वार्ता

टिप्पणी

सैनिक संगठनमा शर्माको प्रभुत्व : अवसरको आसनमा चुनौतीको चाङ

चन्द्रशेखर अधिकारी |
भदौ २४, २०७८ बिहीबार १९:४० बजे

काठमाडौँ - एक महिना अघिदेखि कामु प्रधानसेनापतिका रूपमा कार्यरत प्रभुराम शर्मा नेपालको ४४ औँ प्रधानसेनापति बनेका छन् । उनले झण्डै एक लाखको संख्यामा रहेका नेपाली सेनाको नेतृत्व गर्दै अन्य सुरक्षा निकायको मुख्य समन्वयकर्ताको भूमिका पनि निर्वाह गर्नेछन् । 

नेपाली सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति विद्यादेवी भण्डारीबाट शर्माले बिहीबार शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथका साथै महारथीको दर्ज्यानी चिह्‍न समेत लिए । कुशल गोताखोरसमेत रहेका शर्माले ब्राह्मण समुदायबाट प्रधानसेनापति बन्‍ने पहिलो सैनिक अधिकारीका रूपमा इतिहास पनि रचेका छन् ।


शर्मा नेपाली सेनाको नेतृत्वमा तीन वर्ष अर्थात् २०८१ भदौ २३ सम्म रहनेछन् । यद्यपि उनीसामु चुनौतीका चाङ पनि अधिक नै छन् । निवर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापाले आफू घर जानेबेलामा गरेका कतिपय निर्णय शर्माले फत्ते गर्नुपर्ने हुनसक्छ । 

अनि कतिपय निर्णयलाई फरक शैलीमा कार्यान्वयन गर्नुपर्ने अवस्थामा पनि शर्माले आफूलाई पाउन सक्छन् । हुन त शर्माले आफ्ना पूर्ववर्तीले अघि बढाएका संगठन सुधारका कार्यलाई निरन्तरता दिइने बताइसकेका छन् ।

फरक समुदायबाट सेनाको कमान्ड सम्हाल्ने ऐतिहासिक अवसर पाएका प्रधानसेनापति प्रभुराम शर्माले एक हजार प्लस दिनमा कस्तो इतिहास रच्लान् ? 

पूर्व प्रधानसेनापतिहरू राजेन्द्र क्षत्री र पूर्णचन्द्र थापाकै कार्यकालदेखि संगठनको माथिल्लो तहमा बसेर काम गरेका शर्मा संगठनभित्र ‘एक्सन म्यान’का रूपमा परिचित छन् । उनलाई शालीन र भद्र सैनिक अधिकारी पनि मानिँदै आइएको छ ।

एकलभन्दा पनि सामूहिक नेतृत्वलाई महत्व दिने हुनाले पनि शर्माको कार्यकाल सबल रहने आँकलन सबैको छ । ‘म समेत संलग्न रहेर ल्याइएका सुधारका कैयन् कामलाई निरन्तरता दिने र आफूले एकल होइन, सामूहिक नेतृत्वलाई नै विश्वास गरेर अघि बढाउँछु,’ उनले गत आइतबार भनेका थिए, ‘म प्रशिक्षण र सेनाको आधुनिकीकरणमा जोड दिनेछु ।’

शर्माको यस्तो अभिव्यक्तिले थापा कार्यकालका कतिपय निर्णय र विषयमा उनको असहमति रहेको संकेत गर्छ । यसरी शर्माको असहमति रहँदारहँदै अघि बढाइएका केही कार्यक्रम र विषयबारे शर्माले कस्तो निर्णय लिन्छन् भन्ने कौतूहल छ । वास्तवमा यो उनका लागि चुनौती पनि हो । सेनाको सुधारमा अधिक जस थापाले लिए पनि भित्री काम भने शर्माले नै गरेको मानिन्छ ।

