वार्ता

इकागज संवार्ता

कतारी राजदूतसँग वार्ता : पाँच वर्ष बसिसकेँ, पाँच दिन जस्तो लागेको छ

निर्धक्क नेपाललाई आफ्नो दोस्रो घर मान्छु !

चन्द्रशेखर अधिकारी |
असोज ८, २०७८ शुक्रबार १७:४५ बजे

नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैल नेपाल-कतार सम्बन्ध विस्तारमा काठमाडौँमा सक्रिय रहेको पाँच वर्ष कटेको छ । उनी नेपाल सुन्दर मुलुक रहेकाले यहाँ पाँच वर्षे बसाइ कटेको पत्तो नै नपाएको बताउँछन् । विभिन्‍न शास्त्रमा गरिने व्याख्याहरूमा भनिएझै कतै स्वर्ग छ भने त्यो नेपाल नै रहेको भन्दै आएका उनले कतारी चासो स्पष्ट पार्दै भने, ‘नेपालमा कतारको चासो भनेको यहाँको जीवनस्तर उकास्‍ने, नेपालीको मुहारमा यस्तै हाँसो देखिरहने, नेपालीले उच्च शिक्षा हासिल गरेको हेर्नेमात्र होइन, स्पोर्टसमा पनि नेपालीले केही गरोस् भनेर हेर्ने नै हो ।’  नेपाल-कतार सम्बन्ध सधैँ मजबुत रहोस् भन्‍ने पनि लाग्छ, उनलाई । कतारलाई विकसित बनाउन नेपालीको रगत र पसिना परेकाले नेपालप्रति आफूहरू सधैँ ऋणी रहेको बताउँछन् । अनि नेपाललाई कतारले कहिल्यै पनि बिर्सन नसक्ने र यहाँको विकासमा सधैँ सहयोग गरिरहने बताउँछन्, उनी । नेपालप्रति साँचो माया/स्‍नेह राख्‍ने/गर्ने उनै कतारी राजदूत युसुफसँग दूतावासमा पुगेर इकागजका चन्द्रशेखर अधिकारीले नेपाल-कतार सम्बन्ध, आगामी विश्‍वकप, नेपालमा उसले खेलकुद र अन्य क्षेत्रमा गरिरहेको सहयोगबारे गरेको संवाद-सार :

यहाँ नेपाल आउनुभएको पाँच वर्ष पुगिसकेको छ, कस्तो अनुभव गर्नुभएको छ ?


यहाँलाई पनि जानकारी रहेछ, गत बिहीबार म यहाँ आएको पाँच वर्ष पुगेको छ । पाँच वर्ष बसिसकेँ, पाँच दिन जस्तो लागेको छ । यहाँको सौन्दर्य, नेपालीहरूको मुस्कान, इमानदारी, सभ्यता, संस्कृति र प्राकृतिक सौन्दर्यले गर्दा मलाई यो तवरको रमाइलो अनुभव भएको हो । म यहाँ रहँदा दूतावास र सरकारी अधिकारीसँग भेट्ने काममा मात्र लागिनँ । धेरैभन्दा धेरै नेपालीसँग अन्तर्क्रिया गर्ने प्रयास गरेँ । कतारी दूतावास पनि नेपालीकै घर हो । कतारी भूमिलाई यो अवस्थामा पुर्‍याएको नेपालीले हो । हामीले नेपालीको यो गुन बिर्सन सक्दैनौँ । म यहाँ दूतावासमा छु । कोही नेपालीलाई केही समस्या परेमा आएर कुरा राख्‍न सक्छन् ।

यहाँको सौन्दर्य, नेपालीहरूको मुस्कान, इमानदारी, सभ्यता, संस्कृति र प्राकृतिक सौन्दर्यले गर्दा मलाई रमाइलो अनुभव भएको हो ।

