वार्ता

इकागज संवार्ता

अहिलेको नेतृत्व ‘डेट एक्स्पाएर’ औषधि हो, रोगी निको हुँदैन

गगन थापासँग टिमको सम्भावना छ

हरिबहादुर थापा |
कात्तिक १३, २०७८ शनिबार ९:१३ बजे

एकातिर सत्तारूढ नेपाली कांग्रेस महाधिवेशन मिति सर्ने क्रम निरन्तर छ, बिहीबार पनि फेरि केही दिनका लागि घोषित मिति पर सरेको छ । कांग्रेस नेतृत्व र पदाधिकारीका निम्ति आकांक्षीहरू अब महाधिवेशनको मिति नसरोस् भन्‍ने चाहन्छन् । सभापतिमै उम्मेदवारी दिने घोषणा गरेका कांग्रेस नेता प्रकाशमान सिंह कांग्रेसलाई विधि-विधानमा हिँडाउन र जीवन्त तुल्याउन आफ्‍नो उम्मेदवारी अपरिहार्य ठान्छन् । कांग्रेस महाधिवेशन, उम्मेदवारी र ‘टिम’का विषयमा इकागज निम्ति हरिबहादुर थापाले शुक्रबार बिहान गरेको कुराकानी :

नेपाली कांग्रेसको घोषित महाधिवेशनको मिति फेरि थोरै दिन पर सरेको छ, यसरी बारम्बार सारिरहँदा महाधिवेशन नभई कांग्रेसकै वैधानिक हैसियतमा प्रश्नचिन्ह उठ्छ कि भन्‍ने चिन्ता छ, अब चाहिँ घोषित मितिमै महाधिवेशन हुन्छ भन्‍नेमा तपाईंहरू विश्वस्त हुनुहुन्छ ?
नेपाली कांग्रेसको छवि भनेको जस्तोसुकै कठिन परिस्थितिमा सम्मेलन तथा महाधिवेशन हुँदै आएको थियो । पञ्चायत कालमा जतिखेर पार्टीहरूमाथि प्रतिबन्ध थियो, दलीय गतिविधिसमेत गर्न नपाइने बेलामा पनि मिति घोषणा गरेपछि जतिसुकै दमन भए पनि वा पुलिसकै घेराभित्र पनि घोषित सम्मेलन भएको उदाहरण छन् । आम नागरिकमा परेको प्रभाव के हो भने कांग्रेसले बोलेपछि काम गर्छ भन्‍ने हो । त्यहीकारण कांग्रेसप्रति आमनागरिकको साथ-समर्थन रहेको हो, मुलुकमा जस्तोसुकै कठिन परिस्थिति भए पनि ।


कांग्रेसले जतिसुकै प्रतिकूल अवस्थामा पनि महाधिवेशन वा सम्मेलन गर्छन् भन्‍ने ‘इमेज’ थियो । २०४६ माघमा जतिखेर पञ्चायती शासकहरू चर्को दमनमा उद्यत थिए, त्यतिखेर पनि यही चाक्सीबारीमा त्यत्रो सम्मेलन भएको हो । त्यही सम्मेलनले प्रजातन्त्र बहालीको लडाइँको उद्घोष गरेको र सफल भएको उदाहरण यही पुस्ताले देखेको हो । २०४६ चैतको अन्तिम साता आन्दोलनले सफलता प्राप्त गर्दै खुला वातावरणमा हाम्रो पुस्ताले आठौँ, नवौँ, दशौँ, एघारौँमा कांग्रेस विभाजन भएको दुई फरक-फरक महाधिवेशन, बाह्रौँ, तेह्रौँ महाविधेशन देखेको हो । मैले यी महाधिवेशन उल्लेख गर्नुको कारण चाहिँ मिति घोषणा गरेपछि ठ्याक्कै पूर्ण तयारीका साथ महाधिवेशन हुन्थ्यो ।