सञ्‍चार माध्यममा आउनुभन्दा पनि ‘बिहाइन्ड दी सिन’ रहेर काम गर्ने शैली छ, शर्माको । यसकारण पनि नयाँ प्रधानसेनापतिको कार्यकालमा नेपाली सेना फरक तरिकाले अघि बढ्नेछ भन्न सकिन्छ ।  ‘म आफ्नो कर्ममा रमाउँछु । मिडियालाई सेनाले महत्व दिएकै हुन्छ । तर मिडियासँग सम्बन्ध राख्‍न सैनिक प्रवक्ता हुनुहुन्छ । जसको जे हो त्यो जिम्मेवारी पूरा गर्ने हो,’ उनका निकटस्थहरूले उनलाई उद्धृत गर्दै सुनाउँछन्, ‘मिडिया जगत् र त्यस विधाका अनुभवीहरूसँग केही सुझाव चाहिँदा म स्वयंले पनि लिने गर्छु । हामी सबैको लक्ष्य मुलुकको विकास, रक्षा र स्थायित्व नै हो ।’ 

निवर्तमान प्रधानसेनापति थापाले आफ्नो कार्यकालको अन्तिममा अघि बढाएको नयाँ सैनिक संरचना ‘थ्री प्लस वान’ कार्यान्वयन गर्न र त्यो संरचनालाई स्पष्ट पार्न शर्माले निकै मेहनत गर्नुपर्नेछ । सेनालाई नयाँ संरचनामा लग्‍ने विषयमा लामो समयदेखि अध्ययन हुँदै आएको थियो । पूर्वसेनापति थापाले आफ्नो कार्यकालको अन्त्यमा आएर नयाँ संरचना घोषणा गरिदिए ।

थापाले गरेको घोषणालाई कार्यान्वयन गर्ने जिम्मा अब शर्माको काँधमा आइपुगेको छ । सेनालाई नयाँ संरचनामा लग्नका लागि दरबन्दी पनि मिलाउनुपर्ने हुन्छ । नयाँ संरचनाका लागि मिल्दोजुल्दो कर्मचारी संयन्त्रदेखि भौतिक पूर्वाधारसमेत तयार गर्नुपर्ने जिम्मेवारी शर्माको हो । थापा बिदामा बस्‍नु तीन साताअघि सेनामा लागू गरिने भनिएको नयाँ संरचना मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो ।

नेपालकै सबैभन्दा बलियो र स्थिर संस्था मानिने सैनिक संगठनलाई नयाँ संरचनामा ढाल्न सके अन्तर्राष्ट्रिय ढाँचामा रूपान्तरण गर्न सकिनेछ । यस कार्यले शर्मालाई सेनाको इतिहासकै कुशल नेतृत्वकर्तामध्येको एकका रूपमा दर्ज गराउनेछ ।

यद्यपि यसलाई लागू गर्न शर्मालाई सहज भने पक्कै छैन । तर, नेपालकै सबैभन्दा बलियो र स्थिर संस्था मानिने सैनिक संगठनलाई नयाँ संरचनामा ढाल्न सके अन्तर्राष्ट्रिय ढाँचामा रूपान्तरण गर्न सकिनेछ । यस कार्यले शर्मालाई सेनाको इतिहासकै कुशल नेतृत्वकर्तामध्येको एकका रूपमा दर्ज गराउनेछ । 

नयाँ संरचना लागू गर्न कानुनी र नीतिगत व्यवस्था मिलाउन पनि शर्माले धेरै कार्य गर्न आवश्यक छ । यसका लागि उनले आफूपछिका उत्तराधिकरीलाई नजिक राख्नुपर्छ । अनि प्रधानसेनापतिकै नजिक रहेर उनैलाई असजिलो पार्ने संगठनभित्रकै सहकर्मीहरूलाई चिन्न पनि ढिलाइ गर्नु हुँदैन ।

