । बाराको युनिफिकेसन मेमोरियल पार्क, सिन्धुलीगढी संग्रहालय, नेपाल एकीकरण र नेपालको भौगोलिक अखण्डताको जगेर्ना गर्न आवश्यक छ । सिन्धुलीगढी सँगै बुटवलको जितगढीको महत्वपूर्ण पक्षलाई पनि उजागर गर्दै संरक्षण गर्नुपर्छ । यसले पर्यटनलाई पनि बढावा दिन थालेको छ । यी काम सहकार्यमा नै हुने हो । इतिहास प्रवद्र्धन र पर्यटनसँगै जाने विषय सिन्धुलीको युद्ध संग्रहालयमा नै पनि समेटिएको छ ।

यहाँले आफ्नो र आफूपछिकाको सम्पत्ति विवरण बाहिर ल्याउने काम गर्नुभयो तर अन्यको खासै आएन नि ?
सम्पत्ति विवरण व्यक्तिको नितान्त निजी चाहनामा भर पर्ने विषय हो । नेपाल सरकारका सम्पूर्ण कर्मचारीले सम्पत्ति विवरण भर्नैपर्छ । त्यो विवरण सार्वजनिक गर्ने या नगर्ने उहाँहरूको व्यक्तिगत कुरा हो । तर मैले त्यसलाई सर्वाजनिक गरेँ । मपछिका केहीले पनि सार्वजनिक गर्नुभयो । म निवृत्त हुँदै छु, मेरो अर्को सम्पत्ति विवरण यहाँले पढ्न पाउनु हुनेछ । कुनै व्यक्तिले पाएको अख्तियारीको दुरुपयोग गरेको वा अकूत कमायो कि भन्ने भ्रमबाट मुक्त हुन त्यस्तो निर्णय लिने गरिएको हो । अन्य तरिकाबाट आर्जन गरेको छ भने सम्बन्धित अदालतले यसमा काम गर्नेछ ।

स्रोत नखुलेको सम्पत्ति भेटियो भने सेनाको हकमा के हुन्छ ?
सैनिक ऐनअन्तर्गत कारबाही हुनेछ । अनुशासन र अनियमितताको पाटोबाट पनि हेर्न सकिन्छ । सैनिक विशेष अदालतले स्वभाविक आर्जन छ या छैन भनी हेर्न सक्छ । यदि त्यो भन्दा दायाँ–बायाँ भएको भए कारबाहीमा पर्छ नै । यो स्वाभाविक प्रक्रिया हो । त्यसैले मैले अघि भनेँ नि, सम्पत्ति विवरण सबैले बुझाउनै पर्छ । सार्वजनिक गर्ने–नगर्ने उनीहरूको कुरा हुन्छ ।

हुन त, यहाँले पनि भन्नुभयो अनि साँच्चै सेनाभित्र अनियमितता भएको छ भनी बारम्बार आइरहन्छ नि ? पछिल्ला कारबाहीले पनि त्यो देखिएको छ ।
मेरो भनाइ सेनामा पनि अनियमितता हुनसक्छ भन्ने हो । तर नजाँची र प्रमाण नभई कसरी भन्न सक्नु ? त्यसैले सेना जस्तो संगठनमा पनि त्यो अनियमितता हुनसक्छ भन्नेसम्म मात्र हो । त्यसलाई प्रमाणका आधारमा मात्र छानबिन गर्ने, कारबाहीको मातहतमा लैजाने हो । जुन नियमित प्रक्रिया हो । 