तपाईंले त्यस्तो कठिन अवस्थामा पनि महाधिवेशन लगायत गतिविधि सहजै सञ्चालन गर्ने पार्टी यतिखेर किन यसरी अन्यौलपूर्ण स्थितिमा पुग्यो त ?
तेह्रौँ महाधिवेशनपछि जो नेतृत्व र पदाधिकारीमा आउनुभयो, उहाँहरूले नेपाली कांग्रेसको विधानको भावना, मर्म र त्यसले निर्देषित गरेका काम-कुराहरू समयमै नगरेका कारणले अन्यौलपूर्ण पैदा भएको हो । अझ भनौँ, लोकतान्त्रिक पार्टीभित्र अलोकतान्त्रिक चरित्र र अभ्यास देखापरेको छ, त्यो कांग्रेसका निम्ति राम्रो हुँदैन । सबैको चिन्ता के छ भने चार पटक महाधिवेशन घोषित हुँदै स्थगित हुँदै फेरि नयाँ मिति आएको छ । यसरी बारम्बारका परिवर्तनले गर्दा बाहिर कांग्रेसमा महाधिवेशन हुन्छ र ? भनी प्रश्न गर्नेहरूको संख्या बढ्दै छ । पहिला कांग्रेसले बोलेपछि गर्छ भन्‍ने शैली थियो, तर अब त हुन्छ र ? भन्‍ने प्रश्न उब्जिनु हाम्रा निम्ति राम्रो प्रश्न होइन ।

लोकतान्त्रिक पार्टीभित्र अलोकतान्त्रिक चरित्र र अभ्यास देखापरेको छ, त्यो कांग्रेसका निम्ति राम्रो हुँदैन ।

यसले आममानिसको मनोविज्ञानमै कांग्रेसले महाधिवेशन गर्दै गर्दैन कि के हो ? भन्‍ने पर्न गएको छ । तेह्रौँ महाधिवेशनपछि नेतृत्व आएका र भएकाहरू पदाधिकारीहरूले नेपाली कांग्रेसलाई ‘ड्यामेज’ गर्नुभएको छ । कांग्रेसका आदरणीय संस्थापक नेताहरू बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्ण शमशेर लगायतका संस्थापक नेताहरूले चाहिँ यो पार्टीको जुन ‘इमेज’ बनाएका थिए, तेह्रौँ महाधिवेशनपछिका नेतृत्वले त्यो ‘इमेज’ जोगाउन सकेको छैन भन्‍ने उदाहरण समयमै महाविधेशन गर्न नसक्नु पनि हो ।

तपाईंको भनाइ सुन्दा वर्तमान संस्थापन नेतृत्व, पार्टीलाई अग्रगति दिन अक्षम भए भन्‍ने निष्कर्ष हो ?
हो । किनभने तेह्रौँ महाधिवेशन सकिएको चार वर्षभित्र महाधिवेशन हुनुपर्छ विधानमा भनिएकै छ । विधानमा पार्टी सभापति, उपसभापति, महामन्त्री, अरु पदाधिकारी र केन्द्रीय समितिका सदस्यहरूका काम-कर्तव्य र अधिकार तोकिएको छँदैछ नि । तिनले विधानतः काम गरेनन् । हामीले निरन्तर भन्दै आयौँ कि विधानअनुरूप काम हुनुपर्छ । तर, विधानले निर्देशित गरेका काम समयमै नगर्दा पार्टीले समस्या खेप्नुपरेको छ । लोकतान्त्रिक पार्टी कांग्रेस विधि-पद्धतिमै हिँड्दै अरूलाई पनि बाटो देखाउन सक्नुपर्ने हुन्छ ।

