वार्ता

अन्तर्वार्ता

कमल थापालाई प्रश्‍न : एमालेले राजसंस्था, हिन्दू राज्य र संघीयताको मुद्दा सम्बोधन गरोस् भन्‍ने हो ?

इकागज |
मंसिर ११, २०७८ शनिबार ८:१४ बजे

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति निकै सकारात्मक देखिन्छन् । तत्कालीन नेकपा विवाददेखि नै ओलीका प्रायः कदमको थापाले समर्थन गर्दै आएका छन् । सामाजिक सञ्जालदेखि सार्वजनिक कार्यक्रमसमेतमा थापाले ओली कदमप्रति साथ दिँदै आएका छन् । थापाले शुक्रबार नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा शुभकामना मन्तव्यकाक्रममा पनि ओलीको खुलेरै प्रशंशा गरे । उनले सम्बोधनका क्रममा ओली नेतृत्वको सरकारका दुई कामको खुलेरै प्रशंशा गरे । ती दुई काम थिए पृथकतावादको अन्त्य र नेत्रविक्रम चन्‍दलाई राजनीतिक मूलधारमा ल्याउनु । यी दुई काम देशले सधैँ सम्झिरहने उनको भनाइ थियो । आलीकै नेतृत्वमा नयाँ चुच्चे नक्सा जारी भएकोसमेत उनले स्मरण गरे । सम्बोधनकै क्रममा ओलीलाई राष्ट्रवादी नेताकोरूपमा देशले सम्झिने बताएका थापाले महाधिवेशनमा एउटा साहसिक निर्णयको पनि अपेक्षा गरे । त्यो साहसिक निर्णय के हो त्यो भने थापाले खुलाएनन् । इकागजले साहसिक निर्णयबारे जिज्ञासा राखेको छ । प्रस्तुत छ इकागजका लागि विनोद देवकोटाले थापासँग गरेको संक्षिप्त कुराकानीः 

एमालेको महाधिवेशनमा सहभागी हुनुभयो त्यसको अनुभव बताइदिनुस् न । 
अत्यत्नै उत्साहजनक वातावरणमा उद्घाटन सत्र सम्पन्‍न भएको मैले पाएँ । उपस्थितिको हिसाबले निकै नै भव्य थियो । व्यवस्थापन पक्ष पनि उत्कृष्ठ थियो । महाधिवेशनको आन्तरिक विषयबस्तु उनीहरूले तय गर्ने कुरा हुन् ।


सम्बोधनका क्रममा यहाँले एमाले महाधिवेशनमा ‘साहसिक निर्णयको अपेक्षा छ’ भन्‍नुभएको थियो नि, त्यो के भन्‍न खोज्‍नु भएको ? के अपेक्षा राख्नुभएको छ ? 
मैले भन्‍न खोजेको के भने नि २०६३ सालको परिवर्तनपछि हामी कहाँ जान भनेर हिँडेको थियौँ ? अहिले त्यसको ठीक विपरीत गन्तव्यमा पुगेको छौँ । देशमा विभिन्‍न समस्या छन् । त्यसकारण यो कन्टेक्समा हामी जुन रोडम्यापबाट अगाडि बढेका हौँ, त्यो रोडम्यापमा देखिएका कमि कमजोरीहरूलाई, व्यवस्थामा देखिएका कमिकमजोरीलाई व्यवस्थापन गर्नुपर्छ भन्‍ने मेरो आशय हो । 

भनेको यहाँहरूले जुन राजनीतिक मुद्दा उठाइरहनु भएको छ (राजसंस्था, हिन्दू राज्य र संघीयता) त्यो एमालेले सम्बोधन गरोस् भन्‍ने हो ? 
अहिलेको जुन किसिमको परिस्थिति छ यसबाट एमालेले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ भन्‍ने हो । 

एमालेबाट त्यो आशा गर्नुभएको छ, उसले यहाँहरूले उठाउँदै आउनुभएका राजनीतिक मुद्दामा भूमिका निर्वाह गर्छ त ? 
मेरो त शुभकामना हो । अपेक्षा हो । उहाँहरूले के गर्नुहुन्छ त्यो उहाँहरूकै कुरा हो । 

अब यहाँहरूको पनि महाधिवेशन सन्‍निकट छ । एमालेलाई त शुभकामना दिनुभयो । यहाँहरूले के गर्दै हुनुहुन्छ ? 
हाम्रो पनि तयारी अन्तिम चरणमा छ । हामी पनि भव्यरूपमा महाधिवेशन गछौँ । सबै काम सकिएका छन् । महाधिवेशनबाट एकल अध्यक्षको व्यवस्थामा हामी जान्छौँ । पदाधिकारीहरूको चयन पनि यसपटक चुनावबाट गर्ने तयारी गरेका छौँ । 

यहाँहरूकोमा पनि प्रतिस्पर्धा त कडा हुने देखिएको छ नि है ?
हाम्रोमा पनि सकेसम्म सहमतिको प्रयास हुन्छ । तर, भएन भने त प्रतिस्पर्धा स्वाभाविक हो । 
 


Author

थप समाचार
x