यहाँले झण्डै ४२ वर्षअघि जागिर सुरु गर्दाको नेपाली सेना र छोडेर जाँदाको नेपाली सेनालाई कसरी लिनुहुन्छ ?
म प्रवेश गर्दाको सेना र अहिलेको सेनालाई दाँज्दा त आधुनिकताको पक्षमा जोड्नुपर्छ भन्ने लाग्छ । त्यो बेलाको अवस्था र अहिलेको अवस्थामा धेरै परिवर्तन भएको छ । अहिले ‘अवेरनेस’ निकै बढेको छ । त्यतिबेला त्यो अवस्था थिएन । सेनामा आधुनिकीकरण गर्ने, समय सापेक्ष सेना बनाउने कार्य भइरहेको छ । त्यो आवश्यक पनि हो । सेना ‘प्रोफेसनल’ भएन भने नागरिक र मुलुकको सुरक्षामा पनि कुठराघात हुन्छ । त्यतिबेला जति इमानदारी थियो, त्यो पनि छ । सेनामा ‘राइट साइजिङ’को कुरा गर्दै आएको छु । सेना भनेको सुरक्षासँगै विकास निर्माण र अन्य कार्यको सरकारको सहयात्री हो । सेनालाई ‘वेल इक्विप्ट’ र आधुनिकीकरण अनि प्रशिक्षणमा जोड दिन आवश्यक छ । सेनामा प्रशिक्षण अत्यावश्यक हो ।

सेनामा पेन्सन पाक्नेबित्तिकै जागिरबाट बाहिरिने अनि कतिपय त बीचमा नै छाडेर जानेहरू छन्, यसलाई रोक्न के प्रयास भइरहेको छ ?
किन नेपाली सेनाबाट तत्काल अवकाशमा जान्छन् भन्ने विषयमा अध्ययन सेनाभित्र भइरहेको छ । सेनामा हुँदा जुन ‘हार्डसिप’ छ, त्यसका कारण पनि सेनामा चाँडो पेन्सनमा जाने चलन छ । तर पनि बीचमा छाडेर जानुको कारण भने थप खोजी भइरहेको छ । परिवारसँग छुट्टिएर बस्ने हुनाले गर्दा पेन्सन भएपछि अन्य स्थानमा जागिर खाने परिवारसँग बसेर खेती–किसानी गर्ने जस्ता कार्य गरेको पनि देखिएको छ । यो आर्थिक पाटोको विषय पनि हो ।

सेना ‘प्रोफेसनल’ भएन भने नागरिक र मुलुकको सुरक्षामा पनि कुठराघात हुन्छ ।
 

अहिले उपलब्ध आर्थिक पाटो कमजोर भएकाले पनि सेनाबाट पेन्सन पाएर उनीहरूले वैदेशिक रोजगारीको अपेक्षा राखेका हुन सक्छ । सेवाबाट चाँडै अवकाश लिनुपर्ने दबाबमा पर्नु भनेको उनीहरूको आर्थिक पाटो नै हो । हुन त, सेनामा प्रवेश गर्नेहरू सेवाभावबाट नै प्रभावित भएर आएका हुन्छन् । यद्यपि स्वदेशमा भन्दा विदेशमा रोजगारी बढी हुनाले विदेश जानेको लहर पनि उत्तिकै छ । सेनाले कल्याणकारी कोषमार्फत सेनाबाट अवकाशपछि नेपालमा नै आधुनिक कृषि वा व्यवसायमा जाने विषयमा पनि जोड दिएको छ । भविष्यमा विदेश गएर दुःख गर्ने अवस्था घट्दै जानेछ । अहिलेको तथ्यांकमा पनि त्यो कम भइसकेको छ ।

सेनाबाट रिटायर्ड भएकाहरूलाई नेपाली सेनाले कसरी इन्गेज गराएको छ ? अनि आवश्यक पर्दा उनीहरू आउँछन् ?
एउटा विश्वव्यापी मान्यता नै छ, ‘जनरल्स अर सोल्जर्स नेभर रिटायर्स’ । सेवा निवृत्त भएपछि पनि उनीहरूले कल्याणकारी कोषमार्फत आफ्नो काम गरिरहेका हुन्छन् । कृषि, साना व्यवसाय, घरेलु उद्योग लगायतको काम भएका हुन्छन् । त्यो ‘फोर्स’, ‘रिजर्भ’ जस्तो नै हो । राज्यलाई भोलि संकट पर्दा सैनिक मात्र नभई हरेक नागरिकको भूमिका हुन्छ । तर, सैनिक भनेको मुलुकको प्रतिरक्षाका लागि ‘फ्रन्टलाइनर’ हो । निवृत्त हुँदा पूर्वसैनिक सधैँ तयार रहने जनाएका हुन्छन् र रहन्छन् पनि । जीवन पर्यन्त सबैलाई सक्रिय राख्न सकेमा मुलुककै सम्पत्तिका रूपमा रहन्छन् । ३५ हजार जति पूर्व सैनिक र बहालवाला सैनिक आश्रित परिवारलाई नेपालमा नै विभिन्न काममा कल्याणकारी कोषबाट ऋण आदिका लागि सहजीकरण गर्ने गरी दिइएको छ । त्यो उपयोगी भएको पनि छ ।