त्यसरी बेथिति हिँड्न लागेपछि हामीले आवाज उठाउँदै आएकै हौँ । उदाहरणकै निम्ति तेह्रौँ महाविधेशन सकिएको दुई महिनाभित्र पार्टीका सम्पूर्ण विभाग गठन गरिएको हुनुपर्छ भनी कांग्रेसको विधानले निर्देशित गरेको छ । हामीले पार्टी सभापतिसँग त्यसको पूर्णता निम्ति भनिरह्यौँ । तर, दुई महिना के त दुई वर्ष मात्र होइन कि चार वर्षे कार्यकाल सकिसकेपछि मात्रै विभाग गठन गर्न उद्यत् भएको सबैले देखेकै हौँ । विधानले तोकेको ती काम चार वर्षभित्र गर्नु पर्दैन ? कांग्रेसको विधानमा कुनै बेला असाधारण परिस्थिति भएको खण्डका चार वर्षभित्र महाधिवेशन गर्न नसकिए अर्को एक वर्ष थप्न सकिने व्यवस्था छ । त्यही प्रावधान टेकेर पार्टी सभापतिले चार वर्षसम्म कुनै गतिविधि नै गर्नुभएन । दुई महिनाभित्र गठन गर्नुपर्ने विभाग कार्यकाल सकिसकेपछि मात्र पूर्णता दिन अग्रसर भएपछि पार्टी कसरी जीवन्त हुन्छ ?

त्यसरी समय-सीमाभित्रै पार्टीका विभाग नबनेपछि नेतृत्व गु्रमिङ र संगठन विस्तारमै असर पर्‍यो होला, होइन र ?
हो, समयमै काम नभएपछि पार्टी कहाँ जीवन्त हुन सक्छ र ? पानी पनि त बगिरह्यो भने निर्मल र स्वच्छ हुन्छ भने पार्टी पनि त्यसरी बगिरहनुपर्छ नि । पोखरीमै जमेर मात्र बसिरह्यो भने त फोहोर हुँदै जान्छ । त्यसकारण नदीको पानी जस्तै कांग्रेस पनि बगिरहनुपर्छ । त्यसरी पानी बगिरहँदा ठाउँ-ठाउँमा नयाँ नेतृत्व आउँछन् । अनि पार्टीले फरक ऊर्जा प्राप्त गर्छ । तर पार्टी जीवन्त भएन भने नयाँलाई पनि रोक्छ । अनि पुरानाहरूले पदीय ठाउँ ओगट्दै काम वा कार्यसम्पादन गर्न नसक्नेहरू पार्टीमा हालीमुहाली गर्नु राम्रो त होइन नि ।

प्रजातन्त्र र कांग्रेसका निम्ति मैले सबै काम गरेको छु ।

हामी औषधि पसलमै जाँदा पहिला ‘म्यानुफ्याक्चरिङ डेट’ र ‘डेट-एक्स्पायर’ भएको छ कि छैन भनी हेर्ने गर्छौँ । कांग्रेस पार्टीको विधानतः चार वर्षमा मिति भएकै छ । तर, पार्टी सभापतिले चार-पाँच वर्ष तन्काउँदै त्यहाँसम्म पुर्‍याउँदै हुनुहुन्छ कि संविधानले तोकेको अवधि पनि टार्दै हुनुहुन्छ । यसले मुलुकको पुरानो पार्टी कांग्रेस पार्टीकै दर्ता खारेज होला कि आशंका पैदा भएको छ । संविधानले पनि नदिने अवस्थामा मिच्न मिल्छ र ? कांग्रेस भनेको विधि-विधान, संविधान, कानुन मान्‍ने पहिचान बोकेको पार्टी हो । त्यो पहिचान बचाउनुपर्छ । अर्को त ‘डेट एक्स्पाएर’ औषधि खाएर रोगी त निको हुँदैन । यो नेतृत्व पनि म्याद गुज्रेको औषधि हो । यो नेतृत्व जति लम्ब्यायो, उति नै कांग्रेसलाई घाटा हुन्छ र क्षति गर्छ । त्यो कारणले गर्दा जतिसक्यो चाँडो जे जति खराब हुनु थियो, त्यो भइसक्यो । अब चाहिँ धेरै ढिला नगरौँ ।

