वार्ता

अन्तर्वार्ता

देश बदल्‍न हिँडेका हामी आफै बदलिएर चुक्यौँ

'१० वर्षमा देश माओवादीमय बनाउँछौँ'

जीवन कुँवर |
पुस २०, २०७८ मगलवार ९:१६ बजे

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन सकिएको छ । अध्यक्ष पुष्पकमल दाहालले सबैलाई समेटेर केन्द्रीय कमिटी घोषणा गरेका छन् । यदपि पूर्णता दिन बाँकी छ । पदाधिकारी चयनको विषय पनि थाती राखिएको छ। दाहालले घोषणा गरेका २३६ केन्द्रीय कमिटी सदस्यमध्ये एक हुन् सुबोध शेर्पाली । माओवादीको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपालमा लामो समय बिताएका शेर्पाली माओवादीले सञ्‍चालन गरेको १० वर्षे जनयुद्धमा होमिएका थिए । उनी महाधिवेशनपछि माओवादी रूपान्तरणको बाटोमा गएको ठान्‍छन् । उनको विश्‍वास छ, 'अब माओवादी नेता बदलिनेछन् । नेताको बोली र व्यवहार बदलिनेछ । कार्यशैली फेरिनेछ । सहर केन्द्रित नेताहरू गाउँ पस्‍नेछन्,' उनी दाबा गर्छन्, 'आगामी १० वर्षमा देश माओवादीमय बन्‍छ/बनाउँछौँ ।' उनै शेर्पालीसँग इकागजकर्मी जीवन कुँवरले गरेको कुराकानीको सम्पादित अंश :

महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले खल्तीबाट सूची झिकेर केन्द्रीय कमिटी घोषणा गर्नुभयो । तपाईंहरूले ताली बजाएर पारित गर्नुभयो है ?
खल्तीबाट झिकेर लिएको त भन्‍न मिलेन । अध्यक्ष कमरेडले सबै क्षेत्र, क्लस्टरसँग छलफल गरेर लिएको नाम हो । क्लस्टर, खुला सबैतिर सर्वसहमति गरेर केन्द्रीय कमिटी बनाएको हो । अब अध्यक्ष कमरेडले लिएका नाममा दाबी विरोध छ भने त्यो राख्‍न सकिन्छ । ९५ प्रतिशत बढीले ताली बजाएर सहमति गरेपछि भोटिङमा जाने कुरा भएन । केही जिल्ला छुटेका छन्, अब छुटेका ती जिल्लालाई समेट्नुपर्छ । खाली भएको जिल्लालाई प्राथमिकतामा राखेर केन्द्रीय कमिटीले निर्णय लिन सक्छ ।


नेतृत्वले नेता छान्‍ने कि प्रतिनिधिले ?
यो आवश्यकता हो । कार्यदिशाअनुसार संसदीय व्यवस्थालाई मान्‍नुपर्ने, त्यसैअनुसार आफू पनि बग्नुपर्ने भएकाले चुन्‍ने र चुनिने ठाउँमा पूर्णरूपमा माओवादी आइसकेको छ । प्रचलित लोकतान्त्रिक परिभाषाअनुसार पार्टी गएको छ । प्रदेशहरूमा पनि कुनैमा निर्वाचनबाटै टुङ्गिएको छ । केन्द्रीय पदाधिकारीमा पनि अब सहमति नभए निर्वाचन हुन्छ ।

अन्‍य दलले चुनावबाट नेता छान्‍छन्, माओवादीले खल्तीबाटै नेता छान्यो । अन्य दल र माओवादीबीच यही नै भिन्नता रह्‍यो हैन ?
होइन । अरु पार्टी र हामीमा धेरै फरक छ । नीति, मान्यतामा फरक छ । समाजवादी मान्यताअनुसार हामी संरचना निर्माणमा लागेका छौं । हार र जितलाई अनिवार्य स्वीकार्छौं र चुनावी गणनामा जाँदा छुट्न्र नहुने मानिस पनि छुट्न सक्छ । हेटौंडा, विराटनगर महाधिवेशन हुँदै यहाँ आएका छौं । हेटौंडा महाधिवेशनमा नेताले जे हुने त्यही मान्‍नेबाट विराटनगरमा केन्द्रीय कमिटीले नेता चुन्‍नेसम्म पुग्यौं ।

यो असफल प्रक्रिया हो । मान्छे जम्मा हुने, मत हाल्ने, किनबेच गर्ने असफल प्रक्रिया हो । नेताको कति पैसा लिएर जाने चलन छ नि अरु पार्टीमा । तर हाम्रोमा यस्ता काम हुन नदिन पनि पार्टी नेतृत्वले रोकेको हो । अहिलेको राष्ट्रिय राजनीति हाँक्नका लागि युवा पुस्ता चाहिएको हो । पूर्ण समानुपातिकतर्फ लैजान सकेनौं । कांग्रेस, एमाले मतदानमा जाने चलन गलत छ । यसले दीर्घकालिन असर पर्छ । चुनावले व्यक्तिवादी चरित्रलाई बढावा दिन्छ । विगतमा माओवादीले अवलम्बन गरेको प्रक्रिया अहिलेसम्म पनि सान्दर्भिक देखिन्छ । सर्वसहमति गर्ने संस्कार राम्रो हो ।