पछिल्लो समय बढी नै चर्चामा रहेको नेपाली सेनाको तीन जोड एक भन्ने विषय अझै स्पष्ट भएको छैन । कतिपयले नेपाली सेना पुरानै शैलीमा फर्कन लागेको भनेका पनि छन् नि ?
नेपाली सेना मात्र होइन, कुनै पनि मुलुकको सेना त्यो मुलुकको संघीय संरचनाअन्र्तगत नै बनेको हुन्छ । सबै सैन्य फोर्स संघीय संरचनाअन्र्तगत नै हुन्छन् । हाम्रा छिमेक होस् या अन्य मुलुक । सेन्टर–फोर्स नै यही हो । देशको भौगोलिक, सामाजिक आर्थिक गतिविधिसँग सेना जोडिएको हुन्छ । त्यो भनेको राष्ट्रिय सुरक्षासँग जोडिएको हुन्छ । यसको अलिकति फरक संरचना हुन्छ । हामीले अहिले गरेको निर्णय पनि रातारात आएको होइन । लामो छलफल पछि ल्याइएको हो ।

छिमेकी राष्ट्रको कुरा गर्ने हो भने प्रदेशको संख्या सैनिकको संरचना गर्ने हो भने तुलनायोग्य नै छैन । कमान्ड ५–६ वटा छ, तर राज्य २८/२९ छ । सानो मुलुकमा जाने हो भने इजरायलको उदाहरण लिऊँ । मुलुक नेपालभन्दा धेरै सानो भए पनि कमान्डको संख्या नेपाल सरह नै छ । त्यसैले सैनिक संरचना सुरक्षा चुनौती, भौगोलिक अवस्थिति र अन्य सुरक्षा संवेदनशीलता आदिमा भर पर्छ । प्रादेशिक संख्या घट्ने र बढ्ने भई नै रहन्छ, त्यसैले पनि यस विषयमा धारणा राख्दा धेरै विचार गर्नुपर्दछ । हाम्रा सम्भावित चुनौती सामना गर्न सहज हुने गरी बनाउनुपर्छ । तीन जोड एकको लक्ष्य पनि त्यही हो । सातै प्रदेशसँग समन्वय गर्न दर्जागत (सेना, प्रहरी सशस्त्र प्रहरी र निजामती कर्मचारी) रूपमा समान हुने गरी संरचना बनाइएको छ । ७७ जिल्लामा पहिले नै संरचना छ । यसरी सहज हुने गरी बनाइएको संरचना हो । यो वैज्ञानिक पनि छ । यसलाई धेरै उछाल्न राम्रो हुँदैन र यस विषयमा अन्य देश वा सेनाका अभ्यासलाई पनि अध्ययन गर्न आवश्यक हुन्छ ।