नेपालीसँग प्रत्यक्ष अन्तरक्रिया गर्न रुचाउँछु । पछिल्लो समय कोभिड-१९ महामारीका कारण कतिपय भ्रमण र छलफल प्रभावित भए । कोभिड अगाडि भने म बारम्बार भ्रमणमा निस्कन्थेँ । मैले नेपालको पूर्व-पश्‍चिम यात्रा गरेको छु । इलाम होस् वा बर्दिया, सबै क्षेत्र पुग्‍ने प्रयास गरेको छु । पोखरा, चितवन, लुम्बिनी र काठमाडौँ आसपासका पहाडी भेग सबैतिर घुमेको छु ।

बुद्धको शान्ति भूमिदेखि पोखराको मनमोहक दृश्य, अनि काठमाडौँको कोलाहलदेखि मेरो शान्त निवासको दृश्य नियाल्दै दैनिकी गुजारेको छु । यो बीचमा सरकारी अधिकारीसँग निकै विषयमा सहकार्य र छलफल भए । योजना र छलफलबाट निस्केको निचोड कार्यान्वयन हुँदै जान्छन् । नेपाल जे-जस्तो अवस्थामा छ, यो भन्दा राम्रो स्थितिमा पुग्‍न सक्छ । यसका लागि प्रशासनिक चुस्तता आवश्यक छ । पानी पर्‍यो वा घाम लाग्यो भन्दैमा होलिडे बस्‍ने गर्न भने हुँदैन ।

नेपालको सुन्दरताले यहाँको बसाइ छोेटो भएझैँ कुरा गर्नुभयो नि ?

पक्कै पनि । नेपालको प्राकृतिक सौन्दर्यसँगै यहाँका मानिसको मुस्कान, मिलनसार, सहजपनाका कारण मलाई यस्तो महसुस गरेको हो । यसका साथै नेपालीको मेहनत र पाहुनाप्रति दर्शाउने आदरभावले पनि मलाई यो भूमिले तानिरहेको छ । तर, कतार सरकारले बोलाएको दिनमा आफू जानुपर्ने हुन्छ । अहिलेसम्म सरकारले बोलाइहालेको छैन । अर्को पाँच वर्ष नबोलाए पनि म खुसी नै हुन्छु । नेपाल मेरो दोस्रो घर हो । कतारबाहेक कुन ठाउँ मन पर्छ भनेर कसैले सोध्यो भने म फ्याट्टै भन्छु, नेपाल । नेपालको नाम लिन पाउँदा गौरव लाग्छ । यहाँका मानिसको लगनले पनि सायद यस्तो भएको हुँ ।

मलाई कामले अलिकति थकान भयो र फुर्सद मिल्यो भने नेपालका डाँडा-काँडातिर लाग्छु । कोरोनाको महामारीमा पनि हाइकिङमा रमेँ । नेपालबाट कतारमा राजदूत भइसकेका र कतार-नेपाल सम्बन्धमा योगदान गर्नेहरूसँग झन् नजिक रहेर गफिन्छु । खेलाडी, व्यापारी र व्यवसायीहरूलाई समेत लिएर पनि हिँड्ने गरेको छु । मलाई लाग्छ, नेपालीहरू विश्‍वकै असल र इमानदार नागरिकमध्येका हुन् । यहाँको प्राकृतिक वातावरण हराभराले म मोहित छु । म निर्धक्क नेपाललाई आफ्नो दोस्रो घर मान्छु । नेपालको अधिकांश भाग घुमिसकेको छु । चितवनमा जंगल सफारी, लुम्बिनीमा बुद्धको शान्तिका साथै पोखरा, इलामको मनमोहक दृश्यमात्र होइन हिमालयको काखमा पुगेर हिउँ खेलिसकेको छु ।

यति राम्रो कुरा गर्नुभयो तर पछिल्लो समय नेपालीलाई कतारी प्रहरीमा किन नलिएको ?  