थोरै जिल्लाबाहेक धेरै ठाउँमा तल्लो तहबाट प्रतिनिधि छनौट भइसकेको स्थिति छ, पार्टी सभापतिकै निम्ति प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेको हुँदा तपाईं कति उत्साहित हुनुहुन्छ ?
म त एकदमै उत्साहित छु । पार्टीमा मेराबारेमा धेरै बुझेका पनि छन् । म नेपाली कांग्रेसको साधारण कार्यकर्ताबाटै राजनीतिमा होमिएको हुँ र निरन्तर यात्रारत छु । २०१७ पुस १ पछि दलहरूमाथि प्रतिबन्ध लाग्यो । त्यसपछि प्रजातन्त्र पुनःस्थापनाका निम्ति म सानै उमेरदेखि केन्द्रीयस्तरकै कार्यक्रममा सहभागी भएको हुँ । म त विद्यार्थी जीवनकालमा पार्टी प्रतिबन्धित हुँदाकै अवस्थामा पनि पर्चा टाँस्न भर्‍याङसमेत बोकेको हुँ । त्यो पनि सुरक्षाकर्मीको आँखा छल्दै राति गर्नुपर्थ्यो । प्रजातन्त्र र कांग्रेसका निम्ति मैले सबै काम गरेको छु ।

म विद्यार्थीकालमा नेपाल विद्यार्थी संघ काठमाडौंको सभापति हुँदै काठमाडौं कांग्रेसको पनि सभापति भएँ । २०५७ मा काठमाडौंको सभापति हुँदा जिल्लामै केन्द्रित हुँदै थिए । त्यतिबेला मेरो सोचाइ थियो कि आफ्नो कार्यथलो काठमाडौँमा संगठन राम्रो नगरीकन एकैचोटि केन्द्रमा जाँदा के राम्रो हुन्छ र ? म यही धेरै अनुभव बटुलौँ भन्‍ने भावनासहित जिल्लामा सीमित हुन खोज्दै थिएँ । दशौँ महाधिवेशनको तिथि-मिति तोकिसकेपछि सोह्रवटा जिल्ला कार्यसमिति भंग गरियो, जसमा काठमाडौं कांग्रेस पनि पर्‍यो । कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा यसरी निर्वाचित समितिलाई यसरी भंग गर्न पाइन्छ ? त्यसरी भंग गरिएपछि मैले विरोधमा अभियान नै चलाए । यो ठीक भएन, पार्टीलाई विधि-विधानअनुरूप चलाउनुपर्छ भन्‍ने अभियानमा लागे । 

मुलुकको पुरानो पार्टी कांग्रेस पार्टीकै दर्ता खारेज होला कि आशंका पैदा भएको छ ।

त्यतिखेर कतिपयले भनेकै हुन्, यो प्रकाशमान सिंह आफूलाई के ठान्छ ? गिरिजाप्रजाद कोइराला जस्तो ‘टावरिङ’ व्यक्तिले गरेको निर्णय चुनौती दिँदै आफूलाई के ठान्छ ? भनी खिल्ली उडाएकै हुन् । त्यसरी जिल्ला कार्यसमिति भंग गरिएपछि महाधिवेशनमा केन्द्रीय सदस्यमा चुनाव लड्न बाध्य भए । केन्द्रीय समितिमा अठार जना सदस्यको खुला निर्वाचन हुँदा म राष्ट्रिय राजनीतिमा प्रवेश नगरेको व्यक्तिलाई तेस्रो नम्बरमा मत ल्याएपछि मानिसहरू चित खाएका हुन् । त्यसरी एकचोटि रामचन्द्र पौडेल, शैलजा आचार्यपछि तेस्रो नम्बर मत ल्याएपछि मानिस छक्कै परेका हुन् । मलाई अझ पनि याद छ कि मतगणना परिणाम घोषणा भएलगत्तै तपाईंले नै मेरो अन्तर्वार्ता लिनुभएको थियो, पोखरामै । त्यसरी एकैचोटि तेस्रो नम्बरमा आउनुको कारण चाहिँ लोकतान्त्रिक पार्टीभित्र त्यसरी अलोकतान्त्रिक तवरले जिल्ला कार्यसमिति भंग हुँदा आवाज उठाउने व्यक्तिहरू केन्द्रमा पनि चाहिन्छ भन्‍ने सन्देश गएकै कारणले मत दिएका हुन् । किनभने पार्टी बेथितिमा जाँदा आवाज उठाउन सक्ने क्षमता भएको हुँदा केन्द्रीय समितिमा पुर्‍याउँदा राम्रो हुन्छ भन्‍ने कांग्रेस प्रतिनिधिहरूले ठानेका हुन् । विधि-विधानका निम्ति मैले पार्टीभित्र पनि संघर्ष गरेको छु र अडान लिनुपर्ने ठाउँमा अडान लिएको छु । मेरो उद्देश्य हो कि पार्टी विधान र अनुशासनमा चल्नुपर्छ भनी जोड दिनुपर्छ ।