पूर्व प्रधानसेनापति थापाले कुनै बेला सार्वजनिक रूपमै भनेका थिए, सेनामा मुसा प्रवृत्ति छ । तर डुंगा प्वाल पार्न खप्पिसहरूसँगै हिँड्नुको विकल्प छैन । शर्माले आफ्ना सिनियर जर्नेलको यस्तो भनाइलाई ध्यानमा राखेर अघि बढ्न आवश्यक छ । निवर्तमान सेनापति थापाले सेनाभित्र शुद्धीकरण अभियान चलाएका थिए । त्यसमा माथिल्ला स्तरका अधिकारीहरूसमेत कारबाहीमा परे । थापाले यस्तो अभियान चानचुने आँटले चलाएका थिएनन् । थापाको त्यस्तो अभियानमा शर्माको पनि योगदान थियो । यद्यपि शर्माको योगदानबारे खासै चर्चा भएन ।

अब भने शर्माले आफू पनि त्यस अभियानको पक्षपाती रहेको पुष्टि हुने गरी कार्य अघि बढाउनुपर्छ । सेनाको नेतृत्वमा रहेका कतिपयको प्रवृत्ति एकातिर शुद्धीकरण देखाएर अर्कोतर्फ लुट गर्ने छ । शर्माले यस्ता विषयलाई बाहिर ल्याउन सक्नुपर्छ । भलै यो विषय पुष्टि भइसकेको छैन । सैनिक संरचनामा आफूमुनि रहँदा त्यस्ता विषय बाहिर ल्याउन सकिँदैन तर अब ल्याउन कसैले रोक्दैन ।

निर्वतमान प्रधानसेनापति योग्य भए पनि उनका नजिकका सहकर्मीहरूले निर्वाह गरेको भूमिकालाई लिएर धेरै प्रश्न गर्ने स्थान छ । सेनाभित्रै चर्चा चलिरहँदा त्यो 'मुसा समूह' वर्तमान प्रधानसेनापतिसँग पनि उत्तिकै सक्रिय हुनसक्छ, यसमा शर्माको ध्यान पुग्‍न जरुरी छ । भित्र के भयो, त्यो त बाहिर खासै आउँदैन सैनिक संरचनामा । तर अघिल्ला प्रधानसेनापतिले भाषणमा जे-जे भने त्यो त्यो काम भएको देखिन्छ ।

सयम थप्‍ने आरोप उनीमाथि लागेको थियो । त्यो पहल गरे पनि होलान् तर यथार्थ बाहिर आएन र उनले आफू पछि हुने प्रधानसेनापति ढुक्कले काममा रहने भनेका थिए । त्यो बाहिरबाट हेर्दा देखिएको छ । भित्री यथार्थ (सहज वा पीडा) त शर्मालाई जति हामी सञ्चारकर्मीलाई थाहा हुने भएन । साँच्चै काम गर्नका लागि तीन वर्षे कार्यकाल निकै धेरै हो । यसमा धेरै काम गर्न सकिन्छ । तीन वर्षमा गर्न नसकिने र अन्य केही वर्ष पाए गर्ने भन्ने हुँदै हुँदैन ।

एक हजार प्लस दिनमा पनि काम गर्न सकिँदैन भने अन्य लाखौँ वर्ष रहे पनि सकिँदैन नै । सैनिक संगठन भनेको अघिल्लाले गरेका राम्रा कामको निरन्तरता दिने र चित्त नबुझेको काम आफूले फरक शैलीमा अघि बढाउने नै हो । त्यो हामीलाई भन्दा बढी शर्मालाई नै जानकारी होला । आफू केन्द्रमा रहनेभन्दा पनि सामूहिक भावमा रहेर काम गरेर बाहिरिनु पर्छ ।

संगठनका सबै नेतृत्वकर्ता वा विभागका प्रमुखलाई सामूहिक रूपमा लैजाने व्यक्ति मात्र कुशल नेतृत्व मानिन्छ । आफू नै केन्द्रमा रहने र आफ्ना पूर्णकदका फोटाहरू छापिए दंग पर्ने शैलीलाई चिरेर ‘पपुलिस्ट’ हुने होइन, यथार्थको धरातलमा सबैलाई अपनत्व अनुभव गराएर अघि बढ्न सक्नुपर्छ ।