नेताले नै नेता छान्‍ने भए गाउँ-गाउँबाट आएका त्यत्रा प्रतिनिधि राखेर महाधिवेशन किन गर्नुपरेको, तालीमात्रै बजाउन ?
नेताले नेता छान्‍ने होइन । सर्वसम्मत भनेको चुनावभन्दा ठूलो हो । सर्वसहमति भएपछि चुनावको अपेक्षा गर्नु पनि गलत हो । महाधिवेशनको आठ दिन हाम्रा लागि सम्झनालायक रहे । आगामी माओवादी आन्दोलन, बदलिएको माओवादी, सांगठनिक रूपमा माओवादीबारे गहन छलफल गर्‍यौँ । माओवादीमा जुन खालको कम्युनिस्ट अनुशासन देखिन्छ, त्यो अहिले किन घट्दो छ भनेर छलफल गर्‍यौँ । नेताहरूले दिएको भाषण सुन्दा, सांगठनिक छलफल सुन्दा अब माओवादी आन्दोलन सशक्त भएर लाग्छ भन्‍ने संकेत गरेको छ । साथै शान्ति प्रक्रियापछिको १५ वर्षको गहन समीक्षा पनि गरेका छौं । अब यसले साँच्चै नै दिशानिर्देश गरेर आगामी चुनावलाई पहिलो चुनाव मानेर गयौं भने आगामी १० वर्षमा देशलाई माओवादीमय बनाउँछौं । 

बन्दसत्रमा फरक मत पनि प्रस्तुत भए नि, ती मत सम्बोधन भए त ?
लेखनाथ न्यौपानेको सुझाव पार्टीलाई धेरै हदसम्म सहयोग गर्छ भने राम कार्कीको पुरक सुझावले अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई पूर्णता दिन सहयोग गर्छ । कम्युनिस्ट आन्दोलन, माओवादीको रुपान्तरणका लागि सांस्कृतिक क्रान्ति प्रमुख बनेको छ । सांस्कृतिक रुपान्तरणसहितको कार्यक्रम ल्याउनुपर्छ ।


माओवादी नेताको जीवनशैली बदलियो, बोल्‍ने शैली बदलियो, जनतालाई गर्ने व्यवहार बदलियो । जनता र माओवादी नेताबीच दूरी बढ्‍यो। अब त्यो कुराको हामी अन्त्य गर्छौँ । बोलेर होइन काम गरेर देखाउँछौँ । नेताहरू सहरभन्दा बढी गाउँ केन्द्रित हुन्छन् । जनताका समस्या बुझ्‍छन् र त्यसलाई समाधान गर्नेतिर लाग्छन् ।

केन्द्रीय कमिटीमा नयाँ अनुहार आए त ? धेरै त पुरानै अनुहार दोहोरिएको देखिन्छ नि ?
भूगोलको नेतृत्व गरेका कमरेडहरू अहिले पुराना नै हुनुहुन्छ । पुरानो केन्द्रीय कमिटी कायम नै राखेर मनोनित र क्लस्टरमा नयाँ अनुहार आएका छन् । सर्वसम्मत जाँदा नयाँ अनुहार पनि आएका छन् । यो हाम्रा लागि उत्साहको विषय हो । केही छुट्‍नै नहुने रमेश मल्‍ल, रञ्‍जित तामाङलगायतका कमरेडहरू छुट्‍नु भएको छ, उहाँहरूलाई केन्द्रीय कमिटीमा समेट्‍न आवश्यक छ र समेटिनुहुन्छ ।

माओवादी कहाँनेर चुक्‍यो जस्तो लाग्छ ? 
हामी नबदलिएको धेरै कुरामा छ । देश बदल्ने भनेर धेरै योजना बनायौं । राजतन्त्र ढाल्न योजना बनायौं, गणतान्त्रिक मुलुक बनाउन योजना बनायौं, संघीयता ल्याउन योजना बनायौं र सफल पनि भयौं । तर संसदीय शैलीमा कार्यदिशा बनाएर जनयुद्धकालीन संरचना, योजनामा बढेकाले हामी चुक्यौं । संगठनात्मक संरचना एउटा र संविधानको परिकल्पना अर्को भएकाले हामी विरोधाभासमा थियौं । संगठनलाई संविधानले गरेको व्यवस्था अनुसार ढालेका छौं अहिले । माओवादीले जुन खालको अनुशासन हिजो कायम गरेको थियो, जुन दृष्टिकोण हिजो थियो । त्यो अनुशासन, दृष्टिकोण कायम नहुँदा माओवादी चुकेको हो । 