नलगेको होइन नि । मैले नै यो प्रक्रियाअघि बढाउन पहल गरेको थिएँ । तर नेपालमा ब्युरोक्रेटिक झमेला धेरै हुँदा र समयमा उत्तर नदिँदा यो प्रक्रिया रोकियो । यहाँलाई थाहा नै छ, कतारले २०२२ विश्‍वकप आयोजना गर्दै छ । यसका लागि सुरक्षाकर्मीको आवश्यक पर्ने हुँदा प्रहरीमा भर्ती गर्न नेपाली नागरिकलाई उता लान ढिलाइ गर्ने अवस्थामा हामी थिएनौँ । यहीकारण कतारले अन्य मुलुकबाट मान्छे लगिसक्यो । भविष्यमा फेरि कतारी प्रहरीले विदेशी नागरिक लिने भयो भने हामी नेपाललाई सम्झिनेछौँ ।

नेपाल जे-जस्तो अवस्थामा छ, यो भन्दा राम्रो स्थितिमा पुग्न सक्छ । यसका लागि प्रशासनिक चुस्तता आवश्यक छ । पानी पर्‍यो वा घाम लाग्यो भन्दैमा होलिडे बस्ने गर्न भने हुँदैन ।

हालका लागि हामीले दुई सय जना लिने भनेका थियौँ । यो संख्या बढ्दै जानेछ । यसो हुँदा नेपाली नागरिकले राम्रो आम्दानी गर्न सक्थे । उनीहरूले मासिक दुई हजार डलरभन्दा बढी पारिश्रमिक पाउने थिए । पारिश्रमिक राम्रो भएकैले नेपाली नागरिक जाऊन् भन्‍ने मेरो सदिच्छा थियो । तर कतारले झन्डै एक वर्ष कुर्नुपर्‍यो ।

ढिलाइ नेपालको पक्षबाट हुने, अनि दोष चाहिँ पाउने भए । नेपाल सरकार स्पष्ट हुन नसकेपछि कतार सरकारले नै नेपालको उपयुक्त, च्यानलबाट खबर नआएको भन्दै रद्द गरिदिएको हो । म पनि दुःखी छु, नेपाली कामदारका लागि एक राम्रो आम्दानी गर्ने अवसर गुमेको छ ।

ठूलो रकम नेपाल भित्रिनबाट रोकिएको छ । यद्यपि तीन लाख नेपाली कतारमा कार्यरत छन् । सानो संख्यामा त सुरक्षामा पनि छन् । फेरि हामीले नेपालीले कतारीको विकास गरेको गुन कहिल्यै भुल्दैनौँ ।

कतारले नेपालमा अहिले के काम गरिरहेको छ त ?

कतार नेपालसँग सुमधुर सम्बन्ध राख्‍न चाहन्छ । नेपालीलाई असजिलो पर्दा सहयोग गर्न तयार रहन्छ, कतार । कतारमा रहेका नेपालीहरूको परिवार कुन क्षेत्रका छन् र उनीहरू ? कसरी बसेका छन् ? यस्ता विषयमा अध्ययन-अनुसन्धान गरिरहेका छौँ । दुईपक्षीय सहकार्यका लागि नेपाल सरकारसँग पनि कामहरू गरिरहेका छौँ । शिक्षा-स्वास्थ्य लगायतको क्षेत्रमा कतारी च्यारेटीमार्फत पनि सहगोग जारी छ ।

कतार फाउन्डेसनमार्फत यहाँको जीवन स्तर उकास्‍न सहयोग गर्ने काम भएको छ । नेपालका बालबालिका संसारकै राम्रामध्येका छन् । उनीहरूले शिक्षा पाउनुपर्ने र सरकारी शिक्षामा थप सुधार भएमा ती बालबालिका थप भाग्यमानी ठहरिने मेरो बुझाइ छ । त्यसमा पनि सहयोग गरिरहेका छौँ । नेपालको भौतिक संरचना, सडक, बत्ती, स्वास्थ्य, शिक्षालगायत विभिन्‍न क्षेत्रको विकासका लागि नेपाल सरकारसँग कतार हातेमालो गर्न तयार छ । अबको विश्‍व भनेको सहकार्यमा नै अघि बढ्ने हो ।  

कतारमा विश्‍वकप हुँदै छ, तयारी कस्तो छ ?

