वार्ता

इकागज संवाद

'गुटगत समीकरण मिलाएर नेतृत्वमा पुग्‍नेहरूले कांग्रेस कमजोर बनाए'

इकागज |
मंसिर ३, २०७८ १८:१ बजे

नेपाली कांग्रेसका नेता महेश आचार्यले आसन्न १४औं महाधिवेशनमा उपसभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् । २०२५ सालमा विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय आचार्य २०४८ सालमा निर्वाचित सरकारमा अर्थराज्यमन्त्री थिए । उनी नेपालमा उदार अर्थव्यवस्था सुरुवात गराउने आर्किटेक्ट हुन् । २०५६ सालको निर्वाचनपछि कृष्णप्रसाद भट्टराईको सरकारमा पनि आचार्य अर्थमन्त्री भए भने दोस्रो संविधानसभा निर्वाचनपछि नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारमा वनमन्त्री थिए । बीपी कोइरालाको सानिध्यबाट राजनीतिक जीवन शुरु गरेका आचार्य गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराई दुवैका प्रिय पात्र थिए । शान्तिसम्झौतामार्फत् माओवादीलाई राजनीतिको मूलप्रवाहमा ल्याउन लडाकूहरूको निशस्त्रीकरण लगायतका विषयमा दलहरू र माओवादीबीचको वार्तामा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । नेपाली कांग्रेसभित्र वैचारिक तथा सिद्धान्तनिष्ठ नेताको छवि बनाएका आचार्यसँग इकागजले गरेको कुराकानीः 

एकाथरीले यहाँलाई पार्टी राजनीतिबाट निष्क्रिय रहेको भन्ने आरोप लगाइरहँदा नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा उपसभापतिको उम्मेदवारी घोषणा गर्नुभयो नि ? 


संसद र सरकारमा हुँदाको सक्रियता, जनतासँगको सम्पर्क र सार्वजनिक मञ्चमा देखिने क्रम बढी हुन्छ । संसदमा र सत्ता राजनीतिबाट अलिकति टाढा हुँदा हाम्रो उपस्थिति पातलो भएको जस्तो देखिन्छ । पार्टीभित्रै पनि म पदाधिकारी नभएकाले पनि धेरै भूमिका नभएको जस्तो देखियो । यी सबै सन्दर्भको पृष्ठभूमिमा हाम्रो पार्टी राजनीतिमा आन्तरिक लोकतन्त्रको क्षयीकरणको प्रक्रियाले जन्माएको परिस्थिति हो भन्ने लाग्छ । व्यक्तिगत रूपमा मेरो मात्र प्रश्न होइन, म जस्ता धेरै साथीहरू पार्टीमा धेरै योगदान गर्न सक्नुहुन्थ्यो, जो माथि पार्टीले ठूलो लगानी पनि गरेको छ । त्यस्ता नेताहरूलाई पूर्ण क्षमतामा काम गर्ने परिस्थिति बन्न नसकेको अवस्थामा यो समस्या देखिएको हो । म पार्टीको केन्द्रीय सदस्यका रूपमा बैठकहरू (यद्यपि बैठकहरू सीमित मात्र बस्ने गरेका छन्) मा सक्रियताका साथ आफ्ना विचार राखिरहेको छु । गम्भीर राष्ट्रिय मुद्दामा उदासीन भएर राष्ट्रमा संकट निम्त्याउने प्रवृत्तिलाई चिरेर क्षमतावान् साथीहरू पार्टी नेतृत्व पंक्तिमा आउने, समस्याको चूरो समातेर बहस गर्ने र सामूहिक निर्णय प्रक्रियामा जाने उत्प्रेरणा पार्टी पंक्तिमा जागृत गराउनुपर्छ भनेर मैंले उम्मेदवारी घोषणा गरेको हुँ । आसन्न महाधिवेशनमा नेतृत्व लिन वरिष्ठ नेताहरूकै रुचि देखिएको छ । पार्टी सभापति आफैं, वरिष्ठ नेता रामचन्द्र पौडेल र अन्य साथीहरू पनि हुनुहुन्छ । त्यसकारण म सभापतिको प्रतिस्पर्धामा होमिन चाहिनँ । हाम्रो पार्टीको विधानले पार्टीको उपसभापतिले पार्टीको नीति, अनुसन्धान र प्रशिक्षण केन्द्रको नेतृत्व गर्ने वैधानिक संरचना छ । यसले राष्ट्रिय मुद्दाहरूमा पार्टीको नीति, विचार र कार्यक्रममार्फत् राष्ट्रिय नीति र कार्यक्रमहरूमा योगदान गर्ने तथा वैचारिक बहस र प्रशिक्षणको कार्यक्रम प्रस्तावित गर्ने, अन्तराष्ट्रिय एजेण्डामा पार्टीको धारणा बनाउने वैधानिक प्लेटफर्मलाई म सशक्त बनाउन चाहान्छु । मैले अहिले व्यक्त गरेका धारणालाई प्रबल बनाउन र बहसमा ल्याउनका लागि मैले उम्मेद्वारी दिएको हुँ । 