महाधिवेशनअघि र पछिको माओवादीमा कस्तो फरक हुन्‍छ ? 
धेरै कुरा त भिन्‍न हुँदैनन् । रातारात त्यस्ता परिवर्तन हुन्छन् भन्‍ने अपेक्षा राख्नु पनि हुँदैन । आज माओवादी जुन ठाउँमा छ, यो ठाउँबाट प्रभावकारी रूपमा अघि बढाउन, जनताको अपेक्षा जे छ, ती अपेक्षालाई हामी पूरा गर्ने गरि लाग्छौं । सांगठिनक संरचना हेर्दा नयाँ पुस्ता थपिएका छन् । विचार, नीति, योजनामा छलफल हुँदा युवापुस्ताले नयाँ कुराहरू ल्याउँछन् । ती भावनालाई समेटेर लगिन्छ । कार्यक्रम, सांगठिनक संरचना, जनताका विश्वासका हिसाबले माओवादी फरक देखिन्छ । 

देशभर लथालिङ्ग पार्टी संरचनाको अब पुन:निर्माण कसरी हुन्छ ?
हामीले अहिले तत्काल नै त्यो अवस्था कल्पना गर्नु राम्रो हुँदैन् । सांगठनिक र राजनीतिक अवस्था नभएकाले २०६४ सालमै जान सकिँदैन । यो महाधिवेशन नै लथालिङ्ग भएको पार्टी संरचना पुन:निर्माण गर्न हो । देशभर वडा कमिटी गठन भएका छन् । वडामै नेतृत्व दिएका छौँ । वडादेखि प्रदेशसम्‍म नै संरचना बनाएका छौँ । २०६४ सालपछि अहिले हामीले वडादेखि केन्द्रसम्‍म नै व्यवस्थित गरेका छौँ । अहिलेको नेतृत्व र सांगठनिक अवस्थाले पार्टी पुन:निर्माणमा हामीलाई तागत दिन्छ । अब हुने चुनावमा माओवादीलाई सुदृढ बनाउँछौँ र त्यसपछिको चुनावमा २०६४ कै हाराहारीमा माओवादीलाई लैजान्छौँ ।  अहिले भनेको पार्टी जीवनमा, पार्टी संगठनमा माओवादीलाई सुदृढ र व्यवस्थित नै बनाउने हो ।

माओवादी नेता किन जनतामुखी बन्‍न सकेनन् ?
माओवादीले जनतालाई छोड् भनेर कहिल्‍यै भन्‍दैन । माओवादी नेताहरू कति जनता सामू जानुभयो कति जानु भएन भन्‍ने कुरा मात्रै हो । सम्‍बन्धित क्षेत्रका नेताहरू जनतासँग कति घुलमिल हुनुभयो, जनताको समस्यालाई पार्टी र आफ्‍नो समस्या ठान्‍नु भयो कि भएन यसैमा भर पर्छ । जनतासँग सम्‍बन्ध सुदृढ गर्ने विषय अहिले माओवादीभित्र चुनौतीको रूपमा लिएका छौँ । किन लिएका छौँ भने जनताको जनजिविकाको विषयमा बोलिरहेका छौँ । सिंगो मधेश र राष्ट्रियताकै विषयमा बोलिरहेका छौँ । यो आठौँ महाधिवेशनपछि हामी कहाँ-कहाँ चुकेका छौँ त्यहाँ अवश्य पुग्‍नेछौँ । सहिद परिवार, बेपत्ता, घाइते योद्धाहरूको समस्या बुझेर समाधान गर्नेमा लाग्‍नेछौँ ।

जनता र माओवादी नेताको दूरी किन टाढा भयो जस्तो लाग्छ ?
जनताले बुझेको पार्टी माओवादी भएन । जनताले जुन अपेक्षा गरेका माओवादी नेता थिए ती भएनन् । माओवादी नेताको जीवनशैली बदलियो, बोल्‍ने शैली बदलियो, जनतालाई गर्ने व्यवहार बदलिएर जनता र माओवादी नेताबीच दूरी टाढा भयो । अब त्यो कुराको अन्त्य हामी गर्छौँ । बोलेर होइन् काम गरेर देखाउँछौँ । अब माओवादी नेताहरू सहरभन्दा बढी गाउँ केन्द्रित हुन्छन् । जनताका समस्या बुझ्‍छन् र त्यसलाई समाधान गर्नेतिर लाग्छन् ।

सम्भव छ र माओवादी नेताहरूले सहर छाड्‍न ?
सम्भव छ । हामीले चाहँदा विगतमा असम्भव कुराहरू सम्भव बनाएका थियौँ । २०५१ मा बन्दुक बोकेर जनयुद्ध लड्‍न सम्भव थियो त ? आखिर माओवादीले चाहँदा त्यो सम्भव भयो नि । हामीप्रति जनताको अपेक्षा कम भएका होइनन् । कतिपय ठाउँमा हामी कम जाने भयौँ, कतिपय ठाउँमा जिल्ला नेतृत्वको कार्यशैलीको हिसाब सम्बन्ध बिग्रिएका थिए । हिजोको दिनमा पनि हामी गाउँ जनताले जे खान्छन् हामी पनि त्यही खान्थेउँ, अब पनि गाउँ गएर त्यही गर्छौँ ।


Author

जीवन कुँवर

राजनीति तथा समसामयिक विषयमा कलम चलाउने कुँवर सिनियर करेस्पाेन्डेन्ट तथा डेस्क संयोजक हुन् ।


थप समाचार
x