तपाईंले पार्टी सभापतिको प्रतिस्पर्धामा होमिने घोषणा गरिसक्नुभएको छ, त्यो अडानमा यथावत् हुनुहुन्छ कि तल-माथि हुने सम्भावना छ ?
म टिम मिलाएर प्रतिस्पर्धामा जाने योजनामा छु । तेह्रौँ महाधिवेशनपछि पार्टीका सुस्त गतिविधिका कारणले गर्दा कांग्रेसका निम्ति प्रतिबन्धित अवस्थामै लडेका मानिसहरू भेट्न आइरहनुहुन्छ । उहाँ चिन्ता प्रकट गर्नुहुन्छ कि पार्टी राम्रो बाटोमा गएको छैन । तिमी त गणेशमान सिंहका छोरा पनि भएको हुँदा, राजनीतिक रूपले पनि अनुभवी भएको हुँदा र पार्टीमा बेथिति हुँदाका बेला आवाज उठाउने मानिस यसरी बस्नुहुन्छ ? भनी प्रश्न गर्नुहुन्छ । यसले कांग्रेसलाई राम्रो गर्दैन । कांग्रेस सम्हाल्ने तिम्रो विशेष जिम्मेवारी छ भन्‍नुहुन्छ ।

बीपी-गणेशमानले बनाएको पार्टी खतम हुँदा पीडा हुँदैन ? भनिरहेपछि प्रतिस्पर्धामा उत्रन बाध्य भएको हुँ । म सभापतिको उम्मेदवार बन्‍न बाध्य भएको हुँ । पञ्चायतकालमा हाम्रो परिवारले तत्कालीन शासन व्यवस्थाबाट अनेकन् दुःख-पीडा पाएको सबैले देखेकै छन् । त्यस्तो अवस्थामा पनि मूल्य-मान्यताकै निम्ति राजनीति गरिएको हो ।

‘ए कांग्रेस’, ‘बी-कांग्रेस’, ‘सी कांग्रेस’ देखिन्छ, तर नेपाली कांग्रेस देखिँदैन ।

अझ प्रजातन्त्रको मूल्य-मान्यताका निम्ति राजनीति गर्नेहरूले दुःख-झमेला खेप्नु पर्दाेरहेछ । हाम्रो परिवारले त्यति दुःख पायो भने जिल्ला-जिल्लामा रहेर प्रजातन्त्र स्थापनाका निम्ति लड्ने परिवारको कतिको आँसु, दुःख, कष्ट जोडिएको छ । प्रजातन्त्र त्यत्तिकै आएको होइन । हो, हामीले वरिष्ठ नेताहरूलाई सम्मान गर्नुपर्छ । तर अवसर पाएर काम गर्न नसकेका नेताहरूलाई निरन्तर नेतृत्वमा राख्नु हुँदैन । त्यहीकारण यसपालि पनि मेरो अभियान हो, लोकतन्त्र जोगाउन कांग्रेसलाई जोगाउनुपर्छ । कांग्रेस जोगाउनु भनेको कांग्रेसलाई संस्थागत गर्नु होे । त्यस निम्ति त्यो काम गर्न खट्न सक्ने क्षमता भएका नेतालाई स्थापित गर्नुपर्छ । मेरो व्यक्तिगत स्वार्थका निम्ति होइन कि त्यत्रो संघर्ष गरेर ल्याएको प्रजातन्त्र-लोकतन्त्र संस्थागत गर्न जुझारु नेतृत्व चाहिन्छ ।