२०२७ सालमा नेपाल विद्यार्थी संघको स्थापना हुनुभन्दा अघिदेखि राजनीतिमा लागेको, २०४८ पछि सरकारमा रहेर आफ्नो कामले उचाइ कमाएको नेता पदाधिकारीमा चुनाव लड्न निकै लामो समय पर्खनुपर्‍यो जस्तो लाग्दैन ? 

म लामो समयदेखि हाम्रो पार्टीमा र देशमाथि नै आइरहेका समस्या र संकटहरूलाई गम्भीर ढङ्गले नियालीरहेको थिएँ भने पार्टीको प्लेटफर्ममा बहस पनि गरिरहेको थिएँ । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा कहिलेकाहीं एक्लै हुने परिस्थितिमा पनि म आफ्ना कुराहरू लगातार राखिरहेको थिएँ । तर अहिले १४औं महाधिवेशनमा हाम्रो पार्टीको सर्वोच्च निकाय र विशाल पंक्तिमाझ हाम्रो पार्टीमा र राष्ट्रिय राजनीतिमा, संविधान तथा लोकतन्त्रमा देखिएका संकटहरूबारे बहसका लागि उम्मेद्वारी घोषणा गरें । फगत पदीय दायित्वमा जाने चाहनाभन्दा पनि यी मुद्दाहरूलाई बहसमा ल्याउनका लागि मेरो चिन्ता भयो र मैंले उम्मेद्वारीको घोषणा गरेको हुँ । 

ती संकटहरू के–के हुन् ? 

मैले देखेको संकटको पहिलो चरित्र हाम्रो पार्टी संगठनसँग जोडिएको छ । हाम्रो पार्टी संगठनलाई गुटगत राजनीतिको धमिराले खाइरहेको छ । हाम्रो पार्टीभित्र आन्तरिक लोकतन्त्रको क्षयीकरण पनि बढेको छ । खासगरी पार्टीको नेतृत्वमा जानेहरूको पदावधिको विषयले यो संकटलाई संकेत गर्छ । हाम्रो पार्टीको विधानले चार वर्षको पदावधि तोकेको छ । त्यसलाई लम्ब्याउँदै जाने अनि विधानले दोहोर्‍याउन पाउने सुविधा पार्टी सभापति र पदाधिकारीलाई दिएको छ, त्यसले गर्दा दोहोरिनका लागि पार्टीको र पदको शक्तिलाई प्रयोग गरेर दोहोरिने प्रवृत्ति बढ्दै गएको छ । यसले गर्दा अस्वस्थ ढङ्गको प्रतिस्पर्धा र आन्तरिक लोकतन्त्रको क्षयीकरणको प्रक्रिया म देख्छु । यो कारणले नै गुटगत राजनीति तीव्र र बलियो भएको छ । यो गुटगत राजनीतिलाई हाम्रो पार्टीको चुनावको प्रणालीमा जोडेर हेर्ने हो भने हामीले सिर्जना गरेका सबै पदहरूमा गुटगत आधारमा निर्वाचन गर्ने प्रवृत्ति झांगिएर आएको छ । 

कांग्रेस त्यताको गठबन्धनको सोचमा अलमलिननुभन्दा हाम्रो पार्टीको आन्तरिक शक्ति प्रवर्धनको मुद्दामा केन्द्रीत गर्नुपर्छ । 