कतार विश्‍वकप तयारीको उत्तराद्र्धमा छ । रंगशालाहरू बनिरहेका छन् । सहरहरूलाई थप सुन्दर बनाउने काम भइरहेको छ । आउने पाहुनालाई बस्‍ने र सुरक्षाको व्यवस्था मिलाउने काम भइरहेको छ । हुन त कतारमा पहिलेबाटै पर्याप्त पूवार्धार थिए । जसको निर्माणमा नेपाली वर्षौंदेखि खटिइरहेकै थिए । विश्‍वकपका लागि थप पूर्वाधार बनाउने काम भएका छन् । विश्‍वकप विश्‍वकै लागि पर्व हो । हामी कतारी फुटबलमा एकदमै रम्छौँ । म आफैँ पनि फुटबलमा रमाउँछु । कुनै बेला म कतारी युवा फुटबल टिमको सदस्य भएकाले पनि म विश्‍वकपप्रति उत्साहित भएको हो ।

नेपाललाई सहयोग गर्ने मामलामा कतार कहिले पनि लोभी हुँदैन । नेपाल र नेपालीप्रति कतारका हरेक नागरिकको भाव सकारात्मक छ ।

कतारले विश्‍वकप खेलाउन पाउनु ठूलो उपलब्धि हो । कतारले यस्तो मौका पाउनुमा मित्र मुलुकहरूको साथ छ । हामीले सबैप्रति कृतज्ञता पनि व्यक्त गरेका छौँ । तयारीमा हामी संयम तरिकाले अघि बढेका छौँ । बीचमा हाम्रो तयारीलाई कोभिडले असर पनि गर्‍यो ।

छिमेकीहरूले लगाएको नाकाबन्दीको पीडा त छँदै थियो । यी समस्यालाई छिचोल्दै हामीले विश्‍वकप तयारीलाई अगाडि बढाइरह्यौँ । खेलकुदमा हाम्रो लगानी र उद्देश्य अल्पकालीन वा छोटो समयका लागि होइन ।

यसकारण विश्‍वकप आयोजनापछि हामी सेलाउनेवाला छैनौँ । हाम्रो चाहना खेलकुदलाई शिक्षासँग जोडेर अघि बढ्ने हो । यी दुई महत्वपूर्ण क्षेत्रलाई सँगै अघि बढाउँदा नै हामी सबैको भलाइ छ । 

कतारले फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)को स्वामित्व लियो । विश्‍वकप आयोजनाका लागि प्रतिस्पर्धामा उत्रियो । त्यसपछि अन्य खेलका विश्‍वस्तरीय प्रतियोगिता आयोजना गर्न पनि कतार अगाडि बढ्यो । कतार किन एक्कासि अन्तर्राष्ट्रिय खेल उद्योगमा हाम फालेको ?  

हामीले खेलकुदलाई अत्यधिक महत्व दिएका छौँ । विभिन्‍न खेलका अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न हामी सधैँ इच्छुक रहन्छौँ । हामीले सन् २०११ मै एसियन कपको आयोजना गर्‍यौँ । यसले के देखाउँछ भने अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने, खेलकुदमा लगानी गर्ने कार्य हामीले अहिले मात्रै गरेको होइन । दीर्घकालीन योजनाअनुसार नै हामी अघि बढिरहेका छौँ । किनभने हाम्रा लागि खेलकुदको महत्व उच्च छ । खेलकुद हाम्रो दैनिक जीवनमा पनि आवश्यक छ जसरी शरीरलाई चुस्त-दुरुस्त राख्‍न व्यायाम आवश्यक पर्छ । त्यसैगरी मुलुकलाई पनि चुस्त र तन्दुरुस्त राख्‍न शिक्षासँगै खेलकुदको पनि आवश्यकता पर्छ । हामीले मात्रै होइन, सबै एसियाली मुलुकले यो कुरा बुझेका छन् । 