संगठनका सबै नेतृत्वकर्ता वा विभागका प्रमुखलाई सामूहिक रूपमा लैजाने व्यक्ति मात्र कुशल नेतृत्व मानिन्छ । आफू नै केन्द्रमा रहने र आफ्ना पूर्णकदका फोटाहरू छापिए दंग पर्ने शैलीलाई चिरेर ‘पपुलिस्ट’ हुने होइन, यथार्थको धरातलमा सबैलाई अपनत्व अनुभव गराएर अघि बढ्न सक्नुपर्छ ।

प्रधानसेनापति शर्माले सामूहिक नेतृत्व, प्रशिक्षण र आर्थिक पारदर्शितालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताइसकेका हुनाले यसअघिका अनियमिततालाई उनले बाहिर ल्याउनेछन् भन्ने अनुमान गर्न गाह्रो छैन ।

काठमाडौँकै रैथाने उनी सेनाभित्र आफ्नो निर्णय सुनाएर त्यसमा अरुलाई सहमत गराउन ल्याकत भएका व्यक्तिका रूपमा पनि परिचित छन् । उनले शुक्रबार ( भोलि) सकलदर्जालाई सम्बोधन गर्दै आफ्ना योजना सुनाउने छन् ।

विदेशस्थित नेपाली दूतावासमा डिफेन्स अटाचे र शान्ति सेनाको पर्यवेक्षक एवं शान्ति सेनाको गणको कमान्डसमेत गरिसकेका उनले छिमेक र शक्ति मुलुकसँगको कूटनीतिक सम्बन्ध विस्तारमा पनि उत्तिकै सहजीकरण गर्न सक्नेछन् । छिमेकी तथा अन्य मुलुकसँग सैन्य अभ्यासलाई निरन्तरता दिने र उनीहरूसँगको सहकार्यलाई प्राथमिकतामा राख्‍न शर्मा अग्रसर हुनुपर्ने देखिन्छ । विशेषगरी भारत, चीन र अमेरिकासँग हुने सैन्य अभ्यासलाई महत्वका साथ हेरिने गरिएकाले ती मुलुकका सैन्य नेतृत्वसँग लगातार सुमधुर सम्बन्ध राख्‍न शर्मा सक्रिय हुनुपर्छ । 

भारतबाट राष्ट्रिय प्रतिरक्षा र रणनीतिको उच्चशिक्षा लिएका, संयुक्त राज्य अमेरिकाबाट आतंकवाद एवं सुरक्षा, थाइल्यान्ड एवं पाकिस्तानबाट प्रतिरक्षा तथा बङ्गलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय प्रशिक्षण लिएका शर्माले त्रिविबाट इतिहासमा स्‍नातकोत्तर र सैन्य प्रतिरक्षा रणनीतिमा भारतको मद्रासबाट एमफिल गरेका छन् ।

सेनामा रहँदा सबै महत्वपूर्ण विभागमा बसेर काम गरिसकेका उनी दरबारमा सैनिक सहायक, सुपारीटारमा पृतनापति, सम्भार रथी विभाग, युद्धकार्य महानिर्देशक, बलाधिकृत र बलाध्यक्ष दुवैको जिम्मेवारी सफलतापूर्वक सम्पन्‍न गरेका छन् । शर्माले पक्कै संगठनलाई नै खुकुरीको धारमा हिँडाउने र आफू चर्चित हुने प्रयास गर्ने छैनन् । नेतृत्वमा रहने त्यसो गर्न पनि मिल्दैन । व्यक्तिभन्दा संगठनलाई ध्यानमा राखेर हिँड्नु नै अहिलेको आवश्यकता हो ।

नयाँ संरचनाअनुसार कमान्ड प्रणालीमा ढलेपछि हरेक कमान्डलाई जिम्मेवार बनाएर त्यहाँको जिम्मेवारी त्यहीको कमान्डरलाई दिनुपर्छ । हो बन्दुक बोक्ने भएकाले त्यहाँ कडा अनुशासन हुनुपर्छ । चेन अफ कमान्ड झनै महत्वपूर्ण छ तर त्यसको सबै अपनत्व प्रधानसेनापतिले मात्र लिँदा दुर्घटना हुनसक्छ । शक्तिको विकेन्द्रीकरण भावमा अडेर अघि बढ्न सके फरक प्रकारको प्रशंसा शर्माले बटुल्ने मात्र होइन, संगठनमा सबैको अपनत्व हुनेछ ।

