वार्ता

इकागज संवादमा अग्नि खरेल:

रावलजीलाई थाहा छ, एमालेमा ओलीको विकल्प छैन

पदाधिकारीमा भीडभाड नगरि केन्द्रीय सदस्यमा उठ्ने घोषणा

अनिष भट्टराई |
मंसिर ८, २०७८ बुधवार १४:५९ बजे

नेकपा एमालेका केन्द्रीय सदस्य अग्नि खरेल पार्टीमा केपी ओलीको विकल्प नभएको दाबी गर्छन् । महाधिवेशन नजिकिँदै गर्दा ओलीलाई हराउन सक्ने कोही नभएको र कसैको उम्मेदवारीले पनि ओलीको विकल्प दिन नसक्ने खरेलको भनाइ छ । खरेल अबको महाधिवेशनमा पनि खुल्ला केन्द्रीय सदस्यमा उठ्ने घोषणा गरेका छन् । प्रस्तुत छ खरेलसँग इकागजले गरेको वार्ताको सारसंक्षेपः

नेकपा एमालेको १०औं महाधिवेशन नजिकै आइसक्यो । तपाईंको उम्मेदवारी केमा हो ?


म अहिले वातावरण कस्तो हुन्छ भनेर हेर्दै छु । पदाधिकारी बन्न योग्यता नपुग्ने त होइन तर पनि एकताको महाधिवेशनको रुपमा सम्पन्न गर्ने अभिभारा सबैसँग छ । यस्तो भनिरहँदा माओवादी केन्द्र छाडेर एमाले धारमा उभिनुभएका साथीहरू, निकै अप्ठेरोको बेला १० बुँदे सम्झौता गरेर पार्टीमै बस्नुभएका साथीहरूलाई एकताबद्ध बनाउनु छ । सबै एमाले कार्यकर्ताले पनि त्यसरी नै भन्नुपर्छ । एमालेका मेनस्ट्रिमका नेता कार्यकर्ताले धेरै गाह्रो अवस्था बनाइदिनु हुँदैन । नेताहरूले बुझ्नु पर्छ कि एकता महत्वपूर्ण कुरा हो र आफूहरू पार्टी एकताको मातहतमा उभिनुपर्छ भन्ने ठान्नु पर्‍यो । तबमात्र एमालेको महाधिवेशन एकताको महाधिवेशन बन्छ । आफ्ना भावनालाई हटाएर नेतृत्व कसरी बलियो, सबल बनाउन सकिन्छ भन्ने सोच्नुपर्छ । अहिले पदाधिकारीमा आउन चाहने नेताहरूको संख्या ठूलो छ । यसले पार्टी नेतृत्वलाई पनि समस्या थपिन्छ । यसकारण म अहिले पार्टीको खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदै छु । 

खुल्ला सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । तपाईंको पक्षमा माहोल के छ ?

अहिले सरसर्ती हेर्दा म खुल्ला केन्द्रीय सदस्यमै जाने हो । उम्मेदवारी धेरैको परिरहेको छ । माथि पदाधिकारीमा पनि धेरैले आकांक्षा देखाइसक्नु भएको छ । साथीहरूलाई म पनि फेरि पदाधिकारीमै उम्मेदवारी दिन्छु कि भन्ने पनि रहेछ । तर म अहिले पदाधिकारीमा जान मन छैन । तीन धारका नेता व्यवस्थापन गर्ने चुनौती रहेका बेला म भीडभाड गर्न चाहन्नँ । आफ्नो चाहना भन्दा माथि उहाँहरूको व्यवस्थापनलाई मैले महत्वका साथ हेरेको छु । 

तपाईं पार्टी अध्यक्ष केपी ओली निकट हुनुहुन्छ । महाधिवेशनमा उहाँले भित्रभित्रै तपाईं लगायत उहाँका ‘प्रिय’ नेताको पक्षमा माहोल बनाइदिनु भएको होला नि ? 