हामी बाँकी विश्‍वसँग विभिन्‍न तरिकाले जोडिन चाहन्छौँ । सहकार्य गर्न चाहन्छौँ । त्यसका लागि खेलकुद महत्वपूर्ण पुल बन्‍न सक्छ भन्‍ने हामीलाई लागेको छ । यसमा कतार निकै अघि बढिसकेको छ । खेलकुदको माध्यमबाट हुने सहकार्यलाई थप प्रगाढ बनाउन हामी प्रतिबद्ध छौँ । हामीले लोकप्रिय विदेशी फुटबल क्लबहरूसँग सहकार्य गरिरहेका छौँ । कतारमै पनि अन्तर्राष्ट्रिय स्तरको फुटबल एकेडेमी सञ्चालन गरिरहेका छौँ । भविष्यमा कतारले यस किसिमको कार्यमा थप लगानी गर्नेछ र अनि अझै सक्रिय हुनेछ । 

कतारले कैयन् वर्षदेखि नेपाली फुटबललाई सहयोग गर्दै आएको छ । खेलाडी घाइते हुँदा उपचार गर्नेदेखि प्रशिक्षकलाई पारिश्रमिक दिनेसम्मको सहयोग गरेको छ । यसको कारण जान्‍न सकिन्छ ?

यसको एक मात्र कारण छ । त्यो हो नेपाल पनि अघि बढोस्, खेलकुदको विकास होस् भन्‍ने चाहना । नेपालीले कतारको विकासमा ठूलो योगदान गरेका छन् । हामीले पनि नेपालको विकासमा सकेको सहयोग गरौँ भन्‍ने चाहना राखेको हो । त्यहीअनुरूप हामी नेपाली फुटबलको साझेदार बनिरहेका हौँ । फेरि नेपाली खेलाडीहरू साँच्चै राम्रो खेल्छन् । नेपाली टिमले नतिजा पनि राम्रै निकालिरहेको छ ।

हामीलाई नाकाबन्दी नै लगाउँदा पनि हाम्रो कुनै पनि काम रोकिएन । बरु नाकाबन्दीकै कारण हामीले आफूलाई निखार्ने मौका पायौँ ।

नेपालले बलियो योजना बनाउने र त्यहीअनुसारको लगानी गर्ने हो भने, यहाँका खेलाडीहरूले अहिलेको भन्दा निकै राम्रो खेल्न सक्छन् । नेपालको पर्यटनमा जति सम्भावना छ, खेलमा पनि उस्तै सम्भावना छ । त्यसका लागि शिक्षाको विकास र खेलको विकाससँगै अघि बढाउन आवश्यक छ ।

खेलाडीलाई शिक्षाको आवश्यकता त छ नै अनि खेल जीवनमा प्रवेश गरेपछि उसको स्वास्थ्य र सामाजिक सुरक्षामा पनि यहाँको सरकारले ध्यान दिनुपर्छ । हामीले कतारमा यस्ता विषयमा ध्यान दिइरहेका छौँ । खेलाडीको स्वास्थ्यमा जहिले पनि सचेत हुनुपर्छ । त्यसैले हामीले हाम्रो मित्र मुलुकका खेलाडीहरूको उपचारमा सहयोग गरिरहेका हौँ । 

गत महिना नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षकबीच ‘मतभेद’ भयो । यस विषयमा एन्फाले मुख्य प्रशिक्षकलाई हटाउन सक्थ्यो । तर एन्फाले त्यसो नगर्नुको कारण कतारसँगको सम्बन्ध भनेर भनिएको छ । यसमा यहाँको धारणा के छ ? 

कतार नेपालको कुनै पनि आन्तरिक ममिलामा प्रवेश नै गर्दैन । नेपाल कतारको मित्र हो । यहाँ भएका कुरालाई कूटनीतिक तवरले सुझाव दिनेबाहेक अरु केही गर्न सकिँदैन । व्यक्तिगत रूपमा भेट्दा साथीभाइको तवरमा केही भन्‍नु वा सहयोग गर्नु फरक कुरा होला तर जब मुलुक जोडिएको हुन्छ, त्यसमा कतारले आफ्नो कूटनीतिक दायराबाट अलग रहेर केही भन्‍न सक्दैन । हामीले नेपाललाई धेरै क्षेत्रमा सहयोग गरिरहेका छौँ । त्यसमा खेलकुुद वा फुटबल एउटा क्षेत्र हो । भविष्यमा हामी नेपाली खेलकुदलाई, फुटबललाई अझ धेरै सहयोग गर्न चाहन्छौँ । तर सहयोगको पनि आफ्नो प्रक्रिया हुन्छ । त्यो परराष्ट्र मन्त्रालयमार्फत नै पत्राचार भएर आउनुपर्छ । अनौपचारिक रूपमा सहयोग मागेर पनि हुँदैन ।  