संविधानले नै पार्टीको केन्द्रीय र प्रादेशिक तहमा पदाधिकारीको निर्वाचन हुने व्यवस्था गरेको छ । तर हामीले थुप्र पदहरू सिर्जना गरेर सबै पदहरूमा गुटगत प्रतिस्पर्धा गर्ने अभ्यास गर्दैछौं, यसले हाम्रो पार्टी संगठनलाई ध्वस्त बनाउँछ । हाम्रो पार्टीको एकता र साझा दृष्टिकोण वाष्पीभूत हुँदै जाने खतरा देखिन्छु । तेश्रो प्रवृत्ति कस्तो देखिन्छ भने वैधानिक रूपले व्यवस्थित गरिएको थलो, उदाहरणका लागि केन्द्रीय कार्यसमितिमा स्वस्थ बहस हुनुपर्नेमा कार्यसमितिको अधिकारी कार्यसमितिको अधिकार अपहरित भएर थोरै पदाधिकारीले निर्णय गर्ने र कार्यसमितिले त्यसलाई अनुमोदन गर्नुपर्ने प्रवृत्ति छ । पार्टी संगठनमा देखिएको चौथो चिन्ताजनक प्रवृत्ति के हो भने विचार र नीतिविना नै नेतृत्व चयन गर्नुपर्ने प्रवृत्तिले प्रश्रय पाइरहेको छ । हाम्रा सबै कामहरू व्यक्तिगत ‘लाइक’ र ‘डिस्लाइक’मा नेतृत्वको चयन गर्ने परिपाटी बन्न थाल्यो । हाम्रो निर्वाचन प्रणालीले पार्टीभित्रका फरक मतहरूलाई निकास दिने काम गर्छ, स्वस्थ नेतृत्वको जिम्मेवारी निर्वाह गर्नुपर्नेमा त्यो काम हाम्रो निर्वाचन प्रणालीले गर्न सकिरहेको देखिदैंन । विचार र नीति बेगरको नेतृत्व चयन गर्ने प्रवृत्तिले पार्टी लोकतन्त्रको क्षयीकरणको प्रक्रिया तीव्र बनेको छ र गुटगत राजनीतिको धमिराले संगठन ध्वस्त बन्दै गएको छ । 

नेतृत्वलाई जवाफदेही बनाउन १४औं महाधिवेशनमा के गर्नुहुन्छ ? 

मैले पार्टीभित्रको समस्याहरू केलाएँ । त्यसले जन्माएको पार्टी संगठनको क्षयीकरण, आन्तरिक लोकतन्त्रको अभाव र नेतृत्व विकासको अस्वस्थ शैलीलाई हामीले बदल्नुपर्छ । त्यसैले यी मुद्दाहरूलाई १४औं महाधिवेशनको दौरानमा पार्टीको सर्वोच्च निकायका प्रतिनिधिहरूको माझमा राख्छु । हाम्रो पार्टीको विधानले नेतृत्वलाई दुई कार्यकालसम्म नेतृत्व गर्न पाउने सुविधा दिएकाले पनि आफू अर्कोपटक दोहोरिने सुनिश्चित नगरीकन महाधिवेशन गराउन पनि द्वुविधा हुने र गर्दापनि पद, संगठन र कार्यालयको शक्तिको अस्वभाविक बल प्रयोग हुने हुँदा नेतृत्वलाई जवाफदेही बनाउन सकिएन । गुटगत राजनीतिकै कारण पार्टीको हरेक तहमा अझै भन्ने हो भने क्रियाशील सदस्यता वितरणदेखि नै गुटगत प्रतिस्पर्धा देखियो । विधानले बहसका लागि व्यवस्था गरेको केन्द्रीय कार्यसमितिको अधिकार पदाधिकारीले अपहरण गरिदिने अनि पार्टीको सर्वोच्च निकाय महाधिवेशनमा पनि विचार र नीतिमा बहस नहुने भएपछि पार्टी नेतृत्वलाई जवाफदेही बन्न दिइरहेको छैन । नेपाली कांग्रेसको सभापति देशको नेता हुने ल्याकतको व्यक्ति हुनुपर्छ । राष्ट्रिय एजेण्डामा बहस गर्न उदासीन भएको नेतृत्व कसरी जवाफदेही हुनसक्छ ? हाम्रो लोकतान्त्रिक प्रणाली, संविधान र संसदीय पद्धतिमा जुन ढङ्गको आक्रमण छ; कम्युनिष्ट पार्टीहरूमा तीव्र वैचारिक स्खलन, अराजक सांगठनिक संरचनाले निम्त्याउने अस्थिरताको भूमरीमा हामी छौं । त्यसैले यी विषयलाई गम्भीर ढङ्गले छलफलमा लैजानुपर्छ । हाम्रो पार्टीको विशाल पंक्तिभित्र म यी विषयहरूलाई प्रवेश गराउन प्रयत्न गर्छु र ढिलोचाँडो हाम्रो पार्टीभित्र आन्तरिक दबाब प्रणाली विकसित हुनेछ । 