अब संस्थापन पक्ष वा शेरबहादुर देउवाइतर समूहबीच सभापतिमा एकै उम्मेदवार र टिमसहित चुनाव जान सक्ने सम्भावना कत्तिको छ ?
यो उम्मेदवारी दर्ता नभएसम्म अनेकन् सम्भावना हुन्छ र रहन्छ । अनि राजनीतिमा धेरै खाले सम्भावना हुन्छ । तर राजनीतिक न्याय हुने किसिमले टिम बन्‍नुपर्छ भन्‍ने हो । अनि मौका पाएर काम गर्न नसक्नेहरूलाई सभापतिमा राखेर हुँदैन । वरिष्ठ नेताहरू भन्छन् कि गर्न सक्ने मानिसहरू पछि हट्छन्, नसक्नेहरूलाई अघि बढाएकै कारण पार्टीको दुर्दशा भएको हो ।

लोकतान्त्रिक पार्टीभित्र अलोकतान्त्रिक चरित्र र अभ्यास देखापरेको छ ।

मलाई अगाडि सर्नुपर्छ भनेकै कारणले गर्दा अब चाहिँ मैले जिम्मेवारी गर्दै नेतृत्वमै प्रतिस्पर्धा बाध्यतामा पुगेको हुँ । अनि कांग्रेसमा अधिवेशन-महाधिवेशनका बेला अत्यधिक चहलपहल हुन्छ, अरु बेला चाहिँ कुम्भकर्णको सुताइमा परिणत हुन्छ । त्यसले पार्टीलाई शिथिल तुल्याएको छ । अनि ‘ए कांग्रेस’, ‘बी-कांग्रेस’, ‘सी कांग्रेस’ देखिन्छ, तर नेपाली कांग्रेस देखिँदैन । खुला लोकतन्त्रमा पार्टीलाई तजबिजी वा मन लागेको बेलामा मात्र सक्रिय गराएर त हुँदैन नि । यो निरन्तर रूपमा सक्रिय रहनुपर्छ ।

तपाईं र युवा नेता गगन थापाबीच एकै टिममा रहेर प्रतिस्पर्धा गर्ने दृश्यहरू देखापरेको छ, त्यो देखावटी मात्र हो कि भोलि प्रतिस्पर्धामै जाने टिम हो ?
पार्टीलाई ‘ड्राइभ’ गर्न युवा चाहिन्छ । अनि युवा पुस्ता पनि ठूलो जमातमा छन् । पार्टीमा प्रतिनिधिहरू युवा पुस्ताबाटै अत्यधिक आएका छन् । हामी टिम बनाउँदा अलि खारिएका, परीक्षण पनि भइसकेका युवा अनुहार, जसले कांग्रेसमात्र होइन कि देशमै ‘इमेज’ बनाइसकेमा मानिस चाहिन्छ । मेरो मान्यताका हो कि ठीक मानिस ठीक ठाउँमा हुनुपर्छ भन्‍ने हो ।

त्यसो भए, तपाईं र गगन थापाबीच टिम बन्‍ने सम्भावना छ ?
किन नहुनु र ? गगन थापासँग त्यो सम्भावना छ, किन नहुनु ? पार्टीलाई संस्थागत, विधिसम्मत अघि बढाउनुपर्छ भन्‍ने अभियान हो । अनि पार्टी र लोकतन्त्रलाई मजबूत गर्नुपर्छ भन्‍ने अभियानमा गगन थापा सक्रिय छन् । पार्टीलाई बलियो र संस्थागत गर्न चाहनेहरूबीच एउटा ‘बेस्ट टिम’ बनाउँछौँ ।


Author

हरिबहादुर थापा

संसद्, शासन र राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x