विश्‍वकपका लागि कतारमा कयौँ नयाँ रंगशाला बनाइएका छन् । त्यसमध्ये एउटा रंगशाला स्थानान्तरण गर्न मिल्ने किसिमको छ भनिन्छ । विश्‍वकप सकिएपछि त्यो रंगशाला कुनै एउटा विकासशील मुलुकलाई उपहारस्वरूप दिने खबर आएको थियो । उपहार पाउन सक्ने मुलुकहरूको सूचीमा नेपाल पनि छ भनिन्छ नि ? 

नेपाललाई सहयोग गर्ने मामलामा कतार कहिले पनि लोभी हुँदैन । नेपाल र नेपालीप्रति कतारका हरेक नागरिकको भाव सकारात्मक छ । नेपालले कुनै प्रकारको सहयोग मागे, कतार त्यसमा सधैँ सकारात्मक नै हुन्छ । जहाँसम्म रंगशाला उपहार स्वरूप दिने कुरा छ, यो कतारी सरकारको निर्णयमा मात्रै निर्भर हुँदैन । किनभने हामीले फिफासँग सहकार्य गरी, यो रंगशाला कुनै मुलुकलाई उपहार दिने हो । हामी एक्लैले निर्णय गर्ने होइन । यसकारण नेपालले फिफासँग औपचारिक रूपमा कुराकानी गर्न आवश्यक छ । नेपाललाई सहयोग गर्ने मामलामा म आफैँ पनि सक्रिय हुने गर्छु । मैले भनेको छु, नेपाल मेरो दोस्रो घर हो । आफ्नो घरमा सहयोग ल्याउन म आफ्नो तर्फबाट सधैँ प्रयत्नरत रहनेछु । कतिपय विषयमा सरकारी पत्राचार नमिलेर, सरकारी प्रक्रिया नमिलेर अघि बढ्न सकेको हुँदैन । तर रंगशालाको विषयमा कतारको भन्दा फिफाको भूमिका हुन्छ । 

कतारले खेलकुदका लागि ठूला-ठूला पूर्वाधार तयार पारेको छ । नेपालमा भने पूर्वाधारको कमी छ ।  नेपाललाई खेलकुद पूर्वाधार निर्माण गर्न सहयोग गर्ने विषयमा कतारले केही सोचेको छ ? 

यसबारे हामीले नसोचेको होइन । तर नेपालले यस किसिमको सहयोग माग्‍ने विषयमा कत्तिको रुचि राखेको छ ? सोच्नुपर्ने हुन्छ । के नेपाल यस्तो अभ्यासमा जान चाहन्छ ? नेपाल यसमा स्पष्ट हुनुपर्छ । हामीले नेपालमा राम्रो रंगशाला होस्, यहाँका खेलाडीको खेल गुणस्तर बढोस्, शिक्षा-दीक्षा पाऊन् भन्‍ने चाहना राखेका छौँ ।  
पछिल्लो समयमा नेपालमा खेलाडीलाई सम्मान गर्ने र उनीहरू पनि मुलुकको प्रतिनिधि हुन् भन्‍ने भाव पलाएको देखिन्छ । यस्तो भाव थप बलियो हुँदै जानुपर्छ । खेलकुद पूर्वाधारको विकासमा नेपालले सहयोग मागे, कतार सहयोग गर्न तत्पर हुनेछ ।