छैन । अध्यक्षले दिने मत र अरुले दिने मत एकै हो । सुरुमा त सर्वसम्मतका  लागि नै छलफल गर्ने हो, नभए त मतदान हुन्छ नै । म त आठौं महाधिवेशनबाटै निर्वाचन लडेरै खुल्ला सदस्य भएको हो नि ! म निर्वाचन लड्न डराउने कुरै छैन । महाधिवेशनमा चुनाव लडेपछि कि जितिन्छ कि हारिन्छ । अध्यक्षज्यूले साथ त दिनुहुन्छ नै तर यसैलाई बनाउनैपर्छ भनेर ‘लबिङ’ गर्नुभएको छैन । 

महाधिवेशनलाई सहमतिको महाधिवेशन बनाउने भनिएको छ । अहिले अध्यक्षदेखि अरु पदाधिकारीमा उम्मेदवारीको घोषणा गर्ने क्रम जारी छ । यसले सहमतिमै पदाधिकारी चयनमा चुनौती थपियो नि ?

योग्यता पुगेका नेताहरूले उम्मेदवारी घोषणा गर्नुलाई नराम्रो तरिकाले लिइनु हुँदैन । नेकपा एमालेले लोकतान्त्रिक मूल्य र मान्यतालाई अपनाउँछ । एमालेले लोकतान्त्रिक मान्यता मिचेर सहमतिको महाधिवेशन बनाउन लागेको होइन । भोलि आफूले घोषणा गरेको उम्मेवारीका कारण सहमति नजुट्ने, एकता भाँडिने अवस्था आयो भने प्रत्येक सदस्यले त्यसको जिम्मेवारी वहन गर्नुपर्छ । 

भीम रावलजीले उम्मेदवारी दिएपछि मैले उहाँसँग कुरा गरें । मैले अलिक हतार भयो कि भन्दा उहाँले राजनीतिक घोषणा हो, यसले खासै ठूलो बिगार गर्दैन भनेर भन्नुभयो । पार्टी अध्यक्षमा ओली बन्दा नै उपयुक्त हुन्छ भन्ने रावलजीलाई पनि एकदम राम्रोसँग थाहा छ । अहिले हामीसँग पार्टी अध्यक्षमा ओलीजी बाहेक अरु विकल्प नै हुनुहुन्न । उहाँको विकल्प म हो भन्ने मान्यताका आधारमा रावलजीले उम्मेदवारी दिनु भएको हो । तर पार्टीमा केपी ओलीको विकल्प छैन, रावलजीलाई पनि यो स्पष्ट छ । 

उसो भए भीम रावलले दिएको उम्मेदवारी साँच्चै नै ‘बार्गेनिङ फ्याक्टर’ जस्तो लाग्छ ? 

होइन, बार्गेनको फ्याक्टर भन्दिनँ । उहाँ अयोग्य मान्छे पनि होइन । लामो संघर्ष गरेर पार्टीको शीर्ष तहमा आउनु भएको नेता हो । संघर्ष गरेर खारिँदै राम्रो छवी बनाएर आउनु भएको नेता हो । तर यो कुरा भनिरहँदा अहिले राष्ट्रिय राजनीतिलाई राम्रोसँग हाँक्न सक्ने नेतामा केपी ओलीको विकल्प उहाँ होइन । 

पदाधिकारीमा सहमति जुट्ला कि निर्वाचन हुन्छ ? के लाग्छ ? 

म चाहिँ के आशा गर्छु भने पदाधिकारीमा सकेसम्म सहमति जुट्नुपर्छ । केन्द्रीय सदस्यमा सहमति नजुटे पनि केही हुँदैन, पदाधिकारीमा चाहिँ सहमति भएको राम्रो । भरसक सहमति गरौं, नभए प्रतिस्पर्धा नै गरौं । अहिले एमालेमा युवाहरूको टिमले नेतृत्व लिन चाहन्छ, यो स्वाभाविक हो । पार्टीमा अब महिलाहरूको विशाल टोली पनि आउने निश्चित छ । सबै कमरेडहरूले ज्ञान, विवेक प्रयोग गरेर एकताबद्ध एमाले बनाउन लाग्नु पर्छ । 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x