प्रमुख राजनीतिक घटनाक्रममा मुलुकको राष्ट्रिय राजनीतिलाई नेतृत्व गरिरहेको नेपाली कांग्रेस कमजोर बनिरहँदा राष्ट्रिय राजनीतिको नयाँ आयाम कस्तो देख्नुहुन्छ ? 

राष्ट्रिय राजनीतिमा गम्भीर चुनौतीको तीनओटा मुद्दाहरू हाम्रो आँखा अगाडि छ । पहिलो, कोभिड–१९ ले सिर्जना गरेको आर्थिक र सामाजिक चुनौतीलाई पुनरुत्थानको बाटोमा लिएर जानका लागि हाम्रो राष्ट्रिय दृष्टिकोण, हाम्रो पार्टीको दृष्टिकोण के हो भन्ने बहसमा हाम्रो पार्टीको मात्र होइन सबै राजनीतिक दलहरूमा पनि देखिदैंन । वास्तवमा यो मुद्दा राष्ट्रिय राजनीतिको प्रमुख मुद्दा हुनुपथ्र्यो । लाखौं जनताको जीविका संकटमा परेको र दीर्घकालीन दृष्टिकोणले नेपालको अर्थतन्त्रको सम्भाव्यता संकटमा परेको बेलामा हामी यो बहसमा कहींकतै संलग्न भएका छैनौं । यहीसँगै जोडिएर आगामी दशकमा जलवायु परिवर्तनका कारणले उत्पन्न संकट हुन् । त्यसले हाम्रो खेती प्रणाली, जैविक विविधता, पर्वतीय भूभागमा बसेका मानिसहरूको जीवन, जीविका र रोजगारीका सम्भावना, हिमाल पग्लने र अनेकन् प्राकृतिक विपद् आउनसक्ने, नदीको प्रवाहमा हुने परिवर्तनले सिञ्चाई, खानेपानी र उर्जाको उपलब्धता हरेक सवालमा संकट आउन थालेको छ । यो हाम्रो निम्ति चिन्ताको विषय हुनुपर्छ । अहिले यी मुद्दाहरूमा राष्ट्रियस्तरमा बहस भएको छैन । यस्ता मुद्दामा पार्टीले बहस गरेर दृष्टिकोण बनाएर नेता जन्माउने पार्टीहरूभित्रको प्रवृत्ति पनि म कमजोर देख्छु । हाम्रो लोकतन्त्रमा, संसदीय प्रणालीमा गम्भीर संकट र क्षयीकरणको वेग तीव्र भएको देखिन्छ । यसको एउटा प्रमुख कारणमा झण्डै दुई तिहाई बहुमत प्राप्त गरेको सरकार पनि चल्न सकेन । बहुमत प्राप्त गर्ने पार्टी नै टुक्रा–टुक्रा भएर गयो ।