पूर्वाधारको कुरामा मात्र होइन, खेलकुदको समग्र विकासका लागि नै यहाँको सरकार गम्भीर हुनुपर्छ । समाजले त्यहीअनुसारको उत्साह देखाउनुपर्छ । एक जना चिकित्सकले आफ्नो छोरा÷छोरीलाई खेलाडी बनाउँछु भन्‍ने किसिमको सोच राख्‍न सरकारले नै वातावरण सिर्जना गर्नसक्नु पर्छ । तर अहिलेको अवस्था के छ ? के तपाई आफैँ आफ्ना सन्तान खेलाडी बनेको हेर्न चाहन्छु ? मुख्य प्रश्न यही हो । आफ्ना सन्तानलाई खेलकुदमा लगाउँछु भन्‍नेको संख्या कतारमा धेरै भइसक्यो । यस किसिमको उत्साहको वातावरणको सिर्जना सरकारले गर्ने हो । लगानी गर्नुपर्छ । एकेडेमी बनाउनु पर्छ । ग्रासरुट खेलकुदमा ध्यान दिनुपर्छ । यी विषयमा कतारको सहयोग चाहिएको हो भने नेपालले प्रस्ताव राख्‍नुपर्छ । 

नेपाल र कतारको सम्बन्ध भन्‍नेबित्तिकै आप्रवासी कामदारको कुरा आउँछ । के अबका दिनमा कतारले खेल कूटनीतिलाई अघि बढाउन खोजेको हो ? 

हामी कूटनीति र विश्‍व राजनीतिको खेलाडी होइनौँ । यो हाम्रो चाहना पनि होइन । हामी दुईपक्षीय सम्बन्ध हरेक पाटोबाट सबल भएको हेर्न चाहन्छौँ । म नेपालमा राजदूत छु । नेपाल र कतारबीच सबै क्षेत्रमा उत्तिकै सहकार्य होस् भन्‍ने चाहन्छु । यसमा खेलकुद पनि पर्छ । हामीले अर्को वर्ष विश्‍वकप आयोजना गर्ने भएकाले पनि कतारले खेल कूटनीतिलाई अघि बढाइरहेको छ भन्‍ने कुरा आएको हुनसक्छ । तर, हामी सबै क्षेत्रमा सहकार्य गर्न चाहन्छौँ । परिवर्तित विश्‍व राजनीतिमा खेलकुद पनि कूटनीतिको महत्वपूर्ण पक्ष बनेको छ । किनभने खेलकुदको माध्यमबाट दुई मुलुकबीच सद्भाव कायम हुन सक्छ ।  नेपाल र कतारबीचको सम्बन्ध र सहकार्य अझैँ फराकिलो बन्‍ने सम्भावना छ ।  

कतार विश्‍वकप खेलाउन सक्ने राष्ट्रमा दरिरहँदा छिमेकीले कतारलाई एक्ल्याउन खोजेको भन्‍ने थियो नि ?

कतार एक्लै अघि बढ्ने भन्‍ने मान्यता राखेर हिँडेको मुलुक नै होइन । हामी सबैसँग सहकार्य गरेर हिँडेका छौँ । हो, हामीलाई नाकाबन्दी नै लगाउँदा पनि हाम्रो कुनै पनि काम रोकिएन । बरु नाकाबन्दीकै कारण हामीले आफूलाई निखार्ने मौका पायौँ । हरेक असजिला क्षणले नयाँ सम्भावना देखाउने मात्र होइन, कमजोरी भए त्यसलाई पूर्ति गर्ने काम पनि गर्छ । नाकाबन्दीले हामीलाई केही कुरा सिकायो । त्यो हाम्रो आगामी पुस्ताका लागि हितकर छ । हामीले आफ्नो बारेमा भन्दा पनि आगामी पुस्ताको बारेमा सोच्नुपर्छ । कुनै पनि मुलुक विकासको चरणमा पुग्‍ने भनेको त्यहाँ रहेको नेतृत्वले आफनो भन्दा आगामी सन्ततिको के भन्लान्, उनीहरूका लागि कस्तो मुलुक छाड्ने भन्‍ने सोच आउन साथ प्रगतिको पथ खुल्छ ।  


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x