भनेपछि यो विरोधका लागि विरोध हो त ?
यो धेरै अध्ययनपछि आएको हो । म प्रधानसेनापति हुँदैमा आएको होइन । यो अगाडिदेखि अध्ययन भइरहेको थियो, मेरो पालामा थप र व्यापक अध्ययनपछि मात्र आएको हो । नेपाली सेनाको संगठनात्मक भूमिका अनुरूप हुने गरी पुनर्संरचना गरिएको हो । चार कमान्ड खडा गरिएको छ । आठ पृतनालाई सबै सुविधा सम्पन्न गर्नुभन्दा चार कमान्डलाई गर्न नै सहज होला । यसमा आर्थिक पाटो पनि जोडिएको छ । अनि सुरक्षाका कतिपय रणनीतिहरू चिया गफका लागि बाहिर ल्याइएको हुँदैन । कतिपय रणनीतिक तहमा गरिएको विषय राष्ट्रिय सुरक्षा प्रयोजनका लागि रहन्छ । त्यसलाई बाहिर ल्याउन नसकिने कारण पनि कतिपयले नबुझेका होलान् । कतिपयले भने बुझेर पनि आफू समाजमा खपत हुन बोलिरहेका हुन सक्छन् । विभिन्न तहमा अन्तक्र्रिया गरेर छलफल गरेर ल्याइएकाले यसलाई गलत देख्दा छिमेक, ठूला र साना सबै खाले मुलुक हेरे वा अध्ययन गरे प्रस्ट हुन्छ ।

सेना व्यावसायिक हुनुपर्छ भनिरहँदा सेनाभित्रको व्यवसाय र विकास निर्माणका काम अघि बढाएको देखिन्छ नि ?
सेनाको व्यवसायीकरण भनेको उसको पेवा र करिअरसँग जोडिएको विषय हो । अर्को व्यवसायीकरण विकास निर्माण, प्रकृति संरक्षण, शान्ति सेनामा सहभागिता यी पक्षहरू द्वितीय हुन् । त्यहाँ संविधानतः राष्ट्रले आवश्यक देखेको खण्डमा नेपाली सेना अग्रसर हुनेगर्छ । जस्तै यो परियोजना हामी बनाउँछौँ भनी सेना जाँदैन, तर सेनाले बनाउनु भनी सरकारले दिएपछि औचित्य पुष्टि भएको अवस्थामा सकभर सेनाले गर्ने हो । त्यसपछि उसले काम गर्छ नै । हामीले जटिल भूगोल भएको स्थानमा काम ग¥यौँ र गरिरहेका छौँ । काठमाडौं–तराई दु्रत मार्ग पनि बनाइरहेका छौँ । यो सबै काम सेनाको व्यवस्थापनमा हो । अर्थात् फास्ट ट्रयाक पनि त्यही हो । अझै पनि काम भइरहेको छ । यसलाई व्यापार सँग जोड्न हुँदैन । हाम्रा मेकानिजम विकास गर्दै लैजाने हो । कतिपय शान्ति सेनामा भएको सहभागितालाई फरक ढंगले हेर्ने र नकारात्मक टिप्पणी गर्ने गरेका छन् । त्यसबाट नेपालको कूटनीतिक क्षेत्रमा पुगेको योगदानलाई भुल्न हुँदैन ।

राष्ट्रसंघमा नेपालको उपस्थिति अनि विश्वमा नेपाल दोस्रो धेरै सैनिक पठाउने मुलुकमा पर्छ । यसरी शान्ति सेनामा जाँदा मुलुकको इज्जतसँगै विदेशी मुद्रा सञ्चितिमा पनि मुलुकलाई योगदान गरेको छ । विश्व शान्तिमा नेपाली सेनाले पु¥याएको योगदानको प्रशंसा विश्वभर हुने गरेको छ । प्रकृति संरक्षणको क्षेत्रमा गरेको कार्य प्रशंसनीय छ । सेनाले व्यावसायिकताको निमित्त राष्ट्रिय हितलाई ध्यान दिएर विकास निर्माणको काम गरेको छ । सैनिक कल्याणकारी कोषको विषयमा पनि अनर्गल हल्ला गरिन्छ । त्यो प्रत्येक सैनिकको रगत पसिनाको पैसा हो । तर सेना निवृत्त भएपछि त्यसलाई उपयोगमा ल्याइएको छ । कल्याणकारी गतिविधिलाई नेपाली समाजमा सेनाबाट निवृत्त भएकाहरूले केही गर्न पाऊन् भनी राखिएको हो । त्यसअनुरूप काम पनि भएका छन् । कुनै पनि राष्ट्रको सेनाभित्र सरकारको दायित्व हुन्छ । शान्ति सेनामा भाग लिएबापत पाएको ‘ब्लड एन्ड स्वेट्’ रगत पसिनाले त्यो रकम जम्मा भएको हो । यो कुनै व्यापारिक संगठनको रकम होइन । रगत र पसिनाको रकमलाई त्यहीअनुरूप नै सदुपयोग गर्न आवश्यक छ ।