सुरक्षा र प्रतिरक्षा नीति/रणनीतिसँगै सैन्य अभ्यास, कूटनीतिक सम्बन्ध, राष्ट्रिय सुरक्षामा सही सल्लाह र सुझाव लगायतको काम प्रधानसेनापतिले गर्ने हो । सेनाको परमाधिपति रहेका राष्ट्रपतिले बाहिरबाट सुरक्षा सल्लाहकार राख्नेसमेत अभ्यास यसअघि भए पनि अबका दिनमा शर्माले रोक्न सक्नुपर्छ ।

त्यहीअनुसार ऐन र कानुनहरूलाई पनि संशोधन गर्न सक्नुपर्ने हुन्छ । यद्यपि भर्ना छनौट, शान्ति मिसन पठाउने रोलक्रम, अनावश्यक अर्दली राख्‍ने लगायतको कटौती भने यसअघिका प्रधानसेनापतिले राम्रै काम गरेका छन् । यद्यपि ती काममा शर्माको संलग्नता पनि उत्तिकै थियो भन्ने धेरै कमलाई जानकारी छ ।  राष्ट्रिय सुरक्षाको समग्र विश्लेषण नेपाली सेनाले गर्ने हो ।

सुरक्षा र प्रतिरक्षा नीति/रणनीतिसँगै सैन्य अभ्यास, कूटनीतिक सम्बन्ध, राष्ट्रिय सुरक्षामा सही सल्लाह र सुझाव लगायतको काम प्रधानसेनापतिले गर्ने हो ।

सेनाको परमाधिपति रहेका राष्ट्रपतिले बाहिरबाट सुरक्षा सल्लाहकार राख्नेसमेत अभ्यास यसअघि भए पनि अबका दिनमा शर्माले रोक्न सक्नुपर्छ । त्यो कार्य अनावश्यक थियो । कार्यकारी प्रमुखको यस्ता सल्लाहकार हुन सक्छन् तर आलंकारिक राष्ट्रप्रमुखको त्यस्ता सल्लाहकार हैसियत बेगरका हुनेछन् । जुन आवश्यक नै छैन । 

सेनाको आँखा सधैँ सरकार र नागरिकतर्फ नै हुनुपर्छ । सेना मस्तसँग सुत्नसमेत हुँदैन । त्यही जगमा अडेर सेनाले नागरिकलाई परेको असहजतामा ध्यान दिनैपर्छ । सेनाले मुलुकको सार्वभौम सुरक्षाका साथै जनताका जिउधनको सुरक्षामा पनि जोड दिनुपर्छ । प्राकृतिक प्रकोप, बाढी पहिरोमा उद्धारदेखि अन्य धेरैकामा नागरिकसँग सँगै हुनुपर्छ । तर नागरिकसँग निकटको सम्बन्ध भने सेनाको हुनु हुँदैन । सेना भनेको हाम्रो रक्षामा खटिने विशेष प्रशिक्षित नागरिक हुन भन्ने आम नागरिकले बुझ्नुपर्छ ।  

हुनत यो पाटो शीतल निवास, सिंहदरबार र भद्रकालीको सम्बन्धमा नागरिकको विषय अडेको हुन्छ । शर्माले पारदर्शितामा जोड दिँदा सेनाले गर्दै आएका खरिद प्रक्रिया र सैनिक सामग्रीमा ध्यान दिन जरुरी छ । सेनालाई राइट साइजमा राख्ने र अत्याधुनिक बनाउने, इन्टेलिजेन्समा जोड दिने काम गर्न आवश्यक छ । नेपाली सेनाले चलाउने हतियार साँच्चै लोभलाग्दा छन्, अन्य मुलुकले नियाल्ने हो भने । त्यसमा अझ पाइन थप्ने काम शर्माको हो । इजरायलको जस्तो सेनाको परिकल्पना सबैले गर्छन् तर त्यो तहमा कसरी पुग्ने भन्नेमा ध्यान दिइँदैन ।