सरकार, संसद र न्यायलय अस्तव्यस्त छन् । यसले राष्ट्रिय संकटको संकेत गर्छ । 

अहिले हामीले कामचलाउ रूपमा गठबन्धनको सरकार निर्माण गरेका छौं र यसको प्रभावकारिताका सम्बन्धमा गम्भीर प्रश्नचिन्ह उठेको छ । जनता र देशका अगाडि जे चुनौतीहरू छन् । तिनलाई सम्बोधन गर्नसक्नेगरी सरकारले काम गर्न नपाएको / नसकेको अवस्था छ । संसद चल्न सकिरहेको छैन । यो सँगै हाम्रो न्यायप्रणाली पनि अस्तव्यस्त भएको छ । नेपालको न्याय क्षेत्र गम्भीर संकटमा छ भनेर राजनीतिकर्मी र आम सञ्चारमाध्यमले जति भनेका छन्, त्यो भन्दा धेरै न्यायप्रणालीभित्रैबाट न्यायाधीशहरूको संयोजकत्वमा तयार भएको अनुसन्धान प्रतिवेदनले न्यायप्रणालीमा गम्भीर संकट औंल्याएको छ । भ्रष्टाचार र अनियमितता न्यायाधीशको नियुक्तिको प्रक्रियाबाट प्रारम्भ हुन्छ, मुद्दाहरूको व्यापार हुन्छ र विचौलियाहरूले काम गरिरहेका छन् भनेर न्यायलयको नेतृत्वमा बसेका न्यायाधीशहरू र नेपाल बार एसोसिएसन स्वयंले उठाउँदै गर्दा हाम्रो लोकतन्त्रका आधारभूत संस्थाहरू सरकार, संसद र न्यायप्रणाली अत्यन्त ठूलो संकटको भूमरीमा परेको देख्छु । तर यो विषयले गम्भीर ध्यानाकर्षण पार्टीभित्र र राष्ट्रिय राजनीतिमा पनि उठीरहेको देख्दिनँ र म यस्ता बहसको उठान गर्न चाहान्छु । संकटको अर्को पाटोपट्टी अन्तर्राष्ट्रिय सम्बन्धमा असन्तुलनको आयाम देखापरेको छ । हाम्रो छिमेकी मित्रराष्ट्रको माझमा र अन्तर्राष्ट्रिय शक्तिहरूको द्वन्द्व र अत्यन्त तीव्र प्रतिस्पर्धाको रापमा नेपाल पर्दैछ, परिराखेको छ । यसबाट जोगाउने सचेतता र अग्रसरताको पनि कमी देखिएको छ । 

यहाँले उठान गर्नुभएका यी सबै मुद्दामा ‘पोजिसन’ बनाउन सक्ने स्थितिबाट त कांग्रेस च्यूत भैसक्यो । स्वतन्त्र न्यायलय, संसदीय सर्वोच्चता, जनमुखी सरकारभन्दा पनि कांग्रेस त कम्युनिष्ट पार्टीहरूसँगको गठबन्धन गरेर भएपनि सत्तामा जानेमात्र ध्यान देखिन्छ ? महाधिवेशनमा पनि समय अभावले नीतिगत बहसहरू हुने देखिदैंन ? 

हाम्रो महाधिवेशनमा कुनै नीतिगत बहस नगर्नेगरी केवल नेतृत्वको मात्र चयन गर्ने चलन लामो समयदेखि चलिरहेको छ । गुटको समीकरण र अंकगणित मिलाएर नेतृत्व चयन गर्ने प्रवृत्तिले हाम्रो पार्टीमा नेतृत्व विकासको प्रणाली कमजोर भएको छ । गम्भीर राष्ट्रिय मुद्दाहरूमा समेत उदासीनताका कारण नै अहिले राष्ट्रिय संकट गहिरिदैं गएको हो । हाम्रो पार्टीभित्रको अन्तर्निहीत शक्तिमा धमिरा लागेको छ, त्यसको निदान हामीले खोज्नुपर्छ । पार्टीभित्र व्यापक एकताको आधारभूमि तयार गर्नेबित्तिकै कांग्रेसको फराकिलो जनाधार तयार हुन्छ । नयाँ पुस्तादेखि लोकतन्त्रको पक्षमा रहेका बुद्धिजीवि, विज्ञहरू, विभिन्न समुदायलाई नेतृत्व गरिरहेका व्यक्तिहरू नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक र उदार चरित्र भएको पार्टीमा आवद्ध भएर मद्दत गर्न चाहान्छन् । यतिखेर हाम्रो पहिलो प्राथमिकता आफ्नै पार्टीको शक्तिको दायरा विस्तार गर्ने, नयाँ मतदातालाई आकर्षित गर्ने क्षमताको नेतृत्वको खोजीमा जानुपर्छ । संसदीय लोकतन्त्रमा संसदको फ्लोरमा विषयमा केन्द्रित सहकार्य हुनुलाई म अनौंठो मान्दिनँ तर आफ्नो पार्टीभित्रको आन्तरिक शक्तिको क्षयीकरण नरोकीकन त्यसको क्षतिपूर्तिस्वरूप अन्य पार्टीसँग गठबन्धन गर्ने प्रवृत्ति पार्टीका निमित्त घातक हो । हामीले हाम्रो आन्तरिक शक्तिको प्रवर्धनको एजेण्डामा केन्द्रित गर्दै चुनाव पछाडि संसदमा हुनसक्ने ‘एडजस्टमेन्ट’लाई मात्र स्वीकार गर्ने सोच बनाउनुपर्छ । अहिलेको गठबन्धनमा सबैभन्दा ठूलो समस्या कम्युनिष्ट पार्टीको ठूला फाँट वैचारिक र चारित्रिक गुणहरूको स्खलन तीव्र भएका पार्टीहरू छन् । उनीहरूको सांगठनिक अराजकताको वेग पनि तीव्र छ । त्यसकारण कांग्रेस त्यताको गठबन्धनको सोचमा अलमलिननुभन्दा हाम्रो पार्टीको आन्तरिक शक्ति प्रवर्धनको मुद्दामा केन्द्रीत गर्नुपर्छ । 