सैनिक कल्याणकारी कोषमा सेनाकै हालीमुहाली चल्छ भनिन्छ नि ?
नेपाली सेनाको रगत र पसिना भएको हुनाले त्यहाँ एउटा व्यावसायिक टिम सेनाको रहन्छ । खासगरी यसमा पूर्व सैनिकहरू नै रहन्छन् । नेपाली सेनाको टिमले त्यहाँको पारदर्शितालाई नै नियालेको हुन्छ । गतिविधि पारदर्शी ढंगले बाहिर आओस् भन्ने नै हो । सञ्चयकोषझैँ रकम रहन्छ । त्यो एउटा प्रणालीमा चलेको छ । वहालवालाको हालीमुहाली भन्ने प्रश्न नै हुँदैन । यो त पूर्व सैनिक र बहालवालाबीचको एक ब्रिज हो ।

द्रुत मार्ग समयमा बन्दैन सेनाले चाहेर लिएको अनेकन् हल्ला छ नि ?
काठमाडौँ–तराई÷मधेस मार्गमा सेनाले व्यवस्थापन मात्र गर्ने हो । यहाँ त नेपाली सेनाको डफ्फा गएर बनाउने भन्ने परेको छ । त्यो होइन । व्यवस्थापन गर्ने हो । सेनाले पनि गर्ने र अन्य बिल्डर्सलाई लगाएर काम फत्ते गर्ने हो । यो हामी गरिरहेका छौँ । संसारभर सेनाले विकास निर्माणका काम पनि गर्छन् । सेनाले नागरिकसँग निश्चित दूरीमा रहेर सम्बन्ध स्थापित गरेको हुन्छ । सेनाले सरकार र नागरिकलाई दुई आँखाले हेर्छ । नागरिकको हित र सहजताका लागि काम गर्ने गर्छ । त्यहीअन्तर्गत विकास निर्माणको काम पनि सेनाले गर्छ । औचित्य स्थापित भएको अवस्थामा दिएको काममा सेना पछि हट्न मनासिब हुँदैन । कुन काम दिने या नदिने भन्ने विषय सरकार र सेनाको समन्वय र अध्ययनपश्चात् तय हुन्छ । 

विकास निर्माण एउटा पाटो हो तर अर्को पाटो कूटनीतिमा पनि सेनालाई तानिरहेका हुन्छौँ नि । अर्थात् सैन्य कूटनीतिमा सेनाको भूमिका ?
सैन्य कूटनीति राष्ट्र र सेनाको अभिन्न अंग हो । राष्ट्र भन्नेबित्तिकै बाह्य सम्बन्ध हुन्छ । त्यो सम्बन्ध नै कूटनीतिक सम्बन्ध हो । राष्ट्रको स्थायी संयन्त्र सेना भएकाले त्यसमा सेनाले तोकिएको भूमिका खेल्नैपर्छ । त्यो क्षमता सेनामा हुन्छ । यो नेपालको मात्र होइन, अन्य मुलुकको हकमा पनि लागू हुन्छ । सेनाभित्र अन्यत्र जस्तो ह्वारह्वारती बढुवा हुँदैन, एक तहमा परीक्षा लिने र अर्को तहमा प्रशिक्षण हुने गर्छ । अनि मात्र अब्बल व्यक्तिको चयन हुन्छ । भूराजनीति, कूटनीति र रणनीतिसँगै नेपाली सेना विगतको विरासत बोकेर अघि बढेको हुन्छ । अन्य मुलुकसँग सेनाको सम्बन्ध त्यसमा पनि आफैँले महत्वपूर्ण र विशिष्ट योगदान रहेको हुन्छ ।