सैन्य उपकरण, विमान, हेलिकप्टर र तिनका पाटपुर्जाका साथै हातहतियार खरिदमा सेनामा होमिने गरेकाले त्यस्ता काम सरकारले गरेर सेनालाई उपलब्ध गराउनुपर्ने प्रणाली तय गर्नुपर्ने हुन्छ । वा सेनाभित्रै त्यस्तो खरिद गराउने हो भने रक्षामन्त्रालयले समन्वयकारी भूमिका निर्वाह गर्नपर्छ ।

अन्यथा सधैँ सेना यसमा फसिरहेको हुन्छ । विकास निर्माणको काम पनि सेनालाई सरकारले जिम्मा लगाउने अनि विवादमा सेना तानिने काम भएको छ । यस्ता विषयको तारतम्य सेनाको नेतृत्वले नै मिलाउने हो । 

नेपाली सेनाले चलाउने हतियार साँच्चै लोभलाग्दा छन्, अन्य मुलुकले नियाल्ने हो भने । त्यसमा अझ पाइन थप्ने काम शर्माको हो । इजरायलको जस्तो सेनाको परिकल्पना सबैले गर्छन् तर त्यो तहमा कसरी पुग्ने भन्नेमा ध्यान दिइँदैन ।

थापाले आफ्नो कार्यकालमा केही आँट गरेर सुधार त गरे तर सधैँ विवादमा तानिएका खरिद प्रक्रिया, विकास निर्माण, व्यवस्थापनको जिम्मेवारी लगायतको विषयमा उनी प्रवेश नै गरेनन् । नेपाली सेनाको रगत र पसिनाले जम्मा भएको सैनिक कल्याणकारी कोषमा सधैँ सबैको गिद्दे नजर पर्ने गरेको छ ।

यसलाई लगानीका रूपमा नभई अन्य कल्याणकारी काममार्फत सैनिक परिवारकै हितमा लैजानुपर्ने हुन्छ । त्यो कार्यमा प्रधानसेनापति शर्माले काम गर्नपर्ने देखिन्छ । यसमा शर्माले अहिलेसम्मको परम्पराभन्दा फरक रूपमा निर्मम भएर निर्णय लिनुपर्ने देखिन्छ । 

नेपाली सेना विश्व शान्तिमा दोस्रो ठूलो योगदान पुर्‍याउने मुलुकमा दर्ज भएको छ । यस्तो सेनाले यस क्षेत्रको अशान्तिमा समेत भूमिका निर्वाह गर्न सक्ने गरी नयाँ प्रधानसेनापतिको ध्यान पुग्‍नुपर्ने देखिन्छ । यो क्षेत्रमा अमेरिका, चीन, भारत र रसियाको चारकुने टकराव छ । त्यस टकरावमा अफगानिस्तान परिसक्यो । त्यसपछिको जरजर भूमि नेपाल नै हो ।

हाम्रा छिमेकीबीचको धकेलाधकेल होस् कि प्रोक्सी वार होऊन्, दुवैको चेपमा नेपाल पर्छ । त्यसको इरिटेसनमा पनि नेपाल पर्छ । यस्ता विषयलाई प्रधानसेनापतिले नजिकबाट नियाल्दै विकसित भूराजनीतिक परिवेशमा नेपाली सेनालाई ढाल्ने प्रयत्न गर्नुपर्छ । अनि, कोभिड-१९ ले बिथोलेका कार्यहरू अघि बढाउनुपर्ने बाध्यता शर्मासामू छ नै । यस्ता विषयमा अध्ययन-अनुसन्धानमा पनि उत्तिकै जोड दिएर शर्मा अघि बढ्नुपर्ने देखिन्छ । 


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x