वार्ता

सपनाको आत्महत्या

३० लाखमा किनिएको निराशा, के ग्रिनकार्डले फिर्ता दिन सक्ला र ?

दिपेश घिमिरे |
पुस १२, २०७७ १०:२९ बजे

भन्‍न त धेरैले अमेरिकालाई सपनाको देश भन्‍छन् । उनलाई पनि अमेरिका सपनाकै देश जस्तो लाग्थ्यो । विपनामा दुःख हुन्‍छ । विपनामा अप्ठ्यारा, असजिला, दुःख पीडाका पहाडहरू गाह्रो गरी चढ्नुपर्ने हुन्‍छ । विपनामा यस्तो दुःख गर्न गाह्रो छ ।

बरु क्षणभरमा धनी भएको, एकै रातमा जीवनमा आर्थिक कायापलट भएको सपना देख्दा सहज हुन्‍छ । आफ्नो जीवन किन राम्रो हुन सकेको छैन भन्‍ने कुराको जवाफ दिनका लागि पनि यस्ता सपना देख्छन् होला मानिस । उनले पनि विपनामा सफलताको शिखर चढ्न धेरै मेहनत गरे । दुःखका क्‍विन्टलका क्‍विन्टल भारी बोकेर सपन्‍नताको पहाड उक्लिन मेहनत नगरेका होइनन् । तर केही पार लागेन । अनि उनी विपनालाई पत्याउन छाडे । सपनाको रुमानी कल्पनामा रमाउन थाले ।


त्यही सपनाको देश अर्थात् अमेरिका । सपनाको सहर भनेको के हो ? कस्तो सहरलाई सपनाको सहर भन्‍न सकिन्‍छ ? त्यसको खास सूचक के हुन्‍छन् त्यो केही थाहा थिएन । थाहा थियो त केवल केही दुःख गरेर अमेरिका पुग्यो भने क्षणभरमै दुःख र अभावका अन्त्य हुनेछन् । सम्पन्‍नताको शिखर पुग्‍न सकिनेछ  ।

हामी कुनै योजना बनाएर भेटेका थिएनौं । एक दिन नेपालीहरूको जमघटमा भेट भएको थियो । अलिकता फरक किसिमका थिए उनी । उमेर करिब ४८-५० वर्षका जस्ता देखिन्थे ।

अमेरिकन संस्कृतिमा पूर्ण रूपमा घुलमिल नभइसकेका जस्ता लाग्थ्यो । सामान्य लवाइखुवाइ हेर्दा अझै पनि खास नेपालीपन उनमा गइसकेको थिएन । अमेरिकन संस्कार र संस्कृतिलाई अवलम्बन नगरिसकेका जस्ता ती दाइ कहिले यता कहिले उता गरिरहेका देखिन्‍ने । उनलाई धेरैले खासै वास्ता गरिरहेका जस्तो लागेन मलाई ।

मलाई उनको निर्दोषपनाले तान्यो । नेपाली ढाका टोपी लगाएका, सर्टको सबैभन्दा माथिल्लो बटन पनि लगाएका, कटनको पाइन्ट लगाएको तर माथिको सर्ट बाहिरै छाडेका थिए भने स्पोर्ट्स जुत्ता लगाएका थिए ।

यताउता गर्दागर्दै थाकेर हो वा कुनै काम भएरै हो उनी बाहिरपट्टिको टेबलमा बसेर मोबाइल चलाइरहेका थिए । टेबलको अर्कोपट्टिको कुर्सी खाली थियो । अरु नेपालीहरूको व्यस्तता आफ्नै किसिमको थियो । कसैलाई कसैको मतलव थिएन । आफ्ना व्यापार, जागिर, आम्दानी, नयाँ घर, नयाँ गाडी, नयाँ सुट, नयाँ वर्ष मनाउने योजना, यस्तैयस्तै कुरा एकले अर्कोलाई सुनाउन व्यस्त थिए ।

रूको सुन्‍नभन्दा आफ्नो सुनाउनमा रमाइरहेका थिए । तर ती दाइलाई लामो समयदेखि मैले अलि फरक देखिरहेको थिएँ । जमघटमा मादक पदार्थ लिँदै गरिएका केही थान यी रुमानी सपना सुन्‍नभन्दा मलाई ती दाइसँग कुरा गर्न अलि अघिदेखि नै मन लागिरहेको थियो । त्यसैले ती दाइसँग कुरा गर्दा उनको बारेमा पनि थाहा हुने र समय पनि सहजै कट्ने हुन्थ्यो । त्यही बेलामा दाइ बाहिर टेबलमा एक्लै बसेको मौका छोप्दै म उनी नजिक पुगेँ । उनीसँग औपचारिक परिचय गरेँ । अनुमति मागेर नजिकैको कुर्सीमा बसेँ । उनले पनि खुसीका साथ स्वागत गरे ।

सपनाको सहर भनेको के हो ? कस्तो सहरलाई सपनाको सहर भन्‍न सकिन्‍छ ? त्यसको खास सूचक के हुन्‍छन् त्यो केही थाहा थिएन ।

मलाई उनको बारेमा बुझ्नु थियो । उनी को हुन् ? के सपना बोकेर अमेरिका आए ? ती सपनाको अवस्था अहिले कस्तो होला ? अमेरिकाले उनका कति चाहना र सपना पूरा गर्‍यो होला र कति गरेन होला ? या अरू केही । मलाई उनीसँग सोध्‍न र बुझ्‍न मन थियो । यसको लागि लामो भूमिका बाँधेँ । आफ्नो कुरा बताएँ । कति अरूका कुरा सुनाएँ । कति विगतमा आफूले भेटेका दुःख पाएका नेपालीको कुरा पनि सुनाएँ । विस्तारै उनी खुल्न थाले । विस्तारै आफ्ना कुरा सुनाउन थाले ।

मध्यपश्चिमको एक विकट जिल्लामा उनी जन्मिएका थिए । आर्थिक रूपमा अत्यन्तै विपन्‍न भए पनि उनका बाबुआमाले दुःखजिलो गर्दै पढ्नको लागि विद्यालय पठाएका थिए । विद्यालय जान करिब डेढ घण्टा पैदल हिँड्नुपर्थ्यो । आमाको दूध छाड्न नपाई हरेक दिन तीन घण्टा विद्यालय आउन जान बिताउनु सानो दुःख होइन । खै किन हो उनलाई यो दुःख जस्तो लागेन । रमाएर उनी विद्यालय आउने जाने गर्दथे । पाँच कक्षा पास भएर ६ कक्षामा पढ्न भने भेरी नदी पार गरेर जानुपर्थ्यो । तर भेरी माथि पुल थिएन । तुइन मात्र थियो । त्यही तुइन चढेर विद्यालय आउँजाउँ गरे ।

त्यत्ति सानो उमेरमै त्यत्ति ठूलो भेरी नदीलाई खुल्ला र डरलाग्दो तुइनको सहारामा हरेक दिन आउँजाउँ गर्दा जीवनमा आइपर्ने हरेक डरलाई जित्न सक्छु भन्‍ने आँट उनीमा भरिँदै गयो । एउटा विज्ञापनमा आउने डरको अगाडि जित छ भने जस्तै डरलाई छाड्दै अगाडि बढ्न सकेमात्र चाहेका र देखेका सपना पूरा गर्न सकिन्‍छ भन्‍ने उनमा दृढ विश्वास बढ्दै गयो ।

विद्यालयको अध्ययनमा उनी औसत विद्यार्थीमा पर्दथे । न त असाध्यै राम्रो गर्न सक्थे न त फेल नै हुन्थे । औसत विद्यार्थीमै उनले स्कुले जीवन पार गरे । तेस्रो श्रेणीमै भए पनि नियमित एसएलसी पास गर्ने गाउँभरिमै उनी पहिलो व्यक्ति थिए । हरेक व्यक्तिको आफ्नै सामाजिक दुनियाँ र संसार हुन्‍छ । हरेकले आफ्नै संसारमा चिनिन र आफ्नो अस्थित्व बनाउन संघर्ष गर्ने न हो । अनि सफलता मापनको लागि पनि हरेक गाउँठाउँमा स्थानीय सूचकहरू निर्माण हुन्‍छन् ।

त्यही स्थानीयले बनाएको शिक्षाको सूचकमा उनी अब्बल थिए । तर त्यसभन्दा माथि पढ्ने विद्यालय आफ्नो गाउँघर नजिक थिएन । सुर्खेत वा नेपालगन्ज बसेर पढाउन घरको आर्थिक अवस्थाले सक्ने कुरै भएन । सपना त सीडीओ भएर जिल्ला चलाउने थियो । एच.ए. भएर स्वास्थ्य चौकी सुधार्ने थियो । शिक्षक भएर विद्यालय पढाउने र भोलिको पुस्तालाई चेतनशील र शिक्षित बनाउने पनि थियो । यी कुनै सपना पूरा गराउनको लागि उनलाई आवश्यक पर्ने सहयोग थिएन ।

सहयोगी मन त थिए तर आर्थिक अवस्था सबैको उस्तै थियो । कमजोर । त्यसैले १८ वर्षकै उमेरमा उनी केही कमाइ गर्नका लागि भनेर भारत पुगे । भारतको सुन्दर सहरी नैनीतालमा उनले करिब चार वर्ष बिताए । नैनीताल प्राकृतिक रूपमा सुन्दर त छँदैछ, साह्रै सुरक्षित पनि छ । काम पनि पाउने र आर्थिक रूपमा केही पैसा जम्मा पार्न पनि सकिने स्थानको रूपमा चिनिएको छ । उनले हरेक दिन दुईवटा काम गर्थे । दिउँसो उनी एउटा होटलमा सहयोगी काम गर्थे भने राति सुरक्षागार्डको काम गर्थे ।

चार वर्षको अवधिमा उनले केही पैसा जम्मा पार्न सके । तर पढाइ बीचमै छुट्यो । त्यसपछि उनी नेपाल फर्के । अलिअलि पैसा लिएर नेपाल आएका केही व्यापार गर्ने सोचाइमा थिए । तर माओवादी द्वन्द्व उत्कर्षमा थियो । नेपाल बसेर राम्रो व्यापार गर्न सकिन्‍न भन्‍ने ठम्याइँ भयो । आफन्तहरूले पनि त्यही सल्लाह दिए ।

त्यसपछि भारतमा बस्दा चार वर्षमा जम्मा पारेको पैसा लगानी गरेर मलेसिया गए । पहिलो पटक मलेसियामा तीन वर्ष बिताए । केही पैसा जम्मा पारे । केही अनुभव लिए । अनि नेपाल फर्के । विवाह गरे । एकबाट दुई भए । विवाह गरेपछि खानेमुख बढ्यो । कमाइ नभई खाने हातमात्र थपिँदा बढ्ने भनेको निराशा र असन्तुष्टि नै हो । निराशा र असन्तुष्टिलाई जित्न उनी फेरि मलेसिया गए ।

यसपटक उनको काम अलि राम्रो थियो । मासिक करिब ७० हजार जति कमाइ हुन्थ्यो । अत्यावश्यक खर्चबाहेक उनले यो पैसा जम्मा गरेर राखे । मलेसियामा करिब चार वर्ष बिताए । यस अवधिमा झन्डै १८ लाख रुपैयाँ बचत गर्न सफल भए । यो बीचमा नेपालमा शान्ति प्रक्रियासमेत सुरु भयो । हत्या हिंसामा कमी आएपछि अब नेपालमै केही गर्न सकिन्‍छ भनेर देश फर्किए ।

नेपाल फर्केपछि देशमै केही व्यवसाय गर्ने उनको रहर थियो । यसको लागि नेपालगन्ज, सुर्खेत, बुटबल तथा काठमाडौंमा के गर्न सकिएला भनेर खोजीसमेत गरे । एक वर्षको अवधि नेपालमा सम्भावना खोजी गर्ने नाममै बिताए । तर केही गरिहाल्ने आँट गरेनन् ।

यसैक्रममा उनको काठमाडौमा एकजना दलालसँग भेट भयो । दलालले १२ लाख रुपैयाँमा अमेरिका पुर्याइदिने आश्वासन दियो । उनले जीवनमा कहिल्यै पनि नसोचेको अमेरिका पुग्‍ने रुमानी सपनाले उनलाई अब दुःख दिन लाग्यो । अमेरिका पुग्‍न पाए मासिक तीन लाखभन्दा बढी कमाइ हुने दलालको आश्वासन थियो । अमेरिका छिरेपछि केही वर्षमा ग्रिनकार्ड बन्‍ने र परिवारलाई समेत उतै लैजान सकिने आवश्वासन दियो ।

उनले आफ्नी सानी छोरी सम्झिए । अमेरिकामा पढ्ने र उतै बस्‍ने हो भने छोरीको भविष्य कस्तो राम्रो हुन्थ्यो होला भन्‍ने सम्झिए । उनलाई पनि अमेरिका जाउँजाउँ लाग्यो । बाटोमा आइपर्ने कष्ट त सजिलै पार गर्छु भन्‍ने आँट भयो । बच्चैमा तीन घण्टा हिँडेर स्कुल जाँदाको दुःख सम्झिए । बच्चैमा तुइन तान्दै भेरी तरेर विद्यालय जाँदाको दिन सम्झिए । नैनीताल र मलेसियामा गरेको संघर्ष सम्झिए । उनलाई आँट आयो । दलाललाई बुझाउन मलेसियामा कमाएको पैसा छँदै थियो ।

यसपछि उनले श्रीमतीसँग सामान्य सल्लाह गरे । उनी पनि खुसी भइन् । त्यसपछि सम्पन्‍न जीवन बिताउने आफ्नो र परिवारको सपना पूरा गर्न फेरि एकपटक जोखिम मोल्न तयार भए । दलाललाई १२ लाख रुपैयाँ दिए । र अमेरिकाको लागि बाटो तताए । यो २०६८ वैशाखको कुरा हो । भारतको नयाँ दिल्ली, दुबई हुँदै विभिन्‍न युरोपियन देशको बाटो ल्याटिन अमेरिकन देश हुँदै अमेरिका भित्रिन उनलाई ६६ दिन लागेको थियो ।

यो बीचमा उनले पाएको दुःख अहिले सम्झन पनि चाहन्‍नन् । मैले जीवनमा त्यत्ति दुःख र पीडा पनि हुन्‍छ भन्‍ने सोचेकै थिइनँ उनले भने कुनै पनि मानवले सायद त्यत्ति दुःख कहिल्यै भोग्‍नु पर्दैन । पलपल मरेर बाँचेँ ।

के सपना बोकेर अमेरिका आए ? ती सपनाको अवस्था अहिले कस्तो होला ?

अमेरिका भित्रिने समयसम्म उनले दुःख मात्र पाएनन् दलालले भने भन्दा १८ लाख बढी खर्च लाग्यो । ३० लाख रुपैयाँ लगानी गर्ने हो भने नेपालमै धेरै राम्रो गर्न सकिन्थ्यो भन्‍ने उनलाई अहिले पनि लागिरहन्‍छ । सुरुमा दलालले १२ लाख भने पनि पटकपटक पैसा मागेर ३० लाख खर्च भयो । धन्य सकुशल अमेरिका आइपुगे । जीवनमा देखेका सपना पूरा गर्न सपनाको देशमा छिरे । आफ्ना मात्र होइन आफ्ना परिवारका सपनाको लागि दुःख गरे । सपना देखे जस्तो देश अमेरिका होइन रहेछ भन्‍ने थाहा पाउन उनले निकै सास्ती खेप्‍नु पर्‍यो । निकै पीडा, दुःख, कष्ट र अभाव झेल्नुपर्यो । नमरी स्वर्ग देखिन्‍न भने जस्तै मरिसकेपछि देखेको स्वर्गले उनलाई खासै सन्तुष्टि दिएका छैन ।

अमेरिका भित्रिएको नौ वर्षमा जीवनलाई नजिकबाट बुझे । जीवन के रहेछ ? खुसी र सुख भनेको के हो ? के फरक रहेछ भन्‍ने थाहा पाए । सुखको खोजीमा खुसीलाई बेवास्ता गर्दा जीवन अप्ठ्यारोमा पर्दोरहेछ भन्‍ने सिके । अमेरिका पुगेर डलर कमाएपछि जीवन सुखी हुन्‍छ भन्‍ने सपनाको पछाडि दौडिँदै जाँदा खुसीका पलहरू एकएक गर्दै उनकै अगाडि आत्महत्या गरिरहे ।

सुख होइन खुसीको खोजीमा लाग्‍न पाएको भए जीवन अर्कै हुन्थ्यो भन्‍ने लाग्छ उनलाई । तर अर्को के पनि उनले बुझेका छन् भने त्यो बेलामा आफूसँग भएको खुसीभन्दा परदेशमा भएको सुख नै ठीक हो भन्‍ने पनि लाग्‍न सक्थ्यो होला । तर खुसी र सुख के हो ? के होइन ? कसरी सुखी बन्‍न सकिन्‍छ र कसरी खुसी भन्‍ने कुरा कहीँ कतै पढ्न नपाएकोमा उनलाई विस्मात छ । यदि खुसीको बारेमा राम्रोसँग बुझ्‍न पाउथे भने म केही गरे पनि यो सुख पाउने भनिने बाटोको यात्रा गर्दिनथे होला उनले भने जीवनमा सुखको खोजीमा मैले खुसीलाई कहाँ छाडें छाडें, त्यसमा ठूलो पछुतो लाग्छ ।

परिवारसँग भेट नभएको अहिले नौ वर्ष भइसक्यो । नौ, नौ वर्ष परिवार एकातिर आफू अर्कोतिर । मैले यी दिन कसरी बिताएँ होला मलिन अनुहारमा उनी बोल्दै गए अमेरिका छिरेपछि म निकै आत्तिएँ । न त राम्रो काम पाएँ न त सुख नै । खुसी त मैले नेपालमै छाडेर आएको थिएँ यहाँ भेट्ने कुरै भएन । मैले अमेरिकाका सुरुका दिन सम्झन आग्रह गरें । उनी निकै गम्भीर भए । अमेरिका छिर्नेबित्तिकै पाएको दुःखको कुनै वर्णन गर्न सक्दिनँ होला उनले सुनाए । अमेरिका छिर्नको लागि ६६ दिन गरेको यात्राभन्दा यहाँ पाएको दुःख झन् पीडादायी र आत्तेसलाग्दो भयो ।

असाइलम गरेर कामको खोजीमा लागेका उनलाई सुरुमा काम पाउनै गाह्रो भयो । नेपालमा लागेको ऋण तिर्नको लागि जसरी पनि काम त गर्नैपर्ने थियो । हरेक दिन २० घण्टासम्म काम गरेको उनको अनुभव छ । सुरुमा ५.५ डलर प्रतिघण्टाबाट काम सुरु गरेका उनले मासिक एक हजार डलरसमेत बचाउन सक्दैनथे । दिनभरि उभिएर गर्नुपर्ने कामले उनमा विविध स्वास्थ्य समस्या पनि देखिए । आफ्नो पीडा साट्‍ने कोही थिएनन् । एउटै ठाउँमा काम गर्ने दुईजना मेक्सिकनसँग अपार्टमेन्ट सेयर गरेर बसे । भाषाको समस्या थियो । उनीहरूसँग धक फुकाएर मनको बह पोख्‍न पनि पाउँदैनथे ।

त्यो बेलामा मलाई कयौं पटक आत्महत्या गर्ने सोच पनि आएको थियो उनले विगत सम्झँदै भने । वकिललाई पैसा तिर्दातिर्दै कमाएको सबै सकिन्थ्यो, न त राम्रोसँग खान पाउथे न त नेपालमै परिवारलाई राम्रो गर्न सकेको थिए । बाँचेर के अर्थ जस्तो पनि कयौंपटक लाग्यो । सबै सपनाहरूले आफ्नै अगाडि आत्महत्या गरिसकेपछि बाँकी रहेको आफ्नै शरीर पनि किन बाँकी राख्नु भन्‍ने लाग्थ्यो उनलाई । तर छोरीको मायालु बोली र श्रीमतीको उत्साहवर्द्धक सुझाव, बाबुआमाको मायाले जीवनप्रति आशा बाँकी रह्यो ।

आफ्‍ना सबै सपनाले आत्महत्या गरे पनि परिवारको लागि मैले आफूलाई बचाईराखे उनले भने । आफूलाई जोगाइराखेको काम लाग्यो । अमेरिका भित्रिएको नौ वर्षमा उनको ग्रिनकार्ड बन्यो । म भाग्यमानी रहेछु यति ढिलै भए पनि ग्रिनकार्ड बन्यो, अबको केही वर्षमा परिवारलाई यतै बोलाउन मिल्छ ।

यद्यपि उनले यो नौ वर्षमा उनले धेरै कुरा गुमाए । सबैभन्दा महत्वपूर्ण कुरा उनले आफ्नो जीवनको ऊर्जावान समय त्यत्तिकै विताए । खेर गयो । रहरहरू त्यत्तिकै मरे । चाहनाहरू त्यत्तिकै मरिचझै खुम्चिए । सपनाहरू एकएक गरी आफ्नै अगाडि झुन्डिए । लक्ष्य, उद्देश्यले मरेपछि जुम्राले छाडे झै छाडे । जीवनमा केही बाँकी छैन जस्तो लाग्छ ।

आफन्त तथा नातेदारहरू अमेरिका पुगेपछि बोल्न छाड्यो, वास्ता गर्दैन, ठूलो भयो, मै हुँ भन्‍ने भयो, घरपरिवारलाई बिर्सियो भन्‍छन् । मेरो पीडा, दुःख मलाई बाहेक कसैले बुझ्दैनन् उनले लामो सुस्केरा लिँदै भने, मैले परिवार, इष्टमित्र, आफन्त, माया, ममता, स्नेह, सद्भाव, आफ्नोपन, आफ्ना सपना, चाहना, लक्ष्य सबै गुमाएर पाएको भनेको त्यही एउटा ग्रिनकार्ड हो । अब यो ग्रिनकार्डरूपी बिरुवालाई मलजल गरेर ठूलो बनाउन सके सोचेको जस्तो खुसी फर्काउन सक्छु कि भन्‍ने लागेको छ ।

उनी बोल्दै गए । म सुनिरहें । उनले थपे खै के खोज्दै म भौतारिएँ । खै के चाहेको थिएँ । अहिले सम्झँदा पनि अचम्म लाग्छ । म किन अमेरिकाको सपनामा बहकिएको होला । यत्तिको ग्रिनकार्ड त के नागरिकता नै म १६ वर्ष पुग्‍नेबित्तिकै मेरो देशले दिएकै थियो । केही पैसा त मैले मलेसियामै कमाएकै थिए । खुसीको महासागर त मेरो परिवार नै थियो । मलाई दुःखसुखमा साथ दिने आफन्त, नातेदार नेपालमै थिए । आफू नखाएरै भए पनि मलाई खुवाउने बाबुआमा थिए । तर सुखको खोजीमा म कहाँ कहाँ दौडिए । के के गरे ।

भन्दा १८ लाख बढी खर्च लाग्योे । ३० लाख रुपैयाँ लगानी गर्ने हो भने नेपालमै धेरै राम्रो गर्न सकिन्थ्यो भन्‍ने उनलाई अहिले पनि लागिरहन्‍छ । सुरुमा दलालले १२ लाख भने पनि पटकपटक पैसा मागेर ३० लाख खर्च भयो ।

उनलाई सुख कहिले नैनीतालका गल्लीमा होलान् भन्‍ने लाग्थ्यो र त्यहाँको होटल र सडक सफा गरिरहे । अनि रातभरि चिसोमा बहादुरी गरिरहे । त्यहाँ जे भेटे त्यसले उनलाई सन्तुष्ट बनाएन । फर्किए । अनि मलेसियामा होलान् भन्‍ने लाग्यो क्‍वालालाम्पुरका बडेबडे भारीमा खोजिरहे । त्यहाँ जे भेटे त्यसले पनि सन्तुष्ट भएनन् । नेपाल फर्किए । व्यापारको सम्भावनाको खोजीमा सुर्खेतदेखि काठमाडौं गरे । खै त्यहाँ पनि केही भेटेनन् । अनि दलालमार्फत अमेरिका भित्रिने दुःखदायी र पीडादायी बाटो खोजे ।

अमेरिकाका सडक सडकमा, सुख खोजिरहेका छन् । तर अझै केही भेटेका छैनन् । सुखलाई कम महत्व दिँदै खुसीको बाटो हिँड्न सकेको भए जीवन कस्तो सुन्दर र रंगीन हुन्थ्यो होला अनि अहिलेको भन्दा कति फरक हुने थियो होला भन्‍ने लाग्छ उनलाई ।

यत्तिको संघर्ष, कष्ट र दुःख पछि उनले एउटा खास ज्ञान भने भेटेका छन् । जीवनका यी उतारचढावपूर्ण, दुःखदायी, पीडादायी र डरलाग्दा यात्रा पूरा गरेपछि उनले बुझेका छन् उनले खोजेको खास कुरा उनीसँगै रहेछ । त्यो उनको मनमा रहेछ । जहाँ बस्दा जे गर्दा मन रमाउँछ त्यही खुसी रहेछ । जे गर्दा बिना कुनै चिन्ता आनन्दले गर्न सकिन्‍छ त्यो सुख रहेछ ।

आफूसँग भएको मनलाई आफ्ना माया गर्नेहरूको बीचमा बसेर रमाउँदा पाउने सन्तुष्टि नै उनले खोजेको खास सुख र खुसी रहेछ । यो ज्ञान त पाए । तर त्यहि वातावरण कहिले पाइन्‍छ उनलाई पनि थाहा छैन । यति थाहा पाउन उनले आफ्नो पुरै सुनौलो जवानी गुमाइसकेका छन् । आफ्नो उर्वर उमेर सकिसकेका छन् ।

आफैंसँग भएको चिज चिन्‍न नसकेर म कस्तुरी झैँ भौंतारिएँ । झन्डै पाँच दशक पुग्‍न लागेपछि मात्र थाहा पाउँदैछु मैले खासमा खोजेको खुसी रहेछ उनले भने त्यो खुसी त म आफंैसँग रहेछ, आफैँसँग भएको चिज चिन्‍न नसक्दा म सुनको कचौरा बोकेर माग्‍न बसेको मगन्ते जस्तै भएँ ।

बिहानदेखि सुरु भएको काम निष्पट्ट अँध्यारोमा सकिन्‍छ । अनि कोठामा आएर मोबाइल चलाइरहन्‍छन् । युट्युबमा गीत हेरिरहन्‍छन् उनी । केही वर्ष अगाडि खुब चलेको चालिस कटेसी रमाउला भन्‍ने गीत उनकै लागि लेखिएको हो कि भन्‍ने पनि लाग्छ उनलाई । तर उमेर त झन्डै पचास लाग्‍न थालिसक्यो । अझै रमाउने टुंगो छैन ।

विवाह गरेकी श्रीमतीसँग सबै मिलाएर दुई वर्ष पनि सँगै बसेका छैनन् । किशोरी उमेरमा प्रवेश गरिसकेकी छोरीसँग त एक वर्ष पनि पूरा बिताउन पाएका छैनन् । के यो ग्रिनकार्डले त्यो दिन फिर्ता दिन सक्ला र ? राति निद्रा नपरेको बेलामा बेस्मारी सोच्छन् । अरू बेला त फुर्सद भए पो ।


Author

थप समाचार
ad
x