सैनिक भनेको मुलुकको प्रतिरक्षाका लागि ‘फ्रन्टलाइनर’ हो ।

 

यसमा नेपाली सेनाले विगतदेखि प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका निर्वाह गर्दै आएको छ । नेपालको परराष्ट्र सम्बन्धलाई बढावा दिन भूमिका खेलेको छ । शन्ति सेना पनि परराष्ट्र नीतिको एक ‘एक्स्टेन्सन’ हो, त्यसले गर्दा पक्कै सैन्य कूटनीतिको महत्व हुन्छ । नेपालको राष्ट्रिय सुरक्षा नीतिभित्र अडेर सैन्य अभ्यास भएका हुन्छन् । त्यो पनि नेपाल र ती मुलुकबीचको सम्बन्ध स्थापना गर्ने पाटो हो । नेपालले छिमेक र शक्ति मुलुक तथा अन्य मित्र मुलुकसँग यसै गरी शान्तिसेनासँग सम्बन्ध गतिविधिमा भाग लिएका हुन्छौँ । जसले सम्बन्धलाई झनै नजिक ल्याउनेछ । हामीले दुई–पक्षीय सम्बन्ध विस्तारसँगै सम्बन्ध खार्न आवश्यक छ । 

यहासँग लामो कुराकानी भयो, अब अवकाशको जीवनमा फर्कंदै हुनुहुन्छ, अबका योजना के छन् ?
अहिले नै यो वा त्यो गर्छु भनेर सोचेको छैन । मैले खासै के गर्ने भनेर सोचेको छैन । अब मेरो रुचि भनेको आधुनिक कृषिमा नै हो । पश्चिम एसियाली मुलुकमा पनि विशेष गरी इजरायललाई नियालेको छु । त्यहाँको आधुनिक कृषिको अध्ययन पनि गरेको छु । फोर्स कमान्डर भएर गोलनहाइटमा हुँदा इजरायलको कृषिबारे बुझेँ, अध्ययन गरेँ । निकै लोभ्यायो । त्यहाँ गएर अध्ययन गर्ने नेपाली युवाहरूसँग पनि भेटघाट र अन्तक्र्रिया भयो । झनै लोभिएँ । विकासको चरणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यस्तै अध्ययन र देखासिकीले दृष्टिकोण बनाउने हो । त्यहीकारण चार दशकभन्दा लामो सक्रिय सेना जीवनबाट म अब बिस्तारै सक्रिय कृषक हुन सक्छु । हामीले आधुनिक कृषिमा जोड नदिने हो भने कृषिप्रधान मुलुक भन्नुको तात्विक अर्थ नै रहन्न । त्यसका लागि पनि हामी कृषितर्फ लाग्नैपर्छ । विकसित मुलुकमा पनि कृषिको महत्व उत्तिकै छ । मैले सेनामा रहँदा पनि सानो रूपमा भए पनि ‘कन्ट्रिब्युसन’ गरेको छु । हाम्रो उपयोगविहीन जमिनको उपयोग गर्न सकिन्छ । त्यसमा सामान्य सोच राखेको छु ।

सेवा निवृत्त भएपछि पद तय गरेर जाने वा राजदूत हुने आकांक्षा राख्नेहरूको भीडमा यहाँले फरक सोच राख्दा सरकारले राजदूत वा कुनै पदमा जानु भनेको छ कि ?
मैले यसअघि पनि भन्दै आएको छु । म अब पुनः सक्रिय रहेर सरकारी सेवाअन्तर्गत काम गर्दिनँ । मैले ४१ वर्ष ८ महिना २२ दिन सेनामा सक्रिय भूमिका निर्वाह गरेँ । अब पनि राज्यबाट नै तलब खाने सोच राखेर बस्नु हुँदैन । यस्ता विषयमा मेरो रुचि छैन । अब म साधारण नागरिकका रूपमा रहनेछु । तर त्यहाँ पनि उत्तिकै सक्रिय हुनेप्रयास गर्नेछु ।



Author

हरिबहादुर थापा

शासन, सुशासन र राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार