वार्ता

‘पकेटका मान्छे छानेर नेता बनाउँछु भन्‍ने सोच अब एमालेमा हुनुहुँदैन’

अनिष भट्टराई |
मंसिर ६, २०७८ सोमवार १३:३६ बजे

तत्कालीन नेकपा एकता खारेजपछि ब्युँतिएको नेकपा (एमाले)ले पनि विभाजन भयो । खासमा एमालेको विभाजन तत्‍कालीन नेकपा विवादकै पराकम्‍प थियो । त्यसबेला नेकपा अध्यक्ष केपी ओलीविरुद्ध उपाध्यक्ष अष्टलक्ष्मी शाक्य खरो उत्रिन् । सार्वजनिकरूपमै उनी ओलीमाथि खनिइन् । ओलीले सरकार र पार्टी चलाउन नसकेको आरोप उनले लगाइन् । १० बुँदे सम्झौतापछि शाक्य ओलीकै लाइनमा फर्किइन् । एमालेमा फर्केपछि शाक्‍य बागमती प्रदेशको मुख्यमन्त्री बनिन् । एमाले विभाजनको सिकार उनको मुख्यमन्‍त्री पद पनि भयो । दुई महिनामै पद गयो । अहिले प्रतिपक्षी दलको नेता छिन् । एक ताका अध्यक्ष ओलीविरुद्ध खरो उत्रेकी शाक्‍य अहिले(१०औँ महाधिवेशनमा) भने ओली नै अध्यक्ष बन्नुपर्ने लाइनमा छिन् । उनै शाक्यसँग इकागजका अनिष भट्टराईले गरेको कुराकानीको सारसंक्षेप:

तपाईंको उम्मेदवारी के मा हो, वरिष्ठ उपाध्यक्ष हुन चाहेको र नपाए उपाध्यक्षमै दोहोरिने चर्चा छ नि ?


- मैले व्यक्तिगत यही चाहिन्छ, म यही हुनुपर्छ भन्ने चाहना र आकांक्षा छैन । किनभने अहिलेसम्म कम्युनिष्ट आन्दोलनमा लागिरहँदा मलाई यो चाहियो भनेर आजसम्म माग गरेकी छैन । पार्टीले आवश्यकताअनुसार यो जिम्मेवारी तपाईंले लिनुपर्‍यो भनेर भन्दा मैले ‘नाईं’ भनेको पनि छैन । यसरी अहिलेसम्म मलाई जे–जे जिम्मेवारी पार्टीले दियो, मैले लिंदै आएकी हुँ । क्षमताले भ्यासम्म सबै जिम्मेवारी पूरा गरेकी पनि छु । आजसम्म यो चाहियो भनेर भनेकी पनि छैन । 

मेरो प्रष्ट कुरा के हो भने, व्यक्तिगत चाहना, आकांक्षा धेरै हुन सक्छन् । त्यो स्वभाविक हो । तर व्यक्तिगत इच्छा, चाहनाभन्दा ठूलो त पार्टी हो, संगठन हो । अब महाधिवेशनपछि पार्टी कस्तो बनाउने, सुदृढ एमाले बन्छ कि बन्दैन, एकताबद्ध एमाले बन्छ कि बन्दैन, गुटमुक्त बनाउने कि नबनाउने, विचारबाट स्पष्ट एमाले बनाउने कि विचलित एमाले बनाउने, सामूहिक नेतृत्वमा विश्वास गरेर अघि बढ्ने एमाले बनाउने कि व्यक्तिगत चाहनामा चल्ने एमाले बनाउने, अनुशासित एमाले बनाउने कि कस्तो बनाउने भन्ने कुरा महाधिवेशनले टुङ्गो लगाउनुपर्छ । सुदृढ, विचारबाट स्पष्ट, एकताबद्ध, नेतृत्वमा विश्वास गर्ने एमाले बनाउनुपर्छ । हाम्रो पहिलो ध्यान यसमै हुुनपर्छ । त्यसपछि यस कामका लागि यी सम्पूर्ण काम गर्न सुदृढ कमिटी चाहिन्छ । त्यो कमिटीमा पनि खासगरी अहिले जो अध्यक्ष हुनुहुन्छ, केपी कमरेड उहाँले सबैसँग कुराकानी गरेर कस्ता पदाधिकारी ल्याउने टुंगो लगाउनुपर्छ । पदाधिकारीमा आउन चाहने कमरेडहरू धेरै हुनुहुन्छ । तर पदाधिकारी संख्या जम्मा १५ मात्र छ । क्षमता, योगदानलगायत सम्पूर्ण कुराहरू हेरेर पदाधिकारी चयन हुनुपर्छ । यसमा हामी सबैको साथ अध्यक्ष कमरेडलाई हुनुपर्छ । 

उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ । पार्टीमा अर्को ‘प्यानल’ पनि बन्न सक्छ नि ?
- यस्तो प्यानल बन्ने, गुट बन्ने भन्ने हुँदैन । मापदण्ड पुगेका जो व्यक्तिले पनि उम्मेदवारी दिन सक्छ । चाहनाका आधारमा उम्मेदवारी दिन पाउने स्वतन्त्रता पनि सबैलाई छ । तर अघि मैले भनेझैं पार्टी कस्तो बनाउने त्यो आधारमा कमरेडहरू लाग्नुपर्छ । व्यक्तिगत चाहनाका बारेमा त अब छलफल नै हुन सक्दैन । मलाई कुन पद दिइन्छ, के हुन्छ भन्ने भन्दा पनि पार्टी, संगठनलाई कसरी सहयोग पुर्‍याउन सकिन्छ भनेर सोच्नु जरुरी छ । 

अहिले पार्टीमा तीनथरिका मनोविज्ञान समेट्नुपर्ने कुरा छ भनेर कमरेडहरूले भनिरहनुभएको छ । यो त एउटा कुशल नेताको कलामा भर पर्छ । नेतृत्वले आफ्नो कौशल देखाउने मौका हो । आज स्थायी कमिटी बैठक छ, यसबारे बैठकमा पनि कुरा हुन्छ ।

ओली नै अध्यक्ष बन्ने पक्का हो ?
- यो छलफलको विषय हो । केपी कमरेडको मात्र होइन, सबै पदाधिकारीमा आउन चाहेका नेताहरूको पनि विषय हो । 

अहिले सहमतिको महाधिवेशन बनाउने भनिएको छ । सहमतिको नाममा खल्तीबाट नेता छानिने हो ? 

- एमालेभित्र अब यो खाले सोच कसैले राख्नु हुँदैन । मैले गुटगत एमाले बनाउँछु, मेरो पकेटको मान्छेहरू ल्याएर पदाधिकारीमा राख्छु भन्ने सोचबाट सबै मुक्त हुनुपर्छ । किनभने यही कमजोरी, यही प्रवृत्तिले गर्दा पार्टी विभाजन भइसक्यो । अब त एमालेमा मेरो र तेरो भन्ने भाव नै हुनुहुँदैन । पार्टी भनेको सबैको साझा संगठन हो, साझा घर हो ।

एमालेको यो घरमा कम्युनिस्ट आन्दोलनमा लडेका सबै नेताहरू अटाउनुपर्छ । सबैलाई माया गर्न, जस दिन, न्यायिक व्यवस्थापन गर्न सिक्नुपर्छ । पार्टीकै कुशल व्यवस्थापन गरिनुपर्छ । सबैलाई अटाउन सक्ने, खुसी बनाउन सक्ने, माया गर्न सक्ने कमिटी बनाए मात्र पार्टी एक भएर बस्न सक्छ । 

नेकपा एकता खारेज र एमाले विभाजनमा ओली प्रवृत्ति कारक भयो भनेर तपाईंहरूले नै भन्नुभयो । अब अध्यक्षमा ओली नै दोहोरिने भएपछि पार्टीलाई सुदृढ, एकतावद्ध बनाउन सकिने विश्वास के आधारमा गर्नुभएको हो?

- होइन । मुख्य प्रश्न के हो भने एउटा व्यक्तिले मात्रै सबै नष्ट गर्न सक्छ र ? त्यो व्यक्तिलाई नष्ट गर्दै हिँड्ने पथमा हिँड्न को–को व्यक्तिले कस्तो भूमिका निभाए भन्ने प्रश्न महत्वपूर्ण हो । गलत भूमिकामा हिँडाउने मान्छेहरू अब त्यही प्रवृत्ति दोहोर्‍याउनु हुँदैन । गलत भूमिका अब पार्टीमा कसैले खेल्नु हुँदैन । सामूहिक नेतृत्वमा सबै कमरेडले विश्वास गर्नुपर्छ । 
 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x