यहाँले गुटगत राजनीतिको विरोध त गर्नुभयो । तर महाधिवेशनमा पनि टीम निर्माण नगरी सफल हुन गाह्रो छ । १४औं महाधिवेशनमा यहाँको सभापतिको उम्मेद्वार को हो ? 

त्यसलाई पनि हामीले विवेकपूर्ण ढङ्गले हेर्नुपर्छ । पार्टीभित्र विचारमा केन्द्रित भएर समूहहरू बन्नु अस्वभाविक मानिदैंन । तर स्वार्थका आधारमा पार्टीभित्र नै फरक–फरक पार्टीहरू हुन् कि जस्तो लाग्नेगरी स्थायी गुटहरू निर्माण हुने प्रवृत्ति छ, त्यो घातक छ ।

गठबन्धनमा सबैभन्दा ठूलो समस्या कम्युनिष्ट पार्टीको ठूला फाँट वैचारिक र चारित्रिक गुणहरूको स्खलन तीव्र भएका पार्टीहरू छन् । उनीहरूको सांगठनिक अराजकताको वेग पनि तीव्र छ । त्यसकारण कांग्रेस त्यताको गठबन्धनको सोचमा अलमलिननु हुँदैन । 

यसले गर्दा नेतृत्वमा आउनसक्ने क्षमता भएका, सम्भावना भएका साथीहरू अघि बढ्न सक्नुभएको छैन । शक्तिको राजनीति, पैसाको राजनीतिको प्रभाव बढ्दै गइरहेको छ ।  निर्वाचन प्रणालीले विचार र नीतिमा केन्द्रीत भएर नेतृत्व चयन गर्नुपर्ने, सक्षम नेतृत्वको अवसर प्रदान गर्नुपर्ने हो । निर्वाचन वैचारिक मतभेद अन्त्य गर्नुको साथै द्वन्द्वको निराकरणको मध्यम पनि बन्नसक्छ भन्ने हाम्रो लोकतन्त्रको आधारभूत बुझाइ र अभ्यास हो । त्यसबाट विमुख भएर अस्वस्थ गुटको निर्माणतर्फ हामी जाँदैछौं । एक्लैले अभियान प्रारम्भ गरेर कसरी सफल हुन सकिन्छ भन्ने प्रश्न जायज हो । तर मैंले यी कुराहरू राख्दै जाँदा मलाई लाग्दैन कि म एक्लै हुनेछु । मजस्तो समान सोच राख्ने धेरै साथीहरूले गुटगत राजनीतिको पीडा भोग्नुभएको छ । त्यसैले म विजय–पराजयको मुद्दामा त्यति चिन्तित छैन । मैले उम्मेदवारीका माध्यमबाट यी विषयमा कांग्रेसका लाखौं कार्यकर्ताको ध्यान आकर्षित गराउन सकें भने मेरो उम्मेदवारीले सार्थकता पाउँछ । 

 



Author

थप समाचार